यस कथाका पात्र काल्पनिक भए पनि यहाँ उल्लेख गरिएका घटना यथार्थका नजिक छन् । यहाँ उल्लेख गरिएका परिस्थिति धेरैको राजनीतिक भोगाइसँग मेल खान सक्छन् ।
म रमेश । पूरा नाम, रमेश कार्की । आज म तपाईंलाई मेरो साथी पदमबहादुर ‘विश्वास’को कथा भन्न चाहन्छु । यो विश्वासको मात्र नभएर ‘विश्वासहरू’को कथा हो । विश्वास र मेरो घर नजिकै छ । हामी काठमाडौंको चन्द्रागिरि नगरपालिका नैकापमा जन्मेका हौँ । विश्वास यहीँका पूर्ववडाध्यक्षको कान्छो छोरा हो । केही समयअगाडि उसको बुबाको मृत्यु भएकाले ऊमाथि जिम्मेवारी थपिएको छ । जेठो दाइ मलेसियामा छन् । माइलो दाइले घर धानिरहेकाले उसलाई त्यति घरेलु जिम्मेवारी आइपरिसकेको भने थिएन । हामीले भर्खरै प्लस टू सकेका छौँ । हामीले परीक्षामा पहिलो श्रेणी ल्याएकामा परिवार खुसी छन् । विश्वासबाट परिवारले धेरै आशा गरेको छ ।
विश्वास र म पहिलोपल्ट एउटा नाम चलेको सरकारी कलेज छिर्छौँ । कलेजको नाम ‘चर्चित’ कलेज हो । यो कलेजले यसको नामजस्तै ख्याति कमाएको छ । हाम्रा लागि आज ठूलो सपनाको दिन हो । कलेजको गेटबाट छिर्नेबित्तिकै गेटको दायाँ–बायाँ ठाउँ–ठाउँमा टेबल अनि त्यसमा झुन्ड्याइएको भातृ संगठनको झन्डा छ ।
‘तिमीहरू ब्याचलर लेभलमा नयाँ भर्ना गर्न आएका हौँ ?’ एक अपरिचित व्यक्ति पछाडिबाट कोट्याएर सोध्छ ।
‘हजुर, हामी बिएस्सीका लागि’ विश्वासले उत्तर दिन्छ ।
‘ल, तिमीहरू यो फारम भर, अनि भरिसकेपछि मलाई दिनू, म काम गरिदिन्छु । लाइन पनि बस्नुपर्दैन ।’ हामी लामो लाइन देखेर आत्तिइसकेका थियौँ । हामी यो प्रस्तावबाट खुसी भयौँ । ‘अनि अँ, मेरो नाम राम खनाल है । म क्रान्तिकारीको सचिव’ आफ्नो कार्ड दिँदै, मेरो हातमा भएको पासपोर्ट साइजको फोटो थुतेर गम लगाएर फारममा टाँसिदिन्छन् । हाम्रो कलेजको पहिलो दिन, हामी कलेज घुमेर निस्कन्छौँ ।
हाम्रो कक्षा सुरु हुन्छ । प्लस टूजस्तो रहेनछ कलेज । सरहरू आउने अनि जाने पत्तै नहुने, कक्षाहरू अस्तव्यस्त । सरले पढाएको वेलामा पनि खासै कसैलाई मतलब नहुने । अधिकांश कक्षामा आधाजसो विद्यार्थी अनुपस्थित रहने । फारम भरिदिने राम दाइ र हाम्राबीच राम्रो दोस्ती भइसकेको थियो ।
एक दिन भौतिकशास्त्रको कक्षा हुँदै गर्दा केही केटाहरू र एउटी केटी सरलाई कक्षा कोठाबाट बाहिर जान भन्दै कक्षामा छिर्छन् । त्यो भिडमा राम दाइ पनि थिए । उनीहरू क्रान्तिकारीका नेता रहेछन् भन्ने थाहा लागिहाल्छ । उनीहरू मध्ये केटीले पहिला कलेज अनि आफ्नो संगठनका बारेमा चर्को स्वरमा बुझाउन थाल्छिन् । वेला–वेला राम दाइ पनि मुठ्ठी कसेको हात हावामा उठाउँदै चर्किएर बोल्छन् । पछि बस्ने एक हुल केटाहरू टाउको घोप्ट्याएर उभिन्छन् । एकजना केटोले चनाखो आँखाले पूरै कक्षा नियाल्छ । म भने, छुटेको नोट सार्दै हुन्छु । उनीहरू कक्षामा एकाइ बनाउन आएका रहेछन् । अन्य पदमा छनोट भइसकेपछि कक्षाको एकाइ अध्यक्ष छनोट गर्ने भनियो ।
‘कक्षा अध्यक्षमा विश्वास वा रमेशमध्ये एकजना बस’ राम दाइले भने ।
मैले आफू नबन्ने भनेर जोडजोडले टाउको हल्लाउँदै गर्दा सम्पूर्ण नेताका आँखा विश्वासमै पुग्यो ।
‘ल, उसो भए यो कक्षाको अध्यक्ष विश्वास !’ राम दाइले उद्घोष गरेसँगै कक्षामा जोड–जोडले ताली बज्यो । राम दाइले आएर खादा अनि माला लगाइदिए । पूरै परिवार कांग्रेस रहेको विश्वास, कम्युनिस्ट बन्दै थियो । मलाई किन हो किन भित्रबाटै डर लागिरहेको थियो । म मौन थिएँ । विश्वास विस्तारै खुसी हुँदै थियो । विश्वासको परिवार सबै कांग्रेस भएकाले यो निर्णय त्यति सहज थिएन । गाउँघरका निम्ति पनि यो ठूलो समाचार थियो । कांग्रेसी वडाध्यक्षकै छोरा कम्युनिस्ट बन्नु सानो कुरा थिएन । तर, सिद्धान्तको मर्म बुझेर नभई राम दाइसँगको सम्बन्धका कारण विश्वास कम्युनिस्ट बनेको थियो ।
राम दाइकै सुझाबमा उसले आफ्नो घरनजिकै बालुवा र गिटीको व्यवसाय सुरु गर्छ । राम दाइकै अनि पार्टीकै गुटको बलमा अब विश्वासले नैकापमै एकाइको राजनीति थाल्छ । वडाको बजेटदेखि ठेक्कापट्टामा समेत विश्वास संलग्न हुन थाल्छ ।
समयक्रममा विश्वास बिस्तारै कक्षाकोठामा कम कलेजको चौतारीमा बढी देखिन थाल्यो । राम दाइमार्फत विद्यार्थी नेतासँग उसको राम्रै हिमचिम बढ्दै थियो । हामी पनि अलि परपर हुन थाल्यौँ । सँगै आउने–जाने पनि पातलिन थाल्यो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन केही महिनामै हुने भयो । विश्वास निर्वाचनमै व्यस्त हुन थाल्यो । कक्षामा विश्वास कमै देखिन्थ्यो । विश्वास पनि स्ववियु सदस्यमा उठ्दै थियो । राम दाइ स्ववियु सभापतिमा उठ्दै गर्दा विश्वास झन् धेरै व्यस्त हुन थाल्यो । उनीहरू पार्टीको संस्थापन पक्षको प्यानलमा थिए । कलेजका सबै विद्यार्थीसँग मत माग्ने जिम्मा उसकै भागमा परेजस्तो गरी विश्वास खटिएको थियो । विद्यार्थीलाई बल किनिदिनेदेखि पाठ्यक्रम र पाठ्यभार समेटिएको हातेपुस्तिकासम्म वितरण गर्दै थिए, राम दाइ अनि विश्वासहरू । नयाँ भर्ना हुनेलाई स्वागत कार्यक्रमदेखि हरेक ब्याचलाई निःशुल्क ट्युसनसम्मका कार्यक्रम सञ्चालन हुनथाले । यस्तो लाग्थ्यो, प्रशासन भनेकै क्रान्तिकारी हो अनि प्रशासक राम दाइ । नजिकैको खाजाघरमा राम दाइको नाम लिएर निर्वाचनभरि जति खाजा खाँदा पनि हुन्थ्यो । विश्वासले निर्वाचनका निम्ति स्कुल, कलेज, कन्सल्टेन्सी अनि व्यापारीसँग चन्दा माग्ने जिम्मेवारी पाएको थियो । मैले सुनेअनुसार खाजाको बिल मात्र १५ लाख रुपैयाँ आएको थियो रे !
हामी चर्चित कलेजमा पढिरहेकै वेला पनि सरकारले पेट्रोलको भाउ बढायो । विश्वासहरू आन्दोलनमा उत्रिए । उनीहरूले अर्कै दलबाट निर्वाचित भएका प्रधानमन्त्रीको पुत्लासमेत जलाए । यही क्रममा धरपकड भयो र राम दाइको अनि विश्वासको टाउकोमा प्रहरीले लाठी बर्सायो । उता पुस्तकालयमा समेत दुई संगठनका बीच झगडा हुँदै रहेछ । यता विश्वासको टाउकोबाट रगत बग्दै थियो, उता दुई संगठनको झगडाका कारण पुस्तकालयमा आगजनी भयो । म दोधारमा परेँ । यता धुवाँको मुस्लो उता रातो रगत । म आत्तिएको थिएँ । साथीहरूले राम दाइ र विश्वासलाई घिसारेर क्याम्पसभित्र ल्याए । हामीले उनीहरूलाई वीर हस्पिटल पु¥यायौँ । म विश्वाससँगै थिएँ । मैले ‘के ग¥या तैँले यो ?’ भन्ने भावले हेर्दै ‘राजनीति छाड्न अपिल’ गर्दै थिएँ । ऊ मलाई पुलुक–पुलुक हेर्दै ग्लानि भएको भाव दिँदै थियो ।
यही क्रममा उनीहरूलाई भेट्न पार्टीका राष्ट्रिय अध्यक्षलगायत केन्द्रीय नेताहरू आउँछन् । पार्टी अध्यक्ष नै उनीहरूलाई भेट्न आउँदा एकाएक माहोल उत्सवमा बदलिन्छ । मिडिया अनि भिडबीच राम दाइ अनि विश्वासलाई सबैले ताली बजाएर पुरुषार्थका निम्ति बधाई दिन्छन् । विश्वास उपलब्धिको भावसहित मलाई हेर्छ । म एक्लोपनको भावसहित उसलाई हेर्छु । हामी भिडमा हराउँछौँ । क्याम्पसमा चुनाव हुन्छ । राम दाइले बहुमत ल्याएर जित्छन् । विश्वासले पनि जित्छ । उनीहरू मालाले पुरिन्छन् । मलाई अझै पनि याद छ, मैले भिड छिचोलेर विश्वासलाई भेट्न जान एउटा फोटो खिच्न हम्मेहम्मे भएको । मैले भिड छिचोलेर विश्वासको कानमा भनेको थिएँ, ‘राम्रो काम गर्नू । लाजनीति होइन राजनीति गर्नु ।’ उसले आत्मविश्वाससहितको मुस्कान दिँदै ‘हुन्छ’ भनेको थियो ।
समय बित्दै गयो । म आफ्नो पढाइमै व्यस्त थिएँ । राम दाइ अनि विश्वासको जीवन बदलिएको थियो । विश्वास नयाँ मोटरसाइकल चढ्न थालेको थियो । ‘कसरी किनिस् ?’ भन्दा पार्टीले दिएको भन्थ्यो । मेरो साथी ठूलो नेता त बन्दै थियो, तर उसको तरिकाले मलाई राम्रो लागिरहेको थिएन । हाम्रो चारवर्षे कलेज अध्ययन सकिने सँघारमा थियो । अन्तिम वर्षको नतिजा पनि आइसकेको थियो । म पास भएको थिएँ । विश्वासले पार्टीको कामले परीक्षा नै दिएको थिएन । मैले नयाँ काम पनि पाइसकेको थिएँ । विश्वास फेरि आउन लागेको स्ववियु निर्वाचनमा सभापति उठ्ने तयारी गर्दै थियो । अहिले राम दाइ नै केन्द्रमा भएकाले टिकट पाउन मुस्किल थिएन । विश्वास पनि पार्टीकै नेताहरूको घर जाने अनि पार्टीभित्र कुरा मिलाउने दौडधुपमा थियो । मेरो नजरमा विश्वासले विगत चार वर्षमा धेरै कुरा गुमाएको थियो । राम्रो पढ्ने साथी फेल भएको थियो । घरको अवस्था नाजुक हुँदा पनि ऊ घरको हालबारे बेखबर थियो । प्लस टूदेखि सम्बन्धमा भएकी प्रेमिकाले पनि भर्खरै उसको व्यवहारबाट वाक्क भएर छाडेकी थिई । विश्वास बाहिर ठूलो हुँदै थियो, भित्र–भित्रै खोक्रिँदै थियो ।
एक दिन साँझ दारु खानेक्रममा मैले उसलाई भनेको थिएँ, ‘विश्वास, छाड्दे यार, पढाइ सक्, जागिर खा, बिहे गर् । घर सम्हाल् ।’ उसले दारुकै नशामा रुँदै भनेको थियो, ‘देश बनाउन मेरो पुस्ताले योगदान गर्नैपर्छ ।’ मभित्र पनि झिनो आशा नभएको होइन । मैले उसको दृढतालाई रोक्न सकिनँ । तर, उसले आफँैलाई नै न्याय गर्न नसकेको महसुस म गर्दै थिएँ । स्ववियु निर्वाचन नजिकिँदै थियो, म घरमै थिएँ । अशोकको फोन आयो, ‘विश्वासलाई त विपक्षी दलका केटाहरूले झगडामा खुकुरी हानेछन् । अस्पताल लगिएको छ रे, तँ झट्टै आइजा’ म आत्तिँदै अस्पताल निस्किएँ । अस्पताल पुग्दा विश्वास रक्ताम्मे थियो । उसकी आमा रुँदै थिइन् । मैले फेरि भनेँ, ‘छाड्दे यार ।’ एकैछिनमा प्रहरी लिएर राम दाइ आए । सबै ठूला नेताले यो घटनालाई गम्भीर रूपमा लिने अनि यो जुझारुपनको उच्च मूल्यांकन गर्ने निर्णय गरे ।
विश्वास निर्वाचन जित्ने विश्वासमा देखिन्छ, तर मतदानको एक दिनअघि निर्वाचन स्थगित हुन्छ । विश्वास अस्पतालबाट आधा निको नहुँदै निस्केको थियो, निर्वाचन तयारीमा । तर, उसको मिहिनेतले तरंग ल्याउन पाएन । मैले प्रत्येकचोटि भेट्दा उसलाई भन्ने गर्थेँ, ‘पढाइचाहिँ सक् न है ।’ उसले हुन्छ भन्थ्यो, तर पढाइ सक्न पाउँदैनथ्यो । प्रत्येक दिनजसो पार्टीको कार्यक्रम अनि भेटघाटमै व्यस्त हुन्थ्यो । राम दाइ केन्द्रमा थिए, ऊ बढी नै केन्द्रको वरिपरि हुन्थ्यो । उसले आफ्नो पढाइ पूरा गर्न सकेन । पहिलो वर्षदेखिकै केही विषय बाँकी थिए । आमाकै दबाबमा उसले बिहे पनि ग¥यो । पार्टीकै नजिकको एउटा गैरसरकारी संस्थामा केही समय काम गरेर गुजारा चलाउन थालेको थियो, तर पनि उसले आफ्नो परिवारलाई व्यवस्थित गर्न सकेको थिएन ।
राम दाइकै सुझाबमा उसले आफ्नो घरनजिकै बालुवा र गिट्टीको व्यवसाय सुरु गर्छ । राम दाइकै अनि पार्टीकै गुटको बलमा अब विश्वासले नैकापमै एकाइको राजनीति थाल्छ । वडाको बजेटदेखि ठेक्कापट्टामा समेत विश्वास संलग्न हुन थाल्छ । भविष्यमा मेयर बन्ने अनि आफ्नो बुबाको सपना साकार बनाउने लक्ष्यसहित उसले स्थानीय राजनीति सुरु गर्छ । राम दाइ पनि विद्यार्थी कोटाबाट सांसद बन्ने मेसोमा रहेको कुरा उसले मलाई एक दिन अस्पतालमै सुनाएको थियो । म मेरी माइजूलाई अस्पतालमा भेट्न जाँदा, विश्वास एकाइकै साथी बिरामी भएकाले त्यहाँ पुगेको रहेछ । आजभोलि विश्वास आफ्नो परिवार बिरामी हुँदा पनि अस्पताल पुग्न भ्याउँदैन । तर, पार्टीको सदस्य बिरामी हुँदा भने अस्पताल पुग्छ ।
दाजुभाइको अंशबन्डापछि विश्वास पुर्खौली घरबाट अलिकति पर डेरा लिएर बस्न थालेको थियो । एक दिन बालुवाखानीबाट विश्वास र अन्य पार्टनरलाई लाइसेन्स नलिई काम गरेको भनेर प्रहरीले समातेछ । थाहा पाउनेबित्तिकै मैले पनि उसलाई फोन गरेको थिएँ । माथि नेताहरूसँग कुरा गरिसकेकाले ऊ ढुक्क सुनिन्थ्यो । ‘को हो म चिनेको छस् ? अहिलेको सरकार हाम्रो हो । एक कल फोन ग¥यो भने तेरो जागिर जान्छ ।’ विश्वास इन्स्पेक्टरलाई थर्काउँदै थियो ।
‘साले, तँजस्ता ठुटे नेतालाई दिनहुँ ल्याएर कोच्ने गरेकी छु । तेरो बाउ ल्याए पनि छोड्दिनँ’, इन्स्पेक्टर टेबल ठोकेर उनीहरूलाई थर्काउँछिन् । यी महिला इन्स्पेक्टर आएदेखि त्यहाँ अपराध घटेको थियो । विश्वासहरूको केस मिलाउन राम दाइ आफैँ आउँछन् । साथमा, पार्टीका नयाँ भाइहरू अनि दुई–तीनजना ठेकेदारी गर्ने भुस्तिघ्रे पनि उनीहरूलाई छुटाउन आउँछन् । आजभोलि विश्वास पनि भुस्तिघ्रेहरूले नै घेरिएको हुन्छ । विश्वासले यी भुस्तिघ्रेलाई बालुवाखानीमै राखेको छ । राम दाइले गृहमन्त्रीलाई नै कल गरेर इन्स्पेक्टरलाई ‘माथि’बाट दबाब दिन लगाउँछन् र हुल बाँधेरै निस्कन्छन् । राम दाइले सबैलाई निकालेर रेस्टुरेन्टमा लगेर ‘रमाइलो’ गराउँछन् । अहिले विश्वास पनि जाँड खान खप्पिस भइसकेको थियो । राम दाइले आगामी चुनावका लागि तयारी गर्न निर्देशन दिन्छन् । ‘दाइ, यसपालि मेयरको टिकट मलाई है !’ विश्वासले अलिकति अनिश्चितता मिसाएर भन्छ । ‘म केन्द्रमा कुरा गर्छु’, राम दाइ भन्छन् । विश्वासको दिनचर्या प्रायः चौतारीमा लुँडो र चिया पसलमा क्यारमबोर्ड खेल्दै बित्छ । अन्य समयमा कि घाटमा, कि पुलिस थानामा, कि अस्पतालमा बित्छ । आजकाल विश्वास गाउँमा श्रीमान् श्रीमतीको झगडा मिलाउनेदेखि जग्गा मिलाउनेसम्म व्यस्त छ ।
यता चुनावको चपेटा छ । उता दसैँ लागेको छ । विश्वास भने, संगठनको आन्तरिक चुनावमै व्यस्त छ । ९ः३० को साइतमा आमा कुर्दै गर्दा पनि बिहानै निस्केको विश्वास आउन भ्याउँदैन । फोनसमेत उठाउन नभ्याएका कारण, घरमा सबै आत्तिएका छन् । दिउँसो ३ बजेतिर विश्वास घर पुग्छ । आमा खाटमा सुतिरहेकी हुन्छिन् । श्रीमती, टिभी हेर्दै सोफामा बसेकी हुन्छिन् । ‘आजको दिन पनि तपाईं समयमा घर आउन सक्नु भएन है ?’ रुँदै विश्वासकी श्रीमतीले रिमोट फाल्दै प्रश्न गर्छिन् । ‘चुनाव आउँदै छ । केन्द्रका नेताहरूसँग मिटिङ थियो ।’, विश्वास गल्ती महसुस गर्दै भन्छ ।
विश्वास टीका लगाउनेबित्तिकै फेरि फोनमै व्यस्त हुन्छ । विश्वास ससुरालीसमेत आज जान नभ्याउने भन्दै फोन गर्दागर्दै निस्किन्छ । विश्वासले एकाइमै अर्को गुटको विरोध भए पनि टिकट पाउँछ । उसकै पार्टीबाट टिकट नपाएको घनबहादुर बागी उठ्ने निर्णय गर्छ । विश्वासलाई थप चुनौती थपिन्छ । विश्वासले आफ्नो चुनावी अभियान व्यापक बनाउँछ । ठूलो अनि सत्तारुढ पार्टीका तर्फबाट उम्मेदवार भएकाले चुनाव अभियान राम्रै चलेको छ । फरक पार्टी भए पनि बुबाका कारण पनि विश्वास सबैले चिनेको नाम हो ।
‘सबै क्लबको भोट तपाईंलाई, तर क्लबलाई मैदान बनाउन सहयोग चाहिन्छ है ।’ क्लबका युवाले चुनावी मैदानमा भोट दिनका लागि सर्त राख्छन् । ‘हुन्छ, म मैदान बनाउन सात लाख दिन्छु ।’ विश्वासले सबैका अगाडि कबुल गर्छ । विश्वासले चुनावमा जग्गा प्लटिंग गर्नेहरू, व्यापारी अनि पार्टी सदस्यबाट राम्रो चन्दा उठाएको छ । उसले टिकट मिलाउन पनि अंशमा आएको खेत बेचेर ५० लाख राम दाइमार्फत पार्टीलाई बुझाएको थियो । विश्वासले चुनावमा लाखौँ खर्च गरिसकेको छ ।
मतदान भयो । परिणाममा विश्वास सात भोटले हा¥यो । बहुमत वडामा पार्टीले जित्दै गर्दा, विश्वास भने चुनाव हार्छ । अन्तर्घात अनि बागी उम्मेदवारीले चुनाव हारेको थियो विश्वासले । विश्वासको पारिवारिक जीवन निकै कष्टकर बन्दै थियो । उता राम दाइ भने चुनाव जितेर मन्त्रीको शपथ खाँदै छन् । यता विश्वास भने चुनावमा उठ्दा घरबारीसमेत धितो राखेर उठेको हुँदा रोडमा आइपुगेको छ ।
राम दाइसँग उसको सम्पर्क झनै पातलिन थालेको छ । घरमा दिनहुँ झगडा र विभिन्न समस्या । विश्वास आफैँसँग हार्न थालेको छ । न सीप, न इलम । अहिले त पार्टीका माथिका नेतासमेत टाढिइसकेका छन् । राम दाइले पनि व्यस्त छु भन्दै फोन नउठाएको धेरै दिन भइसकेको रहेछ । विश्वास अब एक्लो हुँदै छ । अब लुँडो खेलेर जीवन चल्न सक्दैन । एक दिन विश्वास धादिङमा गोलभेँडाखेतीका निम्ति जग्गा हेर्न जाँदै थियो । ओरालोमा टिपरले ठक्कर दिँदा उसको दुर्घटना हुन्छ । अस्पताल पु¥याउन नपाउँदै विश्वासको मृत्यु हुन्छ ।
पार्टीका सदस्य अस्पताल पुगेका छन् । आमा एउटा कुनामा अनि श्रीमती अर्को कुनामा रुन पनि नसकेर थचक्क बसेका छन् । पार्टी सदस्यले माला चढाउँदै श्रद्धाञ्जली दिँदै छन् । सबैजना नयाँ नियुक्त भएका मन्त्री रामप्रसाद खनाल अर्थात् राम दाइलाई कुर्दै छन् । निकै समय बितिसकेको थियो । ‘राम दाइ, आज बैठकका कारण आउन नपाउने रे ।’ यस्तै हल्ला कोठामा गुन्जिन थाल्यो । एकैछिनमा, नवनियुक्त मन्त्रीज्यूको पिए आउँछन् । पार्टीको झन्डा ओढाउँछन् । मुट्ठी उठाएर भन्छन्, ‘हाम्रो महान् तथा गौरवशाली पार्टीले तपाईंको बलिदानको उच्च मूल्यांकन गर्नेछ ।’
कमरेड, लाल सलाम !