हो, वीरगन्जमा गर्मी छ !

मधेसतिर

गोपाल अश्क गोपाल अश्क
शनिबार, ३२ जेठ, २०७६
डिजिटल संस्करण

प्रत्येक व्यक्ति, वस्तु वा ठाउँको एउटा नाम हुन्छ, पहिचान हुन्छ । यस्तो कुनै पनि व्यक्ति वा वस्तु हुँदैन, जसको कुनै नाम नहोस् । त्यसैगरी प्रत्येक नामको कुनै न कुनै अर्थ हुन्छ । तर, कुनै व्यक्ति वा वस्तुको एउटा खास पहिचान स्थापित हुन जान्छ, उसको कुनै न कुनै विशेषताले गर्दा । अब विशेषण भन्नाले गुण नै होस् भन्ने जरुरी छैन । विशेषणलाई परिभाषित गर्दै वैयाकरणहरूले भनेका छन्, ‘नाम वा सर्वनामको गुण, दोष वा अवस्थाको बोध गराउने शब्दलाई विशेषण भनिन्छ ।’ भनाइको अर्थ के हो भने कुनै व्यक्ति, वस्तु वा ठाउँ प्रसिद्ध हुनुको कारक–तत्व  त्यसका गुण मात्र नभई दोष आदि पनि हुन्छन् ।

वीरगन्जको प्रसिद्धि धेरै कारणले रहेको छ । यसो झ्वाट्ट बाहिरी आँखाले हेर्दा वीरगन्ज नेपालको एउटा प्रचण्ड गर्मी हुने ठाउँ हो । लामखुट्टे र फोहोरहरूले रजाइँ गर्ने ठाउँ पनि हो । तर, वीरगन्जको पहिचान यही मात्र होइन । वीरगन्जमा गर्मी छ, निकै गर्मी छ । साँच्चै भन्ने हो भने गर्मी वीरगन्जको मूलभूत पहिचान हो, सौन्दर्य हो । तर, वीरगन्जको तातो हावाको आयतन मात्र वातावरणमा केन्द्रित रहेको छैन, बल्कि नेपालको आर्थिक, राजनीतिक तथा साहित्यिक–सांस्कृतिक क्षेत्रमा पनि विस्तृत रहेको छ ।

वीरगन्जको प्रचण्ड गर्मीले देशलाई केवल वातावरणीय उष्णता मात्र प्रदान गरेको छैन, बल्कि अर्थ, प्रजातान्त्रिक विचारधारा तथा क्रान्ति र कालजयी साहित्यिक कृतिसमेत प्रदान गरेको छ । यदि वीरगन्जमा गर्मी नभएको भए २००७ सालमा प्रजातन्त्रको लडाइँको सुरुवात त्यहाँबाट पनि हुँदैनथ्यो । ‘त्यहाँबाट पनि’ किन भनिएको हो भने प्रजातन्त्रको लडाइँको सुरुवात एकैपटक विराटनगर र वीरगन्जबाट भएको इतिहास छ । वीरगन्जको गर्मीकै कारण थिरबम मल्ल र तेजबहादुर अमात्यजस्ता वीर सपूतले प्रजातन्त्रको लडाइँमा आफ्नो ज्यानको आहूति दिए । यहाँ वेला–वेलामा राजनीतिक परिवर्तनको हावा निकै बगेको देखिन्छ । वेला–वेलामा वीरगन्जमा क्रान्तिको ज्वाला दन्केको इतिहास छ । २००७, २०३६, २०४६ २०६२ र २०६३ का विभिन्न राजनीतिक आन्दोलनमा वीरगन्जले आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । वीरगन्जले आफ्ना निकै सन्तानको आहूति दिएका छन् । 

मधेस आन्दोलन पहिलो र दोस्रोले त वीरगन्जको प्रचण्ड गर्मीलाई नै प्रमाणित गरेको छ । अहिले वीरगन्ज मधेसकेन्द्रित राजनीतिक दलहरूको आमसभा र विचार प्रसारणका लागि मुख्य आश्रयस्थलको रूपमा स्थापित भएको देखिन्छ । आन्दोलन प्रामाणीकरणको थलोको रूपमा समेत स्थापित भएको छ । प्रत्येक मधेसकेन्द्रित राजनीतिक दल आफ्ना आमसभा वीरगन्जमा नै गर्न रुचाउँछन् । त्यसको कारण पनि वीरगन्जको गर्मी नै हो । अनेकानेक आरोप–प्रत्यारोप सहेर पनि वीरगन्ज आफूलाई जीवित राख्न सफल भएको छ । 

यो वीरगन्जको गर्मी नै हो कि देशले यहाँबाट अधिकाधिक राजस्व प्राप्त गर्ने गर्छ । वीरगन्ज देशलाई राजधानीपछि बढी राजस्व तिर्ने सहरको रूपमा चिनिन्छ । वीरगन्ज नेपालको आर्थिक राजधानी नै हो । वीरगन्जमा बसेर यदि कोही भोकले प्राण गुमाउन बाध्य हुन्छ भने त्यो सातौँ आश्चर्यको कुरा हो । त्यहाँका मान्छेलाई गरिबीले दुःख दिन सक्छ, तर मार्नचाहिँ सक्दैन । यदि वीरगन्जमा बस्ने व्यक्ति अलिकति पनि मिहिनेती छ भने भोकै मर्नचाहिँ सक्दैन । किनभने वीरगन्जले आफ्नो नागरिकलाई रोजगारको पर्याप्त अवसर दिएको हुन्छ । अरू केही नभए, यता (नेपाल) को सामान उता (भारत) र उता (भारत) को सामान यता (नेपाल) पु-याएर पनि जीविकोपार्जन गर्न सकिन्छ । भन्नलाई यसलाई तस्करी भनिन्छ । तर, यो पनि एक किसिमको वीरगन्जको गर्मी नै हो । नेपालका प्रत्येक दशगजाका सहरमा ‘तस्करी व्यापार’ कमोवेस चलेकै छ । 

राजनीतिक र आर्थिक गर्मीको कुरा गरिसकेपछि वीरगन्जको भाषिक–साहित्यिक–सांस्कृतिक गर्मीको कुरा गर्नु उचित देखिन्छ । यस दृष्टिले वीरगन्ज त झन् गर्मी ठाउँ हो । वीरगन्जले अनेकौँ नेपाली, भोजपुरी र हिन्दीका कालजयी साहित्यकारलाई जन्माएको छ । यदि वीरगन्जमा यस किसिमको गर्मी नभइदिएको भए श्यामप्रसाद शर्मा, धनुषचन्द्र गौतम, भीम विराग, भीमचरण थापा, ध्रुवचन्द्र गौतम, प्रेमा शाह, विमल निभा, विनय रावल, रमेश गोर्खाली, गणेश लाठजस्ता नेपालीका साहित्यकारको नेपाली साहित्यजगत्मा दरिलो उपस्थिति देखा पर्दैनथ्यो । 

वीरगन्जमा बसेर यदि कोही भोकले प्राण गुमाउन बाध्य हुन्छ भने त्यो सातौँ आश्चर्यको कुरा हो । किनकि, वीरगन्ज नेपालको आर्थिक राजधानी हो ।

निश्चित रूपमा वीरगन्जको गर्मीकै कारण‘सेवा’ (नेपालको पहिलो पत्रिका–श्यामप्रसाद शर्मा),‘घामका पाइलाहरू’(धनुषचन्द्र) ‘माया’ (भीमचरण थापा) गौतम)‘अलिखित’ (ध्रुवचन्द्र गौतम) ‘अज्ञात आरम्भ’ (भीम विराग),‘पहेँलो गुलाफ’ (प्रेमा शाह),‘आगोनेर उभिएको मान्छे’ (विमल निभा) ,‘ठुल्दिदीको देश’ (विनय रावल) ‘पृथ्वीको मर्म’(रमेश गोर्खाली) ‘मेरो वीरगन्ज (गिरीश गिरी) र ‘छमिया’ (गणेश लाठ) जस्ता कृतिहरू प्रकाशित तथा लोकप्रिय रहेका छन् । यति मात्र होइन, वीरगन्जको गर्मीले प्रकाश श्रेष्ठ र मधु क्षेत्रीजस्ता गायक तथा रुवी राणाजस्ता नेपाल सुन्दरीलाई पनि हामीसमक्ष उभ्याएको छ । 

वीरगन्ज मुख्य रूपमा भोजपुरी भाषाको हृदयस्थल हो, यद्यपि यहाँ नेपाली, हिन्दी, मैथिली, थारू, मारवाडी आदि अन्य भाषा पनि बोलिन्छन्, लेखिन्छन् र पढिन्छन् । वीरगन्जको गर्मीले नेपाललाई मात्र होइन, भारतलाई समेत भोजपुरी साहित्यको उष्णता प्रदान गरेको छ । स्व. पं. दीपनारायण मिश्र, महावीर मयंक, शिवशंकर प्रसाद रौनियार, विजयप्रकाश बिन, नागेन्द्रप्रसाद कानू, भाग्यनाथ गुप्ता, पुरुषोत्तम शर्मा, दिनेश गुप्ता र उमाशंकर द्विवेदी, विश्वम्भर कुमा शर्मा जस्ता भोजपुरी साहित्यकारहरू वीरगन्जेली धर्तीकै उपज हुन् । पं. दीपनारायण मिश्रको ‘अजामिल’ (खण्डकाव्य), उमाशंकर द्विवेदीको ‘हमरा गाँव के लोग’ (उपन्यास), दिनेश गुप्ताको ‘सुताल अब ठीक नइखे’ (गजल संग्रह), विश्वम्भरकुमार शर्माको ‘वसंत इहाँ आ ना सकल’ (कवितासंग्रह), पुरुषोत्तम शर्माको ‘जनता के मत चिढाँव बाबू’ (कवितासंग्रह), शशिभूषण वर्णवालको ‘ऐ मौत तनी हँस के जिए द’ (कवितासंग्रह) आदि कृतिहरू वीरगन्जको गर्मीमा पाकेका फल हुन् ।

यसरी हामी के भन्न सक्छौँ भने वीरगन्जमा पक्कै गर्मी छ । तर, त्यो गर्मीले हामीलाई जीवन प्रदान गरेको छ, हामीलाई मरेर गए पनि बाँच्ने आधार दिएको छ । हो, यो सत्य हो कि हिजोआज वीरगन्जको खालि वातावरणीय गर्मीको चर्चा अलिक बढी हुने गर्छ । गर्मीका दिनमा त्यहाँ कोही जान चाहँदैन । तर, यो त एकपक्षीय मूल्यांकन भयो, आंशिक विचार भयो । वीरगन्जको समग्र मूल्यांकन गर्ने हो भने वीरगन्ज एक सबल र सफल ठाउँ हो । 

नेपालको आर्थिक, राजनीतिक र साहित्यिक जगत्मा वीरगन्जको महत्वपूर्ण  तथा अविस्मरणीय स्थान छ । हामी वीरगन्जलाई छाडेर न त नेपालको राजनीतिक इतिहास लेख्न सक्छौँ, न त साहित्यिक इतिहास नै । न सांगीतिक विकासकै कुरा गर्न सक्छौँ, न आर्थिक क्षेत्रकै । त, यसरी वीरगन्जको गर्मी न केवल वीरगन्जेलीहरूका लागि बल्की पूरै देशका लागि आवश्यक छ । त्यसैले म आफ्नो सहर वीरगन्जको खुलेरै प्रशंसा गर्छु र त्यहाँको गर्मीमा रमाउँछु । गर्वका साथ भन्छु, ‘म वीरगन्जेली हुँ र मेरो वीरगन्जमा गर्मी छ !’

सम्पादकको रोजाइ

सुझावित समाचार