एक अपवित्र प्रक्रियाको रूपमा समाजले हेर्दै र व्यवहार गर्दै आएको छ महिनावारीलाई । सामान्यतया, ११ देखि १४ वर्षको बीचमा नारीमा महिनावारी सुरु हुन्छ । महिलाको पाठेघरको भित्री भागमा रहेको रगत प्रत्येक महिना योनीबाट निष्कासन हुने प्राकृतिक सफाइको प्रक्रियालाई महिनावारी भनिन्छ । महिलाको शरीरमा भएका रागरस(हर्मोन)को परिवर्तनका कारणले महिनावारी हुने गर्दछ । नारी प्रत्येक महिना महिनावारी हुनु भनेको मातृवात्सल्यको पूर्वसंकेत हो । यसलाई खुसी र मर्यादित संस्कारको रूपमा हेरिनुपर्नेमा अछुत र घृणाको रूपमा हेरिन्छ ।
आजकाल सात वर्षका छोरीहरू पनि महिनावारी भएका कुरा सुन्दै आएका छौँ । अधिकतम पौष्टिक आहार, शारीरिक व्यायामको कमी र हर्मोनको गडबढीका कारणले छोरीहरू छिटो महिनावारी हुने क्रिया बढेको छ । नछुने भको, पर सरेको, बाहुनी भको, छुइ भको भन्ने शब्दले नै महिनावारीलाई अमर्यादित घेरामा सीमित गरेको छ । छोरीको महिनावारी छिटो हुनु भनेको एउटी आमाको चिन्ताको विषय हुन्छ ।
आमाले खाना मुछेर आफैँले खुवाएर स्कुल पठाइरहेका छोरीहरू महिनावारी हुँदा चिन्ता लाग्नु स्वाभाविक हो । उनीहरूलाई सरसफाइ गर्न, प्याड परिवर्तन गर्न समस्या त हुन्छ नै त्यसभन्दा बढी शारीरिक अस्वस्थता, ढाड–कम्मर दुख्नुजस्ता प्राकृतिक पीडा पनि झेल्नुपर्ने हुन्छ । छाइछुइ नगर भनी छुट्टै राखिनु, अछुतको व्यवहार गरिनु, भान्छामा सँगै बसेर खान नदिनु वा पस्न नदिनुले उनीहरूको मानसिकतामा पर्ने नकारात्मक असरलाई सचेत अभिभावकले ध्यान दिनु आवश्यक छ । ‘हामीले त बार्दै आएका छौँ तिमीहरूले पनि बार्नुपर्छ, नबारे पाप लाग्छ, छोरा मान्छेलाई छुँदा उनीहरूको आयु घट्छ । यसो गर्नुहुन्छ उसो गर्नुहुन्न’ भन्ने अव्यावहारिक परम्परामा अब छोरीचेलीलाई बाँध्नुहुन्न । महिनावारीलाई मर्यादित र प्राकृतिक प्रक्रियाको रूपमा बुझ्नु र बुझाउनुपर्छ । मर्यादित महिनावारीको मुख्य मर्म महिनाको २५ दिन र बाँकी पाँच दिन फरक हुनुहुँदैन अथवा महिनावारीका कारणले गर्दा कुनै पनि किसिमका विभेद, हिंसा, हेला, होचो, छाइछुइ, तलमाथि केही पनि गर्नुहुँदैन भन्ने हो ।
रजस्वला अर्थात् महिनावारी हुने नारीविना सृष्टिको विकास र प्रवद्र्धन सम्भव छैन भन्ने कुरा आज हामी सबैले बुझिसकेका छौँ । तर, महिनावारीलाई खुसी र गर्वको रूपमा लिनुपर्नेमा पाप र अपवित्रताको रूपमा लिइन्छ । यस्तो समाजलाई सभ्य समाज भन्न मिल्दैन ।
समाजमा महिनावारीसम्बन्धी जुन विधि र नियमलाई एउटा संस्कारको रूपमा मान्दै आएका छौँ ती कुसंस्कार र अन्धविश्वासका उपज हुन् भनेर आत्मालोचना गर्ने वेला आएको छ । आज हामी यति सभ्य र चेतनशील भइसकेका छौँ महिनावारी भएको कुरा स्वयंलाई बाहेक कसैलाई थाहा हुँदैन स्वयंले नभनेसम्म । रीतिरिवाज र परम्पराको रूपमा अव्यावहारिक पद्धति अवलम्बन गरिनु र प्राकृतिक नियमका कुरालाई कष्टपूर्ण र असहज परिस्थितिमा अनुसरण गरिरहनु जायज हुँदैन । हाम्रा धर्मग्रन्थले श्रापको रूपमा कथ्य बनाएर वर्णन गरेका कुरालाई समर्थन गरेर पछ्याइरहनु मर्यादित महिनावारी हुन सक्दैन । नारी पूर्ण र परिपक्व हुनका लागि महिनावारी हुनैपर्छ । रजस्वला अर्थात् महिनावारी हुने नारीविना सृष्टिको विकास र प्रवद्र्धन सम्भव छैन भन्ने कुरा आज हामी सबैले बुझिसकेका छौँ । तर, महिनावारीलाई खुसी र गर्वको रूपमा लिनुपर्नेमा पाप र अपवित्रताको रूपमा लिइन्छ । यस्तो समाजलाई सभ्य समाज भन्न मिल्दैन ।
शास्त्रहरूमा रजोधर्मको समयमा महिलाहरू अपवित्र हुन्छन् भनिएको छ, तर पाप हो भनिएको कहीँ छैन । स्मृति र धर्मग्रन्थहरूमा महिलाहरू रजोधर्म भएका दिनहरूमा दैनिक कार्यहरू जस्तै भान्छा, पूजाकोठा, घरव्यवहार, शारीरिक श्रम, आध्यात्मिक संलग्नता र शारीरिक सम्बन्धबाट टाढा बस्न सल्लाह दिइएको छ । यसलाई सामाजिक व्यवहारमा रूपान्तरण गर्नका लागि मात्र महिनावारीका चार दिनमा महिला अपवित्र हुने जिकिर गरिएको छ । किनकि त्यो वेलाको पुरुषप्रधान समाजमा महिलालाई सहज भएको हेर्ने पुरुष कमै पाइन्थे ।
वैज्ञानिक आधार र कानुनी विधि थाहा नभए पनि महिलालाई त्यो वेला कष्ट हुन्छ भनेर आरामका लागि त्यो नकारात्मक व्यवस्था राखिएको अनुमान सहजै लगाउन सकिन्छ । त्यही कुरा अपभ्रंश हुँदै महिलाको रजस्वला पूर्वजन्मको कुकर्मको पाप हो भनियो । ती दिनहरूमा नारी अछुत हुन्छे, अपवित्र हुन्छे भन्ने भाष्य झाँगिदै आएर एउटा संस्कारको रूपमा विकसित भयो । प्राचीन समयमा ती दिनहरूमा लगाउने पर्याप्त मात्रामा कपडा हुँदैनथे, सरसफाइमा उति ध्यान दिइँदैनथ्यो जसले गर्दा महिनावारी हुँदा निस्कने रगतले दुर्गन्ध र वातावरण प्रदूषित बनाउने सम्भावना प्रचुर हुन्थ्यो । यसैले अपवित्रताको नामाकरण गरिएको हुनुपर्छ ।
व्याक्टेरियल इन्फेक्सन नियन्त्रणमा सहज होस् र अन्यत्र सर्न नपाओस् भन्ने उद्देश्यले ती दिनमा महिलालाई घर–व्यवहारबाट टाढा राख्ने चलन चलेको हुनुपर्छ । तर, महिलाको स्वास्थ्यलाई कसरी स्वच्छ र सुरक्षित राख्ने भन्नेतिर ध्यान कसैको पनि गएको देखिँदैन । चार दिन छुट्टै बस्न छाउगोठ बने, ओढ्ने ओछ्याउने छुट्टै बने, बस्नका लागि सम्पन्नशालीको घरभित्रै छुट्टै एउटा स्थान बन्यो । चार दिन सकेसम्म घरायसी कामधन्दाबाट टाढा रहेर पाँचाैँ दिनमा सामान्य भएर व्यवहार गर्ने परम्पराको सुरु भएको अनुमान गर्न सकिन्छ । यस्ता अव्यावहारिक र असान्दर्भिक कुरालाई लिएर अबका छोरीहरूले हिजो आमाहरूले भोगेको समस्या भोग्न नपरोस् भन्नु मर्यादित महिनावारीको उद्देश्य हो । सुविधासम्पन्न घरको एउटा कुनामा भोक प्यासले छटपटिएर बस्नुपर्ने बाध्यता छ । भोक लागेका वेलामा भान्सामा गएर खाना पस्केर वा बनाएर खान पाउँदिन र तिर्खा लागेको वेला पानी पिउन सक्दिनँ भने त्यो अवस्था मर्यादित महिनावारी हुनै सक्दैन ।
प्रथम र दोस्रो महिनावारीको समयमा आफ्नो घरमा बस्न नहुने । बाबा, दाइ, भाइ, काकालाई हेर्नसमेत नहुने र पुरुषलाई छुनै नहुने यदि झुक्किएर छोइएमा गाली गर्दै नुहाएर जनै फेर्नुपर्ने चलन बलासियो । त्यतिखेर प्रत्येक छोरीचेलीले आफू महिला हुनुमा हीनता र ग्लानीबोध गर्नु स्वाभाविक हुन्थ्यो र अझै पनि धेरै ठाउँमा यो अनुशासन पालना गर्नुपर्छ । घरको धुरी हेरे पाप लाग्छ भन्ने संस्कारलाई हामी आफैँले भोगेर आएका हौँ । एकातिर अस्वस्थता अर्कोतिर अरूको घरको एक अँध्यारो कुनामा गएर उनीहरूको खटनमा बस्नुपर्ने बाध्यता । पर्याप्त मात्रामा फेर्ने कपडा र प्याडका लागि प्रयोग गरिने पुराना कपडाको अभाव हुन्थ्यो । पिउने र सफा गर्ने पानी पनि अरूसँग माग्नुपर्थो । धारा, पँधेरा, पानीको मुहान, पानी राख्ने भाँडा केही छुन मिल्दैनथ्यो । यस्तो असहज अवस्थामा सफासुग्घर हुन, दिनकै नुहाउन र कपडा धुन कति समस्या हुन्थ्यो एकपटक आफ्नो विगतलाई फर्केर हेर्नुभए हुन्छ ती कठोर दिनलाई परम्परामा धानेका आमाहरूले ।
कहिले घर छोडेर नबसेकी आफ्नी छोरीलाई महिनावारीको समयमा अरूको घरमा बस्न जाँदा दाल, चामल र तरकारीको व्यवस्थासहित पन्छाइन्थ्यो भने असल र खानदानी परिवार परे भइगो पर्दैन हामी जे खान्छौँ त्यही खुवाउँछौँ ल्याउनुपर्दैन भनेर सहयोगी भाव देखाइन्थ्यो । हाम्रो समाज यति धेरै अन्धविश्वास र कुसंस्कारमा जकडिएको छ जसको घेराबाट आजका किशोरीहरूलाई निकाल्नु आवश्यक छ ।
हाम्रो समाजमा महिनावारी दुखाइको सामाजिकीकरण गलत छ । यसले महिलालाई कमजोर छु भन्ने भाव पैदा गरेको छ । लुम्बिनी प्रदेश सरकारले महिनावारीका समयमा एक दिन बिदा दिने विधेयक पारित गरेको छ जुन सरकारको असफल अभ्यास मान्न सकिन्छ । आज हुर्कँदै गरेका किशोरीलाई हामी कमजोर छौँ भन्ने भाष्य स्थापित गर्न यो निर्णयले थप सहयोग गरेको महसुस हुन्छ । १०० जना महिलामा पाँचजनालाई महिनावारीको समयमा धेरै गाह्रो होला जसलाई बढी समस्या हुन्छ तिनीहरूलाई उपचारमा समन्वय गर्ने, काममा सहयोग गर्ने र कार्यालयमा आराम गर्न सकिने वातावरणको सिर्जना गर्नुको सट्टा महिनावारी बिदा दिनुले महिलालाई झनै कमजोर बनाउने र विभेदको खाडललाई गहिराउने देखिन्छ ।
छाउपडीका नाममा गोठहरू नबन्नुपर्ने थियो । बनिसकेपछि भत्काउनु हुँदैनथ्यो । पहिला मानिसहरूको अन्धविश्वास र कुसंस्कारले बनेको मनभित्रको मक्किएको गोठ भत्काउनु पर्छ । किशोरीहरूको आत्मविश्वास बढाउनुपर्छ । गोठलाई त वैकल्पिक रूपमा पनि प्रयोग गर्न सकिन्छ । छाउगोठ भत्किए, तर महिलाहरू नयाँ गोठ बनाउन लागे, पिँढीमा सुत्न लागे, त्रिपालमा बस्न लागे, एउटै कोठामा कार्पेट पल्टाएर बस्न लागे, दालमोठ चिउरा चपाएर छाक टार्न थाले, किचेन छुन नहुने परम्परा धान्दै भोकै सुत्न लागे ।
गोठको स्वरूप भत्कियो, तर समाजको सोचाइको दायरा भत्किएन । परम्पराको आधार भत्किएन । अन्धविश्वासको मुकुन्डो उघ्रिएन । अमर्यादित चार दिन मर्यादित कहिल्यै बन्न सकेन । आजका किशोरीहरूबाट मात्र महिनाका यी दिनहरूलाई मर्यादित बनाउन सम्भव छ । स्वास्थ्य र सुरक्षाको ख्याल गर्दै नितान्त व्यक्तिगत कुरालाई परम्पराको नाम दिएर सार्वजनिक गरिरहनु आवश्यक छैन । सबैले एकपटक सोच्ने वेला आएको छ ।