जीवन विज्ञानको प्रशिक्षक बन्दै आध्यात्मिक यात्रा आरम्भ गरेको पंक्तिकारलाई गत माघ १ देखि १२ सम्म विपश्यना ध्यान शिविरमा साधना गर्दा ध्यानको गहिराइमा डुब्ने अवसर मिल्यो । अनुभव र अनुभूति पंक्तिकारको निजी विषय हो । ध्यान सबैको सार्वजनिक सम्पत्ति हो । २५०० वर्षअघि सिद्धार्थ गौतमले लामो ध्यान साधना गरी पत्ता लगाएको विपश्यना ध्यान विधि बिचमा लोप हुँदै गएको थियो । भौतिक उन्नतिको शिखरमा पुगेको वर्तमान युगले मानिसलाई अवाञ्छित प्रतिस्पर्धी बनाई अशान्त र मानसिक रोगी बनाइदियो । अशान्त र मानसिक रोगीको उपचार दिन भौतिक युग असमर्थ रह्यो । भौतिक उन्नतिले जुटाएका सुखसुविधा निरर्थक बने । त्यही पुरानो ध्यानको विद्यामा मानसिक रोगको उपचार भेटियो । बुद्धको जन्मभूमि नेपाल र भारतबाट त्यो ध्यानको विद्या लोपोन्मुख भए पनि बर्मा (हालको म्यानमार) मा जस्ताको तस्तै साधना गरी आएका हुँदा आज नेपाल र भारतलगायत अधिकांश देशमा दिन–प्रतिदिन विपश्यना ध्यान गर्नेको संख्या बढ्दै गएको छ ।
योग ध्यानको साधना धेरै आध्यात्मिक संस्थाले गराउँदै आएका छन् । कसैसँग तुलना गर्ने हेतुले नभई विपश्यना ध्यान गर्दा पंक्तिकारले हासिल गरेको अनुभव र अनुभूति उजागर गर्न यो लेख केन्द्रित छ । इन्द्रियातीत हुने अनुभव र अनुभूति शब्दमा पूरापूर उतार्न सकिँदैन । र पनि यो पंक्तिकारले विपश्यना ध्यान मानव समुदायलाई व्याकुल र बेचैन बनाउँदै लगेका मनका विकार हटाउने अचुक अस्त्र साबित हुन सक्ने ठानी अनुभव र अनुभूति सेयर गर्ने प्रयास गरिएको छ ।
गृहस्थ जीवन बिताइरहेको जुनसुकै जाति र धर्म सम्प्रदायको मानिसले वेबसाइटमार्फत फर्म भरेर निःशुल्क भोजन र वासको प्रबन्धसहित एक भिक्षु जीवनशैलीमा विपश्यना ध्यान गर्ने अवसर उपलब्ध गराइँदो रहेछ, दशदिने विपश्यना ध्यान शिविरमा । विपश्यना ध्यान तीन पिल्लर शील, समाधि र प्रज्ञामा आधारित हुँदो रहेछ । आफ्नै श्वास, शरीर र शरीरमा हुने संवेदनामा समता र साक्षीभावले निरीक्षण गर्न लगाई संवेदनाको उत्पत्ति र बिलयको साक्षात्कार गराइँदो रहेछ । विपश्यना ध्यानको अन्तिम लक्ष्य अहंकार, ममकारबाट शून्य बनाउनु रहेछ । व्यस्त कार्यक्रम र कडा अनुशासनमा रही गरिएको साधनाले सन्तुष्ट बनाउँदो रहेछ । साधनाको क्रम, अनुभव र अनुभूति निम्नानुसार छ :
आफूसँग रहेको मोबाइल, रुपैयाँ र मूल्यवान वस्तु डिपोजिट गरेपछि मात्र ध्यान एरिया र कोठामा प्रवेश पाइन्छ । जाँदाको बेलुका दश बजेदेखि आर्यमौन (वाणी शारीरिक र मानसिक तीनै तहको पूर्ण मौन) पालना गर्दै सुरु हुने विपश्यना ध्यान बाह्रौँ दिनको बिहान साढे ६ बजे सकिन्छ । महिला र पुरुषको अलग–अलग एरिया र हरेकको छुट्टै वासको प्रबन्धले पूर्ण रूपमा अन्तरमुखी हुने ध्यानमय वातावरण बनेको हुन्छ । हरेक दिन बिहान साढे चार बजेदेखि सुरु हुने ध्यान बेलुका साढे नौ बजेसम्म गर्नुपर्छ । पाँच शीलको पूर्ण पालना गर्दै पहिलो दिन नाकको त्रिकोणात्मक एरिया (जुँगा आउने माथिल्लो ओठको भागसहित) मा ध्यान केन्द्रित गर्दै गएको र आएको श्वास मात्र थाहा पाउँदै त्यसैमा मन टिकाउन लगाइन्छ । श्वास नाकको दाहिने वा देब्रे प्वालबाट वा दुवै प्वालबाट बराबर आए–गएको थाहा पाउन अह्राइन्छ । दोस्रो दिन नाकको द्वार र भित्री भागमा उत्पन्न संवेदना अनुभूत गर्न भनिन्छ । तेस्रो दिन जाँदै आउँदै गरेको श्वासको प्रवाहबाट ओठको माथिल्लो भाग र नाकको द्वारमा संवेदना उत्पत्ति र विलय भएको कुरा शान्त, सजग र समता भरिएको चित्तद्वारा महसुस गराइन्छ । यसरी आनापानासहित ध्यान तीन दिनसम्म गराई स्थूल वा ठुलो एरियाबाट संवेदना महसुस गराउन आरम्भ गर्दै क्रमश सूक्ष्म वा सानो एरियाको संवेदना थाहा पाउने क्षमता बढाउँदै चौथो दिनबाट विपश्यना ध्यान गर्ने पूर्वाधार बनाइन्छ ।
विपश्यनाको अर्थ शरीरको विशेष अवलोकन गर्नु हो । चौथो दिनदेखि शिखा राखिने शिरको केन्द्रभागमा उत्पन्न भएको संवेदना महसुस गराउँदै क्रमशः शिरको अन्य सम्पूर्ण भाग, निधार, आँखा, कान, नाक, मुख, चिउँडो, गर्धन, दाहिने देब्रे हात, घाँटी, छाती, पेट, मेरुदण्डको माथिल्लो बिच र तल्लो भाग, कम्मर, प्रजनन अंग दाहिने जांघ, तिघ्रा, घुँडा, पिडौला, गोलीगाँठो, पैताला र औँलासम्म र देव्रे जांघदेखि औँलासम्म उत्पन्न संवेदना थाहा पाउन अह्राइन्छ । त्यसैगरी, पैतालादेखि शिरसम्म उत्पन्न संवेदना थाहा पाउन अह्राइन्छ । ती अंगमा उत्पन्न हुने संवेदना स्थूल र सूक्ष्म एवं सुखद र दुःखद साथै फरक फरक किसिमका हुन्छन् । शरीरको सबै अंगमा सूक्ष्म संवेदना भएमा शिरदेखि पैतालासम्म र पैतालादेखि शिरसम्म धारा प्रवाहमा संवेदना महसुस हुन्छ । एक–दुईपटक धाराप्रवाह महसुस गरेपछि पुनः हरेक अंग–अंगको संवेदनामा ध्यान दिन लगाइन्छ । कुनै अंग मुच्र्छित वा कुनैमा स्थूल संवेदना उत्पन्न भएको अवस्थामा धाराप्रवाह हुन सक्दैन र गर्न कोसिस पनि गर्न हुँदैन । मुच्र्छित अंगमा दश मिनेटसम्म अडिएर संवेदना थाहा पाउने कोसिस गरे संवेदना महसुस हुन्छ । र, महसुस नभए पनि खिन्नता नगरी अन्य भागको संवेदना थाहा पाउँदै ध्यान साधनालाई निरन्तरता दिइन्छ ।
कोर्स पूरा गरेरै छाड्छु, बिचमा छाड्नेछैन भन्ने दृढ संकल्प र इच्छा गर्नेलाई मात्र ध्यान शिविरमा प्रवेश दिइने हुँदा हरेक दिन बिहान आठदेखि नौ, मध्याह्न साढे दुइदेखि साढे तीन र बेलुका सातदेखि आठ बजे तीनपटक एक–एक घण्टाको विशेष अधिष्ठान गराइन्छ । अधिष्ठान अवधिमा आँखा बन्द, ढाड गर्धन र शिरको भाग सीधा राख्दै पलेटी कसेर बस्न लगाई हलचल गर्न नदिई एकै आसनमा पूरा एक घण्टा शरीरको सम्पूर्ण भागमा उत्पन्न र विलय हुने संवेदनालाई समता भावमा निरीक्षण गर्न लगाइन्छ । ती संवेदनालाई भोक्ता भावले सुखद भए त्यसैमा चिप्किन खोज्ने राग नजगाउन र दुःखद भए छिटो हटाउने प्रयास गरी द्वेष नजगाउन सचेत गराइन्छ । सियोको टुप्पो राख्नेजति ठाउँ पनि नछाडी सम्पूर्ण शरीरमा मन पुर्याउँदै हरेक अंगमा दायाँ–बायाँ मनले छेडेर संवेदना महसुस गर्न लगाउँदा शरीर त तरंगैतरंग र कण–कण अणु–परमाणुले बनेको महसुस भयो । यो महसुस हुने अवस्था नै समाधि रहेछ ।
हरेक बेलुका आठदेखि नौ बजेसम्म एक घण्टा धर्म चर्चा हुन्छ । धर्म चर्चा केवल ध्यान साधनाको अभ्यास कसरी गर्ने ? भन्ने प्रस्ट पार्नमा केन्द्रित हुँदो रहेछ । भगवान् बुद्धले उतिवेला प्रचलित अनेक ध्यान विधि अपनाउँदा सन्तोष नमिलेपछि आफ्नै अभ्यासले खोजेर पत्ता लगाएको विधि हो विपश्यना ध्यान । र पनि यो बौद्ध सँप्रदायसँग समेत कुनै लेनदेन र साइनो नरहेकाले धर्म चर्चामा कुनै दार्शनिक वा धार्मिक मान्यताको पोषण नगरिँदो रहेछ । शील सदाचारसँग, समाधि मनको अप्ररेसन गर्न संग र प्रज्ञा चित्तलाई रागद्वेषविहीन निर्मल बनाउन संग सम्बन्धित व्यावहारिक पक्षको उजागर गरिँदो रहेछ धर्म चर्चामा ।
पूर्ण आत्मसमर्पण गराएर सुरु गरिएको विपश्यना ध्यान अभ्यासको दसौँ दिन मध्याह्नबाट निश्चित ठाउँमा मात्र कुराकानी गर्न छुट दिएर समर्पणको अवधि सकिँदै गएको संकेत दिइँदो रहेछ । संगसँगै दीक्षान्त प्रवचन दिँदै धर्मले सदा स्वाधीन र स्वतन्त्र बनाउँछ, सिकाइएको विपश्यना ध्यान युक्तिसंगत, न्यायसंगत, विवेक बुद्धिसंगत र आफूसँगै अरूलाई पनि कल्याणकारी लाग्छ भने लागेमा स्वीकार गर्न र नलागेमा अस्वीकार गर्न सुझाइँदो रहेछ । शिविर प्रवेश गरेको बाह्रौँ दिनको बिहान कोर्स सकिनु अघि सारा प्राणी र वनस्पतिको कल्याणको कामना गर्दै मैत्री ध्यान गराएर साधना अवधिभर अन्तर्मुखी बनाइएका साधकलाई बहिर्मुखी र सबैप्रति दया र करुणा भाव भरिदिइँदो रहेछ । मैत्रीको अर्थ हो शुद्ध र निःस्वार्थ प्रेम । विपश्यना ध्यान साधना गर्नुपूर्व चेतनास्तरमा अरूप्रति मैत्रीभाव रहे पनि अचेतन मनमा ज्युँकात्युँ रहेको शत्रुभावले दखल दिएर भंग हुन पुग्थ्यो, अरूप्रतिको मैत्रीभाव । विपश्यना ध्यान साधनाले अवचेतन र अचेत मन (अन्तर मन) लाई नै विकाररहित बनाएकाले शुद्ध मनले अरू प्राणी र वनस्पतिको कल्याणको कामना गर्दो रहेछ ।
विपश्यना ध्यान धन्दा नबनोस् नबनाइयोस् भन्नेमा सचेत र संवेदनशील रही केवल पुराना साधकको स्वेच्छाले दिएको दानबाट नयाँ साधकलाई निःशुल्क बस्ने खाने र ध्यान साधना गर्ने प्रबन्ध मिलाइँदो रहेछ । साधना गर्दै गर्दा आउने द्विविधा र शंका निवारण गर्दै साधनालाई पुष्ट बनाउन सहायक प्रशिक्षक र खाने–बस्ने प्रबन्ध सुविधाजनक बनाउन धर्म सेवकहरू (पुराना साधक) निःशुल्क अहोरात्र खटिइरहनुभएको पाइयो ।
विपश्यना ध्यानको अभ्यास कल्पनामा होइन, प्राकृतिक कानुनको सत्यतामा आधारित र सत्यको साक्षात्कार गराउँदै अघि बढ्दो रहेछ । प्रकृतिले उपलब्ध गराएको हामीलाई जीवन्त राख्ने हाम्रै सास र सासकै चलायमानताका आधारमा उत्पन्न हुने चित्त वृत्ति, चित्त वृत्तिले शरीरमा उत्पन्न हुने संवेदना र संवेदनाप्रति राखिने भोक्ता वा साक्षी भावले निरीक्षण गर्दाको भिन्नाभिन्नै परिणाम अनुभव र अनुभूति हुँदै जाँदो रहेछ ।
विपश्यनाको अभ्यास गर्नुअघि मनलाई संयमित र नियन्त्रण गर्दै आउने गरेको यो पंक्तिकारले विपश्यना अभ्यासले मनको अप्रेसन भएको पहिलोपटक अनुभूति गर्यो । चित्तको चार तह विज्ञान (उतिवेलाको अर्थ जान्नु), संज्ञा (उतिवेलाको अर्थ पहिचान गर्नु, चिन्नु, बुझ्नु, मूल्यांकन गर्नु), वेदना (उतिवेलाको अर्थ सुखद वा दुःखद संवेदना) र संस्कार (उतिवेलाको अर्थ संवेदनाप्रतिको प्रतिक्रिया) अनुभूतिमा आए ।
सुखद संवेदना प्रिय लागी राग जाग्ने दुःखद संवेदना अप्रिय लागी द्वेष जाग्ने, कल्पनाले मोह जगाउने सबैखाले संवेदनाप्रति समता र साक्षी भाव राख्दै द्रष्टा बने क्रमशः हराउँदै गई अनित्य बोध हुने रहेछ । राग, द्वेष र मोह कसरी जाग्दा रहेछन् भन्ने प्रत्यक्ष अनुभव र अनुभूतिमा व्यावहारिक तहमा भयो । यो नै भावनामय प्रज्ञा रहेछ । विपश्यना अभ्यास गर्नुअघि पंक्तिकारले अरूबाट सुनेर, शास्त्र पढेर र बुद्धिको कसौटीमा चिन्तन मनन गरेर प्राप्त गरेको ज्ञान मात्र प्रज्ञा ठानेकोमा वास्तविक प्रज्ञा त भावनामय प्रज्ञा रहेछ भन्ने ज्ञात भयो । भावनामय प्रज्ञाले नै मनको अप्रेसन भएको, अप्रेसनपछिको मन अति सूक्ष्म भई अचेतन र अर्धचेतन मनको गहिराइसम्म पुगी मनका पुराना गाँठा खोल्ने र नयाँ गाँठा बाँधिन नदिने अनुभूति प्रत्यक्ष गराउँदो रहेछ ।
अहिलेसम्म आँखा, कान, नाक, जिब्रो र छाला पाँच इन्द्रिय जान्दै आएकोमा यी पाँचै इन्द्रियलाई फङ्सनमा ल्याउने मन छैटौँ इन्द्रिय भएको रहस्य भेट्टियो । चित्तको चौथो तह संस्कारले प्रतिक्रिया गरेर कर्म संस्कारको बिउ बन्दो रहेछ भन्ने थाहा भयो । किनकि, चित्तको पहिलो तह विज्ञानले थाहा पाउने काम मात्र, दोस्रो तह संज्ञाले पहिचान गर्ने मात्र र तेस्रो तह वेदनाले संवेदना उत्पन्न गराउने काम मात्र गर्दा रहेछन् । छवटै इन्द्रियको सम्पर्क शरीरमा भएपछि त्यसको प्रभाव शरीरमा परी प्रतिक्रिया हुने र संस्कार बन्ने रहेछ । बनेको त्यो सरकारलाई हेर्न थाली त्यसमा राग, द्वेष र मोह नजगाई केवल समता र साक्षी भाव मात्र राखेमा सुखद वा दुःखद संवेदना विलय भई नश्वर भंगुर र अनित्य प्रमाणित हुन्छ । अभ्यास गर्दा एक–एक क्षण अनेक क्षण भएर सेकेन्ड मिनेट हुँदै घन्टौँ बित्छ । त्यो अवस्थालाई जानिन्छ, थाहा पाइन्छ तर प्रतिक्रिया गरिँदैन । सुरुमा प्रतिक्रिया गरिए पनि तुरुन्तै प्रतिक्रिया गर्नुहुँदैन भन्ने होस आउँछ र द्रष्टा मात्र बनाउँछ । राग र द्वेष नगर्ने भइन्छ । यसरी राग द्वेषको कर्म बनाउने स्वभाव बदलिन्छ । राग द्वेष उत्पादन गर्ने फ्याक्ट्री नै बन्द गराउने अर्थात् राग द्वेषको स्रोत मेटाइदिने विपश्यना अभ्यासले पंक्तिकारमा गहिरो छाप छोडेको छ ।
गहिरो छाप पार्ने काम बिहान नास्ता मध्याह्नमा खाना र अपराह्नको हल्का भुजामा खर्चिने साढे तीन घण्टाको समयबाहेक बिहान साढे चारदेखि बेलुका सवा नौ बजेसम्म विपश्यना अभ्यासका लागि पलेटी कसाइले गरेको छ । पलेटी कसेर ध्यान साधना गर्दा अंग–अंगमा उत्पन्न दुखाइले तपाईंलाई पकाएर छाप पारेको छ । दुःखद र सुखद संवेदनालाई भोक्ता भावले हेरी प्रतिक्रिया गर्दा राग र द्वेष जगाउने बानीले अशान्त बनाएको आफ्नो मन समता र साक्षी भावले हेर्दै जाँदा क्रमशः शान्त हुँदै गएको र अन्ततोगत्वा सबैखाले संवेदना आफैँ बिलाउँदै गएर अनित्य र क्षणभंगुर रहेछन् भन्ने अनुभूति गराएर तत्कालको व्यवहारमा प्रत्यक्ष महसुस हुँदा गहिरो छाप पर्नु अस्वाभाविक होइन पनि ।
अन्त्यमा सत्ता पक्ष र विपक्षमा बसेर नेतृत्व गर्ने दल र नेताहरूमा गणतान्त्रिक नेपालमा उत्पन्न भएको राजनीतिक संवेदनालाई भोक्ता भावले हेरिदिएका कारण दुःखद संवेदना बढेर हदपार गरेको छ । त्यो दुःखद संवेदनालाई पनि साक्षी भावले हेर्न सक्ने व्यक्तित्वले मात्र नेपाललाई शान्त र समृद्ध बनाउन सक्नेछ । किनकि, साक्षी भावले हेर्नेमा अरूको कल्याण मात्र गर्ने सोच र दयालुता हुन्छ । कसैले ऊप्रति दुर्व्यवहार गरे पनि अज्ञानताको रोगको कारणले दुर्व्यवहार गरेको सही निष्कर्षमा पुग्छ र दुर्व्यवहारको उपेक्षा गरिदिन्छ ।