तिमी एक्लै हो ? कुनै लोककथाको रंगीन सहरझैँ लाग्ने इस्तानबुलमा त्यो मेरो पहिलो दिन थियो । सिमसिम परिरहेको पानीमा रुझ्दै म सहरको बीचको ९ तले गलाटा टावरमा चढेकी थिएँ । त्यसको साँघुरो बार्दलीबाट परपरसम्म फैलिएको एसिया र युरोपको दोभानमा रहेका सुनौला मस्जिद, ढुंगाका घरहरू र ध्वजा–पतकाजस्तै देखिने जहाजहरू हेरेर म लट्ठै परिरहेकी थिएँ ।
‘तिमी एक्लै हौ ?’ यो आवाज सुनेपछि मैले छेउतिर हेरेँ । करिब २२–२३ वर्षकी, दक्षिण भारतीयजस्ती देखिने युवती मेरो उत्तर पर्खिरहेकी थिइन् । ‘हो’, मैले टाउको हल्लाएँ । ‘ओहो ! तिमी कति वर्षकी भयौ ? अनि, घरमा के भन्नुभो’ नि ? के भनेर फकायौ ? मलाई यसरी एक्लै यात्रा गर्न साह्रै मन छ ।’ उनले एकैचोटिमा सोधी र भनी भ्याइन् । उनको उत्सुकता र इच्छा आँखा भरिभरि पोखिइरहेका थिए । उनका पछाडि परिवारका सदस्यहरू पथप्रदर्शकका कुरा सुन्दै गर्दा उनी र म भने गफ गर्दै बार्दलीको फन्को लगायौँ ।
त्यहाँबाट ओर्लिएर ताक्सिम स्क्वायरका फराक गल्लीहरू घुम्दै गर्दा पनि मैले सोचिरहेँ । ती बहिनीलाई मैले भनेकी थिएँ, मलाई एक्लै हिँड्न साह्रै मनपर्छ । ज्यानमा तागत र मोबाइलमा चार्ज भएसम्म म जता पनि पुगिदिन्छु, जे पनि चहार्छु, नौला कुराहरू पत्ता लगाउँदै हिँड्न विशेष रमाइलो लाग्छ । तर, मलाई थाहा छ, म झुटो बोल्दै छु । म एक्लै कहिल्यै पनि हुँदिनँ ।
जहाँ जहाँ जाऊँ, जति नै संसार देखूँ, जस्तै आँटी बनूँ, मेरो मनको डर पनि मेरो साथै यात्रा गर्छ । मैसँगै, मेरै अभिन्न अंग, अझ एउटा अप्रिय साथी बनेर । यो काँतरपन समय सुहाउँदो भयो र ? जताततै महिलाका रोमाञ्चक, बहादुर र साहसी कथाहरू मात्र सुनिन्छ, पढिन्छ र देखिन्छ । यस्ता चोटिला वर्णन हुन्छन्, मलाई यही क्षण सबै अनिश्चयलाई फ्याँकेर ती महिलाकै अनुसरण गर्न मन लाग्छ । गर्छु पनि, खोज्न र थाहा पाउनबाट आफूलाई कहिल्यै रोक्दिनँ । तर सधैँ, साथै डर ।
त्यही साँझको कुरा हो । जाडोको मौसम, झमक्कै अँध्यारो परिसकेको थियो । पाँच बजे होटेलको बसले फिर्ता लैजान आउने कुरा थियो । हस्याङ्फस्याङ् गर्दै समयमै निर्धारित स्थानमा पुगेँ । आधा घन्टा कुरेँ, सेतो बस देखिँदैन । पौने घन्टा भएपछि अरू पर्खिन सकिनँ । एउटा बसमा चढेर सोधेँ, ‘जैतनबुर्नु जान्छ ?’‘जान्छ,’ चालकले हातले इसारा गरे, ‘कार्ड, कार्ड ।’
कार्ड ? मसँग त्यो बसलाई तिर्ने ‘इस्तानबुल कार्ट’ थिएन । पैसा देखाउँदै थिएँ, चालकले फेरि इसारा गरे– तल झर, नअलमल्याऊ । दिउँसो भएको भए म अर्को उपाय खोज्न थालिहाल्थेँ, तर अँध्यारोले मलाई गाल्छ । नौलो ठाउँ, नचल्ने सिमकार्ड, अनि होटेलबाट टाढाको त्यो बसस्टप । ट्याक्सी रोकेँ र जानुपर्ने ठाउँको नाउँ दोहो-याएँ । उसले बस्ने इसारा ग-यो । पैसा सोधेँ, १० औँला दुईचोटि देखायो । पछाडिको ढोका खुलेन, उसले अगाडि बस्ने संकेत ग-यो ।
बस्न त बसेँ, तर अशान्त मन । बेतोडले ट्याक्सी कुदाएको ऊ घरी खल्तीबाट केही झिकेजस्तो गर्छ, घरी मतिर हेरेर ङिच्च हाँस्छ । बाटो चिनेकी छैन, कता हुइँक्याएको हो थाहा छैन । एकअर्काको भाषा बुझिँदैन । झ्यालबाट बाहिर हेरेर ठाउँ ठम्याउन खोजिरहेकी वेला उसले मेरो कुममा छोयो, म झसंगै भएँ । उसले अर्को गाडीतिर देखाएर ‘खातुन’ या यस्तै केही भन्यो, ओठ लेप्र्यायो– महिला चालकलाई गिज्याएझैँ लाग्यो । गाडीभन्दा छिटो बतासिइरहेको मेरो मनले टाढाबाट होटेलको बत्ती देखेपछि मात्र ठेगानमा आयो ।
अघिल्लो महिना, भारत जयपुरको यात्रा । त्यहाँ पनि रात परिसकेको थियो, मलाई एक्लै होटेल फर्किनु थियो । पहिले बाहिर उभिएका सबै अटोचालकको अनुहार नियालेँ र अलि विश्वासिलो लाग्नेको अटोमा चढेँ । पछाडिको सिटको यति छेउमा बसेँ, कुनै पनि वेला म उत्रिन सकूँ । अलि सुनसान बाटोतिर लाग्दै गएपछि म चालकको सर्ट हेर्न थालेँ– पछाडिबाट कलर तानेँ भने यसको सास रोकिएला नि, हैन ? धन्न, त्यस्तो केही गर्नुअगावै गन्तव्यमा पुगियो ।
मेरा श्रीमान्लाई यी मेरा भयभीत अनुमानहरूबारे थाहा छ । मुसुक्क हाँस्नुहुन्छ, ‘त्यति सारो डराउनुपर्दैन । यस्ता दुर्घटनाहरू हुने भनेको त पाँच हजार, दश हजारमा एकजनालाई होला ।’अरू, व्यक्तिले पनि बारम्बार भनेको सुन्छु, ‘के छ र डराउनुपर्ने ? म त निस्फिक्री छु, निश्चिन्त छु, कहिल्यै केही भएको छैन ।’ अलिअलि ईष्र्या लाग्छ, अलिकति आफैँलाई सम्झाउँछु, सबैजना निडर हुँदै जाँदा मलाई मात्र केको चिन्ता ?मलाई चिन्ता यही छ, त्यो पाँच वा दश हजार मानिसमा एकजना नहुने मसँग के आधार छ ? के ग्यारेन्टी छ म सुरक्षित घर पुग्छु ?
गत साता हाम्रो कार्यालयमा महिलाका लागि मात्रै विशेष सुरक्षा तालिम भयो । तालिमकर्ताको पहिलो प्रश्न थियो, ‘तपाईंहरूमध्ये कतिजना कुनै न कुनै किसिमले यौनिक रूपमा (शारीरिक/मानसिक) प्रताडित हुनुभएको छ ?’ त्यहाँ उपस्थित हरेकको हात प्रश्न सकिनअगावै उठ्यो । त्यही सानो उदाहरण, एउटा कोठामा भएका तीसजना महिलाको संयुक्त अनुभवबाटै थाहा हुन्छ, हामी कति सुरक्षित छौँ । भिन्नभिन्न पृष्ठभूमि तथा उमेरका तीसजना महिला, र हरेकलाई आफ्नो सहमतिविना हेरिएको, छोइएको, चलाइएको, सताइएको छ ।
तालिमकर्ताले हामीलाई आत्मरक्षाका विभिन्न उपायहरू सिकाइन् । सधैँ सतर्क र सावधान हुन अह्राइन् । लैंगिक हिंसा, आतंकवादी हमला र विस्फोटबारे कुरा गरेपछि अन्तिम पाठ थियो, बलात्कार । ‘हामीलाई कसैले भन्नै पर्दैन, बलात्कारमा गल्ती भनेको बलात्कारीको मात्र हुन्छ,’ उनले भनिन्, ‘यस्तो पनि लाग्ला, अरूको भयले म आफू किन स्वतन्त्र र स्वच्छन्द जीवन बाँच्न छोडौँ ? सबै कुरा हाम्रो व्यक्तिगत रुचि हो । तर, हामीले कहिल्यै पनि नबिर्सौँ, आफ्नो सुरक्षा र स्वास्थ्यभन्दा महत्वपूर्ण कुनै वाद र सोचाइ हुँदैन ।’
त्यसपछि उनले हामीलाई सोध्दै गइन्, कोही व्यक्तिले आक्रमण गर्न लागे जोगिन के गर्छौं ?हामी सबै बोल्न हतारियौँ । ‘सिट्ठी बजाउँछु, चिच्याउँछु, मरिचको धुलो फाल्दिन्छु, चिथोर्छु, टोक्छु, लात्तीले हान्छु, आँखामा घोच्छु, चिमोट्छु, खुट्टामा टेक्छु, घचाड्छु, लडाउँछु ।’हाम्रो जोस देखेर खिरिली तालिमकर्ताले उक्साइन्, ‘अरू ? अरू ?’ उनले थपिन्, ‘आफूलाई सकेसम्म घिनलाग्दो र अनाकर्षक बनाऊ ।
आफैँमाथि थुक, उल्टी गर, पिसाब फेर, अन्टसन्ट बोल, पागलजस्तो बन ।’ हामीमध्ये धेरैलाई यो उपाय नौलो लाग्यो । हाम्रो आश्चर्य देखेर उनले कुम उचालिन्, ‘बच्नकै लागि कस्तो कस्तो गर्नुपर्ने, है ? आफूले सबैभन्दा नचाहने स्वरूप पनि अपनाउनुपर्ने ।’त्यसपछि अघिकै विषयमा फर्काइन्, ‘यी सबै उपाय अपनाएर पनि तिमी सफल भएनौ भने तिम्रो निर्णय के हुन्छ ? मानौँ बलात्कारीले तिमीलाई छोड्दै छोडेन, के गर्छौ ?’ सबै स्तब्ध अनि चुपचाप । अरूले के सोच्दै थिए खै, मलाई मेरो दुस्वप्न साँच्चिकै घटिरहेझैँ लाग्यो । ‘के गर्छौ ?’ तालिमकर्ताले शान्त भई दोहो-याइन् ।फेरि मौनता ।‘उसले भनेको मान्छौ ?’‘अरू केही बाटो नभए...’ मैले भनेँ ।
उनले गम्भीर हुँदै समर्थन जनाइन्, ‘सधैँ याद राख्नु, ज्यान बचाउनु सबैभन्दा जरुरी हुन्छ ।’ कुनै विशेष सैन्य वा प्रहरी तालिम आदिमा बाहेक पुरुषहरूले यस्ता अमानवीय करतुत सम्झिइसम्झिई आफैँलाई दुःख दिनुपर्छ होला ? हामीले लगभग प्रत्येक दिन आफैँले आफैँलाई सम्झाउनुपर्छ, बलियो बनाउनुपर्छ ।
यी छलफल पछि हामी सबै त्रसित हुँदै कोठाबाट निस्किदैँ थियौँ । तालिमकर्ताले मायालु हुँदै एउटा भनाइ सम्झाइन् ‘आफ्नो ख्याल गर्नुहोस् । महिलाको छैटौँ इन्द्रिय एकदम बलियो हुन्छ, त्यसको पूर्ण सदुपयोग गर्नुस् । तर, भयमुक्त भई बाँच्नुहोस् । डरैडरमा बाँचेको जिन्दगी अर्ध जिन्दगी हुनेछ ।’
म झुटो बोल्दै छु । म एक्लै कहिल्यै पनि हुँदिनँ । जहाँ–जहाँ जाऊँ, जति नै संसार देखूँ, जस्तै आँटी बनूँ, मेरो मनको डर पनि मेरो साथै यात्रा गर्छ ।
मलाई रहर होला र मेरो जीवन म आधा मात्र बाँचाैँ ? तर, आफ्ना वरिपरि हरेक दिन घट्ने (सबै प्रकारका, तर विशेषगरी महिलाविरुद्धका) अकल्पनीय हिंसा र प्रताडनाका घटनाहरूलाई म कसरी बिर्सौँ ? हामीलाई कण्ठै छ र हामी सुँगाझै रटिरहन्छौँ, प्रत्येक तीन महिलामा एक महिला हिंसाको सिकार हुन्छिन् । कुनै पनि क्षण त्यो तीन महिलामा एक आफू हुन सकिन्छ । मलाई यसैले त्रसित तुल्याउँछ... र मलाई यही तथ्यांक हुन डर लाग्छ ।
मलाई डर लाग्छ, अखबारका पानामा समाचार भई देखा पर्न । कसैले बलात्कार गरी फालिदिएको थियो, र योनीमा शिशा र काठका टुक्राहरू भेटिए । धारिलो वस्तुको प्रहारले टाउको क्षतविक्षत भई अठार टाँका लाउनुपरेको छ । मानसिक सन्तुलन गुमेको छ । हातका जम्मै हाड भाँचिएका छन् । स्तन छुराले छियाछिया पारेर रेटेको छ । सारा जिउ जलेर हड्डी देखिएको छ । एसिड प्रहारले गर्दा आँखाको ज्योति गुमेको छ । र, सबैभन्दा डर लाग्छ, मेरा प्रियजनहरूले मेरो मृत शरीरको पहिचान गरी त्यसलाई बुझ्नुपर्नेछ ।
यस्ता समाचार पढ्दा र तस्बिर हेर्दा मलाई त्यो महिला आफैँ भएजस्तो लाग्छ । यी महिलाका पीडा अनुभव गरेर नकहालिएको समाचार नै हुँदैन होला । मेरो मनलाई राम्रैसँग थाहा छ, जताततै यो नकारात्मकता र बीभत्स कल्पना बोकेर हिँड्न कति गहु्रंगो हुन्छ । जिन्दगीको खुसी र उन्मुक्तता यही डरको वजनले थिच्न थाल्छ ।
तर, यो डर यसै उत्पन्न भएको पनि त होइन । यो मेरो कोरा कल्पना पटक्कै होइन । दिनदिनै, छिनछिनै, देश र विश्वका अनेक भूभागमा महिलाविरुद्धका हिंसाका स्वरूपहरू विषालु झारझैँ फस्टाउँदै छन् । धेरै टाढा जानु पनि परेन । यहीँ गोदामचौरमा एउटी युवतीमाथि भएको आक्रमणले मलाई अझै सताउँछ ।
उनले कहाँ सोचेकी थिइन् होला र, यस्ता दानवहरूको सामना गर्नुपर्ने छ ? के ग्यारेन्टी छ र म वा तपाईं भोलि घर पुग्ने धुनमा फटाफटी हिँडिरहँदा यस्तै राक्षसहरूले समातेर नगिजोलुन् ? दिल्लीमा चलचित्र हेरिसकेर साथीसँग फर्किंदैँ गरेकी ज्योति सिंहले अनुमान पनि गरेकी थिइन् र, दानवीय बलात्कारीहरूका कारण दुई हप्तापछि उनको मृत्यु हुनेछ ?
यी सबै हिंसामा पर्नेहरू म जत्तिकै सतर्क थिए । उनीहरूको कुनै असावधानी वा कमजोरीका कारण उनीहरूविरुद्ध हिंसा भएको होइन, र म कुनै विशेष चातुर्यले जोगिएकी पनि होइन । छाउपडीमा मृत्यु हुने दिदीबहिनीहरू, एकलासको विद्यालय जाँदै गर्दा हिंसामा पर्ने विद्यार्थीहरू, कार्यालयमा हाकिमको प्रताडना सहन नसकी जागिर छोड्नुपर्ने जागिरेहरू, वैवाहिक बलात्कार सहेर पनि बस्न बाध्य श्रीमतीहरू र मानव तस्करीको सिकार भई नारकीय जीवन बिताइरहेका महिला– बाँकी हामी र यी पात्रहरूमा फरक यति मात्र छ, भाग्यले अहिलेसम्म यति ठूलो दुर्घटनाको सिकार बनाएको छैन । यो भाग्य भन्ने झिनो डोरी कहाँ छिन्ने हो, कसले देखेको छ र ?
यी त्रासपूर्ण अभिव्यक्तिभन्दा अलि बेग्लै एउटा घटना– अघि उल्लिखित तालिममा तालिमकर्ताले हामीलाई सोधिन्, ‘कोही पुरुष नचाहिँदो गरी नजिक हुन आए कसरी छुट्कारा पाउँछौ ?’ ‘श्रीमान्को कुरा गरे केटाहरू आफैँ हच्किने मेरो अनुभव छ,’ मैले भनेँ । अरूले स्वीकृति जनाए– एकजनाले यस्तै अवस्थामा देखाउनका लागि औँठी लगाएर हिँड्ने रहिछिन् ।
हरेक दिन म अरू सँगसँगै स्वर मिलाएर भन्छु– हामी बदलिनुपर्ने कुनै आवश्यकता छैन, बरु कुत्सित सोच र नियत भएका व्यक्तिलाई परिवर्तन गर्नुछ ।
एक साथीले फरक मत राखिन्, ‘मलाई श्रीमान् वा ब्वाइफ्रेन्डको कुरा गर्न मनलाग्दैन, किनभने म चाहन्छु कुनै पनि पुरुषले मलाई म भनेरै इज्जत दिओस्, न कि म कसैकी पत्नी वा गर्लफ्रेन्ड भएर । अब आउँदा पुस्ताका केटीहरूका लागि पनि त हामीले आफ्नै सानदार अस्तित्व बनाइराख्नुपर्छ ।’ म उनका विचारमा शतप्रतिशत सहमत छु । मलाई पनि इच्छा छ, हरेक महिलालाई एक सग्लो, शक्तिशाली, अमूल्य व्यक्तिका रूपमा हेरियोस् । हर स्थितिमा आदर र सम्मान दिइयोस् । कहीँ कतै डरको सामना गर्नु नपरोस् ।
हरेक दिन म अरू सँगसँगै स्वर मिलाएर भन्छु, हामी बद्लिनुपर्ने कुनै आवश्यकता छैन, बरु कुत्सित सोच र नियत भएका व्यक्तिहरूलाई परिवर्तन गर्नुछ । कतिचोटि लेखेँ होला, र म यसमा पूर्णतया विश्वास पनि गर्छु– आफ्ना छोरीहरूलाई बाहिर जानबाट नरोक, आफ्ना छोराहरूलाई नारीको सम्मान गर्न सिकाऊँ । कसैले महिलाको सुरक्षाका कुरा गर्दा उनीहरूको पहिरन र आचरणबाट सुरु गरे भने त्यो तर्क नै मलाई बेकार लाग्छ ।
त्यसको ठीकविपरीत, महिलाका एकल भ्रमण, साहसिक कार्यहरू र रोमाञ्चक अनुभूतिहरूले मेरो मन खुसीले बत्तिन्छ । यी महिलाको साहस सापटी लिन्छु, उनीहरूको सामथ्र्यको हिस्सा बन्छु, अनि उनीहरूको प्राप्तिहरूलाई आफ्नै उपलब्धि ठान्छु । म यति कुरामा पनि अडिग छु, यिनै शक्तिशाली महिलाको सामूहिक आँटले म जुनसुकै भयको पर्खाल पनि नाघ्नेछु– आफ्ना पाइलाहरूलाई नयाँ ठाउँ र विशेष अनुभूति सँगाल्नबाट रोक्ने छैन ।
आफ्ना र विशेषगरी आगामी पुस्ताका बहिनी र छोरीहरूका लागि सुरक्षित, सभ्य एवं भयरहित वातावरणको सिर्जना गर्न जहिले पनि तत्पर छु र रहनेछु । तर, त्यो हामीले सपना देखेको आदर्श समाज, त्यो भयमुक्त वातावरण र उन्मुक्त बचाई अहिल्यै, यतिखेरै सम्भव छैन । कम्तीमा मैले चाहिँ देखेकी छैन ।
र त्यो आदर्श समाजको निर्माण नहुँदासम्म मैले मेरो डरलाई घटाउने कुनै उपाय पनि देखेकी छैन । समाजमा क्रूर व्यक्तिहरू छन्, परपीडक र अपराधीहरू पनि । त्यसैले त प्रत्येक दिन, मलाई अझै पनि... भयानक तथ्यांक बन्न डर लाग्छ !