हामी कहिले ‘मान्छे’ बन्ने ?

दलन

सिर्जना बिक सिर्जना बिक
शनिबार, २५ जेठ, २०७६
डिजिटल संस्करण

केही वर्षअघि अर्घाखाँचीस्थित आफ्नै गाउँमा भएको घटनाले अझै मन नराम्ररी चिमोट्छ । त्यो दिनको घटना सम्झिँदा मलाई अहिले पनि दुःख लाग्छ । गर्मीको महिना थियो । सत्यनारायणको पूजामा गाउँभरिका मानिस जम्मा भएका थिए । म र मेरो ५ वर्षको भाइ पूजामा गएका थियौँ । भाइले पानी माग्यो । नजिकै पानीको धारा थियो । धारामा गाउँका उपल्लो जात भनिएको समुदायका केही महिला झुम्मिएका थिए । उनीहरू पूजाका लागि पानी जोहो गर्दै थिए । 

भाइका लागि पानी लिन म धारामा गएँ । मैले पानी लैजान्छु भन्दा त्यहाँ रहेका महिलामध्ये दुई–तीनजनाले भने, ‘ओए, त्यो पानीको गाग्री नछो । तैँले छोए यो पानी पूजामा चल्दैन ।’
त्यहीवेला एकजना महिलाले पानी भरिएको गाग्रो आफूतिर सारिन् । उनले गाग्री पर सारेपछि मैले तर्किंदै र सजग हुँदै धाराको पानी थापेँ । सानो गिलास लिएर गएकी थिएँ । धारामा पानी जोडसँग आइरहेको थियो । तुरुन्तै गिलास भरियो । गिलासबाट पानीका केही छिटा नजिकैको गाग्रीमा प-यो । त्यसपछि ती महिलाहरूले मलाई बेसरी गाली गर्न गरे । 

‘तल्लो जातको भएर पनि उपल्लो जात बन्न नखोज् । तैँले छोएको पानी हामी उपल्लो जातमा चल्दैन, बुझिस् ?’ उनीहरू नराम्ररी कराए । त्यसवेला उनीहरूलाई केही भन्न सकिनँ । 
त्यो वेला मलाई लाग्यो, सायद गल्ती मेरै हो, किनभने म ‘अछुत’को घरमा जन्मिएँ । मेरो जन्म त्यहाँ हुनुमा बाबाआमाको कुनै गल्ती थिएन । तर, पनि मलाई आफू दलित परिवारमा जन्मिएकोमा ग्लानि महसुस भयो । 

मनमा त के–के कुरा खेलिरहेको थियो, तर मुखबाट एक वाक्य पनि निस्केन । उनीहरूलाई कुनै जवाफ नफर्काईकन म पानी लिएर त्यहाँबाट फर्किएँ । हामी पूजाघरको छेउमा उभिएर रमाइलो हेरिरह्यौँ । त्यहीवेला एकजना दाइ सबैलाई टीका लगाउँदै आए । त्यहाँ धेरैजना उपल्लो जात भनिएका मानिस थिए । कथित तल्लो जातको त म र मेरो भाइ मात्र थियौँ । ती दाइले सबैजनालाई टीका लगाइदिए । हाम्रो पनि पालो आयो । तर, हामीलाई ती दाइले आफ्नो हातले टीका लगाइदिएनन् । उनले भने, ‘तिमीहरू कि हात थाप कि पर गएर पात टिपेर ल्याऊ । म टीका दिन्छु ।’ 

मैले हात थाप्दै भनेँ, ‘दिनुस् दाइ हातमा । पात खोज्न कता जाऊँ अब ?’ ती दाइले आफ्नो हात अलग्गै माथि राखेर मेरो र भाइको हातमा टीका खसालिदिए । टीका हातमा थापेर लगाइरहँदा मेरो आँखा आँसुले भरिएको थियो । मनमा धेरै प्रश्न उठ्न थाल्यो । के दलित हुनु कुनै पाप हो ? के म मान्छे होइन ? भगवान्सँग मनमनै भनेँ, ‘हे भगवान् किन मैले पानीको गाग्री छुन नहुने ? किन मानिसले मलाई छुन नहुने ?’भगवान्को नाममा भएको पूजामा छुवाछुत हुँदा भगवान् मौन नै थियो । भगवान् भएको भए छुवाछुत गर्नेहरूलाई किन सजाय हुँदैन ? यस्तै प्रश्न मनमा उठिरह्यो ।

पूजाघरमा टीका लगाउने वेला भयो । एकजना दाइ सबैलाई टीका लगाउँदै आए । तर, हामीलाई लगाइदिएनन् । उनले भने, ‘तिमीहरूलाई टीका लगाइदिन मिल्दैन । तिमीहरू कि हात थाप कि पर गएर पात टिपेर ल्याऊ ।’

पूजामा मेरो अत्यन्तै मिल्ने साथी पनि आइपुगिन् । उनी उपल्लो जात भनिने समुदायकी थिइन् । मेरो नजिकै बस्न आइन् । हाम्रो भेट नभएको पनि धेरै भएको थियो । हामी निकै खुसी भएर कुरा गरेर बस्यौँ । कलेजको अनुभव साटासाट ग-यौँ । हामी रमाउँदै हाँसिरहेका थियौँ । उता, पूजा चलिरहेको थियो । कुरा गर्दागर्दै खाना खाने समय भयो । त्यही समयमा एउटी महिला आएर मेरी साथीलाई भनिन्, ‘खाना खान भित्र जाऊ ।’ मेरी साथीले मलाई पनि खाना खान भित्र जाऔँ भनिन् । ती महिलाले मेरी साथीलाई नजर घुमाएर इसारा गरिन् । मेरो साथीले बुझी या बुझिन, तर मैले स्पष्ट बुझेँ । उसको संकेत बुझेपछि मैले साथीलाई भनेँ, ‘म पछि खान्छु, तिमी जाऊ भित्र ।’

उनी भित्र गइन् । म र भाइ पूजास्थलबाट अलिक टाढा गएर बस्यौँ । यता–उता हिँडिरहेका मानिसहरू हामीलाई छोइन्छ कि भन्दै परपर तर्किएर हिँड्दै थिए । ‘त्यसरी आन्टीहरू हामीसँग तर्किएर किन हिँड्नुभएको दिदी ?’ मेरो अबोध सानो भाइले सोध्यो । प्रश्नको जवाफ थिएन मसित । उसलाई सम्झाउन सारै अप्ठ्यारो भयो । उसलाई सही जवाफ दिन सकिनँ । यति भनेँ, ‘केही होइन बाबु । चुप लागेर बस् है !’

मेरो बालक भाइलाई के थाहा, उनीहरूका लागि हामी ‘अछुत’ हौँ । छोइन्छ भन्दै हामीबाट मानिसहरू तर्कीतर्की हिँडिरहेका थिए । हामीलाई पूजास्थलभन्दा पर बारीमा बसालेर खाना खान दिइयो । खाना खुवाउँदा पनि हामीलाई भेदभाव गरियो । पानी खाँदा भेदभाव, पूजामा भेदभाव, टीका लगाउँदा भेदभाव, खाना खुवाउँदा पनि भेदभाव । सबैतिर भेदभाव गर्नेहरू नै उपल्ला जात रे ! छुवाछुत गर्नेहरू नै छुत र शुद्ध रे ! 

पूजा सकियो । मानिसहरू पातलिन थाले । भाइ र म पनि घर फर्कियौँ । त्यो दिनको घटनाले मलाई अझै पनि अनेक प्रश्न उठाइरहेको छ । नेपाल सरकारले २०२० सालमा छुवाछुत अन्त्यको घोषणा गरे पनि अझैसम्म हाम्रो समाजमा दलित समुदायमाथि गरिने भेदभावपूर्ण व्यवहार कायमै छ । आज बुझ्छु, यस्तो भेदभाव हामीलाई मात्र भएको होइन, देशैभर लाखौँ दलित समुदायले भोगिरहेको समस्या हो यो । नेपालसहित दक्षिण एसियाकै समस्या हो यो । मनमा अनेक सवाल उठिरहेका छन् । कहिले हुन्छ विभेदको अन्त्य ? कहिले हामी मान्छे बन्न पाउँछौँ ? 

सम्पादकको रोजाइ

सुझावित समाचार