०७४ भदौ २० गते काठमाडौंस्थित शंखमूलमा रहेको तत्कालीन गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रको कार्यालयमा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच चुनावी गठबन्धन गर्ने सम्झौता भयो । सम्झौतापछि बाहिर निस्कने क्रममा तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादवले तत्कालीन अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोलाई हात मिलाउँदै मैथिलीमा भनेका थिए, ‘जब–जब हामी दुईजना एक ठाउँमा आउँछौँ, तब–तब मधेशमा राम्रो हुन्छ ।’
मधेश राजनीतिमा यादव र महतोबीच सहकार्य र प्रतिस्पर्धा दुवै भए । तर, जसपाबाट अलग्गिएर लोसपा बनेपछि दुवैबीच सम्बन्ध ‘हार्दिक’ छैन । पार्टी फुटपछि करिब दुई वर्षसम्म त उनीहरूबीच बोलचालसम्म भएन । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुवै आ–आफ्नो निर्वाचन क्षेत्रबाट नमीठोसँग पराजित भए । यादव त उपनिर्वाचन जितेर पुनः संसद्मा प्रवेश भइसकेका छन् । महतो भने फुटेर झन् कमजोर भएको लोसपाभित्र निर्णायक संघर्षको चरणमा छन् ।
यो संवादको साक्षी रहेका अध्ययन केन्द्रका अध्यक्ष अनिल महासेठले त्यसपछि उनीहरूले हात मिलाउँदै गरेको तस्बिरसहित फेसबुकमा स्टाटस नै लेखेका थिए, ‘इतिहास साक्षी छ । जब–जब मधेश र मधेसीको सवालमा यी दुइ नेता साथमा आउँछन्, परिणाम मधेश र मधेसीको भावनाअनुसार नै आउँछ ।’
तर, अहिले दृश्य फरक छ । मधेश आन्दोलनका वेला दुवै नेतृत्वदायी भूमिकामा थिए, अहिले परिस्थिति बदलिएको छ । समयअनुसार पार्टीका नाम बदलिए होलान्, तर यादव लगातार पार्टी नेतृत्वमै छन्, महतो भने नेतृत्वबाट पछि हट्दै ‘सेकेन्डम्यान’को भूमिकामा खुम्चिएका छन् ।
मधेश राजनीतिमा यादव र महतोबीच सहकार्य र प्रतिस्पर्धा दुवै भए । तर, जसपाबाट अलग्गिएर लोसपा बनेपछि दुवैबीच सम्बन्ध ‘हार्दिक’ छैन । पार्टी फुटपछि करिब दुई वर्षसम्म त उनीहरूबीच बोलचालसम्म भएन । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुवै आ–आफ्नो निर्वाचन क्षेत्रबाट नमीठोसँग पराजित भए । यादव त उपनिर्वाचन जितेर पुनः संसद्मा प्रवेश भइसकेका छन् । महतो भने फुटेर झन् कमजोर भएको लोसपाभित्र निर्णायक संघर्षको चरणमा छन् । दुवैको सम्बन्ध यो स्थितिमा कसरी आइपुग्यो, यो केलाउनुअघि उनीहरूको पहिलो भेट र त्यसपछि भएका सहकार्य र प्रतिस्पर्धाका शृंखलामै फर्कनुपर्छ ।
पहिलो भेट
राजेन्द्र र उपेन्द्रको पहिलो भेट ०५७ सालतिर सर्लाही मलंगवास्थित महतोकै डेरामा भएको थियो । त्यतिवेला राजेन्द्र सद्भावना पार्टीमा सांसद थिए भने उपेन्द्र मधेसी जनाधिकार फोरमका अध्यक्ष । फोरम त्यतिवेला दल भइसकेको थिएन, सामाजिक संस्था नै थियो । तत्कालीन सद्भावना पार्टीका नेता रामेश्वर यादवसँग भेट गरेपछि महतोलाई भेट्न उपेन्द्र एकजना सहयोगी लिएर उनको डेरामा पुगेका थिए । ‘उहाँ एकदम सिम्पल तरिकाले आउनुभएको थियो,’ महतो पहिलो भेट सम्झन्छन्, ‘हामीबीच सामान्य चिनजानबाहेक भेटघाटको खास प्रयोजन केही थिएन । म अहिले पनि सम्झन्छु, उहाँ पाइन्ट, सर्ट र खुट्टामा चप्पल लगाएर, हातमा एउटा ब्याग बोकेर बिहानको १०–११ बजेतिर मेरो डेरामा आउनुभएको थियो । दलका हिसाबले सायद उहाँ माओवादीसँग आबद्ध हुनुहुन्थ्यो, तर बढी गफ फोरम र मधेशकै विषयमा भयो । जानेवेलामा मलाई पढ्नलाई केही पुस्तकसमेत दिएर जानुभएको थियो ।’
त्यसपछि ०५७ सालतिर विराटनगरमा आयोजित सद्भावना पार्टीको कार्यक्रममा मधेशको समस्याको विषयमा उपेन्द्रले बौद्धिक व्यक्तिका हिसाबले कार्यपत्र प्रस्तुत गरेका थिए । कम्युनिस्ट पृष्ठभूमि भए पनि उपेन्द्रको बढी परिचय मधेशको बौद्धिक व्यक्तित्व नै थियो । मधेशका मुद्दालाई उनी कम्युनिस्टको दृष्टिकोणबाट हेर्थे ।
विस्तारै राजेन्द्रसँग विभिन्न बैठक र कार्यक्रममा भेट बाक्लियो । यद्यपि, उनीहरूको सघन सम्बन्ध भने ०६२/६३ को जनआन्दोलनपछि मात्रै बन्यो । नेपालको अन्तरिम संविधान जारी भएपछि त्यहाँ संघीयता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र समावेशी समानुपातिकको मुद्दा नसमेटिएपछि महतोको सद्भावना पार्टीले संविधानमा ‘नोट अफ डिसेन्ट’ नै लेख्यो । ‘नोट अप डिसेन्ट’पछि मधेश बन्द भयो । बन्दका क्रममा नेपालगन्जमा मधेसीमाथि राज्यबाटै निर्मम आक्रमण भयो । त्यतिवेला नेपालगन्ज घटनाको सिडी व्यापक रूपमा प्रचार गर्नेमा उपेन्द्र पनि थिए ।
माघ १ गते संविधान जारी हुने दिन सद्भावना पार्टीका तर्फबाट हृदयेश त्रिपाठी मन्त्री थिए । तर, सद्भावना पार्टीले ‘नोट अफ डिसेन्ट’का कारण पार्टीभित्रबाटै त्रिपाठीलाई सरकारबाट बाहिरन दबाब दियो । त्रिपाठी तयार भएनन् । भोलिपल्ट माघ २ गते उपेन्द्र यादवसहितका नेताहरू माइतीघर मण्डला पुगेर संविधानमा आगो लगाए ।
महतो मात्रै होइन, कुनै पनि नेतासँगको सम्बन्धबारे यादव धेरै बोल्नै चाहँदैनन् । ‘मेरो कसैसँग राम्रो सम्बन्ध पनि छैन, नराम्रो पनि छैन । त्यसैले केही भनिरहनुपरेन,’ उनको छोटो जवाफ छ ।
वैचारिक अभियानमा पहिल्यैदेखि लागे पनि सडकमै आएर यादवले गरेको पहिलो ठूलो विद्रोह यसैलाई मानिन्छ । त्यतिवेला महतोले संसद्मा ‘विनासंघीयताको संविधान जारी भयो भने मधेशमा आगो लाग्न सक्छ र त्यतिखेर आगो निभाउन सरकारसँग कुनै दमकल हुनेछैन’ भन्दै भाषण गरेका थिए । माइतीघरमा संविधान जलाएपछि यादवसहित मधेशका २८ नेता कार्यकर्ता पक्राउ परे । पक्राउको विरोधमा मधेश बन्दको घोषणा भयो । मधेश बन्दकै क्रममा रमेश महतोको हत्या भयो ।
मधेशमा आक्रोशको आगो झन् दन्कियो । र, त्यहीवेला यादव र महतोबीच भने निकटता बढ्यो । ‘पहिलो मधेश आन्दोलनपछि हाम्रो निकटता बढ्यो,’ महतो भन्छन्, ‘मधेशप्रति यादवको लगाव देखेपछि म उहाँसँग प्रभावित भएँ । हामीबीच नियमित भेटघाट र अन्तर्क्रिया हुन थाल्यो ।’ जब मधेशमा आन्दोलन दन्किरहेको थियो, त्यतिवेला बालुवाटारमा आठ दलको वार्ता भइरहेको थियो । आन्दोलन ठीक गर्नलाई नेपाली सेना र माओवादी सेना दुवै पठाउनेसम्मका चर्चा चलिरहेका थिए । बालुवाटार र सदनमा आन्दोलनको पक्षमा बोल्ने महतो एक्लै हुन्थे । उता सडकमा आन्दोलन तताउने यादव । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेशका मुद्दा सम्बोधन गर्न तयार भए । केही समयलाई आन्दोलन मत्थर भयो ।
त्यसपछि ०६४ भदौ १३ गते तत्कालीन सरकारसँग उपेन्द्रले २२ बुँदे सम्झौता गरे । फोरम त्यतिवेला एनजिओबाट राजनीतिक दल भइसकेको थियो । यादवले सरकारसँग गरेको त्यो २२ बुँदे सम्झौताको भने मधेशमै विरोध सुरु भएको थियो । फोरमकै नेताहरू भाग्यनाथ गुप्ता, किशोर विश्वास, जितेन्द्र सोनाल, रामकुमार शर्मालगायतका नेताले पार्टीबाट विद्रोह गरेर छुट्टै ‘मधेसी जनाधिकार फोरम मधेश’ बनाएका थिए ।
चुनावी परिणाम आएको राति नै महतोले यादवलाई बधाईको म्यासेज पठाए । ‘तर, उहाँले धन्यवादसम्म दिनुभएको छैन,’ महतोको चित्त दुखाइ छ, ‘हामीबीच खट्टा–मीठा सम्बन्ध छ । उहाँलाई अप्ठ्यारो पर्दा मैले सधैँ साथ दिएँ । तर, मलाई कहिल्यै साथ दिएको अनुभव छैन ।’
त्यहीवेला महतो आबद्ध सद्भावना पार्टी टुटफुट भएर बेहाल अवस्थामा पुगेको थियो । पार्टी श्यामसुन्दर गुप्ताको कब्जामा पुगेको भन्दै महतो पनि पीडामा थिए । एकातिर २२ बुँदे सम्झौताले उपेन्द्रप्रति विश्वास गुमेको र कमजोर बनेको अवस्था, अर्कोतिर आफूबाटै पार्टी खोसिएका महतो । ०६४ साल, अर्थात् त्यही वेला पहिलो संविधानसभाको चुनावको घोषणा भइरहेको थियो । दुवै ‘पीडित’लाई त्यतिवेला चुनावले जोडेको महतो स्विकार्छन् ।
‘हामी दुवै मधेशको मुद्दामा काम गरिरहेका थियौँ,’ महतो भन्छन्, ‘संविधानसभामा मधेशको आवाज पुर्याउनलाई चुनाव जित्नैपर्ने थियो । त्यसैले हामीले एक–अर्कालाई खोज्यौँ ।’माघको जाडोतिर हो, त्यतिवेला भीमसेनगोलास्थित महतोको घरको छतमा चार दिन उनीहरूबीच सहकार्यका लागि निरन्तर छलफल भएको थियो । यादवसँग महतोले चुनावी मोर्चाको प्रस्ताव गरे । अन्ततः दुवै संयुक्त मधेसी मोर्चा गठन गर्न तयार भए । राजनीतिक हिसाबले महतो र यादवबीच भएको पहिलो सहकार्य यही नै हो ।
यहीवेला गौर हत्याकाण्डका कारण उपेन्द्रमाथि थप तनाव थियो । त्यतिवेला उपेन्द्रका कारण आफूले गाली खाएको क्षण महतोको मस्तिष्कमा अझै ताजा छ । ‘हामी दुवैजना जनकपुर पुगेका थियौँ,’ महतोले सम्झिए, ‘त्यतिवेला म बसेको होटेलमै नौजना युवा मलाई घेर्न आए । उपेन्द्रलाई लिएर किन आएको भन्दै आक्रोश पोखे । उनीमाथि २२ बुँदे सम्झौता गरेर मधेशलाई गद्दारी गरेको आरोप थियो । एकचोटी गल्ती भयो भन्दैमा कामै नगर्ने भन्ने हुँदैन । उहाँ सच्चिनुभएको छ भनेर सम्झाएको थिएँ । मधेशलाई बलियो बनाउन मिल्नुको विकल्प छैन भनी बुझाएर पठाएको थिएँ ।’
केही समयपछि दुई दलको मोर्चामा समाहित हुन आइपुग्यो, महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) । र , बन्यो– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा । आफ्ना मुद्दा सम्बोधन नभएपछि फेरि दोस्रो मधेश आन्दोलन भयो । यसलाई मधेशमा भएको सबैभन्दा व्यवस्थित र प्रभावशाली आन्दोलन भनिन्छ ।
यही आन्दोलनको परिणाम हो– आठबुँदे सम्झौता । तीन दलको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०६४ फागुन १६ गते संविधानसभाको पहिलो निर्वाचन अघि आठबुँदे सहमति भएको थियो । अधिकार पहिचान र मधेशका हकमा सबैभन्दा बलियो सम्झौता यसैलाई मानिन्छ । यद्यपि, अहिले पनि त्यो सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएको मधेशकेन्द्रित दलहरूको गुनासो र माग यथावतै छ ।
यादवको आत्मकेन्द्रित स्वभावले सधैँ मतभिन्नता ल्याएको महतो बताउँछन् । ‘केन्द्रमा मधेश नराख्ने, आफू र आफ्नो पार्टीलाई राख्ने उहाँको स्वभाव छ । यहीकारण, सधैँ उहाँसँग मेरो मतभिन्नता हो,’ उनले भने, ‘मधेशलाई बलियो बनाउन म सधैँ एकता र मोर्चाबन्दीको पक्षमा रहेँ । तर, ६ दल मिलेर राजपा बनाउँदा पनि उपेन्द्र आउन मानेनन् ।’
‘हामी एक ठाउँमा उभिएपछि पहिलोपटक त्यो ऐतिहासिक सम्झौता भयो,’ महतो भन्छन्, ‘त्यही सम्झौताको जगमा अहिले अधिकार पहिचानका कुरा उठिरहेको छ । पहिचानसहितको प्रदेश दिने भनेर सम्झौता थियो । तर, मधेशबाहेक अन्यमा प्रदेश नामाकरणमा विरोध छ । कोशीमा आन्दोलन भइरहेको छ ।’
यो सम्झौतापछि उपेन्द्र मधेशतिर झरे । विजय गच्छदार, जेपी गुप्तालगायतका नेताहरू उनको पार्टीमा प्रवेश गरे । मधेशमा फोरम बलियो हुँदै गयो । राजेन्द्र र महन्थ चाहन्थे, अब चुनाव पनि सहकार्य गरेरै लड्नुपर्छ । तर, उपेन्द्रको फोरम एक्लै चुनाव लड्ने निष्कर्षमा पुगे । त्यतिवेला उपेन्द्रले एक्लै चुनाव लडेर आफूहरूलाई धोका दिएको राजेन्द्रको निष्कर्ष छ । ‘हामी सँगै चुनाव लडेको भए दुई सय सिट आउँथ्यो,’ उनले अझै हिसाब बिर्सिएका छैनन्, ‘मधेशका जनता सबैले हामीलाई भोट दिन्थे । तर, छुट्टाछुट्टै दल भएर लड्दा जम्मा ८३ सिट आयो । सँगै लडेको भए पहिलो संविधानसभामा हाम्रो प्रभावकारी भूमिका हुन्थ्यो । तर, उपेन्द्रजी आफू र आफ्नो पार्टीकेन्द्रित मात्रै हुनुभयो । त्यतिवेला फोरम ५३ सिट ल्याएर मधेशको ठूलो पार्टी त बन्यो, तर त्यसपछि ?’त्यसपछि ०७० मा दोस्रो संविधानसभामा मधेशकेन्द्रित दलहरूको राम्रो परिणाम आएन । फेरि संयुक्त मधेसी मोर्चा बन्यो । फोरम, सद्भावना र तमलोपा एकीकरणका लागि एक वर्षसम्मै प्रयत्न भयो । तर, सम्भव भएन । पछि उपेन्द्र यादवले अशोक राईसँग एकता गरेर पार्टीको नाम ‘समाजवादी पार्टी’ बनाए ।
०७२ को भूकम्पपछि जब मधेशमा नाकाबन्दी भयो, त्यतिवेला आन्दोलन राजेन्द्र महतो भर्सेस केपी ओलीजस्तो भएको थियो । बाहिर महतोले बढी जस पाइरहँदा उपेन्द्र खुशी थिएनन् । त्यतिवेला पनि उनीहरूबीच सहज सम्बन्ध नभएको उनी निकटका बताउँछन् ।
मोर्चाबन्दीबीच ०७३ सालमा ६ मधेशकेन्द्रित दल मिलाएर राजपा बन्यो । यो एकताको पहलकदमी लिने एक नेता, महतो स्वयं पनि हुन् । तर, यो मोर्चामा उपेन्द्रको फोरम आउन तयार भएन । त्यतिवेला तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना, फोरम लोकतान्त्रिक, संघीय सद्भावना, तराई मधेश सद्भावना पार्टी र राष्ट्रिय मधेश समाजवादी पार्टीबीच एकता भएको थियो । मधेशका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरत्सिंह भण्डारी, राजकिशोर यादव र अनिल झा एकै ठाउँमा आइपुगेका थिए ।
यादव भने महतो मात्रै होइन, कुनै नेतासँगको सम्बन्धबारे केही बोल्न चाहँदैनन् । ‘मेरो कसैसँग राम्रो सम्बन्ध पनि छैन, नराम्रो पनि छैन । त्यसैले केही भनिरहनुपरेन,’ उनको छोटो जवाफ छ । यादवको आत्मकेन्द्रित स्वभावले सधैँ मतभिन्नता ल्याएको महतो बताउँछन् । ‘केन्द्रमा मधेश नराख्ने, आफू र आफ्नो पार्टीलाई राख्ने उहाँको स्वभाव छ । यहीकारण, सधैँ उहाँसँग मेरो मतभिन्नता हो,’ उनले भने, ‘मधेशलाई बलियो बनाउन म सधैँ एकता र मोर्चाबन्दीको पक्षमा रहेँ । तर, ६ दल मिलेर राजपा बनाउँदा पनि उपेन्द्र आउन मानेनन् ।’
०७२ को संविधान निर्माण भएपछि त्यसको विरोधमा ६ महिने मधेश आन्दोलन हुँदा पनि मधेसी मोर्चाभित्र स्थानीय तह चुनावमा नजाने कुरा भएको थियो । महतोका अनुसार संविधान संशोधनको माग सम्बोधन नभएसम्म आन्दोलनमा सहभागी नहुने सहमति भएको थियो । ०७३ सालमा तीन चरणमा स्थानीय तह निर्वाचन हुने घोषणा भयो । महतो र ठाकुरले चुनावमा सहभागी नहुने अडान लिए । तर, उपेन्द्र पहिलो र दोस्रो दुवै चरणको चुनावमा एक्लै सहभागी भए । त्यसले पनि महतो र यादवबीचको सम्बन्धमा दरार उत्पन्न गरायो ।
तेस्रो चरणमा भने मधेशमा चुनाव गराउन गाह्रो हुने परिस्थिति सिर्जना भएपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकार संविधान संशोधन गर्ने या नगर्ने भन्ने पक्षमा मतदान गराउन तयार भयो । एमाले र राप्रपा नेपालबाहेक अन्य दलले मतदान गरे । संशोधनको पक्षमा मत पुगेन, तर राम्रो मत आएका कारण मुद्दा स्थापित भने भयो । संशोधनको पक्षमा पनि ठूलो जनमत छ भने स्पष्ट देखियो ।
यसबीचमा पटक–पटक एकताका कोसिस भए, तर सम्भव भइरहेको थिएन । राजपा र समाजवादी पार्टीबीच एकता गराउन महतोले पटक–पटक यादवसँग पहल गरेका थिए । जब मधेशकेन्द्रित दलभित्र फुटको स्थिति आयो, त्यसपछि भने रातारात एकताले मूर्तरूप पायो । समाजवादी पार्टीभित्र नेताहरूको असन्तुष्टि बढेको थियो । प्रदीप यादव, रेणु यादव, मोहम्मद इस्तियाकलगायत नेताहरू पार्टी विभाजनमा लागेको अनुमान थियो । त्यतिवेला मधेशकेन्द्रित दल टुक्र्याउन सहज हुने गरी तत्कालीन केपी ओली नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । दल टुक्र्याउन सातमध्ये एक सांसदको जोहो एमाले स्वयंले गर्ने तयारी रहेकोसम्म चर्चा थियो । पार्टी फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा महेश बस्नेत र सर्वेन्द्र खनालले डा. सुरेन्द्र यादवलाई मधेशबाट अपहरण गरेर काठमाडौं ल्याइएकोसम्म खबर बाहिरियो ।
त्यतिवेला पार्टी फुट्ने डरले यादव रातारात राजपासँग एकता गर्न तयार रहेको बताइन्छ । अध्यादेश आएको तीन दिनभित्रै एकता हुनुले पनि यो भयलाई बल दिन्छ । ०७७ वैशाख १० गते मध्यरातमा पार्टी एकताको घोषणा भयो । त्यतिवेलासम्म यादवको समाजवादी पार्टीमा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीले पनि एकता गरिसकेको अवस्था थियो । ‘एमालेले पार्टी फुटाउँदै छ भन्ने प्रस्ट भएपछि उपेन्द्र यादव एकता गर्न तयार हुनुभएको हो,’ महतो त्यो क्षण सम्झँदै समीक्षा गर्छन्, ‘कति प्रयास गर्दा पनि उहाँ मान्दै मान्नुभएको थिएन । तर, भोलिपल्ट फुट्दै छ भनेपछि मलाई बिहानै फोन गरेर एकता घोषणा गरिदिनुस् भन्नुभयो । सादा कागज लिएर आउनू, म सही गरिदिन्छु, एकता घोषणा गरिदिनुस् भन्दै आग्रह गर्नुुभयो । साथीहरू सबैले मलाई रोकिरहेका थिए, यसलाई फुट्न देऊ, बरु भोलि एकता गरौँला भन्ने सुझाव थियो । तर, फुट्यो भने मधेशवादी शक्ति कमजोर हुन्छ भनेर मैले मानिनँ ।’
आफ्नो अस्तित्व मेटाएर पनि आफूले जसपा बनाउन भूमिका खेलेको, तर यादवले गुन नसम्झिएको महतोको आरोप छ । ‘सद्भावनामा म आफैँ पार्टी अध्यक्ष थिएँ, राजपा बनाउँदा पनि बराबरीको हैसियतमा एकता गरेको थिएँ,’ महतोको गुनासो छ, ‘६ दलबीच एकता हुँदा सिट संख्याका हिसाबले सबै दलको हैसियत बराबरी थिएन । तर, एकताका खातिर सबैलाई अध्यक्ष मान्न तयार भएँ । जसपा निर्माणका खातिर अध्यक्ष पद त्याग्न तयार भएँ । तर, उपेन्द्रजीले बुझ्नुभएन ।’
पार्टी एकता भएको एक वर्ष नपुग्दै जसपा फेरि फुटको स्थितिमा पुग्यो । प्रमुख कारण बन्यो– तत्कालीन केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन । ओलीको कदमको पक्षमा जसपाभित्र दुई धार निर्माण भयो । राजपाबाट आएको ओलीको पक्षमा रहे, समाजवादीबाट आएकाहरू त्यसको विरोधमा । पार्टी एकता गर्दैगर्दा महतोलाई संसदीय दलको नेता बनाउने उपेन्द्रको आश्वासन थियो । तर, पछि महतोलाई वरिष्ठ नेता मात्रै बनाइयो । यसमा विघटनको मुद्दा थपिएपछि यादव–महतोको सम्बन्धमा झन् ठूलो पर्खाल उभिएको थियो । जसपाभित्र ठाकुर–महतो पक्षका २२ सांसदले ओलीको पक्षमा साथ दिएपछि संसद् पुनस्र्थापनाका लागि लडिरहेका यादव बिचकिए ।
विवाद निर्वाचन आयोगसम्म पुग्यो । दुवै धारले एक–अर्कालाई पालैपालो निष्कासनको पत्रसम्म निर्वाचन आयोगमा पठाए । अन्ततः आयोगको फैसलाले जसपाको आधिकारिकता यादवले पाए, कारबाही कसैको मान्य भएन । दल विभाजन अध्यादेश ल्याएर जसपाबाट महन्थ, महतोलगायतको समूह बाहिरियो । र, बन्यो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ।
त्यसो त यादव र महतोबीच पार्टी एकता घोषणा भएदेखि नै तित्तता सुरु भएको थियो । एकताका लागि खाली पानामा हस्ताक्षर गर्न तयार रहेका यादवले घोषणापछि भने आफ्नो रंग बदलेको महतोको आरोप छ । जिम्मेवारी बाँडफाँटलाई लिएर उनीहरूबीच लामो समय नोकझोक भएको पार्टीका नेताहरू बताउँछन् ।
उपनिर्वाचनले तोड्यो बोलचाल
जसपा र लोसपाको विभाजनपछि लामो समय महतो यादवको बोलचाल भएन । गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनले उनीहरूबीचको बोलचाल तोड्यो । कारण– बारा २ को उपनिर्वाचन । निर्वाचनमा पराजित दुवै बारामा उपनिर्वाचन लड्ने चर्चा भयो । दुवै सत्तागठबन्धनभित्रै थिए । सिके राउतको जनमत यादवलाई हराउन मैदानमा उत्रिएको थियो । फेरि हार व्यहोर्नु नपरोस् भनेर उपेन्द्र स्वयंले तिक्ततालाई तोड्दै महतोलाई फोन गरेका थिए । ‘एक दिन एक्कासी उपेन्द्रजीको फोन आयो,’ महतो भन्छन्, ‘त्यतिवेला बाराबाट हामी दुवै उम्मेदवार बन्ने चर्चा थियो । उहाँले फोन गरेर ‘मलाई मद्दत गर्नुस्, म त्यहाँबाट चुनाव लड्छु । तपाईं लड्नुभयो भने मलाई अप्ठ्यारो पर्छ,’ भन्नुभयो । जवाफमा मैले भनेँ, ‘अहिलेसम्म निर्णय गरिसकेको छैन, तर मागचाहिँ आएको छ ।’
सत्तागठबन्धनमै विद्रोह गरेर महतो चुनाव लड्ने मुडमा थिएनन् । अन्ततः यादव नै सत्तागठबन्धनबाट उम्मेदवार भए । महतो न उम्मेदवार बने, न विरोधमा उत्रिएँ । चुनावी परिणाम आएको राति नै महतोले यादवलाई बधाईको म्यासेज पठाए । ‘तर, उहाँले धन्यवादसम्म दिनुभएको छैन,’ महतोको चित्त दुखाइ छ, ‘हामीबीच खट्टा–मीठा सम्बन्ध छ । उहाँलाई अप्ठ्यारो पर्दा मैले सधैँ साथ दिएँ । तर, मलाई कहिल्यै साथ दिएको अनुभव छैन ।’
के भन्छन् उनी निकटहरू ?
सुरुमा यादव र अहिले महतोसँग नजिक रहेर काम गरिरहेका लोसपाका महासचिव केशव झा यादव–महतोबीच मर्यादित सम्बन्ध रहेको बताउँछन् । ‘दुईजनाबीच मर्यादित सम्बन्ध छ,’ उनी भन्छन्, ‘अप्ठ्यारोमा सधैँ सँगै हुन्छन् । एक–अर्काबीच सार्वजनिक रूपमा गालीगलौजमा उत्रिएका छैनन् । दुईबीचको टकरावले मधेशले धेरै नोक्सानी व्यहोरिरहेको छ । उहाँहरू एक भएकोभए मधेशको शक्ति यति कमजोर हुँदैनथ्यो ।’
दुवैसँग संगत गरेका जसपाका प्रवक्ता मनीषसुमन यादव–महतो सम्बन्धलाई ‘ठीकठीकै’ भन्छन् । ‘कुनै वेला दुवै मधेश आन्दोलनको नेतृत्वदायी भूमिकामा थिए,’ उनको विश्लेषण छ, ‘तर, राजेन्द्रजीले अहिले आफैँ नेतृत्व लिन छाड्नुभयो, उपेन्द्रजी लगातार नेतृत्वमै हुनुहुन्छ । उपेन्द्रजी विचार र उद्देश्यप्रति प्रस्ट व्यक्तित्व हुनुहुन्छ । राजेन्द्रजी अध्यययनतिर कमजोर, तर भिड जम्मा गर्न सक्ने, उत्तेजक भाषण गर्न सक्ने नेता हुनुहुन्छ । मैले दुवैबीच कहिल्यै खासै कटुता देखिनँ । पारिवारिक भेटघाट र सम्बन्धबारे थाहा छैन तर, दुईबीचको व्यक्तिगत सम्बन्ध भने राम्रै देख्छु ।’