बन्दीपुरमा वसन्त

डायरी

कल्पना बान्तवा कल्पना बान्तवा
शनिबार, २८ बैशाख, २०७६
डिजिटल संस्करण

०६७ फागुन १४ शनिबारको बिहानी थोरै घर्किसकेको छ, तर घाम पुरै छिप्पिसकेको भने छैन । काठमाडौंबाट बन्दीपुर ताकेर हुइँकिइरहेको रिजर्भ बसमा छु । झ्यालनिरको निरको सिटमा बसेर बससँगै कुद्दै गरेझैँ  लाग्ने त्रिशूली नदीपारिका डाँडापाखा, रूखबुट्यान र खेतका गरामा मेरा आँखा टाँसिएका छन् । मनमा कुरा खेलाउँदै एकतमासले झ्यालबाहिर  हेरिरहेकी मलाई हठात् अम्बर सरको यो गीतले चिमोट्छ,यात्रा त्यही बाटो त्यहीत्यही बाटो कुन यात्री होला भोलि ...

मान्नुपर्छ अम्बर सरलाई, क्या सटिक लेख्नुहुन्छ ! हो त नि ! यात्रा र बाटो त्यही भए पनि यात्री सधैँ फेरिइरहन्छन् । अस्ति भर्खर दसैँमा मावलीघर पोखरा जाँदाको त्यही बाटो र त्यही यात्रामा छु अहिले, तर सहयात्री उही छैनन्– बेग्लै छन् । हिमाल एसोसिएसन र डेनिस राजदूतावासले संयुक्तरूपमा आयोजना गरेको रेडियो कथाको प्रारम्भिक कार्यशालामा सहभागी हुन दाता, रिसोर्स पर्सन, रेडियोकर्मी र साहित्यकारको १८ जनाको टोली बन्दीपुर जाँदै छौँ । सहयात्री कसैसँग पनि मेरो यसअघि देखभेट थिएन । तर, अक्षरका माध्यमबाट धेरैजसोसँग चिनजान छ । 

बस गुडिरहेको छ, मनमा नानाथरीका तर्कना आवत–जावत गरिरहेका छन् । आफ्नै स्वभावका कारण भित्रभित्र अशान्त छु, उद्विग्न छु । कसैसँग हम्मेसी नझ्याम्मिने ,सभा, गोष्ठी–सेमिनार, पार्टी, पुस्तक–विमोचन आदिजस्ता भिडभाडबाट सातकोस टाढा भाग्ने म कसरी यो चार दिन काटुँला भनेर चिन्तित पनि छु । धेरै भो, घरको संघार नाघेर एक्लै कतै एकरातलाई पनि गएकी छैन । 
०००
भाइले पाटनढोकास्थित हिमाल एसोसिएसनको आँगनमा बिहान घाम नचर्किंदै पौने नौ बजे पु-याइदियो । पहिल्यै त्यहाँ पुगिसकेका केदार जी, वसन्त थापा (ऋतुराज), र अर्चना थापासँग परिचय भयो । एकैछिनपछि रिन्चेन योञ्जन, मेघरञ्जनी राई, दुई डेनिस मित्र स्याली र केर आइपुगे । लगत्तै रमेश पौडेल, हरि अधिकारी, नयनराज पाण्डे, बुद्धिसागर, भिक्टर प्रधान, रेडियोकर्मी लीलप्रकाश चन्द, सिर्जना खड्का र सरिता ओली, हिमाल एसोसिएसनका चिरन घिमिरे र महेश महत पनि समूहमा सामेल भए । 

साढे नौ बजे हाम्रो गाडी पाटनढोका छाडेर एकान्तकुना जावलाखेल हुँदै बागडोल चक्रपथ निस्कियो । र, गन्तव्यतर्पm 
उन्मुख भयो ।‘तपाईंको बोल्ने समय कुन–कुन हो ? अँ, तपाईं मलाई पनि सोध्न सक्नुहुन्छ, मेरो नबोल्ने समय कुन–कुन हो भनेर’ सँगै बसेका केदारजीले हाँस्दै मलाई सोध्नुभयो ।उत्तर दिनुको साटो बिस्तारो हाँसे ।

हाम्रो पछाडिको सिटमा रमेश पौडेल हुनुहुन्छ । चित्रकारिता र गीत–गजल लेखनमा सिद्धहस्त उहाँसँग पनि फेसबुकमै चिनापर्ची भइसकेको छ । अझ पछाडि प्रिय लेखक नयनराज पाण्डे हुनुहुन्छ । उहाँको ‘उलार’ पढेर म उहाँप्रति हुरुक्क छु । उहाँसँगै बुद्धिसागर चुपचाप बसेका छन् । मध्य, पश्चिम र पूर्वी तराईमा खाइखेली हुर्केबढेकाले होला नयनजी, बुद्धिसागर र मेराबीच धेरैथोक मिल्दोजुल्दो र एक किसिमको आञ्चलिकनिकटता महसुस हुन्छ ।

‘यो बुद्धि जसरी लेख्छ, त्यसरी नै किन बोल्दैन ?’ केदारजी पछिल्तिर फर्केर बुद्धिसागरलाई हेर्दै बोल्नुभयो ।उत्तर रमेशजीले दिनुभो, ‘‘केदारजी ! एकपटक कविता प्रतियोगितामा बुद्धि प्रथम भएपछि आफ्नै रस्तीबस्तीको भाइले स्वर्ण पदक जितेकोमा गर्वले छाती फुलाउँदै उसलाई रेडियोमा अन्तर्वार्ताका लागि बोलाएँ, कुरा सुरु गरेको एक्कैछिन भैरछ, केटो त ‘भो क्या दाइ अब ! कुराकानी सकौँ के !’ भनेको भन्यै गर्छ । त्यतिखेरै मैले थाहा पाएँ यो केटो जसरी लेख्छ, त्यसरी बोल्दो रहेनछ ।” 

‘धन्न बोल्दो रहेनछ । लेखेजस्तै बोल्ने भएको भए यो केटोले देश खर्लप्पै खाएर सबै सिध्याउँथ्यो ...’ केदारजीको जवाफमा छेउछाउका हामी मुस्कायौँ । मलेखुनजिकै एउटा बसलाई तल भिरबाट माथि सडकमा उकाल्दै रहेछन् । आधा घन्टाजति जाममा परियो । नयनजी र बुद्धिसागरलगायत केही साथी त्यो तान्दै गरेको बस हेर्न भनेर पाँच मिनेटको दूरीमा पर्ने त्यस ठाउँतर्पm पैदल लागे ।‘ला ! बुद्धिसँगै नयनले पनि हामीलाई छाडेर गए, अब बुद्धि र आँखाबेगर हामी कसरी अघि बढ्ने ?’ केदारजी बोल्नुभो । सबै गलल्ल हाँसे ।

केदार जी र वसन्त सरको खुब कुरा मिल्दोरैछ ! दुवैजना बातैपिच्छे मान्छे हँसाउन खप्पिस, तर ती दुई हित्तचित्त मिलेका मित्रले बसमा भने छुट्टै बस्नुप-यो । केदारजी मसँग र वसन्त सरचाहिँ ड्राइभर सिटको हाराहारीको एक्लो सिटमा ।‘तपाईं दुई साथीहरूलाई सँगसँगै बस्न कति मन थियो होला । चाहनुहुन्छ भने मलाई वसन्त सरसँग ठाउँ साट्न मञ्जुर छु है !’ मैले भनेँ ।

‘भो पर्दैन, धन्यवाद ! हो, हामी दुई यति मिल्छौँ कि कहिलेकाहीँ त वाक्क भएर छुट्टाछुट्टै बस्न साह्रै रुचाउँछौँ... आज भाग्यले यो मौका पाइएको छ, र हामी यो सुवर्ण अवसरलाई त्यसै खेर जान कदापि दिँदैनौँ’ वसन्त सरले भन्नुभो । ‘हा हा हा...’ केदारजीको अट्टहासले बसको छत उडाउलाजस्तो भो ।

एकछिनपछि एउटा कापी निकालेर केदारजी त्यसमा केही लेख्न थाल्नुभो । मैले आँखाको कुनाबाट देखेँ, उहाँ लेखिएका अक्षर छोप्ने प्रयास गर्दै लेख्दै हुनुहुन्थ्यो । लेखनमा गोपनीयताको महत्व  थोरबहुत बुझेकी मैले त्यसपछि झुक्किएर पनि त्यता हेरिनँ । पछि केदारजी आफैँले कुरा खोल्नुभो, ‘बेलुकासम्म मैले हिमाल खबर पत्रिकाको अन्तिम पानाका निम्ति जसरी भए पनि एउटा लेख नपठाइहुन्न क्या ?’

डुम्रे पुगेपछि पोखरा जाने सडक छाडेर हाम्रो बस दक्षिणतर्फ  उकालो लाग्यो । नागबेली परेका उकाला बाटा छिचोल्दै झन्डै आधा घन्टापछि हामी बन्दीपुरको टुँडिखेलमा बसबाट ओर्लियौँ । टुँडिखेलको दक्षिणपट्टि लहरै उभिएका पाँच÷छ वटा बडेमानका पीपलका रूख र चौताराले हामीलाई न्यानो स्वागत गरिरहेजस्तो लाग्यो । टुँडिखेल चौरको बीच छातीमा टेक्दै पश्चिमपट्टिको ‘माउन्टेन–भ्यु रिसोर्ट’को चिटिक्क परेको गेटबाट हाम्रो समूह भित्र छि-यो । 

रमेशजीले उत्तरतर्फ  मस्र्याङ्दी उपत्यकाको एउटा पहाड देखाउँदै भन्नुभो, ‘ऊ त्यो डाँडाको पछिल्तिर छ मेरो गाउँ ! साथी हो, यो त सब मेरै रस्तीबस्ती हो नि !’हामी सबैले घाँटी तन्काएर रमेशजीले औँल्याउनुभएतिर हे-यौँ, तरेली परेका पहाडमध्ये एउटा अलि अग्लो डाँडो रमेशजीको सुन्दर पेन्टिङबाट फुत्त निस्किएर त्यहाँ ठडिएझैँ  आकर्षक देखिन्थ्यो ।आ–आफ्नो कोठामा पुगेर हातमुख धोइसकेपछि मेरी रुम पार्टनर अर्चनाजी फेरि साथीसँग मिसिन लबीतर्फ  लाग्नुभो ।

मचाहिँ शवासनमा लम्पसार परेर यात्राको थकान मेट्ने कोसिसमा लागेँ । तन्द्राजस्तो अवस्थामा पुगेकी म अचानक सरर पानी परेको आवाजले झस्किएँ । ‘अहो ! भाइले फोनमा काठमाडौंमा पानी पर्लाजस्तो भएको छ भन्दैथ्यो, यहाँ पनि पानी परेछ’ भन्दै जुरुक्क खाटबाट उठेर कोठाबाहिर निस्किएर हेरेँ । तर, आश्चर्य ! थोप्पै पानी परेको थिएन । रिसोर्टसँगैको सल्लाघारी पो मस्तले सुसाएको रहेछ !

डाइनिङ हलमा भेला भएर हाम्रो समूह चियाकफी पिउँदै,एक–आपसमा गफिँदै रिसोर्ट वरपरका सुन्दर दृश्य अवलोकन गर्न थाल्यो । डाइनिङहलको तल्तिर आडैमा एउटा सानो हिस्सी परेको कुनो थियो, जहाँ एउटा टेबल र दुईवटा कुर्सी राखिएका थिए ।‘आहा ! कति राम्रो ठाउँ !’ हामीमध्ये कोही करायो ।

‘अँ, यो त काइदाको भावुक हुने ठाउँ पो रहेछ, अब हामी सबै पालैपालो त्यो ठाउँमा गएर भावुक हुनुपर्छ’ बुद्धिसागरले चिया सुक्र्याउँदै निःशुल्क सल्लाह दिए, घत परेका स्रोताजति मजाले हाँस्यौँ ।साँझमा हरि सर, नयनजी, रमेशजी, र बुद्धि बन्दीपुर बजार डुलेर फिरेपछि रिसोर्टमै बसेको हाम्रो हुलमा मिसिए । 
         ०००
बन्दीपुर पुगेको भोलिपल्ट आइतबार बिहानदेखि कार्यशाला सुरु भयो । थालनीको परिचय कार्यक्रममा आधा सहभागीले अंग्रेजीमा बोले, आधाले नेपालीमा । नेपालीमा बोल्ने सुरुवात मैले गरेँ । हामी नेपालीमा बोल्नेजतिका कुरा स्याली र केरलाई बुझाउन रिन्चेन योञ्जनले ल्यापटपमा फटाफट अंग्रेजीमा उल्था गर्दै जानुभो ।

बुद्धिसागरले यसरी शुरु गरे, ‘सबैलाई नमस्कार ! अंग्रेजीमा बोल्न त किन नआउनु र ! तर अंग्रेजीमा भन्न थालौँ भने भोलि बिहानसम्ममा पनि मेरो कुरा नसकिएला ... त्यही भएर म नेपालीमै बोल्छु ...’‘हा हा हा ...’ हामी नेपालीजति स्वादले हाँस्यौँ । बरा स्याली र केरचाहिँ रिन्चेन योञ्जनले ल्यापटपमा लेखेको पढेपछि बल्ल हाँसे, ट्युबलाइटजस्तो ।

अन्तमा, स्याली र केरले पनि आफ्नो  परिचय दिए । स्याली डेनमार्कका बालकथा विशेषज्ञ रहेछन् भने केर डेनमार्ककै वरिष्ठ रेडियोकर्मी । सन् २००६ मा डेनमार्कमा बालबालिकालाई रेडियोमा आ–आफ्ना कथा भन्न लगाउने उनीहरूको कार्यक्रम ज्यादै सफल भएको रहेछ । त्यही कुराले हौसिएर हिमाल एसोसिएसनले डेनिस लेखकहरूको संस्थासँग मिलेर नेपालमा पनि बालबालिकालाई आफ्नो कथा रेडियोमा भन्न लगाउने प्रतियोगिता आयोजना गर्न लागेको रहेछ ।

त्यही सन्दर्भमा, हाम्रा नेपाली केटाकेटीहरूलाई कसरी रेडियोमा आफ्नो कथा भन्न उत्प्रेरित गर्ने, रेडियो कथा कार्यक्रमको प्रचार–प्रसार कसरी गर्ने, कुन उमेर समूहलाई छान्ने, के–कस्ता विषयमा केटाकेटीहरूलाई कथा लेख्न लाउने, प्रतियोगी कथाहरूको मौलिकता र उत्कृष्टता खुट्याउने कसी के–केलाई मान्ने र छानिएका अन्तिम १० बालबालिकालाई रचनात्मक लेखन कार्यशालामा सहभागी बनाउन के–कस्ता आधार तर्जुमा गर्ने भन्नेबारे छलफल गरेर ठोस निष्कर्षमा पुग्न हामी बन्दीपुरमा भेला भएको कुरा हिमाल एसोसिएसनका तर्फबाट वसन्त सरले बुझाउनुभो ।

कार्यशाला अवधिभरि सबै सहभागीलाई तीन–तीन वा चार–चारजनाको समूहमा छुट्याएर सामूहिक कार्यभार तोकिन्थ्यो । रिसोर्ट परिसरभित्र ओरालोमा एउटा ओडार थियो, जहाँ पुग्न ढुंगाका खुड्किला बनाइएका थिए । त्यहाँ एउटा टेबल, केही कुर्सी राखिएका थिए र एउटा लालटिन पनि झुन्डिरहेको थियो ! वसन्त सर संयोजक रहनुभएको हाम्रो समूहमा भिक्टर सर, सरिता र म थियौँ । हामी कहिले त्यो ओडारमा त कहिले रिसोर्टबाहिरको टुँडिखेल चौरमा घाम ताप्दै सल्लीपिरल खेलाउँदै आफ्ना सामूहिक पाठ तयार पाथ्र्यौँ र कार्यशाला कक्षामा प्रस्तुत गथ्र्यौँ ।

वसन्त सर बातैपिच्छे हँसाउनुहुन्थ्यो । हामी सामूहिक छलफल गरिरहँदा भिक्टर सर प्रायः भन्ने गर्नुहुन्थ्यो, ‘अँ ! साँची, म के भन्दै थिएँ रे ?’वसन्त सर प्याच्चै बोलिदिनुहुन्थ्यो, ‘भिक्टर सर ! तपाईं त ‘गजनी’ को आमिर खान हुनुभएछ, अ सर्ट टर्म मेमोरी लस .. हा हा हा ...’वसन्त सर हँसाउने मात्र हैन, ज्ञानगुनको भण्डार पनि हुनुहुँदोरहेछ ! टी–ब्रेकमा उहाँ हामी सबै सहभागीलाई उत्तरतर्पm लहरै देखिएका सुन्दर हिमशृंखला चिनाउनुुहुन्थ्यो, ‘उ त्यो ! अलि पछाडिको धौलागिरी, त्यसकै छेउमा थोरै अघिल्तिर माछाको पुच्छरजस्तो देखिएको माछापुच्छ्रे , अलि पल्तिर सानो ढिस्कोजस्तो देखिएको हिमचुली, त्यसपछिको लामो अन्नपूर्ण रेन्ज, त्यसपछिको ... काठमाडौंबाट देखिने गणेश हिमाल ...’

हामी बसेको माउन्टेन–भ्यु रिसोर्टबाट उत्तरतर्फको  मस्र्याङ्दी उपत्यका र हिमाल साह्रै सुन्दर देखिन्थे । त्यति नजिकबाट एकसाथ त्यति धेरै हिमाल कहिल्यै नदेखेकी म त भावविभोर भएँ, आफ्नो देशको सुन्दरताले अभिभूत भएँ । यसअघि बन्दीपुरको सौन्दर्य मेरा निम्ति सुनाइमा मात्र सीमित थियो । यसपालि आँखा र मनले प्रत्यक्ष त्यो सौन्दर्यलाई अघाउन्जेल हेर्न पाएँ ।

दोस्रो दिन बिहान खाजापछि स्थानीय विद्यालयका चारजना विद्यार्थी भाइबहिनीसँग त्यही हामी बसेको रिसोर्टमा भेट गराइयो । हाम्रो प्रत्येक समूहले एकजना विद्यार्थीबाट जसरी भए पनि कम्तीमा एउटा कथा झार्नैपथ्र्यो र पछि त्यो कथालाई रेकर्ड गरेर अथवा कापीमा लेखेर कक्षामा सुनाउनुपर्ने भयो । सबै समूहका कथा चाखलाग्दा थिए, तर बुद्धिसागरको समूहको दाजुबहिनीको कथा ‘प्रेम दाइको प्रेम’ सबैले मन पराए ।
          ०००
बन्दीपुर छाड्ने अघिल्लो रात, भोलिपल्ट घर फिर्ने खुसीले पूलको थुंगाझैँ हलुको भएका हामी खानपिनतिर लाग्यौँ । 
सोहीक्रममा, बुद्धिले ‘वो माता है, क्युँकि वो पिता है’ र ‘मै धूपमे बैठा हुँ’ को नेपाली अनुवाद ‘म अगरबत्तीमा बसिरहेको छु’जस्ता जोक सुनाएर मरुन्जेल हँसाए ।

आफ्नै स्वभावका कारण भित्रभित्र अशान्त छु, उद्विग्न छु । कसैसँग हम्मेसी नझ्याम्मिने, सभा, गोष्ठी–सेमिनार, पार्टी, पुस्तक–विमोचन आदि जस्ता भिडभाडबाट सात कोस टाढा भाग्ने म कसरी यो चार दिन काटुँला भनेर चिन्तित पनि छु । धेरै भो, घरको संघार नाघेर एक्लै कतै एक रातलाई पनि गएकी छैन । 

बीचमा वसन्त सरले गम्भीर भएर सानो भाषण ठोक्नुभो, ‘आफ्नो माटो भनेपछि हुरुक्क हुने हामी, त्यो एउटा छिमेकी मुलुकलाई भने देखिसहन्नौँ । मौका पायो कि त उसको कुरा काटेर रमाइहाल्छौँ । तर विडम्बना ! गीत गाउनुपरे हामी उसैको भाषाको गीत गाउँछौँ, सुन्नुपरे उसैका जोक सुन्छौँ र सिनेमा पनि उसैको नहेरी हुँदैन हामीलाई ... अब भन्नुस् साथीहरू ! यो कस्तो कचल्टेको देशप्रेम हाम्रो ?...’

हामीले उहाँको कुरामा सही थापेर ताली पिट्यौँ । र, हाँस्यौँ पनि ।खानपिनपछि रउसेले आफ्नो गायकीको फलाम मनाउन थाले । अर्चनाजी पुराना हिन्दी गीत गाउन सिपालु हुनुहुँदोरहेछ । गाउनमा उस्तै उस्ताद वसन्त सर, नयनजी र मेघरञ्जनी दिदीले मीठामीठा हिन्दी गीत गाए । आफैँ तस्बिर क्यामेरामा आफैँ उतार्न दक्ष सरिता गाउनमा पनि उत्तिकै खुँखार रहेछिन्, सुरताल ठ्याम्मै नबिगारी मीठो गाएर उनले हामीलाई कुस्त मनोरञ्जन गराइन् ! 

त्यसपछि, संगीतको तालमा झुम्न थाले सबैजना ! हरि सर र बुद्धिसागर त उठेर नाच्नै थाले । बहुप्रतिभाशाली सरिता नृत्यमा पनि पोख्त रहिछिन् । बुद्धि र उनको नृत्य आकर्षक र नयनाभिराम थियो । पछि त मेघरञ्जनी दिदी पनि जोसिँदै गएर नाच्नुभो । दामी ‘रक एन रोल’ गर्दै उहाँले कराएर सोध्नुभो, ‘कसले भन्छ यहाँ जेनेरेसन ग्याप छ भनेर, हँ ?’ खुब रमाइलोसँग त्यो साँझ बित्यो ।

भोलिपल्ट बिहान, खाजा खाइवरि बस चढेर बन्दीपुर छाड्यौँ । डुम्रेतर्फ  झर्दै गर्दा दुई समूहमा बाँडिएर सुरु गरेको हाम्रो अन्ताक्षरी खेलले मलेखु आइपुगेर मात्र विश्राम पायो । फर्कँदाको यात्रा जाँदाको जस्तो चुपचाप थिएन, प्रायः सबै एक–आपसमा साखुल्ले पल्टेर बात मार्दै थिए ।

रमाइला साथीसँग चारदिने आत्मीयतापछि साथ छुट्न लागेकाले मन कताकता उदास पनि हुन खोज्दैथियो । त्यसमाथि, खाई न पाई असिम धैर्यसाथ मलाई करकर गरेर अग्रज स्रष्टा, र हँसिला–रसिला साथीसँग संगत गर्ने मौका जुराइदिएर तिरीनसक्नुको गुन लाउनुहुने केदारजीलाई मुखै फोरेर धन्यवाद भन्नै सकिनँ मैले ! तर, खुसी र उल्लासले धपक्क बलेजस्ती देखिएकी मलाई हेरेर उहाँलाई पनि सन्तोष नै लाग्यो होला भन्छु ।

थानकोटबाट काठमाडौं छिर्नासाथ गर्मी ह्वात्तै बढेजस्तो अनुभव भयो । सुन्दर, शान्त र शीतल बन्दीपुर सम्झेर मन बाउँडियो । वसन्त सरले पनि दिक्क मान्दै भन्नुभयो, ‘ल हेर त ! यी यस्तो छ चाला ! काठमाडौंलाई दुई–चार दिन छाडेर यसो कतै जानै हुँदैन, केटाहरूले गोलमाल गरिहाल्छन् । अस्ति त्यस्तो शीतल काठमाडौं छाडेर गएको, स्वाट्टै गर्मी बढाइहालेछन् केटाहरूले...’

अपराह्न घर पुगेपछि, मभन्दा पहिला घर पुगेको हिमाल खबर पत्रिका उभीउभी सरर्र हेरेँ । अन्तिम पानामा केदारजीको ‘खुच्चिङ’ लेख छापिएको रहेछ । त्यो देखेर गुडिरहेको गाडीमा अप्ठ्यारो गरी केदारजीले यसलाई लेख्दाको क्षण याद आयो । सोचेँ– लेखकहरू ज्याद्रा जीव हुँदारैछन् जस्तै ओल्टोकोल्टोमा पनि लेखेरै छाड्ने ! 

सम्पादकको रोजाइ

सुझावित समाचार