चागलमा उभिएको मानिस

नेत्र एटम नेत्र एटम
शनिबार, १४ असार, २०७६
डिजिटल संस्करण

समकालीन नेपाली कविताको प्रतिनिधित्व कसका कविताबाट हुन सक्छ भन्ने प्रश्नको उत्तरमा मैले निःसन्देह लिने नाम हुन्छ– विमल निभा । उनका कवितामा संघर्षको ताप छ । उनको चेतनामा परिवर्तनको आशा छ । उनको अभिव्यक्तिमा घनको ऊर्जा छ । सधैँजसो सहज रूपमा पिपलबोट वरपर भेटिने कवि हुन् उनी, तर धेरै ‘एलिट’ कविहरूको भन्दा सामूहिकताको निक्कै ओज र महत्ता छ उनको सिर्जनामा ।

नेपालगन्जको गर्मीमा जन्मे उनी । स्थायी घर थियो घामका पाइलाहरू हिँडिरहने डगर भएको सहर वीरगन्जमा । तर, उनको बसोवास हुन गयो काठमाडौंको चागलमा । यस्तै, अनुभव र अनुभूतिका विविधताले होला, ठाडो र खरो बोलीझैँ छन् उनका कविता । म चाहन्थेँ– उनको सिर्जनशीलताको निशानी आओस् मेरो अभिव्यञ्जनामा, तर ‘सीमान्त आकाश’को क्षितिजबाट एउटा तेजिलो सूर्यलाई छुन खोज्नु कतै असम्भवचाहिँ नहोस्...
सत्ताको विपक्षमा यत्ति कडा, चुनौतीपूर्ण र निर्भीक कविता लेख्छन् निभा :
मेरो नामको गोली
भरिसकेको छ रिभल्भरको च्याम्बरमा
तर भय छैन मलाई 
मेरो कविता परबाह गर्दैन तिम्रो
ओ शवका व्यापारीहरू !
म त्यस्तो व्यक्ति होइनँ 
जस्तो तिमीहरूको संविधानमा
वर्णन गरिएको छ 
‘सत्ता र साहित्यको सम्बन्धलाई कसरी हेर्नुभएको छ ?’

‘साहित्य त वास्तवमा सधैँ प्रतिपक्षमै रहन्छ, तिनीहरूको गल्ती हामीले देखाइरहनु पर्छ र सचेत पनि गराइरहन्छौँ । प्रतिपक्षको कार्य थपघट हुन्छ, छाँट फरक होला, तर साहित्यकार बिक्री भएर त जानैहुन्नँ भन्छु म । जाने नै किन ? घुँडा टेकेर मागेपछि दुई–चारवटा पुरस्कार त पाइन्छन् नै, तर लेखनलाई आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि कसैले पनि भ-याङ बनाउनुहुन्न ।’    

‘तपाईंका यति खरा र दह्रा कविताको औचित्य के हो ?’ ‘समाजसँग सम्बन्ध गाँस्ने बलियो माध्यम बनाएको छु मैले कवितालाई । स्वान्त सुखाय रचना गर्छु भन्ने कुरासँग म सहमत छैनँ । समाजमा मैले जुन हैसियत बनाएको छु, त्यो कविताबाटै हो । त्यसैले मेरो सामाजिक कर्मको दस्ताबेज नै मेरो कविता हो ।’
‘समकालीन नेपाली साहित्य र समालोचनाको अवस्था कस्तो छ नि ?’

‘निश्चित रूपमा अहिलेको लेखन अगाडि छ, अग्रगामी छ । चेतनामा चिन्तनमा सुनिश्चितता छ अहिले, पहिलेकोमा त्यो निकै घुलमिल देखिन्छ । गद्यलाई पद्यले ‘डोमिनेट’ गरेको थियो, तर अहिले त गद्य पनि सशक्त छ । गद्य र पद्यको असन्तुलन त्यागेकाले साहित्यमा पूर्णता आएको भन्नुपर्छ । अहिलेको कमजोरीचाहिँ सिर्जनात्मक लेखनसँगै समालोचनात्मक क्षमता भने विकसित भएन ।

साहित्यको मूल्यांकनविना त्यसको स्पष्ट स्तर आकलन गर्नै गाह्रो छ, र त आजका सबै लेखकमा ‘म नै महान्’ भन्ने भ्रम विद्यमान छ । यसले धुमिलपना उत्पन्न गरेको छ । पाठकहरूको मूल्यांकन त केवल मौन रूपमा मात्र व्यक्त हुन्छ । समाजबाट प्रतिक्रिया पाउनकैै लागि मात्र पनि एउटा लेखकले आफ्नो मृत्यु नै पर्खनुपर्ने त न्यायसंगत भएन नि ? साहित्यलाई आफ्नो उर्वरकाल दिएको एउटा मान्छेका बारेमा केही त लेखिनुप-यो नि, जे–जस्तो भए पनि समाजमा एउटा स्पष्ट धारणा बनाइनुपरेन र ? समालोचकले के मरेकै लेखकका बारेमा मात्रै लेखेर बस्ने त ?’ कवितामा पनि समालोचकलाई ठानाका पुलिसको प्रतिरूप बनाएर उनले तीव्र आक्रोश पोखेका छन्–

...तर आजका कविहरू
किन पटक–पटक 
काव्यानुशासनको उल्लंघन गर्छन् ?
ठानाका पुलिस इन्सपेक्टर साहेब
आश्चर्यचकित छन्
र अत्यधिक क्रुद्ध पनि
यस्तै सांकेतिक र सशक्त कविताका सर्जक हुन् निभा !

त्यसैले ‘सजीव शब्दहरूको बोली’ शीर्षकमा मूल्यांकन प्रकाशन गृहले उनको लेखनप्रवृत्तिका बारेमा सही निर्णय दिएको छ : ‘उहाँका कविता जर्मन कवि बर्तोल्त ब्रेख्तले भनेजस्तो कामी दाइका हथौडाजस्ता छन्, जसले मृत्युमुखी यथार्थलाई जीवनमुखी बनाउन र फेर्न सघाइरहेका छन् ।’ ‘आफूमाथि गहिरो प्रभाव परेको लेखक र कृति उल्लेख गर्नुपर्दा ?’ 

‘निःसन्देह भूपिको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ । त्यो नेपाली कविताको अत्यन्त ऊर्जावान पुस्तक हो, साहित्यको ‘माइलस्टोन’ हो । त्यसले धेरै पुस्तालाई प्रकाशन दिइरहेको छ । नबुझिने बकवास कविताहरूको बाहुल्य भएको अन्योलका वेलामा वा अराजकताको उच्चाटलाग्दो समयमा पनि भूपि एक्लै विचार र कलाको सुन्दर सम्मिश्रण गरेर कवितामा जुधिरहे । उनको महत्व  त्यसकारण पनि बढी छ । साहित्यले प्रतिष्ठा प्राप्त गर्नका लागि त मान्छेसँग सम्बन्ध राख्नैपर्ने रहेछ भन्ने कुरा राम्ररी सिद्ध ग-यो नि त्यसले ।’

‘अनि, अरू कविबाट?’ ‘त्यसो त पाब्लो नेरुदा र ब्रेख्तका कविताले छुन्छन् मलाई । ब्रेख्तको कसिएको भाषा, बोसोरहित लेखनप्रति सधैँ मोहित भइरहेँ म । सामाजिक चेतनालाई प्रकृतिसित समन्वय गरेर लेख्छन् नेरुदाचाहिँ । अर्को नाम हो, टर्कीका नाजिम हिक्मत, कवितामा माक्र्सवादलाई सौन्दर्यपूर्ण ढंगले प्रकट गर्नेमा त उनको प्रखरताको दाँजोमा अरू को आउन सक्ला र ?’‘नेपाली कविकै कुरा गरौँ न, अरू कविहरूका बीचमा आफूलाई राखेर हेर्दा कस्तो लाग्छ ?’

‘म एक्लै बनेको होइन, साथीहरूको साहित्यिक अग्रसरताको हिस्सा ठान्छु म आफूलाई, त्यो कुलको एउटा ‘पार्ट’ हुँ म । आफूलाई म जिम्मेवार सदस्य अवश्य नै ठान्छु, तर एक्लै स्थापित भएको वा पूरै अलग भने देख्दिनँ आफूलाई । सँगसँगै लेख्दा नै स्वस्थ प्रतिस्पर्धा हुँदोरहेछ । मीनबहादुर विष्ट, श्यामल, राजव, विक्रम सुब्बा, नारायण ढकाल आदि साथीका माझमा नै मैले लेखेँ । मेरो मौलिकता के हो भने, मैले विचार र कलाको सन्तुलनलाई महत्व  दिएँ, नाराबाजी लेखिनँ ।’‘केलाई प्रगतिशील मान्नुहुन्छ तपाईं ? त्यो के राजनीतिक लेखन नै होइन र ?’

‘प्रगतिशीलले जहिले पनि सामाजिक न्याय स्थापना हुनुपर्छ भन्ने विचार बोकेको हुन्छ । यसले मान्छे अहिलेको विभेदपूर्ण समाजभन्दा अघि जानुपर्छ, त्यसलाई समाप्त गर्नुपर्छ भन्ने सोच्छ । त्यसका पछाडि माक्र्सवादले पनि काम गरिरहेको हुन सक्छ । साहित्यमा पनि त्यो विचार आउनुपर्छ भन्ने मेरो अतिरिक्त आग्रह हो । मेरो लेखनको केन्द्र हो, त्योे दृढ आस्था । केन्द्रविहीन लेखन गर्दिनँ म– त्यसैले मेरो लेखनको निश्चित घेरा छ भन्ने कुरा मलाई राम्ररी थाहा छ ।’ ‘त्यसो भए, तपाईं राजनीतिबाट साहित्यमा लोकप्रियता प्राप्त गर्न नै ओर्लनुभएको हो त ?’

‘होइन, मैले सीधा राजनीति कहिल्यै गरिनँ, साहित्यकै माध्यमले मात्र म त्यसको नजिक भएँ । मेरो चिन्तन माक्र्सवादी भएकाले म त्यस्तो खालको राजनीतिसँग नजिक निश्चय नै देखिएको हुँ । त्यो दर्शनप्रति मेरो गहिरो आस्था छ । मानवकल्याणका लागि त्यो विचार अहिलेसम्मका संसारका विचारधारा हेर्दा धेरै अनुकूल छ भन्ने मलाई लाग्छ । त्यसले श्रमबाटै सभ्यताको विकास भएको ठान्छ । परिश्रमको विकल्प नै हुँदैन भन्ठान्छु, म पनि ।’

‘विचारलाई कलामा सजाउने कस्तो पद्धति आविष्कार गर्नुभएको छ त तपाईंले ?’ ‘विचार र कला छुट्टाछुट्टै आउँदैनन्, मेरो विचार आउँदा पनि कलामा घोलिएरै आउँछ । मैले केही सोचेँ भने म मार्क्सवादी विचारमा हुन्छु, तर यसको रेन्ज त निकै विशाल र सिर्जनात्मक छ नि । मानव सभ्यतालाई ढाकेको विचार हो त्यो त । यसमा चलखेल गर्ने ठाउँ प्रशस्त छ । इतिहास, संस्कृति र श्रमको निष्कर्षका रूपमा आएको हो त्यो विचार, भुईंफुट्टा रूपमा मार्क्सले त्यसै ल्याएको त होइन नि !’
‘तपाईंको कविताको सिर्जना प्रक्रिया कस्तो छ ?’ 

नेपालगन्जको गर्मीमा जन्मे उनी । स्थायी घर थियो घामका  पाइलाहरू हिँडिरहने डगर भएको सहर वीरगन्जमा । तर, उनको बसोवास हुन गयो काठमाडौंको चागलमा । यस्तै अनुभव र अनुभूतिका विविधताले होला, ठाडो र खरो बोलीझैँ छन् उनका कविता ।

‘सुरुमा कविताको पूर्वरूप वा पृष्ठभूमि बनेर दिमागमा झ्वाट्ट एउटा धमिलो बिम्ब आउँछ र समय बित्दै जाँदा त्यसका अंग पनि देखिन थाल्छन् । त्यसवेलासम्म मेरो कविताको आरम्भ र अन्त्य कसरी गर्ने भन्ने खाका तयार भइसकेको हुन्छ । त्यसरी भन्नुपर्ने मूल कुरा निर्धारण भइसकेपछि मात्र त्यसका बीचका तानाबाना बुन्न थाल्छु म, त्यसैले मेरो रचना धेरै विस्तारमा जान सक्तैन र त्यो छोटो पनि हुन्छ ।’ उनका कवितामा राप र ताप सिर्जना गर्ने केन्द्रीय बिम्ब हो सूर्य । यसरी परिभाषित गरेका छन् उनले आफ्नो विचारलाई सूर्यको सुन्दर बिम्बमा :
सूर्य एक कलात्मक, भावपूर्ण र लययुक्त कविता हो 
कविता एक चम्किलो, तापपूर्ण र प्रकाशयुक्त सूर्य हो 

साथी, सूर्य र कवितामा कुनै अन्तर छैन 
दुवै अन्धकारका कट्टर दुस्मन हुन् । 
जियोमेट्रीको कुनै ‘थियरम’ प्रमाणित गरेजस्तो तार्किक निष्कर्ष पाइन्छ उनका कवितामा । ‘शब्दकोश’ शीर्षकको कवितामा पनि ‘लोकतन्त्रको शब्दकोशमा शब्दहरूले अर्थ हराएका छन्’ भन्ने कुरा पुष्टि गर्नका लागि उनले तल्कालीन व्यवस्थाको पूरै भण्डाफोर गरेर विपर्यासका रूपमा प्रचलित शब्द थुपारेका छन् । जब पाठकले कविताको अन्तिम हरफ पढ्छ, ऊ लामो निश्वास फ्याँकेर कविसँग एकाकार हुन पुग्छ– यही रहेछ क्यार, उनले भनेको बोसोरहित कविता ! 
बारुद, लाइसेन्स, जय नेपाल
समीकरण, गमला, गीत
मन, कमरेड, दमकल
पासपोर्ट, मानिस, हिमाल
पार्टी, श्रीपेच, खेल
दलबदल, आलोचना, पैसा
अभियान, बल, समाजवाद
अमेरिका, भकारी, अविश्वास
इतिहास, कूटनीति, दलदल आदिमा
अब कुनै भेद छैन

म निरन्तर पाना पल्टाएर हेरिरहेछु
लोकतन्त्रको शब्दकोशमा 
शब्दहरूले अर्थ हराएका छन् 

मानवीय संवेदनाको चुरो पक्रने सामथ्र्य छ उनका कवितामा । उनको आत्मकथ्य पनि यस्तै–यस्तै बोल्छ :
कविता कुनै अलौकिक अथवा इन्द्रजालिक वस्तु होइन । यो कविको सामाजिक कर्मको कलात्मक दस्ताबेज हो । जसरी मजदुहरू घन उठाउँछन्, सिपाहीहरू मोर्चामा हतियार र कृषकहरू हलो जोत्छन्, त्यसरी नै कविहरू कविता लेख्छन् । यसलाई जीवन र जगत्बाट पृथक् एवं अद्भूत प्रदर्शन गर्न खोज्नु एकप्रकारको विशिष्ट षड्यन्त्र हो । तसर्थ, साधारण जनताका जिजीविषा र संघर्षसँग ऐक्यबद्ध हुने सिलसिलामा म काव्यात्मक आचरणको पालना गर्छु अर्थात् म कविता कोर्छु । कविता नै मेरा कामरेड हुन् । म कविताद्वारा यो पृथ्वीलाई सुन्दर बनाउने आफ्नो हिस्साको अभियानमा जुटेको छु । 

‘तपाईं त कवितालाई यथार्थको साक्षात्कार ठान्नु हुँदोरहेछ, आफूले जीवनको सबैभन्दा कठोर यथार्थ कुन कवितामा साक्षात्कार गर्नुभएको छ ?’
‘कसरी भन्ने एउटा मात्र त, गाह्रो छ,’ खुब घोत्लिन्छन् उनी । एकाएक चमक थपिन्छ अनुहारमा– ‘अँ, ‘बालकविता’... त्यो सामान्य नेपालीहरूको वास्तविक जीवनको झल्को दिने एउटा महत्वपूर्ण कविता हो भन्ने मलाई लागेको छ । परिश्रम गरेर पनि भोकै बस्नुपर्ने विपरीत स्थिति के हाम्रो कठोर यथार्थ होइन र ?’
‘आगोनेर उभिएको मानिस’मा संकलित ‘बालकविता’ मा प्रयुक्त गरिबी भरिएका सिसी, किलामा महँगी झुन्ड्याइएको आदि बिम्बमा अत्यन्त तीव्र अनुभूतिको प्रक्षेपण छ, जस्तै :

बिचरा चुल्हो कुनामा एक्लो छ 
र दाउराचाहिँ चिन्ताको आगोमा
दन्दनी बलिरहेछ
चामलको कसौँडीमा अभाव पाकिरहेछ
माटोको गाग्रोलाई प्यास लागेको छ
र अम्खोरा तन्तनी
हाहाकार 
पिइरहेछ ...
वा, निभाजी ! भोकको विचार र संवेदनाको यति सशक्त संयोजन– बिम्बात्मकताको यत्रो दीर्घप्रभावी चमत्कारपूर्ण छ यो कवित्व ! जीवनको यथार्थको गम्भीरता ठम्याउन सक्ने कति प्रखर दृष्टि छ यसमा !

‘जीवनलाई कसरी हेर्नहुन्छ नि ?’
‘मेरा धेरै आकांक्षा छैनन् । व्यापारमा पनि असफल मान्छे हुँ म, गरिब फेमिलीको मान्छे होइनँ म, तर गलत किमिसले कमाएर फूर्ति गर्नुभन्दा थोरै खर्च गर्नुमा विश्वास छ मेरो । उधारो पनि नलिने, घिउ पनि नखाने सिद्धान्त छ ।’ 
‘समग्रमा भन्नैपर्ने कुरा ?’
‘साहित्य कर्म तपाईंको आफ्नो रोजाइ हो– यसलाई स्वेच्छाले चयन गरेकाले कसैले त्यसप्रति गुनासो गर्छ भने त्यो पाखण्डी हो । साहित्यबाट पैसा आउँदैन भन्ने थाहा पाएर पनि त्यस्ताले किन ‘सेवा गर्छु’ भन्ने आडम्बर पाल्ने हँ ? त्यस्ता त स्मगलिङ गर्न जानु नि बरू । लेखनलाई चाकडी, दलाली र स्तुतिमा लगाउनुहुन्न– बन्नु नै छ भने सत्ताको होइन, जनताको नवरत्न बन्नुस् न !’‘एउटा अन्तिम जिज्ञासा, तपाईंको यो निभा भन्ने नामचाहिँ के हो नि ?’ ‘ए ! यो ‘निभा’ भनेको मेरो घरायसी नाम हो, यसको अर्थ नेवारीमा ‘घाम’ हुन्छ अनि बाहिरको नामचाहिँ विमलकृष्ण श्रेष्ठ– ती दुवैलाई जोडेर राख्ता मेरो नाम त ‘टाइटल’जस्तो पो भइदियो ।’ 

वा ! यस्तो रहेछ र पो सूर्यलाई यत्तिको प्यारो गर्दा रहेछन् उनी, जीवनलाई जत्तिकै अनि अँध्यारोसँग कट्टर दुस्मनी पनि उत्तिकै जोडले । जति कलामा तीव्रता र उज्यालो छ, हाम्रो जिन्दगी त्यत्तिकै निस्तेज छ, हामी बाँचेको समाज त्यत्तिकै बासी छ, देशको राजनीति त्यत्तिकै भुँमरीमा घुमिरहेको छ । हरेक आगन्तुकलाई निभा बारम्बार प्रश्न सोधिरहेका छन् कवितामा, नेपालको वास्तविक विधायक को होला, उसको नाम, वतन र क्रियाकलाप कस्तो होला ?
सूर्यको भकुन्डोलाई
आफ्नो सानो–सानो पैतालाले हिर्काएर खेलिरहेको
नेपालको छोरा
तिम्रो नाउँ के हो हँ ?
निभाजी, जवाफ अहिले पनि अनुत्तरित छ । कवितामा जस्तै जीवनका तीन अध्याय लेख्ने श्रमश्रील मजदुरको मुक्तिको सपना लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिमा पनि अनिश्चित भइरहनु के हाम्रो सुखद भविष्यको संकेत हो र ?

सम्पादकको रोजाइ

सुझावित समाचार