राजधानीवरपरका दर्जन पर्यटकीय स्थल

नवीन अर्याल नवीन अर्याल
शनिबार, ४ कार्तिक, २०८०
डिजिटल संस्करण

पछिल्लो समय घुमघामको संस्कृति बढ्दै गएको छ । बिदाका वेला साथीभाइ, आफन्त परिवारसँग घुम्न निस्कनेको संख्या बाक्लिँदो छ । आन्तरिक पर्यटनको चहलपहल बढ्दो छ । यही कारण हुन सक्छ, पछिल्ला दशकमा देशभर घुम्ने नयाँ–नयाँ पर्यटकीय गन्तव्य बनेका छन् । देशैभरि नयाँ–नयाँ पर्यटकीय गन्तव्य कहाँ–कहाँ छन् ? यसपटक दसैँ विशेषको रूपमा ‘झन् नयाँ’मा ‘पर्यटन विशेष’ प्याकेज प्रस्तुत गरेका छौँ :

दसैँको उल्लास सुरु भइसकेको छ । ४ कात्तिकदेखि दसैँको बिदा पनि सुरु हुँदै छ । खासमा दसैँ पारिवारिक जमघट, पुनर्मिलन, अनुष्ठान र उत्सवको पर्व हो, जहाँ परिवारहरू भेला भएर रमाइलो गर्छन् । तर, आजकल दसैँको बिदामा परिवारसहित घुम्न निस्कने प्रचलन पनि बढ्दै गएको छ । काठमाडौं उपत्यकावरिपरि घुम्न जाने थुप्रै ठाउँ छन्, जहाँ एक–दुई दिन मज्जाले परिवारसँग रमाउन सकिन्छ । यो रिपोर्टमा काठमाडौंबाट नजिकको दूरीमा रहेका केही पर्यटकीय गन्तव्यहरूका बारेमा छोटोमा चर्चा गर्नेछौँ, जुन तपाईंका लागि उपयुक्त गन्तव्य हुन सक्छ ।

धुलिखेल, काभ्रे

काठमाडौंबाट करिब ३० किलोमिटर दूरीमा रहेको काभ्रेको धुलिखेल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हो । एक–दुई दिन घुम्न निस्कनेका लागि धुलिखेल उपयुक्त गन्तव्य हुन सक्छ । धुलिखेलमा विभिन्न श्रेणीका दर्जनौँ होटेल तथा रिसोर्ट सञ्चालनमा छन् । मौसम खुलेको समयमा धुलिखेलबाट लस्करै हिमाल देख्न पाइन्छ । पाँचखालको कृषिफाँटले नजर तान्छ । साहसिक गतिविधिमा रमाउन खोज्नेहरूलाई जिपलाइन छ । 

नगरकोट, भक्तपुर

काठमाडौंनजिकै रहेको अर्को गन्तव्य हो, नगरकोट । काठमाडौंवासीका लागि ३५ किलोमिटर दूरीमा रहेको नगरकोट निकै चर्चित गन्तव्य हो । आफ्नै निजी सवारी वा सार्वजनिक यातायात चढेर पनि एक–डेढ घन्टामै पुग्न सकिने नगरकोट दसैँमा सधैँ भरिभराउ हुने गर्छ । नगरकोटमा दुई–तीन हजारदेखि रातकै ३०–३५ हजारसम्म पर्ने महँगा रिसोर्टसम्म सञ्चालनमा छन् । करिब २२ सय मिटर उचाइमा रहेको नगरकोटको टावरमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गर्छ, जहाँबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुल्दा देखिने लक्सरै हिमाल, वरिपरि घना जंगल, ठन्डा मौसमलगायत कारणले नगरकोट धेरैको रोजाइमा पर्दै आएको छ । 

चन्द्रागिरि हिल्स, काठमाडौं

आइएमई समूहको नेतृत्वमा सञ्चालनमा आएको चन्द्रागिरि केबलकार उपत्यकावासीका लागि घुम्न जाने गतिलो गन्तव्य बन्दै आएको छ । तारे रिसोर्ट, स्वादिला परिकार पस्किने रेष्टुराँ, बच्चाहरूका लागि खेल्ने ठाउँ, भालेश्वर मन्दिर भएको चन्द्रागिरि बिदा मनाउन जाने उपयुक्त थलो हो । साढे दुई हजारभन्दा बढी उचाइ रहेको चन्द्रागिरिमा मौसम छिनछिनमै परिवर्तन हुन्छ । हिउँदमा हिउँ पर्छ ।

चन्द्रागिरि रिसोर्टमा परिवारसहित गएर बस्न सकिन्छ । त्यहाँबाट आँखै अगाडि सेताम्ये हिमाल देखिन्छन् भने तलपट्टि काठमाडौं भ्याली पूरै नियाल्न सकिन्छ । रातको समयमा देखिने उपत्यकाको झिलिमिली बखान गर्न नसकिने खालको हुन्छ । वरिपरि घना जंगल, पश्चिमपट्टि डाँडोबाट देखिने चित्लाङको फाँट र सुन्दर बस्तीहरू दृश्यावलोकनका लागि उत्कृष्ट हुन् ।

सुकुटे, सिन्धुपाल्चोक

भोटबाट बगेर आउने भोटेकोसी किनारमा लस्करै रिसोर्ट सञ्चालनमा छन् । सुकुटे माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको पनि मनपर्ने थलो हो, जहाँ उनी परिवारसँग गइरहन्छन् । भोटेकोसी किनारमा खुलेका रिसोर्टमा प्रतिव्यक्ति १६ सयदेखि १०–१२ हजारसम्मका प्याकेज उपलब्ध हुन्छ । पछिल्लो समय काठमाडौंवासीका लागि भोटेकोसी किनार घुम्न जाने गज्जबको गन्तव्य बन्दै आएको छ । भोटेकोसीमा र्याफ्टिङ गर्न पाइनुका साथै द लास्ट रिसोर्टमा पुगेर बन्जी पनि गर्न पाइन्छ । भोटेकोसीमा र्याफ्टिङ गरेको प्रतिव्यक्ति १५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । नदीकिनारमा रमाउन खोज्नेहरूका लागि सुकुटे क्षेत्र उपयुक्त गन्तव्य हुन सक्छ, जहाँ सार्वजनिक र निजी सवारी चढेर पुग्न सकिन्छ ।

चरिकोट–कालिञ्चोक–जिरी, दोलखा

दोलखाको सदरमुकाम चरिकोट, कालिञ्चोक, जिरी, सैलुङलगायत गन्तव्य काठमाडौंवासीका लागि नजिकको उत्कृष्ट ठाउँ हुन् । दसैँ बिदामा घुम्न जानका लागि दोलखा पनि उत्कृष्ट गन्तव्य बन्न सक्छ । चरिकोट, कुरी र जिरीमा खान–बस्नका लागि प्रशस्तै होटेलहरू छन् । यस्तै, सार्वजनिक यातायात वा निजी सवारीसाधन लिएर पनि दोलखा जान सकिन्छ । तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक चर्चित धार्मिक गन्तव्य हुँदै हो, प्राकृतिक रूपमा पनि धेरै सुन्दर छ । रंगिबिरंगी जस्ताले छाएको कुरी बजार पनि लोभलाग्दो छ । कुरीबाट कालिञ्चोक मन्दिरसम्म पुग्नका लागि केबलकारको व्यवस्था छ ।

जिरीलाई नेपालको स्विट्जरल्यान्ड भनेर चिनिँदै आएको छ । यस्तै, सैलुङ पाटनहरू भएको सुन्दर महाभारत पर्वत शृंखला हो । यदि समय भयो भने अपर तामाकोसी जलविद्युत् आयोजना हेरेर पनि फर्किन सकिन्छ । सिजनमा दैनिक सयौँको संख्यामा स्वदेशी पर्यटक दोलखा पुग्ने गरेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् ।

भोटेचौर–मेलम्ची, सिन्धुपाल्चोक

काठमाडौंबाट करिब ३८ किलोमिटर दूरीमा रहेको भोटेचौरले ‘मिनी इलाम’को उपमा पाएको छ । त्यहाँ एक हजार दुई सय रोपनी क्षेत्रफलमा चियाबगान छ, जुन त्यस क्षेत्रकै आकर्षण बनेको छ । परिवार तथा साथीभाइसँग चियाबगान घुम्दै प्राकृतिक सुन्दरतामा रमाउन भोटेचौर आकर्षक ठाउँ हो । जोरपाटी, साँखु, नाङ्लेभारे हुँदै भोटेचौर पुग्न सकिन्छ, खान–बस्नका लागि त्यहाँ राम्रा होटेल तथा रिसोर्ट खुलेका छन् । भोटेचौरको चियाबगान हुँदै मेलम्ची पनि निस्कन सकिन्छ । गत वर्ष आएको बाढीले मेलम्ची बजार बगाएर बगरमा परिणत गरेको छ । तैपनि मेलम्चीमा खान–बस्नका लागि त्यति समस्या हुँदैन । मेलम्ची खोलाका माछा, लोकल खसी, बोका, कुखुराको परिकारका लागि परिचित छ । भोटेचौरबाट मेलम्ची हुँदै काभ्रेको जिरोकिलो निस्किएर धुलिखेल हुँदै काठमाडौं फर्किन सकिन्छ । यो राउन्ड सर्किट यात्रा निकै रोमाञ्चक हुन सक्छ ।

शिवपुरी–चिसापानी, काठमाडौं

बिदामा हाइकिङ जान रुचाउनेहरूका लागि चिसापानी उपत्यका नजिकैको उपयुक्त गन्तव्य हो । काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको संगमस्थल चिसापानी पुग्न सुन्दरीजलबाट सात घन्टा पैदलयात्रा गर्नुपर्छ । परिवार तथा साथीभाइसँग जाँदा यो यात्रा निकै रोमाञ्चक हुन्छ । शिवपुरी निकुञ्जको घना जंगल छिचोल्दै चिसापानी डाँडामा पुगेपछि हिमालको दृश्यावलोकन गर्न पाइन्छ । त्यहाँ खान–बस्नका लागि होटेलहरूको पनि व्यवस्था छ ।

बुढानीलकण्ठबाट निकुञ्ज प्रवेश गरेर शिवपुरी डाँडामा जान सकिन्छ । त्यहाँ पनि घना जंगल पार गर्दै यात्रा गर्नुपर्ने हुनाले रमाइलो अनुभूति हुन्छ । दुई हजार पाँच सय ६३ मिटर उचाइमा रहेको शिवपुरी डाँडाबाट हिमाली शृंखला, हरियाली घना जंगललगायत दृश्यहरू हेर्न सकिने हुँदा प्रकृतिप्रेमीहरूका लागि उपयुक्त थलो हो । 

ककनी, नुवाकोट

ट्राउट माछाका परिकारका लागि ककनी लोकप्रिय छ । नुवाकोट जिल्लामा पर्ने ककनी शिवपुरी निकुञ्ज र गाउँ छिचोल्दै काठमाडौंबाट एक–डेढ घन्टाको यात्रामै पुग्न सकिन्छ । ककनी स्ट्रबेरीका लागि पनि चर्चित छ । प्राकृतिक सुन्दरताले भरिएको ककनी धेरैको रोजाइमा पर्ने गर्छ । त्यहाँ पनि खान–बस्नका लागि होटेल उपलब्ध छन् । ककनी पिकनिक जाने ठाउँका रूपमा पनि चिनिन्छ ।

इन्द्रसरोवर–चित्लाङ, मकवानपुर

मकवानपुरको इन्द्रसरोवर (कुलेखानी) र चित्लाङ पछिल्लो समय लोकप्रिय गन्तव्य बनेका छन् । काठमाडौंबाट नजिकै रहेको मार्खु र चित्लाङका होटेल, रिसोर्ट तथा होमस्टेहरू बिदामा भरिभराउ हुने गर्छन् । त्यहाँ कुलेखानी ड्याममा बोटिङ, हाइकिङ तथा ट्रेकिङलगायत गतिविधिमा रमाउन सकिन्छ । यस्तै, परिवारसँग बसेर क्याम्प फायर र बार्बिक्यू पनि गर्न सकिन्छ । इन्द्रसरोवरका माछा खान पनि मार्खु लोकप्रिय मानिन्छ । चन्द्रागिरि वा दक्षिणकालीको बाटो हुँदै इन्द्रसरोवर तथा चित्लाङ पुग्न सकिन्छ । काठमाडौंको उकुसमुकुसबाट निस्किएर चित्लाङ र मार्खु पुग्दा आनन्दानुभूति हुने गर्छ । खान–बस्नका लागि चित्लाङ र मार्खु क्षेत्रमा छानीछानी होटेल तथा रिसोर्ट पाइन्छन् ।

दामन–टिस्टुङ–पालुङ, मकवानपुर 

दसैँमा घुम्न जानका लागि मकवानपुरको दामन पनि उपयुक्त विकल्प हो । काठमाडौंबाट ७५ किलोमिटर दूरीमा रहेको दामन थानकोट, नौबिसे हुँदै तीन–चार घन्टामा पुग्न सकिन्छ । चन्द्रागिरि चित्लाङ वा दक्षिणकाली, कुलेखानी हुँदै टिस्टुङ पालुङ भएर पनि दामन पुग्न सकिन्छ । गाउँले जीवनको आनन्द लिनका लागि टिस्टुङ, पालुङ गज्जबकै ठाउँ हो । पालुङ आलु उत्पादन हुने ठाउँ हो । त्यहाँ खान– बस्नका लागि होमस्टेको राम्रो व्यवस्था छ ।

यस्तै, दामनमा स्तरीय रिसोर्ट सञ्चालनमा छन् । दुई हजार ६ सय ८८ मिटर उचाइमा रहेको दामनबाट अन्नपूर्ण, दोर्जे लाक्पा, गौरीशंकर, गणेश हिमालयलगायतका शृंखला देख्न पाइन्छ । दामनको भ्युटावरबाट वरिपरिको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । हिउँदमा दामनमा हिउँ पर्छ । हिउँ खेल्नका लागि हेटौंडा, वीरगन्ज र काठमाडौंसम्मका युवा पुग्ने गर्छन् । 

त्रिशूली बिच

पछिल्लो समय खोलाको किनारमा रमाउने जमात बढ्दै छ । परिवार वा साथीभाइसँगै खोलाकिनारका रिसोर्टमा जाने, र्याफ्टिङ, स्विमिङ गर्ने, एक–दुई रात बसेर फर्किने चलन छ । यस्तै पाहुनालाई लक्षित गरेर त्रिशूली किनारैभरि होटेल तथा रिसोर्ट सञ्चालनमा आएका छन्, जहाँ प्रतिरात प्रतिव्यक्ति १५ सयदेखि १०–१२ हजारसम्मका प्याकेज पाउन सकिन्छ । 
र्याफ्टिङका लागि पनि त्रिशूली प्रसिद्ध नदी हो । खोलाकिनारमा बच्चाबच्चीहरू पनि अत्यन्तै रमाउने गर्छन् । तपाईं कुरिनटारसम्म छानीछानी रिसोर्ट खोजेर एक–दुई दिन त्रिशूलीतिर घुम्न जान सक्नुहुन्छ । त्रिशूली किनारमा रहेको पुरानो होटेल त्रिशूली रिभरसाइड रिसोर्ट हो । पछिल्लो समय त्रिशूली नदीमाथि जिपलाइनसमेत सञ्चालनमा ल्याइएको छ । यस्तै, कुरिनटारबाट केबलकार चढेर मनकामना दर्शन गर्न पनि जान सकिन्छ । मनकामनामै बस्नका लागि पनि होटेलको राम्रो प्रबन्ध छ ।

मूलकोट–खुर्कोट सिन्धुली

पारिवारिक घुमघामका लागि अर्को आकर्षक गन्तव्य हो, मूलकोट । सुनकोसीकिनारमा रहेको सिन्धुलीको मूलकोट आफैँमा सुन्दर छ । पृथ्वी राजमार्गमा पर्ने मूलकोटमा पछिल्लो समय धेरै आन्तरिक पर्यटक पुग्ने गर्छन् । त्यहाँ पनि स्तरीय होटेल तथा रिसोर्टहरू सञ्चालनमा छन् । सार्वजनिक यातायात वा व्यक्तिगत सवारीसाधन चढेर सजिलै मूलकोट पुग्न सकिन्छ । मूलकोट माछाका परिकार खानका लागि पनि चर्चित मानिन्छ । 

मूलकोटबाट अलि अगाडि बढेमा खुर्कोट पुगिन्छ । खुर्कोट भन्नेबित्तिकै माछा सम्झना आइहाल्छ । त्यहाँबाट केही छिनको ड्राइभमा सिन्धुलीगढीसमेत पुग्न सकिन्छ । साथीभाइ तथा परिवारसँग पिकनिक जानेहरूलाई लक्षित गरेर मूलकोटका रिसोर्टले प्याकेज बनाएका हुन्छन् । फरक डिजाइनमा निर्माण गरिएको नागबेली सडकले यात्रा रोमाञ्चक बनाउँछ । 

See More On

सुझावित समाचार