असदसँग सम्बन्धविच्छेद गर्दै छिन् आस्मा ?

सुभाष शर्मा सुभाष शर्मा
शनिबार, २७ पुष, २०८१
डिजिटल संस्करण

यो साता विश्व सञ्चारमाध्यममा सिरियाबाट लखेटिएका तानाशाह बसर अल असदलाई बेलायतमा जन्मेकी उनकी पत्नी आस्मा असदले सम्बन्धविच्छेद गर्न खोजेको भन्ने विवरणले चर्चा पायो । टर्की र केही अरबेली सञ्चार माध्यमले सिरियाली पूर्वप्रथम महिलाले रुसमा सम्बन्धविच्छेदका लागि प्रक्रिया चलाएको दाबीसहितका विवरण सार्वजनिक गरेका थिए । इकोनोमिक्स टाइम्समा प्रकाशित समाचारअनुसार आस्मा असदसँगको सम्बन्धमा पूर्णविराम लगाउन चाहन्छिन् । लामो गृहययुद्धपछि गत महिना असदको २४ वर्ष लामो सत्ता ढलेको थियो र मस्कोले असद दम्पतीलाई शरण दिएको थियो ।

आस्मा असदसँग सम्बन्धविच्छेद खोज्दै बेलायत फर्कन चाहेको भन्ने विवरणलाई रुसी प्रशासन क्रेमलिनले भने तत्कालै अस्वीकार गर्यो । यद्यपि यो आस्मा र असदको निजी मामिला थियो । अपदस्थ सिरियाली शासक र उनकी पत्नीलाई मस्कोमा सीमित पारेको र उनीहरूको सम्पत्ति रुसी अधिकारीले रोक्का गरेको दाबीलाई पनि मस्कोले अस्वीकार गर्यो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभको भनाइ उद्धृत गर्दै द गार्डियनले लेखेको छ, ‘असद दम्पतीको सम्बन्धविच्छेदबारे सञ्चार माध्यमहरूमा आएका चर्चा वास्तविकतासँग मेल खाँदैनन् ।’ मस्कोमा उनीहरू निकै गोप्य रूपमा शरण लिइरहेका छन् । रुसमा असद परिवारको ठुलो परिणाममा सम्पत्ति छ । गृहयुद्धको समयमा असदले लाखौँ डलर देशबाहिर राखेका छन् । असदको विस्तारित परिवारका सदस्यले रुसी राजधानीमा १८ वटा विलासी अपार्टमेन्टहरू खरिद गरेको सन् २०१९ मा फाइनान्सल टाइम्सले गरेको एक अनुसन्धानले देखाएको थियो ।

आस्मालाई बेलायत फर्किन कति सहज ?

यतिवेला आस्मा आफ्नो जन्मदेश बेलायत फर्किन लागेको पनि चर्चा छ । तर, विगतमा उनलाई प्रतिबन्ध लागेकाले फर्किन सहज छैन । द टेलिग्राफका अनुसार आस्मासँग बेलायती नागरिकता छ । तर, नागरिकता भए पनि उनलाई बेलायतले अनुमति नदिने यस महिनाको सुरुमा विदेशमन्त्री डेभिड लामीले बताएका थिए । ‘म यो पुष्टि गर्न चाहन्छु कि उनी एक प्रतिबन्धित व्यक्ति हुन् र यहाँ उनलाई स्वागत छैन,’ लामीले संसद्मा भने, ‘असद परिवारका कोहीले पनि बेलायतमा स्थान नपाऊन् भन्ने सुनिश्चित गर्न म मेरो बलबुताले भ्याएसम्म सक्दो प्रयास गर्नेछु,’ उनले थपे । तसर्थ, आस्मा बेलायत फर्किएमा उनले आफ्नो बेलायती पासपोर्ट गुमाउने सम्भावना छ ।

सीमा सुरक्षा तथा शरणमन्त्री डेम एन्जेला इगलले आस्मालाई शरण नदिने संकेत गरिन् । उनको भनाइ उद्धृत गर्दै टेलिग्राफले अगाडि लेखेको छ, ‘हामी व्यक्तिगत केसमा टिप्पणी गर्दैनौँ ।’ शरण दाबी निरन्तर समीक्षाअन्तर्गत रहेको इगलले बताइन् । शान्तिविरुद्धको अपराध, युद्ध अपराध, मानवताविरुद्धको अपराध, वा विदेशमा अन्य गम्भीर अपराध गर्ने कसैलाई पनि सुरक्षा दिन अस्वीकार गर्ने ‘मानक प्रक्रिया’ भएको उनको भनाइ थियो ।

आस्मा अनुमतिविना बेलायत प्रवेश गरिन् भने पक्राउ पर्नेछिन् । उनी आफैँ पक्राउका लागि तयार पनि हुन सक्छिन् । असद मस्को भागेपछि उनका बारेमा बेलायतले गहिरो चासो राखेको छ । सन् २०१२ को मार्चमा बेलायतले उनको सम्पत्ति रोक्का गरेको थियो । बेलायतले सन् २०२१ मा सिरियाको १३ वर्ष लामो गृहयुद्धमा सेनालाई उक्साएको र सहयोग गरेको आरोपमा प्रारम्भिक अनुसन्धान गरेको थियो ।

युद्धबाट लाभ लिने महिला

सन् २०२० मा अमेरिकाले आस्मा, उनका आमाबाबु र दुई भाइमाथि प्रतिबन्ध लगायो । त्यस समयका तत्कालीन विदेशमन्त्री माइक पोम्पेओले उनलाई ‘सिरियाको कुख्यात युद्धबाट सर्वाधिक लाभ लिनेमध्ये एक व्यक्ति’ भनेर वर्णन गरेका थिए । आस्मालाई बेलायतले कारबाही गर्नुपर्ने आवाज पनि उठेको छ । चथम हाउस थिंक ट्यांकका अनुसन्धानकर्ता बदर मोसा अल–सैफका अनुसार जसरी बेलायतले यसअघि अतिवादी समूह इस्लामिक स्टेटमा सामेल हुनेहरूको नागरिकता खोसेको थियो, आस्माको मामिलामा पनि त्यस्तै कदम आवश्यक छ ।

शिक्षित परिवारकी छोरी आस्मा

आस्मा ११ अगस्ट १९७५ मा सिरियाली आमाबाबुबाट बेलायतमा जन्मिएकी थिइन् र वेस्ट लन्डनको एक्टनमा हुर्किएकी थिइन् । उनका बाबु डा. फवाज अखरास कार्डियोलोजिस्ट हुन् भने उनकी आमा साहर सिरियाली दूतावासकी पूर्वकूटनीतिज्ञ हुन् । उनका दुवै भाइहरू चिकित्सक हुन् । बाल्यकालमा एम्मा नामले बोलाइने आस्मा बेलायतको एक स्थानीय स्कुलबाट विद्यालय तहको अध्ययन पूरा गरेपछि मेरिलेबोनको क्विन्स कलेजमा भर्ना भइन् । उनले किंग्स कलेज लन्डनबाट कम्प्युटर विज्ञानमा प्रथम श्रेणीको डिग्री हासिल गरिन् । तर, करिअर बैंकिङ क्षेत्र रोजिन् । ‘निश्चय नै यो सहज बाटो थिएन,’ धेरै वर्षअघि उनले भनेकी थिइन् । उनी ड्युस बैंक र त्यसपछि जेपी मोर्गनमा सामेल भइन् र न्युयोर्क, पेरिस र लन्डनमा काम गरिन् । बिदा मनाउन अभिभावकसँग सिरिया जाने गर्थिन् । सिरिया उनका लागि दोस्रो घरजस्तै बनेको थियो ।

प्रेम र विवाह

कलेज पढ्ने क्रममा आस्माकोे भेट लन्डनमा नेत्र चिकित्सा अध्ययन गरिरहेका बसर अल असदसँग भयो । उनी सिरियाका तत्कालीन राष्ट्रपति हफेज अल असदका कान्छा छोरा थिए । बसर बेलायतमा नेत्र चिकित्सा शास्त्रको अध्ययन गर्थे । उनीहरूको भेट बाक्लियो । बसरलाई आस्माका अभिभावकले पनि चिन्थे । उनीहरूबिच १० वर्षको उमेर अन्तर थियो । तैपनि प्रेम गर्न उमेरले छेकेन । बिदा हुनेबित्तिकै असदलाई भेट्न सिरिया जान्थिन् । ‘बिदाको समयमा म सुटुक्क सिरिया जान्थेँ,’ आस्मा भन्छिन् ।

सन् १९९६ मा कार दुर्घटनामा उनका दाइ बासेलको मृत्यु भएपछि असद उत्तराधिकारी बने । सन् २००० मा आफ्ना बुबा हाफेजको मृत्युपछि आस्मा र बसरको प्रेम अन्ततः विवाहमा परिणत भयो । उनीहरूको तर्फबाट तीन सन्तान छन् । सन् २०१८ देखि २०१९ को बिचमा स्तन क्यान्सरको उपचार गरिसकेकी उनलाई मे महिनामा ल्युकेमिया भएको थियो ।

तानाशाही छवि सुधार्ने प्रयास विफल

सत्ता सम्हालेपछि असद दम्पतीले आफ्ना बुबाको क्रूर तानाशाहीको दशकौँपछि विश्व मञ्चमा सिरियाको छवि सुधार्ने प्रयासमा विदेशी प्रतिष्ठित व्यक्ति र युरोपेली राजपरिवारलाई भेट्न थाले । नयाँ प्रथम महिलाले २००२ मा बकिंघम प्यालेसको राज्य भ्रमणको क्रममा महारानी एलिजाबेथ द्वितीयलाई भेटिन् र हलिउडका स्टारसँग काँध मिलाइन् । 

ब्राड पिट र एन्जेलिना जोलीलाई 

२००९ मा दमस्कसमा निम्तो दिइयो । बाहिरी रूपमा देखिने उनीहरूको निर्दोष र पश्चिमीअनुकूल छविमा सन् २०११ मा सिरियाली विद्रोहमा असदको बर्बर दमनको समयमा कालो धब्बा लाग्यो । युद्धले देशलाई १४ वर्षको रक्तपात र गृहयुद्धमा डुबाइदियो ।

मरुभूमिकी गुलाब’ आस्मा

फेसन तथा सेलिब्रेटी म्यागिजन भोगले आस्मालाई सन् २०११ मा ‘रोज इन द डेजर्ट’ अर्थात् मरुभूमिकी गुलाब भनेको थियो । उनी आफ्ना निरंकुश पतिको हिंसाविरुद्ध केही नबोलेपछि अन्तर्राष्ट्रिय रूपमा एक्लिइन् । देश भोकमरी र पीडामा रहेका वेला उनी भने पेरिस र लन्डनका बिचौलियामार्फत विलासी सामग्री किन्न तल्लीन रहेको भन्दै उनको आलोचना भएको थियो । असदहरूले मध्यम–वर्गीय जीवन बिताउने दाबी त गरे तर उनीहरूले पाएको वास्तविक विलासिताको पर्दाफास त्यतिवेला भयो, जतिवेला विद्रोहीहरूले दमस्कस कब्जा गरे र सिरियालीहरूले असदको राष्ट्रपति भवन र निजी घर लुटे ।

गत महिना असदको सत्ता ढलेपछि सडकमा खुसियालीमा रमेका सिरियालीले आस्माले प्रयोग गर्ने महँगा कपडा र विलासिताका सामग्री देखे । दरबारभित्र भेटिएका ब्यागभित्र डाअर र लुइस भ्युटजस्ता फेसन हाउसका लेबल अंकित थिए । तिनीहरूको सुत्ने कोठाको एउटा भुइँ गहना, पुरातात्विक वस्तुहरू र अन्य भव्य सामानले ढाकिएको थियो । तानाशाहले कतिसम्म अकुत सम्पत्ति जोहो गर्न सक्छन् भन्ने उक्त दृश्यले देखाउँछ ।

(एजेन्सीको सहयोगमा सुभाष शर्मा)

सम्पादकको रोजाइ

सुझावित समाचार