सम्बन्धमा कति उमेर अन्तर उत्तम ?

सुमाया केन्स सुमाया केन्स
शनिबार, ६ साउन, २०८०
डिजिटल संस्करण

जब एक मित्र आफ्नो अभिभावक भन्न मिल्ने उमेरको एक व्यक्तिसँग डेट जान लालायित हुन्छिन्, तब उनको निर्णय ‘उमेरको आधा जोड सात’को परीक्षामा पास हुन्छ कि हुँदैन भनेर हेर्नु सामान्य प्रतिक्रिया हुन जान्छ । यो नियम, जसको उत्पति रहस्यमय छ, पुस्तौदेखि नवजोडीको उमेरलाई उपयुक्त ठहर्याउने तरिकाको रूपमा हस्तान्तरण हुँदै आएको छ अझ मानिसका जोडीलाई खिस्याउन आमरूपमा प्रयोग हुँदै आएको छ । 


एउटा २२ वर्षेले १८ वर्षेसँग डेटमा जानु खास्सा हुन्छ । तर, एक ३८ वर्षेले २३ वर्षेसँग डेट मनाउन जानु ठीक होइन, यहाँनेर २६ वर्षे खेलाडीले राम्रो खेल खेल्नेछन् । यस नियमअनुसार तपाईं जति बुढो हुनुहुन्छ, उमेरको अन्तर त्यत्ति नै फराकिलो हुन्छ । ५० वर्षेले ८६ वर्षेसँग जोडी बाँध्न सक्छ । यो सिद्धान्तले यही भन्छ ।

व्यवहारले के देखाउँछ त्यो डेटिङ वेबसाइट ओकेक्युपिडका सहसंस्थापक क्रिस्चियन रुडरको अनुसन्धानमा हेरौँ । उनले गरेको अनुसन्धानले जब उमेर अन्तरको कुरा आउँछ, पुरुष र महिलामा अलि फरक विचार पायो । डेटिङ वेबसाइट ओकेक्युपिडका महिला प्रयोगकर्ताहरूले लगभग आफ्नै उमेरका (सम्भवतः आफूभन्दा एक वा दुई बुढा) पुरुष खोज्छन् ।

‘एकै वर्ष जन्मिएका जोडीको तुलनामा पाँच वर्षको उमेर अन्तरले दम्पतीको सम्बन्धविच्छेद हुने सम्भावना १८ प्रतिशतले बढी हुन्छ,’ २०१४ मा द एटलान्टिक पत्रिकाले यस्तै दाबी गरेको थियो ।

पुरुषहरू भने भर्खरै २० को दशक टेकेका महिला मन पराउँछन्, भलै आफ्नो उमेर जतिसुकै किन नहोस् । जब कि महिलाहरूचाहिँ थोरै र निश्चित उमेरको अन्तरलाई प्राथमिकता दिन्छन् । पुरुषहरू तरुनी वयकी जीवन संगिनीको अवधारणामा यति अनुरत्त हुन्छन् कि उनीहरू आफ्नो उमेर जति बढ्दै गयो जीवनसंगिनी वा (पार्टनर)को उमेरमा उति नै ठूलो अन्तरलाई प्राथमिकता दिन्छन् ।


के पुरुषहरू बुद्धिमानीपूर्वक त्यस्ता जोडीहरू खोजिरहेका छन् ? सिद्धान्ततः उमेरको सानो अन्तरलाई समर्थन गर्ने थुपै्र कारण छन् । दम्पतीको बाल्यकालको मनपर्ने टेलिभिजन थिम ट्युन गाउने क्षमताले उनीहरूको जोडीलाई थप कसिलो बनाउन सक्छ, भलै अरूलाई चिढाओस् । उही समयमा बसको निःशुल्क टिकट प्राप्त गर्दाको आनन्दको साझेदारी वा बर्थडे पार्टी संयुक्त रूपमा मनाएर पैसा बचत गर्दाको आनन्द, उही उमेरका जोडीका फाइदा हुन् । 


केही अर्थशास्त्रीहरू पार्टनरहरूबीच उमेरको साँघुरो अन्तरले लैंगिक आय अन्तरलाई कम गराउन मद्दत गर्न सक्ने भएकाले यसका व्यापक, सामाजिक लाभ हुन सक्ने बताउँछन् । उमेर बढ्दै जाँदा कमाइ बढ्ने र महिलाहरूमा आफूभन्दा पाका पुरुषसँग जोडी बनाउने प्रवृत्ति हुने भएकाले बच्चा जन्माउने समयको सापेक्षिक कमाइले महिलाहरूलाई काम छोड्नमा सूक्ष्म दबाब दिन सक्छ । डेनिस जुम्ल्याहा दिदीबहिनीहरूको तुलना गरेको एउटा अध्ययनले पाको उमेरका पुरुषसँग विवाह गर्ने महिलाहरूको कमाइ औसतमा आफ्नै उमेरका पुरुषसँग विवाह गर्नेहरूको तुलनामा फरक नभएको पाएको थियो ।


के उमेरको सानो अन्तरले जोडीहरू टिक्ने सम्भावना बढाउँछ ? ‘एकैवर्ष जन्मिएका जोडीको तुलनामा पाँच वर्षको उमेर अन्तरले दम्पतीको सम्बन्धविच्छेद हुने सम्भावना १८ प्रतिशतले बढी हुन्छ,’ २०१४ मा द एटलान्टिक पत्रिकाले यस्तै दाबी गरेको थियो । अमेरिकाका वर्तमान र पूर्वदम्पतीहरूको सर्वेक्षण गरेको उक्त अध्ययनले सम्बन्धविच्छेदको दर र उमेरको अन्तरबीच सम्बन्ध देखाएको भए तापनि तिनको सम्बन्धलाई प्रमाणित भने गर्न सकेको थिएन ।

विवाहमा आफ्नो जोडीको उमेरमा निकै ठूलो अन्तर रुचाउने खालका व्यक्तिमा उमेरको अन्तरका अलावा अरू पनि त्यस्तो केही हुन सक्छ जसले सम्बन्धविच्छेदको दर उच्च बनाउँछ । बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले गरेको एउटा अध्ययनबाट युवाहरूले प्रोत्साहन लिनु उचित हुन्छ । यो अध्ययनले इङल्यान्ड र वेल्समा उमेरको अन्तर र सम्बन्धविच्छेदको दरबीच बलियो सम्बन्ध फेला पार्न नसके पनि ३० वर्ष नाघेपछि विवाह गरेका महिला, जसका पति आफूभन्दा १० वर्षभन्दा कम उमेरका थिए तिनमा सम्बन्धविच्छेदको सम्भावना बढी पाएको थियो ।


सामान्य ज्ञानले उमेरको ठूलो अन्तरले बुढेसकालमा असर पार्छ भन्ने सुझाव दिन्छ । बुढेसकालमा तपाईंको हेरचाह गर्ने कोही हुनु बुद्धिमानी लाग्छ । यो भनेको विधवा÷विधुर हुनबाट जोगिनु पनि हो । कम्तीमा समीकरणको आफ्नो पक्षबाट एउटा जवान र स्वस्थ जीवनसाथी अर्थपूर्ण लाग्न सक्छ । युनिभर्सिटी अफ स्टकहोमका स्वेन ड्रेफाहलले डेनमार्कमा ५० वर्षभन्दा माथिका मानिसहरूमाथि गरेको अर्काे अध्ययनमा आफूभन्दा उल्लेखनीय कम उमेरका जीवनसाथी भएका पुरुषहरू समान उमेरका दम्पतीको तुलनामा लामो समयसम्म बाँचेको पाएको थियो ।

आफ्नो जीवनसंगिनीको उमेर जति पाको हुन्छ तिनको दीर्घ जीवनको सम्भावना उत्तिकै कम हुन्छ । स्वस्थ पुरुषहरू विशेष गरी आफूभन्दा जवान जीवनसाथीलाई आकर्षित गर्न र पर्याप्त बुढेसकालसम्म बाँच्न सक्षम हुन सक्छन् । फेरि पनि, यसको तार्किक सम्बन्ध नहुन सक्छ । तर, रहस्यमय तरिकाले, यो अनौठो परिघटना महिलाहरूमा भने लागू हुँदैन । उनीहरूको सन्दर्भमा उमेरको अन्तर जति ठूलो हुन्छ, उनीहरूको बाँच्ने सम्भावना त्यति नै खराब पाइयो, भलै उनीहरू पतिभन्दा धेरै जवान वा वृद्ध किन नहुन् । 


कम उमेरका पति भएका महिलाहरूको सन्दर्भमा, ड्रेफाहल सुझाव दिन्छन्,‘महिलाहरू सहयोगका लागि आफ्नो पार्टनरमा कम निर्भर हुने भएकाले तरुनो पतिको ऊर्जाबाट कम लाभान्वित हुने भएका कारण यस्तो लैंगिक भिन्नता देखिएको हुन सक्छ ।’


त्यसोभए कुन प्रमाणले ओकेक्युपिडका प्रयोगकर्ताहरूको छनोटलाई पुष्टि गर्छ त ? महिलाले जीवनसाथीका छनोट गर्दा सकेसम्म आफ्नै उमेरका छनोट गर्नुपर्छ जब कि पुरुषहरूले आफूभन्दा जवान महिलाहरूको खोजी गर्नुपर्छ । तर, एउटा साँचो अर्थशास्त्रीले विभिन्न उमेर भिन्नता भएका दम्पतीहरूको वैवाहिक परमानन्दको तुलना गरेर अझ राम्रो प्रमाण खोज्नुपर्छ । मानिसहरू आफ्नो निर्णय आफैँ गर्न र फन्टुस रुल अफ थम्बलाई बेवास्ता गर्न स्वतन्त्र छन्, जुन अर्थशास्त्रीका लागि दुर्भाग्यपूर्ण र हामी बाँकीका लागि सौभाग्यपूर्ण हो ।


(द इकोनोमिस्टको म्यागजिन संस्करणबाट नारायण शिवाकोटीको भावानुवाद) 

सम्पादकको रोजाइ

सुझावित समाचार