‘लमजुङबाट झरेँ म रुँदै,
तरेँ मिदिम उज्यालो नहुँदै’
यो लोकगुञ्जनले लमजुङको मिदिम नदी र त्यसवरपरको जनपरिवेशलाई चित्रण गर्छ । लोकभाखामा प्रस्तुत हरफ स्थानीय जिन्दगीलाई चियाउने आँखीझ्यालका रूपमा प्रस्तुत भएको छ । मिदिम नदी पश्चिमी लमजुङको जीवनधारा त हुँदै हो, यसको सतत प्रवाहमा लोकगीतको भावधारा पनि सलल बगेको छ ।
मिदिम नदीको मात्रै किन कुरा गर्नु र ? सबै खोलानाला–नदीनाला सधैँभरि संगीतको हिस्सा बन्दै आएका छन् । यसका अतिरिक्त चराचुरुंगीको चिरबिर, झरनाको झंकार र हावाको सरसराहटपूर्ण परिवेशलाई पनि संगीतकै अभिन्न हिस्सा मानिँदै आएको छ ।
मानिस र नदीनालाबीचको अन्तरसम्बन्ध विराट छ । हरप्पा, मिश्र, सिन्धु, मेसोपोटामिया, टिग्रिस, हवाङ्–होजस्ता विशाल सभ्यताहरू नदीछेउमै उदाएका हुन् । यसले नै बताउँछ, मानवजाति र नदीबीच कति अन्योन्याश्रित सम्बन्ध छ भन्ने तथ्य ।
लोकसाहित्यका अध्येताका दृष्टिमा सुख–दुःखमा गुनगुनाउँदा–गुनगुनाउँदै लोकगीतको जन्म हुन्छ । त्यसमा पनि नदीनाला (वर्षा)ले त लोकगीत जन्माउनका लागि सुँढेनीकै काम गर्छन् । यी जलजन्य तत्वले लोकभाखामा नजानिँदो किसिमले सुमधुर संगीत भरिदिन्छ, जसबाट लोकभाखा अतिशय लयदार र श्रुतिमधुर बन्न पुग्छ ।
नदीनालाले लोकगीतको रचनागर्भमा जति योगदान दिएको छ, त्यति नै नदीनाला स्वयं लोकगीतको विषय पनि बन्दै आएको छ । दुनियाँमा नदीलाई विषयवस्तु बनाएर बेहिसाब गीत रचिएका–गुनगुनाइएका छन् । छिमेकी मुलुक भारतमा गंगा, यमुना, नर्मदा, काबेरी, गोदावरी, ब्रह्मपुत्रलगायतका नदीबारे जनस्तरमा पर्याप्त गीत गाइएका छन् ।
भारतको आसामस्थित डिबु्रगढ विश्वविद्यालयका प्राध्यापक डा. पल्लवी डेका बुजारबोरुहले सन् २०१४ मा ‘इन्टरनेसनल जर्नल अफ सोसल साइन्सेज्, आर्ट एन्ड ह्युम्यानिटिज्’ नामक जर्नलमा खोजमूलक लेख लेखिकी छिन् । ‘रिभर्स एन्ड द आसामिज फोक लाइभ : अ राइट रिलेसनसिप अफ म्यान एन्ड नेचर’ शीर्षकको लेखमा उनले नदी र मानिसको अन्तरसम्बन्ध, आसामी लोकजीवन, नदीकेन्द्रित गीत तथा साहित्यबारे विशद चर्चा गरेकी छिन् ।
नदीसम्बन्धी गीतले भारतीय चलचित्र उद्योग बलिउडमा पनि राम्रो भाउ पाएका छन् । एसडी बर्मन (सन् १९०६–१९७५), मन्ना डे (सन् १९१९–२०१३), भूपेन हजारिका (सन् १९२६–२०११), किशोर कुमार (सन् १९२९–१९८७)जस्ता भारतीय प्रतिभाका गलामा नदीबारे श्रुतिमधुर गीत गुञ्जिएका छन् ।
भारतका अतिरिक्त बंगलादेश र पाकिस्तानमा पनि नदीनालासम्बन्धी गीतले स्थान पाएका छन् । बंगलादेश र भारतको पश्चिम बंगालमा ‘भाटियाली’ गीत निकै लोकप्रिय छ । मूलतः त्यहाँका माझी समुदायले डुंगामा चढेर गाउने गीत नै ‘भाटियाली’ हो । अहिले ‘भाटियाली’का अनेकौँ संस्करण र शैलीमा अस्तित्वमा छन्, जसबाट ‘भाटियाली’ जीवन्त र समृद्ध बनेको छ ।
चीनमा ह्वाङ–हो (यलो रिभर), च्याङ, याङसीलगायतका लामो दूरी पार गर्ने नदीहरू छन्, जसको जनजीवनसँग गहिरो नाता जोडिएका छन् । किसान, माछा मार्ने समुदाय र अन्य समुदायको प्रत्यक्ष वा परोक्ष रूपमा नदीसँग नाता जोडिन्छ । स्वाभाविक छ, त्यहाँ नदी र जनजीवनका विविध आयामबारे गीत गाइन्छन् । त्यहाँ डुंगामा बसेर सवाल–जवाफ गर्नेदेखि विरह–व्यथा पोख्नेसम्मका अनेकौं शैली र भाँतीका गीत प्रचलित छन् ।
उता, ‘सङ अफ द भोल्गा बोटमेन’ रुसको चर्चितको लोकगीतसंग्रह हो, जुन रुसी संगीतकार मिली बलकिजोभ (सन् १८२६–१९१०)ले संकलन गरेका हुन् । भोल्गा नदीले समेटेको बृहत् परिवेशलाई अँगालेर तयार पारिएको एल्बम ‘सङ अफ द भोल्गा बोटमेन’ पछि गएर रुसी लालसेनाको सांगीतिक दस्ताको नाम पनि
बन्न पुग्यो ।
अमेरिकामा पनि नदीनालाबारे असंख्य गीत रचिएका–गाइएका छन् । ‘टेक मि टु द रिभर’, ‘मेनी रिभर्स टु क्रस’, ‘द रिभर इज फ्लोइङ’, ‘ह्वेर द रिभर्स प्लो’जस्ता नदीसँग सम्बन्धित गीत अमेरिकी जनजिब्रोमा उच्चारण भइरहनेगीत हुन् ।
त्यहाँ नदीको नाम राखेर एल्बम निकालिएका छन् । अमेरिकी गायक बु्रस स्प्रिङटिनले सन् १९८० मा ‘द रिभर’ नामक एल्बम निकाले । सँगसँगै ‘क्रिस रिभर्स एल्बम’, ‘साम रिभर्स्’ एल्बमजस्ता नदीसँग जोडिएका अरू एल्बम पनि निस्किए । अमेरकी ब्यान्ड ‘द ब्याडलिज’ले सन् १९९५ मा ‘रिभर सङ्स’ शीर्षकमा एल्बम निकाल्यो । त्यहाँ कतिपय सांगीतिक ब्यान्डको नाम पनि नदीकै नामबाट राखिएका छन् । ‘ट्रिनिटी रिभर ब्यान्ड’लाई यसको दृष्टान्तका रूपमा लिन सकिन्छ ।
अमेरिकामा अर्को टे«न्ड पनि भेटिन्छ । नदी उत्पत्तिस्थलदेखि समुद्रमा पुग्नुअघिसम्म त्यसले गर्ने तय गर्ने दूरी, त्यसको भौगोलिकता एवं नदीले पारेको सामाजिक–सांस्कृतिक प्रभावबारे वर्णन गरेर गीत गाइन्छ । यस्तो गीत ‘रिभर जर्नी सङ’ नामले परिचित छ ।
विश्वको सांगीतिक नक्सामा प्रत्येक डाँडा वा पाखामा नयाँ भाखा भेटिने देशको रूपमा अंकित छ, नेपाल । जताततै लोकभाखा फक्रिने यो अनुपम भूगोलमा नदीनालाबारे गीत नबन्ने कुरै भएन । यहाँ, नदीनालाबारे असंख्य श्रुतिमधुर लोकगीत युगौँदेखि लयबद्ध हुँदै अनि गुञ्जँदै आएका छन् । यी गीतमा जनजीवनको ढुकढुकी र स्थानीयपन सल्बलाउँछन् ।
सामान्यतया, नेपाली लोकगीत अन्त्यानुप्रासयुक्त हुन्छ । यसको अर्थ हो, पहिलो र दोस्रो हरफको अन्तिम शब्द एकआपसमा अनुप्रासयुक्त हुन्छन् । उदाहरणका लागि ‘बढेर आयो त्यो काली गंगा बगायो बारी छेउ, बिरानो देशमा दियौ नि बाबा पाइनँ मैले भेउ’ मा ‘छेउ’ र ‘भेउ’ अनुप्रासयुक्त छन् । यहाँ, काली गंगाको प्रसंग अन्त्यानुप्रास मिलाउनका लागि मात्र आएको देखिन्छ । गीतको मूल सन्देश पछिल्लो हरफमा रहेको छ ।
‘आँधी खोला फनक्कै घुमेको, एउटै रुमाल दुइटीले बुनेको’, ‘आँधीखोला तरेसी भिरालो, सधैँ मलाई मायाको पिरलो’, ‘राम्दी पुल तरनेबित्तिकै, बाँचे भेट मरे त यत्तिकै’, ‘सेती दोभान, न तिम्लाई न मलाई गयो जोवन’, ‘तिनाउ खोलाको, के भर छ र नि मर्ने चोलाको’ जस्ता गीतहरूमा खोलाको प्रसंग अत्यानुप्रास मिलाउनकै लागि मात्र आएको देखिन्छ । गीतको मूल अन्तिम लाइनमा छ ।
तर, सबै गीतमा यस्तो हुँदैन । कतिपय लोकगीतमा पहिलो हरफ र दोस्रो हरफबीच भाव पक्ष र अन्त्यानुप्रास एक–आपसमा ¥याङकोठ्याङ मिल्छन् । जस्तै ः ‘खोलापारि म माया लाउँदिनँ, बर्खा लाग्यो आइरहन पाउँदिन’, ‘तिमी काँ’को म काँ’को काँ’कोे, दुई खोलीको पानीभैmँ भेट भाको’, ‘माछी काँ’छ खोलीको लेउमा छ, माया काँ’छ कलेजी छेउमा छ’ । यी गीतका पहिलो हरफ र दोस्रो हरफ अत्यानुप्रास र एक–अर्कामा परिपूरक मात्र देखिएका छैनन्, भाव निर्माणका दृष्टिले उत्तिकै अर्थपूर्ण पनि छन् ।
केही लोकगीतमा अन्त्यानुप्रास र भाव पक्ष केही हदसम्म एकाकार हुन खोजेको देखिन्छ, तर पूरापुर एकाकार भएको पाइन्न । दृष्टान्त ः ‘सेती खोला चाइनेजो फनक्कै घुमेको, माछा छैन नि चाइनेजो जाल केलाई बुनेको’, ‘गयो माया मस्र्याङ्दी तिरैतिर, सञ्चो छ कि बिसञ्चो लाग्छ पीर’ । यी गीतमा पहिलो हरफ र दोस्रो हरफको अन्त्यानुप्रास मिले पनि पहिलो हरफले भाव निर्माणमा अपेक्षित योगदान दिएको पाइँदैन ।
नदीनालाले लोकगीतको रचनागर्भमा जति योगदान दिएको छ, त्यति नै नदीनाला स्वयं लोकगीतको विषय पनि बन्दै आएको छ । दुनियाँमा नदीलाई विषयवस्तु बनाएर बेहिसाब गीत रचिएका–गुनगुनाइएका छन् ।
यी त भए, नदीनालासम्बन्धी लोकगीतको प्राविधिक पक्ष । नदीनालासँग जोडिएको गीतको भाव–विधानलाई नियाल्ने हो भने रोमान्टिक, आध्यात्मिक, नोस्टाल्जिकलगायत सबै किसिमका भावनात्मक ज्वारभाटा भेटिन्छन् । गीतका अन्तरवस्तु र अन्तर्यमा पर्याप्त मर्म र भावुकता छचल्किएका हुन्छन् । यस्ता लोकगीतलाई समाजशास्त्रीय कोणबाट विश्लेषण गर्ने हो भने यसबाट लोकजीवनका धेरै पाटा उजागर हुन्छन् ।
नदीले जनजीवनका धेरै इन्जिनहरू चलाउँछन् । खेतबारीमा पानी पटाएर बालीनालीलाई हराभरा बनाउनेदेखि पानीघट्टको चक्की घुमाउनेसम्मका काममा नदीनालाले निर्णायक भूमिका निर्वाह खेल्छ । दुवाली छेकेर माछा मार्नेदेखि नदीमा फूल बगाएर धर्मकर्म गर्नेसम्मका प्रसंग नेपाली लोकगीतमा आइरहन्छन् ।
कुनै समयमा रेडियो नेपालबाट बज्ने एउटा गीत थियो ः ‘साउने खोला उर्लेर आउँदा माछा मार्नु दुवाली छेकेर’ । लोकगायिका रचना जीसीको स्वरमा गुन्जने यो लोकगीतले नदीनालासँग जोडिएको हाम्रो जीवनशैलीको पाटो उद्घाटन गर्छ । दुवाली छेक्ने हाम्रो परम्परागत ज्ञान र सीप दुवै हो ।
गाउँबस्ती आधुनिक मिल आउनुभन्दा अघि पानीघट्टमा अन्न पिसिन्थे । विगतमा पानीघट्टमा जिउँदो जाग्दो ठाउँ थियो । पानीघट्टमा सामाजिक जमघट र अन्तरघुलनको थलो थियो । वैँसालु मनका लागि त त्यो झनै हृदय साटासाट गर्ने थलो थियो । सुर्खेतको इत्राम नदीले एउटा यस्तै प्रसंग सम्झाउँछ । इत्रामको सेरोफेरोमा यस्तो गीत प्रचलित छ : ‘भेट्न आउनू निरमाया इत्रामे घट्टमा, माया दिनू निरमाया मायाको सट्टामा’ । पानीघट्टमा र वैँसालु मनबारे चलेको यो गीतको अन्तर्यले भावुक मनलाई भुतुक्कै पार्छ ।
प्रस्तुत प्रसंगले नदीनालासँग जोडिएका लोकगीतको दृष्टान्त मात्र हुन्, जसले नदीनाला र लोकजीवनबीच साइनो कति नजिकको छ भन्ने प्रस्ट्याउँछन् । तर, नदीनालाबारे जनस्तरमा रचिएका–गाइएका लोकगीतबारे पर्याप्त खोज–अनुसन्धान भएका छैनन् । यो हाम्रो शोध–संस्कृतिको नितान्त दुर्बल पक्ष हो । नदीनाला र लोकजीवनबीचको साइनोलाई अझ मसिनो गरी केलाउन यस्ता विषयमा थप अध्ययन–अनुसन्धान गर्न आवश्यक छ । तथ्यांक भन्छ – नेपालमा सानो ठूला गरी ६ हजार नदीनाला छन् । ती नदीनालासँग सम्बन्धित असंख्य गीत जनस्तरमा रचिएका–गाइएका छन् । तर, ती गीत तीव्र गतिमा विस्मृत हुँदै छन् । मौलिक गीतका भण्डार दिनप्रतिदिन रित्तिँदै छन् ।
लोकगीत अमूर्त सांस्कृतिक सम्पदा हो । यसको अस्तित्व दैनिक अभ्यासमा निहित हुन्छ । अमूर्त सांस्कृतिक सम्पदा मानिसको मनमस्तिष्कमा मात्र जीवित रहन्छ । यो भौतिक संगहालयमा बाँच्न सक्दैन । यसलाई जीवन्त राख्न निरन्तर अभ्यास, अन्वेषण, अभिलेखीकरणजस्ता संरक्षणका दीर्घकालीन प्रयास जारी राख्नैपर्छ ।
नदीनालासम्बन्धी लोकगीतमा अध्ययन गर्नुपर्ने धेरै पक्ष छन् । जस्तै : गीतको रचना–गर्भ, परिवेश, स्थान, कालक्रम, संरचनागत पक्ष एवं भाव पक्ष आदि विषयमा गहन अध्ययन हुने हो भने नेपालको सामाजिक तथा सांस्कृतिक पक्ष उद्घाटन हुनेछन् । साथै, लोकज्ञान निर्माणमा पनि राम्रै योगदान पुग्नेछ । तर, समयले कोल्टो फेरिसक्योे । परिस्थिति त्यति अनुकूल छैन । नदीनालासम्बन्धी लोकगीतको अध्ययन–अनुसन्धान गर्न आवश्यक छ, जुन हाम्रा लागि चुनौती र अवसर दुवै हो ।