अमेरिकी नागरिक डा. थोमस मार्कस् वासिङ्टन डिसीस्थित नेसनल डिफेन्स युनिभर्सिटीमा प्राध्यापन गर्छन् । झन्डै १९ वर्षअघि ०५७ सालमा नेपाल आउँदा उनीसँग जमलस्थित ‘मण्डला बुक प्वाइन्ट’मा मेरो पहिलो भेट भएको थियो । विश्वका अरू देशका राजनीतिक हिंसा र विद्रोहका विषयमा अध्ययन गरिरहेका यी प्राध्यापक नेपालको माओवादी विद्रोहको अध्ययनमा रुचि राखेर नेपाल आएका रहेछन् ।
संयोग कस्तो प-यो भने, त्यसवेला म भर्खरै माओवादी विद्रोहबाट अधिक प्रभावित रोल्पा र रुकुमबाट रिपोर्टिङ गरेर फर्केको थिएँ । उनले पनि स्थलगत अध्ययनमा जाने रुचि राखे र अनुवादकका रूपमा मलाई गइदिन आग्रह गरे । उनको प्रस्ताव स्विकारेर म उनीसँग फेरि रोल्पा गएँ । लिबाङ, रेउघा, माडीचौर हुँदै घर्तीगाउँ पुगियो, स्थानीयहरूसँग कुरा गर्दै ।
घर्तीगाउँमा माओवादीका नेता र केही बन्दुकधारी छापामार पनि भेटिए । विदेशी नागरिक भएकाले तिनले डा. मार्कस्को परिचय मागे । सोधपुछपछि ‘माथि सोध्नुपर्छ’ भन्दै अगाडि जाने अनुमति दिएनन् । दुई दिन घर्तीगाउँ बस्दा पनि अरू गाउँहरू घुम्ने अनुमति नपाएपछि हामी पुनः लिबाङ हँुदै काठमाडौं फर्किएका थियौँ ।
‘माओइस्ट इन्सर्जेन्सी सिन्स भियतनाम’ डा.मार्कस्को चर्चित पुस्तक हो । नेपाल आउन थालेको केहीवर्षमै उनले उक्त पुस्तकलाई ‘अपडेट’ गर्दै नेपाल च्याप्टर थपेर ‘माओइस्ट पिपुल्स वार इन पोस्ट भियतनाम एसिया’ पनि प्रकाशित गरे । यसबीच उनले माओवादीका महिला छापामारमाथि एक वर्ष अध्ययन गरेर लामो अनुसन्धानमूलक दस्ताबेज प्रकाशित गरेका छन् । त्यसबाहेक विप्लव माओवादीका विषयमा पनि उनको अध्ययनमूलक जर्नल लेख हालै प्रकाशित भएको छ ।
कुनै बखत अमेरिकी सेनामा कार्यरत उनले भियतनाम युद्ध लडे । सैन्य जीवनपछि उनी गैरसैनिक खुफिया विश्लेषक हुँदै पत्रकार, अनुसन्धाता अनि प्राध्यापक भए । झन्डै ४५ वर्षअघि पहिलोचोटि नेपाल आएका थिए उनी, २९ वर्षको उमेरमा । त्यसयता उनी दर्जनौँपटक नेपाल आएका छन् । झन्डै दुई दशकदेखि हरेक वर्षजसो नेपाल आइरहन्छन् । र, उनको उद्देश्य हुन्छ, नेपालको माओवादी हिंसामा केन्द्रित भएर थप अध्ययन गर्ने ।
डा. थोमस मार्कस् एक महिनाअघि नेपाल आउँदा उनीसमक्ष मैले केही जिज्ञासा राखेँ– यति धेरैपटक नेपाल आउनुको कारण के हो ? केले आकर्षित गर्छ ? भ्रमणको खर्च आदि प्रबन्ध कहाँबाट हुन्छ ? यत्तिका पटकको भ्रमण, अध्ययन–अनुसन्धानबाट नेपालबारेको बुझाइ के छ ? आदि इत्यादि । एक साताको बसाइमा उनीसँग धेरै कुराकानी भए । प्रस्तुत छ, तिनै कुराकानीको सम्पादित अंश :
तपाईंले पहिलोपटक नेपाल भ्रमण कहिले गर्नुभयो ? भ्रमणको उद्देश्य के थियो ?
भियतनाम युद्धका वेला पहिलोपटक नेपाल आएको थिएँ । सन् १९७४ को अन्तिमतिर या १९७५ को सुरुमा हुनुपर्छ । मेरो पिएचडी अध्ययनको एउटा क्षेत्र बुद्धिजम थियो । र, त्यसवेला, खासगरी तिब्बती बुद्धिजमसम्बन्धी ज्ञान र प्रकाशनको स्रोत थियो नेपाल । त्यसमाथि मैले गोर्खाहरूबारे लामो समय अध्ययन गरेको थिएँ ।
पत्रकारका रूपमा त्यसवेलाका सबै पाँच बटालियन गोर्खा सैनिकसँग मैले समय बिताएको थिएँ । तिब्बती र हिमाली बुद्धिजमका बारेमा मैले कैयौँ प्राज्ञिक सामग्री प्रकाशन गरिसकेको थिएँ । सञ्चारमाध्यममा गोर्खाहरूबारे पनि मेरा थुप्रै सामग्री प्रकाशित थिए । नेपाली समाजको अध्ययनमा लीन भएकाले प्रजातन्त्रका लागि संघर्षजस्ता राजनीतिक पक्षमा पनि मेरो स्वाभाविक रुचि थियो ।
त्यसवेलासम्म नेपालबारे तपाईंको धारणा कस्तो थियो ?
मलाई तत्काल के कुराले प्रभावित पार्यो भने नेपाल दक्षिणपूर्वी एसियाभन्दा बिल्कुल भिन्न थियो । दक्षिणपूर्वी एसियामा मैले लामो समय फिल्डवर्क गरिसकेको थिएँ । पिएचडी अध्ययनका क्रममा मैले थेरवाद बुद्धिजम भएका मुलुकमा ध्यान केन्द्रित गरेको थिएँ, खासगरी थाइल्यान्डमा । कम्बोडिया, लाओस र बर्मामा पनि थेरवाद अभ्यास हुन्छ ।
भियतनाम युद्धको प्रभावले ती मुलुक धेरै परिवर्तन भएका थिए । यद्यपि ती मुलुक नेपालजसरी निकै पछिसम्म अलगथलग थिएनन् । नेपालमा भने सम्पूर्ण सामाजिक–आर्थिक तथा राजनीतिक जीवनका आयाम अत्यन्त परम्परागत थिए । केही चिज परिवर्तन भइरहेका थिए । धर्म, सीमापार व्यापार र गोर्खा भर्तीले केही हदसम्म अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेको थियो । तर, जनसंख्याको ठूलो हिस्सालाई त्यसले कुनै असर पारेको थिएन ।
तपाईं कतिपटक नेपाल आउनुभयो ?
यति धेरैपटक यहाँ आएँ, मैले गिन्ती नै बिर्सिसकेँ । १९८२–८५ सम्म म प्यासिफिक कमान्डमा गैरसैनिक खुफिया विश्लेषक (सिभिलियन इन्टेलिजेन्स अन्यालिस्ट)का रूपमा काम गर्थेँ । म दक्षिण एसिया डेस्कमा अफिसर थिएँ । त्यसैले मैले हेर्नुपर्ने देशमध्ये नेपाल पनि एक थियो । मैले आफ्नो अनुसन्धानको क्षेत्र भुटानजस्ता हिमालयका अन्य स्थानमा पनि विस्तार गरेँ । यसलाई मैले पहिले नै लद्दाख र कस्मीरबारे गरिसकेको कामसँग जोडेँ ।
युनिभर्सिटी अफ हवाईमा इतिहासबाट राजनीतिशास्त्र विभागमा सरेपछि ‘राजनीतिक हिंसा’लाई मैले आफ्नो अध्ययनको मुख्य विषय बनाएको थिएँ । मेरा धेरैजसो कृति यही विषयसँग सम्बन्धित छन् । भियतनाम युद्धको समयमा म सैन्य पेसामा थिएँ, त्यसैले यो विषयमा रुचि हुनु स्वाभाविक थियो । मेरो थेसिस माओवादी विद्रोहसँग सम्बन्धित थियो । त्यसले नै पछिल्ला दुई दशकमा नेपाल भ्रमणको मेरो रफ्तार नाटकीय रूपमा बढायो ।
पहिलोपटक आउँदादेखि अहिलेसम्म नेपालमा सामाजिक, आर्थिक र राजनीतिक रूपले कस्ता परिवर्तन भइरहेका छन् ?
नेपालमा भएको सबैभन्दा ठूला परिवर्तन बाहिरी मुलुकसँगको सम्बन्धबाट जन्मेका छन् । अहिले नेपाल पूर्णरूपले विश्वव्यापी प्रणालीमा समाहित भएको छ । यद्यपि परम्परागत ढाँचा व्यापक रूपमा कायम छ । यसले नेपाललाई आधुनिकता र परम्पराको अभूतपूर्व मिश्रणको स्थितिमा पुर्याएको छ ।
कुनै रमाइलो र स्मरणयोग्य अनुभव याद छ तपाईंलाई ?
रमाइला घटना त कति छन् कति ! नेपालको विशेषता नै रोचक छ । एकपटक मजस्तो ‘कुइरे’ले खोलामा नुहाएको देख्दा पूरै जिल्ला हाँसेको थियो । मलाई याद भएसम्म यो रोल्पाको घटना थियो । म माओवादी नियन्त्रित क्षेत्रबाट फर्केपछिको । यसको पनि अनुसन्धानको पक्ष छ, जुन मेरा बौद्धिक आलेखमा संलग्न छन् ।
कहिलेकाहीँ नेपाल र यहाँका मानिसको न्यानोपन र सौहाद्र्रतालाई छोडेर पछिल्ला दशकमा यहाँ हामीले भोगेको भयानक हिंसाको मूल्यांकन गर्न निकै मुस्किल हुन्छ । कम्बोडियामा जस्तै कुनै निश्चित अपराधलाई केले बढाउँछ भन्ने सोच्दा जोसुकै अलमलिन सक्छ ।
मेरो अनुसन्धानमा संरचना र पात्र दुवैको समान जाँच गरिएको तपाईं पाउनुहुन्छ । तर, ती दुष्कर्म नेपालको सामाजिक संरचनाको अनिवार्य परिणाम भन्नेचाहिँ म स्विकार्दिनँ । त्यसैले, पछिल्लो समय नेपालीहरूले एक–अर्कालाई गरेको हानि देख्दा मलाई साह्रै पीडा भयो ।
अहिले त्यो सन्दर्भ परिवर्तन भइसक्दा नेपालप्रतिको तपाईंको चासो र उद्देश्य पनि परिवर्तन भएको छ ?
अहँ, मेरो चासो फेरिएको छैन । अहिले म नेपाली समाज अध्ययन गर्न झनै लीन भएको छु, खासगरी बौद्ध धर्मका सम्बन्धमा । कुनै समय काठमाडौं उपत्यका बौद्ध धर्मको विचार र संस्कृति आदानप्रदानको ऐतिहासिक केन्द्र थियो । यो धर्म यहीँबाट उत्तरमा तिब्बत र चीनसम्म फैलियो ।
पश्चिममा कस्मीर, पूर्वमा सिक्किम तथा त्योभन्दा पर र दक्षिणमा भारतसम्म फैलियो । त्यसैगरी, माओवादी जनयुद्धबारे मेरो विद्वता परिपक्व बन्दै जाँदा नेपालका घटनाप्रति मेरो अध्ययन अझ गहिरो बनेको छ ।
यसको एउटा कारण के हो भने मैले फिल्डवर्क गरेका र अध्ययन गरेका पछिल्ला द्वन्द्वमध्ये नेपालको द्वन्द्वमा विदेशीहरूमाथि प्रत्यक्ष आक्रमण गरिएन । यसविपरीत कम्बोडियाका खमेर रुज आफूलाई मैमत्त माओवादी ठान्थे । तर, तिनले समातेकामध्ये एकजनाबाहेक हरेक विदेशीको अन्त्य भयानक ढंगले भयो ।
तपार्ईं किन नेपाली माओवाद र नेपाली राजनीतिबारे अध्ययन गर्न इच्छुक हुनुभयो ? तपाईंलाई केले आकर्षित गर्यो ?
म किन यसप्रति आकर्षित भएँ, यसअघि पनि भनिसकेको छु । त्यसबाहेक सिद्धान्त र व्यवहार दुवैको जाँच गर्ने क्रान्तिकारीहरूको गहिरो सोच थियो नेपाली माओवादीमा । खासगरी सफलता प्राप्त गर्न लागेको पेरुको साइनिङ पाथ किन असफल भयो भनेर यहाँ सैद्धान्तिक र व्यावहारिक बहस भएको थियो । यसले मलाई नेपाली माओवादप्रति आकर्षित गर्यो ।
माओवादबारे मेरा अधिकांश कृति तपाईंले हेर्नुभयो भने त्यहाँ विद्रोहीहरूसँग लामा–लामा भलाकुसारी पाउनुहुनेछ । यहाँ पनि मैले त्यसै गरेँ । यो समाजमा विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न हामीले कस्तो संसार बनाउने ? उनीहरूको सोचाइमा हिंसात्मक वा अहिंसात्मक जस्तोसुकै भए पनि राजनीतिको सार यही नै थियो । माओवादीले रोजेको मार्गमा म सहमत छैन, तर उनीहरूको विश्वास र कार्यक्रमलाई बुझ्न जरुरी छ ।
माओवादी द्वन्द्वकै वेला अन्तर्वार्ता लिँदा मैले तपाईंलाई भेटेको थिएँ । तपाईं र प्राध्यापक डेविड स्कट पाल्मर दुवैका बारेमा पत्रिकाको आवरणमा समाचार छापियो । तपाईंहरू दुवैजना सिआइएको एजेन्ट भएको आरोप पनि लाग्यो । यस्तो आरोपको जवाफमा तपाईं के भन्नुहुन्छ ?
तपाईंको प्रश्नमा दुईवटा कुरा छन् । पहिलो त, अमेरिका लामो समयदेखि नेपालको विकाससम्बन्धी गतिविधिको एक पक्षका रूपमा रहँदै आएको छ । खासगरी पिस कप्र्सको कार्यक्षेत्र हो नेपाल । त्यसै हुनाले फेब्रुअरी १९९६ ताका सुरक्षा संकट बढेपछि नेपालले अमेरिकालाई सहयोगका लागि गुहार्यो ।
यो आग्रहको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने नेपालले माओवादी चुनौतीलाई बुझ्न पनि चाहेको थियो । त्यसपछि अमेरिकी दूतावासले विश्वव्यापी रूपमा उपलब्ध सामान्य संयन्त्र प्रयोग गरेर डा. पाल्मर (जो अब हामीबीच रहेनन्) र मलाई नेपाल भ्रमण गरेर जनयुद्धबारे बोल्न आग्रह गर्यो ।
पेरुमा हामीले सँगै काम गरेको हुनाले डा. पाल्मर र म एक–अर्कालाई राम्ररी चिन्थ्यौँ । उनी सम्भवतः पेरुको माओवादसम्बन्धी प्रमुख अमेरिकी विज्ञ थिए । हामीले कतिपय सामग्री सहलेखन गर्नुका साथै फिल्डवर्क पनि सँगै गरेका थियौँ ।
तपाईंको प्रश्नको दोस्रो पक्षको उत्तरमा यति मात्रै भन्न सकिन्छ, डा. पाल्मर र म दुवैलाई प्राज्ञिक कर्मको विशाल क्षेत्रमा फेला पार्न मुस्किल छैन । त्यसैले हामी दुवै गतिलो गुप्त एजेन्ट बन्न लायक छैनौँ ।
हामी दुवैले थुप्रै काम प्रकाशित गरेका छौँ । मैले भनिसकेँ, म युवा छँदा भएको इन्डो–चाइना युद्ध (म खासगरी थाइल्यान्डमा थिएँ र मेरो पिएचडीको थेसिसको प्रमुख विषय थाई माओवादी थिए)बाट राजनीतिक हिंसाप्रति मेरो रुचि विकसित भएको हो ।
डा. पाल्मर पेरुमा साइनिङ पाथ गठन हुँदै गर्दा पिस कप्र्स वर्कर थिए । वास्तवमा हुआमांगामा प्राध्यापक अबिमेल गुजमान र डा. पाल्मरको कार्यालयसमेत एउटै थियो । त्यसपछि गुजमान ‘अध्यक्ष गोन्जालो’का रूपमा असफल क्रान्तिको नेतृत्व गर्न गए, जसका कारण ६९ हजार जनाले ज्यान गुमाउनुपर्यो ।
तपाईंले नेपालका माओवादीलाई युद्धको अवधिमा, शान्ति प्रक्रियामा, युद्ध अन्त्यपछिको अवस्थामा र अहिले मूलधारमा पनि नियाल्नुभएको छ । उनीहरूको यो यात्रालाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ? यो असफलता हो कि रूपान्तरण ?
राजनीतिक संगठनका रूपमा नेपाली माओवादको सबैभन्दा प्रभावशाली पक्ष के हो भने यसले हिंसा उद्देश्यपूर्तिको माध्यम मात्रै हो भन्ने स्पष्ट बुझेको थियो । उनीहरूको उद्देश्य राजनीतिक शक्ति आर्जन गर्नु थियो, जसका माध्यमबाट सामाजिक रूपान्तरण गर्न सकियोस् । माओवादी आन्दोलनको मात्र होइन, नेपाली कम्युनिस्ट आन्दोलनकै उग्र बहसको केन्द्रबिन्दु यही विषय थियो ।
अहिले विप्लव समूहको गतिविधिले देखाउँछ, यो बहस अझै निष्कर्षमा पुगेको छैन । यति कुरा प्रस्ट छ । तर, प्रस्ट नबुझिएको कुरा के हो भने माओवादीले सामान्य राजनीतिमा एकीकृत हुने रणनीतिक निर्णय कहिल्यै लिएको थिएन । बरु, सेप्टेम्बर २००५ मा चुनवाङ बैठकमा शान्तिप्रक्रियामा सहभागी हुने निर्णय लिइएको थियो ।
पार्टीका उच्च पदस्थ ११ जना मात्र सहभागी बैठकले सरकारमा गएर शक्ति कब्जा गर्ने रणनीतिक उद्देश्यका लागि कार्यनीतिका शान्ति प्रक्रियालाई अपनाउने निर्णय गरेका थिए । बैठकमा यही निर्णय भएको औपचारिक दस्ताबेजमा उल्लेख छ । पार्टीका कट्टरपन्थी धारका सदस्यले यसैलाई लिएर दाहाल (प्रचण्ड) को चर्को विरोध गर्ने गर्छन् ।
यसको नतिजास्वरूप पहिले दोस्रो संविधानसभाको चुनावमा वैद्य (किरण) नेतृत्वको समूहले बम विस्फोट गर्ने अभियान चलायो र पछि, विप्लव नेतृत्वको समूहले स्थानीय, प्रादेशिक र संघीय निर्वाचन रोक्ने प्रयास गर्यो । उनीहरूले अनेकौँपटक स्पष्ट तर्क गरेका छन्, शान्तिप्रक्रियालाई उपयोग गर्ने रणनीतिमा चुनवाङ बैठकमा सहमति भएको थियो, तर दाहाल पक्षधर खेमाले (आलोचकहरू यसमा भट्टराईको नाम पनि जोड्छन्) ले धोका दियो । यो तर्क पक्कै पनि सही छ ।
यस विषयमा ऐतिहासिक अभिलेख स्थापित गर्न आवश्यक छ । त्यसैले मेरो भनाइ के छ भने वर्तमान नेपाली राजनीति धेरै हदसम्म आकस्मिकता र केही हदसम्म दाहाल खेमाको रणनीतिक लचकताको उपज हो । यद्यपि यो उनीहरूको चाहना थिएन । संसदीय प्रणालीमा पुनर्एकीकृत हुने उनीहरूको चाहना छँदै थिएन । यससम्बन्धी दस्ताबेज नेपाली र अंग्रेजी दुवै भाषामा सहजै फेला पार्न सकिन्छ ।

उसोभए माओवादीहरू किन मूलधारको राजनीतिमा आए त ?
मैले भर्खरै जे भनेँ, त्यसले यो प्रश्न जन्माउँछ । शान्तिप्रक्रियामा सहभागी हुनु भनेको कार्यनीति मात्रै हो, आधारभूत रणनीतिमा आएको परिवर्तन होइन भन्नेमा माओवादीका सबै ठूला नेता प्रस्ट थिए । चुनावमा जित हात पार्न उनीहरूले गरेको हिंसाको व्यापक प्रयोगले यही पुष्टि गर्छ । मैले आफ्ना कृतिमा यसलाई आतंकवाद भनेको छु ।
किनभने त्यो आतंकवादको परिभाषाभित्र पथ्र्यो (गैरराज्य पक्षले राजनीतिक उद्देश्य प्राप्त गर्न उपयोगी हुने तवरले बेकसुरमाथि प्रतीकात्मक हिंसा थोपरिरहेको थियो) । यसलाई रोक्न सैन्य कारबाही गरिएन, तर हिंसाको आक्रामक प्रयोग जारी रह्यो । यसबाट हजारौँ मात्र होइन, दशौँ हजार पीडित बने ।
हत्या, आक्रमण, यातना बलात्कार भए । पछिल्ला प्राज्ञिक कृतिमा यो पक्षलाई बेवास्ता गरिएको छ । अहिले हामीँ जहाँ छौँ, त्यहाँबाट पछाडि फर्केर अनुमान लगाउने र ऐतिहासिक अभिलेख तोडमोड गर्ने काम भएका छन् । कारण र परिणामभन्दा उद्देश्यमा मात्र आधारित भएर विश्लेषण गर्दा यस्तो हुन गएको हो । उदाहरणका लागि त्यसवेला हतियारको ठूलो मात्रा बुझाइएन । बरु, नेपाल द्वन्द्वको ‘नेपाली समाधान’प्रति प्रतिबद्ध रह्यो । त्यसैकारण नेपाल भाग्यशाली भएकैले शान्तिप्रक्रियाको यो स्तरको नतिजा आयो भन्ने मलाई लाग्छ ।
दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरणलाई तपाईंले कसरी लिनुभएको छ ? यो स्वाभाविक एकता हो कि जबर्जस्तीको प्रक्रिया ? केही विश्लेषकले यो एकताको पछाडि चीनको हात छ भनेका छन्, तपाईंलाई के लाग्छ ?
एकातिरबाट हेर्दा, माओवादीको कमजोर अवस्थाका कारण एकीकरण भयो । एकीकरण उनीहरूलाई चाहिएको थियो । अन्यथा नेपाली समाजको पुनर्संरचनामा उनीहरू मुख्य पक्ष बन्नेवाला थिएनन् ।
अर्कोतिरबाट हेर्दा, माओवादी र एमाले दुवै कम्युनिस्ट पार्टी हुन् र उनीहरू मार्क्सवादी लेनिनवादी सिद्धान्तमा विश्वास गर्छन् । तर, यो पक्षलाई लामो समयदेखि नजरअन्दाज गरिँदै आएको छ । किनकि नेपाली कम्युनिजमको प्रकृति आफ्नो राष्ट्रिय ढाँचाअनुकूल विशिष्ट छ । तर, यहाँ बारम्बार ‘यिनीहरू असली कम्युनिस्ट होइनन्’ भनेर दाबी गर्ने प्रवृत्ति छ ।
यो सत्य होइन । नेपालको सामाजिक र भू–रणनीतिक यथार्थका कारण मात्र उनीहरू केही गर्न नसक्ने गरी विवश भएका हुन् । उनीहरूले आफूले भन्नेगरेको भन्दा भयंकर कुरामा विश्वास गर्छन् । क्युबा, भेनेजुएला, चीन र उत्तर कोरियालाई समर्थन गर्छन् । पुँजीवादका कारण बलात्कार भयो (अर्थात् साम्यवादमा हुँदैन) भन्ने दाबीमा विश्वास गर्छन् ।
एकीकरण प्रक्रिया निरन्तर अघि बढे नेकपाको भविष्य कस्तो देख्नुहुन्छ ?
यो पार्टीमा चर्को गुटबन्दी हुने देख्छु । किनभने माओवादी गुटको विचार एमाले गुटसँग मेल खाँदैन । मैले भर्खरै भनेका विश्वकै सबैभन्दा अहंकारी शासन व्यवस्थालाई खुल्लमखुला समर्थन गर्ने प्रचण्डको जोडले पनि यसलाई देखाउँछ । विचारधारालाई अलग राखेर हेर्दा, यस्तो अभ्यासले मात्रै पनि नेपालीलाई दुविधामा पार्छ । ती मुलुक लोकतान्त्रिक र प्रतिनिधिमूलक समाज होइनन् । यसले एउटा असमञ्जसमा पु-याउँछ : लोकतान्त्रिक देखिने नेपालले कसरी यस्ता घृणित शासन व्यवस्थालाई आफ्नो वैचारिक आधार मान्न सक्छ ?
नेपालमा वामपन्थी विचारधारा हाबी छ । कम्युनिस्ट पार्टीले उल्लेख्य समर्थन पाएको छ । दुईतिहाइ बहुमत भएर पनि कम्युनिस्ट सरकारले किन आफ्ना वाचा पूरा गर्न सकिरहेको छैन ?
नेपालमा वामपन्थी विचारधारा हाबी छैन । बरु, यहाँ त सामाजिक न्यायका शब्दावलीलाई नेपाली कम्युनिस्टहरूले कुशलतापूर्वक माक्र्सवादी शब्दावलीसँग घोल्न सफल भएका छन् । त्यसरी बनेको मिश्रित भाष्यचाहिँ नेपालमा हाबी छ । कुरा सुन्दा नेपाली कम्युनिस्टहरू कटिबद्ध मार्क्सवादीभन्दा बढी युरोपेली सामाजिक लोकतन्त्रवादीजस्ता छन् ।
मतदाताले समानता र न्यायको सन्देश दिने संगठन रोज्छन् । भलै, त्यस्तो सन्देश एउटा संगठित संयन्त्रबाट परिचालित र प्रवाहित किन नहोस् । खतरा यहीँनेर छ । नेता भनेका समर्थक होइनन्, राजनीतिकर्मी मतदाता होइनन् । यतिवेला थुप्रै कम्युनिस्ट नेताहरू ‘साँचो’ राष्ट्रिय कम्युनिजमले माक्र्स र लेनिनका वाचा पूरा गर्न सक्छ भन्ने बकवास गरिरहेका छन् । यी दुवैका वाचा पूरा गर्न सम्भव छैन । त्यसैले यसको नतिजा दुःखान्त भएन भने पनि विकृत हुनेछ ।
नेपालको राजनीतिमा विप्लवको स्थान कहाँनेर देख्नुहुन्छ ?
विडम्बनाको कुरा, नेपाली समाजका समस्याको गतिलो मूल्यांकन विप्लवले नै गरेका छन् । उनका अनुसार अक्षमता, भ्रष्टाचार, देश सबैभन्दा बढी दाम हाल्ने (हाललाई चीन)लाई बेच्ने चाहनाजस्ता समस्या छन् यहाँ । विप्लवको कमजोरी के हो भने यहाँबाट अघि बढ्ने व्यावहारिक बाटोचाहिँ उनीसँग छैन । वैद्य समूहलाई यही आरोप लगाएर विप्लव समूहले पार्टी फुटाएको थियो । यस्ता सामान्यीकरणका अलवा आधारभूत कुरा के हो भने हिंसाको माध्यमबाट प्रगति प्राप्त गर्न सकिन्न ।
उनीहरूको भविष्य कस्तो देख्नुहुन्छ ?
यसवेला विप्लव समूहले सन्देश प्रवाहको माध्यमका रूपमा हिंसाको उपयोग गरिरहेको छ । उसका क्रियाकलापबाट केही क्षति भएका छन् । तर, सायद नेतृत्वले त्यस्तो चाहेको थिएन होला । दुर्भाग्यवश, यो पार्टीमा अनुशासनको कमी छ । त्यसमाथि स्थानीय तहमा अत्यन्त हिंस्रक परिस्थिति उत्पन्न भइरहेको छ । वास्तवमा हिंसा व्यापक छ ।
यो उनीहरूका लागि चन्दा उठाउने अभियानको अभिन्न अंग हुनुका साथै स्थानीय राजनीतिमा स्थापित हुने माध्यम पनि हो । ती स्थानमा विप्लव समूह अघिल्लो ‘जनयुद्ध’को प्राविधिक पक्ष पुनर्संरचना गर्न खोजिरहेको छ । यही हिंसाका कारण सरकारले दोहोरो भिडन्तको भाष्य निर्माण गरिरहेको छ । स्थानीय स्तरमा सरकार आफैँले पनि हिंसाको व्यापक प्रयोग गरिरहेको छ ।
म वाइसिएल र अनेरास्ववियू क्रान्तिकारीलाई सम्झिन्छु । तर, कमजोरीका बाबजुद लोकतन्त्र, संवाद र अग्रगतिप्रति नेपाली जनताको चाहनालाई देखावटी रूपमा मात्र भए पनि सम्बोधन गर्ने ठाउँमा सरकार छ । सरकारको कमीकमजोरी के छ भन्ने विदितै छ । यसले आफ्नो सर्वसत्तावादी प्रवृत्तिलाई सुधारेन भने सरकार असफल हुने निश्चित छ ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको श्रेणीमा नेपाल पूर्ण लोकतन्त्रका रूपमा वर्गीकृतसमेत भएको छैन । चार वर्गमध्ये तेस्रो ‘मिश्रित शासन व्यवस्था’अन्तर्गत नेपाललाई राखिएको छ । सूचीमा १६७ मध्ये ९७औँ स्थानमा छ नेपाल । विप्लवले यही वास्तविकता बोल्न खोजेको दाबी गर्छन् । दुर्भाग्यवश यो समूहसँग अघि बढ्न यथार्थपरक उपाय छैन ।