बिझाउने अंकमाल

कुमार शर्मा कुमार शर्मा
शनिबार, १४ बैशाख, २०७६
डिजिटल संस्करण

टवल  । पश्चिमको ठूलै सहर  । उत्तरतिर पाल्पा अनि दक्षिणतर्फ भैरहवा  । अनि बीचमा फैलिएको बुटवल सहर  । ०५७ साल चैतको महिना  । एसएलसी परीक्षा सकिएपछि काठमाडौं जाँदै गर्दा म ढुक्क थिएँ  । आत्मविश्वासले भरिएको थिएँ  । डिस्टिंगसन ल्याउन ठिक्क परेको केटो, त्यो पनि बुटवलजस्तो सहरमा हुर्के–बढेको, काठमाडौं मात्र किन, म संसार नै जित्ने कुरामा आश्वस्त थिएँ  । त्यो वेला मलाई खास अर्थमा सहरको हेक्का थिएन  । सायद धेरैलाई त्यस्तै हुँदो हो  । आफ्नो बाल्यकाल र रमाइला सम्झनाको साक्षी बनेको सहर मेरा लागि कुनै पनि अर्थमा सानो हुन सक्दैनथ्यो  । बुटवल त्यसवेला मेरो नजरमा ‘ठूलो’ सहर थियो  । 

तय भयो, मैले काठमाडौंमा बसेर उच्च माध्यमिक तहमा अध्ययनका लागि कलेजहरूमा प्रवेश परीक्षा दिने  । त्योभन्दा अगाडि प्रवेश परीक्षाको तयारीस्वरूप ‘ब्रिज कोर्स’ गर्ने  । एसएलसी सकिन पाको छैन, फेरि अर्को कोर्स ? एसएलसी सकेपछि त दुई महिना सुतेरै बस्न पाइन्छ भन्ने आमधारणा गलत साबित हुँदै थियो  । 

सोचेँ– वास्तवमै ठूलो सहर, त्यो पनि देशको राजधानीको सोच्ने तरिका, चालचलन फरक होला  । किनभने त्यसबखत यस्ता ब्रिज कोर्सको नाम बुटवललगायत अरू ठाउँमा खासै सुनिएको थिएन  ।काठमाडौंसँगको पहिलो भेट भने थिएन यो  । जाडो–गर्मी बिदामा एक–दुई हप्ताका लागि आउँदा जाउलाखेलको चिडियाखानामा दंग पर्दै जनावर हेर्दै गर्दा र बसको झ्यालबाट घाँटी तानी–तानी तत्कालीन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (अहिलेको संसद् भवन) नियाल्दैमा समय बित्थ्यो  । दुई साताको छोटो बसाइमा काठमाडौंजस्तो महानगरको धुकधुकी छाम्न असम्भव थियो  ।
०००
शंकरदेव क्याम्पसनजिक च्याउझैँ उम्रिएका अनगिन्ती ‘ब्रिज कोर्स सेन्टर’हरूमध्येको ‘अल्फा बिटा’ नाम गरेको इन्स्टिच्युटमा भर्ना गरेर ‘ब्रिज कोर्स’ सुरु गर्ने निर्णय घरबाटै भयो  । मध्यमवर्गीय परिवारबाट आएकाले पनि होला, काठमाडौंमा मेरो समस्या पनि मध्यम प्रकृतिको थियो  । कहाँ बस्ने, के खाने भन्ने समस्या थिएन  । ठुलोबुबाको घर काठमाडौंमै थियो  । त्यहीँ बसेर परीक्षाको तयारी गर्ने कुरो बन्यो  । बाहिरबाट नदेखिने किसिमको समस्या थियो  । यत्रो ठूलो सिहर कसरी छिचोल्ने ? दुई दिनको पाहुनाबाट स्थायी सदस्य कसरी हुने ?

ठुलोबुबाको छोराको (मेरो दाइ) मोटरसाइकलमा पछाडि बसेर कोर्समा भर्ना गर्नका लागि अल्फा बिटा जाँदा कुनै नवप्रेमीले आफ्नी प्रेमिकाको कपाल पहिलोपटक सुम्सुम्याएझैँ मैले पनि काठमाडौंलाई नजरले सुम्सुम्याउने मौका पाएँ  । होटेल सांग्रिला, लाजिम्पाटको बाटो हुँदै लैनचौर र जमल हुँदै रत्नपार्क पुग्दा सबै ठाउँ सानदार लाग्यो  । सबै अलग  । सबै फरक  । दाइले भन्दै थियो, ‘राम्रोसँग याद गर् है, भोलिबाट एक्लै आउनुपर्छ  ।’दाइका अगाडि गमक्क परेर भनेँ, ‘जाबो यत्ति, सकिहाल्छु नि !’
मनमनै भनेँ, ‘यस्तोमा झुक्किने कुरै हुँदैन !’
भर्ना भएँ  । भोलिबाट क्लास सुरु  । फर्किंदा दाइले टेम्पो, माइक्रो चढ्ने र ओर्लिने ठाउँबारे एकचोटि फेरि ब्रिफिङ ग-यो  ।
म भने ढुक्क थिएँ  ।

भोलिपल्ट होटेल सांग्रिलानजिकबाट टेम्पो चढेँ  । गन्तव्य थियो, शंकरदेव क्याम्पसनजिकको उही ‘अल्फा बिटा’  । टेम्पोको झ्यालबाट बाहिर नियाल्दा भने हिजो फरक–फरक लागेका आकृति आज सबै उस्तै–उस्तै लागे  । के छुट्यो, के आउन बाँकी छ, केही पत्तै भएन  । कुन लाजिम्पाट ? कुन लैनचौर ? कुनै मेसो भएन  । टेम्पो चालकलाई फ्याट्ट सोधिहाल्ने आँट पनि आएन  । रत्नपार्क झर्नुपर्ने मान्छे हडबडाहटमा जमलभन्दा पनि वरै उत्रिएँ  ।

टेम्पोबाट तल ओर्लेपछि झन् अलपत्र परेँ  । गन्तव्य थाहा भए पनि जाने बाटो ठ्याक्क थाहा थिएन  । देखेँ– सबै मान्छे हतारमा छन्  । वातावरणमा एउटा अलग किसिमको व्यस्तता छ  । मानौँ, समय हतारमा कुदिरहेको छ र मान्छे त्यसलाई भेट्टाउने प्रयास गर्दै छन्  । बुटवलमा त्यतिका वर्ष बस्दा यस्तो किसिमको व्यस्तताको अनुभव थिएन  ।

अन्दाजकै भरमा जमलको आकासे पुलबाट देब्रेतर्फ लागेँ  । अलि अगाडि पुगिसकेर घन्टाघर देखेपछि अलि सास आएजस्तो भयो  । याद आयो– घन्टाघरमा झरेर बागबजार छिर्ने मन्त्र जुन दाइले रटाएको थियो  । त्यहीँबाट बाटो काट्न खोजेँ, तर सकिनँ  । मानौँ बाटोमा गुडिरहेका गाडी होइनन्, लामो रेलका डिब्बा हुन्, जसको गन्तीको कुनै हिसाब छैन  । फेरि जमल फर्किएर आकासे पुलको माध्यमबाट बाटो काटेर अर्कोपट्टि पुग्दा निधारबाट पसिना छुट्दै थिए  । मुखले ठेगाना भनेकै भरमा दैलोसम्मै आरामले पु-याइदिने बुटवलको रिक्सा सम्झिएँ  । वैशाखको गर्मी भए पनि काठमाडौंको मौसम चिसो लाग्यो  ।
०००
हतियार खोसिएको सिपाहीजस्तो हतास मनस्थिति लिएर अन्ततः अल्फा बिटा पुग्दा पूरै असिनपसिन भइसकेको थिएँ  । 
कक्षाकोठामा बुटवलतिर हुनेजस्तो ‘ब्ल्याक बोर्ड’ थिएन  । ‘ह्वाइट बोर्ड’ थियो  । सेतो, चिल्लो  । अचम्म लाग्यो  । यस्तो प्रकृतिको बोर्ड पहिलोचोटि देख्दै थिएँ  । यस्तो चिल्लो बोर्डमा केले लेख्ने ?
चकले ?
सेतो, त्यो पनि चिल्लो बोर्डमा चकले कसरी लेख्ने ?
उत्तर नजिकै रहेछ  । कालो ‘मार्कर पेन’ देखेँ  । मनमनै सोचेँ– महानगरको कुरा नै बेग्लै !
कक्षामा १२–१५ जति विद्यार्थी थियौँ  । सबैको तीन–चारजनाको ग्रुप थियो  । सायद राजधानीबाहिरबाट आएको म मात्र थिएँ  । न उनीहरूले मलाई आफ्नो समूहमा बोलाए, न म नै आफैँ जान सकेँ  । कस्तो–कस्तो लाग्यो  । फेरि उनीहरूले नेपाली नै बोलिरहे पनि अर्कै भाषा बोलेजस्तो लाग्यो  । हाउभाउ पनि बेग्लै  । के महानगरको भाषा र ‘बडी ल्यांग्वेज’ पनि बेग्लै हुन्छ ? यसका लागि पनि एउटा बेग्लै कोर्स गर्नुपर्ने पो हो कि ?

टेम्पोबाट तल ओर्लेपछि झन् अलपत्र परेँ । गन्तव्य थाहा भए पनि जाने बाटो ठ्याक्क थाहा थिएन । देखेँ– सबै मान्छे हतारमा छन् । 


कक्षा सकियो  । पिसाबले च्यापिरहेको थियो, तर अफिसको रिसेप्सनमा गएर सोध्न अप्ठ्यारो लाग्यो  । रत्नपार्कसम्मको पैदलयात्रा र त्यसपछिको टेम्पो यात्रा सम्झिएँ  । पिसाबले झन् च्याप्यो  । र, पनि रिसेप्सनमा गएर ‘ट्वाइलेट कहाँ छ ?’ भनेर सोध्ने साहस आएन  । यो तरिकाले एसएलसीमा डिस्टिंगसन आउलाजस्तो आफैँलाई लागेन  । फर्किंदा पाइला तेज चलाएँ  ।
सामाखुसी घर पुगेर ट्वाइलेट छिर्दा पेट फुट्लाजस्तो भइसकेको थियो  । काठमाडौं सहरलाई पहिलो अंकमाल गर्न खोज्दा नमिठो बिझायो  । त्यो पल काठमाडौं सहर साँच्चै नै विशाल लाग्यो  । लाग्यो– यथार्थमै यो ठूलो सहर हो  ।आखिर एउटा सहर के कुराले ‘सहर’ हुन्छ ? त्यसको निर्धारण के आधारमा हुन्छ ? भौगोलिक अवस्थिति र फैलावट सायद मुख्य कुरा होइन  । त्यो बखत लाग्यो– काठमाडौं महानगर भएको उसको बासिन्दा, उनीहरूको व्यस्तता, उनीहरूको समग्र चरित्र र उसको भौगोलिक अवस्थितिको एउटा सम्पूर्ण योगफलको कारण हो  । ऐच्छिक गणितको झल्को दिने ‘अल्फा बिटा’बाट फर्केको दिन मेरो मध्यमवर्गीय मन ठाउँमा रहेन  । झस्किरह्यो  ।

एक दिनको घटनाको आधारमा काठमाडौंको धुकधुकी छामेको दाबी गर्नु सायद मूर्खता पनि थियो  । तर, मेरो हालत त्यो मान्छेको जस्तो भएको थियो, जसले भर्खरै स्टाइल मारेर चुरोट सल्काउन खोज्दा फिल्टरतिरबाट सलाई कोरेको थियो  । फिल्टर जलिसकेको भाग फेरि मुखतिर लैजान मन गहिरो आनाकानीमा थियो  । 

करिब तीन हप्ता लामो ‘ब्रिज कोर्स’ सकिसकेपछि मैले सेन्ट जेभियर्सको प्रवेश परीक्षा दिएँ । एक हप्तामै नतिजा आयो । नाम निस्किएन । काठमाडौंलाई अंकमाल गर्ने दोस्रो प्रयास पनि बिझायो । तर, पहिलोपटक जति होइन । किनभने यहाँसम्म आइपुग्दा मैले मनमनै सोचिसकेको थिएँ– म अब बुटवल फर्किन्छु । मेरो आफ्नै सहर । सानो भएर पनि ठूलो सहर ।

भैरहवा र पाल्पा जाने बाटो छुट्टिने बुटवलको राजमार्ग चोकमा बसबाट उत्रिँदा वैशाखको प्रचण्ड गर्मी नै भए पनि मौसम शितलो लाग्यो । एक महिनापछि पहिलोचोटि मन ठाउँमा थियो । पुनश्चः काठमाडौंलाई अंकमाल गर्ने प्रयास यो नै अन्तिम भने थिएन । भविष्यमा अरू धेरै त्यस्ता प्रयास हुनेवाला थिए  । फरक नतिजासहित । 

सम्पादकको रोजाइ

सुझावित समाचार