साकेला सिली किराँत सभ्यताको मौलिक संस्कृति

शालिक शातासक राई शालिक शातासक राई
शनिबार, २३ बैशाख, २०८०
डिजिटल संस्करण

सिन्कौली सेउली भाँचेर,
साकेला सिली नाचेर
सम्झना राखौँ बाँचेर, 
सोइसोइला है सोइसोइला  
सोई ढोले सोई... अर्को ढोले खै...?

अहिले यस्ता खालका भाका किराँती गाउँघरमा ढोल र झ्याम्टाको तालमा गुन्जिरहेको पाइन्छ । वर्षमा दुईपटक उँभौली (वैशाखे पूर्णिमाको १५ दिनसम्म) र उँधौली (मंसिरे पूर्णिमाको पाँच दिनसम्म) भव्य रूपमा मनाउने चलन छ । किराँत सभ्यतामा हुर्केको मौलिक संस्कृति साकेला पूर्वी पहाडी क्षेत्रमा मनाइने महान् मौलिक संस्कृति हो । यसलाई विभिन्न किराँती भाषामा स्यादर, चासुवा, चासोकतङनाम, साकेन्वा, साखेवा, साकेल, भूमेथान मालुदेल (मुक्ली), वुङछर धिरिनाम (उभौली), तोषी (भूमे), चवा, चारी, साखेन्वा (तोष) धिउजु, ओमाडक, विसुचाड, तोसखाम आदि अनेक नामले सम्बोधन गरिन्छ । 


किराँत एक सभ्यता हो । सभ्यता कुनै पनि समुदायको निहित हुँदैन र निरपेक्ष पनि हुँदैन यो गतिशील हुन्छ निरन्तर विकास हुन्छ । सभ्यताको गर्भबाट त्यहाँको माटो सुहाउँदो राजनीति, सांस्कृतिक जीवन, आर्थिक जीवन, सामाजिक न्याय आदि कैयौँ सामाजिक संरचनाको निर्माण हुने गर्छ । इतिहासकार दिनेशराज पन्त (विसं.२०७४) का अनुसार विश्वमा धेरैवटा सभ्यता हुर्केका छन् ।

जस्तै : सुमेरियन, मिश्र, असिरियन, इजिरियन, हित्ती, मितानी, सेमेटिक यहुदी, प्राचीन चिनियाँ र सिन्धुघाँटी आदि । यिनै सभ्यताको शाखा, उपशाखाबाट नेपालमा विकास भएको हो किराँत सभ्यता । त्यसैगरी मुन्दुम अध्येता भोगीराज चाम्लिङका अनुसार मानव जातिको समाज विकास र सामाजिक सांस्कृतिक संगठनको विकसित अवस्था सभ्यता हो, खास भूक्षेत्रको संस्कृति, जीवनशैलीका साथै आधुनिक सहरिया जीवनशैली पनि सभ्यता हो । युगाैँदेखि मान्दै आएको साकेला सिलीमा भौतिक र अध्यात्मिक दुवै विषय छन् । समाज विकास, सांस्कृतिक संगठन, जीवनशैली, जीवन दर्शन सबै साकेला नाचिने सिलीमा पाइन्छ । त्यसैले साकेला किराँत सभ्यताको महत्वपूर्ण संस्कृति हो ।


साकेलामा नाचिने नाचलाई सिली भनिन्छ । सिली भनेको अभिनयात्मक कलाशैली हो । साकेला सिली लोकनाचअन्तर्गत पर्छ । विनय बर्मा (वि.सं. २०६७) का अनुसार लोक शब्दले कुनै पनि निश्चित भूगोलको परिवेशमा बसोवास गर्ने मानिसहरूको समुदायलाई जनाउँछ । त्यही जनसाधारणमा सदियौँदेखि चलिआएको विभिन्न चाडपर्व, मेलापात, रीति, थिति, दुःखसुखमा नाचिने लोकसंस्कृतिको अभिन्न अंग नै लोकनृत्य हो । 


गाउँघरमा उन्मुक्त भएर नाच्ने लोकनृत्यले त्यस समुदायको इतिहास, परम्परा र जीवन दर्शनसँग प्रत्यक्ष सरोकार राख्छ । सिली नाच्दा चार–चार सुर, ताल र खुट्टाहात प्रधान मानी नाच्ने चलन छ । साकेला सिलीको सम्पूर्ण भावलाई हेर्दा आदिम पुर्खाहरूले आफूमा भएको ज्ञान, सीप, कला, अनुभव सिलीमार्फत लेखेको देखिन्छ जो एक पुस्ताबाट अर्को पुस्तासम्म पुस्तान्तरण हुँदै आयो । सिली दर्जनौँ किसिमका हुन्छन्, जसमा प्रस्तुत लेखमा सिकारी, चासुम÷चारी, नारोवा, सिकी सिलीले दर्साएको अर्थ, भाव, महत्व आदिलाई मात्र व्याख्या गरिएको छ ।


किराँत सभ्यतामा प्रकृतिवाद र पितृवाद 
सिलीले प्रकृति र पितृप्रतिको आराधनात्मक भाव दर्साउँछ । रूख, बिरुवा, धर्ती, माटो, हावापानी, धारा, कुवा, खेतबारी सबै भौतिक जगत्को पूजा गर, सम्मान गर भन्ने दर्शनले प्रभावित भएको पाइन्छ । मानिस र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्ध रहेको पाइछ । साकेला सिली वातावरणअनुकूल निर्माण भएको छ र यसमा सर्वव्यापी उद्विकासवाद छ । मानिसले गाँस, बास, कपासका लागि प्रकृतिसँग कसरी संघर्षपूर्ण जीवनयापन गर्नुपरेको थियो भन्ने जीवन्त अभिनय सिलीबाट व्यक्त गरेको पाइन्छ । यो नै प्रकृतिप्रतिको आराधनात्मक संकेत हो । 

युगाैँदेखि मान्दै आएको साकेला सिलीमा भौतिक र आध्यात्मिक दुवै विषय छन् । समाज विकास, सांस्कृतिक संगठन, जीवनशैली, जीवनदर्शन सबै साकेला नाचिने सिलीमा पाइन्छ । त्यसैले साकेला किराँत सभ्यताको महत्वपूर्ण संस्कृति हो ।
 


पितृवाद सबै आध्यात्मिक जगत्को सम्मान र पूजा भन्ने दृष्टिकोण हो । मुन्दुम अध्येता चाम्लिङका अनुसार किराँत समुदायको जीवन दर्शन मुन्दुममा आधारित छ । उनीहरूको दैनिक जीवन मुन्दुमले निर्देशन गर्छ । मुन्दुम जीवन दर्शन, इतिहास र ज्ञानको स्रोत हो । साकेला संस्कृतिसँगै चुलो पूजा, आगो पूजा, सिकारी पूजा, विवाहको साङचेप, (सघाउनी नगद÷जिन्सी) छेकुफिला दिने संस्कार, विवाहमा चेलीहरूको अनिवार्य उपस्थिति आदि संस्कृतिको निर्माण भएको देखिन्छ । यो नै साकेला संस्कृतिमा भएको पितृवाद हो ।


आदिम युगको समाज र संस्कृति 
साकेलामा अभिनयात्मक कलाशैलीमा धेरैवटा सिलीहरू नाचिन्छ । जसको आफ्नै खालको अर्थ, महत्व र विशेषताहरू छन् । परम्परागत रूपमा नाच्दै आएको सिकारी सिलीले आदिम युग जंगलीस्तरको प्रतिनिधित्व गर्छ । विशेषगरी यसमा प्रयोग भएको मौलिक सामग्री धनुकाँण, पौराणिक हातहतियार, जंगली जनावर मृगको मासु, माछा मार्ने सिकारी सिलीको अभिनयात्मक नृत्यकलाबाट सिकार तथा संकलन गर्ने समाजको स्थानमा पुग्न सकिन्छ ।

मानिसहरू सामूहिक बस्दथे, घुमन्ते फिरन्ते थिए, जीविकोपार्जनको प्रमुख आधार सिकार गर्ने र प्रकृतिमा उपलब्ध खाना संकलन गर्ने गर्थे । माछा मार्ने र आगोको प्रयोग हुन थालेको थियो । यस सिलीमा गरिने अभिनेयात्मक कलाशैली फाक्लेवा (तयारी सिली)बाट सुरु भई, बाँस काट्ने, धनुकाँण बनाउने, सिकार खेल्न जंगल जाने, धनुकाँणले ताक्ने, ढुकुर मार्ने, ढुकुर टिप्ने, चकमकले आगो बनाउने, मासु काट्ने, पकाउने, मासु खाने, हात धुनेसम्मको अभिनेयात्मक कलाले आदिम समाजको व्याख्या गर्छ । 


कृषियुगको समाज र संस्कृति 
साकेला संस्कृतिमा प्रचलित चासुम/चारी सिलीले मानव सभ्यताको विकासक्रममा कृषियुगलाई संकेत गर्छ । यस समुदायमा प्रचलित मुन्दुम दर्शनले व्याख्या गरेअनुसार हेछाकुप्पा (रैछाकुले)लाई कृषियुगका आरम्भकर्ताको रूपमा मानिन्छ । उनले सिकार खेलेर ल्याएको ढुकुरको गाँड घुरेन वारितिर फ्याँकिदिए । त्यसपछि ढुकुरले खाएको गाँडमा अन्नबालीहरू भएकाले पछि बारीमा बिरुवा उम्रियो र फल्यो । पछि मानिसले त्यो फलेको अन्न खाए । उद्विकासवादी मानवशास्त्री इबी टेलरका अनुसार मानव समाज र संस्कृतिको विकासको अर्को चरण भनेको बर्बर स्तर हो । त्यसवेला माटोका भाँडाकँुडा बनाउने, पशुपालन, कृषि र फलामका औजारको प्रयोग गर्ने गरिन्थ्यो । यस सिलीमा चासुम÷चारी (खारु) सिली अभिनेयात्मक कलाले कृषियुगको प्रतिनिधित्व गर्छ । 


औद्योगिक युगको समाज र संस्कृति 
सिकी (दाकथोप्पा) सिलीले औद्योगिक युगको प्रतिनिधित्व गर्छ । यो सिलीको विकास प्रचलित आख्यान र मुन्दुममा वर्णितअनुसार सृष्टिको आरम्भकर्ता तायामा÷ताङवामा, खियामा/ खिवामालाई मानिन्छ । सिकी सिलीमा भस्मे खोरिया फाँड्नेदेखि सुरु हुन्छ र कपडा सिलाउने, चोलो ओढ्नेसम्ममा पुगेर सकिन्छ । उदाहरणका लागि फाक्लेवा (तयारी सिली), भस्मे फाँड्ने, कपासको बिउ छर्ने, कपास गोड्ने, कपास टिप्ने, कपास सुकाउने, कपास केलाउने, कपासको गेडा र रुवा छुट्याउने, रुवा पिढी पार्ने, रंङता/इट्टामा रुवा काट्ने, धागो डल्लाउने, टुकी धागो बनाउने, शरीरमा कपडा नाप्ने, चोलो ओढ्ने आदिसम्ममा पुगेर सकिन्छ । उद्विकासवादी टेलरका अनुसार विकासको यो चरणलाई सभ्यता स्तरको भनिन्छ ।


सांस्कृतिक पर्यावरणको ज्ञान
तत्कालीन समाजमा सांस्कृतिक पर्यावरणीय ज्ञान प्रशस्त थिए । त्यसवेला समयसूचकको प्रतीकको रूपमा नारोवा (कर्याङकुरुङ चरा)लाई लिइन्थ्यो । यस चरा मुन्दुमी चराको रूपमा आउने गर्छ । यी चराहरू गर्मीका वेला ६ महिना हिमालतिर र जाडोका वेला ६ महिना तराईतिर बसोवास गर्छन् । ऋतु सूचकको रूपमा रहेको नारावा (कर्याङकुरुङ) चरा जब वैशाखे पूर्णिमा लाग्छ, तब हिमालतिर जाने गर्छन् । त्यसपछि धर्तीमा बालीनाली लगाउन थालिन्छ । 


विभेदरहित सामाजिक/सांस्कृतिक समाज
किराँती समाज मातृसत्तात्मक समाज हो । यस समाजमा प्रायः आमाहरूलाई प्रधान मानिएको कुलदेवताहरू पनि छन्, जसलाई पाहुना देवता भनिन्छ । समानता भएर नै साकेला सिली नाच्न कुनै लिंग, वर्ग र जाति वा समूहलाई निषेध गरिएको छैन । सबैले समान रूपमा सहभागी हुन पाउँछन् । नारी र पुरुष वा साइनोअनुसार कुनै पनि छेकबार छैन । यसबाट बुझिन्छ, किराँती मुन्दुममा नारी–पुरुष समान छन् । 


जस्तै :
टेम्के र सेल्मे हाराहार 
चेली र माइती बराबर 
टेम्के र सेल्मे हाराहार, हाराहार हजुर, हाराहार 
चेली र माइती बराबर, बराबर हजुर, बराबर... सोइसोइला । 
सोई ढोले सोई... अर्को ढोले खै...? 


मुन्दुममा विश्वास राख्ने समुदायले आफ्नो सांस्कृतिक जीवनमा साकेला सिलीले निर्देशित गरेको संस्कारलाई अवलम्बन गरेको पाइन्छ । साकेला सिली नृत्यले भावनात्मक सम्बन्धलाई प्रगााढ बनाउने गर्छ । यो नृत्यले चाडपर्व, उत्सवलाई उल्लासमयसमेत बनाउँछ । त्यसैले साकेला सिली लोकनृत्य सिंगो नेपालकै मौलिक पहिचान हो । 

(लेखक त्रिभुवन विश्वविद्यालयमा नेपाली संस्कृतिमा एमफिल गर्दै छन् ।)

सम्पादकको रोजाइ

सुझावित समाचार