सफलता चाहनेले बुझ्नैपर्ने चक्र विज्ञान

रामचन्द्र शर्मा रामचन्द्र शर्मा
शनिबार, २६ फागुन, २०८०
डिजिटल संस्करण

आगामी चैत १७ देखि २३ सम्म भगवान् बुद्धको जन्मथलो लुम्बिनीमा जीवन विज्ञान संस्थाले विराट चक्रविज्ञान कार्यक्रमको आयोजना गर्दै छ । कार्यक्रमको मूल नारा हो ‘बुद्धको ज्ञान लुम्बिनीमा ध्यान’ । ऊर्जा ध्यानको पहिलो अन्तर्राष्ट्रिय गन्तव्यस्थलको रूपमा नेपाललाई विकसित गराउने कार्यक्रमको उद्देश्य हो । भगवान् बुद्धले शान्ति बाँडेझैँ हरेक नेपालीले विश्वलाई आनन्द बाँड्ने अवसर सिर्जना गर्न विश्वकै ध्यान नेपालतिर आकर्षित गर्ने लक्ष्य रहेको सो कार्यक्रममा विश्वमै पहिलोपटक पाँच हजारजनाको समूहले एकैसाथ एकै ठाउँमा ऊर्जा ध्यान गर्दै छन् । 


यस संस्थाले विराट चक्रविज्ञानको कार्यक्रम आयोजना गरेपछि अहिले देशैभरि चर्चाको विषय बनिरहेको छ– चक्र विज्ञान । जीवन विज्ञानका हजारौँ प्रशिक्षक र लाखौँ साधक गाउँ र टोलमा पुगी सो कार्यक्रमको प्रचार–प्रसारमा उत्साहका साथ खटेकाले स्वदेश तथा विदेशमा समेत सकारात्मक तरंग उत्पन्न गरेको छ ।

महान् लक्ष्यले व्यक्ति वा संस्थालाई क्षमतावान् बन्न उत्साही र क्रियाशील गराउँछ भन्ने कुरा जीवन विज्ञान संस्थाले यतिवेला व्यवहारमा उतारेको छ । त्यसकारण, चक्रविज्ञानले मानिसको जीवनमा पार्ने प्रभाव र विराट चक्रविज्ञानको आयोजना गर्नुको कारण बुझ्नु आजको आवश्यकता हो । थोरै साधना गरेर मानिसमा भएको अथाह क्षमता जगाउने विधि र कार्यक्रमको नाम हो चक्रविज्ञान । ऋषिमुनिहरूले लामो अनुसन्धान गरेर मानव शरीरमा रहेका मुख्य सात शक्तिकेन्द्र वा गुण पत्ता लगाएका हुन् । तिनै शक्तिकेन्द्र वा गुणलाई योगले चक्र भन्दछ ।

मेरुदण्डको तल्लो भाग पहिलो मूलाधार चक्र हो । यसले मानिसभित्रको चेतना, होस र सजगता बढाउँदै आफ्नो काम आफैँले खुसी हुँदै ध्यानपूर्वक गराउन सक्रिय गराउँछ । जीवन आधारकै रूपमा रहेको यो चक्र बिग्रिएमा आलस्यमा डुबाउँदै जीवन प्रगति शून्य हुन्छ । नाभी क्षेत्रभन्दा चार अंगुल तल रहेको स्वादिष्टान चक्र दोस्रो हो । यसले हरेक अंगको सेन्सर गर्छ । सारा कामको व्यवस्थापन गर्ने मनलाई शान्त र व्यवस्थित गराउँदै गरिने काममा सुख अनुभव गराउँछ । सांसारिक बाहिरी विषयमा भन्दा आफूभित्रै सुखको कारखाना रहेको अनुभूति दिलाउँछ । यो चक्र बिग्रिएमा खाना मीठो नहुने र डिप्रेसनमा समेत लान्छ ।

शरीरको तेस्रो शक्तिकेन्द्र हो नाभी क्षेत्रको मणिपुर चक्र । यो मानिसको आत्मविश्वासको केन्द्र हो । यसले जीवनका मूल विषयमा स्पष्ट लक्ष्य र लक्ष्यअनुसारको योजना बनाएर काम गर्ने साहस दिन्छ । सबै डर, चिन्ता र असुरक्षालाई जितेर आफूभित्रको पूरै ऊर्जा प्रकट गराउँदै जीवन व्यवस्थित र विकसित बनाउँछ । यो चक्र बिग्रिएको मान्छेको कुनै लक्ष्य, काम गर्ने साहस र हिम्मत हुँदैन । हृदय क्षेत्रको अनाहद चक्र पाँचौँ शक्तिकेन्द्र हो शरीरको । यसले म सबैको हुँ, सबै मेरा हुन् भन्ने शुद्ध भावनाको विकास गरी समूहमा मिलेर काम गर्ने क्षमता बढाउँदछ ।

सम्बन्ध सुदृढ गर्न प्राथमिकता दिँदै प्रेमिल बनाउने यो अनाहद चक्र बिग्रिएमा भाव शक्तिको सन्तुलन गुम्न पुगी ठुल्ठूला व्यवहार बिग्रिन्छन् । शरीरको पाँचौँ शक्तिकेन्द्र हो घाँटी क्षेत्रको विशुद्धी चक्र । यसले नराम्रा घटनाबाट पनि जीवन विकासका आधार खोज्ने बौद्धिक क्षमता बढाउँदछ । हरेक विषयमा आफ्नो मौलिक विचार निर्माण गर्दै प्रत्येक कर्म सिर्जनशील ढंगले गराउँछ । ससाना सफलतामा खुसी हुनु, वाणीलाई सम्मानजनक, सकारात्मक र सभ्य बनाउँछ । यो चक्र बिग्रिएमा अज्ञानी भई जीवन असफल हुन्छ ।

दुवै आँखाबीचको टीका लगाउने निधारको भागमा रहेको आज्ञाचक्र शरीरको छैटौँ शक्तिकेन्द्र हो । यो चक्रले सही समयमा सही निर्णय गर्न सक्ने र काम पूरा गर्ने अठोट र संकल्पशक्ति बढाउँछ । अरूका लागि उपयोगी हुने सामथ्र्य र प्रतिस्पर्धी क्षमताको विकास गर्छ । यो सहश्रार चक्रसँग मिलेर सबै चक्रको शक्ति संयोजन गर्दछ । यो चक्र बिग्रिएमा सबै काम अधुरा रहन्छन् । शिरको माथिल्लो भागमा रहेको सातौँ सहश्रार चक्रलाई परमात्माको चक्र पनि भनिन्छ । यसले शान्ति प्राप्ति र परमात्मासँग साक्षात्कार गराउँदछ । जीवनमा आजसम्म घटेका घटना जस्ताको तस्तै स्विकार्ने बन्न खोजेका कुरामा पुरुषार्थ प्राप्ति गराई जति वेला पनि खुसी मात्र बनाइदिन्छ ।

तनाव स्वीकार गर्दा मात्र सहश्रार चक्र सक्रिय हुन्छ । सहश्रार चक्र मात्र साक्षी हो, कर्ममा सामेल हुँदैन र सुख–दुःख बोक्दैन । मानव शरीरमा रहेका यी सातैवटा चक्र जगाउन ऋषिमुनिहरूले लामो अभ्यासमूलक अनुसन्धान गरेर प्रत्येक चक्रको आ–आफ्ना स्वर र मन्त्रहरू पत्ता लगाएका छन् । जसअनुसार मूलाधार चक्रको स्वर सार मन्त्र लम, स्वादिष्टान चक्रको स्वर रे र मन्त्र वम, मणिपुर चक्रको स्वर ग र मन्त्र रम, अनाहद चक्रको स्वर म र मन्त्र यम, विशुद्धी चक्रको स्वर प र मन्त्र हम, आज्ञाचक्रको स्वर ध र मन्त्र उ, सहश्रार चक्रको स्वर नि र मन्त्र ओम हो । त्यस्तै, हरेक चक्रका आ–आफ्नै स्वभाव छन् । संक्षेपमा भन्नुपर्दा मूलाधार सक्रिय हुनेको ससुराली जाँदा पनि कामै गर्ने, ज्वाइँलाई पनि काम लगाउने श्रमप्रधान र मीठो–नमीठो मतलब नगर्ने टन्न खाने स्वभाव हुन्छ ।

बरु भोकै बस्ने नमीठो नखाने मिठाउरे र चिटिक्क मिलेको पहिरन, सामान मिलाएर राख्ने सुन्दरतावादी स्वभाव हुन्छ स्वादिष्टान सक्रिय हुनेको । मणिपुर चक्र सक्रिय हुनेको भिडसँग एक्लै भिड्ने साहसी स्वभाव हुन्छ । अनाहद चक्र सक्रिय हुनेको अरूलाई परेको समस्या हेरेर नबस्ने, अरूको घरमा शुभ वा अशुभ कार्य छ भने आफ्नो घर बिर्सेर सघाउने स्वभाव हुन्छ । विशुद्धी चक्र सक्रिय हुनेको पढ्न–लेख्नमा रुचि र कुरा गरेरै अरूको कल्याण गरेको ठान्ने स्वभाव हुन्छ ।

आज्ञाचक्र सक्रिय हुनेको बोली पक्का, जिद्दी र गलतलाई पनि सद्दे बनाउने स्वभाव हुन्छ । सहश्रार चक्र सक्रिय भएको व्यक्ति दुःखमा पनि नहडबडाउने, जतिवला पनि खुसी रहने र अरूको गालीलाई पनि प्रशंसा मानिदिने स्वभावको हुन्छ
व्यक्तिको जस्तै चक्र देशको पनि हुन्छ । अहिले हाम्रो देशको मूलाधार चक्र बिग्रिएकाले पराधीनताको पराकाष्ठा नाघेको छ । देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य स्थापित गर्दै युवाहरूको बढ्दो विदेश पलायनले स्वादिष्टान चक्र बिग्रिएको देखिएकै छ । गौरवका आयोजनामा देखिएको ढिलासुस्तीले आज्ञाचक्र बिग्रिएको देखिएको हुँदा मातृभूमिको बिग्रँदो अवस्था टुलुटुलु हेरेर नबसी देशको चक्र जगाउन जीवन विज्ञान संस्थाले विराट चक्रविज्ञानको कार्यक्रम आयोजना गरेको कुरा प्रस्टै बुझिन्छ । 


देशको चक्र जगाउन जीवन विज्ञानले दुईवटा रणनीति लिएको देखिन्छ । प्रत्येक व्यक्तिको चक्र जगाएर क्रमशः परिवार, समाज र देशको चक्र जगाउने पहिलो रणनीति हो । किनभने व्यक्ति–व्यक्ति मिलेर मात्र परिवार, समाज र देश बन्ने हो । त्यसैगरी, दोस्रो रणनीति हो, नेपालीलाई समृद्ध बनाई नेपालीलाई विश्वभरि आनन्द बाँड्न सक्षम बनाउने महान् लक्ष्य र सो लक्ष्य प्राप्तिमा सरिक हुने सबैलाई समान व्यवहार गर्ने नीति । किनभने महान् लक्ष्यले लक्ष्यभित्र समेटिनेहरूलाई स्वतः उत्साहित र क्रियाशील गराउँछ र समान व्यवहारले लक्ष्यप्रति सबैको अपनत्व सुनिश्चित गर्दै काम गर्ने ऊर्जा र कामको गति बढाई लक्ष्य प्राप्तिमा सहजता प्रदान गर्दछ 


अन्त्यमा, चक्रसम्बन्धी ज्ञान जति बढाए पनि साधना नगर्ने हो भने त्यो ज्ञानको कुनै अर्थ रहँदैन । जुनसुकै कर्म गर्नमा सबै चक्रको भूमिका रहने र चक्रको साधनाले सन्तुलन मिलाई व्यक्तिभित्र रहेको प्रतिभा प्रस्फुटित हुने हुँदा चक्र विज्ञानको साधना गर्नैपर्ने हुन्छ । अतः चक्र साधना गरेर व्यक्ति सक्षम हुने र चक्र साधना गरेको सक्षम व्यक्तिलाई मात्र पदीय जिम्मेवारी दिए देश सक्षम र समृद्ध हुन्छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार