जब बर्ट एलिसन तीव्र निराशाको अनुभव गर्थे, तब उनले खोज्ने पहिलो व्यक्ति उनकी पत्नी होइन, दुई दशकभन्दा लामो अवधिदेखिको घनिष्ठ मित्र डेन ड्रिस्कोल हुन्थे । आफ्नो पिएचडीको पहिलो वर्ष एलिसन बढी नै तनावमा थिए । उनले एक दिन आफ्नी पत्नीलाई आफूले पिएचडी छोड्न चाहेको र त्यसपछि सबै कुुरा ठीक हुने बताए । ड्रिस्कोलले उनलाई पहिले आफ्नो ख्याल राख्न र वैवाहिक जीवनका तनावलाई कम गर्न सुझाए ।
‘मैले मेरो विवाहको दिन मेरी श्रीमती ड्यानसँग कुनै कसम खाएको त होइन,’ एलिसनले मलाई भने, ‘तर मलाई लाग्छ, म मेरो प्रतिज्ञापालन गर्न सक्षम छु, अझ पूर्ण रूपमा । किनभने म मेरी श्रीमतीजीसँग कुनै प्रतिज्ञा गर्नुअघि त्यसबारे मेरा अनन्य मित्रसँग सरसल्लाह गर्ने गर्छु ।’
एलिसन र ड्रिस्कोलको तरिका (विधि)लाई अनुसन्धानले पनि पुष्टि गरेको छ । विवाहित व्यक्तिमा स्ट्रेस हर्माेन ‘कोर्टिसोल’को मापन गरिएको एक अध्ययनले साथीसंगी वा अन्यको सामाजिक समर्थन प्रणालीबाट सन्तुष्ट दम्पतीहरूले (सन्तुष्ट नहुनेको तुलनामा) वैवाहिक जीवनको नियमित विवादबाट कम शारीरिक तनाव अनुभव गर्ने गरेको पायो । आर्थिक वा वित्तीय क्षेत्रमा जस्तै हामीले हाम्रो सामाजिक जीवनमा पनि आफ्नो ‘पोर्टफोलियो’ विविधीकरण गर्नु बुद्धिमानी हुन्छ ।
मैले मित्रता वा सामाजिक जीवनको पोर्टफोलियोबाट आफ्नो जीवनमा यस्ता कैयौँ लाभ प्राप्त गरेको छु । हामी अर्थात् म र मेरा पतिले हाम्रा दुई घनिष्ठ मित्र र तिनका दुई बालबच्चासँग निवासस्थल साझा गरेका छौँ । हाम्रा मित्रको दृष्टिकोण, अभिरुचि र सामाजिक समुदायले मेरो र मेरा पतिको जीवनलाई पूर्ण र गतिशील बनाएका छन् । साथीसँग निवासस्थलको साझेदारीले मलाई मेरा पतिका विभिन्न आयाम पत्ता लगाउने अवसर पनि सिर्जना गरिदिएको छ । एक दिन दिउँसो मैले उनलाई बैठक कोठाको भुइँमा निमग्न भएर हाम्रा मित्रको भर्खरै हिँड्न थालेको सानो बच्चासँग खेलिरहेको देखेँ, जो बारम्बार मार्करको बिर्काे खोल्ने र बन्द गर्ने गरिरहेको थियो । यो सानो बच्चाले कसरी कुराहरू सिकिरहेको छ भनेर मेरा श्रीमान् एकदमै रोमाञ्चित भएका थिए । त्यस क्षण मैले उनको धैर्य र सचेततालाई चिन्न पाए ।
समाजशास्त्रीहरूले अविवाहित व्यक्तिहरूको तुलनामा विवाहित व्यक्तिका छरछिमेकी, नातेदार र साथीभाइसँगको सम्बन्ध कमजोर हुने गरेको पाएका छन् । हामी चाहिनेभन्दा धेरै अपेक्षा गरेर रोमान्टिक सम्बन्धलाई कमजोर बनाउँछौँ । यसैगरी, अति कम अपेक्षा गरेर मित्रतालाई कमजोर बनाउँछौँ ।
म हाम्रो यो सेटअपको माध्यमबाट, एउटा आदर्श वैवाहिक जीवन कस्तो हुनुपर्छ वा विवाहबाट म के चाहन्छु भन्नेबारे स्पष्ट भएको छु । आदर्श विवाह त्यो होइन, जसमा मेरा पति र म एकान्तमा एक–अर्काको आँखामा हेर्दै हराउँछौँ । अक्सर प्रेमीहरू यसरी नै चित्रित गरिन्छन् । बरु, हामीलाई मन पराउने मानिसहरूको समुदायमा हाम्रो वैवाहिक जीवनको जरा गाडिएको होस् । मचाहिँ यस्तो दाम्पत्य जीवन चाहन्छु ।
यो कुरा प्राचीन रोमनहरूले राम्ररी बुझेका थिए । केही शास्त्रीयहरू (क्लासिसिस्ट) आज विवाहले खेल्नेजस्तै मुख्य भूमिका प्राचीन रोमन समाजमा मित्रताले खेल्ने गरेको तर्क गर्छन् । एक रोमनले आफ्नो अनन्य मित्रलाई ‘मेरो आधा प्राण’ वा ‘मेरो जीवनको महत्वपूर्ण अंश’जस्ता अहिले दम्पतीलाई मात्र प्रयोग गरिने शब्दहरूमा अभिव्यक्त गथ्र्याे । बैजान्तियन साम्राज्यमा, पुरुष साथीहरूको जोडी (जो, केही अवस्थामा, प्रेमी पनि हुन सक्छन्) चर्च प्रवेश गर्थे र धार्मिक रूपमा दाजुभाइमा परिणत हुन्थे, जीवनभरका लागि एक हुन्थे । केही त चिहानमा पनि सँगै गाडिन्थे ।
मान्यताहरू परिवर्तन भएसँगै कुनै समय मित्रले लिने स्थान र खेल्ने भूमिका पति वा पत्नीले लिए । भिक्टोरियन युगको रोमान्टिक प्रेमप्रतिको बढ्दो जोडबलले युवायुवतीलाई विवाहबाट अझ बढी अपेक्षा गर्न अभिप्रेरित ग¥यो । दाम्पत्यबाट व्यावहारिक लाभ मात्र होइन, गहिरो सम्बन्ध र संगतिको पनि अपेक्षा गर्न लगायो । त्यसयता वैवाहिक सम्बन्धका अपेक्षा बढ्दै गए । माइकल बुब्लेको गीतले तपाईंको जीवनसाथी (रोमान्टिक मित्र)लाई ‘तपाईंको विश्वासपात्र, प्रियतम र अनन्य मित्र’ भन्छ, उसरी नै अहिले चलचित्र, गीत र पुस्तकहरूले समेत हामीलाई तपाईंको दम्पती नै तपाईंको सबैभन्दा ठूलो प्रेम मात्र होइन, तपाईंको ‘सबै थोक हुनुपर्छ’ भन्छन् ।
यस प्रकारको दृष्टिकोण कति हानिकारक हुन सक्छ भन्ने कुरा हामीले अहिले मात्र बुझेको चाहिँ होइन समाजशास्त्रीहरूले अविवाहित व्यक्तिहरूको तुलनामा विवाहित व्यक्तिका छरछिमेकी, नातेदार र साथीभाइसँगको सम्बन्ध कमजोर हुने गरेको पाएका छन् । हामी चाहिनेभन्दा धेरै अपेक्षा गरेर रोमान्टिक सम्बन्धलाई कमजोर बनाउँछौँ, यसैगरी अति कम अपेक्षा गरेर मित्रतालाई कमजोर बनाउँछौँ ।
यद्यपि, यसलाई ठीक गर्ने एउटा तरिका छ । तपाईं एउटा साधारण रेखाचित्र खिचेर यो अभ्यास सुरु गर्नुहोस् । कागजको एउटा टुक्रा लिनुहोस् । कागजको बीचमा आफ्नो नाम लेख्नुहोस् र आफ्नो जीवनका सबैभन्दा महत्वपूर्ण व्यक्तिलाई जनाउने सर्कलहरू खिच्दै जानुहोस् । अनन्य मित्र वा रोमान्टिक मित्रजस्ता घनिष्ठ सम्बन्धहरूको सर्कल तपाईंको नामको नजिक बस्नुपर्छ, अनि तपाईंको जीवनमा ठूलो स्थान लिने सम्बन्धहरूको सर्कल ठूलो हुनुपर्छ । यदि तपाईंले रोमान्टिक साथीका लागि निकै ठूलो सर्कल र अलि परचाहिँ मित्रहरूको स्थान जनाउने साना घेरा बनाउनुभयो भने यसको अर्थ तपाईंको जीवनमा रोमान्टिक सम्बन्धले धेरै महत्व पाएको छ भन्ने हुन्छ ।
तपाईं आफ्ना साथीसँग नियमित भेटघाटको दिनचर्या बसाल्नेबारे सोचविचार गर्नुहोस् । म र मेरा घनिष्ठ मित्रले पाक्षिकहरूमा उनको सानो नानी सुतेपछि उनको घरमा भलाकुसारी गर्ने गरेका छौँ । मैले चिनेका घनिष्ठ मित्रको एक जोडीले चाहिँ शुक्रबारको बिहानीलाई कफी र कुराकानीका लागि समर्पित गरेका छन् । उनीहरू अहिले यसलाई एक पवित्र अनुष्ठान ठान्छन् ।
अति मिल्ने साथीसँगको मित्रताले तपाईंको रोमान्टिक सम्बन्धलाई पनि थप समृद्ध बनाउँछ । निःसन्देह, मित्रताले गहिरो अर्थ र सम्बन्ध प्रदान गर्ने भएकाले त्यो आफैँमा साध्य पनि हो । यिनले हामीले आकलन गरेभन्दा कता हो कता गहन अर्थ र सम्बन्ध प्रदान गर्न सक्छन् । जीवनमा साथीहरूलाई प्राथमिकता दिँदा मित्रता र रोमान्टिक (वैवाहिक सम्बन्ध) दुवै प्रकारका सम्बन्ध थप सन्तोषजनक हुन पुग्छन् । यसर्थ, तपाईंले रोमान्टिक पार्टनरसँगको समयको स्वाद लिँदै गर्दा आफ्ना मित्रहरूसँग पनि समय बिताउने गर्नुहोला ।
(कोहेन ‘द अदर सिग्निफिकेन्ट अदर्श : रिइम्याजिनिङ लाइफ विथ फ्रेन्डसिप एट द सेन्ट’ पुस्तककी लेखिका हुन् । द न्युयोर्क टाइम्स’बाट नारायण शिवाकोटीको अनुवाद ।)