भयावह बन्दै एक्लोपन

सामाजिक रूपमा एक्लो भएका मानिसले धेरै कम व्यायाम गर्छन्, अधिक मदिरा पिउँछन्, धूम्रपान गर्छन् र प्रायः राम्रोसँग सुत्दैनन्

भारती मिश्र नाथ भारती मिश्र नाथ
शनिबार, १६ मंसिर, २०८०
डिजिटल संस्करण

एक्लोपनलाई जनस्वास्थ्य समस्याको रूपमा अंकित गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालै एक प्राविधिक सल्लाहकार समिति गठन गरेको छ र यसलाई कम गर्न तथा पीडितलाई मार्गदर्शन गर्न विज्ञहरूको खोजी गरिरहेको छ । संयुक्त राष्ट्रसंघीय स्वास्थ्यसम्बन्धी उक्त निकायले सामाजिक अलगाव र एक्लोपन (जसले सामाजिक सम्बन्धमा हुने कमीलाई प्रतिबिम्बित गर्दछ)ले सबै उमेर समूहका मानिसहरूलाई असर गर्ने, मृत्यु, शारीरिक तथा मानसिक स्वास्थ्य (आत्महत्या जोखिमसहित) समस्या ल्याउने जनाएको छ । 


उदाहरणका लागि सामाजिक अलगाव र एक्लोपन मृत्युको २५ देखि ३३ प्रतिशतसम्म कारण मानिएको छ र यो बढ्दो क्रममा छ । यो अहिले व्यापक रूपमा मृत्युको कारक मानिएका छन्, जुन मोटोपन, शारीरिक गतिविधिको अभाव, धूमपान, अन्य प्रकारका पदार्थको दुरुपयोग र स्वास्थ्य सेवामा कमजोर पहुँचजस्तै महत्वपूर्ण छन् ।


एक कठोर मनोवैज्ञानिक वाक्यमा एक्लोपनलाई ‘सामाजिक सम्बन्धका लागि आफ्नो इच्छा र यसको वास्तविक अनुभवबीचको खाडल महसुस गर्दा उत्पन्न हुने दुःख वा असुविधाको अवस्था’ भनेर परिभाषित गरिएको छ । एक्लोपनको सामान्य लक्षणमा एक्लै धेरै समय बिताउनु, आफूलाई भौतिक चिजहरूले घेर्नु र तिनीहरूसँग संलग्न हुनु, सामाजिक सञ्जालमा धेरै समय बिताउनु, नकारात्मक भावना र अनुभवलाई त्याग्न नसक्नु, सधैँ थकित महसुस हुनु, वजन बढ्नु आदि हुन् ।

मानिसहरू कंक्रिटको गुफामा लगभग गुमनाम जीवन बिताइरहेका छन् । खुसी बिस्तारै भौतिक उपलब्धिको भावनासँग जोडिन थाल्यो । राम्रो तलब र भत्ताका लागि बढेको कार्यभारले मानिसले सामाजिक गतिविधि र गतिशीलताका लागि समय दिन सकेन ।


एक्लोपन समस्या एक्लै बस्ने मानिसहरूमा मात्र सीमित छैन । भिडभाडको परिवेशमा र सुखी परिवारमाझ पनि मानिसहरूले गहिरो र व्यापक एक्लोपन महसुस गर्न सक्छन् । एक्लोपनले समृद्धि र दीर्घकालीन शारीरिक स्वास्थ्यमा गम्भीर खतरा निम्त्याउने अनुसन्धानले देखाएका छन् ।


‘सामाजिक अलगाव र एक्लोपन बढ्दो रूपमा महत्वपूर्ण सार्वजनिक स्वास्थ्य समस्याको रूपमा परिचित छन् । एक बलियो सामाजिक सम्बन्धले स्वास्थ्यको रक्षा गर्छ भने सामाजिक सम्बन्धको कमीले हृदय रोग, मोटोपना, र डिप्रेसनको जोखिम बढाउँछ । भारतको अहमदाबादका चिकित्सक डा. दीपक चौधरी भन्छन्, ‘एक्लै वा सामाजिक रूपमा एक्लो भएका मानिसहरूले धेरै कम व्यायाम गर्छन्, अधिक मदिरा पिउँछन्, धूमपान गर्छन् र प्रायः राम्रोसँग सुत्दैनन् ।’


यसकारण बढ्दै छ एक्लोपन
धेरै फाइदासहितको सहरीकरणले पनि सामाजिक अन्तक्रियाको कमी ल्यायो । मानिसहरू राम्रो रोजगारीका अवसर, सुधारिएको जीवनशैली, सेवा–सुविधाको उपलब्धता, सार्वजनिक पूर्वाधार र यातायात प्रणालीका लागि गाउँबाट सहर र महानगरमा बसाइँ सरे । तर, यस प्रक्रियामा मानिसहरूले आफ्नो सामाजिक र पारिवारिक पहिचान र नयाँ वातावरणमा सम्बन्ध गुमाएका छन्, कंक्रिटको गुफामा लगभग गुमनाम जीवन बिताइरहेका छन् । खुसी बिस्तारै भौतिक उपलब्धिको भावनासँग जोडिन थाल्यो । राम्रो तलब र भत्ताका लागि बढेको कार्यभारले मानिसले सामाजिक गतिविधि र गतिशिलताका लागि समय दिन सकेन ।


भारतमा भिडभाडयुक्त सहरमा हामी एक्लोपनलाई चिन्न वा यससँग सम्बन्धित मानसिक स्वास्थ्य समस्या स्वीकार गर्न असफल हुन्छौँ । हाउजिङ सोसाइटी र कोलोनीमा बस्ने संयुक्त परिवारले आफ्ना छिमेकीलाई चिन्दैनन् । लामो काम र नियमित आवतजावत हुने महानगरहरूमा मानिसहरू सप्ताहन्त र बिदामा घरभित्रै बस्न रुचाउँछन् जसले उनीहरूमा भिडमा एक्लो रहने (लन्ली इन क्राउड) सिन्ड्रोम संकेत गर्छ । परिवारका काम गर्ने सदस्यहरूलाई वृद्ध आमाबाबु र हुर्केका बच्चाहरूसँग कुराकानी गर्न समय छैन ।


सामाजिकीकरण गर्न चाहनेहरूलाई पारिस्थितिक प्रणालीका मानिसहरूले उनीहरूको प्रवासी स्थिति, विश्वासको समस्या वा भाषा अवरोधका कारण धेरै अवस्थामा स्वीकार गर्दैनन् । लगभग नगण्य वा सार्वजनिक ठाउँ नभएको सहरी पिँजडाजस्तो अपार्टमेन्टमा बन्द, एकान्तले वृद्धहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई असर गरिरहेको छ भने युवा पुस्ताले अत्यधिक सामाजिक सञ्जाल प्रयोग र कम मानव अन्तक्रियाको माध्यमबाट आफूलाई अलग गर्दै छ । भारी सामाजिक मिडियाले अलगाव वा विच्छेद निम्त्याउने तथा प्रतिकूल स्वास्थ्य परिणाम र डिप्रेसनसहित मृत्युदर बढाउने विभिन्न अध्ययन–अनुसन्धानले औँल्याएका छन् ।

एक्लोपन समस्या एक्लै बस्ने मानिसमा मात्र सीमित छैन । भिडभाडको परिवेशमा र सुखी परिवारमाझ पनि मानिसले गहिरो र व्यापक एक्लोपन महसुस गर्न सक्छन् । एक्लोपनले समृद्धि र दीर्घकालीन शारीरिक स्वास्थ्यमा गम्भीर खतरा निम्त्याउने अनुसन्धानले देखाएका छन् ।


‘जब मानिस सामाजिक रूपमा एक्लिन्छन्, तिनीहरूले नियमित शारीरिक गतिविधि, सन्तुलित आहार, र समयमै चिकित्सा हेरचाह खोज्नेजस्ता स्वस्थ व्यवहारमा संलग्न हुने सम्भावना कम हुन सक्छ । यसले थप स्वास्थ्य समस्या र उच्च मृत्यु जोखिम बढाउन सक्छ । सामाजिक सहयोगको अनुपस्थितिले बिरामी वा संकटको समयमा भावनात्मक र व्यावहारिक सहयोगको अभाव हुन सक्छ, जसले व्यक्तिहरूलाई स्वास्थ्य चुनौतीको सामना गर्न र त्यसबाट निको हुन अझ चुनौतीपूर्ण बनाउँछ,’ दिल्लीस्थित क्लिनिकल मनोवैज्ञानिक डा. प्रेरणा कोहली भन्छिन् ।


चिकित्सकहरूले एक्लोपन कम गर्ने उपायबारे सुझाव दिइरहेका छन् । स्वसहायता समूह र सामाजिक स्वयंसेवकले एकांकीपनको नराम्रो प्रभावलाई कम गर्न जागरुकता र प्लाटफर्म सिर्जना गर्ने प्रयास गरिरहेका छन् । यो बारम्बार महसुस गरिएको छ कि पीडितहरूले कलंकको डरले सहयोग माग्न हिचकिचाउँछन् । भारत एकांकीपन न्युनीकरणका लागि प्राविधिक र सामाजिक हस्तक्षेप प्रदान गर्न अग्रणी हुन सक्छ । यसका लागि विद्यालय र कलेजले पाठ्यक्रमको एक भागको रूपमा परियोजना प्रस्तुत गर्न सक्छन् । विद्यालय तथा कलेजले एकान्तमा परेका व्यक्तिहरूको तथ्यांक संकलन गर्ने र उनीहरूलाई दैनिक फोन कल गर्ने, जन्मदिन मनाइदिने र उनीहरूलाई जीवनको सान्दर्भिक महसुस गराउनेजस्ता सरल कदम चालेर सामाजिक सेवामार्फत समुदायलाई मद्दत गर्न सक्छन् ।


‘सामाजिक सम्बन्ध बनाउन र मजबुत पार्न सक्रिय रूपमा लगानी गर्नुहोस् जसअन्तर्गत साथी र परिवारसँग बस्ने, क्लब वा सामाजिक समूहमा सामेल हुने र नयाँ मानिसलाई भेट्ने प्रयास पर्छन् । बढ्दो डिजिटल संसारमा प्रविधिले सम्बन्ध सहज बनाउन सक्छ । सामाजिक सञ्जाल, भिडियो प्रयोग गर्नुहोस् । विशेष गरी, भौगोलिक रूपमा टाढा भएका प्रियजनसँग सम्पर्कमा रहन टेलिफोन तथा सन्देश पठाउनुहोस्,’ डा. कोहली सल्लाह दिन्छिन् ।


‘त्यस्तै, सामुदायिक गतिविधिमा भाग लिनुहोस् जसमा सामुदायिक कार्यक्रम, स्वयंसेवा, वा स्थानीय संस्थामा संलग्नता समावेश छ । यसले तपाईंलाई आफ्नो रुचि र मूल्य साटासाट गर्न नयाँ मानिसलाई भेट्न मद्दत गर्न सक्छ । यदि एक्लोपनले तपाईंको समृद्धिलाई महत्वपूर्ण रूपमा असर गरिरहेको छ भने मार्गदर्शन र समर्थनका लागि मानसिक स्वास्थ्यकर्मीसँग परामर्श गर्ने विचार गर्नुहोस् । तिनीहरूले अन्तर्निहित मुद्दाहरूलाई सम्बोधन गर्न र सामना गर्ने रणनीति प्रदान गर्न मद्दत गर्न सक्छन्,’ उनी अगाडि सुझाउँछिन् ।


नीति–निर्माताहरूले एक्लोपनलाई समस्याको रूपमा स्वीकार गर्दै पर्यावरणमा यसको समाधान खोजिरहेका छन् । महिला, बालबालिका र वृद्धवृद्धाहरू भेट्न र सामाजिकताका लागि हाम्रा सहर–बजारहरू सुरक्षित र राम्रोसँग उज्यालो भएका सार्वजनिकस्थल बन्नु आवश्यक छ । ‘सक्रिय रहनु र अर्थपूर्ण, उत्पादक गतिविधिमा संलग्न अन्य व्यक्तिहरूसँग जोडिनु महत्वपूर्ण छ । जसका कारण उनीहरूले अरूसँग रमाइलो गर्छन्, भावना साटासाट गर्छन् र लामो समयसम्म बाँच्ने झुकाव राख्छन् । व्यायाम गर्ने प्रयास गर्नुहोस्, स्वस्थकर खाने, पर्याप्त सुत्ने र आफूलाई मनपर्ने गतिविधि पछ्याउने प्रयास गर्नुहोस् । तनाव व्यवस्थापन गर्न र सकेसम्म मानसिक र शारीरिक रूपमा स्वस्थ रहन मद्दत गर्नुहोस्’ डा. चौधरी भन्छन् ।


एक्लोपनको महामारीको बढ्दो विश्वव्यापी अनुपातले वास्तवमा मानिस एक सामाजिक प्राणी हो भन्ने अरस्तुको भनाइलाई पुष्टि गर्छ । संसारमा आर्थिक समृद्धि, प्राविधिक विकास र भौतिक प्रगतिका कारण खर्चयोग्य आम्दानीमा भएको वृद्धिले मानवीय सम्बन्ध पनि नष्ट हुँदै गएको छ । समस्या र समाधानका बारेमा पनि हामी सचेत छौँ । हरेकले आफ्नो एक्लोपनको अवस्थाबाट बाहिर आउने कार्य गर्नुपर्छ ।


(मिश्र वरिष्ठ भारतीय पत्रकार हुन् । ‘एनडिटिभी’मा प्रसारित यो लेखलाई सुभाष शर्माले अनुवाद गरेका हुन् ।)

सम्पादकको रोजाइ

सुझावित समाचार