भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भयो । अघिल्लो निर्वाचनहरूमा जस्तो यसपटक उम्मेदवारहरूले मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न पाएनन् । किनकि निर्वाचन आयोगले यसपटक अलि कडा आचारसंहिता बनाएको थियो । तर, यसपटक पनि हुम्लामा निर्वाचन आयोगको आचारसंहिताले त्यति काम गरेन । किनकि हुम्लामा उम्मेदवारहरूले मतदातालाई प्रभावित पार्ने परम्परागत शैली आज पनि जबर्जस्त छ ।
विगतमा मतदाताहरूलाई प्रभावित गरी आफ्नो पक्षमा मत ल्याउँन उम्मेदवारहरू घरघरमा पुगी आफ्ना विचार सुनाउँथे । अहिले प्रविधि र चेतनाको विकाससँगै चुनाव प्रचार गर्ने शैली पनि परिवर्तन र परिष्कृत हुँदै गएको छ । भौतिक रूपमा चुनाव प्रचारप्रसार गर्ने शैली क्रमशः डिजिटलाइज्ड र भर्चुअल हुँदै गइरहेको छ । तर, युगले प्रविधिमा जति नै फड्को मारे पनि हुम्लामा मतदाता प्रभावित पार्ने परम्परागत शैलीमा कमी आएको छैन । यसपटक पनि हुम्लामा मतदाता प्रभावित गर्ने विभिन्न परम्परागत शैलीहरू समाजमा यत्रतत्र देखिए । यहाँ तिनै शैलीमध्ये संक्षिप्तमा १० शैलीको चर्चा गर्ने जमर्को गरिएको छ ।
‘देउता’को दाना खुवाउने
विगतका निर्वाचनमा झैँ यसपटक पनि उम्मेदवारहरूले मतदातालाई प्रभावित पार्न ‘देउता’को दाना खुवाउने परम्परालाई निरन्तरता दिए । दलका उम्मेदवार र कार्यकर्तादेखि नेताहरूले कालासिल्तो, मस्टो, रामपाल, गुराआदी देउताको नाममा जौ वा चामलको दाना जप्दै देउताहरूलाई साक्षी राख्दै मतदाताहरूलाई उक्त जौ वा चामलका दाना खुवाउँदै भोट मागे । यति मात्रै होइन, उनीहरूले मतदातालाई आफ्नो पक्षमा भोट हाल्न कसम पनि खुवाए ।
रक्त्याडी फाउन्या
यो शैलीमा उम्मेदवार र दलका नेता कार्यकर्ताले गाउँले सबैलाई एकै ठाउँमा भेला गराउँछन् । जम्मा भएका मतदाताका लागि खसी काटिन्छ र देउताको नाममा पुकार गर्दै मासु खान दिइन्छ । उक्त खसीको रगत र चामल मिसाएर टीका लगाउने चलन पनि छ । मासु खाँदा सबै घरधुरीका मुली वा अन्य व्यक्तिले देउताको कसम खाँदै आपूmले रोजेको सिद्धान्त, व्यक्ति वा चिह्नभन्दा बाहिर इच्छाविपरीत मतदान गर्दिनँ र आफ्नो परिवारका सदस्यहरूलाई पनि गर्न लगाउँदिनँ भनेर पुकारसहितको प्रतिज्ञा गर्ने गर्छन् ।
पुस्तक बोकाउने
यो चलन विशेष गरी लामाभोटे समुदायमा छ । टोल, वडाका सबै मतदाताहरूलाई एकैठाउँमा भेला गरेर लामाले पूजापाठ गर्छन् । लामाले पढ्ने धर्मग्रन्थलाई साक्षीस्वरूप प्रत्येक मतदाताहरू वा घरमुलीको हातमा बोकाइन्छ । शिरमा राखेर तोकेकै चिह्न वा उम्मेदवारलाई मत दिन्छु भनी प्रतिबद्धता जनाउन लगाइन्छ ।
बाँदया राख्ने
उम्मेदवार तथा कार्यकर्ताहरूले कुनै टोल वा समुदायमा गई मतदाताहरूको मत प्राप्न गर्न बाँदया (खसी) राखेर मत माग्ने प्रचलन छ । विशेष गरी, खसी त्यो समुदायले मान्ने देउताको ‘माणु’ छ भने माणुमा र नभए उक्त समुदायको मुख्य मान्छेको घरमा लगेर बाँधिदिने चलन छ । यदि उक्त खसी काटेर खाए भने मतदाताहरू मत दिन राजी भएको बुझिन्छ ।
पाठो पर्गालो र डालो राख्ने
उम्मेदवार तथा कार्यकर्ताहरूले मत प्राप्त गर्न कुनै टोलमा गई त्यस समुदायको मुखिया वा भलाद्मीसमक्ष पाठो पर्गालो र डालो राख्ने चलन छ । पाठो भनेको खसी हो । खसीसँगै गजिनाको थान राखेर डालोभरि पुरी राखेर दिने चलनलाई पाठो पर्गालो र डालो राख्ने भनिन्छ ।
युगले प्रविधिमा जति नै फड्को मारे पनि हुम्लामा मतदाता प्रभावित पार्ने परम्परागत शैलीमा कमी आएको छैन । यसपटक पनि हुम्लामा मतदाता प्रभावित गर्ने विभिन्न परम्परागत शैली समाजमा यत्रतत्र देखिए ।
धजाखोटो राख्ने
उम्मेदवार तथा कार्यकर्ताहरूले मतदाताहरूको मत प्राप्त गर्न कुनै समुदाय, टोल वा गाउँमा गई त्यहाँका विभिन्न देवी देवता अर्थात् बाह्रभाई मस्टोका थान, माणु र गुम्बा तथा स्तुपाहरूमा धजा लगाइदिने, धुपधुँवार गर्ने, खादा लगाइदिने गर्छन् । साथै, त्यस्ता धार्मिक स्थलहरूलाई सम्मान स्वरूप नगद राखेर पुकार्ने चलन पनि छ । गाउँमा उम्मेदवारको पक्षमा समर्थक नभए पनि उक्त गाउँटोलको सल्लाह अनुसार त्यो कार्य गर्ने उम्मेदवारका लागि इज्जत राख्दै एक दुई भोट हाल्ने चलन छ ।
टासीखादा तथा जाँड चिन्डो राख्ने
लामाभोटे समुदायमा आफ्नो पक्षमा मत लिन उम्मेदवारहरूले गाउँघरमा गएर मतदाताहरूको सम्मानार्थ टासीखादा तथा जाँड चिन्डो राख्ने चलन छ । यसमा बिशेषतः चिन्डोभरि छ्यांङ राखेर उक्त चिन्डोको मुखमा घिऊ टाँसेर खादा बाँधेर समुदायलाई सम्मानस्वरूप राख्ने गरिन्छ । यसरी राखिएको छ्याँङ सबैले बाँडेर खाई स्वीकार गर्ने र त्यहीअनुरूप भोट दिने चलनसमेत छ ।
माथो छुने र छाउने
उम्मेदवारले आफ्नो पक्षमा भोट माग्न गाउँ, टोलमा रहेका विभिन्न देउताका धामीको माथोमा हात राख्दै मत माग्ने चलन छ । त्यसैगरी, मतदातालाई देउताको माथो हातले छुवाउँदै ‘भोट हाल्छु’ भनेर कसम खान लगाउनेसमेत चलन छ ।
टोपी राख्ने तथा एक खुट्टाले उभिने
उम्मेदवारले आफ्नो पक्षमा भोट माग्न गाउँका विभिन्न व्यक्ति वा समूहको अगाडि आफूले लगाएको शिरको टोपी फुकाल्दै समूहको अगाडि राख्ने चलन छ । त्यसपछि एक खुट्टामा उभिएर हात जोड्दै आफ्नो विचार राख्दै भोट हाल्न अनुरोध गर्ने चलन छ ।
चिउँडो समात्ने
उम्मेदवारले आफ्नो पक्षमा भोट माग्न गाउँटोलमा घरदैलो तथा व्यक्तिगत भेटघाटको क्रममा घरमूली वा व्यक्तिलाई भेटेर उसको चिउँडो आफ्नो हातले समाउँदै भोट माग्ने चलन पनि छ ।
माथि उल्लेखित मतदातालाई प्रभावित गर्ने विभिन्न शैली हेर्दा बाध्यात्मक र सम्माजनक दुवै देखिन्छ । यी शैलीको अवलम्बनले एकअर्काबीच राजनीतिक विश्वास कायम गर्न, मतदाताहरू चोरिनबाट रोक्न र पार्टीको पक्षमा चुनावी परिणाम ल्याउन टेवा पुगेको देखिन्छ । चुनावहरूमा प्राय आचारसंहिताको उलंघन हुने गर्छ । धाँधली हुने सम्भावना रहन्छ । यस्तो गलत प्रक्रियाबाट बच्नसमेत केही मात्रामा हुम्लाका परम्परागत शैलीले सहयोग गरेको देखिन्छ । धाँदलीका कारण आममतदाताले स्वैच्छाले भोट हाल्न पाउने र उम्मेदवार छनोट गर्न पाउने अधिकार पनि कुण्ठित हुने गर्दछ ।
आममतदाताहरू माथि उल्लेखित परम्परागत शैलीहरूमै अल्मलिएर, डर त्रास र अन्धविश्वासमै रुमलिएर आफ्नो इच्छाविपरीत मत अन्यत्र बिक्री गर्न बाध्य पनि हुन्छन् । तर, त्यही मतबाट चुनिएका उम्मेदवारलाई राष्ट्र र जनताप्रति किन उत्तरदायी र पारदर्शी हुन बाध्य गराउँदैनन् ? किन जनताको जनजीविका तथा समग्र विकास र संमृद्धिको मार्गमा होमिन खबरदारी गर्दैनन् ? राजनैतिक पार्टीका कार्यकर्ताहरूले विचारलाई तिलाञ्जली दिँदै, निर्वाचनको आचारसंहिता मिच्दै, डर तथा दबाबका साथै रुढीवादी मूल्य, मान्यता र परम्परालाई उपयोग गरी जनतालाई भोट बैंक मात्रै बनाइरहेको देखिन्छ । यस्तो बनाउने नेता र कार्यकर्ताहरू किन र कहिलेसम्म आममतदाताहरूको स्वतन्त्रपूर्वक दल छनोट गर्न पाउने, उम्मेदवार छनोट गर्न पाउने र मतदान गर्न पाउने अधिकारलाई सहर्ष स्वीकार गर्न सक्दैनन् ? यो प्रश्न आममतदाता एवं जनताबीचअनुत्तरित नै छ ।
(हुम्ला सिमकोटका लेखक समाज अध्येता हुन् ।)