पदयात्रीले बिर्सिएको किन्जा बजार

नवीन अर्याल नवीन अर्याल
शनिबार, ९ असार, २०८०
डिजिटल संस्करण

वसन्त ऋतुमा सगरमाथा आरोहण र पदयात्रामा जाने पर्यटकको लुक्लादेखि बेसक्याम्पसम्म भिड लाग्यो । बाटोमा मान्छेका भिड छिचोल्दै यात्रा गर्नुपर्यो । आरोही र पदयात्रीलाई सेवा दिन त्यस क्षेत्रका होटेल व्यवसायीलाई भ्याइनभ्याइ भयो । करिब ६ सय आरोही र गाइडले सगरमाथा चुचुरो चुमेको अनुमान छ, जुन हालसम्मकै धेरै हो । 


तर, प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले प्रयोग गरेको ऐतिहासिक ट्रेकिङ रुट जिरी–लुक्ला सुनसान रह्यो । लुक्ला, फाक्दिङ र नाम्चेका व्यवसायीलाई भ्याइनभ्याइ हुँदा सोलुखुम्बुको किन्जा बजार, जुनबेसी, नुनथला, खरीखोलाका होटेल व्यवसायीले पर्यटक आउँछन् कि भनी कुरेर बस्नुपर्यो ।


कुनै समय पदयात्री तथा आरोहीहरू जिरीबाट पाँच–सात दिन हिँडेर किन्जा, जुनबेसी हुँदै लुक्ला पुग्थे । आरोहणको सिजनमा होटेलहरू पनि भरिभराउ हुने गरेको किन्जास्थित शेर्पा होटेलका सञ्चालक ग्याल्जेन शेर्पा सम्झन्छन् । माओवादीको सशस्त्र द्वन्द्वअघि जिरी–लुक्ला ट्रेकिङ रुटमा आरोही, गाइड र पदयात्रीको बाक्लै भिड लाग्थ्यो । उनी थप्छन्, ‘अब यो ट्रेकिङ रुट पुरानै अवस्थामा फर्किने सम्भावना कम छ, अहिले फाट्टफुट्ट आउने पर्यटक हेरेर चित्त बुझाउनुको विकल्प छैन ।’


तेन्जिङ र हिलारी हिँडेको विश्वकै चर्चित ट्रेल किन ओझेलमा पर्यो ? यसका केही कारण छन्– काठमाडौंदेखि लुक्ला नियमित फ्लाइट सुरु भएपछि धेरै आरोही र पदयात्री जहाज चढेर लुक्ला झर्न थाले । अझ काठमाडौंबाट सीधै सल्लेरीसम्म बस चल्न थालेपछि जिरी–लुक्ला ट्रेल पूरै ठप्प भएको रिभरसाइट गेस्ट हाउस, किन्जाका सञ्चालक याम जिरेलले बताए । सल्लेरीबाट तीन दिनमै लुक्ला पुग्न सकिन्छ । जिरीबाट किन्जा, जुनबेसी हुँदै लुक्ला पुग्न सात दिन लाग्छ । काठमाडौं वा रामेछापबाट जहाज चढेर सीधै लुक्ला झरेमा पहिलो दिन नै वास बस्न फाक्दिङ पुग्न सकिन्छ ।

किन्जामा करिब एक हजार मानिस बसोवास गर्छन् । चिटिक्क ढुंगाले छाएका घर अझै देखिन्छन् । तर, भूकम्पपछि ढुंगाको छानो जस्तापाताले विस्थापन गरिसकेको छ । अझै पनि होटेल तथा रिसोर्टले ढुंगाको छानो जोगाएरै राखेका छन् । पर्यटक आउन छाडेपछि गाउँले काम खोज्दै सहर पस्न तथा बिदेसिन थालेका छन् ।


‘सल्लेरीमा बाटो नपुग्दासम्म पर्यटक यही बाटो हिँड्थे’ शेर्पाले भने, ‘जब ओखलढुंगा हुँदै सल्लेरीसम्म बाटो पुग्यो, जिरी–लुक्ला ट्रेल पूरै ओझेलमा पर्यो ।’ कुनै वेला सगरमाथा बेसक्याम्प पुग्ने एक मात्र बाटो नै जिरी–लुक्ला रुट थियो । पर्यटकसँगै भारी बोकेका खच्चड, भरिया र गाइड हिँड्थे । दोलखाको जिरीबाट शिवालय, भण्डारा, किन्जा, जुनबेसी, नुनथला हुँदै लुक्ला पुग्न सात दिन लाग्थ्यो । त्यो वेला यो रुटको बेग्लै रौनक थियो । ‘एभरेस्ट जाने र फर्किनेहरू एक दिन किन्जामा वास बस्न आउँथे, गोराहरू गीत बजाउँथे, नाच्थे,’ २०४५ देखि होटेल चलाइरहेका शेर्पाले भने, ‘सल्लेरी बाटो पुगेपछि यताको मुहानै थुनेजस्तै भयो ।’


पर्यटक आउँदा किन्जामा पाँच–सातवटा होटेल थिए । पर्यटक आउन छाडेपछि होटेल पनि बन्द हुँदै गए । अहिले पुराना शेर्पा गेस्ट हाउस, एभरेस्ट गेस्ट हाउस र रिभरसाइट गेस्ट हाउस मात्र सञ्चालनमा छन् । ‘कुनै समय किन्जामा कोठा पाउनै मुस्किल पथ्र्यो, अहिले पर्यटक आउँछन् कि भनी कुरेर बस्नुपरेको छ,’ व्यवसायी जिरेलले भने ।प्लेन चढ्ने पर्यटक सीधै लुक्ला झर्छन् । प्लेन नचढ्ने पर्यटक काठमाडौंबाट बस चढेर सल्लेरी पुग्छन् । र, सल्लेरीबाट यात्रा सुरु गर्छन् । जिरीबाट किन्जा हुँदै लुक्लातर्फ लाग्ने पर्यटक नगण्य हुन्छन् । 


सगरमाथा आरोहण र पदयात्रामा जानेको भिड रामेछाप विमानस्थलबाट सुरु हुन्छ । यो सिजनमा लुक्ला विमानस्थलमा जहाज र हेलिकोप्टरका एकै दिन ४१२ उडान अवतरण भएको विमानस्थल प्रमुख महेश श्रेष्ठ बताउँछन् । ३ अप्रिल २०२३ मा एकै दिन रामेछाप हुँदै लुक्ला ८८७ पर्यटक पुगेका थिए । वसन्तकालीन सिजनमा सगरमाथा आरोहण गर्न ४७८ जनाले विभागबाट अनुमति लिएका थिए । यो सिजनमा करिब ६ सय आरोही र गाइड सगरमाथाको शिखरमा पुगेको अनुमान पर्यटन विभागको छ ।

प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले हिँडेको जिरी–लुक्ला ट्रेकिङ रुटमा पर्ने सोलुखुम्बुको किन्जा बजार, जुनबेसी, नुनथला, खरीखोला सुनसान बनेका छन्


एक समय सगरमाथा आधार शिविरतर्फ जानेहरू विदेशी मात्र भेटिन्थे । तर, पछिल्लो समय भारतीय र नेपाली धेरै देखिन थालेका छन् । जिरीबाट लुक्लासम्म ट्रेकिङ जाने आरोही वा पदयात्री भने छँदै छैनन् । तेञ्जिङ हिलारीले प्रयोग गरेको ऐतिहासिक ट्रेकिङ रुट प्रवद्र्धन गर्न भन्दै सन् २०११ देखि एभरेस्ट अल्ट्रा ट्रेल रेस आयोजना हुने गरेकोमा पछिल्लो समय ठाउँ परिवर्तन गरेको किञ्जाका स्थानीय बताउँछन् । ‘काठमाडौंबाट सल्लेरीसम्म सडक पुगेपछि डिस्टर्ब भयो, यताबाट मान्छे हिँड्नै छाडे,’ किन्जाका व्यवसायी शेर्पाले भने ।


जिरीबाट लुक्ला जान गौरीशंकर संरक्षण क्षेत्रमा पर्यटकले तीन हजार रुपैयाँ तिनुपर्छ । उक्त क्षेत्रमा दुई घन्टा हिँडेकै तीन हजार तिर्नुपरेपछि पर्यटक बिच्किएको स्थानीय व्यवसायीको बुझाइ छ । ‘हामीले १५ सय, दुई हजार मात्र बनाऔँ भने पनि टेर्दैनन्, त्यही शुल्क तिर्नुपर्ने भएकाले पनि पर्यटकले रुट परिवर्तन गरे,’ व्यवसायी जिरेलले गुनासो पोखे । रामेछापबाट प्लेनमा ८–१० हजारमै यात्रा गर्न सकिन्छ । दुई हजारमा बसमा काठमाडौंदेखि सल्लेरी पुगिन्छ । जबकि, लुक्लाबाट हिँडेर जाँदा ६–७ दिन त लाग्छ नै, गौरीशंकर संरक्षण क्षेत्रको तीन हजार र खाने–बस्ने खर्च जोड्दा निकै महँगो पर्न जान्छ । पर्यटक छोटो समय र कम खर्चमै धेरै ठाउँ घुम्न चाहन्छन् । जिरीबाट हिँडेर लुक्ला पुग्ने फुर्सद धेरैलाई छैन । 


किन्जामा करिब एक हजार मानिस बसोवास गर्छन् । चिटिक्क ढुंगाले छाएका घर अझै देखिन्छन् । तर, भूकम्पपछि ढुंगाको छानो जस्तापाताले विस्थापन गरिसकेको छ । अझै पनि होटेल तथा रिसोर्टले ढुंगाको छानो जोगाएरै राखेका छन् । पर्यटक आउन छाडेपछि गाउँले काम खोज्दै सहर तथा बिदेसिन थालिसकेको शेर्पाले बताए । छोराछोरीको राम्रो शिक्षा र अन्य आधुनिक सुविधा खोज्दै सहर पस्ने जमात पनि ठूलो छ । 


हाइड्रोले चहलपहल बढ्दै 
लिखु खोलाको किनारमा रहेको किन्जा बजारमा फेरि पुरानै पर्यटकीय माहोल फर्किने सम्भावना कम देखिन्छ । जिरी–लुक्ला रुटमा पर्यटक हिँड्न छाडेको वर्षौं भइसक्यो । तर, किन्जा बजारले गुमाएको रौनक फेरि फर्काउने काम अब जलविद्युत् आयोजनाले गर्दै छ । व्यावसायिक घरना एमभी दुगड ग्रुपले लिखु खोलामा तीनवटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।


३० मेगावाट क्षमताको ‘लिखु ए’ सञ्चालनमा आइसकेको छ । ५५ मेगावाटको लिखु–२ सञ्चालनको अन्तिम तयारीमा छ । यस्तै, ७७ मेगावाटको लिखु–१ आगामी असोजसम्म सञ्चालनमा ल्याउने दुगड ग्रुपको तयारी छ । अर्थात्, यसै वर्ष लिखुमा १६२ मेगावाट बिजुली उत्पादन सुरु हुनेछ । यी आयोजना निर्माणका लागि रामेछापको शिवालयदेखि सय किलोमिटर सडक आफैँले खनेर लिखु पुर्याइएको छ । सडक पुगेपछि लिखु क्षेत्रमा बस र जिप कुद्न थालेका छन् । रुटका सार्वजनिक गाडी चल्छन् ।


जलविद्युत् आयोजनाकै कारण किन्जा बजार फेरि गुल्जार बन्दै गएको छ । जताततै आयोजनाका कर्मचारी र गाडी कुदेको देखिन्छ । तीनवटा आयोजनाको मुख्य अफिस र क्वार्टर किन्जामै बनाइएको छ । लिखु जलविद्युत्का कारण किन्जा बजारमा फेरि रौनक छाएको छ । तर, जुनबेसी, नुनथला र खरीखोला भने सुनसान नै छन् । जलविद्युत्मा काम गर्ने हजारौँ कर्मचारीका कारण लिखु क्षेत्रमा चहलपहल बढेको हो । जलविद्युत् आयोजनाका पाहुना र कर्मचारी किन्जाका होटेलमा बसे । पर्यटक नभेटिने किन्जाका होटेलमा आयोजनाका कर्मचारी पाहुना बने । त्यहाँका घरमा आयोजनाका कर्मचारी भाडामा बसेको भेटिन्छ । जलविद्युत् परियोजनाकै कारण किन्जा बजार यतिवेला गर्माएको छ । 


यतिवेला किन्जामा सडक मात्र पुगेको छैन, सन्राइज बैंकले शाखा खोलेको छ । गाउँमै स्वास्थ्य संस्था पुगेको छ । दुइटा सहकारी सञ्चालनमा छन् । खानेपानीको सुविधा पुगेको छ । किन्जाका बासिन्दालाई अब जिरी पुग्न दुई दिन हिँड्नुपर्दैन, सार्वजनिक गाडीमा चढेर सात–आठ घन्टामै जिरी पुग्छन् । मान्छे काम खोज्दै काठमाडौं र विदेशतिर गइरहेका वेला जलविद्युत्ले रोजगारी पनि सिर्जना गरिदिएको छ । 


‘सुनसान बनेको ठाउँमा जलविद्युत्ले केही रौनक ल्याएकै हो,’ स्थानीय होटेल व्यवसायी गेल्जेन शेर्पाले भने, ‘तर, जलविद्युत् परियोजना निर्माण सकिएपछि कर्मचारी घटेर फेरि किन्जा सुनसान नै हुने त होला ।’ राजनीति गर्नेहरूले पनि यो ठाउँलाई त्यति महत्व दिँदैनन् । किनभने, यस क्षेत्रमा त्यति धेरै मतदाता पनि छैनन् । गाउँपालिकाबाट पनि पूरै कोल्टे ठाउँमा पर्छ । 


फर्किएलान् पर्यटक ? 
अब रुट पुरानै अवस्थामा फर्किन गाह्रो छ । पदयात्री हिँड्ने रुट बिग्रिसकेका छन् । पदयात्री चढेर हिँड्ने काठका पुल भत्किसकेका छन् । तैपनि तेन्जिङ र हिलारी हिँडेको ऐतिहासिक रुटको प्रचारप्रसार गर्न सके फेरि रौनक आउन सक्ने स्थानीयको अनुमान छ । गौरीशंकर संरक्षण क्षेत्रमा दुई घन्टा हिँडेको तीन हजार लिन बन्द गर्नुपर्छ । जीर्ण भइसकेका ट्रेकिङ ट्रेल मर्मत गर्नुपर्छ । पर्यटन बोर्डलगायत निकायले प्रचारप्रसारमा सहयोग गर्नुपर्ने स्थानीय व्यवसायीको माग छ । ‘जुनबेसी–पिके रुटमा राम्रो बाटो बनाइसके, तर यताको रुटमा कसैले लगानी गरेनन्, बेवास्ता गरियो,’ व्यवसायी जिरेलले भने ।


जिरीदेखि किन्जा हुँदै लुक्ला भएर सगरमाथातर्फ थुप्रै आरोही, पदयात्री र गाइड हिँडे । यहीँबाट हिँडेका नेपाली गाइड र भरिया ठूलो व्यवसायीसमेत बनिसकेका छन् । तर, उनीहरूले नै यस रुटलाई बेवास्ता गरेकोमा किन्जावासी खिन्न छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार