इजरायली प्राज्ञिक संस्थालाई बहिष्कार किन ?

एलिस वाटरस्टोन एलिस वाटरस्टोन
शनिबार, २३ असार, २०८०
डिजिटल संस्करण

अमेरिकी मानवशास्त्री संघमा (अमेरिकन एन्थ्रोपोलोजिकल एसोसिएसन एएए) आबद्ध मानवशास्त्री अहिले एउटा ठूलो दुविधामा परेका छन् । मानवशास्त्री संघले प्यालेस्टिनी जनतामाथि अपर्थाइड (नश्ल एवं जातिभेदी) इजरायली राज्यले गरिरहेको हिंसा र उत्पीडनविरुद्ध अहिंसात्मक प्रतिरोधका रूपमा इजरायली प्राज्ञिक संस्थालाई बहिष्कार गर्ने संकल्प प्रस्ताव अघि सारेको छ । यो संकल्प प्रस्तावमाथि १५ जुन २०२३ देखि सुरु भएको विद्युतीय मतदान यही १४ जुलाईका दिन समाप्त हुनेछ ।


संकल्प प्रस्तावका मामिलामा मैले निकै संघर्ष गरेकी छु । ३० नोभेम्बर २०१५ मा भएको मानवशास्त्री संघको वार्षिक साधारणसभामा कीर्तिमानीस्तरमा एक हजार चार सय सदस्यले सहभागिता जनाएका थिए । दिनरातको लामो बहस र छलफलपछि अन्ततः इजरायली प्राज्ञिक संस्थालाई बहिष्कार गर्ने संकल्प प्रस्तावलाई अघि सार्ने र प्रस्तावलाई पूर्ण सदस्यमाझ मतदानमा लाने निर्णय बहुमतबाट पारित भयो । लगत्तैको वर्षको वसन्तयाममा भएको मतदानमा मतदाताको अभूतपूर्व सहभागिता रह्यो र प्रस्ताव झिनो मतले पारित भएन । प्रस्तावमाथि ५१ प्रतिशत मतदाताले मतदान गरेका थिए जहाँ दुई हजार चार सय २३ जनाले प्रस्तावको विपक्षमा मतदान गरेका थिए भने पक्षमा दुई हजार तीन सय ८४ मतदान गरेका थिए ।


सोही साधारणसभाले मलाई अमेरिकी मानवशास्त्री संघको ८४औँ अध्यक्षको जिम्मेवारी सुम्पेको थियो । एक स्वतन्त्र मतदाता र मानवशास्त्री संघको अध्यक्षको भूमिकामा रहेर निष्पक्ष निर्वाचन गराउँदा ठूलो चुनौती व्यहोरेकी थिएँ । निर्वाचन हुनुअगाडिका ६ महिनाका अन्तरालमा संकल्प प्रस्ताव नै खारेज हुनुपर्छ भन्ने संघबाहिरका मानिसहरूले मलगायतका मानवशास्त्री संघका नेतृत्वलाई इमेल र फोनमा बारम्बार सताउने र धम्की दिने काम गरेका थिए । त्यो ६ महिनाको अवधिमा मेरो प्राथमिक उद्देश्य भनेको सदस्यहरूलाई मतदानका लागि प्रोत्साहित गर्नु र व्यक्तिगत विवेकलाई पछ्याउन आग्रह गर्दै आवश्यक जानकारी दिनुरहेको थियो ।

यी जानकारीमा इजरायल प्यालेस्टाइन मामिलामा अमेरिकी मानवशास्त्री संघ टास्कफोर्स प्रतिवेदन र एक बृहत् सन्दर्भसूची (बिब्लियोग्राफी) समाहित थियो । यसैबीच मैले एक कार्यसमूहको निर्माण गरेकी थिएँ, जसले इजरायल–प्यालेस्टाइनसँग सम्बन्धित आठ पहलकदमीको निर्माण गरेको थियो । यी पहलकदमीमा प्यालेस्टिनी जनताको प्राज्ञिक एवं वाक् स्वतन्त्रतालाई कुण्ठित गर्ने इजरायली नीति र अभ्यासको भत्र्सना गर्नु थियो । त्यसैगरी, पहलकदमीमा बहिष्कारको मागलाई समर्थन गर्नेलाई अपराधीकरण गर्ने कानुन खारेज गर्न पनि माग गरेको थियो ।  


यो विचारको मामिला हुँदै होइन । प्यालेस्टिनी जनता इजरायली कानुन, नीति र अभ्यासबाट भयावह अवस्था व्यहोरिरहेको तथ्य प्रमाणले नै देखाउँछ । यसमा इजरायलको मूल कानुन नै पर्छ जसले इजरायललाई यहुदी मात्रको राष्ट्र राज्यको रूपमा मान्छ । त्यसबाहेक इजरायली प्राज्ञिक संस्थाले प्यालेस्टिनी जनताका उत्पीडनलाई उपेक्षा गर्दै विस्तारवादी सैन्य एवं राष्ट्रवादी एजेन्डालाई प्रवद्र्धन गर्छ । उदाहरणका लागि मैले डिसेम्बर २०१५ मा इजरायली विश्वविद्यालयको संघको एक चिठी पाएको थिएँ ।

सो चिठीमा इजरायलका १६ विश्वविद्यालयलाई प्रतिनिधित्व गर्दै आठ हस्ताक्षरकर्ताले इजरायललाई बहिष्कार, विनिवेश र प्रतिबन्धको माग राख्ने बिडिएस आन्दोलनलाई ‘आक्रामक विश्वव्यापी इजरायलविरोधी अभियान’को रूपमा व्याख्या गरिएको थियो । चिठीमा यस्तो अभियानले इजरायल राज्यको वैधानिकतालाई कमजोर पार्ने उद्देश्यले झुटा आरोप र घृणा फैलाइएको पनि उल्लेख गरिएको थियो । प्यालेस्टिनी जनतालाई जीवन, जीविका, अभिव्यक्ति स्वतन्त्रता, र प्राज्ञिक स्वतन्त्रताजस्ता आधारभूत अधिकारबाट प्रताडित गरिँदै आएको वास्तविकतामा कुनै ध्यान दिइएको थिएन ।


कुनै वेला जेलाई इजरायली राज्यको द्वन्द्व र इजरायली ‘अतिक्रमण’ भनिन्थ्यो अहिले त्यसलाई कैयौँ विश्वसनीय संस्था अपर्थाइडको अर्थात् नश्ल एवं जातिभेदी राज्यको उत्पीडनको संज्ञा दिन्छन् । उदाहरणका लागि एमनेस्टी इन्टरनेसनलको अनुसन्धान र तथ्यांक विश्लेषणले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने इजरायलको अपर्थाइड ‘मानवताविरुद्धको एक क्रुर हैकमी र अपराधी व्यवस्था हो’ भन्ने निष्कर्ष निकालेको छ । यी शब्द तथापि अमूर्त छन् वास्तवमा प्यालेस्टिनी असह्य अत्याचार व्यहोरिरहेका छन् । मैले गर्न सक्ने भनेकै उपलब्ध सबै प्रतिवेदन अध्ययन गर्नु हो । र, यी प्रतिवेदनका आधारमा इजरायली अत्याचारका पीडादायी तथ्यलाई अस्वीकार गर्ने ठाउँ छैन । 

३० नोभेम्बर २०१५ मा भएको मानवशास्त्री संघको वार्षिक साधारणसभामा एक हजार चार सय सदस्यले सहभागिता जनाएका थिए । लामो बहसपछि अन्ततः इजरायली प्राज्ञिक संस्थालाई बहिष्कार गर्ने संकल्प प्रस्तावलाई अघि सार्ने र प्रस्तावलाई पूर्ण सदस्यमाझ मतदानमा लाने निर्णय बहुमतबाट पारित भयो । 


तथापि अमेरिका यी तथ्यलाई अनदेखा गर्छ । सन् २०१४ देखि अमेरिकाका राज्यहरूले इजरायल बहिष्कारविरुद्ध विधेयक पारित गर्दै र कार्यकारी निर्देशन दिँदै आएका छन् । हालसम्म ३५ अमेरिकी राज्यमा उल्लिखित प्रकृतिका विधेयक पारित भएर लागू भएका छन् । इजरायलको आलोचनालाई यहुदी द्वेषसँग तुलना गर्ने प्रवृत्तिलाई चुनौती दिनुको सट्टा बढ्दो संख्याका राज्य सरकार र संघीय सरकारले इन्टरनेसनल हलोकस्ट रिमेम्बरेन्स एलाइन्सको (आइएचआरए) कार्य परिभाषा अपनाएर यो तुलनालाई थप बलियो बनाएका छन् ।

यही मार्चमा सार्वजनिक भएको कंग्रेसको अनुसन्धान सेवा प्रतिवेदनका अनुसार दोस्रो विश्वयुद्धपछि सबैभन्दा बढी अमेरिकी विदेश सहायता पाउने मुलुक इजरायल हो । यो सहायतामा अमेरिकाले एक खर्ब ५८ अर्ब डलरबराबरको द्विपक्षीय सहयोग एवं क्षेप्यास्त्र प्रतिरक्षा लगानी गरेको छ । वास्तवमा सहयोगको लगभग पूरै हिस्सा सैन्य सहयोगमा गएको छ । अमेरिकी करदाताको पैसा मानवताविरुद्धको एक क्रुर हैकमी र अपराधी व्यवस्थालाई पोस्न दिइँदै छ भनेर भन्नु कुनै किसिमको उग्र आलोचना होइन । 


मैले अमेरिकी मानवशास्त्री संघको नेतृत्वको अनुभव बोक्नु भनेको विभिन्न दृष्टिकोणलाई सम्बोधन गर्नु हो, संघको मूल्यमान्यता र प्राज्ञिक स्वतन्त्रताको रक्षा गर्नु हो, दिगोपन सुनिश्चित गर्नु हो र मानवीय एवं राजनीतिक विषयमा चासो राख्नुका साथै आफ्नो नैतिक अखण्डतालाई जोगाउनु पनि हो । मेरो नैतिक अडानले मैले नेतृत्व गरेको संघलाई क्षति पुग्न पनि सक्छ । अर्थात् केहीले सदस्यता त्याग्छन् होला, अनुदानमा कटौती आउला र बहिष्कारविरोधी कानुनका कारण सार्वजनिक सम्मेलन केन्द्रमा वार्षिक साधारणसभा गर्नमा रोक लाग्न सक्छ भन्नेमा म जानकार छु । तथापि बहिष्कार प्रस्तावलाई सूक्ष्म ढंगले अध्ययन गर्न जरुरी छ । 


अहिलेको संकल्प प्रस्तावले पनि अमेरिकी मानवशास्त्री संघलाई इजरायली प्राज्ञिक संस्थालाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गत प्यालेस्टिनी जनताको अधिकारको उल्लंघनमा भागीदारी बन्द नगरुन्जेलसम्म बहिष्कार गर्न आग्रह गर्छ । बहिष्कार मानवशास्त्री संघको कार्यविधि, उपनियम र उद्देश्य पालना गरी कार्यान्वयन हुनेछ । यसबाहेक बहिष्कार प्राज्ञलाई नभई प्राज्ञिक संस्थामा लागू हुन्छ । त्यसैगरी, मानवशास्त्री संघका सदस्यलाई मानवशास्त्री संघको बहिष्कारलाई आफ्नो व्यावसायिक एवं निजी जीवनमा कसरी लागू गर्ने भन्नेबारे निर्णय गर्ने स्वतन्त्रता पनि दिन्छ । र, प्रस्तावले प्यालेस्टाइन र इजरायलको बारेमा सार्वजनिक रूपमा बोल्ने, अध्ययन गर्ने र बिडिएस आन्दोलनलाई समर्थन गर्ने विद्यार्थी एवं प्राज्ञका अधिकारलाई पनि समर्थन गर्छ ।


मलाई थाहा छ, केही समय परिस्थितिमा विरोधाभाषको अवस्था निम्तिन्छ । यदि अमेरिकी मानवशास्त्री संघको बहिष्कारले कुनै किसिमले प्राज्ञिक स्वतन्त्रतामा क्षति पुर्याउँछ भने त्यो क्षतिलाई हामीले प्यालेस्टिनीका लास र तिनका ध्वस्त पारिएका घरसँग तुलना गरेर हेर्नैपर्छ । यदि सदस्यता घट्छ र अनुदानका स्रोत पनि कम हुन्छन् भने मौजुदा सदस्यले एक–दुईजना नयाँ सदस्य थप्नुपर्छ र सदस्यता शुल्कभन्दा माथि उठेर मानवशास्त्री संघलाई आर्थिक सहयोग पनि गर्नुपर्छ । मानवशास्त्री संघका विरुद्ध हुने जुनसुकै धम्की वा सम्भावित क्षतिको सामना गर्न हामी सबै ठाउँमा आउनैपर्छ । यदि बहिष्कार प्रस्ताव पारित हुँदैन भने हामीले अमेरिकी मानवशास्त्री संघले इजरायली अपर्थाइड राज्यको प्यालेस्टेनी जनतामाथि गरेको अत्याचारमा भागीदार जनाउँदै प्यालेस्टिनीलाई असहाय, एक्लो र अदृश्य बनाएको भन्ने मान्नुपर्छ ।   


प्रस्तावको पक्षमा मतदान गर्ने वा नगर्ने निर्णय गरिरहँदा मैले एक मानवशास्त्रीको नाताले अरूले भोगेका दुःखप्रति समानुभूति राख्नु मेरा लागि एक अद्वितीय दायित्व हो भन्ने बुझेकी छु । अमनचैन र सुरक्षा तब मात्र आउन सक्छ जब सबै मानिस सुरक्षित र निश्चिन्त हुन सक्छन्, अर्थात सैन्यवाद, विस्तारवाद र अपर्थाइड व्यवस्था अमनचैन र सुरक्षाका लागि प्रत्युत्पादक हुनेछ भन्ने पनि बुझेकी छु । मैले असमता र सामाजिक अन्याय पुनरुत्पादन गर्ने शक्ति संरचना पनि बुझेकी छु जसले मलाई अमानवीकृत, बेदखलीमा परेका र विस्थापितका पक्षमा बोल्नुपर्छ भनेर जिम्मेवारीबोध गराएको छ ।

एक यहुदीका नाताले मैले मेरी आमाको प्रार्थना पुस्तकमा रहेको नैतिक शिक्षालाई जीवनको मार्गदर्शन मानेकी छु । यो पुस्तकमा मलाई लागेको सबैभन्दा महत्वपूर्ण र सान्दर्भिक सिद्धान्तमध्ये एक ‘न्याय र न्याय’को खोजी हो जहाँ व्यक्तिगत लाभ वा क्षतिको पर्वाह नगरी यहुदी र गैरयहुदी दुवैलाई निष्पक्षताका साथ व्यवहार गरिन्छ । र, यही न्यायको खोज गर्ने क्रममा मैले आफ्नो विवेक प्रयोग गर्दै इजरायली प्राज्ञिक संस्थालाई बहिष्कार गर्ने प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय लिएकी छु । 


(मानवशास्त्री वाटरस्टोनले २०१५ देखि २०१७ सम्म अमेरिकी मानवशास्त्री संघकी अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् । यो आलेख ‘मोन्डोविइस’बाट दिनेश पन्तले अनुवाद गरेका हुन् ।) 

सम्पादकको रोजाइ

सुझावित समाचार