२०११ सालमा तनहुँ, लमजुङ, गोरखा, मनाङलगायत मध्यनेपालको पहाडी क्षेत्रका जनतालाई कहिले लामो खडेरी त कहिले दर्के झरीले अत्यायो । यसरी अनावृष्टि र अतिवृष्टिका कारण जीवन कष्टकर बनेपछि उनीहरू सुरक्षित वास र गाँसको खोजीमा भौँतारिन थाले । तर, कहाँ जाने ? पहाडमा ठाउँ छैन । मधेसमा औलोको डर ।
त्यसको करिब दुई वर्षअघि नै तनहुँको पुलिमराङबाट बखानसिंह गुरुङ चितवन झरेका थिए । त्यसरी कहाँ जाने भनेर भौंतारिएकाहरूलाई बखानसिंहले चितवन बोलाए । उनीहरूले सुरुमा औलोको डरले चितवन बसाइँ सर्न आनाकानी गरे । तर भोकको अगाडि डर पनि डराउँदो रहेछ । अन्ततः उनीहरू चितवन झर्न थाले । त्यसरी झर्नेहरूलाई बखानसिंहले व्यवस्थित बसोवास मिलाउन अगुवाइ गरे । पहाडबाट ठूलो संख्यामा मानिस तराई झर्न थालेपछि सरकारले पनि विशेष चासो दियो । अमेरिकी सरकारको सहयोगमा ‘राप्ती दुन विकास परियोजना’ सञ्चालन भयो । बखानसिंहले जनता र सरकारको पुलका रूपमा काम गरे ।
वन फँडानी गरेर बस्न थालेका सर्वसाधारणलाई खासगरी घर निर्माण समस्या थियो । परियोजनाले उनीहरूलाई प्रतिपरिवार तीन सय रुपैयाँ कर्जा दिन्थ्यो । कर्जा त पाइयो तर कर्जा फिर्ता गर्ने कसरी ? सदियौँदेखि वनक्षेत्र रहेको चितवनमा बसोवास सहज पनि थिएन । विभिन्न गाउँ र स्थानबाट आएका, विभिन्न पेसामा आबद्ध उनीहरूबीच सहकार्य र सह–सम्बन्ध अत्यन्त जरुरी थियो ।
व्यक्ति–व्यक्तिमा रहेको सीप, क्षमता तथा छरिएर रहेका पुँजीलाई एकत्रित गर्दै सबैको हितमा लगाउन सहकार्य अत्यन्तै आवश्यक थियो । यही सत्यलाई मनन् गर्दै परियोजनाका निर्देशक कृष्णबम मल्लसमेतको सहयोगमा बखानसिंह गुरुङले सहकारी संस्था स्थापनाको अवधारणा तथा योजना तयार पारे । अन्ततः २० चैत २०१३ मा स्थापना भएको बखान सहकारी नै नेपालको इतिहासमा पहिलो सहकारी बन्यो ।
आधुनिक सहकारीको अवधारणा बेलायतबाट सुरु भएको पाइन्छ । सन् १८४४ मा बेलायतमा आधुनिक सहकारीको अवधारणा विकास भएको थियो । यद्यपि पूर्वीय दर्शन र अभ्यासअनुसार विभिन्न धार्मिक समूह, सांस्कृतिक, जातीय समूहले सहकारीको काम गर्ने गरेका थिए । नेपालमा वि.सं. २०१० मा सहकारी विभागको स्थापना र २० चैत २०१३ मा बखान सहकारी दर्ता भएपछि सहकारिताको अवधारणाले औपचारिकता पाएको हो ।
बखानसिंह गुरुङको अवधारणा र अगुवाइमा स्थापना भए पनि बखान सहकारी ऋण संस्थाको नेतृत्व भने सबैको आग्रहमा सुवेदार खड्गसिंह गुरुङले लिए । सुवेदार भीमसेन (भिसा) गुरुङ र जमदार मेघराज गुरुङ सचिव रहेको सहकारीका कोषाध्यक्ष मोहनसिंह गुरुङ थिए । मुखिया तेजवीर गुरुङ र कृष्णबहादुर गुरुङ सदस्य रहेको सहकारी दर्ता गर्ने सहकारी अधिकारी भने सर्वदेव बर्मा थिए ।
नेपालको पहिलो सहकारी ‘बखान सहकारी’को नाममा रहेको दुई बिगाहा जग्गामा अहिले सहकारी संग्रहालय बनाइएको छ । स्थापनाकालमा ६० जना सदस्य संख्या रहेको र ६०० रुपैयाँ सेयर पुँजी रहेको सहकारीमा अहिले ६०० जना सेयरधनी र ६ लाखभन्दा बढी सेयर पुँजी रहेको छ । कारोबारको हिसाबले यो रकम ठूलो अवश्य पनि होइन, तर अवधारणाको सूत्रपात र इतिहासका हिसाबले बखान सहकारीको तुलना अरू कुनै पनि सहकारी संस्थासँग हुन सक्दैन ।
चितवनको बखानपुर (हाल शारदानगर)मा बखानसिंह गुरुङको अवधारणा र अगुवाइमा २०१३ सालमै बखान सहकारी ऋण संस्था स्थापना भएको भए पनि नेपाल सरकारले सहकारी ऐन भने २०१६ सालमा मात्र जारी गर्यो । त्यसको तीन वर्षपछि २०१९ सालमा सहकारी प्रशिक्षण केन्द्र स्थापना गरियो । त्यस्तै सहकारी खरिद–बिक्री तथा ऋण संस्था स्थापना गर्नुका साथै सहकारी बैंक ऐन जारी गरियो ।
२००७ सालको क्रान्तिमा एक छोरा गुमाएका बखानसिंहले २०१८ सालको क्रान्तिमा अर्को छोरा पनि गुमाए । यस्तै, ७ भदौ २०१९ मा ललितपुर ट्रिब्युनले बखानसिंहलाई सर्वस्वहरणसहित आजन्म जेल सजाय सुनाएको थियो ।
सरकारले विभिन्न समयमा सहकारीको अवधारणा र सञ्चालन प्रक्रियालाई कानुनी मान्यता, संशोधन र रूप दिँदै वर्तमानमा आइपुग्दा सहकारीलाई समृद्धिको एक बलियो आधार मानेर अर्थतन्त्रका तीनखम्बे नीतिभित्र पारिएको छ । अहिले देशभर करिब ३४ हजार सहकारी संस्था छन् भने तिनीहरूमा ८० लाखभन्दा बढी सदस्य आबद्ध छन् ।
बखानसिंह गुरुङले सहकारीसँगै शिक्षालाई पनि उत्तिकै जोड दिए । उनकै पहलमा २०१२ सालमा शारदानगरमा विद्यालय स्थापना भयो । विद्यालय त स्थापना गरियो तर शिक्षक कहाँबाट ल्याउने ? त्यो समयमा पढेका दक्ष जनशक्ति पाउनै मुस्किल थियो । बखानसिंहले नै जनकपुरबाट कुशेश्वर उपाध्यायलाई ल्याएर शिक्षक नियुक्त गरेको विद्यालयको स्वर्णजयन्ती स्मारिकामा उल्लेख छ । आफ्ना छोराछोरीलाई शिक्षा दिनुपर्छ भन्ने चेत भएका स्थानीयले बखानसिंहको अभियानलाई गाँस काटेरै पनि सहयोग गरेका थिए ।
वसन्त पञ्चमीको तिथि पारेर स्थापना गरिएको शारदानगर प्राथमिक विद्यालय २०१७ माघ १२ गते निमावि र २०२१ साल पुस २१ गते माविमा स्तरोन्नति भएको थियो । पूर्वमन्त्री रामबहादुर थापा ‘बादल’, वरिष्ठ सञ्चारकर्मी युवराज घिमिरेलगायत दर्जनौँ राष्ट्रिय व्यक्तित्वले विद्यालय शिक्षा शारदानगर माविबाटै पूरा गरेका थिए ।
बखानसिंह र प्रजातन्त्र स्थापना तथा प्राप्तिका लागि सहादत प्राप्त गर्ने बखानसिंहकै छोरा लालध्वजलगायतलाई चितवनका दर्जनौँ सहिदलाई सम्मान व्यक्त गर्न भन्दै सहिद स्मारक कलेज बखानपुर स्थापना गरिएको छ । बखानसिंह गुरुङलाई सहकारीका जन्मदाताका रूपमा मात्र बढी चर्चा गरिँदा उनको अर्को महत्वपूर्ण पाटो राजनीतिक व्यक्तित्व ओझेल परेको देखिन्छ । २००७ सालमा राणाविरोधी आन्दोलनमा होस् या २०१७ सालमा राजा महेन्द्रले राजनीतिक ‘कु’ गरेपछि पञ्चायतविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्तिमा होस्, बखानसिंह सधैँ अग्रिम मोर्चामा रहे । बखानसिंह मात्र होइन, उनको परिवार नै क्रान्तिको अगुवा रह्यो । नेपालको राजनीतिक इतिहासमा आन्दोलनकै क्रममा दुईजना छोरा गुमाउने बखानसिंहको जीवनबाट राजनीतिलाई अलग्याउने हो भने देशलाई उनले दिएको देन अपूरो हुन्छ ।
बखानसिंह गुरुङको जन्म कालु गुरुङ र बाटुलीमाया (बत्तु) गुरुङको कान्छो सन्तानका रूपमा वि.सं. १९५६ सालको वैशाख ५ गते तनहुँको पुलिमराङमा भएको थियो । पूर्वप्रधान सेनापति छत्रमानसिंह गुरुङ आफ्नो आत्मकथा ‘जनताको छोरो’मा लेख्छन्, ‘मेरा बाजे दलबहादुरले बखानसिंहलाई सेनामा भर्ती हुन सहयोग गरेछन् र सोहीअनुसार ग्रुमिङ पनि गरेछन् । उहाँ डबल प्रमोसन खाँदै लप्टन भएर तनहुँको सदरमुकाम बन्दीपुरमा कमाण्डर भएर आउनुभएछ ।’ क्याप्टेनमा बढुवा भएपछि उनी तनहुँको बन्दीपुरबाट गोरखाको मकैसिंहमा सरुवा भएका थिए ।
देशभर राणाविरोधी आन्दोलन चर्कन थाल्यो । उनी ठिक त्यही समयमा अवकाश भए र राणाविरोधी आन्दोलनमा होमिए । उनका कान्छा छोरा धर्मध्वज पनि राणाविरोधी आन्दोलनको नेतृत्व नै गरेर अगाडि बढिरहेका थिए । धर्मध्वजकै नेतृत्वमा लमजुङको तत्कालीन सदरमुकाम कुन्छा कब्जा गरिएको थियो ।
धर्मध्वज २००७ सालको पुस २९ गते तनहुँको बन्दीपुरमा भएको राणाविरोधी आन्दोलनको अग्रिम मोर्चामा थिए । राणाविरोधी आन्दोलनमा सहभागीहरू अगाडि बढ्दै थिए । सेनाले फायर खोल्यो । अधिकांश तितरवितर भए तर केही आन्दोलनकारी गोलीकोसमेत पर्वाह नगरी अगाडि बढे । सेनाले चलाएको गोली लागेर केही आन्दोलनकर्मी त्यहीँ ढले । बन्दीपुर बजार छिनमै मसानघाटमा परिणत भयो । स्थानीय सबै ढोका थुनेर लुके । सेनाले केही लास बजारमै छाडिदिए भने केही लास राति टुँडिखेलको पछाडि भिरमा लगेर फालिदिए ।
त्यस घटनामा धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, चन्द्रबहादर सार्की, खड्कबहादुर गोदार, सन्तबहादुर राना, उत्तरकुमार श्रेष्ठलगायतले सहादत प्राप्त गरे । धर्मध्वजले सहादत प्राप्त गरेपछिको अवस्थामा केन्द्रित रहेर रचना गरेको तीनवटा कविता राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो चर्चित कविता तथा गीतको सँगालो कृति ‘किन्नर–किन्नरी’मा पनि समावेश गरेका छन् ।
बन्दीपुर घटनापछि राणापक्ष (तत्कालीन सरकार पक्ष) रातारात पछि हट्न बाध्य भयो । आन्दोलनको आगो बल्ने स्थिति रहेकाले उनीहरू रातारात भाग्न बाध्य भए । श्रीभद्र शर्माले तत्काल जनसरकार गठन गरे । बखानसिंह गुरुङ शर्मा नेतृत्वको जनसरकारका रक्षामन्त्री बने । २००७ साल फागुन ७ गते एक सय चार वर्ष लामो जहानियाँ राणा शासनले घुँडा टेक्यो । आन्दोलन सफल भए पनि तनहुँमा गठन गरिएको जनसरकार भने कायमै थियो । २००८ असार १८ गते नेपाल सरकारले विघटन गर्न आदेश दिएपछि मात्र शर्मा नेतृत्वको जनसरकार विघटन भएको थियो ।
नेपाली कांग्रेसमा आबद्ध बखानसिंह गुरुङको इमानदारी, लगनशीलता, कामप्रतिको प्रतिबद्धता, राजनीतिक छवि र उचाइबाट तत्कालीन राजा त्रिभुवन पनि प्रभावित भएको पाइन्छ । त्यसैले राजा त्रिभुवनले बखानसिंहलाई २००८ मा राजसभा स्थायी समितिको सदस्य नियुक्त गरे । भित्री मधेस र तराईको समुचित विकास गर्ने क्रममा चितवन राज्यको पहिलो रोजाइमा परेको स्थान थियो । त्यसैले त्रिभुवनले बखानसिंहलाई चितवन विकास गर्ने क्रममा विशेष दूत बनाएर पठाएको पाइन्छ ।
राजा त्रिभुवनको आदेशबमोजिम उनी २००९ साल चैतको २९ गते हालको क्षेत्रपुर पुगे । त्यसवेला चितवन जंगलैजंगलले ढाकिएको थियो । पहिलो रात उनले एक रुखमुनि बिताएको बताइएको छ । उनले चितवनमा बस्ती मात्र बसाएनन् । उनीहरूलाई साह्रो–गाह्रो पर्दा साथ र सहयोग पनि गरे ।
२०१५ सालको आमनिर्वाचनमा बखानसिंह चुनाव लड्ने सोचमा थिए । तर, विश्वबन्धु थापाले चितवनबाटै चुनाव लड्ने इच्छा देखाएपछि कांग्रेसले थापालाई नै टिकट दियो । बखानसिंहलाई टिकट नदिई विश्वबन्धुलाई दिनुपर्दा आफूलाई दुःख लागेको तर बखानसिंहले भने नेतृत्वको निर्णय स्वीकार गर्छु भनेर सजिलो बनाइदिएको बिपी कोइरालाले आफ्नो पुस्तक ‘आत्मवृत्तान्त’मा उल्लेख गरेका छन् । २०१६ सालमा बिपी कोइरालाले बखानसिंहलाई पूर्ववाचाअनुसार माथिल्लो सदन महासभा (राष्ट्रिय सभा)को सदस्य बनाए र उनी महासभाको कार्यकारी अध्यक्षसमेत भए ।
२०१७ पुस १ मा तत्कालीन राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरु गरेसँगै प्रधानमन्त्री बिपी कोइरालासहित कांग्रेसका अधिकांश उच्च नेता बन्धक बनाइँदा बखानसिंह पनि जेल परे । १ पुसको घटनालगत्तै बखानसिंहका जेठा छोरा लालध्वज भारतको कलकत्ता पुगे ।
नेपाली कांग्रेसले महेन्द्रको कदमविरुद्ध सशस्त्र संघर्ष गर्ने निर्णय गर्यो । चितवन हुँदै त्यस भेगमा सशस्त्र संघर्ष थाल्न भारतको नरकटियागन्जमा क्याम्प खडा गरियो । बखानसिंह राजाको कदमलाई स्वागत गर्ने सर्तमा जेलमुक्त भए । तर, बखानसिंहले कलकत्तामा गएर सुवर्ण शमशेरलाई भेटे र नरकटियागन्जको नेतृत्व लिएर तालिम दिन थाले ।
बखानसिंह नरकटियागन्ज गएपछि चितवनबाट ठूलो संख्यामा पूर्वसैनिक तथा प्रहरीसमेत उता लागे । यसरी पूर्वसैनिक र प्रहरीको सहभागिताले नरकटियागन्जको तयारी र तालिमलाई थप सशक्त बनायो । माघ तेस्रो साता नरकटियागन्जबाट चारवटा टोली बनाएर चितवन कब्जा गर्न पठाइयो । दोस्रो टोलीमा बखानसिंहकै छोरा लालध्वज पनि थिए । २६ माघको राति भरतपुरमा नेपाली कांग्रेसको झन्डा फहराइयो, यद्यपि त्यसको दुई दिनपछि नै भरतपुर सरकारी सेनाले कब्जामा फिर्ता लिएर नियन्त्रणमा लियो ।
सरकारी सेनाले भरतपुर कब्जा फिर्ता लिएपछि नियन्त्रणमा लिएका कतिपयलाई हत्या गरेको थियो भने भाग्न सफल क्रान्ति योद्धा अन्यत्र लागे । लालध्वजलगायत केही तनहुँको मनपाङ पुगेका थिए । तर, स्थानीय एक व्यक्तिले सुराकी दिएपछि भिमाद प्रहरी चौकीबाट गएको टोलीले लालध्वजलगायत पाँचजनालाई गिरफ्तार गरेर पोखरा लग्यो । उनीहरूको पोखराबाट जेल सरुवा गर्ने बहानामा कोत्रे खोलामा ल्याएर गोली हानी हत्या गरियो । २००७ सालको क्रान्तिमा एक छोरा गुमाएका बखानसिंहले २०१८ सालको क्रान्तिमा अर्को छोरा पनि गुमाए । यस्तै ७ भदौ २०१९ मा ललितपुर ट्रिब्युनले बखानसिंहलाई सर्वस्वहरणसहित आजन्म जेल सजाय सुनाएको थियो ।
२०१८ सालदेखि २०२५ सालसम्म करिब आठ वर्ष निर्वासनमा बसेपछि बखानसिंह गुरुङ स्वदेश फर्किए । स्वदेश फर्किएका अधिकांशले पञ्चायती व्यवस्था स्वीकार गरे र सर्वस्वहरण भएका अधिकांशको सम्पत्ति फिर्ता भयो । तर, बखानसिंहको बरुवामा रहेको साढे आठ बिगाहा जमिन अहिलेसम्म पनि फिर्ता भएको छैन । बरुवामै रहेको २६ बिगाहा जग्गा फिर्ता हुन पनि पञ्चायतको अन्त्य हुनै पर्यो । जबकि उनी आफैँ पञ्चायती व्यवस्था रहेकै वेलामा मन्त्रीसमेत भएका थिए ।
चितनवको शारदानगरको नाम २०१८ सालसम्म बखानपुर थियो । तर, बखानसिंह राजा महेन्द्रको कदमविरुद्ध क्रान्तिमा लागेपछि बखानपुरको नाम शारदानगर राखियो । बखानसिंहको इतिहास नामेट पार्न एकपछि अर्को कदम चालिँदै गयो । तत्कालीन सरकार मात्र होइन, बखानसिंहका कारण आफ्नो राजनीतिक भविष्य समस्यामा पर्न सक्ने देखेका अन्य पनि यसमा कुनै न कुनै रूपमा सहभागी भएका थिए ।
बखानसिंह गुरुङ स्वदेश फर्किएपछि धेरैजसो समय काठमाडौंमै बस्न थाले । बखानसिंहको काठमाडौं बसाइबारे पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङले आफ्नो आत्मकथा ‘जनताको छोरो’मा उल्लेख गरेका छन्, ‘उहाँ नाताले मेरो फुपाजु बाजे हुनुहुन्छ । २०३१ सालबाट उहाँ हामीसँगै बस्नुभयो । बखानसिंह बाजे २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा धेरै सक्रिय हुनुभयो, तर नतिजा बहुदलको पक्षमा आएन । उहाँ पार्टीले आफ्नो यथोचित मूल्यांकन, स्थान र कदर नगरेको भन्दै केही असन्तुष्ट हुनुहुन्थ्यो । २०३८ सालमा सुधारिएको राष्ट्रिय पञ्चायत सदस्यमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्नुभयो । चुनावमा उहाँ सबैभन्दा बढी मत ल्याएर विजयी हुनुभयो ।’
बखानसिंह गुरुङ राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएपछि २०३९ सालमा कानुन तथा न्याय र भूमिसुधार मन्त्री बन्न सफल भए । जीवनको उत्तराद्र्ध अर्थात् ८४ वर्षको उमेरमा उनी मन्त्री भएका थिए । मन्त्री भएको अर्को वर्ष उनी केही अस्वस्थ भए । उपचारका लागि उनलाई थाइल्यान्डको बैंकक लगियो । उनको हेरचाहका लागि मन्त्रालयकै एक कर्मचारी खटाइएको थियो । बैंककमा उपचार गरिँदा पनि उनको स्वास्थ्यमा खासै सुधार भएन । उनलाई नेपाल नै ल्याइयो ।
अन्ततः मन्त्री बहाल रहेकै अवस्थामा २५ माघ २०४० मा उनको उपचारकै क्रममा पाटन अस्पतालमा निधन भयो ।
प्रजातान्त्रिक आन्दोलनका अगुवा, सहिद पिता, राजनीतिक धरोहर एवं सहकारी अभियन्ता बखानसिंह गुरुङको योगदानको उचित सम्मान हुन नसकेको देव बस्न्यातले जनाएका छन् ।
तनहुँको दमौलीस्थित व्यास नगर तमू सुधार समाजले २०७३ सालमा प्रकाशन गरेको स्मारिकामा ‘नेपालमा सहकारी आन्दोलनका प्रथम अभियन्ता’ शीर्षकको लेखमा उनले लेखेका छन्, ‘वैदिक सनातन धर्मका प्रणेता वेदव्यासको नाममा तनहुँमा व्यास नगरपालिका बनेको छ । यसैगरी नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको नाममा भानु नगरपालिका पनि बनेको छ । नेपाल सहकारी आन्दोलनका प्रथम अभियन्ता बखानसिंहको नाममा पनि स्थानीय तहको पुनर्संरचना हुँदा नगरपालिका नभए पनि गाउँपालिका बन्नैपर्ने हो... ।’
बस्न्यातले अगाडि लेखेका छन्, ‘... सहिदहरूका पिता एवं नेपाल सहकारी आन्दोलनका प्रथम अभियन्ताको नाममा उनको जन्मथलो पुलिमराङलाई बखान गाउँपालिका नामकरण गर्न सकिन्थ्यो । बखानसिंहको कर्मथलो चितवन नगरपालिकाले बखान नगरपालिका नाम पाएको भए पनि हुन्थ्यो । त्यति भएको भए बखानसिंहको आत्माले पक्कै पनि न्याय पाएको अनुभूति गर्ने थियो होला ।’ बस्न्यात अझ एक कदम अघि बढेर लेख्छन्, ‘बखानसिंह गुरुङलाई न्याय दिन राम्रा कामलाई हाम्रा सम्झेर नेपालको राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ ।’