मातृसत्ता कहाँ थियो ?
मानव सभ्यताको घुमन्ते युगमा आमाको भूमिका शक्तिशाली थियो । त्यसवेला कुनै अन्याय थिएन । आमा त्यो झुन्डको ‘सिनियर विमेन’ हुन्थिन् । आफ्नो समूहलाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मा सबैभन्दा बढी उमेर हुने आमाको हुन्थ्यो । समूह आमाको निर्देशनअनुसार चल्थ्यो । आमाले नै समूहलाई राम्रोसँग हेर्ने, पुरुषले खोजेर ल्याएको सिकार तथा खानेकुरा बराबरी वितरण गर्थिन् । घुमन्ते युगमा पुरुषहरू सिकार खोज्न परपर जान्थे । फलफूल, माछा मासु लिएर आउँथे । साना बच्चा र बूढाबूढी हेर्ने काम महिलाको हुन्थ्यो । आमा केन्द्रमा हुन्थे ।
घुमन्ते युग मानव सभ्यताकै पहिलो स्टेज हो । त्यसवेला मातृसत्ता थियो कि थिएन भन्नेबारे दुई दृष्टिकोणबाट डिस्कोर्स गरिन्छ । त्यसवेला कतिपयले मातृसत्ता थियो भन्छन् । कतिपयले मातृसत्ता थिएन भन्छन् । आमाहरूको निर्णायक भूमिका त्यसवेला थियो तर, मातृसत्ता थिएन । त्यसवेलाको कुनै प्रमाण भेटिएको छैन । घुमन्ते युगमा महिलाको पकडमा स्थानीयता थियो । उनीहरू एकै ठाउँमा बस्थे । सिकार खेल्न गएका पुरुषहरू पाँच दिनपछि पनि महिला भएकै ठाउँमा आइपुग्थे । ‘तेरो परिवार, मेरो परिवार’ भन्ने थिएन । दशजनादेखि सयजनासम्म एउटै परिवार भएर बस्थे । सबैको लिडर आमा हुन्थिन् । त्यतिवेला अहिले जस्तो नियम कानुन, धर्म केही पनि थिएन । आमाहरू निक्कै अनुभवी हुन्थे । कसलाई कतिवेला खान दिनुपर्छ, को–कहाँ गएको छ भन्नेबारे आमाहरू जानकार हुन्थे । त्यसवेला आमाहरू स्रोत वितरण गर्ने भूमिकामा थिए । त्यसैको अवशेषस्वरूप आज पनि डाडु, पन्यूँ आमाको हातमा छ ।
त्यतिखेर पुरुषको तुलनामा आमाहरू निक्कै शक्तिशाली हुन्थे । तर, पुरुषलाई कहिल्यै अन्याय गरेनन् । खुट्टामा ढोग्न लगाएन् । अहिलेको पुरुष सत्ताजस्तै त्यसवेला मातृसत्ता थियो भनेर आज कसैले भन्छ भने त्यो पूरै मिथ्या हो । त्यसको कुनै आधार छैन । त्यतिवेलाका आमाहरू सबैलाई माया गर्थे । सबैको उत्तिकै ख्याल गर्थे । अहिले धर्म, संस्कार, मूल्य, मान्यता, सम्पत्ति सबै पुरुषको नियन्त्रणमा छ । यो सबै प्रयोग गरेपछि पुरुष सत्ताको सुरु भयो । त्यतिवेला पुरुष र महिलाबीच विभेद थिएन । अहिले श्रमबजारमा गरिने जस्तो विभेद त्यसवेला थिएन । आमाहरू शासन गर्दैन थिए । पुरुषहरू जनावर मार्ने क्रममा हिंस्रक पनि हुन्थे । तर, आमाहरू कहिल्यै हिंस्रक भएनन् । कसैमाथि अन्याय गरेनन् ।
त्यसवेला आमाको विवेकलाई सबैले स्वीकार गरेका थिए । बिस्तारै आमाहरूको ‘पोजिसन ब्रेक’ हुँदै आयो । पुरुषहरू बाहिर हिँडेर बाठा भइसकेका थिए । जब पुरुषले सम्पतिमाथि आधिपत्य जमाउन थाले, आमाको पोजिसन गुम्न थाल्यो । विभेदको सुरुवात पुरुषले ग-यो । स्रोत–साधनमाथि पुरुषले आधिपत्य जमाउन थाल्यो । सामान्तवादी समाजमा आइपुग्दा जनिममाथि सम्पूर्ण अधिकार पुरुषको भइसकेको थियो । त्यसपछि उनीहरू झनै हिंस्रक हुन थाले । आफ्नो शक्ति प्रदर्शन गर्दै प्रतिस्पर्धा गर्न थाले ।
बाबुको सत्ता
समाज सामन्तवादमा प्रवेश गर्दा आमाहरू अधिकारविहीन भइसकेका थिए । बाबुको सत्ता सुरु भयो । एउटा घरमा ७० वर्षे बुबा र ९० वर्षे हजुरबुबा छन् भने त्यो बुबाको पालो कहिल्यै आउँदैन थियो । समाजमा पहिले सानै उमेरमा बिहे हुन्थ्यो । त्यसो हुँदा एकै परिवारमा चारजनासम्म बाहरू हुन्थे । तर, ती सम्पूर्ण बाबको अधिकार सबैभन्दा सिनियर बाबुकै हुन्थ्यो । त्यो नै बाबुको सत्ता हो । छोरा जन्मिँदा पार्टी गर्ने चलन पुरुष सत्ता हो । जहाँ जन्मिँदै पुरुष ठूलो भएर जन्मिन्छ । होटेलमा गएर केटाकेटीसँगै खान्छन् अनि पैसा तिर्नचाहिँ ब्वाइपे्रmन्ड अघि सर्छन् । किनकि, ऊ ठूलो हो । विवाह गर्दा पनि पहिले श्रीमान्को खुट्टा ढोग्नुपर्छ । यो पुरुष सत्ता हो ।
हरेक छोरी विवाह गरेर केटाको घर जान्छन् । त्यसरी गएपछि केटीको स्थानीयता गुम्छ । आफ्नो ठाउँमा त्यो केटा शक्तिशाली बन्छ । पुरुषले आफ्नो घर, ठाउँ, धन सम्पत्ति केही पनि छोड्नुपर्दैन । तर, महिलाले छोड्नुपर्छ । आफ्नो ठाउँ छाडेर गएपछि महिला स्वतः निरीह हुन्छन् । शक्तिशाली पुरुष ठहरिन्छ । पुरुषले जमिन आफ्नो पकडमा लिएर शक्ति आर्जन ग-यो । जनावरहरू ल्याएर व्यक्तिगत बनायो । त्यसपछि बिस्तारै महिलामाथि नियन्त्रण गर्न थाल्यो । सबैभन्दा राम्री महिला मेरी हो भन्न थाल्यो । महिलाको स्वामित्व पुरुषले लिन थाल्यो । यौनिकतासमेत आफ्नो भन्न पाएनन्, महिलाले । सिकारी युगमा यौनिकताको अधिकार महिलासँगै थियो । त्यो व्यक्तिसँग यौन सम्बन्ध राख्छु, त्यो व्यक्तिसँग राख्दिन भन्ने अधिकार महिलासँगै थियो । चित्त नबुझ्दा अस्वीकार गर्ने अधिकार महिलासँगै थियो । जब पुरुष शक्तिशाली हुँदै गयो महिलाको यौनिकता पनि पुरुषले नै कन्ट्रोल गर्न थाल्यो ।
पितृसत्ता
जमिन, महिला पुरुषले आफ्नो बनाएपछि त्यो महिलाबाट जन्मिने बच्चा पनि स्वतः आफ्नो बनायो । वंशज, छोराछोरी र सम्पत्ति आफ्नो बनायो । त्यसपछि सुरु भयो भयो पितृसत्ता । आफू अनुकूल नियम बनाउन थाल्यो । आमालाई कमजोर र बाउलाई शक्तिशाली बनाउने कानुन पुरुषले बनाउन थाल्यो । पितृसत्ताको जालो फैलियो । त्यहीबाट सामन्तवादको उदय भयो । युरोपमा सोह्रौँ शताब्दीसम्म, एसियामा झन्डै १९औँ र २०औँ शताब्दीसम्म र हाम्रो जस्तो समाजमा एक्काइसौँ शताब्दीमा पनि सामन्तवादले जरो गाडिरहेको छ । धर्म, जमिन र स्रोत–साधनसँग जोडियो सामन्तवाद । धर्म लेख्ने पुरुष नै भए ।
शक्ति पुरुषमा केन्द्रित हुन थाल्यो । आमाहरू घरभित्र बस्ने जात हो भन्न थालियो । सन्तान जन्माउने साधन मात्रै भन्न थालियो । छोरा जन्माउने आमाको मात्र इज्जत हुन थाल्यो ।सामन्तवाद आमाहरूका लागि अन्धकारको युग हो । सामन्तवादले आमालाई पुरुषको पहिचानमा सीमित गरायो । छोरीलाई श्रीमान्को आज्ञाकारी र खेलौना बनाइयो । आमाको अस्तित्व समाप्त गरियो । मन्त्रीसँग विवाह गरे मन्त्राणी भनियो । मास्टरसँग बिहे गरे मास्टर्नी भनियो । अरूसँग नजोडी आफ्नो छुट्टै अस्तित्व नहुने बनाइयो ।
इतिहासको व्याख्याता पनि पुरुषहरू नै भए । विवाह संस्था पुरुषले नै बनाए । द्रौपदी, सीता, भृकुटी सबै पुरुषसँग जोडेर मिथक बनाइयो । त्यस्ता मिथकहरूमा आमालाई निरीह बनाइयो । कानुन बनाउने पुरुषहरू नै भएपछि आमालाई स्वतः पछाडि पारियो । आमाको काम सुविधा दिने र उनीहरूको आदेश मान्ने मात्रै भयो । छोराछोरीलाई दूध चुसाइन्जेल, खाना पकाइन्जेल, श्रीमान्को यौन तृप्ति नमेटुन्जेलसम्म मात्र आमाको काम रह्यो ।
योद्धा र विजेता दुवै पुरुष बनाइयो । केटी मान्छेलाई कहिल्यै जित्न दिइएन । सेना, राजा र अन्य ठूला पोस्टमा कहिल्यै आमाहरू बसेनन् । पुरुषहरूलाई महिलाले केही गर्न सक्दैन भन्ने लाग्यो । यिनै कारणले आमाहरू जहिल्यै पछि परे । आमाहरू पछाडि पर्ने क्रम झन्डै सामन्तवादी युगको अन्त्यसम्म रह्यो । जब छोरीहरू सजक हुन थाले, ‘भाइलाई दूधभात, तँलाई छैन’ भन्दा प्रतिरोध गर्न थाले, त्यसपछि घरपरिवारबाटै विद्रोह सुरु भयो । कठोर धार्मिक नीति, पारिवारिक नीतिहरूमा महिलाले प्रतिरोध गर्न थाले । त्यस्ता नीतिहरू खुकुलिन थालेपछि त्यहीँबाट महिलाहरू अघि बढ्न थाले । ‘म पनि स्कुल जान्छु, म अहिले विवाह गर्दिनँ’ भन्न थाले । यसले हिजो गुमेका शक्तिहरू बिस्तारै आमाको हातमा आउन थाल्यो । बाबु मात्र होइन, बिहे गरेर गएकी महिलाले श्रीमान्सँग पनि ‘म पढ्छु’ भन्न थाले । आमाहरू केही मात्रामा स्वतन्त्र हुन थाले । घुमन्ते युगमा निर्णायक भूमिकामा रहेका आमाहरू सामन्तवादभरि अन्धकारमा बाँच्न विवश बनाइयो । पुुँजीवादी युगमा आइपुग्दा आमाहरू मुक्त हुन थालेका छन् ।
पुँजीवाद र आमा
हिजो अन्धकारमा बसेका आमाहरूलाई पुँजीवादले केही राहत दियो । पुँजीवादी युग सुरु हुनासाथ महिलाले पनि काम गर्ने अवसर पाए । त्यसपछि आफ्नो अस्थित्व खोज्न थाले । महिलाहरू पनि पुरुषसँगसँगै प्रतिस्पर्धा गर्न थाले । पुराना सोचले ग्रस्त कतिपय पुरुष झस्किए । त्यसले पुरुष सत्तामा धक्का लाग्यो । पुरुषहरू आफ्नो राज छोड्न नचाहने, महिलाहरू जसरी पनि आफ्नो अधिकार लिएरै छाड्ने संघर्षमा छन् । अहिले आमाहरू त्यही लडाइँमा छन् । सन् १९६० भन्दा अगाडिसम्म महिलालाई जागिर दिइँदैन थियो । धेरैजसो अफिसमा १९८० सम्म पनि महिला शौचालय थिएन । महिला पनि जागिरे हुन सक्छन्, उनीहरूका निम्ति पनि ट्वाइलेट हुनुपर्छ भन्ने सोच नै थिएन । महिलाले विद्रोह गर्न थाले । बाबुसँग, श्रीमान्सँग र समाजसँग महिलाले विद्रोह गरे । त्यसपछि महिलाहरू पनि स्कुल जान थाले । कलेज जान थाले । अफिस जान थाले ।
आमाहरूलाई कमजोर बनाउने अर्को विवाह संस्था हो । त्यसवेला बच्चा जन्माउने र हुर्काउने काम आमाको मात्रै ठानियो । आमाहरूले चण्डी पढ्नुहुँदैन भनिन्थ्यो । आमालाई पोस्टर र पम्लेटमा देवी बनाइयो । तर, घरमा आएर महिलालाई दमन गरियो । त्यस्ता बन्धन त्यागेर पुँजीवादले महिलालाई ‘म’ भन्न सिकायो । मेरो जागिर, मेरो इच्छा भन्न सिकायो । ‘म’ भन्ने भावना महिलाका निम्ति सकारात्मक परिवर्तनको संकेत हो । सामन्तवादलाई महिलामा विकास भएको ‘म’ ले भत्काउन सघायो । त्यो ‘म’ पुँजीवादको देन हो । पुँजीवादले महिलालाई ‘मेरो बैंक ब्यालेन्स’, ‘मेरो सम्पति’, ‘मेरो स्वतन्त्रता’ भन्न सिकायो । यसले बिस्तारै समाज परिवर्तन हुन थाल्यो । समाजमा अहिले आमाहरूको भूमिका बदलिँदो क्रममा छ ।
आमामाथि परम्परागत दमन कायम नै राखियो भने त्यसको सबैभन्दा ठूलो धक्का पुरुषलाई नै पर्नेछ । हिजो दबाइएको पीडा सहेका कारण अहिलेको स्वतन्त्र जीवन आमाका निम्ति सजिलो छ । आमा एक्लै बाँच्न सक्छिन् । तर, हिजो अरूलाई दमन गरेर बसेको पुरुष एक्लै बाँच्न सक्दैन ।
नागरिकता के हो ?
सामन्तवादी समाजमा नागरिक पुरुषहरू मात्रै हुन्थे । प्लेटोहरूको दर्शनले महिला दास भन्छ । महिलालाई नागरिक नै मान्दैन । महिला बाहिर ननिस्किने भएपछि उनीहरूलाई नागरिकता दिन आवश्यक नै ठानिएन । पुँजीवादमा आइपुग्दा महिलाहरू पनि देशका नागरिक हुन् भन्न थालियो । महिलाहरू राज्यले नागरिकता दिँदैन भने हामी लड्छौँ भन्न थाले ।
नागरिकता खासमा वंश हो । पुरुषले राज गर्ने तीन महत्वपूर्ण हतियारमध्ये सबैभन्दा ठूलो हतियार हो वंश । त्यसपछि अर्को हो अंश, अर्थात् स्रोत साधनमाथि आधिपत्य । तेस्रो हो स्थानीयता । अहिले पुरुषका यी तिनैवटा हतियार कमजोर भए । पुरुष गाउँ छोडेर बिदेसियो । अब उसको स्थानीयता रहेन । हिजो छोराले मात्रै पाउने अंश अब छोरीले पनि पाउने भएपछि अंशमाथिको एकाधिकार पनि समाप्त भयो । आमाको नामबाट नागरिकता दिन थालेपछि पुरुषको वंशको अधिकार पनि अब सकियो ।
एक्लै आमा बन्ने अधिकार छोरीलाई पुँजीवादले दिएको छ । उसलाई चाहिने वर बजारमा गएर आफैँ खोज्न सक्छे । विर्य किन्न सक्छे । बच्चा जन्माउन सक्छे । हुर्काउन सक्छे । किनकि, उसको जागिर छ । जागिर भएपछि बच्चा पढाउन र हुर्काउन आफैँ सक्छे । त्यसपछि आफ्नो बच्चाको नागरिकता आफ्नै नामबाट लिने माग राखेका हुन् ।पितृसत्ताबाट ग्रस्त मानिस महिलाको नाममा नागरिकता दिन चाहँदैनन् । त्यो चलन अन्य देशहरूमा आइसक्यो । नेपालमा बुहारीलाई नागरिकता दिने र ज्वाइँलाई नदिने भन्न थालेका छन् । त्यो भ्रमित सोच हो । कानुनी रूपमा आमाको नामबाट नागरिकता दिन त थालिसकेको छ । तर, निर्णायक तहमा पितृसत्ताबाट ग्रसित मानिस भएका कारण नागरिकता दिन कन्जुस्याइँ गरिरहेका छन् ।
पुँजीवादी समाजमा आमाहरू शक्तिशाली बन्दै छन् । श्रीमान्सँग चित्त बुझेन भने डिभोर्स गर्न आमाहरू स्वतन्त्र छन् । बच्चा साथमै लिएर जान्छन् आमाहरू । बाबु रित्तै । बाबुहरूले अब सोच्नुपर्ने देखिन्छ । अधिकांश सानासाना घर–घरेडी आमा अथवा श्रीमतीका नाममा छन् । ट्याक्स कम हुने र अंशबन्डा गर्दा बाँड्न नपरोस् भनी महिलाका नाममा घरघरेडी राख्ने बढेका छन् । यसरी सूक्ष्म रूपमा हेर्दा महिला निकै शक्तिशाली बन्दैछन् । आजका अधिकांश आमाहरू जागिरे छन् । अर्काको घरमा भाँडा माझेरै भए पनि मासिक कमाइ गर्छन् । त्यो नै उनीहरूको आफ्नो सम्पत्ति हो ।
नागरिकता र राष्ट्रियता
आमाको नामबाट नागरिकता दिँदा राष्ट्रियतामा खतरा पर्छ भन्नेहरू पनि छन् । तर, यो सत्य होइन । विदेशी ज्वाइँलाई नागरिकता दिँदा राष्ट्रियता खतरामा पर्छ भन्नु पुरुषवादी सोचको उपज हो । कानुन बनाएर ज्वाइँलाई नागरिकता दिए हुन्छ । विदेशी ज्वाइँलाई नागरिकता दिन हुन्न भन्ने साँघुरो सोच हो । यो तोड्नु जरुरी छ । छोरीले विवाह गरेर ज्वाइँ ल्याउँदैमा देशै समाप्त हुन्छ भन्नु वाइयात तर्क हो । राज्यले ज्वाइँ र बुहारीबीच यत्ति विभेद किन गर्छ ? छोरा र छोरी बराबरी हो भने ज्वाइँ र बुहारी पनि बराबरी हो ।
०००
महिलालाई दोस्रो दर्जाको नागरिक भन्न कम त गरिएको छ । तर, व्यवहारमा त्यो छैन । महिलालाई पुँजीवादले आर्थिक रूपमा केही हदसम्म स्वतन्त्रता दियो । तर, धर्मले आक्रान्त पारेका नेपालसहित दक्षिण यसियाली देशहरूमा अझै महिलालाई दोस्रो दर्जाको नागरिककै रूपमा हेरिन्छ । व्यक्तिगत रूपमा दोस्रो दर्जा होइन भनिए पनि संरचनागत र संस्थागत रूपमा दोस्रो दर्जाकै व्यवहार गरिन्छ ।
आमामाथि परम्परागत दमन कायम नै राखियो भने त्यसको सबैभन्दा ठूलो धक्का पुरुषलाई नै पर्नेछ । किनकि, पुरुष एक्लै बाँच्न सक्तैन । तर, महिला सक्छन् । हिजो दबाइएको पीडा सहेका कारण अहिलेको स्वतन्त्र जीवन महिलाका निम्ति सजिलो भएको छ । हिजो मोजमस्ती गरेर, कसैलाई अह्राएर खाएको पुरुष अब एक्लै बाँच्न सक्तैन । महिलासँग जोडिएका यी यावत् पक्षहरू केलाउने हो भने अहिले केही उज्याला पाटाहरू देखिन्छन् । आफू हिँड््न सक्ने गोरेटाहरू अब महिलाले नै बनाउन सुरु गरेका छन् । तर, यो गोरेटो खन्ने ठाउँमा महिला मात्र नभई हाम्रा गुरुहरू, बाहरू, दाजुभाइहरूको पनि उत्तिकै भूमिका छ ।
समाजशास्त्री उप्रेतीसँग सुनिता खनालले गरेको कुराकानीमा आधारित