मैले उठाएका केही विषयमा सकारात्मक परिणाम देखिएको छ

यो एक वर्षमा नागरिक र सरकारबीच पुलको काम गर्ने अधिक प्रयास गरेँ ।

माधव सापकोटा माधव सापकोटा
शनिबार, १४ पुष, २०८०
डिजिटल संस्करण

सिन्धुपाल्चोक १ का मतदाताले अमूल्य मत दिएर आफ्नो प्रतिनिधिका रूपमा संघीय संसद्, प्रतिनिधिसभामा पठाएको एक वर्ष पूरा भएको छ । ०७९ मंसिर ४ को चुनाव उम्मेदरवारका रूपमा मेरा लागि पहिलो थियो । पार्टीले जिम्मेवारी दिएपछि उमेरले ४० टेक्दै गर्दा चुनावी प्रतिस्पर्धामा होमिएँ । सिंगो पार्टी, गठबन्धन, अग्रज र युवाको दरिलो साथ थियो । त्यसैले विजयी हुन्छु भन्नेमा म ढुक्क थिएँ । हाम्रो सिंगो टिमले निकै मिहिनेतका साथ सिन्धुपाल्चोक १ का हरेक घरआँगनमा पुगेर मत मागेको थियो । निर्वाचनमा सिन्धुपाल्चोकले गठबन्धनमा भएको सहमतिलाई जस्ताको तस्तै कार्यान्वयन गर्यो । यसका लागि पार्टीपंक्ति, युवा पुस्तादेखि मतदातासम्मको निकै ठूलो मिहिनेत परेको थियो । पार्टीभन्दा माथि उठेर ठूलो पंक्तिले मलाई विश्वास पनि गर्यो । निर्वाचित भएको एक वर्ष पूरा भएको अवसरमा म सबै मतदाताप्रति आभार व्यक्त गर्दछु, सम्मान गर्न चाहन्छु । 


पार्टिको मूल नेतृत्वले गरेको विश्वास, अग्रज अग्नि सापकोटाले राजनीतिमा पुस्तान्तणलाई दिनुभएको महŒव एवं गर्नुभएको त्यागका कारण संसदीय अभ्यासमा हामी युवाले अवसर पाएका छौँ । यसबाट राजनीतिमा नयाँ संस्कारको विकास भएको छ । युवा पुस्ताका लागि आधार तय भएको छ । युवाका लागि सम्भावनाका ढोका खुलेका छन् । 


निर्वाचनको एक महिनाअघि गठबन्धनका तर्फबाट पाँच वर्षका लागि निर्वाचन क्षेत्रकेन्द्रित साझा प्रतिबद्धता जारी गर्यौँ र तिनै विषय लिएर मतदातासामु पुग्यौँ । ०७९ मंसिर ४ मा सहज रूपमा निर्वाचन सम्पन्न भयो । मंसिर ७ गते राति २ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मतपरिणाम सार्वजनिक गर्यो । कुल ३,३५६ मतान्तरले आफू विजय भएको घोषणा भएपछि असोज २३ गते उम्मेदवारी दर्तादेखिको थकान सबै मेटिएको अनुभूति भयो । पहिलोपटक नै जनताको अपार माया पाएर निर्वाचित हुँदाको गौरवपूर्ण अनुभव अवर्णनीय रह्यो । सँगसँगै जिम्मेवारी बोधको गहिरो अनुभूति पनि हुनथाल्यो । मंसिर ११ गते निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरियो । 

प्रतिनिधिसभा सदस्यका रूपमा ०७९ पुस ७ गते शपथग्रहण गरियो । बितेको एक वर्षमा प्रतिनिधिसभामा दुई अधिवेशन भए । कुल ९३ वटा बैठक चल्यो, ८१ वटामा उपस्थित भएँ । शून्य, आकस्मिक, विशेष, सैद्धान्तिक छलफल, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल र प्रश्नोत्तरसहित विविध विषयमा ३१ वटा सम्बोधन गरेँ । पूर्वाधार विकास समिति सदस्यका रूपमा कुल १५ बैठकमध्ये ९ बैठकमा सक्रिय सहभागी भएँ । समितिले निर्वाह गर्नुपर्ने भूमिका, आएका विषयवस्तुमा गम्भीरतापूर्वक धारणा व्यक्त गरेँ । सभा वा समितिका हरेक बैठकमा मतदातासामु गरिएको प्रतिबद्धतापत्र बोकेरै गएँ । नागरिक र सरकारबीच पुलको काम गर्ने अधिक प्रयास गरेँ । 

पहिलोपटक रोस्ट्रममा उभिएकै दिन पार्टीका तर्फबाट सभामुखका उम्मेदवार माननीय देवराज घिमिरेलाई समर्थन गर्ने मौका मिल्यो । यो अवसरलाई पनि जनतासँग गरेको प्रतिबद्धता राख्न सदुपयोग गरेँ । निर्वाचन क्षेत्रमा पर्ने देशकै प्रमुख तातोपानी नाका पूर्ववत् सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएँ । 


निर्वाचन क्षेत्रका साथै आमनागरिकका आवाज संसद्मा निर्भीकतापूर्वक राख्ने प्रयास गरिरहेँ । दुवै अधिवेशनमा आफ्नै दल नेतृत्वको सरकारले ल्याएका विधेयकमा संशोधन दर्ता गराएँ । स्रोत नखुलेको सम्पत्ति सीधै राष्ट्रियकरण गर्नुपर्ने तर्कसहित सम्पत्ति शुद्धीकरण विधेयक, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, विद्यालय शिक्षा विधेयक र विद्युत् विधेयकमा संशोधन दर्ता गराएको छु । पहिलोपटक रोस्ट्रममा उभिएकै दिन पार्टीका तर्फबाट सभामुखका उम्मेदवार माननीय देवराज घिमिरेलाई समर्थन गर्ने मौका मिल्यो । यो अवसरलाई पनि जनतासँग गरेको प्रतिबद्धता राख्न सदुपयोग गरेँ । निर्वाचन क्षेत्रमा पर्ने देशकै प्रमुख तातोपानी नाका पूर्ववत् सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएँ । 


संसद्मा राष्ट्रिय मुद्दालाई प्राथमिकताका साथ उजागर गर्ने प्रयास गरिरहेँ । युवा बेरोजगारी, रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता, नेपाल वृद्धवृद्धाको मात्र देश बन्ने खतरालाई तथ्यांकसहित संसद्मा उठाएर युवाको विषयलाई पहिलो प्राथमिकतामा राखेँ । युवाका समस्या र चासोलाई संकल्प प्रस्तावका रूपमा दर्ता गरौँ भनेर युवा सांसदहरूलाई आह्वान गरेँ । प्रतिनिधिसभाको नियमावलीमा अलिखित तर अभ्यासमा रहेको ‘ढ्यापढ्यापे समय’को सट्टा नियमावलीमै उल्लेख गरेर ‘आकस्मिक समय’ राखौँ भनेर संशोधन प्रस्ताव दर्ता गराएँ । नयाँ नियमावलीमा मैले गरेको प्रस्तावअनुसारको व्यवस्था रहेको छ । अहिले संसद्मा ‘ढ्यापढ्यापे’ होइन ‘आकस्मिक समय’ चल्तीमा छ । 


देशको बजेट कार्यान्वयनमा हरेक वर्ष दोहोरिने एकैखाले समस्या, अन्तिम चौमासिकमा पर्ने चापका सन्दर्भमा क्यालेन्डर बनाएर बजेट कार्यान्वयन गर्न विशेष आग्रह गर्दै ध्यानाकर्षण गराएँ । संसद् सञ्चालनमा सूचना प्रविधिको प्रयोग गरौँ भनेर आग्रह गर्दै यस कार्यका लागि एक महिनाको तलब सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छु । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक समयमै पारित गरेर संक्रमणकालीन न्यायका विषयमा नेपालबाट सन्देश दिन सकिने विषय प्रस्तुत गरेँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ०८० कात्तिक १३ गते संसद्मा गर्नुभएको सम्बोधनमा नेपालले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन गरेको मौलिक अभ्यास र सन्देशबारे चर्चा गर्नुभयो । ‘टिआरसी बिल’ समयमै पारित गर्न सकेको भए विश्वभर अझ राम्रो सन्देश जाने थियो । 


भ्रष्टाचारका विषयमा शून्यसहनशीलताका साथ सरकारले काम गरिरहेका वेला भुटानी शरणार्थीको मुद्दालाई स्वार्थमा जोडेर राजनीति नगर्न संसद्मा आग्रह गरेँ । देशका संवैधानिक अंग र निकाय ‘रिटायर्डका क्लब’जस्ता भएको विषयमा गम्भीर बन्न सिंगो राज्यको ध्यानाकर्षण गराएँ । नेपालले बहुप्रकोपको सामना गरिरहनुपरेको सन्दर्भमा सबैखाले विपत् जोखिमको पूर्वतयारीका लागि समयमै सम्बन्धित निकायको ध्यानाकर्षण गराएँ । 

नागरिकसँग गरेका प्रतिबद्धताअनुसार संसद्मा विषय उठान गरेपछि केही सकारात्मक परिणाम पनि देखिएका छन् । ०७२ को भूकम्पपछि बन्दजस्तै रहेको तातोपानी नाका पूर्ववत् सुचारुको विषय मैले प्रमुखता साथ उठाएको थिएँ । सरोकारवालालाई नेतृत्व गर्दै प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका पनि थियौँ । अन्ततः ०८० भदौ १५ देखि यो नाका पूर्ववत् सुचारु भएको छ । म आफैँ नाकामा पुगेर स्थानीयसँग खुसी साटेँ । जनताले स्याबासी दिनुभएको छ । लिपिङ क्षेत्रको बजारीकरण र नाकासम्म पुग्ने सडक स्तरोन्नतिको काम पनि गरिछाड्ने संकल्प लिएको छु। 


०७१ साउन १७ गते जुरे पहिरोले ठूलो जनधनको क्षति गराएको थियो । जुरे पहिरो प्रभावितका लागि जनस्तरबाट संकलन भएर एकद्वार प्रणालीमार्फत वितरण गर्ने उद्देश्यले सरकारी खातामा जम्मा भएको रकम प्रभावितले पाउनसकेका थिएनन् । लामो प्रयासपछि पनि काम नहुँदा पीडित निराश थिए । मैले निर्वाचनका वेला यो काम गरिछोड्ने प्रतिबद्धता व्यक्त गरेको थिएँ । अन्ततः संसद्मा उठाइएको आवाज र आग्रहलाई सरकारले सम्बोधन गर्यो । नौ वर्षपछि जुरे पहिरो प्रभावितको रकम निकासा भयो । प्रभावितहरूलाई नगदै वितरण गरियो । प्रतिनिधि भएर जनताको काम गर्न पाएकोमा गर्वानुभूति भएको छ । 


लामो समयदेखि बन्द रहेको लामोसाँघुस्थित ओरेन्ट म्याग्नेसाइटको पुनः सञ्चालन वा अन्य व्यवस्थापनको विषय उठान गरेको थिएँ । यसबारे विभिन्न विकल्पमा छलफल जारी छ । निकास निस्कनेमा विश्वस्त छु । गाउँगाउँमा पुग्दा जनताले बाँदर, बँदेल, दुम्सीलगायतका जंगली जनावरले दुःख दिएकाले बालीनाली जोगाउन सहयोग मागेका छन् । यो विषय जस्ताको तस्तै संसद्मा राखेर सरकारको ध्यानाकर्षण गराएको छु । काठमाडौं पूर्वका १३ जिल्लाका लागि काठमाडौंको जडीबुटीमा बनेको बसपार्क प्रयोगको विषय, मेलम्ची बाढी प्रभावितका लागि समयमै सम्बोधन गर्ने विषय पनि संसद्मा उठाएको छु । 


निर्वाचन क्षेत्रअन्तर्गतका स्थानीय तहबीच आपसी समझदारीमा समन्वयकारी संयन्त्रमार्फत काम गर्न प्रोत्साहनको सुरुवात भएको छ । विपत् व्यवस्थापनको विषयलाई प्राथमिकतामा राखेर पहिलो वर्ष कार्यक्रम गरी बजेट व्यवस्थापनमा सहजीकरणको नेतृत्व गरेँ । हरेक वर्ष फरक–फरक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने गरी अघि बढिएको छ । जुगल गाउँपालिकामा रहेको श्री रत्नराज्य माध्यमिक विद्यालय, चनौटेमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विद्यालय हस्तान्तरण गरियो । विद्यालयलाई आवासीय हुँदै केन्द्रीय विद्यालय बनाउने कार्य अघि बढाइएको छ । निर्वाचन क्षेत्रको शैक्षिक केन्द्र बन्ने गरी काम भइरहेको छ । सिन्धुपाल्चोककै सबैभन्दा विकट मानिएको जुगलको गुम्बामा विद्युतीकरण र मोटरबाटोका लागि नेतृत्वदायी भूमिका रह्यो । 


प्रतिबद्धताअनुरूपका कार्य पूरा गर्न संघ, प्रदेश, स्थानीय तहसँग समन्वय गरियो । रणनीतिक महत्वकादेखि निर्वाचन क्षेत्रभित्रका अन्य सडकको स्तरोन्नति जारी छ । आवश्यकता र मागका आधारमा निर्वाचन क्षेत्रका सबै सडकको विस्तृत परियोजना रिपोर्ट (डिपीआर) तयार गर्ने काम भइरहेको छ । जुगल गाउँपालिकामा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको काम अगाडि बढाइएको छ । जुगल हिमशृंङखलाअन्तर्गतका थप चुचुरा आरोहणका लागि खुला गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न पाउँदा खुसी लागेको छ । पर्यटकको संख्यामा वृद्धि भएको छ । काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमालप्रति देश–विदेशमा बढेको आकर्षणले खुसी बनाएको छ ।

अरनिको राजमार्गमा पर्ने चर्चित पर्यटकीय क्षेत्र सुकुटेलाई अझ व्यवस्थित बनाउन चौतारा साँगाचोकगढी नगरपालिकासँगको समन्वयमा कार्य अघि बढेको छ । सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने दिवंगत शम्भु तामाङको सम्झनामा लिसंखुपाखरमा पार्क निर्माण कार्यको थालनी भएको छ । 


संसद् सदस्य निर्वाचित भएपछि जनताले आफ्नो प्रतिनिधिलाई घरआँगनमा देख्न चाहन्छ । अरू वेला हराउने र चुनावमा मात्रै देखिने भनेर आलोचना पनि हुने गरेको सन्दर्भमा निर्वाचन क्षेत्रमा जनतासँग सांसद कार्यक्रम नै राखेर अघि बढ्ने जमर्को गरेको छु । एक वर्षमा निर्वाचन क्षेत्रमा पर्ने सबै ५४ वटै वडामा कुनै न कुनै कार्यक्रममार्फत पुगिसकेको छु । अर्को वर्ष टोलसम्म पुग्ने गरी यो कार्यक्रम कार्यान्वयमा रहनेछ । 


सहिद परिवार, मृतक परिवार, बेपत्ता तथा अपांगता भएका परिवार भेटघाट एवं सान्त्वना दिन पुगेको छु । विद्यालयको वार्षिकोत्सव, निर्वाचन क्षेत्रमा निर्माण भएका विद्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी, खानेपानी, झोलुंगे पुललगायतका पूर्वाधार÷संरचनाको शिलान्यास, उद्घाटनमा जनताले आफ्नो प्रतिनिधिलाई सँगै पाएका छन् । सहकारी, डेरी, वन समूह, महिला समूह, युवा समूहका कार्यक्रममा निर्वाचन क्षेत्रमा पुगेको हुन्छु । सडक, पुललगायतका भौतिक संरचना, आयोजनाको नियमित अनुगमन गरिएको छ । अधिकांश आयोजनाको कार्यप्रगति सन्तोषजनक देखिन्छ ।


एउटा राजनीतिक कार्यकर्ताका रूपमा पार्टी केन्द्रीय समितिको बैठक, प्रदेशका बैठक, समन्वय समितिका बैठक, पालिका र वडाका बैठक, मोर्चा संगठनका भेला बैठकमा उपस्थित भई जिम्मेवारी निर्वाह गरेको छु । पार्टीले ०८० भदौ १६ गतेदेखि सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’अन्तर्गतको जिम्मेवारी निर्वाह गरिरहेको छु । काठमाडौंको चन्द्रागिरिका अतिरिक्त गृहजिल्लासँग पनि उत्तिकै जोडिएको छु । गठबन्धन दलका साझा प्रतिबद्धता कार्यान्वयन गर्न पार्टीको तर्फबाट भूमिका निर्वाह गरिरहेको छु । 



पहिलो वर्ष संसद् सदस्यका रूपमा केही अन्तर्राष्ट्रिय फोरममा सहभागी हुने अवसर जुट्यो । संयुक्तराज्य अमेरिकामा ‘हाई लेभल पोलिटिकल फोरम’को बैठक र दिगो विकास लक्ष्यसम्बन्धी संयुक्त राष्ट्रसंघको सम्मेलनमा सहभागी भएर नेपाली संसदीय प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्ने मौका मिल्यो । बंगलादेशको ढाकामा ‘क्लाइमेट पार्लियामेन्ट’ले आयोजना गरेको ‘टुवाड्र्स अ रेजिलियन्स साउथ एसिया रिजनल क्लाइमेट समिट २०२३’ मा सहभागी भएर नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गरेँ । भारतको संसदीय अनुभव भ्रमण तथा अनुभव आदानप्रदान एवं लोकसभा र राज्यसभाको अवलोकन भ्रमण एवं ‘दी इनर्जी ट्रान्जिसन २०२३’ सम्मेलनमा सहभागी भई सम्बोधन गरेँ । यसबाट विभिन्न देशको अभ्यासबारे जानकारी प्राप्त गर्ने र आफ्ना कुरा राख्ने अवसर प्राप्त भयो । 



यस अवधिमा सांसद आफैँले मुद्दा स्थापित गर्नुपर्ने, आफैँले प्राथमिकताका साथ सरकार र सम्बन्धित निकायमा धाउनैपर्ने अवस्थाको अनुभूति भएको छ । हामीले स्थापित गर्दै गरेको प्रणालीले पूर्ण रूपमा स्थापित नभइसकेकाले पनि व्यक्ति आफैँ धाउनुपर्ने वास्तविकताबारे ज्ञान भयो । संसद्को मूल काम कानुन बनाउने हो । अवसादको कुरा, यो एक वर्षमा कानुन निर्माणमा खासै उपलब्धि हुन सकेन । दुई सय ७५ मध्ये एक सदस्यको नाताले म आफ्नो भागको जिम्मेवारी लिन्छु । सबैले यो विषयलाई मनन गरौँ । हाम्रो संसद्लाई समयानुकूल अद्यावधिक गर्ने, प्रविधिको प्रयोग गरी स्मार्ट बनाउनेतर्फ लाग्नुपर्ने आवश्यकता पनि बोध भएको छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार