परीक्षा ‘आतंक’ अन्त्य गरौँ

मिलन पाण्डे मिलन पाण्डे
शनिबार, ४ जेठ, २०७६
डिजिटल संस्करण

केही समयअघि सिंगापुरका शिक्षामन्त्रीले ‘सिकाइ प्रतिस्पर्धा होइन’ भन्दै प्राइमरी कक्षाबाट परीक्षा हटाए । संसारकै उत्कृष्ट शैक्षिक प्रणाली मानिएको फिनल्यान्डमा १६ वर्षको उमेरसम्म कुनै पनि औपचारिक वार्षिक परीक्षा हुँदैन । सफल शिक्षा प्रणाली मानिएको अन्य देशमा पनि परीक्षालाई ‘गर या मर’ बनाइएको छैन । हाम्रोमा चाहिँ परीक्षालाई शैक्षिक प्रणालीले ‘आधारभूत आवश्यकता’ बनाएको छ ।

परीक्षाको भय अनि भ्रम
पढाइमा राम्रै मेरा एकजना साथीलाई परीक्षाको एक दिनअघि सधैँ डरले पखाला सुरु हुन्छ । म आफैँलाई पनि परीक्षाको दिन केही पनि खान मन लाग्दैन । परीक्षा हलमा छिर्नेबित्तिकै टाउको दुख्न थाल्छ । मेरा अधिकांश साथी, विद्यार्थी अनि भाइबहिनीहरू परीक्षासँग डराउँछन् । विद्यार्थीहरू परीक्षाको एक दिनअघि बरु भोलि नेपाल बन्द होस्, कफ्र्यु लागोस् वा कोही ठूलो मान्छे मरोस् अनि परीक्षा रोकियोस् भन्नेसम्म सोच्छन् । विद्यार्थीलाई नै नकारात्मक बनाउने अनि तर्साउने परीक्षा हामी कसका लागि लिँदै छौँ ?

परीक्षा आवश्यक अनि उपयोगी दुवै छैन । यसको प्रमुख कारण, परीक्षाले ‘सिकाइ’को मर्म मारेको छ । आज हामी सिक्नका लागि होइन, परीक्षामा धेरै अंक ल्याउन पढ्दै छौँ । कक्षामा नयाँ पाठ पढ्दै गर्दा विद्यार्थीको पहिलो प्रश्न नै ‘सर, यो जाँचमा आउँछ कि आउँदैन ?’ बाटै सुरु हुन्छ । आज परीक्षा एक सय ७५ रुपैयाँको गेस पेपर, ट्युसन सेन्टर अनि केही शैक्षिक माफिया र व्यापारीको धन्दा बनेको छ । विद्यार्थीलाई घोकायो । त्यही प्रश्न सोध्यो अनि धेरै नम्बर दियो । स्कुल पनि सफल, शिक्षक पनि सफल, अनि विद्यार्थी पनि सफल । हालको परीक्षा प्रणालीले सिकाइको यस्तै ‘भ्रम’ छर्दै छ ।

यदि महाभारतमा पाँचैजना पाण्डवलाई धनुषशास्त्र मात्र सिकाइन्थ्यो भने के हुन्थ्यो होला ? अर्जुन मात्र सफल हुन्थे, अरू चारजना असफल ठहरिन्थे । आज त्यही हुँदै छ । अझ हिजोआज त पाँचैजनालाई डाक्टर र इन्जिनियर बनाउने होडमा सबैको प्राकृतिक रुचिलाई मारिँदै छ । अधिकांश विद्यार्थीको सिर्जनशीलताको हत्या हुँदै छ ।  धेरैलाई असफल बनाउने, अनि थोरैलाई सफल ठह-याउने यो परीक्षा प्रणालीले अधिकांश विद्यार्थीमाथि अन्याय गरेको छ । धर्मलाई मान्नुहुन्छ भने बुझ्नुहोस् पाप गरेको छ । 

प्रत्येक बालबालिकाको क्षमता फरक–फरक हुन्छ । तर, हामी सबैलाई उही तरिकाले पढाउदै छौँ । उही तरिकाले मापन गर्दै छौँ । के त्यो तीनघन्टे परीक्षाले मात्र एउटा विद्यार्थीको क्षमतालाई व्याख्या गर्न सक्छ ? परीक्षाको दिन कुनै विद्यार्थी बिरामी भयो भने उसको वर्षभरिको मिहिनेत गयो त ? यो परीक्षा प्रणालीले अलि सुस्त अनि घोक्न नसक्ने विद्यार्थीहरूको क्षमतालाई न्याय गरेको छ त ? प्रायः मानिसहरू आफ्नो राय बदलिरहेका हुन्छन्, तर एउटा विद्यार्थीले कुनै वेला लेखेको उत्तरले उसको जीवनभर मूल्यांकन कसरी हुन सक्छ ? हामीले परीक्षालाई परिणाम बनायौँ । तर, परीक्षा आफैँ पनि प्रक्रिया हो भन्ने बुझ्न सकेनौँ ।

बरु परीक्षाको भयले विकृति भित्र्याएको  छ । आज विद्यार्थीले घोकाइको विकल्पमा चोर्ने तरिका खोज्न थालेका छन् । चिट कसरी चोर्ने ? भन्ने भिडियो त गुगलमा भाइरल नै बनेको छ । तिघ्रामा, मोजाभित्र हुँदा–हुँदा गुप्तांगमा समेत चिट लुकाएर चोर्न थालिएको छ । घडी, क्यालकुलेटर, ग्याजेटहरू विद्यार्थीका निम्ति कलात्मक तरिकाले चिट चोर्ने माध्यम बनेका छन् । आज हामी परीक्षा गार्डलाई थर्काएर, उत्तरपुस्तिकामा परीक्षकलाई ‘प्रेमपत्र’ लेखेर पास हुने बाटो खोजिरहेका छौँ । अझ हिजोआज त प्रश्नपत्रको व्यापार नै सुरु भएको छ । अब हामीले हासिल गरेको अंकको मोलमोलाइसमेत सुरु हुन थालेको छ । ‘सर्टिफिकेट’ किनबेच हुन थालेको छ । प्रश्नपत्र किनबेच हुँदै छ । परीक्षाको यो भ्रम अनि भय अझै पनि नरोक्ने हो भने यसले हाम्रो शिक्षालाई ध्वस्त पार्ने निश्चित छ ।

हिजोआज कक्षा एकमा भर्ना गर्दासमेत विद्यार्थीले लाइन बसेर प्रवेशिका परीक्षा दिनुपर्ने गलत संस्कार सुरु भएको छ । एक कक्षामा पढ्न लागेको बच्चालाई समेत परीक्षा दिन लगाउने हामी कस्तो शिक्षा प्रणाली अपनाउँदै छौँ ? एक कक्षामै सफल–असफल घोषित गरिने परीक्षाले विद्यार्थीलाई जीवनकै सुरुमै असफलताको हीनताबोध गराउँदैन ?

लेख्ने कलाबाट मात्र मापन गरिने यो परीक्षा प्रणाली 
आफैँमा अधुरो छ । सबैले लेखेरै मात्र आफ्नो कुरा राख्न सक्छन् भन्ने छैन । घोकेर कण्ठ पारेको कुरालाई कपीमा लेख्ने तरिका मात्र विद्यार्थीको मूल्यांकन विधि हुनै सक्दैन । अझ हिजोआज त कक्षा एकमा भर्ना गर्दासमेत विद्यार्थीले लाइन बसेर प्रवेशिका परीक्षा दिनुपर्ने गलत संस्कार सुरु भएको छ । हे भगवान्, एक कक्षामा पढ्न लागेको बच्चालाई समेत परीक्षा दिन लगाउने हामी कस्तो शिक्षा प्रणाली अपनाउँदै छौँ ?

कमजोर विद्यार्थीलाई नपढाउने भन्ने नीति कुनै स्कुलले कसरी लिन पाउँछ ? प्रश्न आउला, राम्रो स्कुलहरूले सबैलाई पढाउन सक्दैनन्, के गर्ने त ? ‘फस्ट कम, फस्ट सर्भ’ गरौँ वा ‘चिट्ठा प्रणाली’ नै अपनाऔँ । तर, विद्यार्थीलाई एक कक्षामै सफल र असफल घोषित गरिने परीक्षा नलिऔँ । चिठ्ठाबाट नछानिएका विद्यार्थीले जीवनको सुरुमै असफलताको त्यो हीनताबोध त गर्न पर्दैन ।

सिकाइ भर्सेस परीक्षा

आज हाम्रा शिक्षकहरू सय, दुई सय वर्षअघि आइन्स्टाइन, न्युटनले पत्ता लगाएको कुरा दिनभरि किताबबाट बोर्डमा सारेर पढाएको भन्ने भ्रममा छन् । जुन कुरा दुई सय वर्षअघि पत्ता लागेको थियो, त्यो आज घोकाएर के काम ? आजको शिक्षा त विद्यार्थीलाई त्यसको उपयोग अनि नयाँ कुराको सिर्जना गर्नसक्ने बनाउने हुनुपर्ने होइन र ?  हाम्रो शिक्षाप्रतिको आधारभूत बुझाइमै समस्या देखिएको छ ।

पढाइ र परीक्षाको सम्बन्ध हुन्छ । हामी स्वाभाविक रूपमा नतिजामुखी नै हुने गर्छौं । नतिजा परीक्षासँग जोडिएको छ । परीक्षा र परीक्षामा सोधिने प्रश्नसँग जोडिएको छ । हामी एउटा साहित्यकारको जीवनी पढ्छौँ । पाठको उद्देश्य, उनको योगदानबारे बुझ्नु र साहित्यकारको जीवनका संघर्षबाट सिक्ने हुन्छ । तर, प्रश्नचाहिँ साहित्यकारको जन्म कहिले भयो ?

वा, लेखकका कृति के–के हुन् ? भन्ने आउँछ । हामी यी प्रश्नका उत्तर घोक्न थाल्छौँ । के यी प्रश्नले पाठको औचित्य पूरा ग-यो त ? जातीय प्रथाबारे पाठ पढ्छौँ । हामी पाठकको मर्म बुझ्नभन्दा पनि जातिप्रथा कसले उन्मूलन ग-यो, कहिले उन्मूलन भयो भन्ने प्रश्नमै रुमलिन्छौँ । मिति सम्झन ऊर्जा खर्च गरिरहेका छौँ । जसले हाम्रो शिक्षाको उद्देश्य पूर्ति गरिरहेको छैन ।  

कुनै पनि समाज परिवर्तनको सूचक शिक्षाको प्रगति विवरण हो । अनि शिक्षा परिवर्तनका निम्ति परीक्षा प्रणालीको परिवर्तन आवश्यक छ । हाम्रो परीक्षा प्रणालीमा वर्षौंदेखि परिवर्तन आएकै छैन । हामीले विद्यार्थीको मनोविज्ञान बुझ्न सक्दैनौँ भने समाज परिवर्तन गर्न सक्दैनौँ । झन् विद्यार्थीको रुचि मारेर समाजको प्रगतिको अपेक्षा राख्नु त मूर्खता नै हो । हाम्रो शिक्षा प्रणाली किन जागिरे शिक्षा प्रणालीमा परिणत हुँदै छ ? किन आत्मनिर्भरता, उद्यमशीलता, सिर्जनशीलतालाई यो शिक्षा प्रणालीले खासै ‘स्पेस’ दिएको छैन ? गहन विमर्श गर्ने वेला आएन र ?

हामी विद्यार्थीलाई परीक्षामुखी ‘प्रेसर कुकर’ बनाउँदै छौँ । हामी आइन्स्टाइन र डाल्टनको सूत्रमा फसेर सेक्सपियरको जीवन व्याख्यालाई भुल्दै छौँ । म परीक्षालाई मात्र आफैँमा गलत भनिरहेको छैन । तर, हामीले परीक्षालाई जसरी स्थापित गरेका छौँ, त्यसले सिकाइलाई बर्बाद पारेको छ ।

तपाईंले सिक्नुहोस् वा नसिक्नुहोस् तर नम्बरचाहिँ जसरी पनि ल्याउनुपर्छ भन्ने मान्यता स्थापित भइसकेको छ । जसले सिकाइलाई निरस बनाइदिएको छ । आत्मा नभएको जीवजस्तो बनाइदिएको छ । जसले विद्यार्थीको रुचि, क्षमता अनि आत्मसम्मानको अपमान गरेको छ । हाम्रो परीक्षाले त हामीलाई भाग्यवादीसमेत बनाइदिएको छ । पढेको प्रश्न परीक्षामा आए सफल, नत्र असफल । चिठ्ठा प्रणालीजस्तो । तसर्थ, शिक्षालाई उत्साहजनक बनाउन जरुरी छ । यो परीक्षा प्रणाली खारेज गर्नुको विकल्प छैन ।

प्रत्येक विद्यार्थीको क्षमता फरक–फरक हुन्छ । तर, हामी सबैलाई उही तरिकाले पढाउँदै छौँ । उही तरिकाले मापन गर्दै छौँ । के त्यो तीनघन्टे परीक्षाले मात्र एउटा विद्यार्थीको क्षमतालाई व्याख्या गर्न सक्छ ?

परीक्षाको विकल्प 
परीक्षाको विकल्प निरन्तर मूल्यांकन हो । एउटा विद्यार्थीको परीक्षा त प्रत्येक पल हुन्छ, हाम्रो जिन्दगीजस्तै । तसर्थ, एउटा विद्यार्थीको मापन विद्यालय छिरेदेखि नै हुन जरुरी छ । बच्चाको मुड, रुचि, जिज्ञासुपन, सामूहिक भाव, परियोजना कार्य सबैको महत्व  छ । वर्षको अन्तिमको तीन घन्टा लेखाइको मात्र होइन । हामीले त विद्यार्थीमा सिर्जनात्मक, समीक्षात्मक, समाधानमुखी सोचलाई प्रवद्र्धन गर्ने हो, जुन निरन्तरको मूल्यांकनले मात्र सम्भव छ ।  

विद्यार्थीलाई रक्तचापबारे कण्ठ गराएर परीक्षामा पाँच नम्बरका लागि दुई पेज घोक्न लगाउनुभन्दा कक्षामा पाँचवटा मेसिन ल्याएर एक–अर्काको रक्तचाप जाँच्न सिकाउन सके त्यो प्रभावकारी हुन्छ । कक्षामा विषयअनुरूप विद्यार्थीले सिकेको कुरा अनि सिक्न बाँकी रहेका कुराको टिपोट गरेर सोहीअनुरूप कक्षालाई चार भागमा बाँड्न सकिन्छ– पूरै सिकाउनुपर्ने समूह, आंशिक सहयोग गर्नुपर्ने समूह, साथीहरूबीच छलफल गरेर सिक्ने समूह र सक्षम समूह ।

यसरी छुट्याएर आवश्यक समूहलाई प्राथमिकता प्रदान गर्दै बुझाउन सके सम्पूर्ण विद्यार्थीलाई वर्षको अन्तिमसम्ममा लगभग सबै कुरा सिकाउन सकिन्छ । पाठअनुसार यो समूहमा विद्यार्थी परिवर्तन भइरहन्छन्, जसको कक्षामा को जान्ने को नजान्ने भन्ने रहँदैन । वर्षको अन्तिममा विद्यार्थीलाई ‘रिभिजन’का निम्ति प्रस्तुतीकरण गराउन सके विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको पनि उजागर गर्न सकिन्छ ।

विद्यार्थीको प्रत्येक दिनको गतिविधि एउटा सफ्टवेयर बनाएर रेकर्ड राख्ने हो भने वर्षको अन्तिममा उनीहरूको मूल्यांकन आफैँ आउँछ । शिक्षकहरूले त्यसमा नै विद्यार्थीको गृहकार्य, कक्षा गतिविधि, रुचि, व्यवहार, कमजोरीको टिपोट गर्न सक्छन् । परीक्षाको भय पनि हुँदैन । यस्तो विधि फिनल्यान्ड, नर्वेलगायत केही मुलुकमा सञ्चालनमा छ ।

त्यसबाट आउने मूल्यांकन पनि सम्बन्धित विद्यार्थीले मात्र हेर्न पाउने सिस्टम ल्याउन जरुरी छ । विद्यार्थी अनि उनका अभिभावकबाहेक अन्य व्यक्तिलाई कसैको परीक्षाको अंक किन आवश्यकता छ र ? प्रतिस्पर्धा आफूसँग हो, अरूसँग होइन भन्ने कुरा शिक्षा क्षेत्रमा लागेका सबैले बुझ्न जरुरी छ । अर्को कुरा, विद्यार्थीबाट पनि शिक्षकको मूल्यांकन गरिन जरुरी छ । यसले शिक्षकलाई आफ्नो कमजोरी पत्ता लगाउन अनि सुधार गर्न मद्दत पुग्छ ।  यसो गर्न सके, शिक्षक अनि विद्यार्थीबिच कक्षाकोठामा सन्तुलन आउँछ ।

विद्यार्थीलाई परीक्षाविना नै कक्षा चढाउनुपर्छ । पढाइमा कम रुचि देखिएका विद्यार्थीलाई ८ कक्षापछि सीपमूलक अनि रोजगारीमूलक शिक्षामा मोड्न सक्नुपर्छ । यसरी विद्यार्थीलाई तनाव, दबाब, त्रासबाट मुक्ति दिलाउन सकिन्छ । फेल त विद्यार्थी होइन, स्कुल अनि शिक्षक हुन्छन् । अहिलेको परीक्षा प्रणालीले विद्यार्थीलाई दोषी ठह-याउने गरेको छ । हामीले विद्यार्थीलाई दोष देखाउने शिक्षा प्रणालीलाई नै अन्त्य गर्न जरुरी छ ।

परीक्षा विस्थापनको यात्रा
परीक्षालाई शैक्षिक प्रणाली सुधारसँगै विस्थापन गर्दै लानुपर्छ । सुरुमा ८ कक्षासम्म कुनै पनि परीक्षा हुनुहुँदैन । ८ कक्षा र १२ कक्षाको अन्त्यमा मात्र वार्षिक परीक्षा गर्दा हुन्छ । जसको आधा मूल्यांकन पनि उसको वर्षभरिको गतिविधिअनुरूप विद्यालयले नै गर्न जरुरी छ । बाँकी पनि लेख्ने विधि मात्र नभई अन्य विधि अपनाएर परीक्षा लिन जरुरी छ ।

यो घोकन्ते शिक्षा प्रणालीलाई विस्थापित गर्न पुस्तक हेरेर परीक्षा दिने स्वतन्त्रता प्रदान गरिन जरुरी छ । विद्यार्थीले उसलाई चाहिएको सूत्र कसरी प्रयोग गर्छ, हेरेको कुरालाई आफ्नो बुझाइअनुरूप कसरी लेख्छ, कसरी प्रस्तुत गर्छ, त्यो नै उसको परीक्षा हो । अनि, कुनै पनि प्रकारको परीक्षाको समय बढीमा दुई घन्टाभन्दा बढी हुनुहुँदैन ।

एउटै विषयमा हामीले प्रभावकारी ढंगबाट बढीमा डेढ–दुई घन्टाभन्दा ध्यान दिन सक्दैनौँ ।  त्यसैले, ३ घन्टाको परीक्षा आफैँमा मानसिक यातना हो । साथै, अनावश्यक डर पैदा गर्ने यो फलामे ढोका भनिने एसइई जस्ता परीक्षालाई तुरुन्तै विस्थापित गरिन जरुरी छ । विद्यार्थीले चाहेमा अनि नतिजा चित्त नबुझेमा उत्तरपुस्तिका हेर्न पाउने अनि नतिजा परिवर्तनका निम्ति आवेदन दिन पाउने अधिकार पाउनुपर्छ ।

लिखित परीक्षाको विकल्प अन्तर्वार्ता, प्रस्तुतीकरण, भ्रमण, अध्ययन अनुसन्धान, अवलोकन, खोज, अन्तत्र्रिmया, प्रोजेक्ट वर्क आदि हो । यी कार्यले सिकाइको मर्म पनि मार्दैन अनि विद्यार्थीले पनि स्वमूल्यांकन गर्न पाउँछन् । हामी शिक्षक कापी जाँचेर नम्बर दिनुलाई मात्र मूल्यांकन भन्ने ठान्छौँ, तर स्वमूल्यांकन नै सबैभन्दा ठूलो मूल्यांकन हो । 

निष्कर्ष

सर्च इन्जिन गुगलले गरेको पछिल्लो अध्ययनले आफ्ना कर्मचारीको परीक्षाको नम्बर र उनीहरूको काम गर्ने क्षमतामा कुनै सम्बन्ध नरहेको देखाएको थियो । आज गुगलमा कर्मचारी नियुक्ति गर्दा ‘सर्टिफिकेट’को नम्बर होइन, उम्मेदवारमा सिक्न खोज्ने क्षमता, समस्यालाई समाधान गर्नसक्ने क्षमता अनि सामूहिक भाव हेरिन थालिएको छ । तसर्थ, अबको शिक्षा अंककेन्द्रित होइन ज्ञान, सीप, प्रेरणा, उद्यमशीलताप्रतिको लगाव, जीवनलाई कसरी बुझ्ने आदि प्राप्तिका निम्ति हुन जरुरी छ । 

सिकाइ निरन्तरको अभ्यासबाट मात्र सम्भव छ । क्रिकेटर परीक्षा दिएर पास भएर सफल हुने होइन । निरन्तर अभ्यासबाटै सफल हुने हो । आज जुन प्रतिस्पर्धामा हामीले विद्यार्थीलाई धकेलेका छौँ, त्यसले प्रत्येक विद्यार्थी हार्दै छन् । स्कुल अनि समाजले कम नम्बर ल्याउने विद्यार्थीलाई दोस्रो दर्जाको रूपमा इंगित गर्ने गरेको छ । आज अभिभावक र शिक्षक नै विद्यार्थीलाई चिट चोराउन बाध्य छन् । स्कुलहरू नै परीक्षा केन्द्र किन्न पर्ने व्यापारीकरणमा फसेका छन् । योभन्दा शिक्षाका लागि अर्को दुर्भाग्य के हुन सक्छ ?

अब परीक्षा विद्यार्थीका निम्ति मूल्यांकन विधि मात्र रहेन, आतंक भएको छ । केही दिनअघि भारतको तेलंगना राज्यमा १९ जना विद्यार्थीले परीक्षामा असफल भएपछि आत्महत्या गरे । नेपालमा पनि विद्यार्थीको आत्महत्याको खबर आइरहन्छ । विद्यार्थीलाई नै आत्महत्या गर्न बाध्य पार्दै गरेको परीक्षा हामी कसको भलाइका लागि लिँदै छौँ ?

सम्पादकको रोजाइ

सुझावित समाचार