नगरपालिका भन्नु मात्रै छ, पालिकाको केन्द्रमै पुग्न पनि असाध्यै सकसपूर्ण यात्रा गर्नुपर्छ । बाहिरबाट ठेकेदारी, होटेल र डोजर चलाउन आएकाबाहेक गाउँमा युवापुस्ता भेट्न लगभग मुस्किल छ । ‘खसम’लाई इन्डिया या धनगढीतिर मजदुरी गर्न पठाएर घर धानिरहेका किशोरीहरूका काख, कोख र सिउँदोको सिन्दुर बालविवाहविरुद्धको सरकारी कानुनमाथि विजय प्राप्त गरेको भावमा मुस्कुराइरहन्छन् ।
स्वास्थ्य संस्थामा गर्भजाँच गराउन आउने १६ वर्षमुनिका किशोरीहरू निर्धक्क भएर २० वर्ष पुगेको बताउँछन् । स्वास्थ्यकर्मी प्रायः बाहिरी जिल्लाबाट आएका हुन्छन्, पत्याइदिनु उनीहरूको बाध्यता हो । कसैले भनिदिएको छ– ती किशोरीलाई २० वर्षमुनि बिहे गर्नु कानुनी रूपमा दण्डनीय हो ? अहँ अहिलेसम्म कसैले पनि अल्पउमेरमा बिहे गर्दाका नराम्रा पक्षबारे जानकारी नै गराएको छैन ।
नगरभित्रकै कन्या माविमा महिनावारी भएको चार दिनसम्म किशोरीहरू स्कुल जाँदैनन् भन्ने खबर थाहा पाएपछि देशले बनाएको छाउपडी प्रथाविरुद्धको कानुन प्रदेशमा निष्प्रभावी नै रहेछ भनेर सहजै बुझिन्छ । समाज एकातिर र कानुन अर्कातिर फर्किंदा शब्द जतिसुकै ओजिलो भए पनि अर्थपूर्ण हुँदैन । छिट्टै क्रान्ति गर्ने नाममा केवल छाउगोठ मात्रै भत्किएका हुन्, चिन्तन त पिलर हालेर बसेको छ । त्यसैले अधिकांश किशोरी महिनावारी भएकै कारण वर्षको ४८ दिन स्कुल नै जान्नन् ।
मिसहरू महिनावारी भए भने विद्यार्थीलाई चौरमा राखेर पढाइन्छ । नत्र देउता रिसाउँछन् । साँच्चै हो, अरू रिसाए फरक पर्दैन उनीहरूलाई, तर देउता रिसाउन हुँदैन । ८ देखि १० सम्म पढ्ने उनै किशोरीमा अर्काे एउटा समानता पनि छ, धेरैको गलामा मंगलसूत्र झुन्डिएको छ र सिउँदोमा सिन्दुर । डेढ दिन बझाङको बुंगल नगरपालिकाका बस्तीहरू चहारेपछि मैले देखेका आमदृश्य हुन् यी ।
एक दिन जब बझाङी महिलाको औसत आयुभन्दा झन्डै १० वर्ष धेरै बाँचिसकेकी रायमतीदेवी धामीसँग ठोक्किएँ, मन साँच्चै उज्यालो भयो उनै रायमतीको अनुहारजस्तै । निष्कपट अनुहारमा चमक आउन फेसियलको जरुरी नै छैन, रायमतीलाई देखेपछि मेरो मनले ठानेको पहिलो कुरा ... ।
जिन्दगीको उत्तरार्धमा पनि सपना फुलाउन खप्पिस यी आमैको आँखासँग आँखा जुधेपछि लखतरान भएको मनमा जबर्जस्ती फुर्ती आएको हो । नत्र रायमतीको ७० को दशकमा दौडिरहेको उमेरले गिज्याउँछ नि । त्यसपछि नै हो, मैले उनलाई भेट्नुअघि सँगालेका सबै निराशा बुंगलको काखमा लमतन्न सुतेर गडगडाइरहेको कालंगामा सेलाइदिएको ।
खैर, कालंगाको अस्तित्व पनि देउराबजारसम्म मात्रै थियो । त्यसपछि त उसले आफ्नो पहिचान फेर्छ । सेती बनेर बगिरहन्छ कर्णालीलाई नभेटुन्जेल । थाहा छैन, कोही कसैमा समाहित हुनु आफ्नो अस्तित्व मेट्नु हो वा होइन । थाहा त यो पनि छैन मलाई, नामै मेटिएपछि केही अस्तित्व बाँकी रहन्छ कि नाइँ । तर, आफ्ना सैंसाथीहरू डाँडामाथिको घाम हुँ भन्दै ‘काल पर्खेर’ बसिरहेका वेला इतिहासको शिलापत्रमा नाम कुद्न हस्याङफस्याङ गरिरहेकी रायमतीसँग म नतमस्तक छु ।
‘कति कामले बजार आएकी हौ इजा (आमा)?’ जानीनजानी, सकीनसकी बैतड्याल बन्न खोज्छु म, किनकि मलाई थाहा छ, बुंगलमा बझाङीभन्दा बैतडीको भाषिका धेरै बोलिन्छ । उनले भनिन्, ‘नेतालाई स्वागत गद्दाई लेख्या आया हुँँ ।’ उनको पार्टीको प्रदेशस्तरीय मन्त्री आउने भएपछि उनी साढे २ घन्टा पैदल यात्रा गरेर नगरपालिका आएकी हुन् । उनलाई को नेता आउँदै छन् र ती नेतालाई स्वागत गरेपछि हुने फाइदा र नगर्दा हुने घाटाबारे थाहा छैन । तर, पार्टीको चेन अफ कमान्ड मान्ने इमान्दार कार्यकर्ता हुन् यिनी । म पनि एकछिनका लागि यी आमैसँग साथी बन्न चाहन्छु । ‘झाने भ्या बरे हिट,’ उनैले भनिन्, मैले पछ्याएँ । मलाई रायमतीको व्यक्तित्वले यति धेरै आकर्षित ग-यो कि पूरै प्रेममा परेँ । ती त मेरी ‘क्रस’ भइगइन, म उनको चेली (छोरी) ।
मन्त्रीलाई एकटकले हेरेकी रायमतीलाई मैले पनि उसैगरी हेरेँ । मेरो हेराइमा प्रश्न थियो कि कुन्नि, मलाई हेरिन् र मुस्काइन् । उनको मुस्कानले मेरो प्रश्नको ढोका खोलिदियो । त्यही प्रश्नको उत्तरमा हो उनले भनेको, ‘मन्त्री त मान्सजसै हुन्या ¥यान ।’ रायमतीले पहिलोपटक मन्त्री भेटेकी छन्, मान्छेजस्तै । विकासको बाटो खन्न डाँडाकाँडामा चलेका डोजरका कारण उड्ने धुलो यति छ कि उनैले पहिरिएको कालो जुत्ताले रङ बदलेर खरानी बन्न खोजिरहेको छ । तै हट्टाकट्टा देखिन्छिन् यी आमै । गाउँघरको त धुलो पनि अग्र्यानिक हुँदो रहेछ कि कुन्नि ! यी ‘मास्क’ लगाउँदिनन् ।
धुलोको असर मन्त्रीको गाडीमा पनि देखिन्छ, खैर मन्त्री सुकिलामुकिलै छन् । ढपक्कै लागेको कालो सिसाभित्र धुलो छिर्दो रहेनछ । रंगीबिरंगी पोते, कानभरि गहना, बुट्टेदार म्याक्सी र गोल्डस्टार जुत्ता आमाका सदाबहादर ब्रान्ड हुन् । अगाडिका सबै दाँत फुक्लिएका छन्, तर मुस्कान यति सानदार छ कि ‘मिलेका ती दाँतका पंक्ति’लाई ठाडै चुनौती दिन्छ । मबिबी शाह छेउमै हुन्थे भने सोधिदिन्थेँ म, सुन्दर दाँतका पंक्ति हुन्छन् कि मुस्कान ? साँच्ची ती गीतकारले मलाई के जवाफ फर्काउँथे होला ?
घरको काम छोराबुहारीको जिम्मामा छाडेकी छन् । झन्डै ८० को हाराहारीमा पुगेका श्रीमान्ले मुख बोलिदिने साथी खोजिरहन्छन् । तातेताते गर्दै हुर्काएका नातिनातिनाले उनलाई डो¥याउने वेला भइसक्यो । दाउरा, घाँस गर्ने भिरपाखाहरूले पनि उनलाई ‘मिस’ गरिराखेका होलान् । पा...रि डाँडामा पुगेर फेरि उनैतिर फर्किने ठाडी भाका नगाएको पनि थुप्रो भयो । बैठक, भेला, जनचेतना, ल्याप्चे, भत्ताजस्ता नयाँ शब्दावलीहरू यिनको जिन्दगीको शब्दकोशमा थपिएको झन्डैझन्डै दुई वर्ष हुन लाग्यो । ‘राजनीति असजी चिज रैछ, हामजसी अनपढका कि लेख्या त कि हो कि हो ।’
स्थानीय तहको चुनावमा बुंगल नगरपालिकाको वडा नम्बर २ बाट महिला सदस्यमा चुनाव जितेर जनप्रतिनिधि भएकी यी ७० वर्षीयाले के गर्नुपर्छ भन्ने मेलो ठम्याउन अझै सकेकी छैनन् । भोट हाल्नेहरूको गुन तिर्नुपर्छ भन्ने थाहा छ, तर कसरी तिर्ने हो भन्ने मेसो पाउँदिनन् । तैपनि कहिलेकसो गाडी चढेको भाडा हालिदिन्छिन् । सामलतामल किन्न देउराबजारतिर पुग्दा भेटिएका कार्यकर्तालाई खाजा पनि खुवाउँछिन् । ‘मुई सबै गाउँल्यान दिदीबहिनीको नेता हुँ पुई, मुईसित जिम्मेवारीलै छ ।’ मठ्याक्कै यही वेला केन्द्रका नेताहरू सम्झिन्छु । रायमतीले जस्तै उनीहरूले पनि सोच्थे भने त मुहार नेताको मात्रै होइन, मतदाताको पनि फेरिन्थ्यो होला ।
म उनको अनुहारको भाव पढ्छु, हो साँच्चै गाह्रो छ रायमतीजस्ताका लागि राजनीति । यति संघर्ष गर्नुपर्छ नि, त्यति संघर्ष त हरेक वैशाख, जेठमा कालंगाको शिरमा यार्सा टिप्न जाँदा पनि गर्नु पर्दैन । त्यो लेक लाग्दा जसरी सास फुल्थ्यो त्योभन्दा बढी धौ हुन्छ, राजनीतिको उचाइ नाप्न । तर, अहँ उनी रोकिनेवाला छैनन् । उनकै शब्दमा उनका दिदीबहिनी, छोरीबुहारीले सुखको सास फेर्न पाउनुपर्छ उनले विश्राम लिनका लागि ।
दुःख त छ नि, चुनाव जितेर जनप्रतिनिधि भएको दुई वर्ष हुनै लाग्दासमेत चुनाव लड्दा लागेको एक लाख रुपैयाँ ऋण तिर्न सकेकी छैनन् । लाखै रुपैयाँ ऋणको भारी बोकेर ‘नेतिनी’ भएकी हुन् कलशीदेवी धामी पनि । सोर्दासोर्दैको भकारो चटक्क छोडेर वडामा महिला सदस्यका लागि मनोनयन दर्ता गर्न पुगेकी कलशीको जिन्दगीमा सबैभन्दा खुसीको दिन त्यही थियो जुन दिन चुनाव जितिन् । रहरको जित कति भर्भराउँदो हुन्छ, मैले कलशीलाई पढेपछि बुझेकी हुँ । अहिले उनीभित्र राजनीतिको रस यतिधेरै पसेको छ कि जम्मा गरेर मह बनाउने हो भने संसारकै सबैभन्दा स्वादिष्ट बन्छ होला ।
जिन्दगीको मजेत्रोभित्र सपनाको पोको बाँधेर दौडिइरहेकी यी कलशीदेवीलाई वडाले महिलाका लागि काम नगर्दा असाध्यै चित्त दुख्छ । खानेपानीको पाइप ल्याउनु र डाँडैकाँडै डोजर दौडाउनु मात्रै विकास होइन भन्ने जान्दाजान्दै पनि खुलेर बोल्न सक्दिनन् । त्यसैले टाठाबाठाहरू बैठक गर्छन्, निर्णय गर्छन् र सुनाउँछन्, रायमतीको वडामा जस्तै । यिनीहरू आफ्नो योग्यताअनुसार कि सही गर्छन् कि ल्याप्चे लगाउँछन् । ‘यो सिक्ने वेला हो नि मिस’ कलशीले यसो भनिरहँदा मैले यही नै बुझेँ कि उनी गर्ने वेलाको मौका कुरिरहेकी छिन् ।
स्थानीय तहको चुनावमा बुंगल नगरपालिका वडा नम्बर २ बाट महिला सदस्यमा चुनाव जितेर जनप्रतिनिधि भएकी यी ७० वर्षीयाले के गर्नुपर्छ भन्ने मेलो ठम्याउन अझै सकेकी छैनन् । भन्छिन्, ‘मुई सबै गाउँल्यान दिदीबहिनीको नेता हुँ पुई, मुईसित जिम्मेवारीलै छ ।’
आरनमा आँसीको धार लाउँदालाउँदै गाउँमा चुनावी चहलपल देखेपछि बुंगल नगरपालिका वडा नम्बर १ कि ३५ वर्षीया सम्झना विकलाई आफ्नै जिन्दगीको पाइन धारिलो बनाउन मन लाग्यो । दलित महिला सदस्यका लागि टिकट दिन पार्टीका मान्छेहरू आरनमै आइपुगे, अचानक उनको हातको पानी चल्यो । त्यसपछि उनलाई लाग्यो, राजनीति काइदाको चिज रहेछ । आफूले भोगिरहेको जातीय विभेदबाट मुक्ति पाउन पनि चुनाव त लड्नैपर्ने देखिन् उनले । तर, चुनावपछिको अवस्था उस्तै रहेन । बाहिरखेर सँगसँगै भए पनि कहिलेकसो सहकर्मीको घरमा जाँदा उनी अछुत नै हुन्छिन्, पिँढीमै बसेर खान्छिन्, खाएको भाँडा पखाल्छिन् र छुट्टै राखेर फर्किन्छिन् ।
सम्झनालाई यस्ता विभेद बिर्सिन मन लाग्छ, तर सक्दिनन् । उनले मसँग भनेकी छिन्, ‘एक दिन म वडाध्यक्ष हुन्छु र हामीले छोएको पानी सबैतिर चल्न सक्ने बनाउँछु ।’ मुसुक्क मुस्काउँछ कालंगा । भन्दो हो– ‘भाँडोमा कैद गरेको दुई मुठी पानीलाई वर्ग विभाजनको आधार मान्छ मान्छे ।’ चुनावताकाको ऋण तिर्न नसकेर फिटिफिटि पर्नेमध्ये यी पनि एक सदस्य हुन् । तथापि यिनको अनुहारमा विश्वासको गुलाब यसरी फक्रिएको छ कि यी आरानको रापतापभन्दा राजनीतिको रापतापमा रमाएकी छिन् । मलाई विश्वास छ, सम्झना अर्काे चुनावमा वडाध्यक्ष बन्नेछिन् । मलाई साँच्चै विश्वास छ, स्थानीय तहको चुनावले जन्माएकी यी ‘नेतिनी’ को यात्रा साँच्चिकै लामो छ, सायद कर्णालीजत्तिकै ।
जिन्दगीको एउटा च्याप्टर आममहिलाका रूपमा बिताएका यी तीन जनप्रतिनिधि लगभग उस्तैउस्तै परिस्थितिबाट गुज्रिएका छन् । केही गर्नुपर्छ भन्ने लागेको छ, तर ठ्याक्कै के गर्ने हो भन्ने अन्योल छ । गुनासो गर्न आउने मतदाता र आफ्नो गुनासो नसुन्ने वडा र नगरपालिकाका गण्यमान्नबीचको सन्तुलन कायम गर्न हम्मेहम्मे परेको छ । तर, यिनीहरूले एउटा इतिहास लेखिसकेका छन् । यी संघीय नेपालका पहिलो जनप्रतिनिधि हुन् । यी निष्कलंक छन्, निष्कपट छन् । साँच्चै हो, यस्ता जनप्रतिनिधिको मतदाता बन्न पाउन त भाग्यमा लेखिनुपर्छ । अनि पो गर्व गर्न पाइन्छ– सदुरका चेलाचेलीले झैँ भनेर ‘इजा लै नेता भै ।’