३० वर्ष टेकेपछि नै सेन लियाङको मनमा ३५ वर्षले निम्त्याउने ‘अभिशापसम्बन्धी’ डरले डेरा जमाउन थालेको थियो । चीनमा व्याप्त एक विश्वासअनुसार लियाङजस्ता उच्चस्तरका कामदारले २५ वर्षको उमेरपछि अपरिहार्य जागिरको असुरक्षाको सामना गर्छन् । यस आमविश्वासअनुसार रोजगारदाताहरू ३५ वर्षमाथिका कामदारलाई नयाँ रोजगारको खोजीमा रहेका कामदारभन्दा महँगो मान्छन् । ती आवश्यक पर्दा ओभरटाइम (अतिरिक्त समय) काम गर्न इच्छुक नहुने मालिकको विश्वास हुन्छ । अहिले ३८ वर्षमा हिँडिरहेका लिआङ प्रविधि क्षेत्रमा प्राविधिज्ञका रूपमा काम गरिरहेका थिए, जो पछि व्यक्तिगत प्रशिक्षक बने । उनी विगत तीन वर्षदेखि बेरोजगार छन्, जसका पछाडि आंशिक रूपमा महामारी र चीनको सुस्त अर्थतन्त्रको पनि भूमिका छ । तर, लियाङलाई भने यसको मुख्य कारण उनको उमेर भएको विश्वास छ । उनी अधिकांश रोजगारदाता (चिनियाँ सरकारसमेत) का लागि धेरै ‘बूढा’ भइसके ।
चीनमा ३५ वर्षको अभिशाप एक मिथ हो भने यसलाई सही देखाउने केही तथ्य पनि छन् । ‘म कसरत गर्ने भएकाले आफ्नो उमेरका सहकर्मीभन्दा जवान देखिन्छु । तर, समाजको नजरमा म धेरै बूढो भइसकेँ,’ लियाङले एक अन्तर्वार्तामा भने । कोरोना महामारीपछि चीनको आर्थिक पुनरोत्थान निराशाजनक देखिइरहेको छ । बेरोजगारी उच्च छ । यस स्थितिमा चिनियाँ इन्टरनेटमा ३५ वर्षे अभिशापको चर्चा थप चुलिँदै गएको छ । यो परिघटना कसरी सुरु भयो भन्नेबारे केही स्पष्ट छैन, न त यसको सत्यता नै ठोस देखिन्छ । तर, रोजगारीका अवसर घटेको भने यथार्थ हो । यस परिस्थितिमा उमेरसम्बन्धी भेदभाव व्याप्त देखिन्छ । चीनको कानुनले पनि उमेरका आधारमा कार्यक्षेत्रमा गरिने फरक व्यवहारविरुद्ध नबोलेकाले यस्तो कार्य त्यहाँ अवैध छैन । करिअर, विवाह र सन्तानबारे महत्वपूर्ण निर्णय लिने ३०–४० वर्षको उमेरमै कामदारले कार्यक्षेत्रमा विभेद भोग्दा त्यो दोहोरो झट्कासरह हुन्छ ।
बेरोजगारीपछि महिनाको १०० डलरभन्दा कमको घरभाडा तिर्न नसक्ने भएपछि लियाङ दक्षिणी चीनको ग्वान्झाउबाट आफ्नो गाउँ फर्किएका छन् । उनले अहिलेसम्म विवाह गरेका छैनन् । उनी मात्र होइन, उनी हाराहारीका परिवारका अरू तीन दाजुभाइ पनि अविवाहित नै छन् । सरकारी कर्मचारी र शिक्षकजस्ता स्थिर जागिर भएका मानिसले मात्रै विवाह र परिवार सुरु गर्न सक्ने अवस्था बनेको लियाङले बताए । रोजगार बजारमा बढ्दो प्रतिस्पर्धा चिनियाँ युवाहरूको ढिलो विवाहको एउटा कारण बनेको राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारीको ठम्माइ छ । हप्तामा एक घन्टा काम गर्ने जो–कोहीलाई रोजगारका रूपमा गणना गर्ने चिनियाँ सरकारको रोजगारी तथ्यांकमा विश्वास गर्न कठिन छ । यस न्यून मापदण्डले सहरी बेरोजगारी दर यो वर्षको अधिकांश समय पाँच प्रतिशतभन्दा केही माथि देखाउँछ, जुन सन् २०१९ को भन्दा राम्रो हो ।
चीनमा एक विश्वास निकै बलियो छ, रोजगारदाताहरू ३५ वर्ष पुगेपछि युवालाई काममा लिन वा राख्न चाहँदैनन् । केही जागिरका सर्तले यही विश्वासलाई बल प्रदान गर्छन् । यसले श्रमिकको कार्यभारदेखि परिवारसम्म असर गरिरहेको छ ।
कर्पोरेट जगत्का तथ्यांकले भने फरक चित्र प्रस्तुत गर्छन् । देशका सबैभन्दा ठूला इन्टरनेट कम्पनी तथा सबैभन्दा राम्रो तलब दिने रोजगारदाता मानिने अलिबाबा, टेन्सेन्ट र बाइडुले यस वर्षको पहिलो तीन महिनामा महामारीमा उनीहरूले लिएको नयाँ कर्मचारीभन्दा नौ प्रतिशत मात्र कर्मचारी लिएका छन् । यो तथ्य तिनकै वित्तीय रिपोर्टमा उल्लेख छ । चीनका केही ठूला घरजग्गा व्यवसायीले सन् २०२२ मा तिनको श्रमिकको संख्यामा ३०, ५० वा ७० प्रतिशतले घटाए । ‘आगामी केही वर्ष रोजगारीका हिसाबले सन् १९७० को उत्तराद्र्धको सुधार र खुलापनकालपछिकै सबैभन्दा चुनौतीपूर्ण समय हुनेछ,’ यो कथन अर्थशास्त्री वाङ मिङयुआनको व्यापक सेयर भएको एक लेखमा उल्लेख भएको हो । मिङयुआनले सन् २०२८ सम्ममा १६ देखि ४० वर्ष उमेरका करिब पाँच करोड मानिस बेरोजगार हुन सक्ने उल्लेख गर्दै ‘यसले कठिन संकटको शृंखला निम्त्याउन सक्ने’ चेतावनी दिएका छन् ।
सन् २०२२ मा विवाह दर्ताको संख्या एक वर्षअघिको तुलनामा १०.५ प्रतिशतले घटेर सन् १९८६ यताकै (तथ्यांक सार्वजनिक गर्न थालेको वर्ष) सबैभन्दा न्यून स्थितिमा पुगेको छ । गत वर्ष चीनको जन्मदर सन् १९६१ को ठूलो भोकमरीकालपछि पहिलोपटक घटेको देखियो । उमेर भेदभावले सबै वृद्ध कामदारलाई असर गर्छ, तर मध्य–तीसका कामदारलाई थप तीव्र असर गर्न सक्छ । किनकि तिनले यस्तो अनुभूति पहिलोपटक गर्दा सहन गाह्रो हुन्छ । फ्लिन फ्यान ३० वर्ष लागेपछि नै ३५ वर्षको अभिशापसँग डराउन थालेका थिए । उनलाई त्यही वेला केही वर्षमा नयाँ कामको खोजीमा निस्कँदा सकभर छनोट गरिँदैन भन्ने महसुस भएको थियो । तर, त्यो उमेरअघि उनले अधिक कामको समस्या भोगे । फ्यानले काम गरेको अन्तिम कम्पनीमा उनका अधिकांश सहकर्मी उनीजस्तै अविवाहित थिए । विवाह गरेका सहकर्मीले पनि बालबच्चा पाएका थिएनन् ।
धेरै समय ओभरटाइम सिफ्टका लागि कार्यालयमै बिताउनुपर्ने भएपछि परिवारलाई दिने समय बच्ने कुरै भएन । उदाहरणका लागि सन् २०२१ को तीन महिनासम्म फ्यानले सबैभन्दा चाँडो कामबाट निस्किँदा रातको ११ बजेको हुन्थ्यो । उनले त्यस समय एन्जाइटीको औषधी लिन थाले । र, गत वर्षको अन्त्यमा फ्यान र उनका अधिकांश सहकर्मीलाई सांघाईस्थित आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले निकालिदियो । विगत ६ महिनामा फ्यानले झन्डै ३०० भन्दा बढी कम्पनीलाई आफ्नो बायोडाटा पठाए । १० वटाजतिले अन्तर्वार्तामा बोलाए, तर कसैले पनि कामको प्रस्ताव गरेनन् । अहिले उनी पहिले लिइरहेकोभन्दा २० देखि ३० प्रतिशत कम तलब दिने काम खोजिरहेका छन् । उनले सांघाईनजिकैका अन्य सहरमा पनि काम खोज्न थालेका छन् । शारीरिक र मानसिक रूपमा फ्यान ३५ वर्षको उमेरमा जवान महसुस गर्छन् । तर, श्रमक्षेत्रका लागि भने ३५ एक ‘रोग’ बनेको छ ।
सिसी झाङ अहिले ३२ वर्षमा हिँडिरहेकी छन् । उनलाई रोजगारदाताहरू अहिले नै धेरै पाको भएको भन्न थालेका छन् । उनले मसँगको कुराकानीका क्रममा एक नयाँ आमालक्षित उत्पादन बेच्ने एक कम्पनीको विज्ञापनको स्क्रिनसट देखाइन्, जसमा ३२ वर्षभन्दा कान्छाहरूले मात्र आवेदन दिन पाउने उल्लेख छ । उनका एकजना पूर्वपर्यवेक्षकले कुनै एक कलेज पास गरेका युवालाई तीन महिनाको तालिम दिएर उनको स्थानमा राख्न सक्ने धम्की दिएका थिए । चिनियाँ कम्पनीहरू आफूसँग पहिले भएको कुराको क्षमता अभिवृद्धि गर्नेभन्दा नयाँ प्रवृत्ति पछ्याउन मन पराउने झाङले बताइन् । त्यसैले कम्पनीका लागि अनुभव र विशेषज्ञताले त्यति महत्व राख्दैन ।
महिला भएकीले झाङले कार्यस्थलमा थप भेदभावको सामना गर्नुपर्छ । उनी २५ वर्षकी भएदेखि नै रोजगारदाताहरू उनले कहिले बच्चा जन्माउने सोच बनाएको भन्ने प्रश्न गर्थे । उनी र उनको श्रीमान्को त्यस्तो कुनै योजना नभएको बताएपछि फेरि यसबारे उनीहरूका आमाबाबु के सोच्छन् भनेर सोधिन्थ्यो । सेप्टेम्बरमा मार्केटिङको कामबाट निकालिएपछि झाङले हजारभन्दा बढी कम्पनीलाई मेसेज गरिन् होला । करिब तीन सयमा त उनले आफ्नो बायोडाटा नै पठाइन् । थोरैले मात्र अन्तर्वार्तामा बोलाए । अन्ततः गत महिना उनले एउटा सानो कम्पनीबाट जागिरको प्रस्ताव पाइन् । उनले काम स्वीकार गरेकी छन्, तथापि उनले कुनै उत्साह वा खुसी महसुस गरिनन् ।
‘मेरा आफ्नै अपेक्षा थिए । म पदोन्नति, तलब वृद्धि र राम्रो जीवन चाहन्थेँ । मसँग अब केही अपेक्षा बाँकी छैन । म मात्र बाँच्न चाहन्छु,’ झाङले भनिन् । झाङ र उनको श्रीमान्लाई बच्चा पाएर हुर्काउने आत्मविश्वास छैन । उनीहरूले केही रकम ऋण लिएका थिए । उनी बेरोजगार हँुदा श्रीमान्को कमाइ बाँच्न मात्र पुग्थ्यो । कहिलेकाहीँ श्रीमान्ले पनि जागिर गुमाउने हुन् कि भन्ने चिन्ताले सताउँथ्यो । आर्थिक असुरक्षाले उनीहरूलाई बच्चा जन्माउन हच्काएको छ । झाङले इन्टरनेटमाझ लोकप्रिय एक भनाइ उद्धृत गर्दै भनिन्, ‘यदि बच्चाले जन्मेपछि तपार्इंको त्रास र गरिबी बोक्नुपर्छ भने तिनलाई नजन्माउनु उनीहरूप्रति गरिने उपकार हो ।’
३८ वर्षीय प्राविधिज्ञ लियाङले पनि उस्तै धारणा अघि सारे । उनी बालबच्चा मन पराउँछन् तर उनमा पनि आफ्ना सन्तानलाई राम्रो जीवन दिने सक्ने विश्वास छैन । ग्रामीण इलाकामा हुर्केका धेरै चिनियाँ जस्तै लियाङलाई उनका हजुरबा–हजुरआमाले हुर्काएका थिए । त्यो पुस्ताका गाउँले बालबच्चा घरमा हजुरबा–हजुरआमासँग हुर्किरहँदा तिनका बाआमा सहरमा काममा जोतिइरहेका हुन्थे । उनी आफ्ना छोराछोरीलाई पनि आफ्नैजस्तो जीवन दिन चाहँदैनन् । बालबच्चाभन्दा पहिले त उनका सामु काम खोज्नुपर्ने बाध्यता छ । महामारीअघि एकठाउँमा कामका लागि अन्तर्वार्ता दिन जाँदा उनलाई सो उमेरमा पनि किन आवेदन दिइरहेको भन्ने प्रश्न सोधिएको थियो । उनले आफ्नो स्थानीय प्रान्तीय सरकारको जागिरको सूची देखाउँदै भने, ‘हेर्नुस्, सबै पदका लागि उमेर हद १८ देखि ३५ छ ।’ जब मैले ३५ को उमेर पहाडजस्तै भारी महसुस त भएको छैन भनेर सोधेँ, लियाङले जवाफमा भने, ‘यो पहाडको भिडजस्तो भएको छ ।’
(न्युयोर्क टाइम्सका लागि ली युआनले लेखेको फिचर आलेख श्रवण उप्रेतीले अनुवाद गरेका हुन् । युआन न्युयोर्क टाइम्सका लागि ‘न्यु वर्ड कोलम’ नामको स्तम्भ लेख्ने गर्छिन् । उनका आलेख चीन र बाँकी विश्वको प्रविधि, व्यवसाय र राजनीतिबारे केन्द्रित हुन्छन् ।)