सालिकमुनि कुलदेवता

सुरेश किरण सुरेश किरण
शनिबार, २१ मंसिर, २०७६
डिजिटल संस्करण

नेपाल मण्डल

स्थानीय भन्छन्, ‘टुँडिखेल अकुपाई गरेपछि हाम्रो खेत पनि गयो, देउता पनि गयो ।’

टुँडिखेलबारे यति वेला धेरै कुरा आइसके । नआएको एउटा प्रसंगबाट कुरा सुरु गरौँ । यो २०१३ सालको घटना हो । विश्वभरिका बौद्ध धर्मावलम्बीहरूको चौथौ विश्व सम्मेलन नेपालमा सम्पन्न भयो । यो त्यतिवेलाको समय हो, जुन वेला नेपालमा कुनै ठूला होटेलसमेत खोलिएका थिएनन् र यातायात गुड्ने कुनै राजमार्गसमेत बनेको थिएन । ठूला कार्यक्रम गर्ने कन्फरेन्स हल त झन् टाढाको कुरा । त्यस्तो समयमा अन्तर्राष्ट्रिय सम्मेलन गर्नु दुस्साहसबाहेक अर्को हुनै सक्दैन । तर, नेपालका सम्पूर्ण बौद्ध संघसंस्थाको साझा संगठन धर्मोदय सभाले त्यो सम्मेलन आयोजना गरेरै छोड्यो । त्यसको उद्घाटन भएको थियो, यही टुँडिखेलको चाकलाः फल्चा अर्थात् बाटुले चौतारीमा ।

२०१३ कात्तिक ३० गते बिहीबारका दिन तत्कालीन राजा महेन्द्रले उक्त सम्मेलनको उद्घाटन गर्दै सम्बोधनसमेत गरेका थिए । विश्वका धेरै नै बौद्ध राष्ट्रका सरकार प्रमुख एवं बौद्ध विद्वान्ले भाग लिएको उक्त सम्मेलन नेपालका लागि दुई किसिमले अत्यन्त महत्वपूर्ण रह्यो । पहिलो, त्यो सम्मेलन नेपालमा आयोजना गरिएको इतिहासकै सबैभन्दा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन थियो । सदियौँसम्म बन्द समाजमा कैद रहेको नेपाललाई विश्वसामु चिनाउन उक्त सम्मेलन धेरै नै सहयोगी भएको थियो । यही सम्मेलनपछि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध पनि विस्तार हुँदै गएको देखिन्छ । उक्त सम्मेलनको एक वर्षपछि भारतका राष्ट्रपति राजेन्द्र प्रसाद र त्यसैको अर्को वर्ष चीनका प्रधानमन्त्री चाउ एन लाई नेपाल भ्रमणमा आएका थिए । ती दुवै विशिष्ट व्यक्तिहरूको भ्रमण चलाउन धर्मोदय सभा र त्यसका अध्यक्ष भिक्षु अमृतानन्द महास्थवीरबाट समेत पहल भएको थियो । 

अर्को, गौतम बुद्धको जन्म नेपालमा भएको थियो भन्ने सन्देश विश्वभरि फैलाउने पहिलो कार्य यही सम्मेलनबाट भएको थियो । त्यतिवेला बुद्ध जन्मस्थल लुम्बिनी गुमनामजस्तै थियो । यही सम्मेलनका लागि लुम्बिनीमा सरसफाइ अभियान चलाइएको थियो । सम्मेलनमा भाग लिन आएका विदेशी सहभागीले बुद्ध जन्मस्थल लुम्बिनीको संरक्षण गर्न राजा महेन्द्रलाई अनुरोध गरेका थिए । सम्मेलनलगत्तै सरकारले लुम्बिनीमा प्रतिनिधि पठाई त्यहाँ भइरहेको उत्खनन् कार्यको अनुगमन गराएका थिए । 

नेपालको इतिहासमै महत्व राख्ने यति ठूलो सम्मेलन यही टुँडिखेलमा आयोजना गरिएको थियो । टुँडिखेलको महिमा यसले अझ उजागर गर्छ । तर, विडम्बना, यति महत्वपूर्ण सम्मेलन आयोजना गरिएको उक्त चाकलाः फल्चा भने तिनै राजा महेन्द्रले भत्काउन लगाई त्यहाँ आफ्नी बडा महारानी रत्न राज्यलक्ष्मीको नाममा पार्क बनाए । तत्कालीन अञ्चलाधीश विष्णुमणि आचार्यले रानी रत्नलाई खुसी पार्न रातारातै उक्त चाकलाः फल्चा भत्काई ‘रत्नपार्क’ बनाइदिएको व्यहोरा समाजसेवी तीर्थनारायण मानन्धरले आफ्नो संस्मरण पुस्तक ‘काठमाडौं : उहिले र अहिले’मा लेखेका छन् । त्यति मात्र होइन, रत्नपार्क व्यवस्थापनका लागि खर्च जुटाउने नाममा उनैले टुँडिखेल क्षेत्रकै एक भागमा पसल कवल निकाली रेस्टुरेन्टलाई भाडामा दिएको व्यहोरा पनि पुस्तकमा उल्लेख छ । पछि त्यहाँ पसल कवल थप्दै पूरा बजारै बनाउने काम गरियो । पञ्चायतकालमा गरिएको त्यो गल्ती काठमाडौं महानगरपालिकामा केशव स्थापित मेयर भएर आएपछि सच्याइयो । उनले त्यहाँ राखिएको सबै पसल कवल हटाई पुनः खुला गरे । वर्तमान मेयर विद्यासुन्दर शाक्यले अब त्यो खुला ठाउँसमेत जोडी रानीपोखरीको सौन्दर्यीकरण गर्ने योजना अघि सारेका छन् ।

अहिले टुँडिखेल खुला गर्नुपर्छ, सार्वजनिक गर्नुपर्छ भन्ने अभियान पनि चलिरहेको छ । यति वेला टुँडिखेलको इतिहास खोतल्ने कार्यले पनि गति पाएको छ । टुँडिखेलका नाममा भइरहेका यी सबै गतिविधि त्यही टुँडिखेलवरपर बस्ने स्थानीय ज्यापू समुदाय भने अवाक् भई टुलुटुलु हेरेर बसिरहेका छन् । उनीहरू अवाक् यस कारणले छन् कि अहिले टुँडिखेलको महिमागान गर्नेहरू कसैले पनि त्यो खुला क्षेत्र कुनै वेला यही स्थानीय ज्यापूहरूको धान रोप्ने खेत थियो भन्ने कुरा भने बोलेका छैनन् । यही ठाउँमा कुनै वेला तेबहाः, खिचापुखू, भोंसिक्व टोलका ज्यापूहरू धान रोप्ने गर्थे । यही क्षेत्रमा तेबहालको पाःलाःद्यः (संकटा) को करिब ५०० रोपनी जग्गा पनि रहेको थियो । स्थानीय लुँमधि अजिमा (भद्रकाली) सँग सम्बन्धित जात्रा पर्वहरू यही ठाउँमा सम्पन्न गरिन्थ्यो जो अद्यपि जारी नै छ । तर, तत्कालीन भीमसेन थापाको जगजगीपूर्ण शासनकालमा ती जम्मै खेत ‘अकुपाई’ गरियो ।

स्थानीय तेबहालका समाजसेवी एवं काष्ठमण्डप पुनर्निर्माण समितिका सचिव गौतम डंगोल भन्छन्, ‘खै, यो कुरा त कसैले ल्याउँदै ल्याएनन् । यति ठूलो खुला ठाउँ बनाउनमा हाम्रो पुर्खाले गरेको योगदानबारे किन कसैले नबोलेको ?’

टुँडिखेलभित्र अहिले पनि धेरैजना स्थानीयवासीको दुगुद्यः (कुलदेवता) का मूर्तिहरू रहेका छन् । तर, शासकहरूले टुँडिखेल ‘अकुपाई’ गरेपछि ती जम्मै दुगुद्यःहरूलाई त्यहाँबाट निष्कासित गरिए । अहिले भद्रकाली मन्दिर छेउछाउ बग्रेल्ती छरिएर रहेका दुगुद्यःहरू सबै कुनै वेला त्यही टुँडिखेलभित्र बिराजमान थिए । वर्षको एक दिन देपूजा (कुलपूजा) का दिन परिवारका सबै सदस्य त्यहीँ भेला भई भोज खाने चलन छ । त्यो भोज खाने खुला चौर टुँडिखेल नै थियो । तर, अहिले दिगुद्यःलाई नै टुँडिखेलबाट धपाइदिएपछि त्यस्तो पूजा र भोज आयोजना गर्न पनि स्थानीयलाई समस्या भएको छ । 

टुँडिखेलबाट धपाइएका दिगुद्यःहरू भद्रकालीमा शरण लिन पुगेपछि देपूजा गर्न अप्ठेरोमा पर्ने स्थानीयमध्ये एक गौतम डंगोल पनि हुन् । ‘शासकहरूले गरेको टुँडिखेल अकुपाईपछि हाम्रो खेत पनि गयो, देउता पनि गयो,’ उनी भन्छन् । 

केही स्थानीय जनताको दिगुद्यः भने अझै पनि टुँडिखेलभित्रै रहेका छन् । तर, टुँडिखेलमा बार लगाइएको र कहिलेकाहीँ सुरक्षाकर्मीले टुँडिखेलमा छिर्नै नदिने गरेकाले उनीहरूको कुलपूजासमेत प्रभावित भएका छन् । केही दिगुद्यःहरू राणा शासकका सालिकहरू टुँडिखेलभित्र सार्दा त्यसैको मुनि दबिएर पनि गएका छन् । टुँडिखेल अहिले जुन आकारमा छ, यसको खास क्षेत्रफल त्योभन्दा धेरै ठूलो थियो । यसको क्षेत्रफल १ माइल चौंडाइ र ३ माइल लम्बाइको थियो भनेर विभिन्न ग्रन्थमा लेखिएको पाइन्छ । अहिले टुँडिखेलवरिपरि निर्माण गरिएका विभिन्न सरकारी भवनहरू हुलाक, नेवानि, सञ्चयकोष, विद्युत् प्राधिकरण, दूरसञ्चार कुनै वेला टुँडिखेलकै भूभाग थियो । सानो टुँडिखेल कब्जा गरी नेपाली सेनाले बनाएका विशाल भवनहरू त नयाँ संरचना भइहाले । टुँडिखेल स्वयंलगायत यी जम्मै संरचना जो बनाइए, ती जम्मै स्थानीय समुदायको भूमि अतिक्रमणबाट निर्माण भएको इतिहास भुलेकोमा भने तिनका सन्तति दुःखी छन् ।

काठमाडौंजस्तो भूकम्प आइरहने सहरका लागि टुँडिखेल आपत्को साथी बन्ने कुरामा दुईमत छैन । गएको ०७२ सालको भूकम्पमा भूकम्पपीडित स्थानीय जनताले यहीँ सुरक्षित बसोवास पाएका थिए । ०९० सालको भूकम्पमा पनि पीडित जनतालाई राहत प्रदान गर्ने ठाउँ यही नै थियो । त्यति वेला पीडित जनता मात्र होइन, भूकम्पले भत्काएका घर तथा मन्दिरहरूको फोहोर पनि टुँडिखेलमै थुपारिएका थिए । समाजसेवी मानन्धरले आफ्नो पुस्तकमा लेखेअनुसार त्यतिवेला सहरका विभिन्न स्थानमा घर भत्केर निस्केको माटोको थुप्रो टुँडिखेलसम्म पुर्याउन वसन्तपुर–इन्द्रचोकदेखि रेलको लिकजस्तो बनाई त्यसैमाथि गुड्ने ठेलागाडा राखिएको थियो । त्यही ठेलागाडामा राखी फोहोरको थुप्रो टुँडिखेलसम्म पुर्याई ‘डम्प’ गर्ने गरिन्थ्यो । सहरको सबै ठाउँबाट ल्याइने फोहोर त्यहीँ थुपारिएको थियो । पछि जुद्धशमशेरले नयाँ सडक बनाउँदा त्यहाँको फोहोर पनि टुँडिखेलमै राखेका थिए । निर्माण सम्पन्न भएपछि ती सबै हटाइए । सहरभित्र अर्को कुनै ठूलो खुला ठाउँ नभएकाले नयाँ निर्माण गर्न टुँडिखेल प्रयोग गर्नु त्यतिवेलाको आवश्यकता थियो र बाध्यता पनि । 

सम्पादकको रोजाइ

सुझावित समाचार