त्यो दिन कवि एलेन गिन्सबर्गलाई जीवनमा पहिलोचोटि गाँजा लागेको थियो । गाँजाको नशामा ‘साँच्चै’ लट्ठ हुँदा उनी कार हाँकिरहेका थिए । उनका साथमा थिए, कोलम्बिया विश्वविद्यालयका एकजना साथी वाल्टर एडम्स । उनीहरू म्यानहाटनको माथिल्लो पश्चिमी किनारमा हुइँकिरहेका थिए । गाँजाले मस्त भएको बोध गिन्सबर्गलाई त्यतिखेर भयो, जतिखेर उनले आफूलाई अनन्त ब्रह्माण्डमा तैरिरहेको महसुस गर्न थाले । उनलाई झिलिकमिलिक गरिरहेका चम्किला बत्तीहरूको विशाल नभमण्डलभित्र सडक र मान्छे कुनै विस्तीर्ण यान्त्रिक महानगरमा परिणत भएझैँ लाग्यो ।
सुरुमा त उनी स्थान र समयको आफ्नो अनुभूतिमा भएको द्रुत र विलक्षण परिवर्तन देखेर भयभीत भए । सधैँ आइजाइ हुने पूर्ण परिचित स्थान पनि उनलाई नौलो र बिरानो लाग्यो । कार पार्क गर्न उनीहरूलाई महाभारत प-यो । जसोतसो सवारी थान्को लगाएर उनीहरू नाइन्टी फस्ट एन्ड ब्रोडवेको कुनामा रहेको पुरानो पाराको आइसक्रिम पार्लरमा पसे । एउटा टेबलमा जमे । आइसक्रिम मगाए, ब्ल्याक एन्ड ह्वाइट सन्डे ।
दुईजनाका लागि सन्डे आइपुग्यो । गिन्सबर्गले देखे– ‘हिउँको विशाल थुम्कोजस्तो आइसक्रिम । असाध्यै मीठो, शुद्ध, स्वच्छ र स्निग्ध ।’ उनलाई आफ्ना आँखामाथि विश्वास भएन । एक चम्चा सन्डे मुखमा हाले । स्वाद अद्भूत थियो । हट चकलेटको झोल चिसो भ्यानिला क्रिमभित्र क्यान्डी भएको थियो । उनलाई आफ्नो जिब्रोमा आइसक्रिमका एक–एक स्वादिला अणु विस्फोट भएझैँ लागे । ‘आइसक्रिमको स्वाद दिव्य थियो,’ उनले मलाई पछि भनेका थिए, ‘यसअघि मैले ब्ल्याक एन्ड ह्वाइट सन्डे उत्कृष्ट आविष्कार हो र यो सस्तो पनि छ भन्ने तथ्यलाई कहिल्यै आत्मसात् गरेको थिइनँ ।’
त्यसपछि गिन्सबर्गले निलो आकाशको अनन्तता अनुभव गरे र झ्यालबाट बाहिर हेरे । बाहिर जीवनको नदी बगिरहेको थियो । कुकुर डुलाइरहेका मान्छेहरू, तिनका मुस्कान, हाँसो, क्रन्दन..., उनले गहन तालमेल र सुखको क्षण अनुभूत गरे । ‘चारैतिर आनन्दैआनन्द थियो,’ उनले भनेका थिए । गाँजा गिन्सबर्गले सोचेभन्दा कैयौँ गुणा आनन्ददायक र चित्ताकर्षक चिज थियो । उनी यसको मदहोशीलाई अन्य अनुभवसँग कसरी विनियोग गर्ने भन्नेबारे सोच्न थाले । तिनताक उनी कोलम्बिया विश्वविद्यालयमा कला पढिरहेका थिए । गाँजाले लट्ठ भएर पाउल सेज्यानका चित्र हेर्दा कति मज्जा आउँदो हो ? जान्न उनी उत्सुक थिए । र, एक दिन केही स्टिक गाँजा खाएर उनी महानगरीय संग्रहालय छिरे ।
बिट जेनरेसन कवि एलेन गिन्सबर्गको मान्यता थियो– गाँजाले उनलाई रचनात्मक बनाउँथ्यो । सन् १९६० को दशकमा गाँजा अत्यन्त खराब चिज थियो । अराजक कवि गिन्सबर्ग भने गाँजाका पक्षमा लड्न थाले । गाँजा सेवनलाई वैधानिक बनाउन उनले अभियान चलाएका थिए । उनी अमेरिकाका प्रथम गाँजा अभियन्तामध्ये एक थिए ।
चित्रहरूमा आँखा गाढिरहँदा उनलाई अनौठो अनुभव भयो । त्यस दिन उनले कलाकारको स्पेस र रङको प्रयोग बुझेका थिए । त्यसअघि यस्तो असाधारण अनुभूति उनलाई कहिल्यै भएको थिएन । चित्रका चड्का–गाढा रङहरू उनले आफूतिर अग्रसर भइरहेको पाए भने शीतल–शान्त रङहरू आफूबाट पर–पर गइरहेको पाए । यो नयाँ खालको दृष्टि–चेतना थियो, जसलाई पछि गिन्सबर्ग र बिट जेनरेसनका विख्यात आख्यानकार ज्याक केरुआकले ‘आँखाको नानीको लात’ भनेका थिए ।
यो दशकौँअघिको कुरा थियो । सन् १९६० को दशकको कुरा । त्यतिवेला साह्रै थोरै मान्छेले गाँजा खान्थे । गिन्सबर्ग गाँजाले लट्ठ भएर कोलम्बिया क्याम्पसवरिपरि घुमिरहेका हुन्थे । बीस हजार ‘प्रतिभाशाली विद्वान्हरू’को जनसंख्यामा आफू एकजना मात्र त्यो विशेष चेतनाको अवस्थामा छु भन्ने कुरामा उनी सचेत थिए । उनलाई असहज पनि लाग्थ्यो । त्यो वेला गाँजा खानुलाई भयानक दुष्कर्म ठानिन्थ्यो । यो जिनिस सेवन गर्नु गैरकानुनी कृत्य थियो ।
गिन्सबर्गले सम्झिए– ‘सरकारी शब्दावलीमा गाँजा खाने लागुऔषध दुव्र्यसनी हुन्थ्यो । दुव्र्यसनी हुनुको अर्थ के हो, म प्रायः घोत्लिन्थेँ । गाँजा खानेलाई दुव्र्यसनी भन्नु अनौठो थियो । गाँजासम्बन्धी सरकारी धारणा सत्यको भयावह तोडमोड थियो, घृणास्पद र क्रूर थियो ।’ गाँजा त्यो चिज थियो, जसले उनको जागरुकताको विस्तार गरेको थियो । गाँजाले उनलाई कुनै न कुनै प्रकारको ज्ञान प्रदान गरेको थियो । गाँजाको राक्षसीकरण गरिएको देख्दा उनी उद्वेलित हुन्थे । ‘फेडरेल ब्युरो अफ नार्काेटिक्स भनिने सरकारी प्रोपगान्डा यन्त्र गाँजाको दानवीकरणमा हत्ते हालेर लागेको थियो,’ उनले मसँगभनेका थिए ।
गिन्सबर्ग भलिभाँती जान्दथे– गाँजाले उनलाई संकटमा पार्न सक्थ्यो । तर, उनी गाँजा छोड्नेवाला थिएनन् । ‘गाँजाले जे दिन्थ्यो, त्यसको तुलनामा खतराहरू नगण्य थिए,’ उनले भने । उनी, बिट उपन्यासकार विलियम एस बरोज र केरुआक चुइँगममा बेन्जेड्रिन हालेर खान्थे । गाँजा पाउन सजिलो थिएन । पाएको दिन उनीहरूलाई खुँदो पल्टिन्थ्यो । गाँजा खाएर तीनैजना टाइम्स स्क्वायरमा घुम्न निस्कन्थे । के हुँदो रहेछ ? हेरूँ न त भनेर उनीहरू यताउता रुमल्लिन्थे ।
सन् १९५८ मा सान फ्रान्सिस्कोमा बिट पुस्ताका एक प्रमुख पात्र निल कासाडी पक्राउ परे, गाँजा ओसारपसार गरेको अभियोगमा । उनले बोकेको गाँजाको परिमाण सानो भए पनि उनलाई सजाय ठूलो दिइएको थियो । यही साल बरोजको उपन्यास ‘नेकेड लन्च’माथि दमन भयो । यी दुई यस्ता घटना थिए, जसले बिट कवि गिन्सबर्गलाई गाँजा वैधानिकीकरणको अभियन्ता बनाइदिए । त्यसअघि उनले लागुऔषधबारे मात्र लेखेका थिए । अब उनी सार्वजनिक रूपमा गाँजाबारे बोल्न थाले । उनी चर्चित कवि थिए ।
आफ्नो ख्यातिलाई गाँजाको प्रचारमा प्रयोग गर्न सुरु गरे । विचार मात्रै पर्याप्त हुँदैन । तथ्य पनि चाहिन्छ । यो आवश्यकता पूरा गर्न उनले ‘लागुऔषध फाइल’ बनाउन सुरु गरे । गिन्सबर्गले यो फाइलबारे कतै भनेका थिए, ‘बिट पुस्ता जनचासोको विषय बन्नेबित्तिकै मैले यो फाइल बनाउन थालेको थिएँ । फाइलमा ड्रगका विभिन्न पक्ष समेटिएका थिए । ड्रगको वास्तविकतालाई कसरी विकृत पारिएको थियो, त्यसबारे भएभरका सामग्री बटुलिरहेको थिएँ । बिट पुस्ताको गलत चित्रणबारे जे–जे लेखिए, बोलिए, तिनलाई पनि मैले अभिलेखीकरण गरिरहेको थिएँ ।’
कासाडीको गिरफ्तारीपछि अर्काे एउटा घटनाले गिन्सबर्गलाई ‘गाँजावादी मौलिक सांस्कृतिक योद्धा’ बनाइदियो । उनलाई यो उपाधि ‘स्मोक सिग्नल्ज’ लेखक मार्टिन ए. लीले दिएका थिए । लीले उनलाई ‘गाँजा प्रतिबन्धको जग हल्लाउन दत्तचित्त एक्लो वीर’ पनि भनेका थिए । गिन्सबर्गलाई अमेरिकाको प्रथम गाँजा अभियन्ता बनाएको थियो, सन् १९६१ को सिबिएस टिभी प्रकरणले । सिबिएसमा जोन क्रसबीको टक–सो लोकप्रिय थियो । एस्ले मोन्टागू, नर्मन मेलर र गिन्सबर्ग ‘आधुनिक चेतना’माथि कुरा गर्न निम्त्याइए ।
कार्यक्रममा बिट पुस्ता, ‘हिप’ आदिबारे कुरा हुने नै भयो । गाँजाप्रेमी कविले मेलरसँग कार्यक्रमअघि नै गाँजाको वैधानिकीकरणबारे आफूले बोल्ने जनाउ दिइसकेका थिए । यसमा मेलरको सहमति थिएन । कार्यक्रममा गिन्सबर्गले गाँजाको प्रसंग झिके । गाँजाप्रति सरकारको रबैया गलत भएको टिप्पणी गरे । उनले कुरा उप्काएपछि बाँकी दुई पाहुनाले कहिलेकाहीँ गाँजा खाने गरेको स्वीकारे ।
मोन्टागूले गिन्सबर्गको जोडदार समर्थन गर्दै भने– ‘हाम्रा कविजीले जे भने, सोह्रै आना सही छ । गाँजा कुनै खतरनाक चिज होइन । गाँजाप्रति सरकारी दृष्टिकोणै गलत छ ।’ त्यसपछि त कार्यक्रम सञ्चालक क्रसबीले पनि ‘सुरक्षित तवरले’ अफ्रिकामा गाँजा खाएको आफ्ना दर्शकलाई सुनाए । कार्यक्रममा सबै सहमत थिए– गाँजा खराब चिज हुँदै होइन । क्रसबीको कार्यक्रमले गाँजाविरोधी अमेरिकी सरकारको मर्ममै प्रहार गरेको थियो । फेडरेल कम्युनिकेसन्स कमिसन (एफसिसी)ले तत्काल हस्तक्षेप ग-यो । उसले क्रसबी र सिबिएस टिभीलाई सात मिनेट लामो खण्डन प्रसारण गर्न बाध्य पा-यो । उसले यो खण्डन ‘जनहितमा जारी’ गरेको थियो ।
‘गाँजा आफैँमा हानिकारक हुन्छ, यसले अन्य कडा लागुऔषधतिर डो-याउँछ’– यो आमधारणा थियो । यसले पराजित मानसिकतालाई प्रेरित गर्ने डर राजनीतिक तप्कालाई थियो । अमेरिकी नेतृत्वको चिन्ता थियो– गाँजाले साम्यवादसँग लड्ने अमेरिकी जनताको इच्छालाई दुर्बल बनाउँछ ।
एफसिसीको हर्कतदेखि गिन्सबर्ग आगो भए । उनले यसबारे केही वर्षपछि एक अन्तर्वार्तामा बोलेका थिए । ‘गाँजासम्बन्धी सार्वजनिक बहस थियो त्यो,’ उनले भनेका थिए, ‘नागरिकको वाक् स्वतन्त्रता गाँजा–विमर्शमा पनि लागू हुन्छ । सरकारले टेलिभिजनका तरंगमाथि पनि कब्जा जमाएको थियो । मलाई सबभन्दा रिस उठेको कुरै यही थियो । गाँजासम्बन्धी कानुनमा परिवर्तन हुनुपर्छ भन्ने हाम्रो सुझाब थियो ।
यसमा विरोध गर्ने हक एफसिसीलाई कसले दियो ? त्यतिवेला मान्छेहरू मृत्युसँग जति डराउँथे, गाँजासँग पनि उत्तिकै डराउँथे । मेलरले क्रसबीको कार्यक्रममा मलाई यो विषय उठाउँदै नउठाउनू भनेका थिए । सबै भयभीत थिए । कुरा सेन्सरसिपको मात्र थिएन । मान्छेहरूले पालेको गाँजाको भयको कुरा पनि थियो । त्यो भयले जन्माउने आत्म–सेन्सरसिपको कुरा थियो । सरकारी सेन्सरसिप कुन हदसम्म थियो भने तपाईंले टेलिभिजनमा मुख खोल्नुभयो कि सरकारका तर्फबाट भत्र्सना भेट्नुभयो ।’
सिबिएस टक–सो काण्डपछि गिन्सबर्गले फेडरल ब्युरो अफ नार्काेटिक्स प्रमुख ह्यारी एन्सलिंगरलाई लामो र कडा पत्र लेखे । उनले एन्सलिंगरलाई सीधै ‘कलंक’ भनेका थिए । उनले पत्रमा संघीय लागुऔषध ब्युरोले वर्षाैंदेखि फैलाएको झुटको लामो सूची पेस गरेका थिए । यो पत्र गिन्सबर्गका तर्फबाट दुस्साहसी घोषणा थियो । राजनीतिक माध्यमबाट अमेरिकामा गाँजालाई वैधानिक बनाउने आसक्तिपूर्ण लक्ष्यको घोषणा थियो यो । एन्सलिंगरको प्रतिक्रिया के थियो, कसैलाई थाहा छैन । पत्रले गिन्सबर्गको लामो फाइल खोल्न एफबिआईलाई बहाना दियो या दिएन, त्यो पनि यसै भन्न सकिन्न । तर, गाँजाबारे बोल्न पनि डराइने समयमा यो पत्र स्वयंमा एउटा धृष्टता थियो । त्यो पनि एकजना गँजडी–समलिंगी–बिट कविको पत्र !
गिन्सबर्ग जान्दथे– अमेरिकामा गाँजाको वैधानिकीकरणका लागि संगठित प्रयत्न गर्नु कठिन संघर्ष थियो । थुप्रै तहमा संघर्ष गर्नुपथ्र्याे । गाँजाको असरबारे सन् १९३० देखि बनाइएका सामाजिक, चिकित्साशास्त्रीय र समाजशास्त्रीय ‘मिथ’हरूको सामना गर्नुपथ्र्याे । यी मिथ बहुसंख्यक अमेरिकीको दिमागमा गढिसकेका थिए र उनीहरूका निम्ति ती सत्य थिए ।
भारतको स्वतन्त्रताका निम्ति महात्मा गान्धी ब्रिटिस साम्राज्यवादी मानसिकतासँग भिडिरहेका थिए । गिन्सबर्ग ठान्थे– गाँजालाई वैधानिक बनाउने संघर्ष र गान्धीको संघर्षमा समानता छ । ‘गाँजा आन्दोलन’ले अमेरिकी संस्कृति, समाज र राजनीतिका आधारभूत प्रस्तावनामै धाबा बोल्नुपथ्र्याे ।
सन् १९५० को दशकको अन्त्यतिरदेखि नै गाँजासम्बन्धी नकारात्मक धारणा फैलाउन थालिएको थियो । बिट पुस्ताको आगमनपछि त यो क्रम अझ बढेको थियो । ‘गाँजा आफैँमा हानिकारक हुन्छ, यसले अन्य कडा लागुऔषधतिर डो-याउँछ’– यो जनमानसमा व्यापक बनाइएको धारणा थियो । शीतयुद्धका सन्दर्भमा यसले पराजित मानसिकतालाई प्रेरित गर्ने डर राजनीतिक तप्कालाई थियो । अमेरिकी नेतृत्वको चिन्ता थियो– गाँजाले साम्यवादसँग लड्ने अमेरिकी जनताको इच्छालाई दुर्बल बनाउँछ । काम गर्ने, उत्पादन गर्ने र वस्तु तथा सेवा उपभोग गर्ने अमेरिकीहरूको इच्छा र सामथ्र्यलाई गाँजाले निस्तेज गरिदिन्छ, जो अमेरिकाको फैलँदो अर्थतन्त्रका लागि अशुभ थियो ।
सन् १९६४ को डिसेम्बरमा हिउँ परिरहेको एक दिन गिन्सबर्ग गाँजा अभियन्ताहरूको सानो टोली लिएर तल्लो म्यानहाटनमा देखिए । उनीहरूले ‘पट इज फन’ र ‘पट इज ए रियालिटी किक’ लेखिएका प्लेकार्ड बोकेका थिए । यसरी गाँजाको वैधानिकीकरणको अभियान सुरु भएको थियो ।
(टोर्गाेफको उपन्यास ‘बप एपोक्यालिप्स : ज्याज, रेस, द बिट्स एन्ड ड्रग्ज’को भूमिकाबाट ।)