६५ वर्षे अब्दुल रहमान अफरोड राइडर हुन् । उनी फुर्सद पाउनेबित्तिकै डाँडापाखा चहार्छन् । धेरै मानिस ५० कटेपछि बूढो भएको महसुस गर्छन् । तर, उनमा अझै युवाजोस छ । बाइक लिएरै कहिले मनाङ पुग्छन्, कहिले लोमान्थाङ । नेपालमा मात्र होइन, बाइक कुदाउनकै लागि उनी बर्सेनि अमेरिकासम्म पुग्छन् ।
मान्छे हिँड्न डराउने भीरको बाटोमा बाइक कुदाउँछन् । डटबाइक चढ्नेबित्तिकै उनलाई ‘स्ट्रलिङ’ घोडामाथि चढेजस्तो लाग्छ । बाइक बेतोडसँग कुदाउँदै कतै जाऊँझैँ लाग्छ । अब्दुल भन्छन्, ‘अफरोडमा बाइक कुदाउने र भिडियो खिच्ने मेरो सोख हो ।’ उनले अफरोडमा बाइक कुदाउन थालेको चार दशक पुगिसक्यो । उनी होन्डा, सुुजुकी, डुकाटी, हस्कवर्ना, बिएमडब्लूलगायत थुप्रै बाइक चढिसके । अफरोड राइडिङका रोचक किस्सा उनले नवीन अर्यालसँग यसरी सुनाए :
परिवारले गाडी र बाइक बिक्री गथ्र्यो । सानैदेखि घरमा गाडी पनि भयो, बाइक पनि । मैले पहिलोपटक होन्डा ९० सिसीको बाइक कुदाएको सम्झन्छु । त्यसवेला स्कुल पढ्थेँ । यो कुरा ०२२÷२५ सालतिरको हो । त्यसपछि होन्डा सिबी १७५, सिबी २०० कुदाएँ । दाइले होन्डा सिबी २५० झिकाउनुभयो । त्यो पनि धेरै कुदाइयो । त्यसताका ट्रायल बाइक थिएनन् ।
परिवारको तिब्बतसँग व्यापार थियो । हामी खासा हुँदै ल्हासासम्म गइरहन्थ्यौँ । त्यस समय टेलिफोन सेवा थिएन । बिहान खासा पुग्थ्यौँ । बेलुका सामान लिएर फर्किन्थ्यौँ । कतिपटक त दिनमा दुईचोटि ओहोर–दोहोर पनि गरियो । अक्सर बाइककै यात्रा हुन्थ्यो । खासा जाने–आउने क्रममै अफरोडमा बाइक कुदाउने प्राक्टिस भयो ।
भाइहरूसँग पनि बाइक थियो । फुर्सद हुनेबित्तिकै बाइक राइडिङ गरिहाल्थ्यौँ । कतिपटक दोलालघाट पुग्यौँ, स्विमिङ गरेर फर्कियौँ । पोखरा, चितवन र काठमाडौंआसपासका ठाउँमा गइरहन्थ्यौँ । पछि ट्रायल बाइक आउन थालेपछि अफरोडतिर आकर्षण बढ्न थाल्यो । मेरो पहिलो ट्रायल बाइक होन्डा एक्सएल १२५ सिसी थियो ।
सेतो डटबाइक
अढाई दशकअघि भाइ अब्दुलसँग बाइक चढेर खासातिर गइरहेको थिएँ । त्यसताका ट्रायल बाइक फाट्टफुट्ट मात्र देखिन थालेका थिए । एउटा विदेशीले सेतो रङको होन्डा एक्सएल २५० आर बाइकमा बुढीलाई राखेर कुदाएर आउँदै थियो । बाइक खुब मन प-यो । यो बाइक कुदाउन पाए त ! हामी कल्पनामा डुबिहाल्यौँ ।
विदेशीले बिस्तारै कुदाउँदै थियो । हामी कुदेर दोलालघाट पुगी चिया पिउँदै थियौँ । उसले बाइक लिएर आयो । मैले चिया देखाउँदै भनेँ, ‘हेलो, कम हियर, कम हियर नाइस टी ।’ खासमा मलाई बाइक नजिकबाट हेर्नु थियो । चिया खुवायौँ । मेरो मुखबाट फ्याट्टै निस्कियो, ‘तपाईंको बाइक त खतरा रहेछ ।’ उसले बाइक नेपालमै बेचेर आफ्नो देश फर्किने सुनायो । ऊ सिंगापुरमा बाइक किनेर थाइल्यान्ड हुँदै नेपाल आइपुगेको रहेछ ।
‘इंग्लयान्डमा बुलेट बाइकको महत्व छ, इन्डियामा बुलेट किनेर लैजान्छु,’ उसले भन्यो । बाइक बिक्री गर्ने भनेपछि मलाई किन्ने हुटहुटी भइहाल्यो । ऊ बाइक ७२ हजारमा बिक्री गर्ने भन्छ । ट्याक्स पनि बुझाउँदा डेढ लाखजति पुग्ने भयो । मैले भनेँ, ‘महँगो पर्ने भयो, किन्न सकिँदैन ।’ उसले सरकारी कागजपत्र मिलाएर आएको रहेछ । ट्याक्स तिर्नुपर्ने रहेनछ । ल्हासा जानुपर्ने मान्छे बीच बाटोबाटै फर्किएँ । बाइक हात पारिहाल्नु थियो । मैले दुई हजार घटाएर ७० हजारमा बाइक किनेँ ।
पहिलोपटक होन्डा एक्सएल २५० चलाउँदा धेरै एक्साइटेड भएँ । अर्को दिन खासा, ल्हासा हुँदै हङकङ पुग्नु थियो । मैले भाइलाई पछाडि राखेर खासासम्म बाइक कुदाएँ । म ल्हासातिर लागेँ, भाइले बाइक काठमाडौं फर्कायो । म हङकङ पुगेर फर्किहालेँ । किनकि, विदेशीसँग किनेको बाइकले तानिरहेको थियो । मैले त्यो बाइक खुब कुदाएँ । पुरानो भएपछि एकजना शेर्पा थरका सांसदलाई बेचिदिएँ ।
बाइकबाटै एभरेस्ट बेसक्याम्प
म डाँडाकाँडातिर कच्ची सडकमा ‘डर्ट बाइक’ कुदाउन रुचाउँछु । मेरो रोजाइमा ‘स्ट्रिट बाइक’ पर्दैन । ०७५ जेठको कुरा हो, बजाज कम्पनीले तिब्बतको ल्हासा पुगेर उत्तरी भेगकै एभरेस्ट बेसक्याम्प हुँदै फर्किने गरी डोमिनार मोटोग्राफी टुर गराउँदै रहेछ ।
बजाजलाई डोमिनार–४०० बाइक सगरमाथाको काखमा कुदेको देखाउनु थियो । मोटोग्राफी टुरमा राइडरले बाइक कुदाउँदै फोटो र भिडियो खिच्दै अघि बढ्नुपर्ने हुन्थ्यो । जसले राम्रो भिडियो खिच्छ, उसले पुरस्कार पाउँथ्यो । बजाजले ल्हासा र एभरेस्ट लैजाने भनेपछि मलाई स्ट्रिट बाइक भए पनि कुदाउने रहर जाग्यो ।
यसअघि सन् २०१४ मा डुकाटीले ल्हासासम्म एडभेन्चर टुर गराएको थियो । तर, छोरा भेट्न अमेरिका जाने र टुरको समय एउटै प-यो । डुकाटीले पछि पनि टुर गराउला भनेको अहिलेसम्म गराएको छैन । बाइक कुदाउँदै ल्हासा पुग्ने रहर छँदै थियो । त्यसमा सगरमाथा पनि थपियो ।
बजाजको टुरका लागि क्रसएक्स बाइक विक्रेता फिन्जु शेर्पा र निश्चल सेलेक्सन टिममा रहेछन् । म राइडिङमा जान इच्छुक छु भनेर उनीहरूलाई अनुरोध गरेँ । मेरो उमेर ६५ वर्ष । ५२ सय मिटर उचाइसम्म बाइक कुदाउनुपथ्र्यो । फेरी म डटबाइक कुदाइरहेको मान्छे, टुरमा स्ट्रिट बाइक कुदाउनुपर्ने थियो । उनीहरूले शंका व्यक्त गरे । तर मैले हिम्मत देखाएँ । उनीहरूले कम्पनीका मान्छेसँग भनेछन्, ‘६५ वर्षे वृद्ध पनि बाइक टुरमा जान इच्छा देखाउनु भएको छ ।’ मलाई डर थियो, कतै सेलेक्सन हुँदिन कि भन्ने । मैले चतु-याइँ गर्दै भनेँँ, ‘म तिब्बती र चाइनिज भाषा बोल्छु, टुरमा सहयोग हुन सक्छ ।’
कम्पनीले भन्यो, ‘उहाँ साँच्चै जान इच्छुक हुनुहुन्छ भने दुई दिनभित्र डोमिनार बाइक किन्नुपर्छ ।’ म बाइक किन्न मात्र होइन, आफ्नो सबै खर्च तिर्न पनि तयार थिएँ । कम्पनीले बाइकबाहेक सम्पूर्ण खर्च व्यहो-यो । मेरो ३५÷३७ वर्ष बाइकिङ र भिडियोग्राफीको अनुभव थियो । सुरुमा सुन्नेबित्तिकै मोटोग्राफी पुरस्कार मेरै हो जस्तो लागेको थियो । र, जितेँ पनि । प्राइजमा गोब्रो क्यामेरा पाएँ ।
काठमाडौंबाट केरुङ, टिङ्ग्री, साइगेट, ल्हासा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेस्ट बेसक्याम्प पुग्ने गरी रुट तय गरिएको थियो । १० दिनको टुर । नेपालको सीमाक्षेत्र रसुवागढीसम्म पुग्दा अफरोडको बाउ निस्कियो सडक । बाइक स्ट्रिट । सीमा कट्नेबित्तिकै केरुङदेखि चिल्लो पक्की सडक सुरु भयो । बाइक १३०/१४५ को स्पिडमा कुद्थ्यो । ल्हासातिर बाटो सीधा भए पनि एभरेष्ट बेसक्याम्पतिर बाटो धेरै घुमाउरो नागबेली थियो ।
सुरुमा मलाई अल्टिच्युड लाग्ने शंका गरिएको थियो । तर, मलाई केही भएन । बरु इन्डियन फोटोग्राफर र नेपाली युवा राइडरलाई अल्टिच्युड लाग्यो । कति ढले पनि । यात्रामा वरिपरिको दृश्य निकै मनमोहक थियो । उत्तरतिर देखिने हिमाल दक्षिणतिर देखिन्थे । तिब्बततर्फ एभरेस्ट बेसक्याम्पसम्म सडक, बिजुली र इन्टरनेट पुगेको रहेछ ।
मुस्ताङ हुँदै लोमान्थाङ
मनाङ गज्जबकै अफरोड ट्र्याक हो । यो इन्ट्रेस्टिङ पनि छ । अल्टिच्युड पनि छ । एडभेन्चर्स पनि छ । म मनाङ ५–६ पटक बाइक हाँकेर पुगेको छु । पछिल्लोपटक आठ महिनाअघि मनाङ हुँदै जोमसोम लोमान्थाङ यात्रामा निस्किएँ । आठदिने टुरमा छोरा र भान्जाहरू पनि साथमा थिए ।
छोराहरू एहमद र आस्लम खान दुवै राइडर हुन् । अमेरिकाबाट भर्खर फर्किएका थिए । छोरोले हस्कवर्ना चलायो । मैले होन्डा सिआरएफ २५० चलाएँ । मैले किनेको हस्कवर्ना ५०० सिसीको बाइक हो । यसलाई ‘किङ अफ द डर्ट बाइक’ भन्छन् । यो बाइक विदेशी राइडरले कुदाएको देख्दा ज्यान सिरिंग हुन्छ ।हामी काठमाडौंबाट मनाङ हुँदै लोमान्थाङ यात्रामा निस्कियौँ । बाटो निकै साँघुरो र अप्ठ्यारो थियो । जता डरलाग्दो बाटो छ, छोरा र भाञ्जाले उतै बाइक कुदाउँथे ।
पुल हुँदाहुँदै खोलोबाट बाइक कुदाउँथे । कति ठाउँमा बाइक ढल्यो लेखाजोखा नै छैन । मनाङको एक ठाउँमा डोजरले बाटो खन्दै रहेछ । बाटोभरि ढुंगैढुंगा । डोजरचालकले बाटो खुल्न दुई–तीन घन्टा कुर्नुपर्ने बताए । तारेभीरमा सानो बाटो थियो । तर, छोराहरूले यति जाबो पहिरो सजिलै कटाइन्छ भन्दै कस्सिए । पहिरो पन्छान्जेल कुरेनन् । त्यो दृश्य फिल्म सुटिङझैँ देखियो ।मान्छे हिँड्न पनि डर लाग्ने सडकबाट बाइक कुदाउँदै मनाङ, लमजुङ बेँसीसहर, पोखरा, जोमसोम हुँदै लोमान्थाङ पुगियो । धेरै राइडरले भन्छन्, ‘धेरै गाह्रोसँग पुगियो । तर, हामी रमाउँदै राइडिङ ग-यौँ ।’
बाइक बिग्रिएपछि ट्रेकिङ
समय २०१७ दसैँको हो । म सिआरफ २५० बाइक हाँकेर एक्लै लमजुङ अफरोड निस्किएँ । पिसाङ भन्ने ठाउँमा पुग्नेबित्तिकै बाइक पन्चर भयो । तयारीका साथ हिँडेको थिइनँ । बाइक बनाइदिने कोही भेटिएनन् । त्यो दिन ट्रेकिङ हिँडेका पर्यटकसँग वास बसेँ । उनीहरू मनाङ, थोरङ्ला हुँदै मुस्ताङ ट्रेकिङ जाँदै रहेछन् । मैले बाइक गाडीमा बोकेर बेँसीसहर झार्नुपर्ने भयो । पैसा १० हजार तिर्नुपर्ने रे । तैपनि राजी भएँ । अरू विकल्प थिएन । भोलिपल्ट गाडी आउला भनेको आउँदै आएन ।
सँगै बसेका पर्यटक हिँड्न थाले । मलाई लाग्यो, विदेशी हिँडेर मुस्ताङ पुग्छन् भने, म किन नसक्ने ? होटेल सञ्चालकलाई भनेँ, ‘बाइक गाडीमा हाल्देर बेँसीसहर पु-याइदिनू ।’ म हिँडेरै मुस्ताङ पुगेँ । छुट्टै मज्जा आयो । मुस्ताङबाट पोखरा हुँदै बेँसीसहर गएर बाइक मर्मत गरी फर्किएँ ।
हेलम्बु यात्रा
एक महिनाअघि भाञ्जाले भने, ‘पसलमा बस्दाबस्दै दिक्क लाग्यो, कतै घुम्न जाऔँ ।’ हामी नपुगेको ठाउँ हेलम्बु रहेछ । हेलम्बुको सडक अफरोड थिएन । हामी अफरोड खोज्दै सुन्दरीजल, चिसापानी भएर डाँडैडाँडा हुइँकिने निधो ग¥यौँ । हामी निस्कियौँ । बीच–बीचमा हिउँ परिरहेको थियो । मैले पहिला हिउँ चेक गरेँ, हिउँ जमेको थिएन । भर्खर परेको हिउँ चिप्लिदैन । हामी जंगलैजंगल हिउँको बाटो हुँदै हेलम्बु पुग्यौँ । अफरोड धेरै हुनाले खुब रमाइलो भयो । त्यहाँबाट हामी जर्सिंपौवा उक्लियौँ । नगरकोटमा आएर वास बस्यौँ ।
भान्जासँगै सोलुखुम्बु
सन् २०१६ को सोलुखुम्बुको यात्रा पनि स्मरणीय रह्यो । खुर्कोटको बाटो हुँदै हामी सोलु पुग्यौँ । पानी परिरहेको थियो, बाटो चिप्लो । बाइक चिप्लनु सामान्य लाग्न थालिसकेको थियो । भान्जा र म सोलुबाट हलेसी झ-यौँ । स्थानीयवासी भन्दै थिए, ‘यहाँबाट धरान निस्किन्छ ।’ तर, पानी परेको हुनाले जान सकिएन । हामी लाग्यौँ, चितवनतिर । चितवनमा एक रात बसेर मनाङ पुग्यौँ ।
हामी काठमाडौंबाट मनाङ हुँदै लोमान्थाङ यात्रामा निस्कियौँ । बाटो निकै साँघुरो र अप्ठ्यारो थियो । जता डरलाग्दो बाटो छ, छोरा र भाञ्जाले उतै बाइक कुदाउँथे ।
रारा रहरमै सीमित
लोमान्थाङ छोराहरूसँग पुगेको थिएँ । तर, मेरो प्रिय बाइक हस्कवर्ना कुदाउन पाइनँ । छोराले कुदायो । मलाई हस्कवर्ना कुदाएर लोमान्थाङ पुग्ने हुटहुटी भयो । र, एक्लै लोमान्थाङ यात्रामा निस्किएँ । मुग्लिन पुगेर खाना खानेवेलामा होटेलका चिनजानकै भाइले भने, ‘कति मुस्ताङ मात्र गइरहनुहुन्छ, कहिलेकाहीँ रारा पनि जानुस् न ।’ रारातिर पनि बाइकिङ सुरु भइसकेको थियो । ६०० किमि दूरी रहेछ ।
म जहिल्यै एक्लै हिँड्न रुचाउँछु । एक्कासि प्लान बनाउँछु पनि । लोमान्थाङ हिँडेको मान्छे रारातिर पो हान्निएँ । सुर्खेत पुगेपछि श्रीमती शशी शाहल लेप्चाले फोन गरिन् र रिसाइन् । उनले भनिन्, ‘लोमान्थाङ भनेर रारा हिँड्नुभएछ । रारा भनेको भए म पनि सँगै जान्थेँ ।’ मैले विचार गरेँ, बाटो लामो छ, रारा जाने ग्रुप पनि देखिएन । श्रीमतीसँग प्लेनमा रारा जाने योजना बनाएर सुर्खेतबाटै फर्किएँ ।
-याभफोरमा मुक्तिनाथ
सन् २०१४ को कुरा । भर्खर टोयोटा -याभफोर किनेको थिएँ । श्रीमती र म पोखरा थियौँ । काठमाडौंबाट छोराहरू मुक्तिनाथ अफराइडिङ निस्किए । मेरो मन मानेन । मुक्तिनाथ जान मन लाग्यो । -याभफोर फोरह्विल गाडी थियो । निकै खराब बाटो गाडी चलाएर जोमसोम पुगियो । बेनीबाट जोमसोम पुग्न झन्डै नौ घन्टा लागेको थियो ।
जोमसोमबाट मुक्तिनाथ जाँदै थियौँ, अगाडि महिन्द्रा बुलेरो खोलामा डुब्यो । अनि छोराले गाडी लैजान दिएन । ‘तपाईंको गाडी डुब्यो भने हाम्रो टुर खराब हुन्छ’, भन्यो । मैले गाडी जोमसोम राखेँ । पल्सर भाडामा लिएँ, श्रीमतीलाई बाइकपछाडि राखेर मुक्तिनाथ गएँ । बाटो यति खराब थियो कि अहिले सम्झँदा कसरी पुगियो होलाजस्तो लाग्छ ।
बाइक कुदाउन अमेरिका
मेरा दुवै छोरा राइडर । साढे सात वर्षका जुम्ल्याहा नातिले पनि ट्र्याकमा बाइक कुदाउँछन् । छोरालाई मैले नै बाइक कुदाउन र स्टन्ट गर्न सिकाएको हुँ । अहिले उनीहरू बेतोडले बाइक कुदाएको देख्दा मलाई नै डर लाग्छ । सुरुमा मैले उनीहरूले रेस ट्र्याकमा बाइक उडाएको भिडियो खिच्न सकिनँ । आफ्नो छोरो भएर होला । आवाज नै उइँँइँइँ आउँदो रहेछ । पछि बानी पर्दै गयो, भिडियो पनि खिच्न थालेँ ।
अमेरिकामा डाँडाकाँडा र समुद्री किनारमा कुदाउने रहेछन् । त्यहाँको अफरोड अलि एक्स्ट्रिम छ । म बर्सेनि बाइक कुदाउनकै लागि अमेरिका पुग्छु । त्यसकै लागि एक–डेढ महिनापछि जाँदै छु ।हामी जिपमा बाइक हालेर डाँडोमुनि जान्छौँ । र, त्यहाँबाट अफरोड बाइकिङ सुरु हुन्छ । परार साल डटबाइक पिकनिक पनि मनाइएको थियो । समुद्रको छेउमा टेन्ट राखेर सुतियो । भोलिपल्ट बालुवामाथि बाइक कुदाइयो । बालुवाको अप–डाउन ट्र्याकमा बाइक कुदाउनुको मजा बेग्लै थियो ।
बैंककमा राइडिङ
बाइक राइडिङकै लागि बैंकक पनि पुग्छु । त्यहाँको जंगल र समुद्री किनारमा राइडिङ गर्न मजा आउँछ । काठमाडौंमा चढ्न नसकिने ठूला महँगा स्ट्रिट बाइक बैंककमा भाडामा पाइन्छन् । हामी बाइक भाडामा लिएर फुकेट, पटायातिर जान्छौँ । समुद्रका किनार चहार्छौँ । हेलमेट भने यहीँबाटै ब्यागमा बोकेर जान्छौँ । त्यहाँ बाइक हेभी हुन्छ, तर हेलमेट बच्चाले लगाउनेजत्रो दिन्छन् । म यहीँबाट हेल्मेट बोकेर बैंकक पुगेको छु ।