महिला उद्यमीका संघर्ष कथा

विभु लुइँटेल विभु लुइँटेल
शुक्रबार, १ चैत, २०७५
डिजिटल संस्करण

पहिलेका तुलनामा अहिलेका महिलाले सफल उद्यमीको चर्चा बटुलिरहेको सुन्न पाइन्छ । पुरुषको एकाधिकार भएको उद्यम क्षेत्रमा देश र समाजका लागि केही गरौँ भन्ने उद्देश्यका साथ महिलाहरू उल्लेखनीय योगदान पु-याउन सफल पनि भइरहेका छन् । अझ कतिपय यस्ता उद्यमी–व्यवसायीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले सम्मान पनि गरिरहेका छन् । यस्तै सफल युवा महिला उद्यमीबारे हामीले चर्चा गरेका छौँ ।

फोहोरमा मोहर
फोहोर संकलन गर्ने निकाय नेपालमा थुप्रै छन् । तर, फोहोरको वैज्ञानिक तरिकाले व्यवस्थापन गर्ने निकै कम । ‘भएका पनि खासै प्रभावकारी लागेनन्,’ आयुषी केसी– २८ भन्छिन् । यसलाई उनले अवसरका रूपमा लिने विचार गरिन् । नेपालमा समस्या धेरै छन्, त्यसैले अवसर पनि धेरै छन् भन्ने विश्वासका साथ अगाडि बढेकी केसीले ०७४ सालको विश्व वातावरण दिवसका दिन सुरु गरेको ‘खाली सिसी’ नामको स्टार्टअप सुरु गरिन् । ‘महिला भएर पुरुषको व्यवसायमा हात हाल्ने ?’ धेरैले उनलाई प्रश्न गर्थे । उनले आफूसँग सहकार्य गर्न अनुरोध गरेका फोहोर संकलकहरू पनि एउटी महिलासँग सहकार्य गर्ने कि नगर्ने भनी बिच्किन्थे । ‘एकजनाले माने । म आफैँ पनि जान्थेँ । उनीसँग फोहोर संकलन गर्न,’ उनी अनुभव साट्छिन् । तर, बिस्तारै खाली सिसीको काम र त्यहाँ कामदारलाई गरिने व्यवहार देखेर धेरै आकर्षित हुन थाले । अहिले करिब दुई सय ५० व्यक्ति कामदारका रूपमा यस व्यवसायसँग आबद्ध छन् ।

 पुराना कागज, पत्रिका, बोतल, भाँडा, फर्निचर, विद्युतीय उपकरण, कपडा आदि खरिद गरेर तिनलाई नयाँ रूप दिने गरेको छ खाली सिसीले । ‘पुनः प्रयोग गर्न मिल्ने सामानलाई हामी खासै महत्व दिँदैनौँ । प्रदूषण बढाउनमा यसको ठूलो हात छ,’ केसी विचार राख्छिन् । उनको यो व्यवसाय छोटो समयमै विश्वभर चिनिन सफल भयो । गुगल बिजनेस ग्रुपद्वारा आयोजित प्रभावकारी उद्यमीहरूको प्रतियोगितामा विश्वभरका हजारौँ स्टार्टअपलाई पछि पार्दै सुरु भएको केही समयमै खाली सिसीले उत्कृष्ट ९ मा आप्mनो स्थान बनायो । फोब्र्स एसियाले प्रकाशित गरेको ३० वर्षमुनिका ३० जना प्रभावकारी युवाको सूचीमा केसी पर्न सफल भइन् । 

पुराना कपडाका नयाँ रूप 
आमाले घरमा मर्मत गरेर लगाउन मिल्ने पुराना कपडालाई टालटुल पारी सिलाएको र त्यति गरेर पनि नहुने कपडाबाट रुमाल, झोलाजस्ता सामान बनाउने गरेको देख्दै हुर्किएकी काठमाडौंकी पुष्पा स्थापित, २७ लाई आमाको काम सानैदेखि निकै सिर्जनात्मक लाग्थ्यो । किंग्स कलेज पढ्दै गर्दा एक व्यवसायको अवधारणा प्रस्तुत गर्नुपर्नेमा उनले आमाले गर्दै आएको कार्यजस्तै केही गर्न सकिने एउटा कार्यपत्र प्रस्तुत गरिन् । उक्त सामाजिक उद्यम प्रतियोगितामा उनको यो अवधारणाले पहिलो स्थान हात पारेसगै एक लाख रुपैयाँ पनि जित्यो । त्यहीँबाट जन्म लियो ‘अपसाइकल नेपाल’ नामको कम्पनीले । 

असनको बांगेमुढामा आफ्नै घरको एक तलामा अफिस सुचारु गरेकी स्थापितको यो कम्पनीले जिन्स, ढाकालगायतका पुराना कपडा जम्मा गरी ब्याग, ल्यापटप कभर, आइप्याड कभर आदि बनाउने गर्छ । ‘रिसाइकल गरेर चलाउन मिल्छ भने किन खेर फाल्ने ?’ आफ्नो  कम्पनीको मूल उद्देश्य कुनै पनि सामान मिलेसम्म पुनः प्रयोग गर्नुपर्छ भन्ने रहेको उनी बताउँछिन् । भारतमा आयोजित साउथ एसिया कनेक्ट नामको उद्यम प्रतियोगितामा यो कम्पनीको अवधारणा औधि रुचाइयो । 

ज्येष्ठ नागरिककी प्रेरणा
हजुरआमा चम्पादेवी तुलाधरले बुनिदिएका मोजा लगाएर हुर्किएकी काठमाडौंकी लोरिना स्थापित, ३० लाई ती मोजा निकै प्यारा लाग्थे । हरेकपटक मामाघर जाँदा उनले नयाँ जोर मोजा उपहार पाउँथिन् । उनलाई मात्र होइन, आफूलाई भेट्न आउने प्रत्येक मान्छेलाई मोजा दिने तुलाधरको बुन्ने सीपलाई व्यवसायमा परिणत गर्ने सोची स्थापितले ‘अजिज’ नामको सामाजिक उद्यम सुरु गरिन् । नेपाल भाषामा ‘अजी’ भन्नाले ‘हजुरआमा’ बुझिन्छ । अहिले पनि ७६ वर्षीया चम्पादेवी मोजा बुन्छिन्, तर ती कसैका लागि उपहार होइनन्, उनका लागि आयस्रोत बनेका छन् । 

आफ्नी हजुरआमाजस्तै अरू ज्येष्ठ नागरिकका वर्षौंका अनुभवलाई सँगालेर उनीहरूलाई आर्थिक रूपमा समेत सबल बन्न सहयोग गरुँ भनी स्थापितले अरू मानिसलाई पनि यस उद्यममा समावेश गर्ने सोचिन् । अहिले १५ ज्येष्ठ नागरिक आफूले जानेका सामान बनाउँछन् र अजिजले तिनलाई बजारसम्म पु-याउने काम गर्छ । नेपालमा मात्र नभई अमेरिकामा समेत यी उत्पादनले राम्रो बजार लिइरहेका छन् । डल्लुनिवासी पञ्चरत्न ताम्राकारले बनाउने स्वयम्भू, पञ्जबुद्ध र धर्मचक्रका साना–साना आकृति होऊन् वा लुभुकी राममाया महर्जनले बनाउने परालका सुकुल र मूढा, एकान्तकुनाकी सिरो मोक्तानले बनाएका बिरुवा झुन्ड्याउने ह्यांगर र गनबहालकी दिलहीरा तुलाधरले बुन्ने र सिलाउने बालबालिकाका पहिरनलाई अजिजले अन्य देशमा पनि छिट्टै पु-याउने योजना बनाएको छ । 

चेपाङकी साथी
गएको असोजदेखि विभूति न्यौपानेले सुरु गरेको ‘नागीको हनी’ नामको कम्पनीले छोटो समयमा नेपाली बजारमा बलियो उपस्थिति देखाउन सफल भयो । नेपालमा डाबर र पतञ्जलीका महले विराट रूपमा महको बजार ओगटेका छन् । यस्तो अवस्थामा सुरुमा आफ्नो व्यवसाय प्रवद्र्धन गर्न केही गाह्रो भए पनि आफ्नो अथक प्रयास र परिश्रमले धेरै ग्राहक बटुल्न सफल भएको अनुभव न्यौपानेको छ । 

चेपाङ भाषामा ‘नागीको’ भन्नाले ‘हाम्रो’ बुझिन्छ । मकवानपुर जिल्लाको सिलिंगेडाँडा वरपर बसोवास गर्ने मौरीपालकको जीवनोत्थान गर्ने उद्देश्यलेआफ्ना  साथीसँग मिलेर न्यौपानेले यो कम्पनी सुरु गरेकी हुन् । ‘पहिले बिचौलियाका रूपमा अरू पनि त्यहाँबाट मह ल्याई काठमाडौंमा बेच्ने गर्थे,’ न्यौपाने सुनाउँछिन्, ‘तर, त्यहाँका किसानलाई खासै नाफा हुँदैनथ्यो  । कतिपटक त मह बिक्री भइसकेपछि पैसा दिन्छौँ भनेर नआउने पनि हुन्थे ।’ त्यसैले त्यहाँका कृषकले सुरुमा न्यौपानेलाई विश्वास नगरेको अनुभव उनको छ । कम्पनीको सेयरधनीका रूपमा उनीहरूलाई समावेश गराउने सहमति गरेपछि मात्र उनीहरूले सहकार्य गर्न माने । यसरी सेयरधनी नै भइसकेपछि कम्पनीप्रति उनीहरू पनि आफूजत्तिकै उत्तरदायी रहेको उनले समयक्रममा देख्दै आइन् । अहिले नागीको हनीका माध्यमबाट सिलिंगेका ६० घरका मौरीपालकले राम्रो आम्दानी गर्दै आएका छन् । प्रशस्त चिउरी पाइने उक्त क्षेत्रबाट उपयुक्त सिजनमा धेरैभन्दा धेरै मह उत्पादन गरी नेपाल मात्र नभएर अन्य देशमा समेत पु-याउने उद्देश्य यस कम्पनीको छ । 

भिजुअल डिजाइनमा अब्बल
इसु सुवेदी, ३१ ले पत्रकारिता र आमसञ्चार अध्ययन गरेको भए पनि उनको रुचि भने सधैँ विभिन्न वेबसाइट र एप्लिकेसनका इन्टरफेस डिजाइन गर्नमै रह्यो । कलेज पढ्दै गर्दा उनी काठमाडौंको एक नाम चलेको आइटी कम्पनीमा भिजुअल डिजाइनरका रूपमा काम गर्न थालिन् । अरूको कम्पनीमा काम गर्नुको साटोआफ्नै  बलबुतामा केही गरौँ भनी ०७० सालमा उनले सुरु गरेको वुफ वेब स्टुडियोले अहिले नेपालमा मात्र नभएर आइटीको अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो प्रभाव छोडिरहेको छ । 

‘मेरो कम्पनीका अधिकांश क्लाइन्ट विदेशकै हुन्,’ उनी भन्छिन् । बुटस्ट्र्याप, ड्यासबोर्ड डिजाइन, ल्यान्डिङ पेज डिजाइनलगायतकी पारखी सुवेदीले बनाएका आकर्षक डिजाइनका कारण उनी भिजुअल डिजाइनको अन्तर्राष्ट्रिय समुदायमा समेत चिरपरिचित नाम बन्न पुगेकी छिन् । एउटा कोठाबाट एक इन्भर्टर र दुईवटा ल्यापटपका साथमा उनले यो परियोजना सुरु गरेकी हुन् । कुनै पनि वेबपेजमा देखिएका विज्ञापन क्लिक गरेमा तिनको तथ्यांक संकलन गरेर राख्ने ल्यान्डिङ पेज नेपालमा आपूmले अहिलेसम्म नभेटेको र अबको केही समयमै एक त्यस्तो परियोजना आफूले  ल्याउने तयारी गरिरहेको उनी बताउँछिन् । पुरुषको बाहुल्य रहेको नेपालको आइटी, अझ त्यसमाथि पनि डिजाइन क्षेत्रमा निरन्तर रूपमा काम गरिरहेकी सुवेदीलाई महिलाले पनि उत्तिकै दखलका साथ यस क्षेत्रमा काम गर्न सक्छन् भनी सिद्ध पनि गर्नु छ । 

सौर्य ऊर्जा र सशक्तीकरण
युनिभर्सिटी अफ टेक्सास एट अस्टिनबाट इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातकोत्तरमा राम्रो अंक ल्याई उत्तीर्ण गरेकी सदीक्षा अर्याल, २८ लाई अमेरिकामै राम्रो काम गर्ने अवसर थियो । तर, सुखसयलको जिन्दगी छाडेर नेपालमै काम गर्ने अठोटका साथ उनी ०७२ सालमा काठमाडौं फर्किइन् र हिमालयन इनोभेसन्स नामको कम्पनी सुरु गरिन् । अमेरिकामा उनले सोलारप्यानल, ब्याट्री व्यवस्थापन प्रणाली र सर्किट डिजाइनमा दक्षता हासिल गरेर आइन् र तिनलाई व्यवहारमा उतार्न नेपालका विभिन्न भेगमा गइन् । 
‘नवीकरणीय ऊर्जाको प्रयोग नेपालका गाउँ–गाउँमा सिकाउँछु,’ उनी आफ्नो  अनुभव सुनाउँछिन्, ‘र अहिलेसम्म मेरो टोली गएका स्थानमा सौर्य ऊर्जाको प्रयोग प्रभावकारी ढंगले गर्ने कुरा सिकाएका छौँ ।’

नेपालका विकट जिल्लामा आफ्नो परियोजना लिएर गएका वेला उनले त्यहाँका महिला आत्मनिर्भर नभएको पाइन् । आफ्नो  कम्पनीले उनीहरूका लागि रोजगारी सिर्जना गरिदिन सक्ने देखेपछि तिनलाई सोलार जडान र सञ्चालन गर्ने प्रशिक्षण दिने अभिभारा पनि उठाइन् । अहिले हिमालयन इनोभेसन्सका माध्यमबाट ती क्षेत्रका करिब ५० जना महिलाले रोजगारी पाएका छन् । आफ्ना क्षेत्रमा सोलारसम्बन्धी आइपर्ने साना समस्या उनीहरू आफैँ समाधान गर्छन् भने ठूला समस्या आइपरेमा अर्याल पुनः परामर्श दिन पुग्छिन् । 

हालै संयुक्त राष्ट्र विकास कार्यक्रमले नेपालमा आयोजना गरेको युथ कोल्याबमा हिमालयन इनोभेसन्स उत्कृष्ट हुन सफल भयो । विजेताका रूपमा नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्डको बैंकक पुगेकी अर्याल त्यहाँबाट धेरै कुरा सिकेर आएको र सोहीअनुरूप आप्mनो कम्पनीको कार्यशैली संशोधन गर्ने बताउँछिन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार