ऊर्जा ध्यान समृद्धिको वरदान

रामचन्द्र शर्मा रामचन्द्र शर्मा
शनिबार, १२ फागुन, २०८०
डिजिटल संस्करण

‘हजार चिरा परेको मन ध्यानले सिलाएँ
बाहिर–भित्र भत्केको जीवन प्रेमले मिलाएँ


यो गीतका शब्दहरूले हरेक मानिसमा रहेका बीजरूपी गुणबाट वृक्षरूपी प्रेमपूर्ण जीवनमा आनन्दको फूल फुलाउन जरारूपी ध्यानको महत्वबोध गराउँछ । मानिसले धारण गरेको सत्यता, स्वाध्याय, अहंकारिताको समष्टि रूप सत्यम, क्षमाशिलता सर्वकल्याण भाव, सेवाभावको समष्टि रूप शिवम् र मधुर वाणी, लक्ष्यसँग एकाकार, मुमुक्षाको समष्टि रूप सुन्दरम्को पालना गर्नुपर्ने मानवीय धर्म हो । त्यसको निर्वाह नगरी पाखण्डी पूजा गराई दक्षिणा आर्जनमा मानवीय धर्मको दुरुपयोग भएको र मूल्य–मान्यतामा आधारित निष्ठाको राजनीति गरी लोकतान्त्रिक गणतन्त्र फलाइफुलाइ राजनीतिक परिवर्तन गर्दाका अवस्थामा रगत बगाई पीडामा रहेकाको घाउमा समृद्धिको मलम लगाई राजनीतिक धर्मनिर्वाह गर्नुपर्ने  जनप्रतिनिधि, कर्मचारी र राजनीतिकर्मीले आफ्नो कर्तव्य पूरा नगरिदिँदा नेपालीहरूको चर्केको घाउ र फाटेको मन ऊर्जा ध्यानले मात्र भर्न सक्छ ।


मानवजीवनको कुनै निश्चित अर्थ वा परिभाषा छैन । त्यसैले जीवनलाई जस्तो बनाउन चाह्यो, उस्तै हुन्छ भनिएको हो । मानिसको जीवन शुद्ध काँचो माटो हो, जुनसुकै आकार दिन ऊ स्वतन्त्र छ । तर, एउटा आकार लिएपछि त्यो परिवर्तन गर्न कठिन हुन्छ । र पनि, ऊर्जा ध्यानको साधनाले जीवनको त्यो आकार परिवर्तन गर्न सम्भव छ, हुन्छ । 

‘बुद्धको ज्ञान लुम्बिनीमा ध्यान’ भन्ने मूल नाराका साथ एकैपटक एकै ठाउँमा पाँच हजारजनालाई सामूहिक ऊर्जा ध्यान गराएर गिनिज बुकमा नाम लेखाउने योजना छ ।


ध्यान जीवन हो । सजगता र चेतना नै ध्यान हो । अर्थात्, मानिसमा भएको थाहा पाउने क्षमता, जसलाई चेतना भनिन्छ, त्यो नै ध्यान हो । त्यो चेतना वा सजगता कुनै एक विषय वा घटनामा टिकाइराख्नु ध्यान गर्नु हो । त्यो चेतना नै ऊर्जा हो । ध्यान नभए मानिस मुढोसरह हुन्छ । ध्यान जेमा लगायो, त्यही बढ्छ । सकारात्मक कुरामा लगाए, स्वर्ग र नकारात्मकमा लगाए नरकमा पुगिन्छ । स्वर्ग–नर्क अन्त कतै छ भन्नु मिथ्या हो । ऊर्जा ध्यानको साधनाले मन चाहेको ठाउँमा लान सकिन्छ । शरीरभन्दा मन हजार गुणा बलियो हुन्छ । मनभन्दा भाव र भावभन्दा चेतना कैयौँ गुना बढी बलियो हुन्छ । चेतनाले राम्रो–नराम्रो सबै थाहा पाउँछ । गर्ने–गराउने सबै मनले मात्र गर्छ, चेतनाले गर्दैन । नराम्रो आफँै आउँछ, राम्रो ल्याउन प्रयत्न गर्नुपर्छ । ऊर्जा ध्यानको साधनाले मनलाई राम्रोमा टिकाइराख्ने हुँदा मानिसको जीवनमा सुख, शान्ति, समृद्धि आई आनन्दित हुन्छ । ध्यान जोगीले मात्र गर्ने हो भन्ने भ्रम छ समाजमा । त्यो अज्ञानता वा नियतवश गलत धारणा फैलाइएको हो । 


बढ्दो उमेरसँगै गुणहरूमा अतिक्रमण भएर कुरूप हुन्छ जीवन । हरेक प्राणीमा चेतना छ । चेतनाको फैलावट मानिसले मात्र गर्न सक्छ । यही फरकले अन्य प्राणीले आफ्नो मात्र संवेदना थाहा पाउँछ भने जति पनि फैलाउन सक्ने चेतना भएको मानिसले सबैखाले प्राणी, वनस्पति, घटना व्यवहार र परिकल्पित साहित्यको संवेदनासमेत थाहा पाई आफू प्रभावित हुन्छ । आमाबाबु, परिवार, समाज, देश र विदेशको व्यवहार मानिसको चेतना विस्तारका स्रोत हुन् । बालकले आफ्ना गुणमा अतिक्रमण होस् भन्ने चाहना गरेको हुँदैन । बालकप्रति दर्साइने, परिवारका सदस्यबीच गरिने र आफन्त तथा अन्य मानिससँग गरिने व्यवहारले ऊ प्रभावित हुन्छ, अर्थात् उसले थाहा पाई स्मृतिमा बस्छ । 


अर्कोतर्फ राम, कृष्ण र बुद्ध सबै पुरुषार्थ व्यक्ति हुन् । उनीहरूले आफूमा रहेका जन्मसिद्ध गुणहरू मानव कल्याणका निमित्त सदुपयोग गरे । प्रजाका प्रिय युवराज राम बाबु दशरथको आज्ञा पालनका लागि चौध वर्ष वनवासमा कन्दमूल खाएर बिताए । अन्यायी रावणले पत्नी सीताको अपहरण गरेकाले एकातिर पत्नीवियोगमा पनि पत्नीव्रता बनिरहे भने अर्कोतिर शक्तिको उन्मादले होइन, मानवीय कानुनसंगत युद्ध लडी रावणरुपी अन्यायको अन्त गराई संकटको घडीमा पनि नैतिक मूल्यहरूको पालना गरी भगवान् कहलिए । 


रामायण र महाभारत हरेक मानिसले अवलम्बन गर्नुपर्ने जीवनपद्धति हो । दूरदर्शी महर्षिहरूले रोचक बनाउन कथामा प्रस्तुत गरेका मात्र हुन् । लुम्बिनीमा जन्मनुभएको सामान्य मानिस सिद्धार्थ गौतम ध्यानको साधनाले नै विश्वसामु शान्तिका अग्रदूत भगवान् वुद्ध बन्नुभयो । राम र कृष्णले जे गुण लिएर जन्मे, ती गुण हामी सबैसँग छन् । रामले वशिष्ठ, मार्कन्डेय, विश्वामित्र र कृष्णले गर्ग, आचार्य र साण्डिल्यजस्ता विराट् महर्षि गुरूहरूको मलजल पाएर ती बीजरुपी गुणहरू प्रेमको वृक्ष बन्दै आनन्दको फूल फुल्यो । तर, हाम्रो विडम्बना ! सदगुरु त के मानिसभित्रै रहेको अपार खजाना देखाइदिने उत्पादनशील शिक्षा प्रणालीसम्म पनि पाइएको छैन । 


अधुरो शिक्षा प्रणाली र हरक्षेत्रमा मौलाएको राजनीतीकरणले दिन–प्रतिदिन बढ्दो युवा पलायन र उर्वर भूमि बाझिने क्रमले सिर्जिएको देशको भयावह अवस्था हामी सबैले देखे–भोगेकै छौँ । कुनै दल वा नेतृत्वप्रति दोषारोपण नगरी हरेक राजनीतिकर्मीदेखि हामी सर्वसाधारण जनताले समेत आ–आफ्नो भागको जिम्मेवारी स्वयं लिँदै हीनताभाव होइन, जस्ताको तस्तै स्वीकारभावमा आ–आफ्ना ठाउँबाट हामी राम्राबाट सक्दो पहलकदमी नलिने हो भने नराम्रो परिस्थिति रहिरहन्छ ।

 
सो तथ्य आत्मसात् गरी यो पंक्तिकारले चक्र विज्ञान बुझी ऊर्जा ध्यानको साधना गर्दा आफूमा आएको रूपान्तरणको आधारमा स्रोत साधन, जनशक्ति, विज्ञान र प्रविधि सबै भएर पनि विकास नहुनु मात्र होइन, हिजोको आत्मनिर्भर अवस्था पनि गुमाउँदै पराधीनताको ओराली झरिरहेको हाम्रो देशलाई ऊर्जा ध्यानमय बनाए मात्र समृद्धिको उकालोतर्फ तान्न सकिने यथार्थबोध आफूलाई भएकाले सबै राष्ट्रप्रेमी जिम्मेवार पक्षलाई पनि होला कि भन्ने सदासयता मात्र हो यो लेख ।


पहिला राजनीतिप्रति वितृष्णा भरिएको मनमा आज परिवर्तनकारी दल र तिनका शीर्ष नेताले हिजो गरेको कष्ट साधना र लोकतान्त्रिक गणतन्त्रलाई जनताको इच्छा ठानी पूर्वराजाले खुसीराजीले गद्दी छाडेकोप्रति सम्मानभाव आत्मैदेखि आएको छ । विगत र भविष्यमा निरर्थक भौँतारिने मन के गर्दा आफूसँगै समाज देश र मानवजगत्को बृहत् हित होला भनी वर्तमानमा आत्मचिन्तन गरिरहेको छ । हिजो जेमा र जता पनि समस्या देखी तनावग्रस्त भई अरूमा दोष थुपार्दै आलोचनामा जल्ने मन आज जो पनि सहयोगी र जताततै सम्भावनै सम्भावना देख्दै सबैलाई सघाउन पाएहुन्थ्यो भन्ने परिकल्पनामा रमाएको छ । 


जोसँग जे छ, उसले त्यही दिन सक्छ भन्ने भगवान् बुद्धको प्रसिद्ध भनाइ छ । आफूमा जोस, जाँगर, सकारात्मक र सहयोगी भाव भएको व्यक्तिले मात्र त्यो अरूलाई पनि बाँड्न सक्छ । भगवान् कतै छन्, उनैले भाग्य दिने हर्ने गर्छन् भन्ने मिथ्या हो । आत्मा मूल भगवान् र आँखा, कान, नाक, जिब्रो, छाला, मस्तिष्क, स्नायु, हातखुट्टा, देवीदेवता हुन् भन्नेमा यथार्थता छ । ऊर्जा ध्यानको आधार भूमि विज्ञान नै हो । ऊर्जा ध्यानको अभ्यासले मानव शरीरमा चाहिने आवश्यक हर्मोन उत्पादन गर्न र रोग प्रातिरोधी क्षमता बढाएको अनुसन्धानबाट प्रमाणित भएकाले आधुनिक चिकित्सा विज्ञानले पनि उपचार पद्धतिको रूपमा ऊर्जा ध्यानलाई स्वीकार गरिसक्यो । 


सत्य नै बृहत् हित हो । सत्यको कुनै रूप, रंग, आकारप्रकार हुँदैन, केवल अनुभव गर्ने कुरा हो । आज देशको बृहत् हित ओझेलमा परेको तथ्य विभिन्न तह तप्का र पेसाकर्मीले आ–आफ्ना हितको खोजीलाई मात्र प्राथमिकता दिएको उनीहरूको व्यवहारले उजागर गरेको छ । जीवन विज्ञानका विशेषज्ञ सद्गुरुद्वय रमेश र भानुले आफूहरू कुनै सार्वजनिक पदमा नबस्ने र संस्थाबाट निजी प्रयोजनका लागि तलब सुविधा नलिने संकल्प गरी ऊर्जा ध्यानको साधनाबाट आफूहरूले पाएको आनन्द अरूमा बाँड्ने इच्छा र राम्राले केही नगरे नराम्रो रहिरहन्छ भन्ने यथार्थ आत्मसात् गरी संस्थापित गर्नुभएको जीवन विज्ञान संस्था भरपर्दो विकल्प हुन सक्छ । 


नेपाललाई विश्वसामु ऊर्जा ध्यानको तपोभूमिको रूपमा चिनाई सारा नेपाली र विश्वका सबै मानवमा बुद्धले शान्ति बाँडेझँै आनन्द बाँडी नेपालीलाई विश्व मानवको पहिचान दिलाई नवयुग निर्माणको लक्ष्य लिई नेपाली जनजनमा ऊर्जा ध्यान फैलाउँदै वर्षांैदेखि दिनरात खटिई प्रभाव विस्तार गर्दै आइरहेको छ । त्यति मात्र होइन, मानवमा रहेका गुण खोज्नु र खोज्नका लागि सत्यता, स्वाध्याय, निर अहंकारिता, क्षमाशीलता, सर्व कल्याण भाव, सेवाभाव, मधुर वाणी, लक्ष्यसँग एकाकार र मुमुक्षाजस्ता दिव्य नवव्रत पालना गर्नु मानवीय धर्म हो ।  


मानिसको सातवटै चक्र जगाउने कलालाई चक्र विज्ञान भनिन्छ । जसमध्ये मूलाधारले शारीरिक स्वास्थ्य र कर्ममा सफलता, स्वादिष्टानले सुख, मणिपुरले हिम्मत साहस, अनाहदले भावना, विशुद्धिले विचार, आज्ञाले संकल्प र सहश्रारले बोधको सामर्थ जुटाउने काम गर्छन् । यी मुख्य सात चक्र सक्रिय हुनेको जीवनमा सफलताको वर्षा हुन्छ । सैद्धान्तिक ज्ञानले होइन, भौतिक साधनाले अनुभव हुने कुरा हो । सबै नागरिकलाई प्रेम गर्नुपर्ने कर्तव्य भएको राज्यले आयोजना गर्नुपर्नेमा नगरेकाले जीवन विज्ञान संस्थाले आगामी चैत १७ देखि २३ सम्म सातदिने विराट् चक्र विज्ञानको आयोजना गरेको छ । ‘वुद्धको ज्ञान लुम्बिनीमा ध्यान’ भन्ने मूल नाराका साथ एकैपटक एकै ठाउँमा पाँच हजारजनालाई सामूहिक ऊर्जा ध्यान गराएर गिनिज बुकमा नाम लेखाउने योजना छ । कार्यक्रममा सहभागी हुन फारम खुलिसकेको हुँदा समयमै आफ्नो सिट सुरक्षित गरी लाभान्वित हुन सकिन्छ ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार