‘हेडम्याम’ले मुहार फेरेका सामुदायिक विद्यालय

शिवहरि घिमिरे शिवहरि घिमिरे
शनिबार, २० साउन, २०८०
डिजिटल संस्करण

विद्यालयको मुख्य व्यक्ति भन्नेबित्तिकै ‘हेडसर’को मुखाकृति हाम्रो दिमागमा आउँछ । अनि विद्यालयको नेतृत्व भनेकै ‘हेडसर’ले गर्ने हो भन्ने ‘मान्यता’ समाजमा स्थापित छ । तर, उपत्यकामै यस्ता सामुदायिक विद्यालय छन् जहाँ 
‘हेडम्याम’हरू नेतृत्वमा छन् र विद्यालयलाई कुशलतापूर्वक नेतृत्व गरिरहेका छन् ।  


‘हेडम्याम’हरू विद्यालयलाई आफ्नो घरसरी सिँगार्छन् र अभिभावकत्व प्रदान गर्न अधिकांश समय विद्यालयमै बिताउँछन् । उपत्यकाका तीन जिल्लामा मात्रै ७० जनाभन्दा बढी महिला प्रधानाध्यापक छन्, जसको नेतृत्वमा सञ्चालन भएका सामुदायिक विद्यालय कुनै निजी विद्यालयभन्दा कम्ता छैनन् । चिरिच्याट्ट भवन, व्यवस्थित कक्षाकोठा, खचाखच विद्यार्थी, संस्कारयुक्त सिकाइ तथा प्रविधिमैत्री पढाइ, चुस्त शिक्षक जनशक्ति र जिज्ञासु विद्यार्थी महिला प्रअले हाँकेका सामुदायिक विद्यालयका विशेषता हुन् । 


बौद्ध महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको नेतृत्व गरिरहेकी प्रधानाध्यापक कुमारीकमला राई बिहान ५: ३० देखि बेलुकी सात बजेसम्म स्कुलमै हुन्छिन् । बिहान विद्यार्थी नपुग्दै विद्यार्थीलाई स्वागत गर्न हात जोड्नै उनी गेटमा उभिन्छिन् । कक्षा ११ र १२ को बिहानी कक्षा सकिएपछि कक्षा १० सम्मका विद्यार्थीलाई उनी उसैगरी आत्मीयता देखाउँदै नमस्कार सिकाउँछिन् । आफू प्रधानाध्यापक भएकाले बाहिरी जिम्मेवारीका साथै विद्यालयको सबल नेतृत्वको दायित्व पनि उनको काँधमा छ । दायित्वप्रति लगाव, लगनशीलता, जोशजाँगर र समय व्यवस्थापन गर्न सक्ने भएकाले धेरै विद्यार्थी संख्या भए पनि प्रअको भूमिका सहज रूपमा निभाउन सकिएको प्रअ राईको धारणा छ । 


प्रअ राई विद्यार्थीलाई घोकन्ते शिक्षाभन्दा पनि संस्कार तथा संस्कृतियुक्त जीवनोपयोगी गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिन्छिन् । उनकै अग्रसरतामा जनकल्याण माविमा कुनै जातजातिको विषेश पर्वमा विद्यार्थीलाई सहिष्णुता सिकाइन्छ । कुनै समुदाय विशेषको पर्व वा चाड (माघी, ल्होछार, गाईजात्रा, साकेला, तिज, दसैँ तिहारलगायत)मा आफूसहित अन्य शिक्षक र विद्यार्थीले सोहीअनुसारको पहिरन लगाउँछन् ।

विद्यालयमै विभिन्न पर्वसँग सम्बन्धित मुख्य परिकार बनाएर खुवाइन्छ । पढाइसँगै विद्यार्थीलाई धर्म, संस्कृति र रीतिरिवाज मनाउन पनि विद्यालयमै सिकाइन्छ । जनकल्याणमा बालविकासदेखि कक्षा १२ सम्म दुई हजार पाँच सय विद्यार्थी अध्ययन गर्छन् । यति धेरै विद्यार्थी संख्या भएको विद्यालयको जिम्मा ०७१ देखि महिला प्रअको काँधमा छ । प्रअ कुमारी कमला राईले विद्यालयलाई नमुनाका रूपमा चिनाउका लागि टिमवर्कमा विश्वास गर्छिन् ।

‘म टिमवर्कमा विश्वास गर्छु र सोहीकारणले नै हामीले जनकल्याण सुधार्न सकिएको हो,’ उनी भन्छिन्, ‘शिक्षकहरूलाई उत्प्रेरणा प्रदान गर्ने, सकारात्मक सोचको विकास गर्ने, आत्मीयता बढाउनेतर्फ हामी चासो दिन्छौँ, विद्यार्थी र अभिभावकसँगको सामीप्यता र सहकार्यले मलाई नेतृत्व गर्न सहज भएको छ ।’ उनले विद्यालयलाई सुन्दर र शान्त बनाउन बगैँचा, रैथाने सामग्रीहरू संकलन, झरना निर्माणलगायतका काम गरेको बताइन् । 


कालीमाटीमा रहेको नीलवाराही माविमा जानुका नेपालले १७ वर्षअघि प्रधानाध्यापकको पद सम्हाल्दा विद्यार्थी संख्या जम्मा सयजना थियो । विद्यार्थी रित्तिँदै गएपछि विद्यालय कसरी जोगाउने भन्ने चिन्ता उनलाई थपियो ।  तर, विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई समेटेर समन्वय गर्दै अघि बढ्न थालेपछि विद्यार्थी संख्या मात्रै बढ्न थालेन, शिक्षाको गुणस्तर पनि सुध्रियो । त्यतिवेला मन्दिरको तीनवटा सत्तलमा विद्यालय सञ्चालन हुन्थ्यो ।

उपत्यकाका तीन जिल्लामा मात्रै ७० जनाभन्दा बढी महिला प्रधानाध्यापक छन्, जसको नेतृत्वमा सञ्चालन भएका सामुदायिक विद्यालय कुनै निजी विद्यालयभन्दा कम्ता छैनन् । चिरिच्याट्ट भवन, व्यवस्थित कक्षाकोठा, खचाखच विद्यार्थी, संस्कारयुक्त सिकाइ तथा प्रविधिमैत्री पढाइ, चुस्त शिक्षक जनशक्ति र जिज्ञासु विद्यार्थी महिला प्रअले हाँकेका सामुदायिक विद्यालयका विशेषता हुन् । 

विद्यार्थी बस्ने कुर्सी, टेबल, ल्याब, लाइब्रेरी र शिक्षकका लागि कार्यालयको टुंगो थिएन । सोहीकारण, विद्यालयको नतिजा कमजोर र विद्यार्थी संख्या पनि न्यून थियो । विद्यालयको समस्या, विद्यार्थी र अभिभावकको मनसाय बुझेर प्रधानाध्यापक नेपालले विद्यालय सुधारको योजना बनाइन् । हाल यस विद्यालयमा एक हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । तर, पठनपाठनका लागि भने कक्षाकोठाको अझै अभाव झेल्नुपरेको प्रअ नेपालले गुनासो पोखिन् । ‘पहिलेपहिले महिला प्रअलाई अलि विश्वास नगर्ने चलन थियो, तर अहिले यस्तो छैन,’ उनले सुनाइन्, ‘टिमवर्क मिल्यो भने सबै राम्रो हुनेरहेछ ।

विद्यार्थी र अभिभावकको मन जितेर राम्रो शिक्षा दिन थालेपछि समुदायका मानिसले पनि विश्वास गर्न थाले, तर यहाँका अधिकांश रैथाने र उपल्लो समुदायका अभिभावकका छोराछोरी सामुदायिक विद्यालयमा पढ्न आउँदैनन् ।’ उनका अनुसार हालै सार्वजनिक एसइईको उत्कृष्ट नतिजा ल्याउने महानगरभित्रका सरकारी विद्यालयमध्ये नीलवाराही ३२औँ नम्बरमा छ । यसलाई हेर्दा विगतको भन्दा नतिजामा सुधार आएको प्रअ नेपालको भनाइ छ ।  महिला प्रअ भएकै आधारमा त्यस्तो जटिल चुनौती व्यहोर्नु नपरे पनि सुरुसुरुमा समुदायले कम विश्वास गरेको प्रअ नेपालको अनुभव छ । तर, नतिजा सुधार र व्यवस्थापन चुस्त भएपछि अचेल धेरैले महिलाले पनि विद्यालय सुधार गर्न सक्नेरहेछन् भनेर उदाहरण धेरैले दिने गर्छन् । कोरोनापछि सञ्चालन भएका भौतिक कक्षा विष्णुमती करिडोरमा रूखमुनि समेत सञ्चालन गर्नुपरेको थियो । 


टेकुको सरस्वती निकेतनमा ०७१ देखि नेतृत्व प्रधानाध्यापक रविना महर्जनले गरिरहेकी छिन् । उनले पढाइ र सिकाइ दुवैलाई एकैसाथ अघि बढाएको बताउँछिन् । उनका अनुसार हाल यस स्कुलका सबै कक्षामा प्रोजेक्टर छ र प्रविधिमैत्री सिकाइ हुन्छ । पाँचवटा कक्षामा स्मार्ट बोर्डसमेत राखिएको छ । अडियो–भिडियो माध्ययमबाट पढाइ हुन्छ । तर, सुरुसुरुमा बालबालिकामैत्री शिक्षणविधि प्रयोग गर्दा जटिलता आए पनि बिस्तारै बानी बस्दै गएको प्रअ महर्जन बताउँछिन् ।

‘हामी कक्षाकोठाको आवश्यक र समस्या के हो भन्नेबारेमा समय–समयमा छलफल गर्छौँ, हाल दुई महिनामा एकपटक बैठक बस्छौँ,’ उनले सुनाइन्, ‘बाहिरबाट विज्ञहरू बोलाएर कार्ययोजना बनाएर शैक्षिक गुणस्तरीयताका लागि काम गरिरहेका छौँ, एसइईको नतिजा हेर्दा समग्रमा २.८ जिपिए आएको छ । यो विगतका वर्षभन्दा सुधार हो ।’ प्रअ महर्जनका अनुसार नर्सरीदेखि ११ कक्षासम्म ६८० जना विद्यार्थी छन् । विद्यार्थीहरूलाई विभिन्न खेलकुद र सामाजिक, बाल, किशोरी क्लबसँग जोड्ने र सामाजिक कार्यमा लाग्न पनि प्रेरित गर्ने गरिन्छ । प्रधानाध्यापक महर्जनले महिला भएकै कारण त्यस्तो थप चुनौती झेल्न नपरे पनि समय व्यवस्थापन र सीमित स्रोतसाधनमा गुणस्तरीय शिक्षा प्रदान गर्न चुनौती नै रहेको बताइन् । 


काठमाडौंकै इचंगुनारायण आधारभूत विद्यालयकी प्रधानाध्यापक अमृता श्रेष्ठको अनुभव भने अन्य प्रअको भन्दा फरक छ । उनी महिला प्रअलाई पुरुष प्रअको तुलनामा कार्यबोझ थपिने बताउँछिन् । ‘महिलाको भूमिका जहाँ पनि दोहोरो हुन्छ, घरको काम पनि सकाउनुपर्यो, विद्यालयको जिम्मेवारीमा पनि चुस्त हुनैपर्यो । अझ सुरुसुरुमा विद्यालय सुधार होला भनेर स्थानीयले विश्वासै गरेका थिएनन्,’ उनले सुनाइन्, ‘विद्यालयको शिक्षा खस्किए पनि प्रअ नै जिम्मेवार हुनुपर्छ, घरको काम पनि हेर्नुपर्यो, त्यसकारण महिला प्रअका केही चुनौती छन् ।’

महिलाको भूमिका जहाँ पनि दोहोरो हुन्छ, घरको काम पनि सकाउनुपर्यो, विद्यालयको जिम्मेवारीमा पनि चुस्त हुनैपर्यो । अझ सुरुसुरुमा विद्यालय सुधार होला भनेर स्थानीयले विश्वासै गरेका थिएनन् ।


उनका अनुसार यस विद्यालय पहिले मन्दिरको सतलबाट सञ्चालन भएको थियो । सामुदायिक विद्यालयको अवस्था सुधार गर्न प्रअ श्रेष्ठले स्थानीयवासी, अभिभावक र विद्यार्थीसँग आत्मीयता बढाइन् । आफ्नै समुदायको सामुदायिक विद्यालय शिक्षा सुधार गर्नेबारे छलफल चलाइन् । स्थानीय र अभिभावकको माग सुनिन् । उनीहरूले नै भनेअनुसार विद्यालयलाई अघि बढाउन थालिन् । त्यसपछि भने विद्यालयप्रति स्थानीयले विश्वास बढाउन थाले । ०७२ मा ६० जना मात्रै विद्यार्थी संख्या रहेको यस विद्यालयमा हाल १५० जनाभन्दा बढी विद्यार्थी छन् । ‘हामीले सामुदायिक विद्यालय सुधार गर्नुपर्छ भनेर लागेका छौँ, तर अधिकांशले निजी स्कुलमै विद्यार्थी पठाउँछन्,’ प्रअ श्रेष्ठले भनिन्,‘सामुदायिक विद्यालय पनि निजीभन्दा कम छैनन्, शिक्षक दक्ष हुनुहुन्छ, प्रविधिमैत्री पढाइ हुन्छ, नतिजा पनि उत्कृष्ट छ ।’ 


बालुवाटारस्थित पञ्चकन्या आधारभूत विद्यालयको प्रधानाध्यापक हुँदै गर्दा विनिता रञ्जितलाई अभिभावक, शिक्षक र टोलवासीहरूले विद्यालय बिग्रिन्छ भन्ने टिप्पणी गरेका थिए । तर, नेतृत्व दिएको एक वर्षमा उक्त भ्रम चिर्न रञ्जित सफल भइन् । ०५४ देखि यही विद्यालयमा अध्यापन सुरु गरेकी उनी ०७१ देखि प्रअको जिम्मेवारीमा छिन् । उनले प्रअको जिम्मेवारी लिँदा विद्यालयको अवस्था निकै कमजोर थियो । न त पर्याप्त विद्यार्थी थिए, न त पठनपाठनप्रति अभिभावक र विद्यार्थी सन्तोष ठान्थे । त्यही चुनौतीका बाबजुद विद्यालय हाँक्ने जिम्मेवारी पाएकी रञ्जितले एक वर्षमै राम्रो प्रभाव पारिन् । ‘मैले नेतृत्व गर्दा विद्यालयको अवस्था कमजोर थियो, शिक्षक साथीहरूलाई पनि संगठित बनाएर विद्यालय बनाउन चुनौती भयो, तर प्रअले राम्रो गर्न चाहने हो भने सकिँदोरहेछ,’ उनले सुनाइन्, ‘विद्यालयको नेतृत्व सबल बन्न थालेपछि समुदायले पनि विश्वास गर्न थाल्यो ।’ 


डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा सुरुसुरुमा विद्यार्थी नै थिएनन् । वरिपरिका अभिभावक निजी स्कुलतिर जान्थे । निजी स्कुलमा पढाउन सक्ने पहुँच भएकाहरू सरकारीमा विद्यार्थी पठाउन नै आनाकानी गर्थे । त्यसो हुँदा विद्यार्थी नभएर विद्यालय टिकाउन निकै कठिन हुने अवस्था थियो । तर, प्रअ रीता तिवारीले वरिपरिमा अभिभावकलाई आश्वस्त पार्ने र उनीहरूका विद्यार्थी पनि सामुदायिकमा ल्याउने योजना बनाइन् । विद्यालयको टिम एकढिक्का बनाएर विद्यालय बनाउनेतर्फ चासो दिइन् । त्यसपछि विद्यालय सुधारको बाटो सोझियो । ‘विद्यालय राम्रो बनाउन मुख्य त अभिभावक नै रहेछ, उहाँहरूले साथ सहयोग दिनुभयो भने विद्यालय राम्रो पनि हुन्छ,’ उनले भनिन्, ‘यसबाहेक माथिल्लो निकायबाट सन्तोषजनक सहयोग छैन ।’


अभिभावकको मन निजीतिरै
सरकारी र निजी विद्यालय मर्ज भएर बनेको ललितपुरको गोदावरीस्थित बडिखेलमा रहेको पथप्रदर्शक मावि हाँकिरहेकी छिन् शान्तिकुमारी अधिकारी । ०७४ यता प्रअको जिम्मेवारी सम्हाल्दै आएकी उनको फरक बुझाइ र भोगाइ छ । ‘जिम्मेवारीमा बसेपछि चुनौती आउँछ, त्यसमा पनि महिला प्रअलाई साथीसंगातीदेखि हरेक कुरामा चुनौती छ,’ उनले सुनाइन्, ‘मलाई सबैभन्दा ठूलो चुनौतीआसपासका बोर्डिङ स्कुल हुन्, उनीहरू निःशुल्क पढाउने, गाडी चढाउने यावत् प्रलोभन देखाएर विद्यार्थी खोसिदिनुहुन्छ, यस्तो अवस्थामा हामीले अभिभावकसँग छलफल गरेर उहाँहरूलाई सामुदायिक विद्यालयतर्फ तान्ने कोसिस गरिरहेका छौँ ।’ गोदावरी नगरपालिकामा हाल १५ वटाभन्दा बढी बोर्डिङ स्कुल छन् । तर पनि पथप्रदर्शकमाथिमा ३५० भन्दा बढी विद्यार्थी छन् । प्रअ अधिकारीका अनुसार यस विद्यालयको भौतिक संरचना व्यवस्थित छ भने नेपाली र अंग्रेजी दुवै भाषामा पढाइ हुन्छ । गएको एसइईमा यस विद्यालय गोदावरी नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा तेस्रो स्थानमा परेको थियो । विद्यालयको नतिजा सुधार हुनु र आकर्षण बढ्नुमा टिमवर्क नै रहेको प्रअ अधिकारीको अनुभव छ ।


एउटै भवनमा  दुई मावि र वडा कार्यालय
नक्सालमा रहेको नन्दी माध्यमिक विद्यालय र नन्दी रात्रि माध्यमिक विद्यालय एउटै भवनका सञ्चालन हुँदै आएका छन् । यसबाहेक नन्दी माविकै भवनमा वडा कार्यालयसमेत छ । सोहीकारण पठनपाठन गर्ने ठाउँ साँघुरो भएको प्रअ गीता काफ्ले बताउँछिन् । साँघुरो ठाउँमा शैक्षिक क्रियाकलाप गर्न कठिन भएको र नयाँ भवन तथा संरचना बनाउने हैसियत विद्यालयसँग नभएको उनको धारणा छ । 


भक्तपुर सूर्यविनायकमा रहेको भूवनेश्वरी माविकी प्रअ सुभद्रा लघुको अनुभवमा प्रअ हुनु आफैँमा चुनौती हो । तर, उक्त चुनौती सहजै निभाउन सक्नु सफल प्रअ हो । चार वर्षअघिदेखि नै सूर्यविनायक नगरपालिकाले वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनाएको थियो । त्यस्तै, अन्तरविद्यालय शिक्षक सरुवाको नियम पनि यहाँ छ ।

सुभद्रा यसअघि गणेश माविमा तीन वर्ष प्रअ भएपछि सरुवा भएर भूवनेश्वरीमा आएकी थिइन् । सहरी क्षेत्रमा रहेको माविमा हाल विद्यार्थी संख्या न्यून छ । त्यसमाथि कक्षाकोठा साँघुरो हुँदा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ हुँदै आएको छ । हाल दुईवटा कोठा भाडामा लिएर कक्षा ९ का विद्यार्थीलाई पढाउने गरिएको छ । एउटा कोठा १२ जना विद्यार्थी क्षमताको भएपछि कक्षाकोठाको अपर्याप्तताका कारण २० जनाभन्दा बढी राखेर बढाउनुपरेको प्रअ सुभद्राको अनुभव छ । सुभद्राले सुनाइन्,‘महिला प्रअका रूपमा सुरुसुरुमा विश्वास नगरे पनि आफूले राम्रो गरेपछि समुदायले विश्वास गर्न थालेको छ ।’ 


वडाध्यक्षले समय नदिँदा समस्या 
हाल काठमाडौं महानगरपालिकाले पनि विद्यालय व्यवस्थापन समिति(विव्यस)वडाध्यक्षलाई दिने निर्णय नगरसभाबाट पास गरिसकेको छ । तर, कतिपयले यसो गर्दा विद्यालय थप बिग्रिने बताउँदै आएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाले भने यो अभ्यास चार वर्षअघिदेखि नै गरेको थियो । यस क्षेत्रका शिक्षकका अनुसार विव्यस वडाध्यक्षलाई दिँदा उनीहरूबाट विद्यालयलाई समय दिन निकै समस्या हुने गरेको देखिएको छ । यद्यपि, माग सम्बोधन गर्ने विषयमा भने सीधै जनप्रतिनिधिसँग गुनासो वा माग राख्न सहज हुन्छ । तर, विद्यालयले बोलाएको बैठकमा वडाध्यक्ष उपस्थित नहुने भएपछि विव्यस वडाध्यक्षलाई दिँदा बिग्रन सक्ने त्यस क्षेत्रका प्रअहरूको धारणा छ ।

के भन्छन् हेडम्यामहरू ?

कुमारी कमला राई (जनकल्याण मावि)
हाम्रो विद्यालय नमुना विद्यालय बन्नुको कारण टिमवर्क नै हो । यसबाहेक विद्यालयलाई राम्रो बनाउन प्रअको दूरदृष्टि र सकारात्मक भावना पनि चाहिन्छ । शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीको मन जित्न सक्नुपर्छ । असल विद्यार्थी बनाउन उनीहरूलाई सम्मान गर्ने, गेटमै स्वागत गर्ने, माया दिने र उनीहरूको समस्या सुन्नेजस्ता कार्य हामी गर्छौँ ।

जानुका नेपाल (नीलबाराही मावि)
विद्यालय राम्रो बनाउन प्रअले योजनाबद्ध रूपमा काम गर्नुपर्छ । अभिभावक र विद्यार्थीको मनसाय बुझ्नुपर्छ । शिक्षक र विद्यार्थीबीच आत्मीय सम्बन्ध हुनुपर्छ । त्यहाँको समुदायले पनि सहयोग र विश्वास गर्नुपर्छ । हामीकहाँ चुस्त टिम छ । हामीले जे गर्नुपर्छ ती सबै समूहमै गर्छौँ । टिमवर्क भयो भने विद्यालय सुधार हुन्छ । 

रिता तिवारी (पद्ममकन्या विद्याश्रम)
विद्यालय राम्रो बनाउन प्रतिबद्धता, योजना र टिमवर्क चाहिन्छ । प्रअले शिक्षकको समस्या सुन्नुपर्छ । विद्यार्थी र अभिभावकसँग आत्मीय सम्बन्ध हुनुपर्छ । अभिभावक र शिक्षकलाई सँगै राखेर छलफल गर्दा शिक्षकहरू अझ सजग हुन्छन् । 

अमृता श्रेष्ठ (इचंगुनारायण आधारभूत विद्यालय)
स्कुल चलाउन सजिलो छैन । सामुदायिक विद्यालयलाई सरकारले दिएको पैसाले पुग्दैन, संघसंस्थासँग सहयोग माग्नुपर्छ । यसबाहेक पढाइ खस्कियो भने आरोप आफूमाथि नै आउँछ । तर, एउटी महिलालाई जसरी घर कसरी राम्रो पार्न सकिन्छ भन्ने सोच हुन्छ त्यसरी नै विद्यालय पनि राम्रो पार्छु भन्ने सोच हुन्छ । विद्यालयलाई परिवारजस्तै मानेर काम गर्छौँ ।

शान्तिकुमारी अधिकारी (पथप्रदर्शक मावि)
महिला प्रअले कसरी विद्यालय चलाउने हो भन्ने स्थानीयवासीको बुझाइ थियो । तर, अवसर पाए महिलाले पनि राम्रो गर्न सक्छन् भन्ने हामीले गरेर देखाएका छौँ । सामान्यतया, जिम्मेवारीमा बसेपछि चुनौती आउँछ, त्यसमा पनि महिला प्रअलाई साथीसंगातीदेखि हरेक कुरामा चुनौती छ नै । 


विनिता रञ्जित (पञ्चकन्या मावि)
प्रअले मियोको रूपमा जिम्मेवारी राम्ररी निभाउँदा स्कुल राम्रो हुनेरहेछ । साथै, हामी माथिल्लो तहको विद्यार्थीलाई कुनै अवलोकन वा भ्रमण कार्यक्रममा लैजाँदा तल्लो तहकोलाई पनि लैजान्छौँ । सिकाउँदा विभेद गर्दैनौँ । समुदायसँग समन्वय गरेर त्यहाँका विद्यार्थी विद्यालयमै ल्याउने योजना बनाइरहेका छौँ । 


गीता काफ्ले (नन्दी मावि)
यहाँ एउटै भवनमा दुईवटा मावि सञ्चालन हुन्छन् । यसबाहेक वडा कार्यालय पनि हाम्रै भवनमा छ । साँघुरै कक्षाकोठा भए पनि हामीले शैक्षिक क्रियाकलापलाई प्रविधिमैत्री बनाउनतिर जोड दिएका छौँ । सहरको मध्यभाग र भिभिआइपी एरिया भएर पनि हामीकहाँ पाँच सय विद्यार्थी छन् ।

कुन विद्यालयमा को महिला प्रअ ?

कुमारीकमला राई – जनकल्याण मावि, महाँकाल 

विनिता रञ्जित – पञ्चकन्या आधारभूत विद्यालय, बालुवाटार

गीता काफ्ले – नन्दी मावि, नक्साल 

सीताकुमारी ढकाल – जनविकास मावि, बल्खु 

सुजाता राजपटल– धुम्रबाराही मावि, धुम्वाराही

जानुका नेपाल– निलबाराही मावि, टंकेश्वर

सितादेवी पौडेल– जनसुधार आधारभूत विद्यालय, स्वयम्भु

मन्दिरा खनाल– जनजागृती ज्ञानरश्मी मावि, बालाजु

रिता तिवारी– पद्मकन्या विद्याश्रम मावि, डिल्लीबजार

शारदा पौडेल–भानु मावि रानीपोखरी

हिरालक्ष्मी श्रेष्ठ, हिमालय मावि, न्युरोड

सरिता क्षेत्री– नेपाल नवयुवक मावि, पकनाजोल

मञ्जु श्रेष्ठ– रुद्रमती आधारभूत विद्यालय, वानेश्वर

नीता पोखरेल– गुहेश्वरी बालशिक्षा मावि, थापाथली 

शिवकुमारी घिमिरे– शान्ति विद्यागृह मावि, लैनचौर

रुपा मानन्धर– पञ्चकन्या मावि, छाउनी 

नमिता राज भण्डारी–राष्ट्रिय आधारभूत विद्यालय, टेकु 

उमा निरौला –मित्र आधारभूत विद्यालय, चावहिल

करुणा प्रधान –नेपाल आदर्श मावि, गणबहाल 

विनिता रञ्जित– पञ्चकन्या आधारभूत विद्यालय, वालुवाटार 

निर्मला शाक्य– नेपालटार मावि, नेपालटार

विमला पाण्डे–अरुणोदय आधारभूत विद्यालय, ढोकाटोल

पुनम राणा–सबलद्यौला आधारभूत विद्यालय, लगन

सविना गुरुङ– लोकहित आधारभूत विद्यालय, ठमेल

रविना महर्जन– सरस्वती निकेतन मावि, न्युरोड टेकु

विना महर्जन–कंकेश्वरी आधारभूत मावि, कंकेश्वरी

ज्योति खनाल– निर्मल बालविकास आधारभूत विद्यालय

भक्तपुर :

अम्बिका ङ्याच्याई– बासु मावि, भक्तपुर दरबार 

प्रेम लक्ष्मी त्वाएना– तारा मावि, भक्तपुर दरबार क्षेत्र

सुभद्रा लघु– भुवनेश्वरी मावि, सुर्यविनायक 

तीर्थलक्ष्मी धन्छा– व्रह्मायणी आधारभूत विद्यालय, व्रह्मायणी

विन्द्रा दुवाल– ज्ञानविजय आधारभूत विद्यालय

कृष्णलक्ष्मी दुवाल– जनसेवा आधारभूत मावि

प्रमिला जोशी– बालसेवक आधारभूत विद्यालय 

सविना राजभण्डारी– बालविनायक आधारभूत विद्यालय, सुर्यविनायक 

रामप्यारी न्हेम्हाफुकी– चित्रपुर आवि, सुर्यविनायक 

चन्द्रमाश्री बराल– कटेन्जे आवि, कटुन्जे

मञ्जु बस्नेत खत्री– सोमलिङ्गेश्वर आवि, सुर्यविनायक 

संगीता भट्ट– गणेश आधारभूत विद्यालय, सुर्यविनायक 

भगीरथी केसी– श्रीराम आवि, सुर्यविनायक

रबिनामैया कोजु– चन्द्रसुर्योदय आवि, सुर्यविनायक 

रोजी कुवँर– भगवती आवि सुर्यविनायक 

सुजाता रानामगर– दहगाउँ आवि, सुर्यविनायक 

गीता दवाडी– आजाद मावि, चागुनारायण

देवकी पौडेल– कालीका आवि, चागुनारायण

नानुमाया गिरी– चुनादेवी मावि, चागुनारायण

कल्पना केसी– राधाकृष्ण आवि, चागुनारायण

तुलसा थपलिया– भैरवी आवि, चागुनारायण

ललितपुर :

विमलादेवी लामिछाने– टिका विद्याश्रम मावि, सानेपा

सबी रेग्मी– पञ्चकुमारी आधारभूत विद्यालय, धोविघाट

गीतादेवी जोसी– सचेतना आधारभूत विद्यालय, धोविघाट

विना शाक्य– यसोधा बौद्ध मावि ललितपुर महानगर

मल्लिका श्रेष्ठ– कृषि उदय आधारभूत विद्यालय, ललितपुर महानगर

रुपा श्रेष्ठ– कुम्भेश्वर आधारभूत व्द्यिालय, कुम्भेश्वर

कल्पना कायास्थ– मिननाथ आदर्शशिक्षा आवि ललितपुर महानगर

विद्या खड्का– बालादेवी आधारभूत विद्यालय, धापाखेल

लक्ष्मी कार्की– मोतिविनायक आवि, सुनाकोठी

आशादेवी महर्जन– हरिदेवी मावि हरिसिद्धी 

छायाकुमारी यादव– कृष्ण आधारभूत विद्यालय, गोदावरी

तारा आचार्य– फूलचोकी आधारभूत विद्यालय, फुल्चोकी 

सावित्री नेपाली– तुलसादेवी आधारभूत विद्यालय, गोदावरी

शान्तिकुमारी अधिकारी– पथप्रदर्शक मावि, गोदावरी

कृष्णकुमारी गुरुङ– छुट्टीडाँडा आधारभूत विद्यालय, गोदावरी 

अन्जना अधिकारी– ब्रहमायणी आधारभूत विद्यालय, गोदावरी

मैया थपलिया– देउराली प्रावि –गोदावरी

सुन्तली डिम्डुङ– शारदा शिक्षा सदन मावि, इकुडोल

प्रभा अमात्य– लुभू मावि, लुभू 

यसोदादेवी घिमिरे– महाँकाल आधारभूत विद्यालय, घुसेल

सम्पादकको रोजाइ

सुझावित समाचार