सिस्टम छ, सिस्टम छैन

ज्योति जंगल ज्योति जंगल
शनिबार, ७ भदौ, २०७६
डिजिटल संस्करण

केही हप्तादेखि साइप्रस पढ्न जानेहरूको संगतमा छु । साइप्रसको सीमामा प्रवेश हुँदा चाहिने दुई हजार युरो साट्न दौडधुप गरिरहेको युवामाझ म छु । उनीहरू देशभरिबाट आएका छन् । पासपोर्टमा जन्ममिति पढ्छुु । ती सबै म आमा भएपछि जन्मिएकाहरू छन् । छड्के आँखाले तिनको अनुहार चहार्छु । आँखाभरि सपना त देखिन्छ, तर अनुहारमा खुसी देखिँदैन । सबैजना अन्योलग्रस्त देखिन्छन् । भित्रभित्रै वात्सल्य नमीठो गरी उम्लिन्छ र अनुमतिपत्रमा हस्ताक्षर गरिदिन्छु । 

कसैलाई मन नपर्ने गरी प्याच्च सोधिदिँदोरहेछु, ‘बाबु ! नेपालमा कलेज छैनन् ?’ उनीहरूले भनेझैँ लाग्छ, ‘सरकारले नै एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) दिइसकेको छ, तपाईंलाई के मतलब ? अर्का युवा भन्छन्, ‘नेपालमा सिस्टम छैन । उता सिस्टम छ ।’ अरू बोल्छु, ‘सिस्टम त तिमीले बनाउने हो । तिम्रो घर भत्कियो भने कसले आएर टालिदिन्छ ? तिमीले नै टाल्ने होइन र ?’ मेरा कुरा नसकिँदै ती हिँडिसकेका हुन्छन् । 

कुनै–कुनै विद्यार्थी अभिभावक लिएर आउँछन् । तिनलाई पनि सोध्न छोड्दिनँ, ‘किन विदेश खेदाउन लाग्नुभएको छोराछोरीलाई ?’ मेरो तीतो प्रश्न सुनेर तिनको अनुहारको रङ फेरिन्छ । शब्दहरू निक्लिँदैनन् ओठबाट । एकशब्दे उत्तर दिन्छन्, ‘मान्दैनन् ।’  केही समयअगाडि कार्यालयको गेटमा एउटी युवती करिब तीन महिनासम्म कुरिरहिन् ।

उनका बारेमा धेरैले धेरै थरी हल्ला चलाए । कसैले भने, ‘ऊ अन्तर्वार्तामा फेल भएर सड्केकी हुन् ।’ कसैले भने, ‘उसलाई फोन गर्छु भनेको छ रे अफिसले ।’ जेहोस् उनले कार्यालयमा खुलेको विज्ञापनका लागि फाराम भरेकी थिइन् र सफल हुने उत्कट चाहनाले मस्त थिइन् ।

उनी १० बजे नै कार्यालय आउँथिन्, कसैसँग बोल्दिनथिइन् र पाँचबजे सरक्क घर फर्किन्थिन् । कुनै दिन पाँच बजेपछि पनि घर जाने छाँट नदेखाएपछि सुरुक्षागार्डले उसलाई घिसारेर गेट कटाउनुपरेको कुरा पनि भोलिपल्टको खाजा समयमा गफ हुन्थ्यो । उनको त्यो दर्दनाक दृश्य आँखाबाट हराएकै छैन । उनी अचेल आउँदिनन् । अन्तिमतिर उनले पैसासमेत माग्न थालेको हल्ला सुनियो । 

कमै मात्र खुल्ने रोजगारीले दिने पीडा देशभरि असरल्ल छ । न कुनै विद्यार्थीले घन्टाका दरले काम गरेर स्वःआर्जनमा पढ्ने पहुँच छ ? न चलन नै । पर्याप्त उद्योग छैनन् । न रोजगारको ढोका खुल्छ, कहिलेकाहीँ भ्याकेन्सी खुले पनि लोकसेवा आयोगमा कर्मचारीको माग मात्रै खुल्छ । जागिर खान वर्षौंदेखि परीक्षाको तयारी गर्नेहरू कन्सल्टेन्सीको पैसा पनि बा–आमासँग नै मागेर तिरिरहेका छन् । 

साइप्रस जान कस्सिएकामध्ये कतिले १२ कक्षा पास गरेका छन्, कतिले छैनन् । १२ पास गरे पनि तिनीहरूले कुनै व्यावहारिक ज्ञान सिकेका हुँदैनन् । न समाज र संस्कारले नै उनीहरूलाई कामको महत्व बुझाएको छ ? ‘उता गएर भाँडा माझ्ने त होला नि ?’ कुनै विद्यार्थी हसमुख देख्छु र जिस्काइदिन्छु । उनी हाँस्दै भन्छन्, ‘उता भाडा माझ्न पनि त सजिलो छ ।

मेसिनमा हाल्यो । भइहाल्यो ।’ म तत्काल थप्छु, ‘उता त बाथरुम सफा गर्न पनि त सजिलो होला हई ?’ म व्यंग्य गर्छु, तर उनी सजिलै सहमति जनाउँछन् । सब मेसिनले गर्छ अनि ? उनले सहजै भने । मेरो व्यंग्य उनलाई सम्झाउन असफल हुन्छ ।

निम्न आय भएका परिवारले छोराछोरी पढाउने सरकारी कलेजको ध्वाँसे अनुहार सदियौँदेखि उस्तै छ । कामविशेषले त्रिचन्द्र कलेजभित्र पसेका वेला त्यहाँको चर्किएको भित्ता र हार व्यहोरेको जस्तो अनुहार बनाएका विद्यार्थी हेरेको हेरै हुन्छु । आफू निरीह भएको भान हुन्छ ।  साँच्चै सिस्टम नभएको भान हुन्छ । कहाँ छ होला सिस्टम ?

सबै विद्यार्थीले पढ्ने करिब उस्तै विषय छन् । होटेल म्यानेजमेन्ट, टुरिजम, आइटी । तह एउटै छ डिप्लोमा । डिप्लोमा पनि थरीथरीका हुँदा रहेछन् । एसएलसी गर्नेले पनि पढ्न पाउने, १२ पढेकाले पनि पढ्न पाउने । कुनैैलाई सोध्छु कति पास गरेको बाबु ? १२ फेल । यस्तो उत्तर सुनेपछि ‘एनओसी’ बाँड्ने निकायदेखि पनि दिक्क लाग्छ । विद्यार्थी पढाउने नाममा श्रमिक लगिरहेका युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशहरूको यो कूटनीतिक सिस्टमदेखि दिक्क लाग्छ । 

‘नो अब्जेक्सन सर्टिफिकेट’ लिन आउने नौजवानलाई सोध्छु, ‘बाबु ! नेपालमा कलेज छैनन् ?’ ती युवा भन्छन्, ‘नेपालमा सिस्टम नै छैन । उता सिस्टम छ ।’ फेरि भन्छु, ‘तिम्रो घर भत्कियो भने कसले आएर टालिदिन्छ ? सिस्टम बनाउने तिमीले नै होइन र ?’ मेरा कुरा नसकिँदै ती युवा हिँडिसकेका हुन्छन् ।

कलेजको अफर लेटरमा लेखेको रकम पढ्छुु । तीनहजारदेखि चार हजार युरो तिनले कलेजमा बुझाइसकेका हुन्छन् । साथमा लिएर जाने रकमसमेत जोड्दा प्रतिविद्यार्थी करिब ६ लाख खर्च भइसकेको हुन्छ । यता सरकारले विद्यार्थीका नाममा दिएको सहुलियत ऋणको माग भएको छैन । सिस्टम कतै मिल्दैन । ६ लाख रुपैयाँ नडुब्ने पक्का भएको भए ती विद्यार्थीले सायद यतै व्यापार गर्थे ।

बाबु–आमा विदेश जाने ६ लाख निकाल्न सक्छन्, तर यहाँ व्यापार गर्ने रकम निकाल्न किन सक्दैनन् ? फेरि सोच्छु, आफ्ना छोराछोरीलाई पढाउने धोको त सबैको हुन्छ । प्राज्ञिक ज्ञान असफल भइसक्यो, नेपालमा । कपाल काट्न सिकाउने, लुगा सिउन सिकाउने, भाडा माझ्ने यन्त्र बनाउन सिकाउने स्कुल खुल्नु नि बरु यो देशमा । मेरा सिस्टमविनाका यस्ता कुरा राख्ने फोरम कहाँ होला नेपालमा ? कहिलेकाहीँ कोरा कल्पना गरिदिन्छु, कतैबाट सिस्टम आयात गर्न पाए हुने नि ।  

अचेल मस्तिष्क तातिन थालेको छ । अरुले गुनासो गर्न थालेका छन् । ‘तपाईं किन अपसेट हुनुहुन्छ ?’ म अवाक् हुन्छु । यो प्रश्न सुनेको दिन मैले दुई दर्जन बढी पत्रमा हस्ताक्षर गरिसकेकी थिएँ । भित्र–भित्रै सन्तानले छाडेर हिँड्ने सुनसान घरको कल्पनाले थिचिएकी थिएँ । अघिल्लो साल जर्मन भ्रमणमा रहँदा नेपालबाट निःशुल्क पढ्न जाने विद्यार्थीले त्यहाँ खटेको प्रत्यक्ष आँखाले देखेकी थिएँ । जर्मनमा शैक्षिक शुल्क तिर्नु पर्दैन । तर, रजिस्ट्रेसन फाराम भर्न र खाने–बस्ने पैसाका लागि तिनले अहोरात्र खटेको देखेको छु ।

पढ्न नसकेर पनि घरमा पढ्दै छु भन्ने र फरक–फरक साथीको डेरामा शरण लिएर लुकीलुुकी काम गरेको नेपाली देखेर विक्षिप्त भएकी छु ।  म साइप्रस र जर्मनीको शैक्षिक दुःखको तुलना गर्न थाल्दै रहेछु । नेपालका कलेजसँगै तुलना गर्न खोज्दो रहेछु । बेकारमा मस्तिष्क तताइरहेछु । देशकै सिस्टम तात्ने कहिले होला ?

सम्पादकको रोजाइ

सुझावित समाचार