अहिले हामी पीपलबोटनजिकै बसेर भूपिबारे कुराकानी गरिरहेका छौँ । पीपलबोट र भूपिसँग जोडिएका केही क्षण छन् भने सुनौँ न !
भूपि शेरचनसँग मेरो ‘फेस टु फेस’ कहिल्यै कुराकानी भएन । २८ सालतिर म काठमाडौं आउँदा भूपि साहित्यबाट टाढा भइसकेका थिए । मैले भूपिलाई बिरामी अवस्थामा घरमा भेटेँ । भूपिसँगको प्रत्यक्ष भेट त्यही थियो । पीपलबोटवरपर भूपिलाई कहिल्यै भेटिनँ ।
भूपिसँग काव्यिक भेटचाहिँ कहिलेबाट भयो ?
उनीसँग काव्यिक भेट भएकोचाहिँ मैले कविता लेख्न सुरु गरेदेखि नै हो । जुन वेला म कवितामा भर्खर पाइला चाल्दै थिएँ, त्यही वेला भूपिको काव्यिक शक्तिसँग म नजिक भएँ । उनका कविताबाट प्रभावित भएँ । मेरा सुरुवाती केही कवितामा भूपिको प्रभाव धेरै छ । म उनलाई नेपाली कविताको ट्रेन्ड सेटर नै मान्छु ।
त्यसो भए भूपीले कोरेको नेपाली कविताको नयाँ बाटो के थियो ? किन उनलाई तपाईं ट्रेन्ड सेटर नै मान्नुहुन्छ ?
गोपालप्रसाद रिमालको गद्य कविताको जुन बाटो थियो, त्यो बाटोलाई भूपिले फराकिलो बनाए । जुन वेला नेपाली कविता अन्योलमा थियो, कवितामा जटिल बिम्ब राख्ने प्रचलन थियो । त्यो जटिलतालाई चिरेर कविता यस्तो हुनुपर्छ भनेर भूपिले बाटो देखाइदिए । विचारलाई कवितामार्फत कसरी सम्प्रेषणीय बनाउने भन्ने बाटो भूपिले नै देखाए । त्यसवेला नेपाली कविता आममानिसबाट टाढा थियो । कविता समाजबाट टाढा थियो र कतै फसेको थियो ।
फसेको ठाउँबाट निकालेर कवितालाई जीवन र समाजसँग जोड्ने काम निःसन्देह भूपिले नै गरे । त्यसैले म उनका कवितालाई ‘ट्रेन्ड सेटर’ कविता मान्छु । कविता समाज र जीवनबाट पृथक् भएका वेला उनको कविताले अन्धकार समयमा जुनकिरीको काम ग-यो । कविताको नाममा शब्दसँग खेलाँची भइरहेका वेला कवितालाई जीवनसँग जोड्न उनी एक्लै लडे । अनुत्तरदायी साहित्यको भिड लागेका वेला अर्थपूर्ण कविताको पक्षमा उनी एक्लै भिडे । उनी एक्लै भए पनि लाप्पा खेलिरहे । उनको त्यो दरिलो अडान नेपाली कवितालाई ठूलो देन हो ।
इतिहासबारे चर्चा गर्दा वेलावेलामा ‘उनी नभएका भए ?’ भन्ने जस्ता प्रश्न पनि गरिन्छ । साहित्यको क्षेत्रमा भूपि नभएका भए नेपाली कविताको बाटो कता जान्थ्यो होला ?
यस्तो प्रश्नको खास अर्थ छैन । भूपि नभएको भए यस्तै अरू कवि आउने थिए । समय र समाजको अन्तर्विरोधले अर्को कुनै कवि जन्मिन्थ्यो । किनकि समाज जडतामा कहिल्यै बस्दैन । समाजको माग पूर्ति गर्न अर्को कुनै कवि आउँथ्यो ।
हामीले राजकीय प्रज्ञा प्रतिष्ठानमा गएका भूपिलाई सम्झिने कि ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ लेख्ने भूपिलाई सम्झिने ?
भूपिले प्रारम्भिक कालमा प्रगतिशील कवितालाई दिएको योगदान हामीले बिर्सनुहुन्न । दोस्रो कालखण्डमा उनी विचारबाट पलायन भए । दोस्रो कालखण्डमा उनी मानसिक रूपमा विक्षिप्त थिए । त्यही वेला उनले दुईवटा ‘क’(कविता र कम्युनिस्ट)बाट बिग्रिएँ भने । त्यसवेला उनी कविताबाट टाढा भइसकेका थिए । त्यो कालखण्डलाई कवितासँग किन जोड्ने ? उनको साहित्यिक योगदानलाई पछिल्लो समयसँग नजोडौँ । त्यसवेला उनले खास कविता लेखेनन् पनि ।
भूपि त्यो अवस्थामा पुग्नुका पछाडि पारिवारिक र सामाजिक कारण जिम्मेवार छैनन् र ?
केही पारिवारिक कारण पनि हुन सक्छन् । तर, किटान गरेर भन्न मिल्दैन । किनभने माथिल्लो वर्गबाट आएर त्यसरी कविता लेख्नु चानचुने काम थिएन । परिवारको त्यो दबाब उनमा हुन सक्छ । विरक्तिपनले दिमागमा असर प-यो । सामाजिक कारण पनि हुन सक्छ ।
भूपिले जीवनको उत्तरार्धमा जुन बाटो रोजे, उनीपछिका पुस्ताले पनि भूपिले जस्तै बाटो रोजेको देख्नुहुन्छ ?
छन्, त्यस्ता कवि पनि । एक समयका जाज्ज्वल्यमान कविहरूले आज लेख्न छाडेका छन् । लेखे पनि हिसाबकिताब गरेर लेख्न थालेका छन् । केही कवि आंशिक पलायन भएका छन् । एक समयका एकसेएक कवि कता गए आज ? के सबै पलायन भइसके ?
जुन समयमा भूपि एकेडेमी गए, त्यसवेला पञ्चायतको हालिमुहाली थियो । भूपिकै समयमा पुगेर विश्लेषण गर्दा त्यसवेला उनले मोडेको बाटो अस्वाभाविक नलाग्न पनि सक्छ कि ?
भूपिले पारिवारिक दबाब लामो समय थेग्न सकेनन् । उनको कविता र जीवन समानान्तर रूपमा जान सकेन । मानिसले जस्तो लेख्छ, धेरथोर त्यस्तै जीवन जिउनुपर्छ भन्ने लाग्छ । न्यूनतम नैतिकता पालना गर्न सक्नुपर्छ । तर, भूूपि त्यसबाट चुके । चुक्नुको सबैभन्दा ठूलो कारण उनको मानसिक अवस्था नै हो । उनी कविताबाटै पलायन भए । भूपि जुन ‘क’बाट माथि उठेका थिए, पछि त्यही ‘क’ले बिगा-यो भन्न थाले ।
साहित्यिक बहसमा कतिपयले भूपिको अतिमूल्याङ्कन भयो भन्छन्, कतिपयले अवमूल्यन भयो भन्छन् । भूपिको खास मूल्याङ्कन कसरी गर्ने ?
समाजले कसैलाई व्यापक मूल्याङ्कन गर्छ भने हामीले टाउको दुखाएर हुन्न । उनकै प्रतिभाले मानिसहरूले सम्झिएका हुन् । उनको चर्चा भइरहनुको कारण मृत अवस्थामा पुगेको कवितालाई उनले बचाए । उनी त्यो समयका धुकधुकी थिए । एक्लै जुधिरहे, उभिइरहे । उनी त्यसवेलाका एक्ला योद्धा थिए । एक्लो योद्धाको सम्मान गर्नु अधिक सम्मान गर्नु हुँदैन, उचित सम्मान गर्नु हुन्छ । उनको पछिल्लो कालखण्डको निर्मम भएर आलोचना गर्दै अघिल्लो कालखण्डको सम्मान गर्नुपर्छ । त्यसो गर्दा अधिक मूल्याङ्कन हुँदैन । जसले भूपिको अधिक मूल्याङ्कन भयो भनिरहेका छन्, उनीहरू भूपिको प्रसिद्धिबाट आतंकित भएका हुन् । भूपिको विशाल व्यक्तित्वबाट थिचिएर चिच्याएका हुन् ।
मदिरापान र मद्यपान गर्ने भूपिको बानी अनुकरण गर्ने पुस्ता पनि हाम्रो माझमा छ । भूपिबाट हामीले सिक्नुपर्ने जीवनशैली हो कि लेखनशैली ?
भूपिसँग हाम्रो सरोकार उनका कविताले गर्दा हो, रक्सीले गर्दा होइन । उनले रक्सी मात्रै पिएर बसेका भए अहिले चर्चा गर्नुको मतलब हुने थिएन । उनीसँग हाम्रो साइनो उनका साहित्य, रचना र लेखकीय जीवन्ततासँग हो । अरू तपसीलका कुरा हुन् । उनको कवितामा भन्दा रक्सीमा बढी ग्ल्यामरस देख्नु कमजोरी हो ।
भूपिका धेरै कविता आज पनि उत्तिकै सान्दर्भिक लाग्छन् । पाठकले उनका कविता किन सदाबहार ठानिरहेका छन् ? समाज नबदलिएको हो कि ?
समाजको बेसिक चरित्र अहिले पनि उस्तै छ । समाज जति अगाडि बढे पनि समाजको आधारभूत समस्या उस्तै छ । प्रगतिवादको मूलभूत प्रस्थापना समाजलाई अघि बढाउने, जीवनलाई सुन्दर बनाउने, सामाजिक विसंगतिसँग लड्ने, ती बेसिक प्रश्न पहिला पनि थिए, अहिले पनि उस्तै छन् । अहिलेको सामाजिक अन्तर्विरोध र भूपिको वेलाको सामाजिक अन्तर्विरोध फरक छ । तर, अन्तर्विरोध कायम छ । त्यो अन्तर्विरोधसँग जुध्ने हतियार भूपिको पनि कविता थियो, हामीसँग पनि त्यही हतियार छ ।
भूपिले प्रारम्भिककालमा प्रगतिशील कवितालाई दिएको योगदान हामीले बिर्सनुहुन्न । दोस्रो कालखण्डमा उनी विचारबाट पलायन भए, उनी मानसिक रूपमा विक्षिप्त थिए ।
त्यसो भए ५० वर्षअघि उनले लेखेको ‘हल्लै हल्लाको देश’ कविता आज पनि किन सान्दर्भिक लाग्छ ?
समाज सधैँ अगाडि बढिरहन्छ । कहिल्यै अवरुद्ध हुँदैन । समाज सधैँ अगाडि बढ्ने ठाउँ रहन्छ । त्यसैले त्यतिवेलाका कमी–कमजोरी अझै पनि छन् । त्यतिवेलाको सामाजिक अन्तर्विरोध चारित्रिक हिसाबले परिवर्तन भए पनि मूल जरो असमानता, विसंगति, शोषण कायम छ । त्यसवेला राजतन्त्रसँग लड्यौँ । अहिले राजतन्त्रसँग लड्नुपर्दैन । तर, त्यसका अवशेषसँग लड्नु परिरहेको छ । चरित्र बाँकी छ । त्यसैले त्यस्ता कविता सधैँ सान्दर्भिक लागिरहन्छ ।
पारिजात विसंगतिवादी बाटोबाट प्रगतिवादतिर लागिन् । भूपि प्रगतिवादी बाटो छाडेर पञ्चायततिर लागे । पारिजातको आर्थिक पृष्ठभूमि कमजोर थियो, भूपिको आर्थिक पृष्ठभूमि बलियो थियो । भनेपछि भूपिको पछिल्लो बाटो रोजाइको जड कारण आर्थिक पृष्ठभूमि पनि हो भन्न मिल्छ ?
आर्थिक पृष्ठभूमि पनि एउटा कारण हुन सक्छ । तर, त्यो मात्रै कारण होइन । मानिसलाई परिवर्तन गर्ने विभिन्न कारण हुन सक्छन् । पारिजातले अग्रगामी बाटो रोजिन् । त्यसले हामी उनलाई प्रशंसा गर्छौं । भूपिले ठ्याक्कै उल्टो बाटो रोजे । त्यसैले हामी भूपिको आलोचना गर्छौं ।
गोपालप्रसाद रिमाल, भूपि शेरचन, विमल निभाहरूले हिँडेको कविताको गोरेटोमा पछिल्लो पुस्ताको उपस्थिति कस्तो छ ? यो धाराको नेतृत्व कसैले गरिरहेको छ कि ?
नेतृत्व व्यक्तिले होइन, विचारले गर्छ । अहिले यही धाराको कविताले नेपाली कविताको नेतृत्व गरिरहेको छ । भूपिको पालामा उनी एक्लै थिए । अहिले एकसेएक कविले लेखिरहेका छन् । यसको नेतृत्व कसले लिएको छ भनेर कुनै एक व्यक्तिको नाम लिन मिल्दैन । यो धारा टुटेको छैन, झन् विकसित हुँदै छ । अन्य धारा कमजोर छ । नेपाली साहित्यमा अन्य विधाको तुलनामा कविता नै अगाडि छ ।
तर, आख्यान विधा त अहिले निकै फस्टाइरहेको छ भनिन्छ नि ?
आख्यानलाई महोत्सववादीहरूले खोसेर लगेको छ । बजारले आख्यानलाई खोसेर आफ्नो बनाएको छ । बजारको चंगुलमा फसेको छ आख्यान । आख्यानकारहरूका लागि यो दुर्भाग्य हो । बजारको काम थुनबाट दुध आएसम्म दुहुने हो । आख्यानकारलाई बजारले दुहुनो भैँसीलाई झैं दुहिरहेको छ । रगत नआइन्जेल बजारले दुहिरहनेछ । त्यसबाट आख्यानकार मुक्त हुनुपर्छ । तर, कवितालाई बजारले खोस्न सकेको छैन । किनभने बजारलाई कविताबाट फाइदा पुगेको छैन ।
प्रगतिवादले जुन विचारलाई आफ्नो आदर्श मान्छ, त्यो विचारचाहिँ बिग्रिँदै गएको भनिन्छ । तर, त्यही विचारको वरिवरि रहेर लेखिएको कविताचाहिँ कसरी बलियो भयो त ?
कविताको कर्म विसंगतिविरुद्ध प्रतिरोध गर्ने हो । कवितामार्फत प्रतिरोध गर्ने यो उपयुक्त समय हो । किनभने छद्महरूको बिगबिगी बढेका वेला कविताको भूमिका बलशाली हुनुपर्छ । त्यो हुँदै छ । कविताले बिग्रेकाहरूलाई सच्याउनुपर्ने भूमिका बढ्दै छ । अहिले केही कवि बहकिएका पनि छन् । तर, त्यो संख्या न्यून छ । उनीहरू कुनै दिन फर्किएर आउनेछन् ।
त्यसो भए नयाँ पुस्ताबाट तपाईं आशावादी हुनुहुन्छ ?
नयाँ पुस्ता भनेर म निक्र्योल गर्दिनँ । किनभने एउटै समयमा लेखिरहेकाहरू सबै समकालीन हुन् । मैले कविता लेख्दा जुन समयको अन्तर्विरोध र जटिलतालाई भोगिरहेको छु, त्यो भर्खर लेख्नेहरूले पनि भोगिरहेका छन् । इतिहासमा १०–२० वर्षको अन्तरले खासै अर्थ राख्दैन । माधव घिमिरेले जस्तो कविता लेख्ने बफादार कविहरू पनि छन् । कविता लेखनमा उमेरभन्दा मानसिक तन्दुरुस्तीको कुरा प्रधान हो ।