आर्ची ब्राउनको ‘द गोर्बाचेभ फ्याक्टर’ किताब प्रकाशित छ । नेपालका अधिकांश कम्युनिस्टले गोर्बाचेभलाई दानवीकरण गरिरहँदा ब्राउनले भने अर्को कोणबाट गोर्बाचेभलाई हेरेका छन् । ब्राउन अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापनरत राजनीतिशास्त्रका इमिरेटस प्रोफेसर हुन् । उनका पुस्तक २० भन्दा बढी भाषामा अनूदित छन् । उनको अर्को पुस्तक ‘द राइज एन्ड फल अफ कम्युनिज्म’ चर्चित छ । उनीसँग इमेलमार्फत नवीन तिवारीले अन्तर्वार्ता गरेका थिए ।
सैद्धान्तिक रूपमा राज्यको विलयपछि पनि केन्द्रीय रूपबाट सञ्चालन हुने माक्र्सको अर्थव्यवस्थामाथि मिखाइल बाकुनीनले गरेको समालोचनालाई कसरी हेर्नुहुन्छ ? माक्र्सको साम्यवादी समाज र बाकुनीनको अराजकतावादी समाजबीच कस्तो समानता देख्नुहुन्छ ?
म यो प्रश्नको उत्तर दिन खासै मन गर्दिनँ । तर, बाँकी अरूको उत्तर दिन्छु । मलाई लाग्छ तपाईंले मेरो पुस्तकको मर्म ठ्याक्कै समेट्नुभएन । माक्र्स, बाकुनीन, अराजकतावाद र साम्यवाद (माक्र्सको भविष्यको समाजको परिकल्पनाको हकमा), कोमा म खासै वास्ता गर्दिनँ । कारण म राजनीतिक सपना होइन, राजनीतिक यथार्थमा विश्वास गर्छु ।
तपाईंले आफ्नो पुस्तक ‘द राइज एन्ड फल अफ कम्यिुनिज्म’ मा २०औँ शताब्दीमा फिडेल क्यास्त्रोको सन् १९५९ को विजयअघिसम्म क्युबा लगभग धेरै समयसम्म प्रजातान्त्रिक थियो भन्नुभएको छ । अमेरिकाको आशीर्वाद प्राप्त फल्जेन्सियो बटिस्टाको शासनकाललाई तपाईं कसरी हेर्नुहुन्छ ? हार्बड पब्लिक स्पेसलिस्टलाई उद्धृत गर्दै तपाईंले क्युबाको रोगको रोकथाम गर्ने भन्दा अरू कुनै उपाय नै थिएन भन्नुभएको छ । तथापि, अहिले अमेरिकी र क्युबालीहरूको प्रतिव्यक्ति औसत आयु लगभग बराबर नै छ । यसलाई कसरी हेर्नुहुन्छ ?
मैले त्यति मात्रै भनेको छैन । मैले भनेको छु कि क्यास्त्रो शासनमा आउनुपूर्व फल्जेन्सियो बटिस्टाको शासन केबल औपचारिक प्रजातन्त्र मात्रै थियो । किनकि, त्यहाँ प्रजातन्त्रका आधारहरू ठूलै मात्रामा अभाव मात्रै थिएन, साथै धेरै हदसम्म पद्धाति पनि उल्लघंन हुने गरेको थियो । बटिस्टाको शासन निकै भ्रष्ट शासन थियो, जसको सम्बन्ध भ्रष्ट अमेरिकी व्यापारीहरूसँग थियो । तसर्थ, कम्युनिस्ट शासनअघिको क्युबाको शासनप्रति म कहिल्यै सकारात्मक छैन । १९५९ को क्रान्तिपछिको क्युबा र यसको कम्युनिस्ट संरचनालाई हेर्दा मैले यसको दुवै पाटो : सफलता र विफलतालाई हेरेको छु । एकातिर वाक् स्वतन्त्रताको हनन र निकै कठोर सर्वसत्तावादी व्यवस्था एवं अर्कातिर शिक्षा तथा स्वास्थ्यमा केही सफलता । मैले भनेको छु नि क्युबामा बाल मृत्युदर र औसत प्रतिव्यक्ति आयु अमेरिकाको सरोबरी छन् । यी दुई देशबीच ठूलो आर्थिक भिन्नताको खाडल छ ।
तपाईंलगायत अन्य केही शीतयुद्धका इतिहासकारले दोस्रो विश्वयुद्धपश्चात् जर्मनीको विभाजनका लागि जोसेफ स्टालिनलाई दोषी ठह-याउनुहुन्छ । जबकि, अन्य विद्वान्, जस्तै नोम चोम्स्कीलगायत तर्क गर्छन् कि सोभियत युनियनको सिमानामा अमेरिकाले नेटो कुदाउने अभिप्रायले जर्मनी विभाजित भएको थियो । भनिन्छ, जर्मनीमा मौलिक राजनीतिक विकासका लागि स्टालिन सहमत थिए, जसले पूर्व र पश्चिम युरोपबीच ‘बफर जोन’को काम गर्न सक्थ्यो । यसमा तपाईंको राय के छ ?
स्टालिन संयुक्त जर्मनीका पक्षमा थिएनन् । यद्यपि, कम्युनिस्ट शासन हुँदा उनलाई स्वीकार्य थियो । पश्चिमा शक्तिहरू संयुक्त जर्मनीका लागि समर्थन गर्न तयार थिए । सर्त थियो जर्मनी कम्युनिस्ट नभएर प्रजातान्त्रिक हुनुपर्ने । तर, दोस्रो विश्वयुद्धपछिको युरोपको सिमाना ती भूमिमा आश्रित थिए, जसलाई सोभियत युनियनले मुक्त तुल्याएको थियो । जर्मनीको पूर्वी भागसहित जुन–जुन देशलाई सोभियत सैनिकले कब्जा जमाउन भ्याए, ती भूभागहरू स्वतः कम्युनिस्ट भए । (र, रह्यो चोम्स्कीको कुरा, उनी न त इतिहासकार हुन्, न त राजनीति शास्त्री हुन् । उनी पूर्वी र मध्य युरोपको विज्ञ पनि होइनन् ।)
तपाईंले आफ्नो पुस्तक ‘द गोर्बाचेभ फ्याक्टर’मा मिखाइल गोर्बाचेभप्रति केही सहानुभूति देखाएको प्रतीत हुन्छ । उनलाई सत्तामा ल्याएको नवस्टालिनवादी लियोनिड ब्रेजनेभले भनिन्छ । एउटा उदारवादीलाई स्टालिनवादीले सत्तामा स्थान दिन्छ भने के यो आफैँमा विरोधाभास भएन र ?
मैले गोर्बाचेभबारे निकै लेखेको छु : जस्तो कि ‘द गोर्बाचेभ फ्याक्टर’ र ‘सेभेन यियर्स द्याट चेन्ज्ड द वल्र्ड : पेरेस्ट्रोइका इन प्रस्पेक्टिभ’ जुन तपाईंले नहेरेको हुन सक्छ । यिनीहरूको कुरा सारसंक्षेपमा भन्न अहिले यहाँ मुस्किल छ । मैले हालसालै अर्को पुस्तक लेखेको छु जुन सम्भवतः २०२० मा प्रकाशन हुन्छ, ‘पर्सनालिटी एन्ड पावरः गोर्भाचोभ, रेगन एन्ड थ्याचर एन्ड द इन्ड अफ द कोल्ड वार’ मा यसका बारेमा अन्य दस्तावेजहरू पनि पठाइदिन्छु ।
छोटकरीमा भन्दा ब्रेजनेभको योजनामा गोर्बाचेभलाई सत्तामा ल्याइएको थिएन । आन्द्रोपोभ र सुस्लोभ दुई प्रभावशाली पोलिटब्युरो सदस्य थिए, जो गोर्बाचेभको पदोन्नतिको पक्षमा थिए । कोसाइजिन पनि उनकै पक्षमा थिए । स्टाभ्रोपोलमा युरी आन्द्रोपोभ, मिखाइल सुस्लोभ, अलेक्सेइ कोसाइजिनले छुट्टी मनाउने क्रममा चिनेका थिए गोर्बाचेभलाई, जो त्यसवेला त्यस क्षेत्रको पार्टी महासचिव थिए । उनले त्यहीवेला उनीहरूलाई भेटेर प्रभाव पार्न सफल भएका थिए । यो पनि जान्नु आवश्यक छ कि गोर्बाचेभको कृषिमा पनि दख्खल थियो । १९७८ मा केन्द्रीय कमिटीको सचिव फ्योदर कुलाकोभवको मृत्युले पनि एउटा पद रिक्त भएको थियो । उनको काम कृषिलाई सुपरभाइज गर्नु थियो ।
नेपाल कम्युनिस्ट राज्य हुन्छ भन्नु हतारो हुन्छ । मैले त्यो भविष्यका लागि खुला प्रश्न छाडेको हुँ, कुनै भविष्यवाणी गरेको होइन ।
तपाईं केन्द्रीय योजनाबाट आदेशमा चलेको अर्थतन्त्रप्रति कठोर हुनुहुन्छ । यद्यपि, खुला बजार पुँजीवाद पनि त असफल भनिन्छ नि जसले पुँजीलाई सीमित व्यक्तिको हातमा निहित बनाएको भनेर आरोप लाग्नेगर्छ । आर्थिक असमानता पनि बढाएको भनिन्छ । तपाईंको विचारमा यी दुवै धारको विकल्प के हुन सक्छ ?
गोर्बाचेभले बजारमा केही विशेषताहरू भूमिकामा ल्याउन खोजेका थिए, जतिवेला केन्द्रीकृत अर्थतन्त्र थियो, उनको देशमा । १९९० मा उनका आर्थिक सल्लाहकारले उनलाई केन्द्रले मूल्य निर्धारण गर्नु मूर्खता हो भने । जसले गर्दा उनले बजारले तोकेको मूल्यतिर जाने सोचे । तर, उनको देशले त्यो संक्रमणको पार लगाउन सकेन । किनकि, उनले आर्थिक सुधारभन्दा पनि राजनीतिक सुधारतिर बढी जोड दिए ।
उनी अचानक बजार मूल्यमा जाँदा आउने सामाजिक र राजनीतिक समस्याहरूको बारेमा बढी चिन्तित भए । यी कुराले आधारभूत खाद्यवस्तुको मूल्य अचानक अकाशिने सम्भावना थियो । जुनलाई पहिलेदेखि नै सोभियत कमान्ड अर्थतन्त्रले सब्सिडी दिएको थियो । (जब मूल्यलाई येगोर गइदारले (जो बोरिस यल्त्सिनको राष्ट्रपति कालमा कार्यवाहक प्रधानमन्त्री थिए) स्वतन्त्र छाडिदिए, तब त्यसले जनताको बचतलाई सिध्याउने कार्य ग¥यो र जीवन निकै कष्टकर बन्यो ।) तर, अहिले आएर रुसी जनता पहिलेको अभावको अवस्थामा जान चाहँदैनन्, जसमा केन्द्रले मूल्य निर्धारण गर्छ र अभावको सिर्जना हुन्छ ।
सोभियत शैलीको कमाण्ड अर्थतन्त्र वा अमेरिकी शैलीको पुँजीवादका लागि धेरै विकल्प छन् । एउटा मोडल जसलाई गोर्बाचेभले मन पराएका थिए, पश्चिम जर्मनीको ‘सोसल मार्केट अर्थतन्त्र’ । जुन संयुक्त जर्मनीमा आजको दिनसम्म पनि चलेको छ । उत्तर युरोपका स्क्याडेनिभियन देशमा विशेषगरी प्रजातान्त्रिक समाजवादी पार्टी र सरकारहरूले तुलनात्मक रूपमा सशक्त कर प्रणाली अपनाएर आर्थिक खाडल कम पारेको र राम्रो गतिमा भौतिक विकास गरेको कुरालाई लिन सकिन्छ ।
उनीहरू संसारका सबैभन्दा समृद्ध देश हुन् । उनीहरूले उच्च तहको शिक्षा, स्वास्थ्य सेवा दिन सफल भएका छन् । साथै, गरिबीको अन्त्य गर्न पनि । यी सामाजिक र आर्थिक उपलब्धिसँग स्वतन्त्रता एवं प्रजातन्त्रको संरक्षणमा पनि उनीहरू सफल छन् ।
अन्त्यमा, नेपालको राजनीतिक विकास क्रमलाई लिएर तपाईंमा एउटा भय थियो (जुन तपाईंले तपाईंको पुस्तक ‘द राइज एन्ड फल अफ कम्युनिज्जम’ मा २००९ मा तत्कालीन राजनीतिक परिवेशलाई हेरेर गर्नुभएको थियो) कि कतै नेपाल कम्युनिस्टको हातमा त पर्ने होइन भनेर । तर, तपाईंको भयअनुसार त्यस्तो केही पनि भएन । तर, अहिले आएर नेपालमा दुईतिहाइको कम्युनिस्ट सरकार छ । तपाईंको यसमा राय बताइदिनुस् न ।
मैले ‘द राइज एन्ड फल अफ कम्युनिज्जम’ पुस्तक निकालेको १० वर्ष भयो । यो अवधिमा अध्ययन र रिसर्चले गर्दा मैले नेपालको राजनीतिक घटना क्रमलाई त्यति नजिकबाट नियाल्न पाएको छैन । तसर्थ, मैले नेपाली राजनीतिमा प्रतिक्रिया दिनु निरर्थक हुन जान्छ । सन्दर्भ रह्यो पुस्तकको अंशको, मैले यो पनि भनेको थिएँ कि अहिले नै नेपाल कम्युनिस्ट राज्य हो भन्नु अलिक हतारो हुन्छ । मैले त्यो भविष्यका लागि खुला प्रश्न छाडेको हुँ । कुनै भविष्यवाणी गरेको होइन । मैले यो पनि बताएको थिएँ कि नेपालका कम्युनिस्टहरूको सिद्धान्त परिवर्तन भइरहेको छ । त्यसैले नेपाललाई कसरी कम्युनिस्ट मुलुक भन्न सकिन्छ ? म सहमत छु नेपाल कम्युनिस्ट मुलुक बनिसकेकोे छैन र हुन्छ भनेर भनेको पनि थिइनँ । तसर्थ, मैले कुनै शब्द फिर्ता लिनु नपर्ला ।