लहरा भुइँमा फूल रूखमा
लाइएछ माया भूलचुकमा
गैरी खेतीकै, बाँचे भेटौँला मरे यतिकै
सोइसोइला हो सोइसोइला...
उभौली र उधौलीको याममा पूर्वी नेपालका किराँती बस्तीहरू यस्तै भाकाले गुन्जायमान हुने गर्छन् । समयलाई दुई भागमा विभाजन गरेर किराँतीहरू हिउँदको यामलाई उधौली र वर्षाको यामलाई उभौली भन्ने गर्दछन् । समयलाई छुटाउने सीमाका रूपमा विशेषगरी माछाको जीवनचक्रलाई लिने गरिन्छ । चिसो बढेसँगै माछाहरू बेँसीतिर झर्दाको याम उधौली हो भने न्यानोपन बढ्न थालेपछि उँभो लाग्दाको याम उभौली हो ।
खेतीपाती गर्ने उपयुक्त याम भएकाले किराँतीहरू उभौलमा प्रकृतिसँग प्राप्तिका लागि प्रार्थना गर्दछन् । त्यसैगरी उधौली याममा आफूले मागेको कुरा प्रदान गरिदिएकोमा नयाँ अन्न चढाइ पितृ र प्रकृतिप्रति खुसी व्यक्त गर्दछन् । विशेषगरी पूर्वी नेपालको हिमाली, पहाडी र तराई क्षेत्रमा बसोवास गर्ने किराँतीहरूमा भूगोलअनुसार साकेला मनाउने तरिकाहरू केही फरक छन् । सोलुखुम्बु खालिङ राईलगायतले जेठ, भदौ र चैत गरी वर्षको तीनपटक साकेला मनाउने गर्दछन् ।
उनीहरू साकेलामा ढोल नबजाई झ्याम्टाको ‘झ्याम्झयाम् झ्याम्झ्याम’ आवाजमा सिली नाच्दछन् । तर, तल्लोभेगका राईहरू भने झ्याम्टासहित अजंगका ढोल बजाउँदै र गीत गाउँदै वैशाख र मंसिर गरी वर्षको दुईपटक मात्र सिली नाच्ने गर्दछन् । उनीहरूले गाउँदा गीतको अन्त्यमा ‘सोइसोइला हो सोइसोइला’ रहनी अर्थात् थेगोको रूपमा गाउने गर्दछन् । साकेला मनाउनुको सार भने प्रकृति र पितृसँग प्रार्थना गर्नु र प्राप्त भइसकेपछि कृतज्ञता व्यक्त गर्नु नै हो ।
‘सोइसोइला’को ऐतिहासिकता
किराँतीहरूले साकेला नाच्दा गाउने गीत अर्थात् साकेला गीतको रहनी ‘सोइसोइला’को कसरी उत्पत्ति भयो ? प्रशस्तै मात्रामा साकेला गीतको रेकर्ड अथवा भिडियो निर्माण गरिए पनि यो प्रश्नको ठोस र प्रमाणिक जवाफ खोज्नतर्फ नगन्य व्यक्तिहरू मात्र लागेको पाइन्छ । यस्ता स–सानाजस्ता लाग्ने, तर सिंगो किराँती सभ्यतासँग गम्भीर सरोकार राख्ने विषयहरूको ऐतिहासिक खोज–अनुसन्धानतर्फ युवा पुस्ताले ध्यान पु-याउन अत्यावश्यक छ । मुन्दुम अनुसन्धाता भोगीराज चाम्लिङका अनुसार ‘सोइसोइला’लाई इतिहाससँग जोडेर व्याख्या गरिनु जरुरी छ ।
‘सोइसोइला’को कथा सुनुवारदेखि बान्तवा राईहरूसम्मको भूगोलमा प्रचलित छ । सुनुवारहरूका अनुसार बुदाहोपो नामका किराँती राजा बनेपा क्षेत्रमा शासन गर्दथे । उनी मुन्दुमका विज्ञ थिए । उनी राजा हुँदा उनको वंशसँग ‘होमा चिरी’ नामको सुनको चरा थियो । तर, अंश बाँड्नेवेला त्यसलाई कसरी भागबन्डा लगाउने भनी राजा र उनका भाइहरूबीच झगडा प¥यो । त्यसपछि उक्त चराले आफ्नो कारण विवाद उत्पन्न भएकोमा विस्मात् मान्दै ‘म लोप हुन्छु’ भनी लोप भयो । चाम्लिङ भन्छन्, ‘किराँतीहरूसँग सुनको चरा हुनुको अर्थ किराँतीहरू निकै सम्पन्न थिए भन्ने हो ।’
जे होस्, यस कथामा बुदाहोपोलाई किराँती राजाको रूपमा प्रस्तुत गरिएको छ । तिनै ‘बुदाहोपो’लाई राईहरू दुईवटा नामले चिन्दछन् । बुधाहाङ अर्थात् बुढाहाङ । कतिले बुढाहोङ भन्ने गरेको पनि पाइन्छ । ‘बुढाचाहिँ खसकरण र बुधाचाहिँ ध्वनि परिवर्तन भएको हो । त्यसले समग्र किराँतीहरूलाई समेटेको छ,’ चाम्लिङको विश्लेषण छ ।
सुनुवारहरूले बुदाहाङलाई बनेपाको राजा भएको बताउँछन् भने राईहरू दोलखाको राजाका रूपमा व्याख्या गर्दछन् । यद्यपि दोलखामा किराँतीहरूले शासन गरेको इतिहासकारहरूको व्याख्या रहँदै आएको छ । नेपाल र एसियाली अनुसन्धान केन्द्र, त्रिभुवन विश्वविद्यालयको अनुरोधमा जिल्ला विकास समिति, दोलखाले ०३१ सालमा प्रथम र ०५९ सालमा दोस्रो संस्करण प्रकाशन गरेको पुस्तक ‘दोलखाको ऐतिहासिक रूपरेखा’मा धनवज्र बज्रचार्य र टेकबहादुर श्रेष्ठ लेख्छन्, ‘दोलखाभेकमा किराँत परिवारका जातिको शासनको सम्भावनालाई संकेत गर्ने अनुश्रुति पनि चलेको पाइन्छ ।
उदाहरणार्थ दसैँमा खड्गयात्राको प्रसङ्गमा थामीद्वारा, नितपुरीमा रोपाइँको प्रसंगमा नाइकेद्वारा दोलखाका प्राचीनकालका शासकहरूको नामको उल्लेख गर्ने प्रचलनलाई देखाउन सकिन्छ । त्यस प्रसङ्गमा त्यहाँ पहिले ‘हाइ हाइ राजा, सुइ सुइ राजा, गोल्मा राजा’ आदिको नामोल्लेख गरिँदो रहेछ अनि अन्त्यमा वर्तमान गद्दिनसिन श्री ५ महाराजधिराजको नामोल्लेख गरिँदो रहेछ । परम्पराको रूपमा चलेर आएको हुनाले उक्त कुरामा केही सत्यता हुनु सम्भव छ । हुनत हामीकहाँ कल्पित रूपमा पनि अनुश्रुति चलेर जाने देखिएको हुनाले यस्ता अनुश्रुतिलाई सिद्ध गर्ने आधार नपाईकन अनुश्रुतिलाई प्रमाणको रूपमा लिन सकिदैँन । तैपनि दोलखाको भौगोलिक स्थिति हेर्दा किराँत परिवारका जातिको शासन यस भेकमा कुनै वेला चलेको थियो कि भन्ने अनुमान गर्न नसकिने होइन ।’
‘सोइसोइला’को कथा सुनुवारदेखि बान्तवा राईहरूसम्मको भूगोलमा प्रचलित छ, सुनुवारहरूका अनुसार बुदाहोपो नामका किराँती राजा बनेपा क्षेत्रमा शासन गर्दथे, उनी मुन्दुमका विज्ञ थिए
सोही पुस्तकको अर्को प्रसङ्गमा लेखकद्वय लेख्छन्– ‘मध्यकालमा ‘श्रेष्ठ’ त प्रशासक वर्गलाई कहने सामान्य शब्द थियो पछि गएर मात्र यो शब्द ‘थर’ विशेष बन्न गएको हो । यसबाट दोलखा भेकमा नेवार वर्गको बसोवास प्रशासकका रूपमा तथा व्यापारीका रूपमा भएको थियो, यहाँका मूल बासिन्दा त किरात वर्गकै थिए भन्ने संकेत पाइन्छ ।’ यिनै भनाइलाई सिद्ध गर्ने अर्को तथ्य दोलखाको चरिकोटनजिकैको ‘किराँती छाप’ नामको स्थान पनि हो । लिच्छवीहरूसँग पराजित भइसकेपछि पूर्व लाग्ने क्रममा किराँतीहरूले यस भेगमा आफ्नो बसोवास गरेका कारण यस स्थानलाई ‘किराँती छाप’ भनिएको तर्क किराँती विद्वान्हरू गर्दछन् । ‘दोलोकुम्मा’ शब्दबाट ‘दोलखा’ बनेको किराँत राईहरूको व्याख्या रहँदै आएको छ । सुनुवारहरूको व्याख्यामा भने त्यहाँ ‘दोक्खा होंपो’ नामका राजा थिए र त्यहीँबाट ‘दोलखा’ नाम रहन गएको हो । जे भए पनि ‘दोलखा’ किराँती भाषाकै शब्दबाट स्थापित भएको अनुसन्धाताहरू बताउँछन् ।
भूगोलअनुसार बुदाहाङलाई फरक व्याख्या गरिए पनि यसको व्याख्या सुनुवारहरूकै बढी आधिकारिक हुने भोगीराज चाम्लिङ बताउँछन् । ‘यसमा बढी आधिकारिकता सुनुवारहरूको व्याख्यामा नै हुन्छ । किनभने यो भूगोलसँग सुनुवारहरू नै बढी नजिक छन्,’ चाम्लिङको व्याख्या छ, ‘मेरो अध्ययनमा बुदाहाङ बनेपाकै हुनुपर्छ । र, सुनुवारहरूको मुन्दुमअनुसार लिच्छवीहरूले किराँतीहरूलाई पराजित गरिसकेपछि किराँतीहरूको एउटा शासक खलक काठमाडौं छोडेर पूर्व लागे । मुन्दुममा भनिएको यो ऐतिहासिक कुरालाई यो कथाले पुष्टि गर्छ । र, त्यहाँबाट फेरि उनीहरू विस्थापित भएको भनिएको छ । सोइसोइलासँग जोडिएको बुदाहाङलाई हामीले यसरी हेर्नुपर्छ ।’
मुन्दुमअनुसार बुदाहाङका दुई श्रीमती थिए । सिल्टाङ कुप्मा र वासाङ कुप्मा । सिल्टाङ कुप्मा सिली टिप्न सिपालु थिए । हरेक वर्ष साकेला गर्दा बुदाहाङले श्रीपेचजस्तो पगरी गुथ्ने गर्दथे । उक्त पगरी चेलीले लगाइदिनुपर्ने प्रचलनअनुसार सोइसोइला नामकी चेलीले गुथिदिने गर्थिन् । एकपटक साकेलोको विशाल समारोहमा सोइसोइलाले आफ्नो दाइको शिरमा दोलो (श्रीपेच/पगरी/फेटा) लगाइदिनुपर्ने थियो । सोइसोइलाले शिरमा लगाइदिन तयार पारेको दोलो दाइको काँधभन्दा माथि पु-याइन् । तर, अचानक त्यहीवेला उनलाई मासिक स्राव भयो । मासिक स्राव भएपछि सोइसोइला लाजले दाइको शिरमा दोलो नलगाई त्यहाँबाट अलप भइन् ।
त्यसरी सोइसोइला अलप भइसकेपछि आफ्नो बहिनी कता गइन् ? भनी बुदाहोपो र त्यहाँ सहभागीहरू सबैले खोज्न थाले । जति खोज्दा पनि नभेटेपछि ‘दोलोकुम्मा दो (पगरी टिपेर लगाइदेउ) सोइसोइला, तिमीले त दोलोकुम्मा लगाइदिनुपर्ने कता गयौ सोइसोइला ?’ भनी लय मिलाएर बोलाइयो । त्यसरी एकै लयमा बोलाउँदा पनि सोइसोइला आइनन् । अलप भएकी चेली फेरि फर्की नआएपछि तिनै चेलीको स्मृतिमा ‘सोइसोइला’ शब्द साकेला गीतको रहनी रहन गएको पुर्खाहरू बताउँछन् ।