पछिल्ला केही महिनायता काठमाडौंमा पुरुषहरू सत्ताका लागि छिनाझप्टी गरिरहेका छन् भने महिलाहरू न्यायका लागि संघर्ष गरिरहेका छन् । एकातिर पुरुषहरू सत्ता समीकरणको जोड–घटाउमा व्यस्त छन् भने अर्कोतिर न्यायको संघर्षमा होमिएका महिलाहरू खाली हात घर फर्किन बाध्य भइरहेका छन् ।
म मधेसमा हुर्किएँ । मधेसका सार्वजनिक वृत्तहरू पुरुषले कब्जा गरेको पाएँ । महिलाको अस्तित्व शून्यबराबर थियो । सन् १९८० र ९० को दशकमा मधेसका हुनेखाने पुरुषहरू मात्रै केही कामका लागि काठमाडौं पुग्ने गर्थे । काठमाडौंमा व्यहोर्नुपर्ने अप्रिय अवस्था र व्यवहारका कारण यी पुरुषले आफ्नो अवमूल्यन र अपमान भएको ठान्थे । यी हुनेखाने मधेसी पुरुषलाई सहरका जोकोहीले पनि प्रहसनको पात्र बनाइदिन्थे । गाडीका चालकदेखि सहचालकसम्मले अपमानजनक ढंगले सम्बोधन गर्थे । यी पुरुष लाचार थिए र फर्जी शिष्टताभित्र अपमानलाई सहजै पचाइदिन्थे । तर, यो अपमान तीव्र क्रोधका साथ विस्फोट हुनु नै थियो र अन्ततः मधेस आन्दोलन भयो । र, जब यी पुरुषले सत्तामा आफ्नो हिस्सा पाए, तब यिनले पनि त्यही काठमाडौंका सत्तासीनहरूकै खेल खेल्न थाले । नतिजा महिला र अन्य उत्पीडित समुदाय अझै पनि मधेसमा उपेक्षित नै छन् ।
त्यसैगरी, युरोप–अमेरिकालगायत पश्चिमा जगत्मा पुगेका हुनेखाने पुरुषको अनुभव माथि उल्लेख गरिएका सन् १९८० र ९० का दशकमा काठमाडौं पुगेका हुनेखाने मधेसी पुरुषकैजस्तो देखिन्छ । ठुल्ठूला वैश्विक प्राथमिकताका विषयले पश्चिमा मुलुक पुगेकाहरूको अस्तित्वले कुनै महत्व नै पाएन । यहाँबाट गएकालाई बाँच्नकै लागि पश्चिमा अर्थतन्त्रले आच्छु–आच्छु पारिदियो । तीमध्ये केही पुरुष अहिले नेपाललाई महान् बनाउन घर फर्किएका छन् । बाँकी रहेकाहरू नेपाललाई महान् बनाउने अभिभारा लिएर फर्केकालाई वा नेपाललाई सुधार्ने योग्यता भएका अन्य योग्यका पक्षमा जोडतोडका साथ लागिपरेका छन् ।
नेपाललाई महान् बनाउने मोर्चाका हरेक (पुरुष) अगुवालाई समर्थकले देउता नै मान्छन् । यो नयाँ बनेको राजनीतिक मोर्चामा महिलालाई ढिम्किनै दिइन्न, अर्थात् यहाँ पनि अगुवा पुरुष नै छन् । एकछिनलाई यी पुरुष मुक्तिदाता र यिनको स्तुतिगानलाई विस्मृतिमा छोड्ने हो भने यही मोर्चामा अपवादका रूपमा उदाएकी सुमना श्रेष्ठजस्ता महिलालाई देख्न सकिन्छ, जो लोकतान्त्रिक पहलकदमीका थोरबहुत प्रयास गरिरहेका छन् ।
यो नयाँ राजनीतिक मोर्चा हेर्दा आधुनिकजस्तो लाग्छ । तर, यो मोर्चाले ‘सामाजिक न्याय’, ‘मानव अधिकार’ र अन्य ‘लोकतान्त्रिक मान्यता’लाई विश्वशक्तिले आफ्नो अभिष्ट पूरा गर्न र नेपाललाई कमजोर बनाउने षड्यन्त्रकारी संयन्त्र देख्छन् । यौनहिंसाका दुई मामिलामा यो बुझाइ निर्लज्ज ढंगले व्यक्त भएको थियो । यो नयाँ मोर्चाका समर्थक जमातको ठूलो हिस्सा यौनहिंसाका आरोपित र अपराधीलाई अदृश्य विदेशी शक्तिले फसाएको हो भन्ने विश्वास गर्छ ।
‘आरक्षणबाट श्रमबजार एवं सार्वजनिक क्षेत्रमा पुगेका महिला र सीमान्तकृत समुदायमा हुने अक्षमताले मुलुक आर्थिक रूपमा ओरालो लागिरहेको छ’ भन्ने कथन सर्वव्यापी नै थियो तर कानेखुसीमा मात्रै सीमित थियो । यो कानेखुसीको भाष्यलाई अहिले खडा भएको नयाँ मोर्चाले ठूलो स्वरमै ‘जान्ने’ अर्थात् सक्षमता भएका व्यक्ति मात्रै शक्तिमा चुनिन वा नियुक्त हुन् योग्य छन् भनेर जोडतोडका साथ फैलाइरहेका छन् । तर, यो बुझाइ बुनयादी रूपमै समस्याग्रस्त छ ।
विश्व बैंकको चेन्जिङ वेल्थ अफ नेसन्स नामक प्रतिवेदनले सन् १९९५ देखि २०१७ सम्ममा नेपालको प्रतिव्यक्ति मानवीय पुँजी ३७ प्रतिशतले मात्रै बढेको छ । विभिन्न अर्थशास्त्रीका अनुसार आर्थिक वृद्धि एवं मानवीय समृद्धिका लागि मानवीय पुँजी आवश्यक पर्छ । यही आर्थिक वृद्धि एवं समृद्धि आकांक्षालाई पछ्याउन नेपाली जनता लामो समयदेखि संघर्षरत छन् । दक्षिण एसियामा मानवीय पुँजीको सबैभन्दा सुस्त वृद्धि नेपालमै देखिएको छ । यो अवधिभरमा श्रीलंकाको मानवीय पुँजी दुई सय एक प्रतिशतले बढ्यो त्यसैगरी भारत र बंगलादेशमा यो आँकडा क्रमशः एक सय ६२ र एक सय २२ रहेको छ । यसबाहेक पछिल्लो १० वर्षयता सिर्जना भएको ज्यालादारी रोजगारीको दुईतिहाइ हिस्सा पुरुषले ओगटेका छन् ।
मधेसका सार्वजनिक वृत्त पुरुषले कब्जा गरेको पाएँ । महिलाको अस्तित्व शून्यबराबर थियो । सन् १९८० र ९० को दशकमा मधेसका हुनेखाने पुरुषहरू मात्रै केही कामका लागि काठमाडौं पुग्ने गर्थे । काठमाडौंमा व्यहोर्नुपर्ने अप्रिय अवस्था र व्यवहारका कारण यी पुरुषले आफ्नो अवमूल्यन र अपमान भएको ठान्थे ।
अहिलेको बिग्रेको अवस्थालाई हेर्ने हो भने नेपालका श्रमिक पुरुषको कार्यक्षमतामा ह्रास आएको हो भन्न सकिने ठाउँ रहन्छ । तसर्थ पुरुषले आफूसँग बढी योग्यता वा सीप छ भन्ने ठाने पनि उत्पादन एवं सिर्जनाको निरपेक्ष क्षमताको कसीमा महिलाभन्दा पुरुष कुनै कोणबाट सक्षम छैनन् । यसका बाबजुद अहिले बनेको नयाँ मोर्चा देश–विदेशमा नेतृत्व लिन पुरुष नै सक्षम छ भन्नेमा पूर्ण विश्वस्त छ । दुःखका साथ भन्नुपर्छ, यो अवस्थामा राज्यको क्षमतामा सुधार ल्याउनुको साटो यो मोर्चा पुरुषलाई मात्रै स्थान एवं अवसर दिएर सब ठिकठाक छ भनेर पुष्टि गर्न लागिपरेको छ ।
राष्ट्रवाद भनेकै मर्दाङ्गी झल्काउने परिघटना हो । यद्यपि राष्ट्रवादका अभिव्यक्ति विविध छन् । ‘राष्ट्रवादको उद्देश्य भनेकै महिलाको शरीरमा नियन्त्रण गर्नु’ भारतका सन्दर्भमा पंकज मिश्राले गरेको यो विश्लेषणले नेपाली राष्ट्रवादलाई पनि मोटामोटी रूपमा समेट्छ । प्रधानमन्त्रीले उत्साहका साथ बलात्कार अभियुक्तसँग हात मिलाउनु र सर्वोच्च अदालतका न्यायाधीशले अभियुक्तलाई विदेश जाने गरी फुकुवा गर्ने आदेश दिनुले ‘सक्षमता’ भएका पुरुषलाई फसाइएको हो भन्ने भाष्यलाई नै प्रोत्साहन गरेको छ । अथवा यी ‘सक्षम’ अभियुक्त बलात्कारीको अपराध पुष्टि नै भए पनि राष्ट्रिय गौरवका खातिर कुनै कारबाही गर्नुहुँदैन ।
सत्ताधारीले विधिको शासनलाई असाधारण वा ‘राष्ट्रको गहना’ भनिएको व्यक्तिसँग साट्नुपर्ने अवस्था आउनु अत्यन्तै डरलाग्दो र अमानवीय अवस्था हो । वास्तवमा एक सुदृढ लोकतान्त्रिक समाजले जिम्मेवार लोकतान्त्रिक संस्थाको निर्माण गर्छ, जहाँ माथि उल्लेख गरिएका असाधारण भनिएका अभियुक्त कठघरामा उभिन्छन् ।
मर्दाङ्गीले ओतप्रोत मर्दमा महिलाको सहअस्तित्व र आकांक्षालाई स्विकार्ने इच्छाशक्ति नै छैन र यसले हाम्रो व्यवस्थालाई सधैँ पछाडि धकेलिरहनेछ । वास्तवमा समृद्धिका लागि मर्दाङ्गीका गुण आवश्यक छन् भन्ने सोचबाट पुरुष मुक्त हुनुपर्ने समय आइसकेको छ । एक पुरुषले महिलाको अनुहारमा उर्दू कवि जौन इलियाको ‘जो गुजारी ना जा सके तुम से, हमने वो जिन्दगी गुजारी है (तिमीले कल्पना नगरेको जीवन हामीले व्यतीत गरिसकेका छौँ)’ भन्ने शेर पढ्न सक्नुपर्छ । निश्चय नै महिला र पुरुषको विभेदका भिन्नता सधैँ सजिलो वा अपेक्षाकृत नहुन सक्छन् । तर, सामूहिक समृद्धिको मार्ग यी भिन्नता पत्ता लगाउने र यिनको समाधान गर्नुमै निहित छ ।
(लेखक अयुब अध्येता हुन् ।)