मदनकृष्ण श्रेष्ठलाई छोरा यमनको प्रश्न : असल बुबा बन्न गाह्रो कि असल छोरा ?

एकछिनका लागि मानौँ, तपाईंको जिन्दगी नै एउटा फिल्म हो । यो फिल्मको नाम के राख्नुहुन्छ ?

पवन बराइली पवन बराइली
शनिबार, २१ पुष, २०८०
डिजिटल संस्करण

बुबा तपाईंले कलाकारिताको दौरान धेरै पात्र बनेर अभिनय गर्नुभयो । वास्तविक जीवनमा एक दिनका लागि ती पात्रमध्ये कुनै एक बन्नुपर्यो भने कुन रोज्नुहुन्छ ?


मैले कलाकारिताको दौरान थुप्रै क्यारेक्टर बनेर अभिनय गरेँ । मैले निर्वाह गरेको अधिकांश पोजेटिभ क्यारेक्टर छन् । ‘पजेटिभ क्यारेक्टर’हरूमा अभिनय गर्दा रमाइलो लाग्छ । ‘बलिदान’ फिल्मको क्यारेक्टर सम्झना आयो । म सिपाहीको भूमिकामा थिएँ । त्यो क्यारेक्टरले मान्छेको राजनीतिक चरित्र बुझेको हुन्छ । त्यो वेला देशको राजनीतिक भविष्य कस्तो होला, के होला भन्ने थियो । त्यसवेला मैले जस्तो भूमिका निर्वाह गरेको थिएँ, अहिले पनि अवस्था त्यस्तै छ । त्यस्तो ठूलो परिवर्तन भएको छैन । अहिले बन्नुपर्यो भने म त्यही क्यारेक्टर बन्ने थिएँ । दिनभरि त्यही क्यारेक्टरलाई मेन्टेन गरेर बस्थेँ हुँला ।


एकछिनका लागि मानौँ, तपाईंको जिन्दगी नै एउटा फिल्म हो । यो फिल्मको नाम के राख्नुहुन्छ ? 
फिल्मको नाम ‘महको मह’ राख्थेँ । महको महमा मेरो सम्पूर्ण जीवन छ । त्यसमा मेरो परिवार यमन, सराना (छोरी), रिंकु (बुहारी), हरिवंश, बा आमा, साथीहरू सबै समेटिन्छन् । जीवनको सबथोक महको महमा छ । त्यसैले जिन्दगी फिल्म भएको भए महको मह राख्थेँ ।


तपाईंको जन्मथलो उहिलेको जितपुरफेदी सम्झिनासाथ दिमागमा के आउँछ ? 
जितपुरफेदी(काठमाडौं) भन्नेबित्तिकै आफू जन्मेको घरको सम्झना आउँछ । घरको कोठा, दलिन र झ्यालमा बसेर चिच्याइचिच्याई बुबालाई बोलाएको याद आउँछ । गाउँको खोलानाला, चौतारी, ढुंगेधारा सम्झनामा आउँछ । बचपनमा साथीहरूसँग खोलामा पौडी खेल्न गएको, माछा मार्न गएको याद आउँछ । साइकल चढेर स्कुल गएको, लाल्टिन बालेर अँध्यारोको डर मानीमानी हिँडेको, पौडी खेल्न जाँदा बेलुका बुबाले गाली गर्नुभएको, घरमा लुकीलुकी आएको दृश्य सम्झना आउँछ । 

असल बुबाभन्दा असल छोरा बन्न गाह्रो छ । असल बुबाले अर्ती मात्रै दिने हो । असल बुबा बन्न पनि धेरै वर्ष लागेको हुन्छ । धेरै अनुभव लिएर बुबा बनिसकेको हुन्छ । असल छोराले धेरै काम गर्न बाँकी हुन्छ । दुःख झेल्न बाँकी हुन्छ ।


पैसा र मान्छेको सम्बन्धबारे तपाईंको धारणा के हो ? यस्तो धारणा तपाईंलाई कहाँबाट आयो ? 
पैसा कमाउन जति गाह्रो छ, सम्बन्ध कमाउन त्यति सजिलो छैन । कहिलेकाहीँ कमाएको सम्बन्ध पनि टुट्न सक्छ । त्यसकारण जीवनमा इमानदारिता कायम राख्नुपर्छ । आफूले सधैँ राम्रो व्यवहार गरिराख्नुपर्छ । सधैँ राम्रो व्यवहार गर्न नसकिएला, सधैँ इमानदारिता तलमाथि हुन सक्ला, तर सतर्क हुनुपर्छ । सम्बन्ध राम्रो भयो भने पैसा भनेको त कमाइन्छ नि ! सम्बन्धले आफू बलियो भइन्छ । पैसाले पनि आफूलाई बलियो त बनाउँछ, तर पैसा कमाएर एक्लै बस्नुपर्यो भने के गर्ने ?

सम्बन्ध बचाउन सकियो भने आफू न्यानो भएर बाँच्न पाइन्छ । सम्बन्ध बच्यो भने दुःखसुख बाँडचुँड गरेर बाँच्न पाइन्छ । पैसा मात्रै भएर सम्बन्ध कसैसँग भएन भने त्यो भिलेनजस्तो हुन्छ । हामीले खास पैसा कमाएका छैनौँ होला । तर, पैसाभन्दा हामीले सम्बन्ध कमाएका छौँ । जसले गर्दा हामीलाई धेरै मान्छेले चिनेका छन् जस्तो लाग्छ । धेरै मान्छेले चिन्नु भनेको पनि ठूलो सम्पत्ति हो । पैसाले किनेको सम्बन्ध नक्कली र स्वार्थी हुन्छ । विनास्वार्थको साथी वा सम्बन्ध कमाउनु जीवनको सबैभन्दा ठूलो कुरा अरू हुन सक्दैन । त्यसकारण, पैसाभन्दा सम्बन्धको महत्व ठूलो लाग्छ ।

त्यो क्षण अझै सम्झन्छु । अमेरिकाजस्तो सुविधासम्पन्न देशमा छोरालाई छोडेर आउँदा त मन दुखेको थियो भने खाडी मुलुकको ५२ डिग्रीको तातोमा आफ्ना छोराछोरीलाई पठाउने बुबाआमाको मन कस्तो हुँदो हो ?


तपाईंलाई धेरैले मन पराउँछन् । कतिपयले त सम्मानपूर्वक तपाईंको खुट्टा नै ढोगेको पनि देखेको छु । मान्छेहरूले तपाईंलाई यति धेरै सम्मान किन गर्छन् होला ?

भावुक व्यक्तिहरूलाई मेरो खुट्टा ढोगौँ जस्तो पनि लाग्ला । मेरो खुट्टैचाहिँ नढोगिदिएहुन्थ्यो जस्तो लाग्छ । धेरै भावुक पनि नहुनु, मन पराइदिए मात्रै पुग्छ । म आफूलाई खुट्टै ढोग्न लायक ठान्दिनँ । सबैले मन पराउनुहुन्छ भनेर ढुक्कले बसेको पनि छैन म । जतिले मलाई मन पराउनुभएको छ, उहाँहरूलाई आफ्नो कमाइ ठानेको छु । सबैले मन पराउँछन् भन्नेमा विश्वास पनि छैन । सबैले मन पराउनु पनि हुँदैन । जीवनमा मन नपराउने मान्छे पनि चाहिन्छ । एक सयजनामा चार–पाँचजनाले मन नपराउने हुनु पनि पर्छ । मन पराएकोभन्दा मन नपराएको मान्छेतिर ध्यान दिनुपर्छ । 


मलाई अमेरिका छाडेर पहिलोपटक नेपाल आउँदा तपाईं डाँकै छाडेर किन रुनुभयो ?


आफ्नो काखमा हुर्काएको बच्चालाई एक्लै छोड्नु गाह्रो हुँदो रहेछ । त्यसवेला दुई महिनाजति सँगै बस्यौँ । तर, तिमीलाई बाइबाइ गर्दा चित्त दुख्यो । त्यसवेला एयरपोर्टको बाथरुममा गएर रोएको थिएँ । मुख बंग्याएर रोएको थिएँ । त्यो अनुहार हेर्नलायकको थियो । ऐना हेर्दा पटक्कै हाँसो आएन । रुवाइले जित्यो । त्यो वेला मेरो भन्दा तिम्रो पिर लागेको थियो । छोराले कसरी दिन बिताउला ? के गरेर खाला ? काम पाएन भने के गर्ला ? काम पाउला कि नपाउला ? यस्ता कुराको मात्रै सोचाइ आयो । त्यो क्षण अझै सम्झन्छु । अमेरिकाजस्तो सुविधासम्पन्न देशमा छोरालाई छोडेर आउँदा त मन दुखेको थियो भने खाडी मुलुकको ५२ डिग्रीको तातोमा आफ्ना छोराछोरीलाई पठाउने बुबाआमाको मन कस्तो हुँदो हो ?

१३ वर्षपछि छोराले बुहारी र नातिनी लिएर अब यतै बस्छौँ भनेर फर्केर आउँदाचाहिँ कस्तो महसुस भयो ? 
तिमी नेपाल फर्किन्छौ भनेर सोचेकै थिइनँ । यहाँ तिम्रो आमा र म ठीकै थियौँ । मेरो पनि अमेरिकामै तिम्रो राम्रो होस् भन्ने इच्छा थियो । तर, तिम्री आमालाई क्यान्सर लाग्यो । र, तिमी सबै त्यागेर आमा ठूलो भनेर आयौ । तिमी फर्किएर आउँदा मन खुसी भएको थियो । मलाई ठूलो भरोसा लाग्यो । आफ्ना छोराछोरी आफूसँगै भए भने मन बलियो हुन्छ । छोराछोरी टाढा हुँदा कमजोर हुन्छ । शरीर, स्वस्थ र समय सधैँ एकनास हुँदैन । शरीर बलियो हुँदा सबै ठीकै हुन्छ । जब उमेर छिप्पिँदै जान्छ तब आफ्नो शरीर कमजोर हुँदै जान्छ । शरीर कमजोर भएपछि समय पनि कमजोर हुँदै जान्छ । त्यो अवस्थामा परिवार र छोराछोरी सँगै भएनन् भने टेक्ने ठाउँ नै हुँदैन । भर गर्ने ठाउँ हुँदैन । त्यस्तो वेलामा तिमीहरू आयौ । यो अरूका लागि पनि ठूलो उदाहरण हो ।


म घरको काम भ्याएर कलाकारिता र व्यापारतिर पनि दौडिरहेको देख्दा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नै खुट्टामा उभिन जरुरी छ । यसैका लागि तिमी दौडिरहेका छौ । सधैँ तिमीसँग म भइरहन्न । तिमीले आफ्नै खुट्टामा उभिनुपर्छ । आफ्नो जीवनको भारी कति गरुँगो हुँदो रहेछ भनेर बोकी हिँडिरहेका छौ । यसमा निकै खुसी छु । जसबाट विभिन्न किसिमका मान्छेसँग संगत हुन्छ । कुनै सहयोगी, असहयोगी, स्वार्थी, माया गर्ने–नगर्ने सबै किसिमका साथीभाइसँग पनि भेट हुन्छ । ती सबैलाई चिन्दै राम्रो व्यवहार गर्दै अघि बढ्नुपर्छ । 


मेरो गायन, संगीत, अभिनय, लेखन, निर्देशनमध्ये बुबालाई कुन राम्रो लाग्छ ? मैले केमा चाहिँ बढी समय दिएहुन्थ्यो जस्तो लाग्छ ?
स्क्रिप्ट लेख्न, गीत लेख्न, गाउन, एरेन्ज गर्न, अभिनय गर्न, स्टेजमा बोल्न पनि सक्छौ । तिमी रमाइलो जोक पनि गर्न सक्छौ । भर्सटाइल छौ । कसैलाई चोट पुग्ने खालको रोस्ट गर्दैनौ । उडाएर हसाउँदैनौ । त्यो राम्रो पक्ष हो । तिमीसँग हसाउने कला छ । सबैलाई हसाउँदै खुसी बनाउँदै अघि बढ्नू । तिमीसँग सबै कुरा गर्न सक्ने गुण छ । त्यसकारण तिमीप्रति म ढुक्क छु ।


तपाईंको ७४ वर्षे जीवनमा आधारित फिल्म तपाईं आफैँले निर्देशन गर्नुप¥यो भने आफ्नो भूमिकामा कसलाई लिनुहुन्छ ?
क्यारेक्टरअनुसार छनोट गर्छु होला । यो क्यारेक्टरमा छोरालाई खेलाउँछु भन्दिनँ । जसलाई सुहाउँछ, उसैलाई खेलाउँछु । सिनियर कलाकारमध्ये नीर शाहलाई खेलाउँछु होला । उहाँ राम्रो अभिनय गर्नुहुन्छ । मलाई मन पर्छ । उहाँको फ्यान पनि हुँ म । ७४ वर्षे उमेरको भूमिका उहाँलाई सुहाउँछ पनि । 


यदि अहिले नै पार्किन्सन निर्मूल गर्ने औषधि वैज्ञानिकले पत्ता लगाए र तपाईं पहिलेजस्तै तन्दुरुस्त हुनुभयो भने आगामी दिनमा के–के  गर्नुहुन्छ ?
पार्किन्सन निको भए मेरो पुनर्जन्म नै हुन्थ्यो । स्वस्थ हुन्थेँ । पहिलेको जस्तै दौडिन उफ्रन, नाच्न, गाउन सक्थेँ । पहिलेजस्तै काम गर्न सक्थेँ । पहिलेको कामलाई अझ स्पिड बढाउँथेँ ।


छोराछोरीलाई तपाईं के सन्देश दिनुहुन्छ ?
आफूसँग भएको सीपलाई सदुपयोग गर्दै जानू । कसैप्रति बेइमानी नगर्ने, कानुनले गर्नुहुन्न भनेको कुरा, आत्माले गर्नुहुन्न भन्ने कुरा, धर्मले गर्नुहुन्न भन्ने कुरा कहिल्यै नगर्नू । यी कुराबाट सतर्क भएर काम गर्यो भने कहिल्यै दुःख हुँदैन ।


बुबा बन्न गाह्रो कि छोरा ?
असल बुबाभन्दा असल छोरा बन्न गाह्रो छ । असल बुबाले अर्ती मात्रै दिने हो । असल बुबा बन्न पनि धेरै वर्ष लागेको हुन्छ । धेरै अनुभव लिएर बुबा बनिसकेको हुन्छ । असल छोराले धेरै काम गर्न बाँकी हुन्छ । दुःख झेल्न बाँकी हुन्छ । अर्ती दिनुभन्दा भोग्न गाह्रो हुन्छ । सबै भोगिसकेपछि बुबा बन्ने हो । बुबा मात्रै बनेर पनि हुँदैन । 


‘बलिदान’जस्तो फिल्ममा पनि तपार्ईंहरूले अभिनय गर्नुभयो । देशको अवस्था देख्दा तपाईंलाई कुनै मन्त्री बनेर देश बनाउँछु जस्तो लाग्यो कि लागेन ? 
राजनीति गरेर देश परिवर्तन गर्ने सोच कहिल्यै आएन । राजनीतिको बाटो हिँडिएन । मन्त्री बन्नका लागि धेरै मिहिनेत गर्नुपर्छ । कहिल्यै नहिँडेको बाटो हिँड्दा अन्योल हुन्छ । थाहा नभएको बाटो हिँड्दा कहाँ पुगिन्छ, थाहा हुँदैन । थाहा नभएको बाटो सोध्दै हिँड्ने बानी छैन । 


अहिलेको सरकारले कलाक्षेत्रका लागि के गरिदिएहुन्थ्यो जस्तो लाग्छ ?
सरकारले कलाक्षेत्रको परिस्थिति बुझिदिए मात्रै पुग्छ । कलालाकार आफैँले पनि पहल गर्नुपर्छ । हाम्रो पालामा अहिलेको जस्तो स्थिति थिएन । हामीले रेडियो, रंगमञ्च, टेलिभिजनलगायत विभिन्न प्लाटफर्मको सदुयोग गर्यौँ । हामीले सामाजिक विषयलाई ध्यान दियौँ । यसरी अघि बढ्दै आयौँ । 

सम्पादकको रोजाइ

सुझावित समाचार