नेपालमा विदेशी चिकित्सकको सहयोगविना सफल कलेजो प्रत्यारोपण गर्न नौ वर्ष लाग्यो
गत पुस २७ र माघ २६ मा पहिलोपटक विदेशी चिकित्सकको सहयोगविनै त्रिवि शिक्षण अस्पतालले प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा दुईजनामा सफल कलेजो प्रत्यारोपण गर्यो । शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढी स्वास्थ्यकर्मीले १२ घन्टामा कलेजोको सफल प्रत्यारापण गरे । त्रिवि शिक्षण अस्पतालले यसअघि विदेशी चिकित्सकको सहयोगमा १० वटा बिरामीमा कलेजो प्रत्यारोपण गरेको थियो । त्रिविमा भारतको एपोलो अस्पतालका कलेजो प्रत्यारोपण विशेषज्ञसहितको टोलीले २०७६ जेठ १७ गते पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो । यसपछिका शल्यक्रियामा भारतकै फोर्टिस अस्पतालका विज्ञले सहयोग गरेका थिए । उनै डाक्टर भण्डारीले कलेजो प्रत्यारोपण गर्दाका अनुभूति मञ्जु टेलरलाई सुनाएका छन् :
नौ वर्षको मिहिनेतले दिलाएको सफलता
त्रिविमा पहिलोपटक सन् २०१९ मा कलेजो प्रत्यारोपण गरिए पनि २०१५ जनवरीदेखि नै मैले कलेजो प्रत्यारोपणको तयारी थालेको थिएँ । २०१४ मा अस्ट्रेलियाको मेलबर्नबाट कलेजो प्रत्यारोपणको तालिम लिएर फर्केपछि शिक्षण अस्पतालमा तयारी थालेको थिएँ । अस्पतालमा कलेजो प्रत्यारोपणका लागि चाहिने उपकरण, चिकित्सक र अन्य स्वास्थ्यकर्मी जुटाउन चार वर्ष लाग्यो । यो अवधिमा शल्यक्रियाका लागि उपयुक्त अप्रेसन थिएटर र उपकरणका लागि बजेट ल्याउन कलेजो प्रत्यारोपण, दाता र बिरामी निको हुने अवधिभर आवश्यक पर्ने कम्तीमा ५० देखि ६० जना स्वास्थ्यकर्मीको टिम बन्यो ।
आठदेखि १० वटा शल्यक्रियापश्चात् विदेशी विशेषज्ञ चिकित्सकको सहयोगविनै प्रत्यारोपण गर्ने तयारी थियो । त्यहीअनुसार योजना बनाएर अघि बढेका हौँ । सधैँ अन्य चिकित्सकको सहयोगबाट नेपालमा सबै बिरामीलाई सेवा दिन सकिँदैन, हामी आफैँ तयार हुनु आवश्यक थियो । यो तयारीका लागि आठदेखि नौवटा शल्यक्रियामा विशेषज्ञ चिकित्सकको सहयोग काफी थियो ।
विदेशी विशेषज्ञको सहयोगमा भएको अन्तिम प्रत्यारोपणपश्चात् नै हामीले मेरो नेतृत्वमा अर्को प्रत्यारोपणको तयारी गरिरहेका थियौँ, जसका लागि सात महिना लाग्यो । प्रत्यारोपणका लागि नुवाकोटका एक पुरुषको स्वास्थ्य परीक्षणपश्चात् शल्यक्रियाको तयारी थालियो । शल्यक्रियाका लागि सबै स्वास्थ्य परीक्षणमा अनुकूल देखिएपछि बिरामीको श्रीमतीबाट कलेजो लिएर प्रत्यारोपण गरिएको थियो ।
शल्यक्रिया मात्रै गरेर पुग्दैन, बिरामी निको भएर घर पठाउन सके मात्रै प्रत्यारोपण सफल हुन्छ । शल्यक्रियाको समयमा जटिलता खासै देखिएनन् । तर, बिरामीलाई शल्यक्रियापश्चात् आइसियूमा राखिने अवधिमा भने केही जटिलता देखिए । कलेजो दातालाई भने १० दिनमा डिस्चार्ज गरीयो, बिरामी पनि तीन हप्तामा पूर्ण रूपमा निको भएपछि डिस्चार्ज गरियो ।
नेपालमा पनि कलेजो प्रत्यारोपण गर्न सकिन्छ र भन्ने आमधारणा थियो, प्रत्यारोपण सुरु गरेपछि पनि आफैँले गर्न सकिएला र भन्ने शंका थियो । तर, बिस्तारै शल्यक्रिया सफल हुँदै गएपछि अस्पतालमा उपलब्ध जनशक्ति र उपकरणको आधारमा आफैँ गर्न सकिन्छ भन्ने आत्मविश्वास भयो । नेपालमा विदेशी चिकित्सकको सहयोगविना सफल कलेजो प्रत्यारोपण गर्न हामीलाई नौ वर्ष लाग्यो ।
१३ घन्टासम्मको शल्यक्रिया

शल्यक्रियामा सहभागी अन्य चिकित्सक र स्वास्थ्यकर्मीमा पहिले र अहिलेको शल्यक्रियामा फरक अनुभव थिएन । तर, मेरो नेतृत्वमा शल्यक्रिया भइरहेको भएर मलाई भने यसको ‘आउटकम’ कस्तो हुने हो भन्ने डर थियो । शल्यक्रियापश्चात् बिरामी र दाताको स्वास्थ्य अवस्थालाई लिएर मलाई डर लागिरहेको थियो । दोस्रो व्यक्तिको शल्यक्रिया गर्दा केही आत्मविश्वास भए पनि ‘आउटकम’बारे सोच्दा डर लाग्ने रहेछ । शल्यक्रिया सफल भएन भने आममानिसमा गलत म्यासेज जान्छ कि, प्रत्यारोपणका लागि बिरामीले विश्वास गर्दैनन् कि भन्ने डर मनमा लागिरहेको थियो । तर, हामीले आफ्नो तर्फबाट पूर्ण तयारी गर्यौँ ।
कतिन्जेल अर्काको सहयोगमा मात्रै प्रत्यारोपण गर्ने भन्ने विषय पनि थियो । १० वटा प्रत्यारोपणपश्चात् हामीले आफैँ गर्न सक्छौँ भन्ने विश्वास आइसकेपछि सधैँ डिपेन्डेन्ट भएर पनि काम थिएन । साथै शल्यक्रियाका लागि हामी पूर्ण तयारीमा रहेकाले समेत आफैँ प्रत्यारोपण गर्ने विश्वास बढेको थियो । तर, टिमवर्कबाट मात्र यो सम्भव भएको हो ।
टिमवर्कको उपयुक्त उदाहरणको रूपमा कलेजो प्रत्यारोपणलाई दिइने गरिन्छ । अस्पतालमा एउटा कलेजो प्रत्यारोपण सफल बनाउन ५० देखि ६० जनासम्म स्वास्थ्यकर्मी एकै समयमा सक्रिय रहनुपर्यो । मसँग १६ जना सर्जिकल टिम छ । तीनदेखि चारजना एनेस्थेसियाका चिकित्सक एकैपटक काम गरिरहेका हुन्छन् । दुईदेखि तीनजना हेपाटोलोजीका चिकित्सक, आइसियूका लागि आठदेखि १० जना, अन्य तीनदेखि चारजना रेडियोलोजिस्टहरूको टिमले प्रत्यारोपणमा प्रत्यक्ष काम गरिरहेको छ, जुन मुख्य टिमभित्र पर्छ । यसबाहेक बिरामीको स्वास्थ्य अवस्थाअनुसार कार्डियोलोजिस्ट, छातीसम्बन्धी समस्याका लागि चिकित्सक आदिलगायत गरी चिकित्सकहरू मात्रै प्रत्यारोपणको समयमा ४० जना संलग्न हुन्छन् । यसबाहेक शल्यक्रियादेखि बिरामी डिस्चार्ज हुँदासम्म नर्स र अन्य स्वास्थ्यकर्मी गरी प्रत्यारोपण सफल बनाउन ५० भन्दा बढी स्वास्थ्यकर्मी सहभागी हुन्छन् ।
सामान्यतया कलेजो दातालाई दुई दिनसम्म आइसियूमा राखेर नर्मल वार्डमा सारिन्छ, त्यसपछि १० दिनको अन्तरालमा डिस्चार्ज गरिन्छ । यस्तै बिरामीलाई भने एक हप्तासम्म आइसियूमा राखेर त्यसपश्चात् प्रत्यारोपणका लागि छुट्याइएको वार्डमा सारिन्छ । अन्य संक्रमणबाट बचाउन सामन्यतया बिरामीलाई छुट्टै वार्डमा राख्ने गरिन्छ । बिरामीको स्वास्थ्य अवस्था सुधार आएपछि दुईदेखि तीन हप्तामा डिस्चार्ज गरिन्छ, तर वर्षाैंसम्म नियमित फलोअपमा बस्नुपर्ने हुन्छ ।
बिरामीलाई अन्य औषधिका साथै एन्टी रिजेक्सन औषधि दिइने गरिन्छ, प्रत्यारोपण गरिएको कलेजो शरीरले रिजेक्सन नगरोस् भन्नका लागि यो औषधि दिइन्छ । तर, जीवनभर प्रयोगमा ल्याउनुपर्ने यो औषधिले शरीरको प्रतिरोधी क्षमता कम गर्छ । त्यसैले प्रत्यारोपण गरेका बिरामीले संक्रमणबाट बच्न विशेष ख्याल राख्नुपर्ने सल्लाह दिन्छौँ ।
कलेजो प्रत्यारोपणले जुराएको पूर्वाधार
कलेजो प्रत्यारोपणका लागि गरिएको तयारीले प्रत्यारोपण मात्रै नभएर कलेजोका अन्य जटिल शल्यक्रियाका लागि समेत सहज बनाएको छ । प्रत्यारोपणका लागि छुट्याइएको अप्रेसन थिएटरदेखि उपकरण र जनशक्तिले कलेजोका अन्य जटिल खालका समस्याको समाधान पनि निकालेको छ । हाल प्रत्येक महिना कलेजोका दुईदेखि तीनवटासम्म जटिल शल्यक्रिया गरिरहेको छु । साथै अन्य शल्यक्रिया नियमित भइरहेका छन् । प्रत्यारोपणका लागि सिकेका ज्ञान, सीपले अन्य शल्यक्रिया र उपचारमा पनि सहयोेग भइरहेको छ । जुन अनुभवले प्रत्यारोेपणमा पनि आत्मविश्वास बढिरहेको छ ।
प्रत्यारोपणको तयारीका लागि बिताइएको चार वर्ष र सुरु गरेपश्चात्को पाँच वर्षमा गरिएका १० वटा शल्यक्रियाले मात्रै आफैँ प्रत्यारोपण गर्ने आत्मविश्वास दिलाएको होइन । प्रत्येक साना–ठूला कलेजोका शल्यक्रिया र त्यसमा चिकित्सकहरूसँगको समीक्षा, छलफल, तालिमलगायतले आजको अवस्थामा पुर्याएको हो ।
मासिक एकजनामा प्रत्यारोपण गर्ने लक्ष्य
नेपालमा सरकारी अस्पतालमा कम खर्चमा प्रत्यारोपण नियमित गराउन सके धेरै बिरामीले सहज सेवा लिन सक्छन् । किनभने भारतमा समेत सरकारी अस्पतालमा नियमित सेवा भइरहेका छैनन्, निजी अस्पतालमा प्रत्यारोपणका लागि करोडौँ पैसा खर्च गर्नुपर्ने बाध्यता छ । तर, प्रत्यारोपण सेवा सुरु गरिसकेपछि पनि वर्षमा दुइटा मात्रै प्रत्यारोपण भए । अस्पतालमा हाल उपलब्ध उपकरण, जनशक्तिबाट प्रत्येक महिना एकजनामा कलेजो प्रत्यारोपण गर्ने लक्ष्य राखिए पनि पछिल्लो पाँच वर्षमा १० वटा मात्रै प्रत्यारोपण गरिएका हुन् ।
पछिल्लो दुई वर्ष कोभिड महामारीका कारण काम अघि बढ्न सकेन । प्रत्यारोपण सेवा सुरु भइसकेपश्चात् पनि नेपालमै कम खर्चमा प्रत्यारोपण गर्न सकिन्छ भन्ने विषयमा आममानिसमा अझै जानकारी नहुँदा नियमित हुन नसकेको हो । यस्तै, नेपालका चिकित्सकमाथि विश्वास नहुँदासमेत अधिकांश बिरामी भारत गइरहेका छन् । अब, नेपाली चिकित्सकले नै शल्यक्रिया गर्न थालेपछि आममानिसले सेवा लिन सक्छन् । तर, हामीसँग भएका जनशक्ति र पूर्वाधारको आधारमा अहिले प्रत्येक महिना एकजनामा कलेजो प्रत्यारोपण गर्न सक्षम भइसकेका छौँ ।