भारतीय साहित्यमा ‘नयीं कहानी’ आन्दोलनका प्रणेता राजेन्द्र यादव र मन्नू भण्डारीको दाम्पत्य सम्बन्ध सधैँ तनावग्रस्त रह्यो । राजेन्द्र फुक्काफाल थिए भने मन्नू पूरै ‘घरेलु’ । ‘झन् नयाँ’मा केही साताअघि प्रकाशित राजेन्द्र र मन्नू दुवैको आत्मकथामा आउने पात्र टिंकु उनीहरूकी एक्ली छोरी रचना यादव थिइन् ।
रचनालाई हुर्काउने, बढाउने अनि पढाउने ‘बाबु र आमा’ दुवै मन्नू नै थिइन् । तैपनि उनको व्यक्तित्व र आनीबानीमा आमा मन्नूले महास्वार्थी र ढोंगी करार गरेकी तिनै राजेन्द्र यादवको फक्कड स्वभावको ठाडो प्रभाव थियो । राजेन्द्र जिउँदै हुँदा लिखित यो अनुभूतिमा उनले आफ्ना पिताको फुक्काफाल स्वभावको खुलेर प्रशंसा गरेकी छन् । ‘राजेन्द्र यादव और तेइस लेखिका’बाट साभार यस आलेखको अनुवाद कवि तथा कथाकार अभय श्रेष्ठले गरेका हुन् ।
‘म फर्केर आउँछु, अवश्य आउँछु । के तिमी मलाई चिन्न सकौला ?’– राजेन्द्र यादव ।सन् १९८३ मा मेरा बाको टेबुलमा राखिएको थेसिसको नोटमा मैले यो पंक्ति पढेकी हुँ । कस्तो लाग्थ्यो भने यो पंक्ति यस्तो व्यक्तिको हृदयबाट प्रस्फुटित भएको छ जो कुनै समय बरालिएको थियो, हराएको र बर्बाद भइरहेको थियो । तर, आफूलाई फेरि उठाउने आत्मबल जीवित थियो अनि प्रबल आशा । बाले किन यो पंक्ति लेख्नुभएको थियो ? मेरो विचारमा एक लेखक आफ्ना पाठकलाई सम्बोधन गरिरहेको थियो । मर्दै गरेको लेखकको यस पंक्तिले मेरो नजरमा बालाई पहिलोपल्ट जीवित तुल्याइदियो ।
थाहा थियो, उहाँ लेखक हुनुहुन्थ्यो । थाहा मात्र किन, दिनरात उहाँले लेखेको, पढेको देखेकी हुँ । तर, यस पंक्तिमा लुकेको कुण्ठाले मलाई भित्रैसम्म, कुन हदसम्म स्पर्श ग-यो भने पहिलोपल्ट मलाई मेरा बा लेखक हुनुको अर्थबोध भयो । लेखक मात्र होइन, एक सफल लेखक हुनुले उहाँको जिन्दगीमा कति महŒव राख्थ्यो भन्ने कुरा पहिलोपल्ट मलाई महसुस भयो ।
एक वर्षअघि गीताश्रीले मलाई बाको बारेमा लेख्नु भन्दा मैले टारिरहेँ । मैले त यति गहिराइमा गएर कहिल्यै बाको बारेमा विश्लेषण गरेकी थिइनँ । दिमागमै राखेकी थिइनँ भने कसरी कागजमा उतार्नु ! त्यसै पनि मान्छेको स्वभाव के हुन्छ भने ऊ प्रसन्न देखिने मान्छेको बारेमा कम र दुःखी मान्छेको बारेमा बढी विश्लेषण गर्छ । अनि बाको बारेमा सोच्न थाल्दा लाग्छ, यति प्रसन्न, सहज–सरल लाग्ने मेरा बा विश्लेषणका लागि जटिल विषय हुनुहुन्थ्यो ।
जस्तो कि मैले भनेँ, त्यो दिन पहिलोपल्ट मलाई महसुस भयो कि लेखन र लेखक हुनु बाको जिन्दगीमा कति महत्वपूर्ण थियो ! उहाँको पूरै जिन्दगी र सायद बाँच्नुको कारण पनि लेखन नै थियो । धेरै मान्छेले, समीक्षकले उहाँको रचना र लेखक राजेन्द्र यादवबारे प्रशस्त लेखिसकेका छन् । म आफ्नो अनुभवको आधारमा उहाँलाई पिताजीका रूपमा विश्लेषण गर्ने कोसिस गर्छु ।
बाल्यकालदेखि मैले भन्दै आएको पप्पू अर्थात् मेरा बालाई मैले कहिल्यै अवसादग्रस्त देखिनँ । कतिपल्ट उहाँ रुनुभएको र दुःखी हुनुभएको किस्सा आमाले सुनाउनुहुन्थ्यो, तर मैले कहिल्यै देखिनँ । हरेक क्षण हँसी–मजाक र मस्ती । मलाई त यही मात्र सम्झना छ । ‘बाबा रमाइलो मनाउँछ’ भन्दै ताली बजाउँदै उहाँ टुक्का गाँस्दै घरमा कुनै पनि क्षण र कुनै पनि चिन्ताजनक वा तनावको वातावरणलाई क्षणभरमै हलुका बनाइदिनुहुन्थ्यो ।
उहाँले मलाई गाली गर्नुभएको वा रिसाउनुभएको सम्झना छैन । अथवा अरू बाबुआमाले जस्तो असल बन्ने तरिकाबारे थाप्लोमा भाषणको भारी बोकाउने काम पनि कहिल्यै गर्नुभएन । अथवा पढेर डाक्टर–इन्जिनियर बन्न कहिल्यै दबाब दिनुभएन । यी कुरा पढेर कुनै पनि बालकले भन्न सक्छ, सबैका पिताजी यस्तै भइदिऊन् र कमै मान्छे मात्र यस्ता पिताजी बन्न सक्छन् । सत्य के हो भने बा बन्न उहाँलाई कहिल्यै आएन । फेरि असल पिता बन्नु त परकै कुरा ।
मेरा लागि आमा र बा दुवैको भूमिका आमाले नै निर्वाह गर्नुभयो । बालाई त उहाँकी एक छोरी पनि छिन् जो उहाँको जिम्मेदारी हो भन्ने कहिल्यै महसुस भएन । बाल्यकालमा मलाई कैयन्चोटि लागेकै हो, मेरा बा अरूका बाभन्दा किन बेग्लै हुनुहुन्छ ? उहाँ अरूले जस्तै मलाई बस स्टेसनसम्म पु¥याउन किन जानुहुन्न ? इन्डिया गेट र चिल्ड्रेन म्युजियम किन जानुहुन्न ? अथवा टाई, सुट लगाएर, ब्रिफकेस लिएर, अफिसको गाडीमा बसेर सानले किन हिँड्नुहुँदैन ? छिमेकको परिवेशबाट प्रभावित मेरो दिमागमा त्योवेला जो एक पिता छवि थियो, त्यसमा उहाँ कतै पनि फिट हुनुहुन्नथ्यो । नराम्रो पनि लाग्थ्यो । सायद साथीहरूसँग मलाई ईष्र्या पनि थियो ।
परन्तु, आज सोच्छु, उहाँले अरूले जस्तै यी सब गरेको भए म पनि सामान्य युवतीजस्तै पक्का गृहिणी मात्रै हुन्थेँ । यसको अर्थ के होइन भने हरेक साधारण र असल पिताका बच्चा साधारण नै बनेर निस्कन्छन् । म केवल आफ्नो सन्दर्भमा यो कुरा भनिरहेकी छु । हो, यो गैरपिताको भूमिका बाले यति हदसम्म निर्वाह गर्नुभयो कि म असाध्यै बिरामी हुँदा पनि उहाँ गायब । डाक्टरकहाँ लगिदिने अपेक्षा त उहाँसँग गर्नै पर्दैनथ्यो । मेरा हजुरबाले बा बिरामी हुँदा सिरानीछेउ बसेर महिनौँ उहाँको हेरचाह गर्नुभएको थियो रे । अनि त्यही बाबुकी छोरी बिरामी हुँदा बाबुले यस्तो गर्न सक्छ, यस्तो विश्वास गर्न कठिन छ । तर सुन्छु, यस्तै भएको थियो । यस्तोमा मेरी आमा असाध्यै रिसाउनु जायज नै थियो ।
यस्ता केही घटना छन् जुन सुनेर म बासँग एकदम रिसाउनुपर्ने हुन्छ । सुनेको क्षण रिस पनि उठ्छ । पछि रिसको ठाउँमा उहाँप्रति खेद हुन्छ । उहाँको जिन्दगी घरबार, बालबच्चाका लागि बनेकै थिएन । न त यी सब उहाँका लागि थिए । कहाँ फस्नुभएछ बिचरा ! अँ, यो कुरा आमाको सन्दर्भमा पनि उत्तिकै लागू हुन्छ, बिचरी कस्तो लफंगासँग फस्नुभएछ !
यी दुुई ‘बिचरा’ बाबुुआमाकी एक्ली सन्तान हुनुका नाताले म त अति बिचरी हुनुपथ्र्यो । तर, आफूू बिचरी भए पनि मैले आफूलाई कहिल्यै बिचरी महसुुस गरिनँ । मेरो व्यक्तित्व बनाउन आमाको ठूलो योगदान छ । उहाँको बारे लेखेँ भने यसको चर्चा गर्नेछु । यस लेखलाई म मेरा पितामाथि नै केन्द्रित गर्न चाहन्छु ।
आमा भन्नुहुन्छ, मेरो अनुहार र जिउडाल उहाँसँग मिल्छ, तर स्वभाव र आनीबानी बासँग धेरै मिल्छ । यो कुरा उहाँ रिस उठ्दा भन्नुहुन्छ वा माया गर्दा भन्ने म बुझ्दिनँ । तर, लाग्छ यसमा सच्चाइ अवश्य छ ।
मेरी आमा र मेरा नजिकका केही साथी मेरो एउटा बानीका कारण रिसाएका र हैरान भएका छन् । म आफ्नो विचार खुलेर कहिल्यै व्यक्त गर्दिनँ । कुनै काम गर्नु छ भने त्यसबारे पहिल्यै नभनी म सुरु गरेपछि मात्र सूचना दिन्छु । यही बानी कैयन् गुणा बढी मेरा बाको थियो । उहाँको मनमा के खेलिरहेको छ भन्ने तपाईं कहिल्यै अनुमान गर्न सक्नुहुन्न । कुन कामको कस्तो योजना ! यस्तोबारे सायदै उहाँ अरूलाई बताउनुहुन्थ्यो । कदाचित मजबुरीमा गर्नुप-यो भने मात्र त्यस स्थितिमा जब उहाँको योजनामा अर्को व्यक्तिको साझेदारी अनिवार्य होस् । अब यस्तो व्यक्तिसँग बस्नु र नाता निर्वाह गर्नु सजिलो छैन । केही हदसम्म म आफैँ यस्ती छु । एक स्तरसम्म यो कुरा बुुझ्छु अनि एक सीमासम्म बिनागुनासो स्विकार्छु पनि ।
धेरै समयसम्म कुरा लुकाइराख्नुुको पछाडि स्थितिअनुसारका अनेक कारण हुन सक्छन् । मेरो अनुमानमा मोटामोटी दुुई कारण दिमागमा आउँछ । कि त त्यो कुरा, काम वा विचार यति गलत हुन्छ जसलाई लुकाउनुमै आफ्नो र नजिक रहनेको भलाइ हुन्छ । कि त आफूभित्र आत्मविश्वास कम हुन्छ । सोचेको काम गर्ने क्षमता मसँग छैन भने ? योजना असफल भयो भने ? पहिल्यैदेखि हल्ला गरियो भने कति धुस्नो काटिएला ? राम्रो के हुन्छ भने पहिला बुुझ्नु, परख गर्नु र गरेर हेर्नु । सफल भइएछ छ भने वाह ! कुरो आफैँ बाहिर आउँछ । सफल भइएन भने कमसे कम यस्तो लज्जास्पद हारबारे कसैलाई थाहा हुँदैन । मेरो क्षमता र सीपबारे प्रश्न त उठ्दैन !
यो विश्लेषण मेरो आफ्नै सोच हो, मेरो निष्कर्ष । मेरै दृष्टिकोणबाट । हुन सक्छ यो सच्चाइबाट कोसौँ टाढा छ । तर, हरेक व्यक्तिको आफ्नै दृष्टिकोण हुन्छ जसअनुसार ऊ आफ्नो धारणा बनाउँछ । उसका लागि त्यही सत्य हो । उसको सत्य ।त जहाँसम्म मलाई लाग्छ, एकदमै गहिराइमा लुकेको यो आत्मविश्वासको कमीबाट मुक्त हुन वा त्यसमाथि विजय पाउने निरन्तर र अटुट कोसिसले बाको चरित्रमा एक विशेषतालाई जन्म दियो । उहाँको बेहिसाब र उदाहरणीय दृढता । एकपल्ट कुनै काम चिताएपछि बिताएरै छाड्ने । त्यसको पिछा नछाड्ने । पूरै एकाग्रता र तल्लीनताका साथ ।
यति मस्त र फक्कड देखिने बा कुन हदसम्म आत्मप्रेरित र अनुशासित हुनुहुन्छ भने जब उहाँ कुनै योजनामा लाग्नुहुन्छ उहाँको यो अनुशासनले त्यसमा कुनै पनि प्रकारको रुकावट वा अड्चन तेस्र्याउने अनुमति दिँदैन । आफ्नो लेखपढको समय न उहाँ कसैलाई दिन सक्नुहुन्छ । न कसैसँग बिताउन सक्नुहुन्छ । उहाँका जति नै नजिकका वा प्रिय मित्र अथवा नातागोता हुन् न, केही फरक नपर्ने । सुन्दा यसमा एक आत्मकेन्द्रित व्यक्तिको चित्र आउँछ र बाका लागि यस्तो भन्नु गलत पनि हुँदैन । परन्तु, मलाई लाग्छ, केही विशिष्ट प्राप्तिका लागि मान्छे थोरै आत्मकेन्द्रित पनि हुनुपर्छ ।
अब यो गलत हो वा सही, म आफूलाई एकदमै भाग्यमानी ठान्छु किनभने यो चरित्र वा विशेषता मैले उहाँकै बिरासतमा पाएकी हुँ । आज ममा केही भिन्न गर्ने चाहना र लगभग लाटो भूत शैलीमा काममा लाग्ने क्षमता छ भने त्यो धेरै हदसम्म उहाँकै देन हो । पागलपन र दृढ आकांक्षाविनाको जिन्दगी व्यर्थ हुन्छ । यो मैले बासँग सिकेकी हुँ ।
भनिन्छ, पिपल हु ह्याभ अ प्यासन इन लाइफ आर ट्रुली ब्लेस्ड, एन्ड पिपल हु स्पेन्ड देयर इन्टायर लाइभ्स विदाउट अ प्यासन, मे एज वेल ह्याभ नट लिभ्ड (सपना देख्ने मान्छे नै भाग्यमानी हुन्छ । जसले पूरै जिन्दगी सपनाविना बिताउँछ, ऊ खासमा बाँचेकै हुँदैन) । यसमा म आफ्ना लागि बाको ठूलो देन पाउँछु । यसमै जोडिएको एउटा प्रसंग छ । यस्तै एउटा शिक्षा मैले बाबाट सिकेकी छु ।
बाल्यकालदेखि नै घरमा मैले कहिल्यै पूजापाठ भएको देखिनँ । मन्दिर जाने, व्रत बस्ने वा जाग्राम बस्ने, यस्ता कुनै काम हुँदैनथे । जागरण त अवश्य हुन्थ्यो । त्यसमा आमा–बाका नजिकका साथी सामेल हुन्थे । तर, धार्मिक सत्संगी भावभन्दा एकदम विपरीत । हँसीमजाक, एक अर्काको धुस्नो कटाइ र बौद्धिक बहसमा रात बित्थ्यो । आमा फेरि पनि वर्षको एकपल्ट दीपावलीमा पूजा आयोजना गर्ने प्रयत्न गर्नुहुन्थ्यो । तर, त्यो पनि बा हुँदा अक्सर ठट्टा र हँसीमजाक बनेर बित्थ्यो । मैले एकचोटि दीपावलीमा अलि रिसाएर बालाई भनेकी थिएँ, ‘तपाईं कहिलेकाहीँ त भगवान्को पूजा गर्नुस् । वर्षको एकचोटि मात्र भए पनि ।’
मजाकको मुद्रामा दुवै हात फैलाएर बाले जवाफ दिनुुभयो, ‘त्यसो भए मैले आफ्नै पूजा गर्नुपर्ने भयो किनभने साक्षात भगवान् मभित्रै बस्छन् । मलाई त केबल आफैँमाथि विश्वास छ ।’बालाई सायद याद पनि छैन होला । तर, वर्षौंपहिले मजाकमा उहाँले भनेको यही एक पंक्तिको प्रभाव ममा कस्तरी प¥यो भने त्यसले मेरो विचारमा नयाँ मोड दियो ।
म आफूलाई नास्तिक त मान्दिनँ, तर यति अवश्य भन्छु कि मलाई आज सबभन्दा बढी भरोसा आफू र आफ्नै क्षमतामाथि छ । घन्टौँ लगाएर मन्दिरमा पूजा गर्नुको साटो त्यति समयभित्र केही सकारात्मक गरेँ भने सायद म ज्यादा हासिल गर्न सक्षम हुन्छु । त, मेरो पनि केही हदसम्म बाको जस्तै आफ्नै पूजा गर्ने प्रवृत्ति छ । केही प्राप्ति नहुँदा आफैँलाई गाली गर्छु र केही पाउन आफैँलाई मिहिनेत गर्न बाध्य बनाउँछु । त्यसमै लागिरहन्छु ।
यी सबभन्दा बेग्लै एउटा किस्सा मलाई याद आउँछ जसले बाको बाबापन र गैरबाबापनबारे प्रकाश पार्छ । जस्तो कि हामी सबैलाई थाहा छ, हरेक असल भारतीय पितालाई आफ्नी छोरीको बिहेबारे ठूलो चिन्ता हुन्छ । राम्रो जागिर भएको, राम्रो कमाइ गर्ने केटाको खोजी । तर, बाले यसबारे कहिल्यै सोच्नु नै भएको थिएन । मेरो पढाइ, पहिलो जागिर आदि हरेक कुरा स्वतः हुँदै गयो । उहाँलाई लागेको हुँदो हो, यो पनि स्वतः हुन्छ र आफ्नो मोजमज्जा जारी रहनेछ ।

दिनेश जब पहिलोपल्ट हाम्रो बिहेको कुरा गर्न घर आउनेवाला थिए, त्यसवेला आमा दिल्लीबाहिर हुनुहुन्थ्यो । अब यो अन्तर्वार्ताको सारा जिम्मेदारी बालाई आइलाग्यो । दिनेश कोठामा छिर्दा (कुर्ता, दारी र कानमा संगीतको धुन) बा आफ्नो कुर्सीमा पाइप तान्दै जिम्मेदार पिताको स्वरूपमा हुनुहुन्थ्यो । सायद आफ्ना कुनै मित्रलाई सोध्नुुभएको थियो, यस्तो स्थितिमा एक असल र सतर्क पिताको भूमिका निर्वाह गर्न कस्ता प्रश्न सोध्नु जरुरी छ ।
सबै कुरा मलाई याद छैन । तर, उहाँले सोध्नुुभएका दुुई प्रश्न मलाई राम्ररी याद छ ।
बा– आजभोलि के गर्दै छौ ?
दिनेश– अहिलेलाई त केही छैन ।
बा – अब के गर्ने विचार छ ?
दिनेश : अहिल्यै त केही थाहा छैन ।
यस्तो जवाफ सुन्दा कुनचाहिँ बाबु आफ्नी छोरीको बिहे यस्तो केटोसँग गरिदिन राजी हुन्छ ? तर, बा त प्रसन्न, ‘यी त बिलकुल मजस्तै रहेछन् ।’ हो, उहाँले यति अवश्य भन्नुुभयो कि केटो सिर्जनशीलखालकै देखिन्छ । कति भरपर्दो छ, तिमी आफैँ विचार गर्नु । बा दिनेशसँग जति प्रसन्न हुनुहुन्थ्यो, आज दिनेश पनि उहाँसँग उत्तिकै प्रसन्न छन् । उनी अक्सर भन्छन्, ‘आई एम लक्की टु ह्याभ अ बोहिमियन फादर–इन–ल लाइक हिम । डन्ट इभर ट्राई एन्ड पुट हिम इन अ कन्भेन्सनल फ्रेमवर्क । यु विल डिस्ट्रोय हिम ।’ (यस्ता फुक्काफाल, पुरानो ढर्राका भञ्जक ससुरा पाउनु मेरो भाग्य हो । उहाँलाई कहिल्यै परम्पराको फ्रेमवर्कमा राखेर नहेर्नू । त्यसो गर्दा तिमी उहाँको छविलाई तहसनहस पाछ्र्यौ ।’)
त यस्ता अजिब–गरिब बाबु नामको एक फिगरको साथमा म ठूली भएँ । एक यस्ता पिता जसलाई म के खान्छु, कुन कक्षामा छु, असल बालकझैँ म आज्ञाकारी छु कि छैन, समाजका हरेक नियम पालना गरिरहेकी छु छैन आदि कुरामा कहिल्यै चिन्ता भएन । मेरोबारेमा उहाँलाई कहिल्यै कुनै चिन्ता थियो भने यही थियो कि म कुनै प्रश्न नउठाई समाज निर्मित ढर्रामा चल्ने, हरेक नियम पालन गर्ने र परम्परागत जिन्दगीलाई नै सफल मान्ने ती लाखौँ करोडौँ युवतीजस्तै नबनूँ जो आए र कुनै प्रभाव नछाडी गए ।
भन्नुपर्ने त अझै कति कुरा छन्, कति किस्सा छन् । यहाँनिर अन्त्य गर्दै यही भन्छु कि सन् १९८३ मा पढेको त्यो पंक्तिले एक लेखकलाई मेरोसामु त जीवित बनाइदियो । तर यस्ता कुनै पनि किस्साको सम्झना छैन, जसले मलाई उहाँ एक परम्परागत पिता भएको महसुस होस् । लेखक बन्नमा कति व्यस्त हुनुभयो भने उहाँलाई बाबु बन्ने परिस्थिति नै आएन ।
यी कुरा जेजसो भए पनि बा र मेरोबीच यति बलियो सम्बन्ध छ कि त्यसलाई मात्र हामी दुईजना बुझ्न सक्छौँ । बाबु हुनुको भूमिका निर्वाह नगरी उहाँले मलाई र मेरो व्यक्तित्वलाई यति धेरै कुरा दिनुभएको छ कि राजेन्द्र यादवकी छोरी हुँ भन्नमा मलाई गर्व छ ।