‘चित्रमार्फत मानिसका दबिएका कथा भन्छु’
मैले चित्रकारिता थालेको झन्डै दुई दशक हुन लाग्यो । मेरो कलायात्रा निकै चुनौतीपूर्ण रह्यो । अरू कलाकारले भन्दा ठुलो चुनौती पार गर्दै आएको छु भन्ने लाग्छ । अरू कलाकारको जस्तो सजिलो भएन । किनकि, मेरो पेन्टिङ विद्या फरक छ । जसले गर्दा सुरुवाती दिनमा निकै कठिन भयो ।
सन् २००९ तिर नेपालमा ‘न्युड आर्ट’ गर्नु निकै चुनौतीपूर्ण थियो । त्यसवेला एक चित्रकला प्रदर्शनीबाट मेरो पेन्टिङलाई निकाल्न खोजियो । मेरो पेन्टिङलाई लिएर नकारात्मक टिप्पणीसमेत गरियो । त्यतिवेला उनीहरूले चित्रमा नग्नता मात्रै देखे । अहिले नेपालमा न्युड पेन्टिङलाई सामान्य रूपमा लिन थालिएको छ । ‘न्युड पेन्टिङ’ भनेको नराम्रो मात्रै होइन रहेछ भन्ने बुझाइ बढ्दै गएको छ । मैले त्यो चुनौती नमोलेको भए यो विधाको पेन्टिङ अहिले स्थापित हुँदैनथ्यो ।
‘न्युड आर्ट’ भन्नेबित्तिकै आममानिसको मस्तिष्कमा अलि फरक दृश्य आउँछ । न्युड आर्ट कस्तो हो ? यो जिज्ञासा धेरैमा हुन सक्छ । पेन्टिङमा एउटा कलाकारले आफ्नो भावना व्यक्त गर्छ । कलाकारले आफ्नो महसुसलाई रङको माध्यमबाट क्यानभासमा उतार्छ । हरेक कलाकारका महसुस फरक हुन्छन् । म पनि आफूलाई महसुस भएको कुरा नै चित्रमा उतार्छु । न्युड आर्ट नग्नता प्रदर्शन नभएर कला हो । मान्छेको इमोसनलाई आफ्नो क्यानभासमा क्याप्चर गर्छु । मानिसले बाहिर देखिएकालाई मात्रै सुन्दरता भनेर बुझ्छ । तर, बाहिर देखिएको मात्रै सुन्दरता होइन । मानिसको भित्री महसुसलाई मैले रङमार्फत पेन्टिङ गरेको हुँ । यसलाई मैले न्युड आर्ट भन्छु ।
चित्रमार्फत मैले आफूभित्रको भावना व्यक्त गर्न पाउँछु । त्यसैले मैले मान्छेको भोगाइ चित्रमा उतार्छु । मान्छेको आ–आफ्नै भोगाइ हुन्छन् । जुन उनीहरूले बाहिर व्यक्त गर्न सकेका हुँदैनन् । उनीहरूको पीडालाई आधार मानेर चित्र बनाउँछु । मेरो चित्रमा मानिसको पीडा र भोगाइ भेटिन्छ ।
चित्रमा महिला र पुरुष दुवै पात्रका रूपमा हुन्छन् । यौन दुर्व्यवहारमा परेका महिलाको कथा पनि चित्रमा व्यक्त गरेको छु । दुर्व्यवहारमा परेका महिलालाई समाजले घृणा गर्छ । समाजले उल्टो उसैले अपराध गरेजसरी हेर्छ । तर, दुर्व्यवहारमा परेका महिलाको पीडा कति हुन्छ होला ? हो, मैले उनीहरूको भोगाइको पीडालाई चित्रमा उतारेको छु ।
न्युड आर्ट भन्नेबित्तिकै धेरैले नकारात्मक रूपमा लिइन्छ । न्युड भन्नेबित्तिकै महिला पात्र मात्रै हुन्छन् भन्ने बुझाइ पनि छ । तर, पुरुषको पनि न्युड आर्ट गरेको छु । पुरुषहरूको आफ्नो भोगाइ हुन्छ । उनीहरूको भावलाई कलामा उतारेको छु । मेरो चित्रमा मान्छेको भोगाइको कथा हुन्छ ।
चित्र आत्मसन्तुष्टिका लागि बनाउँछु । चित्र पैसासँग तुलना गरेर बनाउँदिनँ । कला भनेको आफ्नो आत्मसन्तुष्टिका लागि गरिने कर्म हो । तर, पैसाका लागि मात्रै चित्र बनाउनु हुँदैन । मेरा धेरैजसो पेन्टिङ विदेशमा पुग्छन् । विशेषगरी अमेरिका, युरोपका दर्शकले न्युड आर्ट रुचाउँछन् । मेरो अनुभवले नेपालमा न्युड आर्ट नबिक्ने नै भन्ने होइन । यस्तो कला बुझेका हाई प्रोफाइलका व्यक्तिले मात्रै किन्छन् ।
मैले न्युड आर्टको सुरुवात अमेरिकामै हुँदा गरेँ । त्यहाँ खुला समाज छ । त्यसैले मलाई काम गर्न सजिलो भयो । अमेरिकाको अनुभवले नेपालमा बसेर काम गर्ने थप हिम्मत पनि दियो । अमेरिकाको टेक्सास विश्वविद्यालयमा फाइन आर्टमा डिग्री सकेर फर्किएँ । नेपालमा सगरमाथा र मन्दिरहरूको मात्र बढीजसो ल्यान्डस्केप चित्र बनाइन्छ । ललितकला क्याम्पसमा दुई वर्षको पढाइ सकेर अमेरिका पढ्न जानुअघि मलाई पनि यस्तै लाग्थ्यो । न्युड आर्ट गर्छु भन्ने सोचेकै थिइनँ, त्यहाँ पढेपछि मात्रै जीवनको लक्ष्य नै न्युड आर्टतर्फ मोडियो ।