स्थानीय तह निर्वाचन भएको डेढ वर्ष भएको छ । काठमाडौं महानगर तथा धरान र धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार मेयरमा विजयी भए । अहिले पनि यी पालिकाकै चर्चा बढी हुने गर्छन् । काठमाडौंका मेयर बालेन साह सामाजिक सञ्जालमा बढी छाइरहन्छन् । उनले लेखेका स्टाटसमाथि मानिस पक्षविपक्षमा बाँडिन्छन् । कतिपय स्टाटस विवादित पनि बन्छन् । मेयर बालेनको कार्यकाललाई निवर्तमान मेयर विद्यासुन्दर शाक्यले कसरी मूल्यांकन गरेका छन् ? प्रेम गौतमसँगको कुराकानीमा शाक्यले मेयर साहलाई केही सुझाव दिएका छन् :
काठमाडौं महानगरपालिकामा मेरो कार्यकालमा अगाडि बढाएका धेरै कामले अहिले निरन्तरता पाइरहेका छन् । नीति तथा कार्यक्रम र बजेट हेर्दा पनि धेरै कार्यक्रम पहिलेकै निरन्तरता देख्न पाइन्छ । सम्पदा संरक्षण, पूर्वाधार निर्माण, विद्यालय सशक्तीकरण, सामुदायिक अस्पतालको स्तरोन्नति, पर्यटन प्रवद्र्धन, हरेक वडामा पार्क, हरेक वडामा क्लिनिकलगायतका कामले निरन्तरता पाएका छन् ।
हामीले अगाडि बढाएका केही काम छुटेका पनि छन् । हाइमास्ट जडान गर्ने भनेर अघिल्लो कार्यकालमै टेन्डर भएको थियो । स्मार्ट लाइट राख्ने सम्बन्धमा काठमाडौं महानगरपालिका, विद्युत् प्राधिकरण र सडक विभागबीच त्रिपक्षीय सम्झौता ०७७ सालमै भएको थियो । काठमाडौं महानगरपालिकाको आफ्नै भवन बनाउने प्रक्रिया अगाडि बढाएका थियौँ । पार्किङ भवन पनि आफ्नै बनाउने भनेर टेन्डर भएको थियो । यी कामले पूर्णता पाएका छैनन् ।
काठमाडौंका विभिन्न ठाउँमा दमकल भवन बनाउने भनेर प्रक्रिया सुरु गरेका थियौँ । बौद्ध, बालाजुमा दमकल स्टेसन बनायौँ, अन्य स्थानमा पनि बनाउने कुरा थियो । दमकल कार्यालयको भवन पनि ज्यादै जीर्ण भइसकेको छ । हामीलाई विपत् पर्यो भने एक कल फोनको भरमा उठेर आउनुपर्ने दमकल कर्मचारीलाई खाने, बस्ने, सुत्ने ठाउँ राम्रो छैन । त्यसलाई राम्रो बनाउनुपर्छ भनेर मैले टेन्डर गरेको थिएँ । त्यो कामले पनि पूर्णता पाएको छैन । म मेयर हुँदा दुइटा नयाँ प्रोजेक्ट पनि ल्याएको थियौँ । नगर–नगर साझेदारी र अन्य पालिकालाई सम्पदा र हरियाली संरक्षणमा सहयोग ।
महानगरको काम संस्थागत हो, व्यक्तिगत होइन । अहिले व्यक्ति हाबी हुने, संस्थागत रूपमा काम नहुने स्थिति बन्यो ।
नगरपालिकाको प्रोजेक्टमा काठमाडौं महानगरपालिकाले हरेक वर्ष एक–एक करोड न्यूनतम लगानी गर्ने सहमति गरेका थियौँ । त्यसबाहेक सातवटै प्रदेशका एक–एक पालिकामा भगिनी सम्बन्ध कायम गरेर सहयोग गर्ने । जसरी विदेशीले हामीलाई सहयोग गर्दा हामी दंग हुन्छौँ । महानगरपालिका आफैँ सक्षम छ । डेढ–डेढ करोड दिँदा महानगर गरिब हुँदैन । पाँचवटा पालिकासँग मैले सहकार्य गरेँ । अहिले त्यसले निरन्तरता पाएन भन्ने सुनेको छु । यहाँको पैसा बाहिर लग्यो भन्ने पनि होला । विदेशको पैसा यहाँ ल्याउँदा हामी खुसी हुने, अनि यहाँको पैसा छिमेकी नगरपालिकालाई सम्पदा संरक्षण, हरियाली संरक्षणमा सहयोग गर्दा दुःखी हुनुपर्ने होइन । महानगरको कामलाई अवरोध नहुने गरी सहयोग गर्न सकिन्छ ।
फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन भएन
उपत्यका नगरपालिका फोरमको अध्यक्षको हैसियतले डेलिगेसन गएर फोहोर व्यवस्थापनबारे प्रधानमन्त्री, मन्त्रीलाई भनेका थियौँ । त्यसपछि हामीले बन्चरेडाँडामा व्यवस्थापन गर्ने स्थल बनायौँ । वैज्ञानिक रूपमा फोहोरमैला व्यवस्थापन गर्छौँ भनेर सबैले भन्छन् । तर, केही पनि भएको छैन । त्यसले छिटो पूर्णता पाओस् । यदि, हामीले हिजो अगाडि बढाएको प्रोजेक्ट ठीक छैन भने त्यसको विकल्प के हो ? त्यो दिनुपर्छ । अहिले न अगाडि बढ्न सकेको छ, न पछाडि हट्नै सकेको अवस्था छ । डेड वर्ष समय बितिसक्यो । भन्न त एक महिनामा यो गर्छौँ, अर्को महिनामा यो भनेर भन्नुभयो, तर ठोस रूपमा अहिलेसम्म केही पनि भएको छैन । अहिलेकै स्थितिमा रहने हो भने भोलि फेरि फोहोरको समस्या आउँछ । फोहोर–मैलाको दीर्घकालीन योजना बनाएर जानुपर्छ । वैज्ञानिक रूपमा फोहोर प्रशोधन हुनुपर्छ । महानगरवासीको दीर्घकालीन हितका लागि भएको निर्णयले निरन्तरता पाउनुपर्छ ।
महानगरले भूमि आयोगसँग सम्झौता गरेर सुकुमवासी बस्तीमा नछुने, डोजर नचलाउने भनेर सम्झौता गर्ने । अनि, जनतालाई ढाँट्नका लागि डोजर पठाउने ?
रिजल्ट आउने गरी काम हुनुपर्यो
म हुँदा ससाना कुरामा पनि विरोध धेरै भए । अहिले त विरोध छैन । अवरोध छैन । अभियन्ताहरूले पनि मुद्दा हालेर हैरान पारे । अहिले त त्यस्तो अवस्था छैन । तर, पनि रिजल्ट आएन । हिजो रिजल्ट दिन खोज्दा पनि कतिपय अवस्थामा मुद्दाका कारणले दिन सकिएन । हिजो मैले शिलान्यास गरेका काम अहिले उद्घाटन भइरहेका छन् । मैले सुरु गरेका काम अहिले देखिएका छन् । अहिले योचाहिँ भयो भनेर नयाँ केही भएको त छैन ।
हिजो म मेयर हुँदा अनावश्यक विवाद धेरै झेलेँ । रानीपोखरी बनाएँ, त्यहाँ विवाद भयो । रानीपोखरी बनाएपछि घुम्ने ठाउँ बनाउनुपर्छ भनेर बनाइयो । ३६५ दिनै खोल्ने, बत्ती बाल्ने, बगैँचा बनाउने, शौचालय बनाउने, क्याफे बनाउने भनेको थिएँ । त्यो वेला बनाउन पाइएन । प्रताप मल्लको पालामा जस्तो छ, त्यस्तै बनाउनुपर्छ । बत्ती पनि बाल्न पाइँदैन भन्थे । अहिले बिहान दुई घन्टा खुल्दा सबैले राम्रो भनेका छन् । अहिले मर्निङवाकमा म पनि जान्छु । आफैँले बनाएको ठाउँमा जाँदा रमाइलो पनि लाग्छ । ज्येष्ठ नागरिक घुम्न आउँछन् । धुलो उड्दैन । मेयरसाब शौचालय बनाइदिनुपर्यो भनेर मलाई भन्न आउँछन् । शौचालय बनाउन नदिनेलाई ‘पापीहरू’ भनेर अहिले गाली गर्छन् । हिजो मैले खोल्छु भन्दा विरोध भयो, अहिले कसैले बोलेको छ ? कमलपोखरी बनाउँदा पनि त्यस्तै विरोध भयो । बनाउनै नदिन मुद्दा हाल्न गए ।
टुँडिखेल बेचेर खायो भन्ने आरोप पनि भोगेँ । कतिपय माननीय पनि लागे । सरकारी प्रोजेक्ट दरबार हाई स्कुल र वीर अस्पतालको निर्माण सामग्री राख्न र त्यहाँ काम गर्नेहरूलाई बस्नका लागि अस्थायी रूपमा ठाउँ दिइएको थियो । त्यही ठाउँ दिँदा बेचेर खायो भन्ने आरोप लाग्यो । अहिले पनि धरहरा बनाइरहेखेका छन्, निर्माण सामग्री त टुँडिखेलमा राखिरहेका छन् । अहिले कसैले बोलेको छ ? टुँडिखेल बेचेर खायो भनेर अहिलेको मेयरलाई भनेको छ ? हिजो राजनीतिक रूपमा आग्रह–पूर्वाग्रह हुन्थ्यो, अहिले त्यस्तो नभएको अवस्थामा रिजल्ट हिजोको भन्दा छिटो आउनुपर्ने हो । तर, आइरहेको छैन ।
पैदल यात्रुलाई असर नपर्ने गरी समय मिलाएर फुटपाथ व्यापार गर्नु भनेर मैले सहमति दिएको थिएँ । अहिलेजस्तो लखेटालखेट, खोसाखोसको स्थिति थिएन । श्रम गरेर खाने बाटो हामीले बन्द गरिदिनु हुँदैन । यदि, सहज रूपमा हुन्छ भने कोही मान्छे फुटपाथमा किन बस्छ ?
समय व्यवस्थापन गरौँ, उत्तरदायित्व नभुलौँ
अहिले अवैतनिक सल्लाहकार धेरै छन् । अवैतनिक सल्लाहकार राख्नु कत्तिको उचित–अनुचित छलफलको विषय होला । जस्तै, तपाईं एउटा गरिखाने वर्ग, तपाईंलाई पाँच वर्षमा एक पैसा नदिई काम लगाउँदा के हुन्छ होला ? त्यसबाट के अपेक्षा गर्ने ? परिणाम के होला ? म अवैतनिक सल्लाहकारको पक्षमा छैन । काम गराएपछि उसलाई पारिश्रमिक दिनुपर्छ कि काम लगाउनै हुँदैन । स्वयंसेवा भनेको एक–दुई दिन, एक–दुई महिना होला, पाँच वर्ष हुन्छ ? पाँच वर्षसम्म अवैतनिक सल्लाहकारले के गर्लान् ? एक पैसा नलिई कहाँबाट ल्याएर खर्च गर्छन् ? पाँच वर्षसम्म पछि लागेर के पाएँ भन्ने प्रश्न भोलि अवश्य उठ्छ ।
हिजो तपाईंलाई भेट्न जति सजिलो थियो, आज त्यस्तो अवस्था छैन भन्ने नागरिकको गुनासो छ । मिडियाले पनि त्यही भन्दै छन् । मैले त समय व्यवस्थापन गरेर ढिलोचाँडो समय दिन्थेँ । आज त मिडियाले समय नै पाउँदैनन् । मेयरले नागरिक उत्तरदायित्व भुल्नुहुँदैन ।
कर उठाएपछि महानगरवासीलाई सुविधा दिनुपर्यो
महानगर समृद्ध हुँदा हामी महानगरवासी सबै समृद्ध हुने हो । बोलेर होइन, गरेर समृद्धितर्फ जानुपर्छ । त्यसका लागि म मेरोतर्फबाट सहयोग गर्न तयार छु । राम्रो गर्नेलाई सबैले सहयोग गर्नुपर्छ । यहाँ पक्ष–प्रतिपक्ष भन्ने कुरा हुँदैन । असहयोग र सबैप्रति शंका गरेर सहकार्य, समन्वय गर्न गाह्रो हुन्छ । त्यसैले सबैलाई मिलाएर जानुपर्छ । महानगर हामी सबैको हो । जसले प्रतिनिधित्व गरे पनि महानगरवासीको प्रतिनिधित्व गर्ने हो । महानगरवासीलाई कस्तो सुविधा दिएर जाने हो ? दिने कति हो र लिने के हो ? महानगरवासीसँग महानगरले राजस्व लिन्छ । त्यसबापत सेवा–सुविधा दिन्छौँ । लिने–दिने अनुपात कस्तो हुन्छ ? तपाईंले तिरेको करले सन्तुष्टि पाउनुहुन्छ कि हुँदैन ? मैले तिरेको करले मेरो सहर यस्तो बन्यो भनेर खुसी हुने वातावरण बनाउनुपर्छ ।
इन्द्रजात्रा अन्तर्राष्ट्रियकरण गर्ने म हुँ । तर, अहिले इन्द्रजात्राभन्दा व्यक्तिको चर्चा हुन्छ । सयौैँ नगर प्रहरी लगाएर हाहाहुहु गरिन्छ । आफैँ देशको सर्वेसर्वाजस्तो सर्वोच्च संस्था राष्ट्रपति, देशको कार्यकारी प्रधानमन्त्रीलाई बदनाम गराउने काम हुन्छ । अनि आफूचाहिँ हुलका हुल मान्छे बटुलेर लैजाने र चर्चा गर्ने ? त्यसले विकृति ल्याउँछ । त्यस्तो काम नगर्दै राम्रो हुन्छ ।
मेयरको आदेशअनुसाार सबै चल्नुपर्छ भन्ने जरुरी छैन
अहिले महानगरपालिकामा चार पक्ष छन् । पहिलो, स्वतन्त्र मेयर । दोस्रो, एमालेबाट उपमेयरसहित वडाध्यक्ष, सदस्य । तेस्रो कांग्रेसको वडाध्यक्ष र सदस्य र चौथो एकीकृत समाजवादीको वडाध्यक्ष र सदस्य । मेयर कार्यकारी, वडाध्यक्ष वडामा कार्यकारी । समग्र नीति–निर्माण जनप्रतिनिधि सबै हो । नीति–निर्माणमा त्यति लागिरहेको देखिएको छैन । उपमेयर, वडाध्यक्ष र सदस्यको भूमिका गौणजस्तो देखिएको छ । मिडियामा पनि संस्थाभन्दा व्यक्ति हाबी भएको देखिन्छ । खासमा संस्था हाबी हुनुपर्ने हो । महानगरको काम संस्थागत हो, व्यक्तिगत होइन । अहिले व्यक्ति हाबी हुने, संस्थागत रूपमा काम नहुने स्थिति बन्यो ।
इन्द्रजात्रा अन्तर्राष्ट्रियकरण गर्ने म हुँ । तर, अहिले इन्द्रजात्राभन्दा व्यक्तिको चर्चा हुन्छ । सयौैँ नगर प्रहरी लगाएर हाहाहुहु गरिन्छ । आफैँ देशको सर्वेसर्वाजस्तो सर्वोच्च संस्था राष्ट्रपति, देशको कार्यकारी प्रधानमन्त्रीलाई बदनाम गराउने काम हुन्छ । अनि आफूचाहिँ हुलकाहुल मान्छे बटुलेर लैजाने र चर्चा गर्ने ? त्यसले विकृति ल्याउँछ । त्यस्तो काम नगर्दै राम्रो हुन्छ ।
म ०४९ सालमा पहिलोपटक वडाध्यक्ष भएको थिएँ । त्यही वेला प्रशासनिक रूपमा भित्र बसेर बुझ्न पाएँ । त्यसपछि ०५४ सालमा पनि वडाध्यक्ष भएँ । निर्वाचन नभएको बीचको समयमा दलीय संयन्त्रमा मलाई पार्टीले पठायो । अन्य पार्टीसँग सहकार्य र समन्वयको वातावरण बन्यो । एकले अर्कालाई स्वीकार गरेर जानुपर्छ भन्ने भावनाको विकास भयो । मेयर हुँदा पनि सबैसँग समन्वय गरेर अगाडि बढेँ । मैले पाँच वर्ष कुनै पनि पार्टीलाई गाली गरिनँ । उपमेयर र वडाध्यक्षलाई पनि कहिल्यै गाली गरिनँ । आरोप–प्रत्यारोपमा म कहिल्यै लागिनँ । वडाध्यक्ष र उपमेयरले पनि जनतासँग प्रतिबद्धता गरेरै जितेर आएको हुन्छ । सबैसँग सहकार्य गर्नुपर्छ । संघीय र प्रदेश सरकारसँग पनि सहकार्य गर्नुपर्छ । म मेयर भइसकेँ, अब मेरो आदेशअनुसार सबै चल्नुपर्छ भनेर चलाउन सकिँदैन । स्वतन्त्र भएर पनि काम गर्ने अवसर छ । त्यसमा ठाँडो आदेश होइन, तेर्सो सहकार्यबाट चलाउनुपर्छ । अहिले त्यस्तो देखिएन । सबैलाई आरोप–प्रत्यारोप, सबैलाई गाली गरेर अगाडि बढ्न सकिँदैन । मनोबल गिराएर होइन, कारबाही गर्नुपर्ने हो भने गरेर देखाउनुपर्छ । होइन भने, मनोबल गिराएर काम नगर्ने परिस्थिति बनाउनु हुँदैन ।
हिजो मैले शिलान्यास गरेका काम अहिले उद्घाटन भइरहेका छन् ।
बाँकी सबै चोर डाँका हुन्, सिस्नुमा फालिदिन्छु भनेर सहकार्य हुँदैन
कानुनले मेयर पदलाई चिन्छ । व्यक्ति कुन पार्टीको भनेर चिन्दैन । प्रधानमन्त्री धेरै फेरिएको देख्यौँ, कुर्सी त एउटै हो । संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने हो । मेयरको हकमा पनि त्यही हो । त्योभन्दा बाहिर केही गर्न पाउँदैन । तोकिएको जिम्मेवारी पूरा गर्ने हो । अहिलेको प्रधानमन्त्री मेरो पार्टीको होइन, तर मैले प्रधानमन्त्री मान्नुपर्छ नि । भोलि प्रतिस्पर्धा होला, तर अहिले त प्रधानमन्त्री हो । वितृष्णा फैलाउने गरी सबैलाई चोर, डाँका, सबैलाई सिस्नुमा फालिदिन्छु भनेर सहकार्य, समन्वय बिग्रन सक्छ । भोलि एक्लो हुने स्थिति बन्छ । चोरसँगसँगै बस्न मिल्ने कि नमिल्ने ? आफ्नो बोलीले भोलि आफैँलाई पोल्छ । त्यसकारण बोल्दा धेरै विचार पुर्याएर बोल्नुपर्छ । प्रमाणित गर्न नसक्ने विषयलाई होच्याउने नाममा, गिराउने नाममा विशेषण जोडौँला, त्यो क्षणिक हुन्छ । भोलि तपाईंसँग म आँखा जुधाएर बस्न सक्दिनँ । बदमास भनिसकेपछि भोलि सँगै जाऔँ भनेर कसरी भन्न सकिन्छ ? कसैलाई नगिराई आफूले गर्ने काममा अगाडि बढ्नुपर्छ ।
जनतालाई ढाँट्ने काम नगरौँ
म आबद्ध पार्टी एमाले मजदुर, किसान, निम्नवर्गका जनतासँग आश्रित पार्टी हो । म मेयर हुँदा सुकुमबासी र गरिबप्रति निर्मम भइनँ, हुन पनि सक्दिनँ । उहाँहरूलाई व्यवस्थापन गर्ने हो । उहाँहरूको समृद्धिको कुरा गरेर निर्वाचन जित्ने अनि गरिबी निवारण गर्नुको साटो गरिबलाई निवारण गर्न मिल्दैन । सुकुमबासी बस्तीमा डोजर नचलाएको आरोप पनि ममाथि लाग्यो । मैले डोजर नचलाएकै हो । चुनावको वेला घर बनाइदिन्छु भन्ने अनि चुनाव जितेर मेयर भएपछि डोजर चलाउनुभयो भने जनताले मूल्यांकन कसरी गर्छन् ? पाँच वर्ष त टिक्ला, त्यसपछि त गाह्रो हुन्छ नि ।
सुकुमबासी समस्या महानगरको मात्रै समस्या होइन, सिंगो देशको समस्या हो । संघीय सरकारले राष्ट्रिय भूमि आयोग बनाएको छ । मैले मेरा आफ्ना विषय नसमेटिने भएपछि भूमि आयोगसँग सम्झौता गरिनँ । अहिलेको नयाँ नेतृत्व आएपछि भूमि आयोगसँग सम्झौता गर्यो । महानगरपालिकाले भूमि आयोगसँग सम्झौता गरेर सुकुमबासी बस्तीमा नछुने, डोजर नचलाउने भनेर सम्झौता गर्ने । अनि, जनतालाई ढाँट्नका लागि डोजर पठाउने ? भूमि आयोगसँग गरेको सम्झौतामा काठमाडौं महानगरपालिकाको काम भनेको लगत संकलन गरेर सरकारलाई बुझाउने मात्रै हो । लगत संकलन नगर्ने अनि जनतालाई ढाँट्नका लागि यहाँका नेवार उठ्नुपर्यो, हामीलाई पेल्यो भनेर उचालेर हुन्छ ? कि संघीय सरकारले गरेको काम चित्त बुझेन भन्नुपर्यो, कि भूमि आयोग नराख भन्नुपर्यो । कि भूमि आयोगसँग गरेको सम्झौता भंग गर्नुपर्यो । एकातिर फर्म भरेर म बुझाउँछु भनेर सम्झौता गर्ने अर्कोतिर डोजर देखाएर जनताको सहानुभूति बटुल्न खोज्ने काम गर्नुहुँदैन । दोहोरो नीति लामो समय टिक्दैन ।
गरिबले पनि गरिखानुपर्छ
देशमा गरिखाने स्थिति रहेन, विदेश पलायन भए भनेर सबैले भनिरहेको अवस्था छ । गाउँ खाली थियो, सहर पनि खाली हुने स्थिति आउन लाग्यो भनेर चिन्ता जाहेर भइरहेको छ । हामी आएपछि बाहिर गएकालाई नेपाल फर्काउँछौँ भन्ने नारा पनि सुनियो । जनताले जिताए पनि, तर बिदेसिने क्रम रोकिएको छैन । क्षणिक रूपमा भ्रम पार्न सकिन्छ । तर, त्यो दीर्घकालीन हुँदैन । पैदलयात्रुलाई असर नपर्ने गरी समय मिलाएर व्यापार गर्नु भनेर मैले सहमति दिएको थिएँ ।
अहिलेजस्तो लखेटालखेट, खोसाखोसको स्थिति थिएन । श्रम गरेर खाने बाटो हामीले बन्द गरिदिनुहुँदैन । यदि, सहज रूपमा हुन्छ भने कोही मान्छे फुटपाथमा किन बस्छ ? सडकमा बसेर तरकारी बेच्ने, फलफूल बेच्ने, लुगा बेच्ने, मकै पोलेर बेच्ने त्यति सजिलो काम होइन । कति बजे उठेर आउँछन्, कति बजे घर जान्छन् थाहा छैन । त्यस्ता व्यक्तिको स्वरोजगार खोस्ने काम गर्नुहुँदैन । बाटो बन्द नहुने गरी काम गर्न दिनुपर्छ । बरु, समय तोक्न सकिन्छ, ठाउँ तोक्न सकिन्छ । पैदलयात्रुलाई यात्रा गर्न अवरोध नहुने गरी व्यवस्थापन गर्नुपर्छ । रुवाबासी गराएर, लुटपाट मच्चाएर समस्याको समाधान हुँदैन, झन् बल्झिन्छ । सुकुमबासी, फुटपाथ व्यापारीलाई गरिखाने वातावरण सरकारले बनाइदिनुपर्छ । केन्द्रीय सरकारले नगरेका कारण काठमाडौंले बोझ बोक्नुपरेको छ । त्यसो भन्दैमा काठमाडौंको नेतृत्व गैरजिम्मेवार बन्न मिल्दैन ।
एजेन्डा ठीक छ भने जोसुकैलाई पनि सहयोग गर्नुपर्छ । एजेन्डा गलत छ भने जोसुकैको पनि विरोध गर्नुपर्छ । कुन जात, कुन भूगोल, कुन लिंगको भनेर हामीले हेर्नुहुँदैन । तपाईंले राम्रो गर्नुभयो भने मेरो साथ रहन्छ । नराम्रो गर्नुभयो भने, मेरो विरोध रहन्छ । कसैकसैले मासलाई उत्तेजित बनाउन र भाँड्नका लागि पनि भड्काउ कुरा गर्छन् । कसैले जातका कुरा गर्छन्, कसैले लिंगका कुरा गर्छन्, कसैले धर्मका कुरा ल्याइदिन्छन् । त्यस्तो काम हामीले गर्नुहुँदैन । नकारात्मक विषयलाई मिडियाकर्मीले पनि चाहिनेभन्दा बढी महत्व दिए । झन् प्रोत्साहित हुने स्थिति भयो ।
व्यक्ति होइन, संस्था ठूलो हो, पद आउँछ–जान्छ
मेरो व्यक्तिगत रूपमा कसैप्रति आग्रह–पूर्वाग्रह छैन । समग्रमा भन्ने हो भने व्यक्ति केही पनि होइन । संस्था हो ठूलो कुरो । संस्थामा आज कोही छ, भोलि अर्को आउँछ । प्रधानमन्त्री वर्षैपिच्छे परिवर्तन हुन्छन् । तर, व्यक्ति गए पनि प्रधानमन्त्री त भोलि फेरि आउँछ नि । मेयर पद पनि त्यस्तै हो । हिजो म थिएँ । आज उहाँ हुनुहुन्छ, ०८४ मा अर्को आउँछ । व्यक्ति फेरिन्छ, कुर्सी त्यही हो, संस्था त्यही हो । महानगर समृद्ध भयो भने म पनि समृद्ध हुन्छु भन्ने मेरो चाहना हो । संघीय सरकार, प्रदेश सरकार, अन्य नगरपालिका र कर्मचारी कसैमाथि पनि दोषारोपण नगरी सहकार्य र समन्वय गरेर अगाडि बढ्नुपर्छ ।
साँच्चिकै दोषी हो भने उसलाई कारबाही गरेर अगाडि बढ्नुपर्यो । होइन भने सहकार्य, समन्वय गरेर अगाडि बढ्नुपर्छ । विशेष गरेर, सबैलाई गालीगलौज गरेर मात्रै अगाडि बढ्न सकिँदैन । सबैलाई माया र सम्मान गरेर अगाडि बढ्न सिक्नुपर्छ । मिडिया समाजको आँखा भएकाले विश्लेषण गरेर सही समाचार दिनुपर्छ । सिंहदरबार जलाउँछु, सिंहदरबारका सबै नेतालाई सिध्याउँछु भन्ने कुरालाई हाइलाइट गरेर समाचार बनाएर बोलेपछि भइहाल्नेरहेछ भन्ने सोचको विकास हुन्छ । त्यस्तै विषयको चर्चा हुने भएपछि बोल्ने त बोलिरहन्छ । त्यसले समग्र देशलाई नै असर पार्न सक्छ ।