डज अर्थात् विरोधी तह लगाउने ट्रम्पको हतियार

स्टेफेन ह्यारिङटन/टिमोथी ग्राहम स्टेफेन ह्यारिङटन/टिमोथी ग्राहम
शनिबार, १५ चैत, २०८१
डिजिटल संस्करण

२०२३ को सुरुमा आफूमाथि फौजदारी अभियोग लगाइएदेखि नै ट्रम्पले विपक्षीलाई निसाना बनाउँदै आएका छन् 

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि धेरै उल्लेखनीय कार्यको पहिचान गर्न गाह्रो छ । यस्तै कार्यमध्ये युक्रेन युद्धमा हालैको रुसी अडानले धेरैको ध्यान तानेको छ । ट्रम्पले प्रशासन सम्हालेपछि भएका धेरै गतिविधिमा उनको भूमिका भए पनि कतिपय जानकारीमै छैनन् । यस्तै, एउटा विषय हो, डिपार्टमेन्ट अफ जस्टिस (डज) माथिको राजनीतीकरण ।

लामो समयसम्मको कार्यसञ्चालनमा डज राजनीतिक रूपमा तटस्थ रहेको नजिर रहे पनि पछिल्ला घटनाक्रमले त्यो परम्पराबाट नाटकीय रूपमा विच्छेद भएको संकेत गरेका छन् । महत्वपूर्ण विषय त इतिहासभरका अधिनायकवादी सरकारले प्रयोग गरेको प्रचार रणनीति अनुसरण गरेर ट्रम्पले करिब दुई वर्षदेखि यसलाई औचित्य दिन आधार तयार पार्दै आएका थिए ।

यसमा ट्रम्पका गलत कार्यमाथि अनुसन्धान गरिरहेका विशेष वकिल ज्याक स्मिथको कार्य पनि समावेश छ, जुन अहिले रोकिएको छ । वर्तमान प्रशासनले अहिलेका राष्ट्रपतिको पूर्वअनुसन्धान र अभियोजनमा संलग्न जोकोहीलाई बर्खास्त गर्ने वा किनारा लगाउने प्रयास गरिरहेको छ । धेरै वकिललाई बर्खास्त गरिसकेको छ, किनभने ‘कार्यवाहक महान्यायाधिवक्ताले यी अधिकारीले राष्ट्रपतिको एजेन्डालाई इमानदारितापूर्वक कार्यान्वयनमा सहयोग गर्ने विश्वास गर्दैनन् ।’ यो कार्य केवल प्रतिशोधात्मक मात्र होइन, बरु सम्भावित अनुसन्धानकर्तालाई धम्की दिन र ट्रम्प वा उनका सहयोगीले गरेको कुनै पनि कर्तुतको थप जाँच गर्नुअघि दुईपटक सोच्न बाध्य पार्ने डिजाइन हो । न्युयोर्कका मेयर एरिक एडम्सविरुद्ध लागेको भ्रष्टाचारको आरोप खारेज गर्न पनि डजको प्रयास उल्लेखनीय छ । आधिकारिक कारण यो हो कि आरोपको पछि लाग्दा एडम्स पुनः निर्वाचित हुने प्रयासमा बाधा पुग्न सक्छ ।

यद्यपि, वास्तविकतामा एडम्सलाई अहिले प्रशासनसँग सम्झौता तोडेको आरोप लगाइएको छ । उनी ट्रम्पको आप्रवासन नियन्त्रण नीतिलाई सहयोग गर्न राजी भएका थिए, जसको बदलामा उनीविरुद्ध लगाइएका आरोप फिर्ता लिइएको थियो (यद्यपि, आरोप पूर्ण रूपमा खारेज भइसकेको छैन) । एडम्सले अदलबदलको अस्तित्वलाई अस्वीकार गरे ।

समस्या यति गहिरो थियो कि न्युयोर्कको दक्षिणी काउन्टीका दुई वकिलले खुला भ्रष्टाचारमा मूकदर्शक भएर बस्नुभन्दा त्यसको विरोधमा राजीनामा दिने निर्णय गरे । सम्पूर्ण परिदृश्यले सन् १९७३ को ‘स्याटर्डे नाइट नरसंहार’को भयानक सम्झना दिलाउँछ, जतिवेला राष्ट्रपति रिचर्ड निक्सनले वाटरगेट काण्डको अनुसन्धान गर्ने विशेष अभियोजकलाई बर्खास्त गर्न महान्यायाधिवक्ता इलियट रिचर्डसनलाई आदेश दिएका थिए । तर, निक्सनलाई सहयोग गर्नुभन्दा महान्यायाधिवक्ता रिचर्डसन र उपमहान्यायाधिवक्ता विलियम रकलेस दुवैले राजीनामा दिए । निक्सनको कदमले नाटकीय रूपमा आफ्नै पतन निम्त्यायो । यस्तै, ट्रम्पको मनोमानीपूर्ण कार्यप्रति अहिले मुस्किलले प्रश्न तेस्र्याइएको छ । आखिर किन ? यसको जवाफ ‘नरसंहारका लागि उक्साउने’ भनेर चिनिने प्रचार प्रविधिमा निहित छ, जहाँ गलत कार्य ढाकछोप गर्न आफ्ना विरोधीलाई झुटो आरोप लगाइन्छ । एक कानुनविद्ले व्याख्या गरेझैँ अहिले डिपार्टमेन्ट अफ जस्टिसलाई विगतमा रुवान्डाको नरसंहारमा जस्तै घृणा फैलाउन प्रयोग गरिएको छ । त्यहाँ, कथित विश्वसनीय व्यक्तिले तुत्सीहरूले हुतुको ‘नरसंहार’ गर्न चाहेको दाबी गरे । तर, दुर्भाग्यवश यसले ठिकविपरीत परिस्थिति ल्याउन मद्दत गर्यो ।

यस्तै, फेब्रुअरी २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सरकारले दोनबास क्षेत्रमा रुसीभाषीविरुद्ध नरसंहार गरेको आरोप लगाए । यो आधारहीन आरोपले युक्रेनमा आक्रमण गर्ने अवसर प्रदान गर्यो, जसले युक्रेनी नागरिकमाथि रुसले अन्धाधुन्ध गोलाबारी गर्यो ।

हाम्रो विचारमा ट्रम्पले यो प्रचार प्रविधि व्यापक ढंगले प्रयोग गर्दै आएका छन्, जब सन् २०२३ को सुरुमा जालसाजीसँग सम्बन्धित ३४ वटा गम्भीर विषयमा पहिलोपटक उनीमाथि फौजदारी अभियोग लगाइएको थियो । उनी र उनका समर्थकले राष्ट्रपति जो बाइडेनको नेतृत्वमा डिपार्टमेन्ट अफ जस्टिसलाई आफूविरुद्ध ‘हतियार’ बनाइएको आरोप लगाए । ट्रम्पले आफूमाथि लगाइएका आरोप र त्यसपछि लगाइएका अभियोग राजनीतिक रूपमा प्रेरित भएको दाबी गरे । कंग्रेस (संसद्)मा उनले ती दाबी दोहोर्याइरहे । रिपब्लिकनबाट निर्वाचित धेरै नेताले पनि त्यो विषयलाई समर्थन गरे । दाबीले उनलाई पूर्ण रूपमा पक्षपाती बनेको पुष्टि गर्छ । 

वास्तवमा तथ्य सरल थिए । अभियोजकहरू निश्चित थिए कि मुद्दा अगाडि बढाउन पर्याप्त प्रमाण छन्, जसमा ट्रम्पले अवैध रूपमा आफ्नो मार–ए–लागो निवासमा कागजात राखेको र तिनीहरूलाई पुनः प्राप्त गर्ने प्रयासमा अवरोध पुर्याएको प्रमाण समावेश छ । कानुनी प्रणालीमा कोही पनि ‘कानुनभन्दा माथि’ हुँदैन । यसको अर्थ यदि पर्याप्त प्रमाण छ भने पूर्वराष्ट्रपतिहरूमाथि पनि मुद्दा चलाउन सकिन्छ । तैपनि, ट्रम्पको पक्षपाती डोजको आरोपले कथित राजनीतिक प्रतिशोधको वैध अनुसन्धानलाई पूर्ण रूपमा पुनः आकार दियो । यसले प्रभावकारी रूपमा उनका पछिल्ला निर्णयलाई जायज ठहर गर्यो ।

प्रतिद्वन्द्वीलाई तह लगाउने हतियार

‘यदि विरोधीले मलाई आपराधिक अभियोग लगाए भने म त्यसलाई खारेज गरिदिन्छु,’ सन् २०२३ को अन्त्यमा ट्रम्पले स्पष्ट पारेका थिए । उनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई पछ्याउन डज प्रयोग गर्लान् त भनेर सोधिएको प्रश्नमा आफूले केवल ‘खेल मैदानलाई समथल गरेको’ जवाफ दिएका थिए । संक्षेपमा भन्नुपर्दा राजनीतीकरण गरिएको जस्टिस डिपार्टमेन्टलाई ट्रम्पले आफ्ना कर्तुत ढाकछोप गर्न र विरोधीलाई तह लगाउने हतियारको रूपमा प्रयोग नगर्लान् भन्न सकिँदैन ।

यो रणनीति लामो समयदेखिको अधिनायकवादी नेताहरूको खेल हो । हन्ना एरेन्ड्ट र ज्याक एलुलजस्ता विद्वान्ले कसरी अधिनायकवादी शासकले जनतालाई भ्रमित नबनाउँदासम्म झुट दोहोर्याउँछन् भन्ने विषय प्रस्ट पारेका छन् । धेरै मानिसमा एकपटक प्रणाली पहिले नै भ्रष्ट र अविश्वसनीय छ भन्ने नजिर स्थापित भइसकेपछि उनीहरू वास्तविक शुद्धीकरण (जस्तै डज अधिकारीहरूलाई बर्खास्त गर्ने)बाट स्तब्ध हुने सम्भावना कम हुन्छ । यस्ता रणनीतिको प्रभाव अमेरिकामा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा फैलिएको छ ।

इतिहासले हामीलाई यस प्रकारको सार्वजनिक बहसको जोखिमबारे पुकार्छ । यसले संस्थाहरू र उदार लोकतान्त्रिक प्रक्रियामाथिको विश्वासलाई कमजोर बनाउँछ, नेताहरूलाई अझ कमजोर पार्ने मार्गप्रशस्त गर्छ र भ्रष्टाचार उन्मूलन गर्ने नाममा प्रणालीलाई भ्रष्ट बनाउँछ । अन्ततः सबैभन्दा राम्रो औषधि भनेको जागरुकता हो । खराब रणनीतिको पर्दाफास गरेर हामी गलत सूचनाबाट जोगिन, कानुनी शासनको रक्षा र नेताहरूलाई जवाफदेही बनाउन सक्छौँ ।

ह्यारिङटन क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीका स्कुल अफ कम्युनिकेसनका सहप्राध्यापक हुन् भने ग्राहम सोही विश्वविद्यालयका डिजिटल मिडियाका सहप्राध्यापक हुन् ।

(द कन्भर्सेसनबाट सुभाष शर्माले गरेको अनुवाद)

सम्पादकको रोजाइ

सुझावित समाचार