भव्य मञ्चमा उक्लिएर हातमा माइक लिई ‘हेलो ! माइक टेस्ट–माइक टेस्ट’ भन्नेबित्तिकै दर्शकहरू सिट्ठी फुक्दै हुटिङ गर्न थाल्थे । संगीत बज्न सुरु हुन्थ्यो । ठेलमठेल नै हुन्थ्यो । मसँगै दर्शक उफ्रिन्थे, धुलो उडाउने गरी नाच्थे । वेला–वेला म एक लाइन गाएर अर्को लाइनमा दर्शकतिर माइक फर्काउँथेँ । हजारौँ दर्शकलाई असिनपसिन बनाउँदै गाइरहेको हुन्थेँ । बीच–बीचमा ‘ताली’ भन्दै घोक्रो सुकाउँदै कराउँथेँ । जब स्टेजबाट ओर्लिन्थेँ, तत्क्षण म दर्शकको घेरामा पर्थेँ । अटोग्राफ भ्याई–नभ्याई दिइरहेको हुन्थेँ ।
एक चर्चित सेलिब्रेटी गायक हुने एकदम फुर्तिलो सपना जीवनको सुरुवाती कालमा मैले यसरी देखेको थिएँ, जसरी प्रायः मानिसहरूले आ–आफ्नै पाराको सपना देख्ने गर्छन् ।
सुदूर पूर्वको पहाडी गाउँको उकाली–ओराली, भिरपाखामा हुर्केको म । ऊवेला क्यासेटको जमाना थियो । राजेशपायल राई, एम बराल, रामकृष्ण ढकाल, नवीन के. भट्टराई, नेपथ्य, नाइटिन सेभेन्टी फोर एडीलगायत थुप्रै चल्तीका गायकका आवाजसँगै म पनि तन्नेरी हुँदै गइरहेको थिएँ । एक नामुद गायक बन्ने सपनाले मभित्र ताते–ताते गरिरहेको थियो ।
सम्झना ताजै छ । बिहान एकभारी घाँस–दाउरा घर ल्याएर आमाले पस्किनुभएको तातो भात हाँपझाप निलेर हरियो सर्ट, निलो पाइन्ट लाएर झोलामा किताब बोकेर दमाईंडाँडा उकालो गीत गाउँदै स्कुल पुग्थेँ । कक्षा सुरु हुन्थ्यो । कक्षा सकिनासाथ घाँटी तन्काएर एकफेर घन्काइहाल्थेँ । चार बजेपछि म उही लयमा दमाईंडाँडा ओरालो गीत गाउँदै झर्थेँ । गायक बन्ने सपना किताबको झोलाभन्दा ठूलो–ठूलो हुँदै गइरहेको थियो ।
परीक्षाको समय आउँथ्यो । राम्रो नम्बरका लागि साथीहरू रात–रातभर कडा मिहिनेत गर्थे । मैले चाहिँ परीक्षाको अघि वा पछि कहिल्यै मिहिनेत गरिनँ, जति गाउनमा मिहिनेत गर्थेँ । परीक्षाको अघिल्लो रात एकसरो पढिसकेर आँगनको डिलमा उभिएर गीत गाउन थाल्थेँ ।
‘ए माइला ! भोलि तेरो परीक्षा होइन ? यो तालले कसरी पास हुन्छस् ?’ सुतिरहनुभएको आमा तलामाथिको ढोकामा निस्केर कराउनुहुन्थ्यो । म भने आमाको गाली बेवास्ता गर्दै चकमन्न रातमा गीतकै लयमा बगिरहन्थेँ ।
‘माइला, तैंले भविष्यमा महादुःख पाउँछस् है !’
मेरो ताल देखेर आमा र बुबा हैरानी र दुःखी हुन्थे । जिन्दगीमा स्कुलमै पाइला नटेक्नुभएको मेरो आमाले प्रौढ शिक्षा लिनुभएको यादचाहिँ छ । बुबा पत्रपत्रिकासम्म पढ्न सक्नुहुन्छ । आफूले पढ्न नपाएको आफूले गर्न नसकेको क्षतिपूर्ति छोराछोरीबाट हरेक अभिभावकले खोजेको हुँदो रहेछ । जेहोस् ‘रिजल्ट’ भने राम्रो नै आउँथ्यो । आमा र बुबा फेरि खुसी भएको देख्थेँ । साथीहरूसमेत छक्क पर्थे ।
मेरो आफ्नै ताल थियो । क्यासेट गाउँमा हिट हुँदै गइरहेको थियो । ब्रिटिस, इन्डियन लाहुरेहरू छुट्टीमा फर्किंदा काँधमा थ्री पिस क्यासेट राखेर गाउँ नै थर्किन्जेल घन्काउँदै मगमग पफ्र्युम छर्दै आउँथे । पछि सक्नेहरूले किन्न थाले । क्यासेटमा घुम्न थाल्थ्यो चक्का (रिललाई हामी चक्का भन्थ्यौँ) र घन्किन्थ्यो बिहेभोजमा । माइक थपिन आइपुग्यो । एसिड ब्याट्री भित्रियो । एम्प्लिफायरमा रिल राखेर माइनस–प्लस तार एसिड ब्याट्रीमा जोडेर क्याचक्क औँलाले थिचेपछि वारि–पारि गाउँ घन्किन्थ्यो । मेला–हाटमा धान नाच्दा पालामको साटो अरू नै गीत गाउन थाले सोल्टी–सोल्टिनीहरू । लिम्बू दाजु र भाउजू पनि अप्ठ्यारो पाराले कम्मर मर्काउँदै नाचेको पहिलोपटक देखे गाउँलेहरूले । सामाजिक कार्य चुम्लुङतिर हाक्पारे, ख्यालीहरू रमितेजस्तै हुन थालेका थिए । अलि पछिबाट हिन्दी गीतहरू पनि घन्किन थाल्यो । क्यासेट संस्कृतिबाट ग्रसित म ऊवेला गायक बन्ने सपनाको लिकमा दौडिरहेको एउटा फुच्चे रेल थिएँ ।
खै, कसो–कसो एकदिन बरालिँदै माइतीघर मण्डला पुगेँ । टन्टलापुर घाममा मेरा आमाबुबा उमेरका मानिसहरू अधिकारका लागि मुठी कस्दै उभिरहेको भेटेँ । हर्षले हो या खुसीले ! ती आमाबुबा देखेर मेरा आँखा रसाए । सोचेँ, लड्न बाँकी लडाइँ कति रहेछन् कति ! आमाबुबाहरू त लडिरहेका छन्, म किन हार खाँदै छु ?
विद्यालयमा हरेक शुक्रबार ‘अतिरक्त क्रियाकलाप’ हुन्थ्यो । हरेक विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गर्थे । म उही तरिकाले गाउँथेँ । थपडी बज्थ्यो । शिक्षक र साथीहरूले मेरो गलाको तारिफ गर्थे । युद्ध जितेको सिपाहीभन्दा खुसी हुन्थेँ म । भोकल कहाँ सिक्ने ? वाद्यवादन कता सिकाइन्छ होला ? म त जसरी पनि सिक्न चाहन्थेँ । यिनै पिरहरूले मलाई अब दुःख दिन थालेको थियो ।
‘काठमाडौंमा राम्रो ‘क्लास’ हुन्छ । राम्रा गुरुहरू उतै बस्छन्, सिकाउँछन् ।’
गाउँकै एकजना दाइले क्यारामबोर्ड खेल्दा यसरी बतायो । फेरि पिर थपियो । काठमाडौं जाने कसरी ? भैँसी बेचेर जाऊँ कि गोरु बेचेर हिडूँ ? अहँ, यो सम्भव थिएन । जान त जाने, तर कसरी जाने ? रन्थनिएँ । पिल्लिक्कै दिमाग बल्यो । जुक्ति आयो । पैसा चोरेर काठमाडौं भाग्ने । यो पनि थाहा थियो कि ललितपुर नखीपोटमा छेमा र मामाहरू बस्छन् ।
एक दिन कोही घर नभएको मौका छोपेर आमाको सिरानीमुनिबाट चाबी निकालेँ र बाक्सा खोलेँ । खोतल्दै गएँ, पट्याइएका लुगाहरूको बीचमा थैली राखिएको थियो । खोलेर हेर्दा केही पैसा भेटियो । एक टुक्रा चारआनाबराबरको सुन पनि टिलिक्क टल्किएर बसेको थियो । पैसा छोडेँ सुन झिकेँ । जिल्ला सदरमुकाम फेदेन (फिदिम) बजारको एउटा सुन पसलमा बेचेँ । ठ्याक्क याद छैन, सायद दुई हजार वा बाइस सयजति हत्केलामा आयो । लगत्तै गाडी ‘स्टेसन’ पुगेँ– बिर्तामोडसम्मको टिकट काटेँ ।
बिर्तामोडबाट काठमाडौंको नाइट बस समातेँ । ललितपुर नखीपोट छेमा र मामाकोमा आइपुगेँ । भोकल क्लास कता हुन्छ, संगीत कहाँ सिकाउँछ, न छेमालाई थाहा थियो, न मामालाई । सास रोकियो । चौपट भएको थियो मेरो सपना । लगभग पन्ध्र दिनपछि बुबा टुप्लुक्क देखा पर्नु भो ।
‘कता–कताचाहिँ खोजिनँ यसलाई ?’
बुबाको निधारभरि चिन्ता र हैरानीका रेखाहरू प्रस्टसँग देखेँ । ‘हेर् माइला ! आमाको सुन चोर्नुहुन्छ त ? आइन्दा नचोर् है छोरा ।’ मैले मुन्टो हल्लाएँ ।
त्यसको तीन दिनपछि छेमाले सर्ट, पाइन्ट, भेस्ट र एकजोर जुत्ता मेरो हातमा राखेर फकाउँदै भन्नु भो, ‘पहिला एसएलसी पास गरेर आइज, यतै पढ्, त्यैवेला भोकल क्लास पनि लिनू । लु बुबासँग घर जा !’
बुबाले भने केही पनि किनिदिनुभएन । ढुन्मुनिँदै कोठाको भित्तामा पुग्ने गरी दुई लात आएकै दिन दिनुभएको थियो । बुबासँग नाइट–बस चढेर गाउँ आइपुगेँ ।
गाउँ पुग्दा थाहा पाएँ, म चन्द्रवीरबाट ‘सुन माइला’ भइसकेछु ।
गाउँदै, पढ्दै कटाइरहेँ वर्षहरू । गायक बन्ने रहर छातीमा उस्तैगरी बलिरहेकै थियो ।
एकदिन एसएलसीमा पास हुनेहरूको नम्बर गोरखापत्रमा छापियो । तर, मेरो नम्बर गायब थियो । सम्झिएँ, एसएलसी परीक्षाको ठिक तीन–चार महिनाअघि मेरो पहिलो प्रेम टुटेको थियो । त्यसपछिका दिनहरू विरक्तलाग्दा भएर आए । किताबसँग दूर हुँदै गएँ । नारायण गोपाल, भक्तराज आचार्य, अरुण थापाका उदास गीतहरूसँग एकान्तमा भेट्दै गएँ ।
त्यसै क्रममा जेठ महिनाको तेस्रो सातातिर तमोर नदीको झोलुंगे पुलको लठारो समात्न पुगेँ । यस क्षण ती अन्जान तर महान् मानिसलाई सम्झिरहेको छु । जो पुलपारि घाँस–दाउरा गरिरहेको रहेछ । जसले तमोरका माछाहरूको चारो बन्न दिएन मलाई । र, त अहिले तपाईंहरूको माझमा छु । कहाँ होला त्यो महान् मानिस ? तपाईं जता भए पनि तपाईंप्रति मेरो शिर झुकाएको छु सधैँ । भुइँसोरी सेवारो गरेको छु । स्वयं तपाईंको जीवन कस्तो थियो ? कहिल्यै थाहा भएन तर मलाई दोस्रो सुन्दर जीवन दिनुभयो ।
बुबा र आमाको अनेक अनुरोधले फेरि दोस्रोपटक एसएलसी परीक्षामा सामेल भएँ । फेरि गोरखापत्रमा मेरो नम्बर अटाएन । आमा र बुबाको मुहारमा वर्षभरि अँध्यारोले वास गरिरह्यो । मेरो समय कहालीलाग्दो गड्तीरको बाटो पिल्सिएर हिँडिरह्यो । यतिका बाबजुद पनि साथीभाइकहाँ पुग्थेँ, हाँस्थेँ र रमाउँथेँ । उनीहरूसँग छुटेपछि अर्को हालतमा पुग्थेँ । त्यसपछि किताबका पानाहरू सदाका लागि बन्द गरिदिएँ ।
मेरो घरभन्दा आधा घन्टामाथि तीनमौलेमुनि साहित्यकार वीरेन्द्र तुम्बापो ‘प्रतीक’ बस्नुहुन्थ्यो । साइनोले उहाँ काका । एक दिन उनै प्रतीक काकालाई भेट्न उहाँको घर पुगेँ । ‘तिमी त फलाना दाइको छोरा होइन ?’ मैले ‘हो’ भनेँ ।
उहाँ आसाम, मेघालय पढेर आउनुभएको । उतै पढ्दापढ्दै साहित्य, कविता लेख्न थाल्नुभएको रहेछ । गाउँ आइपुग्दा साहित्य, कविता पनि सँगै लिएर आउनुभएको थियो । भारतीय, अफ्रिकी, प्यालेस्टाइनी कविहरूको कविता मिठो भाषामा अनुवाद गर्नुभएको छ । काठमाडौंले कहिल्यै चिनेन । आफूलाई चिनाउन काठमाडौं पनि आउनुभएन । घर जाँदा भेटेर फर्किन्थेँ । एकपटक भनेको थिएँ, ‘काका तपाईंको कविता संग्रह छाप्ने चाँजोपाँजो मिलाउँछु । पाण्डुलिपि छ भने दिनुहोस् !’
तर उहाँले ‘अलि टायम लाग्छ ।’ भन्नुभएको थियो ।
‘अर्को खेप आउँदाचाहिँ पाण्डुलिपि तयार गर्नू है, छाप्ने जिम्मा मेरो भो !’ यस्तो वाचा गरेर काठमाडौं फर्केको थिएँ । अर्को साल जाँदा उहाँलाई भेट्न पाइनँ, उहाँ बितेको समाचार आयो ।
त्यही पहिलो भेटमा उहाँले फ्याट्टै भन्नुभो, ‘बैरागी काइँला पढ्यौ ? छैन भने काइँलाको घर यहीँ पौवासारताप हो नि, नेम्बाङ हो । डब्बल सुब्बाको छोरा ।’
म ट्वाल्ल परेँ । ‘सरप्राइज’ भन्छन् नि, हो त्यस्तै भएँ । लिम्बूहरू कवि हुन्छन् भन्ने सोचेकै थिइनँ । बैरागी काइँलाको नाम सुनेकै थिएँ । पौवासारतापको हो । दार्जिलिङ पढेका ठूला तेस्रा आयमेली कवि हुन् । यतिसम्म सुनेको थिएँ ।
त्यसपछि बिस्तारै साहित्यतिर मन डोरिन थाल्यो । जिल्लाका कवि लेखकहरूलाई खोज्न थालेँ । किताबको पाना सदाका लागि बन्द गरेको थिएँ । तर, कविता, कथा र उपन्यासको पाना सदाका लागि पल्टाउन सुरु गरेँ । गजल, कविता, मुक्तक र हवाई पत्रिका ऊवेला पान्थरमा खुब मौलाएको थियो । चिया दोकानमा कतै चोकमा दुई–चार भाइ जम्काभेट हुनेबित्तिकै कवितागोष्ठी सुरु भइहाल्थ्यो । नित्से, ज्याक डेरिडा, चेखब, विनिर्माण, ल्यङ्स्टन ह्युज पहिलोपटक जिल्लाका अग्रणी साहित्यकार थाम्सुहाङ पुष्प सुब्बाको मुखबाट सुन्न पाएँ । र, सुनेँ बडे–बडे कवि, लेखकहरू काठमाडौंमा बस्छन् । ती कवि, लेखकहरू भेट्ने र कवि हुने रहरले टुसा हाल्न थाल्यो । घरमा फेरि ‘काठमाडौं जान्छु’ भन्न थालेँ । कसैले ‘हुन्छ’ पनि भनेन, हँुदैन पनि भनेन ।
एक दिन आमाको ‘होलबडी’ चेकअप र मेरो स्वास्थ्य चेक गर्न बुबाआमासँगै म काँकडभिट्टापारि पश्चिम बंगाल भारतको सिलिगुडी झर्यौँ । सिलिगुडीबाट काम सकाएर काँकडभिट्टा फर्केपछि बुबाले नाइट–बसको टिकटसँगै केही हजार पैसा मेरो हातमा राखिदिनुभयो । आमासँग भएको एक हजार रुपैयाँ हत्तपत्त पोल्टाबाट झिकेर थप्नुभो ।
‘भाग्यमानी हुनू । हाँकेको ताकेको पुगोस् । आयु पूरा हुनू !’
नाइट–बस चढ्ने वेला आमाले आशीर्वाद दिनुभो । आमाको अनुहार धेरै नै मलिन थियो । अर्कोपटक कवि हुने शीर्षक बोकेर म यसरी काठमाडौं छिरेँ ।
राजधानीका कवि, लेखक, समीक्षक र समालोचकहरूसँग दोस्ती बढ्दै गयो । साहित्यमा रंगवाद आन्दोलनका अभियन्ताद्वय धर्मेन्द्र विक्रम नेम्बाङ दाइ र स्व. स्वप्निल स्मृतिजीले मलाई रंगवाद आन्दोलनमा भर्ती गराउनुभयो । त्यसपछि के चाहियो र ? प्रायः साहित्यिक गोष्ठी, कवि गोष्ठी थाहा पाएको तर नबोलाएको प्रत्येक कार्यक्रममा जान थालेँ ।
चोक, गल्ली, चिया, पसल, भट्टी पसलमा कवितामाथि कविजीहरूसँग बहस छेड्न सुरु गरियो । कति–कति चिया पसलको टेबुल, भट्टी पसलको टेबुल ठोकियो । पाखुरा सुर्कियो । उन्नाइस दिने जनआन्दोलनपछि रंगवादको ब्यानरबाट मेरो पहिलो कविता संग्रह ‘भीरै भीर रंगै रंग’ आयो, जुन निकै कच्चा र कमसल छ, तर एक–दुई थोक नयाँ काम गरेका थियौँ । शब्द र व्याकरण भत्काएका थियौँ । ‘कविता’लाई ‘कवीता’ र ‘जीवन’लाई ‘जिवन’ लेखेका थियौँ । किताबको पेज नं. उल्टाएका थियौँ । अरू किताबको पेज नं. एकबाट सुरु भएर सयमा टुंगिन्थ्यो । हामीले चाहिँ सयबाट सुरु गरेर एकमा टुंग्याउन थाल्यौँ । एकल सत्ता, एकल नश्ल, एकल सौन्दर्य, एकल रंगका विरुद्ध थियो त्यो विद्रोह । औपचारिक रूपमा ठाडो गणतन्त्रको शंखघोष थियो यो । पत्रपत्रिकातिर मेरो नाम छापिन थाल्यो । समालोचक, समीक्षकहरूको कलमबाट मेरो नाम उच्चारित हुन थाल्यो । म फुरुंग थिएँ ।
यसैबीच मेरो दाजु र दिदीको बिहे भइसकेको थियो । रोलक्रमअनुसार बिहेको आग्रह परिवारबाट आउन थाल्यो । सजिलै टारिदिएँ । अलिपछिबाट दबाब सुरु हुन थाल्यो, टार्न थालेँ । सक्षम भएपछि आफ्नो खुट्टामा उभिएपछि मात्रै बिहे गर्नुपर्छ । समाजले मलाई यही सिकाएको थियो । समाजले भनेकोजस्तो न सक्षम थिएँ, न आफ्नै खुट्टामा उभिएको थिएँ । सदावहार बेरोजगार थिएँ, छु । सम्पत्तिको नाउँमा साथीहरूले उपहार दिएका पुरानो मोबाइल र बुबाले बनाइदिनुभएको थोत्रो नागरिकताबाहेक केही पनि थिएन, छैन । न समाजले भनेको जस्तो हुनेवाला थिएँ, न त हुनेवाला छु । सक्षम अक्षमभन्दा पनि विवाह संस्था लफडादायक लागेको हो । विवाह गरेपछि दाजुभाइ, आमा, छोराछोरीसँग अंश बाँडफाँड गरेर छुट्नुपथ्र्याे । भागिरहेँ, भागिरहेको छु । तीव्र झनै तीव्र दबाब आउन थालेपछि घर पनि पातलो जान थालेँ ।
आजभन्दा करिब नौ वर्षपहिले घर पुग्दा आमाको अनुहारमा चाउरी निकै थपिएको देखेँ । त्यो वेला पो चारआना सुनको याद आयो । भित्रभित्रै धुरुक्क रोएँ । आफैँलाई धिक्कारेँ । मनमनै आमाको चारआना सुन फिर्ता गर्छु । वाचा गरेँ तर आजसम्म फिर्ता गर्न सकेको छुइनँ । एक बेकामे नालायक छोरा भएर बाँचेको छु ।
त्यो साल घरबाट काठमाडौं फर्किँदा बिदाइमा आमाले, ‘तेरो पखेटा हालेको छु र पो क्षितिज परपरसम्म उडिरहेको छस् । तर, गुँडमा फर्किनू । ल राम्रोसँग जा !’ भन्नुभो । पहिलोपटक घरबाट काठमाडौं फर्किँदा रोएको थिएँ । त्यसपछि हरेकपटक आमालाई छोडेर आउँदा हिक्का फुट्छ । समाजले त ‘छोरा मान्छे रुनु हुँदैन’ भन्छन् । कठोर बनाउँछ, तर कहाँ कठोर हुनु नि ! भित्रभित्रै पग्लिएर सिद्धिने रछ मजस्तो मान्छे । म त्यही हुँ, धेरैपटक एक्लै रोएको छु । पटक–पटक साथीहरूको माझ रोएको छु ।
किताब विमोचन, कविता गोष्ठी, बहस तथा साहित्यिक सभा–सम्मेलनमा उपस्थिति निरन्तर थियो । कविता गोष्ठीमा गएर कविता वाचन गरेर थपडी बटुल्दैमा कवि भइन्छ ? दुई–चार थान कविता पत्रपत्रिकामा छापिँदैमा र संग्रह निकालेर के कवि भइन्छ ? एक रात आफूले आफैँले प्रश्न गरेँ । अहँ, भइँदैन– जवाफ यहीँ दिएँ ।
सिंगो नेपाली कवितालाई नयाँ दिशा दिनलाई राम्रो कविता लेखेर मात्रै हुँदैन, ‘खतरा कविता’ पो लेख्नुपर्छ । राम्रो कविता लेख्ने अग्रज र समकक्षी कविहरूप्रति असम्मान गरेको पटक्कै होइन । सधैँ सम्मानपूर्वक शिरमा राखेर हिँडेको छु । हामी उही भूपी र रिमाल काव्य संरचनामा घुमिरहेका छाैँ कि ? उही बैरागी काइँलाको डोब पछ्याएर कवि हुने गोलचक्करमा छौँ कि ? कस्तो–कस्तो दिक्दार पो भयो मन । त्यही दिनदेखि विमोचन, गोष्ठी साहित्यिक सभा–सम्मेलनमा कमै मात्र भाग लिन थालेँ । कविताहरू लगभग पत्रपत्रिकामा छपाउन छोडेँ । तर, कविता लेखिरहेको पनि छु । टाढिन कहाँ सकिन्छ र !
बिहेको दबाब चर्को आइनै रहेपछि पछिल्लोपटक घर जाँदा आमालाई भनेँ, ‘आमा अब म बिहे गर्छु ।’
लामो अँध्यारोपछि कोठामा अचानक मैनबत्ती बलेजस्तै आमा र परिवारको अनुहारमा धप्प खुसी बलेको थियो । त्यो समय प्रेममा थिएँ । यो त्यही वर्षको कुरा हो, जतिवेला हामीले वीरेन्द्र प्रतीकलाई गुमाएका थियौँ । परिवारको प्लस मेरो खुसी बोकेर काठमाडौं फर्कें । मैन सकियो र बत्ती निभ्यो । जिन्दगीको अन्तिम प्रेमिकासँगको प्रेम पनि टुट्यो । फेरि मेरो कहानीमा अँध्यारो अध्याय सुरु भयो । असफल गायक, असफल कवि र असफल प्रेमी, म तीनैवटा भएँ । यो असफल तीन अनुहार बोकेर त्यो वर्षदेखि आमालाई भेट्न गएको पनि छैन ।
पहिलो प्रेम ‘ब्रेकअप’ हुँदा तमोरको झोलुंगे पुलमा पुगेको थिएँ । यसपटक प्रेम टुट्दा त्यस्तो कुनै हर्कत गरिनँ । तर, मेरो शब्दकोशमा ‘प्रेम’ र ‘विश्वास’ यी दुइटा शब्दमाथि टिपेक्स लगाएँ । यसपछि गहिरो सन्नाटाले भित्रभित्रै छोप्दै लग्यो । साथीभाइसँग भेटघाट पातलो बनाउँदै लगेँ । भृकुटीमण्डप र बागबजार पनि वेला–वेला मात्रै पुग्थेँ । तर्किन थालँे– परिवारबाट, साथीभाइबाट, दुखाइरहने परिस्थितिहरूबाट ।
अब एक्लै टाढा बिरानो ठाउँमा जान्छु, जहाँ मेरो परिवार, साथीभाइ, आफन्त कोही–कोही पनि आइनपुगून् । उतै जे पाए पनि काम गर्छु । र यो दुनियाँमा कहिल्यै फर्केर आउँदिनँ । यस्तै–यस्तै सोचहरू आउन थाल्यो । रुखबाट ओइलिएर पातहरूमा समय झरिरह्यो ।
खै, कसो–कसो एकदिन बरालिँदै माइतीघर मण्डला पुगेँ । टन्टलापुर घाममा मेरो आमा उमेरका आमाहरू अधिकारका लागि मुठी कस्दै उभिरहेको भेटेँ । मेरो बुबा उमेरका बुबाहरू नारा लगाइरहेको देखेँ । ऊवेला शान्ति र गणतन्त्रका लागि उन्नाइसदिने जनआन्दोलनमा होमिएको थिएँ, तर यो आन्दोलन भिन्न लाग्यो । हर्षले हो या खुसीले ! ती आमाबुबाहरू देखेर मेरा आँखा रसाए, गला अवरुद्ध भयो । सोचेँ, लड्न बाँकी लडाइँ कति रहेछन् कति ! आमाबुबाहरू त लडिरहेका छन् भने म किन हार खाँदै छु ? त्यस दिनदेखि बिरानो ठाउँमा गएर कहिल्यै नफर्किने योजना सदाका लागि छाडिदिएँ । अनि सडकमा देखिन थालेँ ।
आमा, चिन्ता नगर्नुहोस् ! अचेल म प्लेकार्डसँगै सडकमा छु ।