चन्द्रनिगाहपुरका समीर घिसिङ (भिटेन)ले जीवनमा कहिल्यै सोचेका थिएनन्– नेपालमा गीत गाउँदा पनि जेल परिन्छ ! जसले आफ्नो पुस्ताको रोमाञ्चक मनोविज्ञान गाएका थिए, गीतमार्फत– हामी यस्तै त हो नि ब्रो ।
यही गीतका कारण भिटेनले थाहा पाए– आफ्नो देश आफैँले सोचेजस्तो रहेनछ । यो देशमा त गीत गाएकै कारण, चलचित्र समीक्षा गरेकै कारण पनि थुनिँनुपर्दो रहेछ । मस्तिष्क आजकाल सोच्न बाध्य भएका छन्– गीत गाएर कस्तो अपराध हुन्छ ?
०००
कसैको क्रियाकलापका कारण जब कोही पीडित हुन्छ, तब मात्र त्यहाँ अपराध भएको मानिन्छ । पीडितसँग पीडा गाँसिएको हुन्छ– भौतिक र भावनात्मक । अब प्रश्न उठ्छ, भिटेनले कसलाई पीडित बनाए ? उनलाई समात्दा जे–जे आरोप लगाइएका थिए, ती आरोप नेपाल प्रहरी नामक एक संस्थासँग सम्बन्धित थिए, कुनै मानवसँग सम्बन्धित थिएन । नेपाल प्रहरी कुनै एउटा जीवित प्राणी होइन, जसलाई पीडा होस् । यो त निर्जीव अवधारणा मात्र हो, जसमा पीडा भन्ने कुनै तत्व रहँदैन । अमानव पीडित कसरी बन्छ त ? नेपाल प्रहरी कागजमा लेखिएको लेखोट हो । वास्तवमै भन्दा यो एक सम्झौता मात्र हो । मानवले मानवकै लागि गरेको एक अवधारणगत सम्झौता । त्यसैले, किन एउटा संस्थालाई पीडा भयो भनेर मानहानीको नाममा मानवलाई समातिन्छ ? फेरि पनि प्रश्न गर्नैपर्छ । भिटेनको गीतले कसलाई पीडित बनायो ? संस्थाको आवरणमा आफूलाई संस्था मान्ने व्यक्तिबाहेक अरू कसलाई उनको गीतले पीडा दिन्छ ?
भिटेनलाई प्रहरीले आरोप लगायो– प्रहरी बर्दीको दुरुपयोग गरेर संस्थाको अपमान गरियो भनेर । प्रहरीले आफ्नो संस्थाको बर्दी दुरुपयोग गर्यो भनेर लोकतन्त्र, गणतन्त्र प्राप्तिपछि सम्भवतः पहिलो आरोप मलाई लगाएको थियो । चलचित्र ‘वधशाला’को निर्माणपछि, मैले महिनौँ नेपाली सेनासँग संघर्ष गर्नुपरेको थियो । विचार र व्यवहारलाई बेवास्ता गर्नेहरूले बर्दीको कुरा उठाउँदा रहेछन् । ‘वधशाला’को सत्य उहाँहरूको तत्कालको विचार र व्यवहारको परिणाम थियो, जसलाई मैले आफ्नो चलचित्रमा प्रस्तुत मात्र गरेको थिएँ । मानवअधिकार हनन उहाँहरूले त्यही बर्दी लगाएरै गर्नुभएको थियो । त्यसैले, आफ्नो बर्दीको अपमान उहाँहरू आफैँले गर्नुभएको थियो । त्यसैले पनि ‘वधशाला’को प्रदर्शन गर्न रोक्ने उहाँहरूको प्रयत्न अन्त्यमा सफल भएको थिएन ।
वास्तवमा, म नेपाली सेनालाई सम्मान गर्छु । देशको सुरक्षा गर्ने सेनाको उद्देश्यलाई पनि सम्मान गर्छु । तर, सेनाले कसैलाई पीडा दिने व्यवहार गर्छ भने त्यो स्वीकारयोग्य हुँदैन भन्ने ‘वधशाला’को मूल सन्देश थियो । भिटेनको घटनामा पनि फेरि बर्दीकै सम्मानको कुरा उठ्यो ।
बर्दी लगाएर भट्टीमा मान्छे हालेर जलाउने र जलाउनेलाई संरक्षण गरिरहने, बालिका बलात्कार भएर मारिएका घटनाका प्रमाण लुकाएर बलात्कारी जोगाउने व्यवहार गरिरहँदा नेपाल प्रहरीको बर्दीको अपमान हुन्छ कि हुँदैन ? फटाहा, गुन्डा, तस्कर, हत्यारा, बलात्कारी, राजद्रोही, भ्रष्टाचारीलाई त्यही बर्दीको आडमा जोगाउन अन्डरटेबुल घुस लिइरहँदा आपूmले लगाएको बर्दीमा दाग लाग्छ भनेर किन सोचिँदैन ?
त्यसैले, नेपाल प्रहरीमाथि आँैला उठ्नु स्वाभाविक हो । नेपाल प्रहरीको माइन्डले के स्विकार्नुपर्यो भने प्रहरी बर्दीको आदर्श, मूल्य र सम्मान नेपाली जनता विशेषतः आजको नयाँ पुस्तासामु गिरिसकेको छ । र, त्यसलाई उच्च बनाउनु नै प्रहरीको पहिलो र एक मात्र आवश्यकता हो । नेपाल प्रहरीका हरेक जिम्मेवार पक्षले आफ्नो संस्थाको गरिमा र आदर्शलाई शिरमा राख्ने हो भने भिटेन आफ्नो गीतको भिडियोमा प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको होइन, अपराधी समातिरहेको दृश्य राख्न बाध्य हुन्छन् । प्रहरीप्रति सम्मान रहेको अवस्थामा प्रहरीको इमानदारिताको गीत गाउन बाध्य हुन्छन् । गीत मात्र होइन, चलचित्र, नाटक, उपन्यास आदि सिर्जनामा प्रहरी खलनायक होइन, नायक बनेर छाउँछ र त्यस्तो हुने वातावरण बनाउने पहिलो दायित्व नेपाल प्रहरीकै पोसाक लगाएर हिँड्ने मानिसको हो ।
भिटेनको गीतले कसलाई पीडित बनायो ? संस्थाको आवरणमा आफूलाई संस्था मान्ने व्यक्तिलाई बाहेक अरू कसलाई उसको गीतले पीडा दिन्छ ?
भिटेनलाई अपराधी देख्नुको सट्टा वास्तविक अपराधी को हुन्, त्यता ध्यान दिऊँ । थुप्रै घटनामा नेपाल प्रहरीको संलग्नताले समाजमा प्रहरीको नकारात्मक इमेज स्थापित भएको छ । यो अत्यन्त खतरनाक मनोविज्ञान हो । अपराधीलाई कारबाही गर्नेहरू नै अपराधीजस्तै देखिने भएपछि जनताले सुरक्षाको अनुभूति कहाँ र कसरी गर्ने ?
आधारभूत यथार्थ के हो भने अपराध गर्न शक्ति चाहिन्छ । र, निमुखा, सोझा, गरिब, आधारभूत आवश्यकताका लागि दैनिक संघर्ष गरिरहने मान्छेसँग शक्ति हुँदैन । शक्ति त स्रोतसाधन, भिड आदिमाथि कब्जा जमाएर बसेका मानिससँग हुन्छ । र, ती मान्छे नितान्त सत्ता, सरकार र राजनीतिक दलसँग सम्बन्धित हुन्छन् । त्यसैले अपराध सत्ताले नै गर्छ, सरकारले नै गर्छ र राजनीतिक शक्तिको आडमा मात्रै हुन्छ ।
सामान्य मान्छेबाट हुने हत्या, चोरी त केबल आबेग मात्र हुन्, जसको निर्माण पनि त्यही शक्तिशाली सत्ताले नै गराउँछ । सामान्यजनका मनोविज्ञानको निर्माता यही सत्ता हो, जसले दबाबपूर्ण मनोविज्ञान, अभाव, अस्थिरता, अराजताको परिणति भोग्दै अचेतन अपराध गर्छन् । तर, व्यवस्थित बृहत् अपराध गर्न सक्षम केबल सत्ता मात्र छ, सरकार अनि पार्टी मात्र छन् । सत्ताको अपराधबाट लाखौँ पीडित हुन्छन् । व्यक्तिको पीडा गौण हुन्छ र नाफा–घाटा मात्रै महत्वपूर्ण ठहरिन्छ । राज्य–सत्ताले यदि अपराध नगर्ने हो भने सामान्य मानिसले हिंसा/अपराध गर्न सक्दैन, गर्नै पर्दैन, गर्दै गर्दैन ।
ठूला अपराधको पीडामा रन्थनिएर बाँचिरहेका हामीजस्ता सामान्य मानिसलाई उक्त क्रिया अपराध नलाग्नु सायद त्यस्तै आयाम होला, जस्तो ठूलो अपराध गरेको सत्तालाई भिटेनको कुरा अपराध लाग्नु ! यो विरोधाभासमा अब वास्तविक अपराधी नै को हो भन्नेतर्फ बहस हुन पहिले जरुरी छ । सत्ता आफैँमा हिंसात्मक संरचना हो, जसले हिंसाका आधारमा सम्झौता गर्न लगाई मानवमाथि शासन गर्छ । समाज विकासक्रममा कुनै समय मानिसले आफ्नो आवश्यकताका लागि बनाएको यो संरचना अहिले आएर मानवभन्दा धेरै गुणा शक्तिशाली भइसक्यो ।
अब त मानवले सत्ताविनाको परिस्थिति पनि कल्पना गर्न नसक्ने भइसक्यो । त्यसैले, सत्ताको उन्माद छ । ऊ आफ्नो हित हुने तत्वलाई आदर्श भनेर लाद्छ । र, आफ्नो अहितका तत्वलाई अपराध भन्छ र दण्ड दिन्छ । ऊ यी दुवै विषयको सहारामा मानवमाथि राज गरिरहेको छ । आदर्शको आवरणमा अपराध गर्ने अस्तित्व हो सत्ता, तसर्थ भिटेन अपराधी भयो । किनकि, उसले सत्ताको आदर्शलाई ठेस पुर्यायो । सत्ताले आफ्नो आदर्श तत्वका रूपमा लिने संस्कृति, समाज, सार्वभौम, संविधान आदिको रक्षार्थ ऊ जो कसैमाथि पनि अपराध गर्न सक्छ । र, आफ्नो संस्कृतिलाई खलल पुर्याएको आरोपमा उसले भिटेनलाई अपराधी मान्यो ।
सत्ता आफैँमा जड संरचना भएकाले संस्कृतिलाई पनि ऊ जडकै रूपमा विश्वास गर्छ । संस्कृति गतिशील अवधारणा मात्र हो, जो कहिल्यै पुरानो हुँदैन भन्ने यथार्थलाई सत्ताले स्विकार्दैन । पुरानो परम्परालाई मात्रै संस्कृति मान्ने सत्तालाई फेसबुक, युट्युब, ट्विटरलगायत सामाजिक सञ्जाल आजको संस्कृति हो भन्ने यथार्थको बुझाइ नै छैन । संस्कृति मानवका भूगोल र समयको आवश्यकतानुसार बदलिने, मिश्रण हुने र परिमार्जित हुँदै जाने तथ्यलाई सत्ता जहिल्यै नकार्छ । किनकि, सत्ता परिवर्तनसँग डराउँछ । र, परिर्वतनकै डरले ऊ आफूलाई शक्तिशाली देखाइरहन संघर्ष गर्छ, जसको निशानामा भिटेन परेको मात्रै हो । अर्थात् हामीले हाम्रो संस्कृति भनेर रटान लगाइरहँदा भिटेन पनि हाम्रै संकृतिको एक अंश हो भन्ने पक्ष बिर्सन मिल्दैन ।
‘हाम्रो संस्कृति’ भन्नेलाई प्रश्न गर्नैपर्छ– को हाम्रो ? के हाम्रो ? को–के नहाम्रो ? तपाईको ‘हामीभित्र’को परिभाषामा कस्ता मूल्य र मान्यता मात्रै अटाउँछन् ? वास्तवमा भन्ने हो भने, सोच नै संस्कृति हो । हामी बहुल संस्कृतिमा बाँचिरहेका छौँ । बहुल सोचको स्थान हुन्छ भने बहुल संस्कृतिको स्थान पनि अवश्य हुन्छ । तर, बहुदल, लोकतन्त्र, गणतन्त्रका नारा फलाक्न नथाक्नेले के बहुल सोच, बहुल संस्कृति, बहुल समाज, बहुल अस्तित्वलाई स्विकार्छन् ? भिटेन प्रकरणले बहुलता स्विकार्दैनन् भन्ने स्पष्ट हुन्छ ।
बहुल सोचको स्थान हुन्छ भने बहुल संस्कृतिको स्थान पनि अवश्य हुन्छ । तर, बहुदल, लोकतन्त्र, गणतन्त्रका नारा फलाक्न नथाक्नेले के बहुल सोच, बहुल संस्कृति, बहुल समाज, बहुल अस्तित्वलाई स्विकार्छन् ? भिटेन प्रकरणले सत्ताले बहुलता स्विकार्दैन भन्ने स्पष्ट हुन्छ ।
एकचोटि सोचौँ त– अहिलेको पुस्ता कुन पुस्ताद्वारा शासित छ ? भिटेनलाई गलत देख्ने कुन पुस्ता हो ? २० सालको सेरोफेरोमा हुर्केको पुस्ताले ६० सालको सेरोफेरोमा हुर्केको पुस्तालाई भन्दै छ, ‘तैँले संस्कृति बिगार्ने भइस् ।’ म ५० सालको सेरोफेरोमा हुर्केको पुस्तालाई त भिटेन थाहा थिएन, जबसम्म उसलाई प्रहरीले पक्रिएन । त्यसपछि मैले उसलाई जान्ने चाहनामा युट्युबमा खोजेँ । करौडौँले उनलाई हेरिसकेको, सुनिसकेको पाउँदा म झसंग भएँ– म त्यो करोडौँभन्दा बाहिर रहेछु । म त आउटडेटेड भएछु । मेरो परिपे्रक्ष्यमा अहिलेका शासक र उनीहरूले बनाएको आदर्श आउटडेटेड भइसक्यो भनि भन्न मिल्दैन र ?
आजको पुस्तालाई बुझ्न, मुल्यांकन गर्न आजकै यथार्थ बुझ्नु आवश्यक छ । स्पेसलेसनेस, गतिशीलता, ग्लोबलाइजेसन, प्राविधिकता, नग्नता, आक्रोश– आजको चरित्र हो, अझ भनौँ संस्कृति हो ।
नग्नता पनि कहीँ संस्कृति हुन्छ भन्ने प्रश्न उठ्न सक्छ । जब अधिकांश विषय प्रकाशमा आइसक्छ तब नग्नता यथार्थ बन्छ । लुकाउँदा, नदेख्दा, नजान्दा, नसुन्दा मात्रै कुनै कुरा नग्नता नलाग्न सक्छ । अब त लुकाउनुपर्ने केही छैन, सबै एक्सपोज भइसक्यो । हरेक गोप्यता एक्सपोज भइसक्यो । सत्य नांगिइसक्यो, देवता नांगिइसके, कपडामा लुकाउन खोजिएको मानवशरीर नांगिसक्यो । अझ भनौँ छालाभित्रको मानवतत्व पनि नांगिसक्यो । त्योभन्दा पनि महत्वपुर्ण मानव मस्तिष्क नांगिइसक्यो ।
नग्नता शब्द सत्ता र शक्तिले नै आदर्शको परिधिबाहिर समावेश गरेको हो । आजको समयमा नेपाल प्रहरी पनि नांगिइसक्यो । बर्दीभित्रका मानिसका नियत व्यवहार हेरे त्यो थाहा लाग्छ । राजनीतिज्ञहरू नांगिसके, व्यापारीहरू नांगिसके, ठेकेदारहरू नांगिसके, समाजका हरेक पक्ष नांगिसके । तैपनि आफूलाई आदर्शको आवरणभित्र लुकाइराख्न चेष्टा गरिरहन्छ र यही नग्नताकै दोधारे नीतिका कारण समाजमा अस्थिरता छ, अराजता छ र आक्रोश छ ।
हरेक युवाभित्रको आक्रोश आजको समयको यथार्थ हो । किनकि सत्ता, शक्ति, ईश्वर, आदर्श सबै नांगिएपछि आजको पुस्तामा एक किसिमको वितृष्णा जागेको छ । असुरक्षा जागेको छ । अभिभावकको नग्न रूप देख्न बाध्य भएको आजको पुस्ताले जताततै हिंसा भोग्न बाध्य भएपछि उसमा आक्रोश बढेको छ । अझ उसले के बुझिसक्यो भने, अब ऊ मानव नरहेर केवल प्रविधिको दास बन्दै छ । र, ऊ छिट्टै रोबर्ट बन्नेछ ।
एकातर्फ उसका लागि संसार खुम्चिसक्यो भने, अर्कोतर्फ ऊ अरूसँग स्पेसमा सम्झौता बाध्य भइसक्यो । अब स्पेस खुलापन नभएर बाध्यता र सम्झौतामा परिणत भइसक्यो । किनकि, उसले त्यसको बदलामा गति पाएको छ । र, उसको ध्यान गतिलाई आफ्नो नियन्त्रणमा राख्न उन्मुख छ । त्यसैले गतिको द्रुततामा स्पेसको अभावलाई आत्मसात् गर्दै ग्लोबल यात्रामा प्रविधिमार्फत सम्पूर्ण नग्नताबाट आनन्दित हुँदै आक्रोश पनि साथसाथै पोख्दै बाँच्न सिकिरहेको आजको पुस्ताको यथार्थलाई नबुझी सीधै अपराधी भन्नुले त्यसबाट द्वन्द्व मात्रै निम्तिन्छ ।
आधुनिकीकरण र एक्पोजरको दासत्वभित्र स्वतन्त्रताको खोजीमा सिसिफसको यात्रा गर्न बाध्य आजको पुस्तालाई प्रतिनिधित्व गर्ने भिटेनलाई जेलमा थुन्नु कतै त्यो ग्लोबलाइजेसन स्पेसलेसनेस नग्नता आक्रोश प्राविधिकतालाई अपराधी भन्न खोज्नु त होइन ? उसका गीत यही चरित्रको उत्पादन हो । आजको मनोविज्ञानको यथार्थ हो । के अब यी यथार्थलाई समातेर जेलमा थुन्न सम्भव छ ? भिटेनको पुस्ता ‘हामी यस्तै त हो नि ब्रो !’ भनिरहेका छन् अनि सत्ता–पुस्ताले पनि ‘हामी यस्तै त हो नि ब्रो !’ भनिरहने हो भने अझ थुप्रै युवा पुस्ताका गायकदेखि नायकसम्म, लेखकदेखि निर्देशकसम्म पक्राउ परिरहनेछन् । र, समाचारका पाना रंगिइरहनेछन् । अब यो युद्धमा कुनै एउटा पुस्ताले ‘हामी त यस्ता होइनौँ नि ब्रो !’ भनेर आफ्नो न्यारेटिभ बदल्नेछ । त्यो हेर्नै बाँकी छ । आशा गर्छु– यसको निष्कर्ष हामी छिट्टै पाउनेछौँ ।