सन्तान हत्याको साक्षी बस्दा

भारतमा दलित

सुरेश निरौला सुरेश निरौला
शनिबार, २५ जेठ, २०७६
डिजिटल संस्करण

पीडित : भैयालाल भुतमाँगे 
स्थान : महाराष्ट्र, नागपुर, जिल्ला 
भन्डारा, खैरलान्जी गाउँ 
खैरलान्जी हत्याकाण्डका  नामले चर्चित 

सन् २००६ को सेप्टेम्बर २९ को दिन थियो । म कामले घरबाहिर निस्केको थिएँ । श्रीमती, दुई छोरा र छोरी घरमै थिए । साँझतिर फर्कंदै गर्दा परैबाट मेरो घरअगाडि हुलदंगा र कुटपिट भइरहेको देखेँ । मनमा चिसो पस्यो, ‘कतै मेरै परिवारलाई त कुटपिट गरिएको होइन ?’ किनकि, गाउँलेले हामीलाई २००२ मा पनि जमिन विवादमा कुटपिट गरेका थिए । बारम्बार गाउँ निकाला गर्ने धम्की दिन्थे । 

केही वर्षदेखि गाउँको जमिनदारसित सीमा विवाद थियो । उसले हाम्रो धेरै खेत मिचेको थियो । त्यो छुट्याउन खोज्दा अमिनलाई गाउँ पस्नै दिएन । उल्टै राम्रो बाली हुने खेत कौडीको भाउमा मागिरहेको थियो । हामीले दिएका थिएनौँ । मेरा छोरा–छोरी बढेका थिए । गाउँका अन्यभन्दा पढेलेखेका पनि थिए । त्यसैले उनीहरू ‘उच्च जाति’ भनिनेहरूसँग दब्न मानेनन् । ती आँखामा आँखा जुधाएर विवाद गर्थे । 

यो कुरा गाउँलेलाई मन परेको थिएन । मारेर फालिदिनेसम्मको धम्की दिन्थे । गाउँमा कुनवी (कथित उच्च जात) को बाहुल्य थियो । उनीहरू करिब दुई सय घर थिए । हामी दलित परिवार २५–३० मात्रै थियौँ । अरू सबै दलितहरू उच्च जातसँग रोजगारीमा आश्रित थिए । मचाहिँ आफ्नै खेतीबारी मग्न हुन्थेँ । कसैको मतलब गर्दिनथेँ । अर्को एक घटनादेखि पनि गाउँले हामीसँग रिसाएका थिए ।

पल्लो गाउँ कान्द्रीका सिद्धार्थ गजभैये, जो मेरा नातेदार हुन्, उनी हामीलाई एकदमै सहयोग गर्थे । एक दिन उनलाई गाउँले निर्मम कुटपिट गरे । यस घटनाका साक्षी मेरी छोरी र श्रीमती थिए । उनीहरूले अदालत गएरसमेत बयान दिएका थिए । अदालतमा साक्षी बसेपछि त के चाहियो ! उच्च जातविरुद्ध लागेको भनेर हामीलाई बारम्बार धम्की आउन थाल्यो । उनीहरू भन्ने गर्थे, ‘हामीविरुद्ध उभिने ? तिमीहरू सबैलाई सखाप पारिदिन्छौँ ।’ 

त्यो घटना भएको दिन पनि अदालतबाट सोझै गाउँलेहरू लाठी भालासहित सिद्धार्थको घर हान्निए । तर, उसलाई भेटेनन् । त्यसपछि बेलुका ५ बजेतिर सबै गाउँले हाम्रै गाउँ खैरलान्जी फर्किए । बिजेपीका तुमसारका विधानसभा सदस्य (एमएलए) मधुकर कुकडे र भन्डाराका लोकसभा सदस्य (एमपी) राम आसवालेसँग बैठक गरे । उनीहरू त्यही दिन गाउँ आएका थिए । दुवै नेताको सहमतिमा गाउँलेले हाम्रो परिवारलाई आक्रमण गर्ने योजना बनाएछन् । सबै गाउँले मेरो घरमा उर्लिएका थिए । उनीहरू मेरा श्रीमती, छोरी र छोराहरूमाथि हुलहुज्जत गरिरहेका थिए ।  

मैले बाँसको झाडीमा लुकेर हेरेँ । निर्मम कुटपिट गरिरहेको देखेँ । कपडा च्यातचुत पारिदिएकाले छोरी र पत्नी सर्वाङ्गैै थिए । म छानाबाट खसेजस्तै भएँ । उता, भिडका केही युवाले ‘भैयालाल खोई’ भनेको सुने । छुट्याउन जाऊँ मलाई नै मार्थे, नजाऊँ आँखैअगाडि ४० वर्षीया श्रीमती सुरेखा, २१ र १९ वर्षीय छोरा रोशन, सुधीर र १७ वर्षीया छोरी प्रियंकामाथि निर्मम दुव्र्यवहार भइरहेको थियो । गाउँले हिंस्रक पशुझैँ आक्रमणमा उत्रिएका थिए । मैले छुट्याउन जाने आँट गर्न सकिनँ । बाँसको झ्याङमा लुकेर निरीह भई घटनाको साक्षी बन्नेबाहेक केही गर्न सकिनँ । (उनी आँसु बररर झार्दै सुकसुकाउन थाले ।) 

मेरा छोरी र श्रीमतीको शरीरमा कपडाको एक धरोसम्म थिएन । उनीहरू हिँड्न सक्ने अवस्थामा थिएनन् । गाउँलेले लछारपछार गर्दै उनीहरूलाई घिसार्न थाले । गाउँ परिक्रमा गराए । उता, छोराहरूलाई निर्मम कुटेर बेहोस बनाएपछि गाउँले युवाले फुटबलझैँ खेल्न थाले । उनीहरू मेरा छोराहरूलाई भलिबल आकाशतिर फ्यालेझैँ हुत्याउँथे र भुईंमा बज्रिन छाडिदिन्थे । कैयौँपटक यस्तो गरिरहँदा मेरा छोराहरूको प्राणपखेरु उडिसकेको थियो । 

गाउँले यस्तो मुडमा थिए, मानौँ उनीहरू कुनै चाड मनाइरहेका छन् । युवा मात्र होइन, महिला, वृद्ध र बालबालिकासमेत त्यो दृश्य हेरेर आनन्द लिइरहेका थिए । मेरी छोरी र श्रीमतीको कपडा उतार्नेमा गाउँका महिला नै अगाडि थिए । पछि, केही पर लगेर गाउँले युवाले छोरी र पत्नीमाथि सामूहिक बलात्कार गरे रे । त्योचाहिँ मैले देखिनँ । 
म रातभरि लुकेरै बसेँ । भोलिपल्ट शव पहिचानका लागि मलाई प्रहरीले बोलायो । म अस्पताल गएँ । मलाई सोधियो, ‘शव चिन्नुहुन्छ ?’ म कसरी चिन्न सक्दिनथेँ ? मेरै छोरी थिइन् । उनको शरीरमा एकधरो कपडा पनि थिएन । शरीरभरि चोटैचोट थियो । रोशन पनि पूरै नांगै थियो । श्रीमती सुरेखाको टाउको फुटेर गिदी बाहिर निस्केको थियो । उनको एउटा आँखा पनि थिएन । उनलाई भित्तामा टाउको बजारेर मारिएको थियो । 

त्यति ठूलो घटना भएको थियो । तर, प्रहरीले सुरुमा संवेदनशीलता अपनाएन । मैले किटानी जाहेरी गर्दा सय जनाभन्दा बढीको नाम दिएको थिएँ । तर, आधा पनि गिरफ्तार भएनन् । घटनामा ‘सरपन्च’ उपसराओ खन्डाटे र ‘उपसरपन्च’ उर्कुडा खुर्पे पनि संलग्न थिए । उनीहरूको नाम पनि जाहेरीमा दिएको थिएँ । महिलाको पनि संलग्नता थियो । एमएलए कुकडे र एमपी राम आसवालेको नाम पनि किटानी गरेको थिएँ । तर, उनीहरू कसैलाई प्रहरीले पक्रेन । सोधपुछसम्म गरेन । उनीहरू अहिले पनि खुलेआम घुमिरहेका छन् ।

म चाहन्छु, सबै अपराधीलाई फाँसीको सजाय होस् । तर, ६ जनाविरुद्ध मात्र मुद्दा चल्यो । जिल्ला अदालतले फाँसीको सजाय तोकेको पनि थियो । तर, उच्च अदालतले निर्णय उल्ट्याइदियो । उनीहरूलाई २५ वर्षको कैद सजाय तोकेको छ । घटनामा संलग्न सबैलाई फाँसीको सजाय होस् भनेर म सुप्रिम कोर्ट गएको छु । अदालतमा मुद्दा चलिरहेको छ ।
(भुतमाँगेसँग दलित अभियन्ता आनन्द तेलतुम्ब्डेले पुस्तक लेखनका क्रममा गरेको कुराकानी । तेलतुम्ब्डेले ‘खैरलान्जीः अ स्ट्रेन्ज एन्ड विटर कोर्प’ (खैरलान्जी हत्याकाण्डबारे पुस्तक) लेखेपछि यो घटनाले विश्वव्यापी चर्चा पाएको हो ।

स्थानीय सरकारले राजनीतिक रंग भर्दै यसलाई दबाउन खोजेको थियो । तर, दलित आन्दोलनका कारण केन्द्रीय सरकारले हस्तक्षेप गर्दै घटनाको अनुसन्धानको जिम्मा सिबिआईलाई दियो । यता, बिचरा भुतमाँगेको भने न्यायको पर्खाइमा रहँदारहँदै सन् २०१७ जनवरी २० मा ६१ वर्षको उमेरमा मृत्यु भइसकेको छ । मुद्दाको फैसला भने अझै भएको छैन ।) 

हिंसाका थप शृंखला
घटना १  
मिति : २०१९ अप्रिल २६ 
स्थान : उत्तराखण्ड  
‘उच्च जात’को  कुर्सीमा बस्दा हत्या 

केही दिनअघि भारतको उत्तराखण्डमा २१ वर्षीय जितेन्द्र नामका दलित युवालाई विवाहभोजमा उच्च जातिको कुर्सीमा बसेर खाएको आरोपमा अपमान मात्र गरिएन । उच्च जातका जन्तीले निर्मम कुटपिट गरे । कुटपिटबाटै ती युवाको मृत्यु भयो । तर, प्रहरीले कसैमाथि कारबाही गरेन । 

घटना २
मिति : २०१५ मे 
स्थान : मध्यप्रदेश, रातलाम 
‘उच्च जात’को पोसाकको नक्कल गर्दा ढुंगामुढा 

तीन वर्षअघि मध्यप्रदेशमा भएको विवाह समारोहमा दलित बेहुला पवन माल्भियाले हेलमेट लगाएको तस्बिर निकै भाइरल भएको थियो । ती बेहुला कालो सुट, सुनको नेकलेस र टाउकोमा सेरवानी लगाएर जन्तीसहित बेहुली लिन जाँदै थिए । उच्च जातकाले आफ्नो सिको गरेको ठानेर आक्रमण गरे । पछि, प्रहरी सुरक्षामा उनी हेलमेट लगाएर बेहुली लिन घर पुगेका थिए । 

घटना ३
मिति : २०१८ जुन 
स्थानः तामिलनाडु
खुट्टामाथि खुट्टा राखेर  बस्दा निर्मम कुटपिट, मृत्यु 

उच्च जातिका मान्छेसामु खुट्टामाथि खुट्टा राखेर बसेको भन्दै दुई दलित युवामाथि निर्मम कुटपिट भयो । पछि, त्यही कुटपिट उनीहरूको मृत्युको कारक बन्न पुग्यो ।
घटना ४
मिति : २०१८ जुलाई 
स्थानः महाराष्ट्र
पोखरीमा पौडी खेल्दा कुटपिट, मृत्यु 

उच्च जातले भोगचलन गर्ने पोखरीमा दलित युवाले पौडी खेलेको आरोपमा कुटपिट गरियो । पछि ती युवाको मृत्यु भयो । 

घटना ५
मिति : २०१८ अप्रिल 
स्थान :गुजरात 
फेसबुकमा नाम ‘सिंह’ लेख्दा कुटपिट 

मोदीले १२ वर्ष शासन गरेको प्रदेश गुजरातमा त यस्तो भेदभाव अझ बढी छ । गुजरातमा दलित युवा मौलिक जादवले आफ्नो फेसबुक पेजमा ‘मौलिकसिंह जादव’ (नाममा सिंह जोडेको) राखेका थिए । उच्च जातका युवाले आक्रोशित हँुदै तुरुन्त उनलाई नाम परिवर्तन गर्न चेतावनी दिए । उनले आनाकानी गरेपछि भोलिपल्ट एक हुल युवाले घरमै आएर निर्मम कुटपिट ग-यो ।

घटना ६
मिति :२०१५ अगस्ट 
स्थान : हैदराबाद 

प्रदर्शन गर्दा मृत्यु 
हैदराबाद केन्द्रीय विश्वविद्यालयमा पिएचडी गरिरहेका रोहित भेमुला विश्वविद्यालयभित्रै मारिएको अवस्थामा फेला परेका थिए । उनी ती पाँच विद्यार्थीमध्ये अगुवा थिए, जसले उच्च जाति र दलितले समान सेवाको उपभोग गर्न पाउनुपर्ने आवाज उठाउँदै प्रदर्शन चर्काइरहेका थिए । उनको मृत्युलाई विश्वविद्यालयले आत्महत्या भनेको छ । तर, परिवारले भने हत्याको दाबी गरेको छ ।

कति हुन्छ दलितमाथि हिंसा ?
भारतमा दलितमाथिको हिंसा बर्सेनि बढ्दो छ । यसलाई सरकारी आँकडाले पनि पुष्टि गर्छ । सन् २००६ देखि २०१६ सम्मको दशकमा दलितमाथि हुने हिंसा आठगुणाले बढेको नेसनल क्राइम रेकर्ड ब्युरोको तथ्यांकले देखाउँछ । ब्युरोका अनुसार सन् २००६ मा प्रति एक लाखजनामा तीन जनामाथि मात्र जातीय हिंसा हुने गथ्र्यो । सन् २०१६ सम्म आइपुग्दा त्यो आँकडा बढेर २१ जनामा पुगेको छ । हिंसा भएकामध्ये पनि एक प्रतिशत मात्र प्रहरी सक्षम आउने गर्छन् । बाँकी ९९ प्रतिशत हिंसाका घटना गाउँमै दबाइन्छन् । राष्ट्रिय जनगणनाअनुसार भारतमा दलित तथा सीमान्तकृत जातको संख्या करिब २० करोडको हाराहरीमा छ । त्यसमध्ये करिब पाँच लाख घटना मात्र सार्वजनिक हुने गर्छ । 

सरकारबाटै उच्च जातलाई संरक्षण
आनन्द तेलतुम्ब्डे ,दलित अभियन्ता 

भारतमा जातिवादको अत्याचार हेर्दा ‘बाबुसाहेब’ (अम्बेडकर) धेरै भविष्यद्रष्टा रहेछन् भन्ने लाग्छ । उनले प्रजातन्त्रले समानता नल्याउने र बरु जातिवादमा खाडल थप्ने त्यतिवेलै देखेका थिए । अहिले त्यही भइरहेको छ, जुन बाबुसाहेबले भनेका थिए । जातीय समानता ल्याउन केवल आरक्षणले मात्र काम गर्दैन । आरक्षण त शून्यमाथिको एक खुट्किलो मात्र हो । सबैभन्दा ठूलो कुरा त स्वयं राज्यको संरक्षण हो । विभेद अन्त्य गर्न बनेका कानुनको अक्षरशः पालना हुनुपर्ने हो । जुन भारतमा देखिँदैन । जातीय विभेद हटाउन जति शिक्षा र जनचेतनाको आवश्यकता पर्छ त्यति नै बढी उच्च तहमा बसेका प्रशासक वा राजनीतिकर्मीमा प्रतिबद्धता चाहिन्छ । कुनै पनि घटनालाई राजनीतिक नेताले ढाकछोप गर्ने प्रवृत्तिको विकास गर्नु हुँदैन । 

खैरलान्जीको घटना हेर्ने हो भने दोषीलाई उच्च राजनीतिक संरक्षण भएको पाइन्छ । उक्त घटनामा एमएलए र एमपी पनि सामेल थिए । पीडित भैयालाल भुतमाँगेले ४६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसमध्ये ३५ जना तत्कालै छुटे । तिनीहरू बिजेपी, कंग्रेस र एमसिपी पार्टीका थिए । जसको राजनीतिक पहुँच थियो, उनीहरू छुटे । जसको छैन, जो निम्छरा छन्, ती  मात्र जेलमा छन् । 

अर्कातर्फ आरक्षणबाट कर्मचारीतन्त्रमा केही व्यक्तिलाई घुसाउँदैमा दलित समुदायको उत्थान हुँदो रहेनछ भन्ने पनि यो घटनाले देखाउँछ । यो घटनाको अनुसन्धान गर्नेदेखि फैसला गर्ने न्यायाधीशसम्म दलित थिए । जस्तो कि भन्डाराका एसपी सुरेश सागर, अन्दलगाउँका डेपुटी एसपी भी. सुसत्कार, उनीहरू पनि दलित थिए । भन्डारा सिभिल अस्पतालका सर्जन डा. के. डी. रामटेके जसले पोर्टमार्टम गरेका थिए, उनले पनि बलात्कार भएको रिपोर्ट दिएनन् । भन्डाराका पब्लिक प्रोसिक्युटर जसले यो घटनामा अत्याचारविरुद्धको ऐन लागू (एप्लिकेसन अफ एट्रोसिटी एक्ट) नहुने जिकिर गरिरहे, उनी पनि दलित नै थिए । भारत सरकारका नोडल अफिसर रत्नाकर गैकवाड जसले यो मुद्दाको अनुगमन गर्ने जिम्मेवारी पाएका थिए, उनी पनि दलित नै थिए । 

त्यसैले यहाँ उच्च जातकाले मात्र अत्याचार गरेका छन् भनेर सकिँदैन । दलितले दलितमाथि पनि अत्याचार गरिरहेका छन् । आफ्नै जातका समूहमाथि अत्याचार भएका घटना छन् । खैरलान्जी हत्याकाण्डमा निश्चय नै उच्च जातिको संलग्नता थियो । तर, त्यसपछिको घटनामा धेरै दलितको हात देखिन्छ, जसले केही गरेनन् ।त्यसैले कुनै पनि नागरिकलाई यताउता राख्दैमा केही फरक पर्दैन । यसले सरकार र प्रशासनको संस्थागत चरित्रमा कुनै बदलाव ल्याउँदो रहेनछ । खास बदलाव ल्याउन त नेतृत्व तह नै विवेकी हुनुपर्छ । सबै नागरिकलाई समान रूपले हेर्न सक्ने हुनुपर्छ जुन हाम्रो भारतमा छैन । 
(तेलतुम्ब्डेले एनडिटिभीमा दिएको अन्तर्वार्ताको केही अंश)

सम्पादकको रोजाइ

सुझावित समाचार