धनुषाको सहिद नगर नगरपालिका– ४ ननुपट्टीका ७५ वर्षीय बौएलाल मुखियाको बाल्यकाल र किशोरावस्था गाउँका नहर तथा खाल्डाखुल्डीमा माछा समातेरै बित्यो । हाटबजारमा माछा बेचेर उनी घरको आर्थिक जोहो टार्थे । ०२३ मा जनकपुरका विजयराज विष्टसँगको भेटले उनलाई व्यापारमा लाग्न प्रेरित गर्यो । शून्यबाट व्यापार सुरु गरेका मुखिया आज देशकै चर्चित माछा व्यापारी बनिसकेका छन् । उनी वार्षिक चार करोड हाराहारीमा व्यापार गर्छन् । उनको लगनशीलता र सफलताबाट प्रेरित भएर अहिले यस क्षेत्रका अन्य किसान पनि माछापालनमा लागेका छन् ।
‘मेरो घरको आर्थिक अवस्था दयनीय थियो, मैलै गाउँकै नहर तथा खाल्डाखुल्डीमा माछा टिपेर टाउकामा राखेर गाउँकै हाटबजारमा बेचेर गुजारा चलाउँथेँ । एक दिन उहाँ (विजयराज विष्ट) गाउँकै पोखरीहरू अनुगमनमा आउनुभएको थियो,’ बौएलालले स्मरण गरे,‘खाल्डाखुल्डीमा माछा टिपिरहेको देखेपछि मलाई बोलाउनुभयो । अनि भन्नुभयो, ‘यसरी जीवन चल्दैन, खाल्डाखुल्डीमा माछा मारेर हुँदैन, पोखरी ठेक्का लिएर माछाको व्यापार गर । तिमी मिहिनेती छौ, राम्रो हुन्छ ।’ त्यसपछि मैले गाउँकै एकजनासँग पोखरी ठेक्कामा लिएर माछाको कारोबार सुरु गरेँ ।’
उनीसँग अहिले सात बिघा निजी क्षेत्रफलमा फैलिएका १५ वटा पोखरी छन् । यसबाहेक अन्य ७० वटा पोखरी उनले लिजमा लिएका छन् । उनले यी पोखरीमा माछा तथा भुरा उत्पादन गर्दै आएका छन् । सिलभर, बिग्हेट, नैनी, ग्रास, भाकुरा, कमल कार्पलगायतका विभिन्न जातका माछा र माछाका भुराको उत्पादन यस पोखरीमा हुँदै आएको छ । ‘एउटा पोखरीमा वार्षिक साढे पाँच क्विन्टलसम्म माछा उत्पादन हुने गरेको छ,’ मुखिया मत्स्य प्रजनन फार्मका सञ्चालक बौएलालले भने । उनका छोराहरू कन्हैया मुखिया र रमेश मुखियाले बाबुलाई व्यवसायमा साथ दिँदै आएका छन् । कान्छा छोरा रमेश वडाध्यक्षसमेत हुन् । आफ्नो फार्ममा २५ जना कामदारले प्रत्यक्ष रोजगारी पाएको उनी बताउँछन् । झन्डै १० हजार साना–ठूला व्यापारीहरूले यहाँबाट माछा किनेर अन्यत्र बिक्री गर्ने गरेको उनले बताए ।
भारतमा पनि माग
भारतमा पनि यहाँको माछा जान्छ । यहाँका माछा स्वादिलो र पोसिलो हुने गरेको भन्दै मानिस फार्ममै माछा किन्न आउने गरेको बौएलालले बताए । उनका अनुसार मधुवनी, दरभंगालगायतका ठाउँबाट मानिस आउने गरेका छन् । ‘यहाँ उत्पादन भएका माछा किन्नका लागि पूर्व मेचीदेखि पश्चिमका जिल्लाहरूबाट समेत मानिस आउने गरेका छन्,’ छोरा रमेश मुखियाले थपे । कक्षा ८ सम्म पढेका बौएलालले ०४८ सालमा ह्याचरी बनाउन नेपाल सरकारबाट २५ हजार आर्थिक सहयोग पाएका थिए ।
माछा उत्पादनसम्बन्धी ज्ञान लिनका लागि समेत किसान आफ्नो फार्ममा आउने गरेको उनले बताए । उनले भारत र बंगलादेशमा समेत अध्ययन भ्रमण गरिसकेका छन् । माछापालक किसानलाई प्रोत्साहन दिने गरी सरकारले नीति बनाउनुपर्ने उनको माग छ । भन्छन्, ‘माछाको दानामा सिद्रा चाहिन्छ । भारतबाट ल्याउँदा भन्सार धेरै लाग्ने गरेको छ । त्यसैले भन्सार छुटको व्यवस्था हुनुपर्यो ।
माछापालन गर्ने किसानलाई माछा ढुवानीका लागि अनुदानमा गाडी उपलब्ध गराइनुपर्छ,’ उनले थपे,‘व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले पोखरीहरूमा अक्सिजन प्लान्ट लगाउनु राम्रो हुन्छ ।’ रामकृष्ण यादव कृषिमन्त्री भएको यस क्षेत्रलाई लक्षित गरेर यदुकोहामा माछा सुपरजोन कार्यालयको शिलान्याससमेत गरिएको थियो । तर, कांग्रेस नेतृत्वको सरकार ढलेपछि उक्त कार्यालय जनकपुर सारियो, त्यसयता माछा सुपरजोन हुनबाट यो क्षेत्र वञ्चित भएको वडाध्यक्ष तथा मुखियाका कान्छा छोरा रमेश मुखिया सुनाउँछन् ।
मुखियाको माछा व्यापार सफल हुँदै गएपछि उनको सामाजिक प्रतिष्ठा पनि बढ्दै गयो । यसपछि राजनीतिमा लागेका उनी ०५२ सालमा ननुपट्टी गाविसको अध्यक्षमा निर्वाचित भए । उनका छोराले व्यवसाय र राजनीति दुवैमा बाबुको पाइला पछ्याइरहेका छन् । ननुपट्टी अहिले सहिदनगर नगरपालिका– ४ मा पर्छ । ०७४ मा स्थानीय तहको निर्वाचन जितेर बौएलालका जेठा छोरा कन्हैया मुखियाले पाँच वर्ष वडाध्यक्षको जिम्मेवारी सम्हाले । ०७९ सालको निर्वाचनमा कान्छो छोरा रमेश वडाध्यक्षमा विजयी भए ।