बौद्ध दर्शनले के सिकायो ?

सुनील पाण्डे सुनील पाण्डे
शनिबार, ५ जेठ, २०८१
डिजिटल संस्करण

रंगमञ्चमा केही समय काम गरेपछि सिनेमा निर्देशनमा पाइला चालेँ । सिनेमा निर्माण र अध्ययन मेरो रुचिको विषय रह्यो । त्यस्तै, धर्म संस्कृतिमा पहिल्यैदेखि रुचि थियो । अहिले बौद्ध दर्शन अध्ययन गर्दै छु । म सक्रिय जीवन मन पराउँछु । पर्यटन गाइडको तालिम लिएर केही समय त्यस क्षेत्रमा पनि सक्रिय थिएँ । एकपटक भारतबाट एउटा ठूलै मठका पर्यटक आउनुभयो । उहाँलाई वसन्तपुरलगायत काठमाडौंका धेरै स्थान घुमाएपछि स्वयम्भू लगेँ । त्यसक्रममा उहाँले बौद्ध दर्शनबारे केही जिज्ञासा राख्नुभएको थियो । मलाई खासै केही जानकारी नभएकाले विज्ञलाई नै बोलाएर छलफल गराइदिन्छु भने । अनि, उहाँले आफैँ मलाई आफूले जानेका कुरा सुनाउनुभयो । 


मलाई यतिवेलासम्म गौतम बुद्ध लुम्बिनीमा जन्मिएको इतिहास, उनको पारिवारिक इतिहासलगायत सामान्य कुरा मात्रै थाहा थियो । बुद्ध नेपालमा जन्मिएको भए पनि हामी बौद्ध दर्शनबाट निकै टाढा रहेछौँ भन्ने महसुस भयो । डा. महेन्द्र रत्न शाक्यलाई भेटेपछि उहाँले नै मलाई बौद्ध दर्शन अध्ययनका लागि हौस्याउनुभयो । बौद्ध धर्ममा तीनवटा मार्ग छन् : हिनयान (थेरवाद), महायान र बज्रयान । 


बुद्धले जति पनि धर्मदेसना गर्नुभयो त्यसलाई जस्ताको त्यस्तै पालना गर्नेहरू थेरवादमा लाग्ने बौद्धमार्गी हुन् । श्रीलंका, म्यान्मार, कम्बोडियामा उनीहरूको संख्या ठूलो छ । नेपाल र भारतमा थेरवादको दाँजोमा महायान र बज्रयान मान्ने धेरै छन् । विनय पिटक, सूत्र पिटक र अभिधर्म पिटक मिलेर बनेको त्रिपिटक बौद्धमार्गीको मूल ग्रन्थ हो । विनयपिटकमा भिक्षुका लागि २२७ वटा नियम छ । भिक्षुणीका लागि ३११ वटा नियम छन् ।


सूत्रपिटकमा बुद्ध भगवान्ले दिनुभएका उपदेश सूत्रबद्ध छन् । अभिधर्म पिटकमा बौद्ध दर्शनको मूल सार छ । भगवान् बुद्धले बहुजन हित र सुखका निम्ति ४५ वर्षसम्म दिनुभएका उपदेश सबै चतुरार्य सत्यमा आधारित छन् । उहाँले सबभन्दा पहिले ऋषिपतन मृगदावन सारनाथमा पञ्चवर्गीय भिक्षुहरूलाई अनुत्तर धर्मचक्र प्रवर्तन गर्नुभएको थियो ।

धर्मचक्र भनेको चार आर्य सत्यको स्थापना गर्नु, प्रकाशमा ल्याउनु, बुझाइदिनु, किटेर देखाउनु, खुलस्त वर्णन गर्नु, व्याख्या गर्नु हो । चतुरार्य सत्य भगवान् बुद्धको मूल उपदेश हो । यहाँ चतु भनेको चार, आर्य भनेको उत्तम पवित्र र सत्य भनेको जहिले पनि सही भइरहने हो । निर्मल चित्त भएको व्यक्तिलाई पनि आर्य भनिन्छ । आर्य पुद्गलले बताउनुभएको सत्य भएकाले आर्य सत्य भनिएको हो । यी आर्य सत्यले मानिसलाई आर्य बनाइदिन्छ । चतुरार्य सत्य सार्वजनिक, सर्वहितैषी र सार्वकालीन सत्य हो । यी चार आर्य सत्य हुन् ।


‘बुद्ध’ कुनै व्यक्तिको नाम होइन, जसले बोध गर्ने काम गर्छ, उसलाई बुद्ध भनिन्छ । चतुरार्य सत्यलाई अवबोध गर्नेलाई बुद्ध भनिन्छ । स्वयं भगवान् बुद्धले चार आर्य सत्यसम्बन्धी यसरी भन्नुभएको छ, ‘जबसम्म चार आर्य सत्यको यथार्थ ज्ञान दर्शन भएको थिएन, अनुत्तर बोधिज्ञान माथि विजयी भए भन्ने निश्चित भएन, त्यसवेलासम्म ब्रह्मा, देव मनुष्य लोकमा मैले यस्तो भनिनँ कि मैले बुद्धत्व प्राप्त गरेँ । तर, जब मलाई यी चार आर्य सत्यको स्पष्ट रूपमा यथार्थ ज्ञान दर्शन भयो त्यसवेला मलाई निश्चित भयो कि मैले अनुत्तर बोधिज्ञान प्राप्त गरेँ ।’ त्यसकारण बोधिज्ञान भन्नु नै चतुरार्य सत्यको ज्ञान हो । बोधिसत्व सिद्धार्थले वैशाख पूर्णिमाकै पावन दिनमा बुद्धगयाको बोधिवृक्षमुनि ३५ वर्षको उमेरमा बोधिज्ञान लाभ गर्नुभएको थियो । 


चतुरार्य सत्यलाई हामीले यसरी बुझ्न सकिन्छ– दुःख छ, दुःखको कारण छ, दुःख निरोध गर्न सकिन्छ, दुःख निरोध गर्ने मार्ग अपनाउनु पर्दछ । रोग छ, रोगको कारण छ, रोग निवारण गर्न सकिन्छ, रोग निवारण गर्ने (हटाउने) औषधि उपचार गर्नुपर्छ । अर्को तरिकाले यसरी पनि बुझ्न सकिन्छ–जीवनमा समस्या आउँछ, यो समस्या उत्पन्न हुनुको कुनै न कुनै कारण अवश्य हुन्छ, समस्या समाधान हुन्छ र समस्या समाधान हुने उपाय अपनाउनु पर्दछ । 


चार आर्य सत्यमध्ये ‘दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य’ दुःख निरोधतिर लग्ने मार्ग सत्य हो । यो मार्ग अपनाउँदा दुःखबाट मुक्त हुन्छ । यो मार्गलाई आर्य अष्टांगिक मार्ग भनिन्छ । अष्टांगिक मार्ग हुन् १) सम्यक दृष्टि २) सम्यक संकल्प, ३) सम्यक वचन, ४) सम्यक कर्मान्त, ५) सम्यक आजीविका ६) सम्यक व्यायाम ७) सम्यक स्मृति र ८) सम्यक समाधि ।
यी मार्गहरूलाई शील, समाधि र प्रज्ञा गरी तीन समूहमा विभाजन गरिएको छ । शील (सम्यक वचन, सम्यक कर्मान्त र सम्यक आजीविका), समाधि (सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि), प्रज्ञा (सम्यक दृष्टि र सम्यक संकल्प)  ।
शील भनेको सदाचार हो । यसले शरीर र वचनलाई संयमित गर्दछ । यो मैत्री र करुणामा आधारित छ । समाधि र प्रज्ञाको निम्ति शील आधार हुन् । शीलअन्तर्गत तीन मार्ग अंगहरू पर्दछन् । ती हुन्– सम्यक वचन, सम्यक कर्मान्त र सम्यक आजीविका ।


राम्रो सोच्ने, राम्रो गर्ने । जीविका गर्दा कसैलाई हानि–नोक्सानी नहोस् भनी विचार गर्नुपर्दछ । भ्रस्टाचार गर्नुभएन । इमानले जीविकोपार्जन गर्नुप¥यो । समाधिले मनलाई वशमा राख्दछ । जबसम्म मन वशमा पार्न सक्दैन तबसम्म शीललाई अटुट रूपले शुद्ध रूपले पालना गर्न गाह्रो पर्छ । समाधिअन्तर्गत तीन मार्ग अंगहरू पर्दछन् । ती हुन्– सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि ।


सम्यक व्यायाम कुशल चित्त उत्पन्न गराउने व्यायाम हो । भगवान् बुद्धले चित्तलाई १ सय २१ तरिकाले भन्नुभएको छ । संक्षेपमा ८९ प्रकारका चित्तबारे भन्नुभएको छ । राम्रो कर्मको अभ्यास गर्नुपर्छ । अनि सम्यक स्मृति भनेको जागरुक वा होसमा हुनु हो । ध्यानमा बस्न थालेपछि राम्रा कुरा मात्रै लिने गर्नुपर्छ । सम्यक समाधि ध्यानको यस्तो अवस्था हो । जहाँ एकाकार गर्न सकिन्छ । समाधिमा लागेपछि भित्री चक्षु उत्पन्न भएर सम्यक दृष्टि हुन्छ । अर्थात्, बल्ल दृष्टि खुल्यो । 
प्रज्ञाका तीनवटा तह 


श्रुतमय प्रज्ञा : सुनेर, पढेर, अध्ययन गरेर प्राप्त हुने ज्ञानलाई श्रुतमय प्रज्ञा भनिन्छ । यसबाट मार्गदर्शन प्राप्त हुन्छ । यस ज्ञानबाट प्रेरित भएर अगाडि बढ्न सकेन र यसैमा सीमित रह्यो भने यस ज्ञानले अन्धश्रद्धाको रूप लिन सक्दछ ।


चिन्तनमय प्रज्ञा :  चिन्तन, मनन गरेर प्राप्त हुने ज्ञानलाई चिन्तनमय प्रज्ञा भनिन्छ । जुन कुरा सुनेको हो, त्यो युक्तिसंगत, न्यायसंगत, धर्मसंगत छ कि छैन भनी चिन्तन गरी निश्चित गर्दछ र युक्तिसंगत छ भने स्वीकार गर्दछ । यो प्रज्ञा पनि लाभदायक छ । तर, यसैमा मात्र सीमित रह्यो भने अभिमान बढ्न जान्छ र अनुभवको स्तरमा आफूमा ज्ञान वृद्धि गर्न सकेन भने वास्तविक लाभ उठाउन सकिँदैन ।


भावनामय प्रज्ञा :  आफैँले अनुभव गरी प्राप्त भएको ज्ञानलाई भावनामय प्रज्ञा भनिन्छ । यही भावनामय प्रज्ञाद्वारा वास्तविक सत्यको गहिराइसम्म बुझ्न सकिन्छ । यही नै पूर्ण लाभदायक छ ।


बुद्ध दर्शन पढ्न थालेपछि मलाई निकै आनन्द महसुस हुन थालेको छ । जीवनलाई नयाँ दृष्टिले बुझ्न सघाउनेरहेछ । बुद्धका उपदेश पालना गर्दा व्यक्ति र राष्ट्र धेरै माथि पुग्ने रहेछ भन्ने लाग्छ । पञ्चशील नियम (प्राणी हिंसाबाट टाढा रहने, झुटो बोल्नबाट टाढा रहने, चोरी नगर्ने, परस्त्रीगमन नगर्ने, मद्यपान नगर्ने) पालना गर्दा शारीरिक र मानसिक रूपमा मानिस शुद्ध रहन्छ । 


मेरो बुझाइमा हामीले चलचित्रमार्फत पनि बौद्ध दर्शनलाई प्रवद्र्धन गर्न जरुरी छ । केवल ‘बुद्ध वाज वर्न इन नेपाल’ भनेर मात्रै नपुग्ला । हामीले यसको दर्शनको पक्षमा पनि जोड दिन सक्नुपर्छ । बौद्ध दर्शनमा आधारित रहेर एउटा राम्रो चलचित्र बनाउने धोको छ । त्यसलाई डब गरेर नेपाली र हिन्दीमा देखाउन सक्यौँ भने राम्रो होला । धार्मिक सहिष्णुतालाई बौद्ध दर्शनले प्रवद्र्धन गर्छ । बुढानीलकण्ठ, मुक्तिनाथ, स्वयंम्भूनाथलगायत नेपालमा धेरै त्यस्ता स्थान छन्, जहाँ बौद्ध र हिन्दुले उत्तिकै आस्था राख्छन् । हामीले यस्ता स्थान र दर्शनको संरक्षण र प्रवर्द्धन गरेर भोलिको पिँढीलाई हस्तान्तरण गर्न सक्नुपर्छ । 


(फिल्म निर्देशक पाण्डे बौद्ध दर्शन अध्ययनरत छन् ।)
 

सम्पादकको रोजाइ

सुझावित समाचार